
नेपालको पुराना बजारमध्ये एक मानिने बुटवलको इतिहासको खोजी जहिले पनि यहाँ विद्यमान जितगढी किल्ला, पाँच शताब्दी पुरानो राजा मणिमुकुन्द सेनको दरबारको अंश, १८६४ सालमा स्थापित श्री ७ मन नारायण मन्दिर आदिबाट सुरु हुन्छ। बुटवलको हकमा मात्रै होइन हरेकजसो स्थानको स्थापना र निर्माणको खोजी जहिले पनि शासकीय प्रयत्न एवं ऐतिहासिक सामग्री मानिने अभिलेखबाट सुरु हुन्छ। यस्तो अभ्यासले त्यो थलो निर्माणमा भएका मानवीय प्रयत्नहरू ओझेलमा पर्छन्। जबकि कुनै आम मानिसका कार्यव्यापार र अन्तरक्रियाहरूले मानवीय भूगोल अर्थात् बस्तीको रूपमा विकास गर्छन्। त्यसैले मानवीय प्रयत्नहरूको महत्त्व नस्वीकारी कुनै पनि स्थानको इतिहास सुरु हुँदैन। आम मानिसका कार्यव्यापार र अन्तरक्रियाका सूक्ष्म र निरन्तर प्रयत्नहरू अभिलेखमा नपाइन सक्छन्, त्यसैले मानिसका वैयक्तिक स्मृतिहरू भरपर्दा स्रोत हुन सक्छन्।
मानिसका नियमित कर्महरूमा क्रमभङ्गता आउँछन्, कहिले प्राकृतिक विपत्ति बनेर त कहिले राजनीतिक अभ्यास बनेर, कहिले विकासे योजना बनेर त कहिले सङ्कट बनेर। यस्ता क्रमभङ्गताको सामना सम्भारबाट हुन्छ जसका लागि विधि–विधान, नयाँ चालचलन एवं संस्थाहरूको निर्माण हुन्छ। कुनै पनि बस्ती बन्ने क्रममा भएका क्रमभङ्गता र सम्भारका अभ्यासको खोजीले इतिहास लेखनलाई समृद्ध बनाउँछ। त्यसका लागि पनि उपयुक्त स्रोत व्यक्तिगत संस्मरण वा आत्मस्मृति हुन सक्छन्। हरेक व्यक्तिले आफ्नो व्यक्तिगत र सामाजिक जीवनलाई गहिरो प्रभाव पारेका क्षणहरूलाई स्मृतिमा कैद गरेर राखेको हुन्छ। त्यसैले पनि स्मृतिको माध्यमबाट विगतका क्रमभङ्गता केलाउन सकिन्छ।
यहाँ केही स्मृतिको माध्यमबाट बुटवल शहर निर्माण र विस्तार केलाउने कोसिस गरिएको छ। यसका लागि उपलब्ध व्यक्तिगत संस्मरण, जीवनी र स्मृति ग्रन्थहरूको सहारा लिइएको छ। सार्वजनिक स्मृतिका लागि केही संस्थाहरूको स्मारिकालाई पनि स्रोत सामग्रीका रुपमा लिइएको छ। तथापि, जीवनी लेखनमा नितान्त व्यक्तिगत विषयलाई बढी प्राथमिकता दिइँदा र संस्थाहरूको स्मारिकालाई पनि सामयिक सङ्कलनमा सीमित पारिँदा कैयौं सूक्ष्म प्रयत्न र विषय अधुरा रहेका छन्।

स्थायी बटौलीको खोजी
सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायण शाहको जीवनी पुस्तकमा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह बनारसबाट हतियार लिएर आउने क्रममा बुटवल आइपुगेको वर्णन गरेकाले यो भूभाग इतिहासदेखि नेपाल र भारतबीचको व्यापारिक केन्द्र रहेको थाहा हुन्छ। पश्चिम क्षेत्रको मुख्य बजारका रुपमा स्थापित भए पनि औलोको भयका कारण बुटवल बाह्रै महिना गुलजार नभई हिउँदे व्यापार मात्र चल्ने हाट थियो। मंसिरदेखि चैत-वैशाखसम्म चल्ने यो बजारमा पहाडबाट स्थानीय उत्पादनहरू घिउ, अदुवा आदि उत्पादन लिएर व्यापारीहरू आउँथे भने उत्तर भारतबाट कपडा, नुन, मट्टीतेल आदि लिएर साहू-महाजनहरू आउँथे। गर्मी बढ्न थालेपछि भने सबै फर्कन्थे।
प्रचुर व्यापारिक सम्भावना हुँदाहुँदै पनि निकै कम राजस्व उठ्ने भएकाले १९५० सालमा पाल्पा गौंडा प्रमुख रहेका जर्नेल खड्गशमशेरले राजस्व वृद्धि गर्ने हेतुले भन्सार महसुललाई राज्यको मातहत ल्याउने प्रयास गरे। सुरुमा त भारतीय व्यापारीहरूले भन्सार शुल्क वृद्धि गर्ने भए व्यापार गर्न नआउने धम्की दिएका थिए। यही तनावपूर्ण परिस्थितिमा सेठ नारायणप्रसाद प्रधानको सक्रियतामा हिउँदे बजारलाई बाह्रमासे व्यापार व्यवसायमा रूपान्तरित गर्ने र रैथाने बस्ती बनाउने प्रयत्न भयो। रवीन्द्रप्रसाद प्रधानले द यात्रा पुस्तकमा आफ्ना बराजु नारायणप्रसाद प्रधानको योगदानको चर्चा गरेका छन्। उनका अनुसार खड्गशमशेरले भन्सार महसुल बढाउने निर्णय गरेपछि रुष्ट भारतीय व्यापारीलाई हिउँदे व्यापारको सट्टा बाह्रै महिना बुटवलमा बस्ने गरी रैथानीको रूपमा समझदारी स्थापित गराउने काम नारायणप्रसादले गरेका थिए।
१९५० सालमा बुटवल चौतारा अड्डा स्थापना भएपछि बाह्रै महिना बजार बस्न थाल्यो र राजस्वमा वृद्धि भयो। यस कार्यका लागि महत्त्वपूर्ण योगदान गरेका कारण नारायणप्रसाद प्रधानलाई १९५३ माघमा १००० रुपैयाँको दोसल्ला ओढाई ‘सेठ’ उपाधि प्रदान गरिएको थियो। हिउँदे हाटबाट बाह्रमासे स्थानीय बजारतर्फको यात्रा एउटा महत्त्वपूर्ण क्रमभङ्गता थियो जसले बुटवललाई गुलजार बनाउँदै लग्यो।

‘प्रतीकात्मक बुटवल’
विभिन्न समयमा फरकफरक तरिकाले गुलजार बुटवलको चर्चा भएबाट यसको क्रमिक विकास देखिन्छ। १९९७ सालमा प्रजापरिषद्को राणा शासन विरोधी सङ्घर्षको क्रममा जेल परेका गणेशमान सिंह २००१ सालमा जेलबाट भागेर बुटवल हुँदै भारत गएका थिए। आफ्नो आत्मसंस्मरण मेरो कथाका पानाहरू मा उनले त्यति बेलाको बुटवल यसरी वर्णन गरेका छन्:
“नदीको किनारमा अवस्थित बुटवल बजार बडो गुलजार बजारमध्ये एक थियो। लत्ता–कपडा, नुन, जीरा मसला, जुत्ता, भाँडाकुँडा, चुरा–धागाका पसलहरूका अतिरिक्त हलुवाई पसल पनि छ्यासछ्यासती थियो। हामी बजारको जुन मोडमा पुग्यौं, त्यहाँको हलुवाई पसलमा ताजा जिलेबी धमाधम ठूलो कराहीबाट झिकेर चास्नीमा चोप्दै निकालिँदै गरिँदै थियो।”
