
आफ्नो पुस्तक श्री ५ को सेवामा मा हेमन्त मिश्रले २०२१ जेठ १८ तिब्बतमा चिनियाँ सेनामाथि हमला गर्न लगाएर वृत्तचित्र बनाउने एड्रियन कावेल, जर्ज प्याटरसन र क्रिस मेन्जिससँग काठमाडौँबाट त्रिशूलीबजार हुँदै १८ दिन हिँडेर छोकाङ पुगेको कुरा उल्लेख गरेका छन्।
यो गोरखा जिल्लाको माथिल्लो भेगमा, बूढीगण्डकी नदीको पूर्वी हाँगोले बनाएको त्यही सुन्दर उपत्यका हो जसलाई स्थानीय बासिन्दा लुकेको उपत्यका भन्छन्। भूबनोट अध्ययन गर्ने वैज्ञानिकहरूका विचारमा चाहिँ यो झुन्डिएको उपत्यका हो किनभने यो महाभारत वा चुरे पहाडले घेरिएको, तल्लो भेगको उपत्यका अर्थात् बेँसी होइन। यो तीन हजार मिटरभन्दा अग्लो ठाउँमा रहेको उपत्यका हो जसलाई पहाडले होइन हिमालले घेरेका छन्। अर्थात् यो ‘आकाशमा झुन्डिएको उपत्यका’ हो।
२०५१ मङ्सिर २० गते म, ध्रुव बस्नेत र विजेन रञ्जित यो उपत्यकासमेतको वृत्तचित्र बनाउन काठमाडौँबाट आठ दिन हिँडेर मिश्र पुगेको त्यही सुन्दर उपत्यकामा पुग्यौँ। तर त्यहाँ हामीले छोकाङ भेटेनौँ, छेकम्पार भेट्यौँ। त्यहाँका मानिसका मुखमा अनि सरकारी कागजपत्रमा छोकाङ कतै थिएन। थियो त छेकम्पार।
यी दुई यात्राका बीचमा ३५ वर्ष बितेका थिए। हाम्रो बाटो मिश्रको जस्तै त्रिशूलीबजार हुँदै गएको थिएन। हामी बूढीगण्डकी नदी त्रिशूलीमा मिसिएको ठाउँ त्रिवेणीसम्म गाडीमा र त्यसपछि नदीको किनारैकिनार पैदल हिँडेका थियौँ। आरुघाटदेखि हामी तीन दिन झन्डैझन्डै मिश्रहरू हिँडेकै बाटो हिँडेका थियौँ। तर उनीहरू पुग्दा एउटा ठाउँ थियो। हामी पुग्दा अर्कै। यसबीचमा पुरानो नाउँ हरायो, नयाँ नाउँ आयो।

चुम उपत्यकाको यो माथिल्लो भेगलाई पहिले यहाँका बासिन्दाले ट्शो ङ भन्थे। यो भनेको पाँचवटा जिल्ला वा उपजिल्ला हो। ती जिल्ला छोकाङ्गा/पारो, ङाक, फुर्वे, छुले र निले थिए। सरकारी लेखापढीमा यस ठाउँलाई पाँचपार्वा भनिन्थ्यो। अनि त्यसअन्तर्गतका पाँचवटा ठाउँलाई कहिले गाउँ भनिन्थ्यो कहिले जिल्ला। ङाक गाउँलाई कहिले छ्यांडुंडु ङाक भनिन्थ्यो। पहाडे हातले सरकारी कागजमा फुर्वेलाई फुल्वे, छुलेलाई छीलुं, निलेलाई निलुन् आदि लेख्थ्यो। सरकारी कागजमा एउटै ठाउँको नाम एक पटक एक किसिमले लेखिन्थ्यो अर्को पटक अर्कै किसिमले।
त्यति बेला छोकाङ/पारो गाउँको पूरा ठेगाना यस्तो हुन्थ्योः अठारसयखोला, स्यारभोट, छोकाङ/पारो गाउँ।
हामी त्यहाँ पुगेका बेला त्यहाँका गाउँका नाम यस्ता थिएः छेकम्पार, लाहार/लार, छुले, निले र ङाक।