काठमाडौंमा जन्मे-हुर्केका र कलकत्तामा पढेका गणेशमानलाई बजार कत्रो हुन्छ भन्ने थाहा नहुने कुरै भएन। काठमाडौंको तुलनामा सानो बजार बुटवल पनि गणेशमानलाई “बडो गुलजार” लाग्नुको कारण चाहिँ यहाँको विविधता हुन सक्छ। बजार भर्न आएका हटारुहरू, भारी बोकेर आएका ढाक्रेहरू, उत्तर भारतका व्यापारी साहू-महाजनहरू र पल्टनबाट घर फर्किरहेका लाहुरेहरू अनेकन् सङ्गमले बुटवललाई संस्कृतिको सङ्गम पनि गराएको थियो। त्यो सांस्कृतिक–भौगोलिक मिलनको विवरण कवि अजम्बरध्वज खाती संस्मरणात्मक पुस्तक स्मृतिको आँखीझ्यालबाट मा सङ्ग्रहित निबन्ध 'बटौलीमाथि बदली मा यसरी दिन्छन्ः
“एकचोटि मैले देखेको थिएँ — बटौलीको सोंठी टोलमा सूठोको भारी बिसाएका मगर–मगर्नी, ठिटाठिटीहरू मस्तसँग हाँसेका थिए। त्यसै बेला झमझम स्कोर बजाएर खुम्रे भोटो र छड्के पटुका अनि सानो रातो टीका निधारमा सुहाउने गरी लगाएको हिस्सी परेको मगर ठिटोले भँगेरोझैं फुन्द्रुक फुन्द्रुक नाच्दै एउटी अधैबैँसे आइमाईअगाडि आफ्नो निधार सोझाउँथ्यो। सबै गल्ल हाँस्थे, आनन्द मान्थे। मलाई पनि आनन्द लाग्थ्यो। गीतको टुक्रा पनि त उस्तै झिल्के थियो — बटौलीको बजारमा सुका धार्नी मासु, तिम्रो छोरी मैले लगें टीका लाइदेऊ सासू।”
त्यो गुलजार बुटवलको आर्थिक क्रियाकलापबारे अझै प्रष्टसँग देवेन्द्रराज शाक्यले आत्मसंस्मरण पुस्तक जीवनका अनुभूति मा यसरी लेखेका छन्ः
“बटौली बजार बयलगाडा, चामल बोकेर ल्याएका घोडा, टट्टु, मानिसहरूको भीडभाडका कारण गणेश टोलदेखि गढीटेलसम्मका बाटाहरू जाम हुन्थे। एक ठाउँबाट अर्को ठाउँमा पुग्न ठेलमठेल गरी हिँड्नुपर्थ्यो। मानिसहरूको रेलपेल थियो। त्यसमाथि हिमाली क्षेत्रबाट सामान ढुवानी गर्न ल्याएका घोडा, खच्चर एवं गधाको लर्कोले थप भीडभाड बढाउँथ्यो। एउटा समूहमा कम्तीमा ५० देखि २०० सम्म घोडा या गधा हुन्थे।”
शाक्यको संस्मरणले बुटवल भारतीय अर्थतन्त्र र पहाडदेखि हिमालसम्मको सङ्गम भएको स्पष्ट पार्छ। त्यति मात्र होइन उनको स्मृतिमा तत्कालीन बजारभाउको कुरा आउँछ। उनका अनुसार २०२५ सालको अन्त्यसम्म बुटवलको रौनक उत्कर्षमा थियो जहाँ उच्च हिमाली बासिन्दाले ल्याउने बहुमूल्य मुगा, जिम्बुदेखि तराईका उत्पादन पाइन्थ्यो र त्यहीँ उनी स्वंयले १२५ रुपैयाँमा एक तोला सुनको असर्फी किनबेच गरेका थिए।
त्यो रौनकमय बुटवल उर्फ बटौली राणा शासनको कठोर जेल तोडेर भागेका गणेशमान सिंहका लागि आश्रय र सुरक्षा थियो जहाँ उनका साथी ज्यानकाजीले जोखिम मोलेर सहयोग गरेका थिए। बुटवलबाट भैरहवा हुँदै नौतुनवाको बाटो भारत पठाउन ज्यानकाजीले गणेशमानको रूप परिवर्तन गरिदिएका थिए। नयाँ र सफा लुगामा मारवाडी जस्तो देखिएपछि पहाडियाको ‘इमेज’ परिवर्तन भएको वर्णन गर्दै गणेशमानले बुटवललाई “प्रतीकात्मक स्थान”को संज्ञा दिएका छन्। उनका अनुसार, “पहाडबाट आउनेले बुटवलमा पहाडको अन्त्य पाउँछ भने मधेशबाट पहाड उक्लन खोज्नेले पनि बुटवलमै आइपुगेपछि समथर भूमिको टुङ्गो भेट्छ।”
गणेशमानको यो “प्रतीकात्मक” बुटवलको छवि भने समयक्रममा फेरिए पनि भिन्दाभिन्दै भूगोल र संस्कृतिका मान्छेलाई बटुल्ने यसको चरित्र उस्तै छ। बुटवलमा आइसकेपछि मान्छेका आफ्ना पूर्व पहिचानहरू यथावत् रहँदैनन्। यी विविध पहिचानहरूलाई समेटेर बुटवल आफैमा नयाँ पहिचान बनिरहेको छ र अझै यथावत् रहिरहेको छ — प्रतीकात्मक स्थान।

खस्किँदो बटौली, फैलिँदो खस्यौली
गणेशमान सिंह, अजम्बरध्वज खाती र देवेन्द्रराज शाक्य तीनै जनाको स्मृतिमा रहेको बुटवल आजको तिनाउ पूर्वको शहर भने होइन। त्यो त आजभोलि बोलीचालीमा “पुरानो बुटवल” भनिने तिनाउ नदीको पश्चिम, चुरेको काखमा अवस्थित बटौली बजार हो र यो इतिहास त्यति बेलाको हो जति बेला आजको बुटवललाई “खस्यौली” भनिन्थ्यो। बटौली आउने एउटा मुख्य बाटो बजारमाथिको डाँडा नुवाकोट हुँदै आउँथ्यो। इतिहासकार निर्मल श्रेष्ठको पुस्तक पाल्पा नुवाकोटः द लिभिङ हेरिटेज अनुसार पाल्पा दोभान पुगेपछि बुटवल जान दुईवटा बाटो थियो — तिनाउ खोलाको बाटो र डाँडाको बाटो। “खोलाको बाटो अहिलेको सिद्धार्थ राजमार्गको बुटवल-दोभान खण्ड थियो भने अर्कोचाहिँ दोभानको पुल तरी झिर्दिको उकालो उक्लिदै नुवाकोट हुँदै आउने जाने बाटो थियो।”
पहाडबाट आफ्ना घरेलु उत्पादन बोकेर बटौली बजार ओर्लिएकाहरूको निम्ति यो बजार तिलस्मी थियो। बजार देखिने बिन्दुसम्म आइपुगेपछि उनीहरू त्यसको रौनकबाट मोहित हुन्थे। २०२० सालको दशकसम्म नुवाकोट डाँडाबाट देखिने बुटवलको रौनक श्रेष्ठले यसरी चित्रण गर्छन्:
“...उकालो काटेर नुवाकोटको भन्ज्याङमा पुगेपछि बुटवल बजारको केही भाग र पारिपट्टिको अहिलेको खस्यौली बजार छ्याङ्गै देखिन्थ्यो। धेरैजसो नुवाकोटको भन्ज्याङमा पुग्दा साँझ परिसकेको हुन्थ्यो। खस्यौलीतिर नुवाकोटको लालटेनको पिलिपिली बत्ती मात्र बलेको देखिन्थ्यो। देउराली पुगेपछि हालको पुरानो बुटवल बजारको तिनाउ खोलाको किनारमा रहेको सोठिमहल्ला र गढीटोल लगायत बुटवलका मुख्य महल्लाहरूको केही भागहरूमा पेट्रोमेक्स (मैनटोल)को झलमल्ल देखिन्थ्यो।”