गोरखाका पत्रकार शिव उप्रेतीले अन्नपूर्ण पोस्ट् दैनिकमा २०७४ माघ २० गते लेखेको ‘चुमको सहारा’ शीर्षकको समाचारअनुसार, छेकम (छोकाङ) र पारो गरी दुईवटा नाउँ मि लाएर छेकम्पार नाउँ राखिएको थियो। यस कामको जस उप्रेतीले साङ्गे दोर्जेलाई दिएका छन्। यी उनै दोर्जे हुन् जो पञ्चायतकालमा यहाँका प्रधानपञ्च र पछि गाउँ विकास समितिका उपाध्यक्ष थिए। उनले यस क्षेत्रमा विद्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापना गर्न अथक मेहनत गरेका थिए।
पुराना सरकारी कागजमा छोकाङ र पारो भनी दुईवटा नाउँ लेखिएका छन्। तर यी दुई अलगअलग गाउँका नाम नभएर एउटै गाउँका दुईवटा नाउँजस्ता देखिन्छन्। यसरी छोकाङ र पारो मिसिँदा ‘छोकाङ’, ‘छेकम’ हुन पुग्यो। अनि ‘छोकाङ’सँग जोडिँदा पारोले ‘ओकर’ गुमायो र ऊ ‘पार’ हुन पुग्यो। ‘सुन्दर, शान्त, आत्मीय र उर्वर ठाउँ’ भन्ने अर्थ दिने शब्द ‘पारो’ बदलिएर ‘अन्तिम गाउँ’ अर्थ बोक्ने ‘पार’ बन्न पुग्यो।

त्यही भएर पो हामी ‘छोकाङ’ पुग्नुपर्नेमा ‘छेकम्पार’ पुगेछौँ !
हामी जुनजुन ठाउँ र गाउँ हुँदै छोकाङको नयाँ अवतार छेकम्पार पुगेका थियौँ तीमध्ये धेरैका नाम फेरिएका थिए।
छेकम्पार पुग्नुभन्दा केही दिन पहिले हामी उँभो जाँदै गर्दा खोर्लाबेँसी पुगेका थियौँ। छेकम्पार पुगेको केही दिनपछि उँधो झर्दा खोर्ला गाउँ पुगेका थियौँ तर अलि पहिले त्यहाँ पुगेका विदेशी विद्वान्ले त्यही ‘खोर्ला’लाई ‘खोर्लाक’ भनेका छन्। यस गाउँछेउमा छोप्राक, लाप्राक र बारपाकजस्ता गाउँ छन्। त्यसैले हामी पुग्दा खोर्ला भएको त्यही गाउँलाई पहिले विदेशीले लेखेजस्तै खोर्लाक भनिन्थ्यो कि ?
खोर्ला पुगेको केही दिनपछि हामी सिर्दीबास गाउँ पुगेका थियौँ। पुराना सरकारी कागजपत्र र विदेशीले लेखेका किताबमा यसलाई कतै ‘सेतीबास’ त कतै सिर्तीबास भनिएको छ। कुनै सरकारी कागजपत्रमा हातले लेख्दा सिर्तीबास लेखिएको छ भने त्यही कागजमा लागेको छापमा सिर्दीबास लेखिएको छ।
सिर्दीबासबाट बूढीगण्डकी तरेर अलिकति उकालो लाग्दा हामी ‘फिलिम’ गाउँ पुग्यौँ। धेरै ठाउँका गाउँका नाम मिल्छन्। जस्तैः सिम्ले, बरबोटे। तर फिलिम नाउँ भएको अर्को कुनै गाउँ भएजस्तो मलाई लाग्दैन।
फिलिम नाउँ पाउनुभन्दा पहिले यो ठाउँलाई विदेशीले लेखेका किताबमा कतै डोडाङ, तारा डोडाङ, अनवाङ आदि नाम दिएका छन्। कतै यसलाई सेतीबाससँग पनि जोडिएको छ। कतै यसलाई फिलोन पुकारिएको छ। सर्भे अफ इन्डियाले बनाएको नेपालको नक्सामा चाहिँ अहिलेभन्दा ६० वर्ष पहिले नै यसलाई फिलिम भनिएको थियो।