पुरानो बटौलीको वैभव कसरी कमजोर हुँदै खस्यौली विस्तार भयो ? खस्यौली बटौलीको विस्तारित रूप हो वा विकल्प बनेको थियो ? यस्ता कैयन् प्रश्नहरू किन पनि आवश्यक छ भने नयाँ बस्ती विस्तार हुँदै गर्दा विद्यमान बस्तीहरूलाई समेट्न नसक्दा कुनै बेलाका गुलजार ठाउँहरू केही वर्षमै सन्नाटामा परिवर्तन भएका छन्। कोइलाबास र पत्थरकोट त्यस्ता केही उदाहरण हुन्। बटौली र खस्यौलीको बुटवलमा कायान्तर हुनु एउटा महत्त्वपूर्ण क्रमभङ्गता थियो जसको सामाजिक-सांस्कृतिक प्रभावका गहिरा कथाहरू हामीसँग छैनन्। यद्यपि उपलब्ध केही संस्मरणहरूले हामीलाई केही सङ्केत अवश्य गर्छन्। जस्तै, २०१८ सालमा बुटवल हुँदै बनारस गएका पत्रकार अर्जुन ज्ञवाली २०२४मा फर्कदाँ बुटवलमा महत्त्वपूर्ण परिवर्तनको साक्षी बन्न पुगे। लुम्बिनी दैनिक मा प्रकाशित एउटा संस्मरणमा उनले उक्त परिवर्तनलाई यसरी सम्झिएका छन्:
“२०२४ सालको कुरो हो, सिद्धार्थ राजमार्ग बनिरहेको थियो। म जीवनवृत्तिको हिसाबले बुटवल झरें। त्यतिखेर ६ वर्षअघिको बुटवल र ६ वर्षपछिको बुटवलमा केही फरक थियो। बजारको सारमा तात्त्विक फरक थिएन। रूपमा भने केही फरक थियो। खस्यौलीतिर अलिअलि बजार बस्न लागेको थियो। बुटवल–भैरहवा सलल मोटर चल्न थालेका थिए। लुम्बिनी बस, यातायात बस, नेपाल दर्शन बस संस्थागत बनेर चलेका थिए। लुम्बिनी कलेज खुलेको थियो। फेन्सी दुकान भइसकेका थिए। विदेशी रङ्गीन पोशाक आइसकेका थिए। लालीपाउडर घसेर, चिटिक्क साडी, स्कर्ट, सर्ट पाइन्ट भिरेर आवालवृद्धबनिता बजार हिंड्थे।”

२०२६ सालतिरको बटौली र खस्यौलीको केही वर्णन सन् १९६३ मा स्थापित बुटवल टेक्निकल इन्स्टिच्युटका दुर्गाप्रसाद शर्माको सम्झनामा पनि छ। एउटा अप्रकाशित संस्मरणमा शर्मा लेख्छन्ः
“स्वास्थ्य उपचारका लागि खसौलीमा हालकै ठाउँमा अञ्चल अस्पताल र बटौलीमा परोपकार केन्द्र थियो भने व्यक्तिगत रूपमा निमचौकमा मकर ध्वज श्रेष्ठको औषधि पसल थियो। बटौलीको गढीचौक नजिक नगर पञ्चायतको कार्यालय थियो।...बटौलीको गुहेखोला नजिक महेश्वर प्रसाद लाकौलको सिनेमा हल थियो त्यस समयमा र साथै त्यहींनेर महावीर पुस्तकालय पनि थियो (अध्यावधि छ)। कुटानी, पिसानी र तेलानीका लागि पाखापानीमा लाल कुमारको एउटा राइस मिल थियो भने यता खसौलीको दाउरेटोलमा काशीको राइस मिल थियो। बटौली खस्यौलीको विकासको क्रममा यातायातका लागि पहिले हालको बी.पी. चौकमा बस स्टप थियो।”