हामी पुगेका बेला यसलाई कसैकसैले धोताङ पनि भन्थे। यसको खास नाम धोथाङ हो। यसको अर्थ हो – ढुङ्गैढुङ्गा भएको सम्म ठाउँ। यो ठाउँ यतातिरका भिराला पहाडभन्दा अलि समथर छ। पहाडमा ढुङ्गा त हुने नै भए। यसरी भौगोलिक अवस्था दर्शाउने नामका सट्टामा यस ठाउँसँग कतै कुनै साइनो नलाग्ने शब्द ‘फिलिम’ चल्न पुग्यो।
फिलिमछेउको अर्को ठाउँ लोक्वाले पनि नयाँ नाम पाएको छ – लोक्पा।

फिलिमबाट बूढीगण्डकीको पश्चिम हाँगा पछ्याएर नुप्रीतिर लाग्दा डेङ गाउँ पुगिन्छ। यो पनि आफ्नो मौलिक नाउँ ड्राङ त्यागेर डेङ भएको हो।
अघि बढ्दा नामरुङ गाउँ पुगिन्छ। खासमा यो नामरुङ नभएर नाम्द्रु हो। त्यहाँबाट अझै अगाडि बढ्दा सामागाउँ पुगिन्छ। हिमालमा तीन हजार पाँच सय मिटर अग्लो ठाउँमा रहेको गाउँलाई भादगाउँ, गैरीगाउँजस्तै पहाडे नाम ओडाइयो। बक्खु लगाउने हिमालका बासिन्दालाई कछाड र भोटो लगाइदिएजस्तै गरी।
यसको सही नाम ‘नाम रो’ हो।
यस भेगको अन्तिम गाउँलाई पहिले वा-छाम भनिन्थ्यो। यसको अर्थ खोँच अथवा उपत्यकाको सिमाना हो। सामागाउँमा शुरू भएको लामो उपत्यका यहाँ टुङ्गिने भएकाले यो नामले भौगोलिक अवस्थाबारे बताएको थियो। अहिले यो ठाउँ साम्दो नाउँले चिनिन्छ। तै, यसले 'सामागाउँ' जस्तोगरी नेपाली भाषाको, उति अर्थ नदिने, पहाडे नाम बोक्नु परेन ।
साम्दो यहीँको भाषाको शब्द हो जसको अर्थ हो – दुईवटा खोला मिलेको ठाउँ अर्थात् दोभान।
यो गाउँ दुईवटा खोला मिलेका ठाउँमा बसेको हुनाले यस नामले भौगोलिक अवस्था बताएको छ। यही गाउँछेउको बाबुक बजारचाहिँ चोला फेरेर लार्के बजार हुन पुग्यो।

हुन त अलि कम उचाइ भएका ठाउँको के कुरा गर्नु, संसारकै सर्वोच्च शिखरमध्ये पर्ने पुङ्गेन हिमालले समेत आफ्नो नाम थाम्न सकेन। यसलाई आजभोलि मनास्लु भन्ने गरिन्छ। नाम फेरिँदा यसको अर्थ फेरियो। बाला, नाडीमा लगाउने गहना (पुङ्गेन) मनास्लु (आत्मा) हुन पुग्यो।
यसरी गोरखाका उत्तरका कति ठाउँ सही उच्चारण गर्न नजान्दा बिग्रिए। अनि कति ठाउँका नाउँ चाहिँ अर्को भाषामा राख्दा बिग्रिए।
ठाउँको मात्र होइन पद र समुदायका नाउँलाई बिगार्ने चलन पनि देखिन्छ। जस्तै: गोरखाको उत्तरी भेगतिर मुखिया राख्ने चलन थियो। यो पद बर्सेनि अर्को घरमा सर्थ्यो। यस पदलाई यहाँका बासिन्दाले ‘घान्जेन’ भन्थे तर सरकारी कागजपत्रमा ‘घनसुं’ भनिन्थ्यो। पहाडमा बस्नेलाई पहाडे, पर्वतमा बस्नेलाई पर्वते भनेजस्तै भोटमा बस्नेलाई भोटे भन्ने चलन थियो। तर, राष्ट्रिय अभिलेखालयमा सङ्ग्रहित जङ्गबहादुर राणाले श्री कम्यान्डिङ जनरल भाइ जगत्शमशेर जङ्ग कुँवर राणालाई १९१७ साल मिति मार्गवदी ३ रोज ७ मा लेखेको रुक्का र चन्द्रशमशेरले १४ वदी वैसाष मिती साल १९४८ संवत्मा अठार सय खोलामा जिम्मावाल नियुक्त गरेको पत्रमा यहाँका बासिन्दालाई दोचे र दोच्या भनिएको छ। ती कागजपत्रमा लेखिएको छः ‘अठार सौ खोलामध्ये दोचेतर्फ स्यारपट्टि’,’स्यार कुताङपट्टिका दोचे प्रजा’, ‘दोच्या प्रजा गैह्रलाई’, ‘दोचेतर्फ स्यारपट्टि’, ‘स्यारकुतांङपट्टिका दोचे प्रजाहरूले’ आदि।