शहरको भौगोलिक स्वरूप मानवीय अनुभवमा आधारित हुन्छ। अहिले बुटवलभन्दा मनमा बन्ने भौगोलिक तस्बिर पहिले थिएन। लामो समयसम्म बटौली र खस्यौली भिन्न भौगोलिक अवधारणाका रूपमा मानिसका मनमा थिए। त्यो पृथकतामा भिन्दाभिन्दै स्थानबारेका सामाजिक अवधारणाहरूले पनि भूमिका खेलेका थिए। त्यसैले त २०२८ सालदेखि २०३१ सालसम्म यस क्षेत्रमा अनुसन्धान गरेका तीन बेलायतीहरू ब्लाके, क्यामरुन र सेडनले नेपाल इन क्राइसिस पुस्तकमा बुटवल र खस्यौलीलाई “जुम्ल्याहा शहर” भनेका छन्।
सिद्धार्थ राजमार्गको निर्माणसँगै बढेको बसाइँसराइ र जमिनको उपलब्धताले खस्यौलीको विस्तार गर्यो। नेपाल इन क्राइसिस मा उल्लेख भए अनुसार २०२३ सालमा बुटवल (बटौली र खस्यौली)को जनसंख्या १३ हजार थियो जुन २०२७ सालमा २० हजारमा पुगेको थियो। तथापि राजमार्ग निर्माण खस्यौलीको विस्तारको एक्लो कारण थिएन। साथमा अन्य थुप्रै संस्थाहरू जन्मिएका थिए।
२०२० सालमा बुटवल शहर निर्माणको एउटा महत्त्वपूर्ण कडी बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) स्थापना थियो जसले सम्भावनाका अनेक ढोका खोलिदियो। बीटीआईसँगै स्थापना भएका बुटवल प्याइउड फैक्ट्रि (हाल बन्द), गोबर ग्याँस प्रा.लि., बुटवल इन्जिनियरिङ वर्क्स आदि उद्योगहरू स्थापना भए। बटौलीको पुरानो पहिचान व्यापार थियो, खस्यौलीले उद्योगको पहिचान थप्यो। उद्योग स्थापनामा अर्को महत्त्वपूर्ण योगदान थियो विद्युत् उत्पादनको। पिटर साल्हाइमको पुस्तक पावर फर नेपाल: अड हफ्टन एण्ड द हिस्ट्री अफ हाइड्रोपावर डेभलपमेन्ट अनुसार २०२७ सालमा तिनाउ परियोजनाबाट ५० किलोवाट जलविद्युत् उत्पादन सुरु भयो। २०२९ सालसम्ममा बुटवलका ३१६ घरधुरीमा विद्युत् जडान भएको थियो भने सातवटा उद्योगलाई विद्युत उपलब्ध थियो। २०३२ सालसम्म पुग्दा सात सय २० घरधुरी, २२२ सडक बत्ती र ३५ उद्योगले बिजुली उपभोग गर्थे।
२०२० सालको दशकमा बुटवलमा शैक्षिक संस्थाहरूको विकास हुन थालेपछि बुटवल निर्माणले अझ गति पायो। लामो शैक्षणिक जीवनबाट अवकाशप्राप्त लव जोशीको संस्मरणात्मक पुस्तक निष्ठा मा वर्णन भएअनुसार २०२० सालदेखि तत्कालीन बुटवल–खस्यौली नगर पञ्चायतले नेपालमै पहिलो पटक पाँचवटा ‘अनिवार्य निःशुल्क प्राथमिक पाठशालाहरू’ सञ्चालन गरेर शिक्षा क्षेत्रमा नमुना खडा गरेको थियो।
छोटो समयमा खस्यौलीको यो रौनक बढ्दै गर्दा बटौलीको ऐतिहासिक व्यापारिक विरासत भने खस्किँदै गइरहेथ्यो। २०४०/४१ सालसम्म पुग्दा महेन्द्र राजमार्गको बुटवल–कोहलपुर सडक खण्ड विस्तार हुन थालेपछि बटौली झनै मुर्झाउन थाल्यो। बटौलीको उक्त मनोदशालाई कवि अजम्बरध्वज खातीले संस्मरणात्मक निबन्ध 'लँगौटीको के दोष?' मा चर्चा गरेका छन्। उक्त निबन्धको विषय बटौलीको खस्कँदो चमक हो। बुटवल-कोहलपुर सडक खण्ड निर्माण योजनामा बटौलीको दक्षिण घोडे टोलबाट फूलबारीसम्मको बाटो अग्ल्याउँदा बटौली पोखरी बन्न पुगेको थियो। तर त्यही राजमार्गमा उक्लने बाटो पनि बटौलीले पाएको थिएन।
संस्मरणअनुसार बटौलीलाई खस्यौलीको अञ्चल अस्पतालसँग जोड्ने लिंक रोड बनाउनका लागि अञ्चलाधीश कार्यालय र प्रोजेक्ट अफिस धाउँदा नभएपछि उक्त सडक खण्ड निर्माणमा भारतले सहयोग गरेकाले भारतीय दूतावाससम्म पुग्नुपरेको थियो। कवि खाती उक्त लिंक रोड निर्माण समितिका अध्यक्ष थिए। संस्मरणमा एउटा सानो बाटो बनाइमाग्न भारतीय दूतावासमा पुग्नुपरेको घटनाले आफ्नो शिर र बटौलीको शिर निहुरेको अनुभव गरेको खातीले उल्लेख गरेका छन्। खस्यौलीको रौनक छाइरहँदा बटौलीको मनोदशा कस्तो थियो भन्ने संस्मरणका निम्न अंशहरूले प्रष्ट पार्छन्:
“राजमार्गहरूको निर्माणको यो माहौलले, हेर्दाहेर्दै, सम्पन्नताको चरमचुलीमा रहेको बटौली झन्झन् खाली हुँदै थियो। त्यो बेला हजारौं हजारको कारोबार हुने बटौलीको व्यापार सुकेर खतम हुँदै थियो। बटौलीको बजार ग्राहकविहीन हुँदै थियो। यसले धनीमानी ठूला साहूहरूलाई त त्यति फरक गरेन। किनभने उनीहरूले आफ्नो बसाइ खस्यौलीतिर सारेर घर ठड्याई कारोबार चलाउन थालिहालेका थिए। मर्कामा पर्दै थिए — भुजा, भेली, मिठाई, चिउरा, चिनी बेचेर पनि धन कमाउने, गुजारा गर्ने वर्ग। जसको कतै जाने बाटो थिएन। केही गर्ने हात थिएन। यो सङ्कटले पिरेको बटौली हारगुहारविहीन हुँदै थियो।”
यस्तै-यस्तै क्रमभङ्गताका धाँजाहरूमा व्यक्तिका अनुभव इतिहासको जीवन्त तस्बिर बन्छन् र यी अनुभव खोज्न फेरि पनि स्मृतिका पोथ्राहरू नै उधिन्नुपर्छ।
बुटवलमा रहेर अनुसन्धान र अध्यापन गर्ने रामचन्द्र श्रेष्ठ समाज अध्येता हुन्। बुटवलको सुकुमबासी बस्तीबारे अनुसन्धान लेख प्रकाशन गरेका श्रेष्ठका समाज र राजनीतिबारेका लेख विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन्। ...
बुटवलमा रहेर अनुसन्धान र अध्यापन गर्ने रामचन्द्र श्रेष्ठ समाज अध्येता हुन्। बुटवलको सुकुमबासी बस्तीबारे अनुसन्धान लेख प्रकाशन गरेका श्रेष्ठका समाज र राजनीतिबारेका लेख विभिन्न सञ्चारमाध्यममा प्रकाशित छन्।