यहाँ अठार सौ खोलाले गोरखाको समग्र उत्तरी भेग, स्यारले बूढीगण्डकी नदीको पूर्वी शाखाको पानी ढलोमा पर्ने ठाउँ र कुताङले बूढीगण्डकीको पश्चिमी शाखाको पानीढलोमा पर्ने ठाउँ भन्ने बुझाउँछन्। ‘दोचे’ र ‘दोच्या प्रजा’ अनि ‘दोचेतर्फ’ भन्ने शब्द यहाँका मानिसले लगाउने दोचासँग जोडेर भनिएको हुनुपर्छ। नेपाल प्रज्ञा-प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशले दोचालाई ‘भोटिया जातिका मानिसहरूले प्रायः हिमाली भेगमा लगाउने, घुँडासम्म आउने एक प्रकारको जुत्ता’ भनी अर्थ्याएको छ।

अहिले यहाँका मानिसहरू आफूलाई चुम्बा-नुब्री भनी चिनाउँछन्।
नाउँ फेरिँदा किन टाउको दुखाउनु पर्यो?
कुनै ठाउँको नाउँ नाउँ मात्र होइन। यसले धेरै कुरा बताएको हुन्छ। कुनै ठाउँको नाउँ सुन्दा यो ठाउँ घमाइलो रहेछ भन्ने प्रस्ट हुन्छ। कुनै नाम सुन्दा यहाँ चाहिँ घाम लाग्दो रहेनछ भन्ने। कुनै नाउँले त्यस ठाउँको अवस्थिति बताएको हुन्छ। कुनै नाउँले संस्कृति।
‘कुनै पनि ठाउँको नामको आफ्नो इतिहास हुन्छ र त्यस इतिहाससँग देश र देशका बासिन्दाको इतिहास पनि जोडिएको हुन्छ,’ स्थाननामकोश पुस्तकको भूमिकामा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका उपकुलपति माधवप्रसाद घिमिरेले आजभन्दा ४३ वर्ष पहिल्यै ठाउँका नाउँको महत्त्वबारे यस्तो लेखेको थिए। अनि नेपालका विभिन्न ठाउँका नामको यो कोश तयार गर्ने कृष्णप्रकाश श्रेष्ठका अनुसार ठाउँका नाउँ जीवनसित जोडिएका इतिहास हुन्। उनले भनेका छन्, ‘...हामीले भावी पुस्ताको निमित्त आफ्ना स्थाननामहरूको जगेर्ना गर्नुपर्छ किनभने स्थाननामहरू हाम्रा भाषिक र सांस्कृतिक सम्पत्ति हुन्।’
हामी २०५१ सालमा छेकम्पार बनेको ठाउँ अहिले फेरि छोकाङ भएको छ तर फिलिमजस्ता ठाउँले पुराना नामलाई पूर्ण रूपमा परित्याग गरेका छन्। यसो गर्नु भनेको इतिहास भुल्नु हो, अमूल्य सांस्कृतिक र भाषिक सम्पत्तिलाई त्यागेर गरिब हुनु हो।
मोहन मैनाली लेखक, पत्रकार तथा डकुमेन्ट्री निर्माता हुन्। उनको पछिल्लो पुस्तक 'मुकाम रणमैदानः नेपाल-युद्धको बखान' हो। ...
मोहन मैनाली लेखक, पत्रकार तथा डकुमेन्ट्री निर्माता हुन्। उनको पछिल्लो पुस्तक ‘मुकाम रणमैदानः नेपाल-युद्धको बखान’ हो।