
२०२७ सालमा प्राथमिक तहको पढाइ सकेपछि भोजपुरका ध्रुव साम्पाङ माथिल्लो कक्षा पढ्न धरान झरेका थिए। साबिकको तिम्मा गाउँ पञ्चायत (हाल टेम्केमैयुङ गाउँपालिका) पाङखाङ पुर्ख्यौली घर भएका साम्पाङ गाउँमा हुँदासम्म हरेक वर्ष भदौ अन्तिमतिर तीते माछाको शिकार गर्न ठूलाबडाको साथमा गाउँको पुछार चाँगे मूल जान्थे।
पिखुवा खोलाको नजिकै रहेको उक्त मूलमा हरेक वर्ष तीते माछाको ठूलो हूल पस्थ्यो र भदौ अन्तिम वा असोजको पहिलो सातासम्म प्रजनन् क्रिया सकेर खोलातिर फर्किन्थ्यो। त्यही बेला नै ढडिया थापेर शिकार गर्नुपर्थ्यो। साम्पाङ धरान झरेपछि हरेक सालजसो गाउँ आउनेजाने गरे पनि तीते माछा टिप्ने समय जुरेन।
१२ वर्षपछि पढाइ सकेर आफू पढेकै विद्यालयमा शिक्षकको जागिर खान गाउँ फर्किदा चाँगे मूलमा तीते माछा आउनै छोडेको थियो। त्यसभन्दा तल आधा घण्टा हिँडाइको दूरीमा रहेको साक्टुमी मूलमा पनि तीते माछा थिएन। पहिले ती दुई मूलमा मात्रै सालमा पाँच मुरी जति तीते माछाको शिकार हुने उनी सम्झिन्छन्। उनको अनुमानमा पिखुवा खोलामा त्यस्ता ५० वटा जति मूल थिए।
पिखुवा र त्यसका सहायक खोलाहरूमा तीते माछा अब लोककथा जस्तै भइसकेको छ। आफ्नो जमानामा तीते माछा शिकारको नेतृत्व गर्नेहरू अब थोरै मात्र जीवित छन्। मूरीका मुरी तीते माछा मारेर साथीभाइसँग पाथीका पाथी भाग लगाएको पाका मान्छेका संस्मरण सुनेर रमाउने जवानहरूले अहिले तीते माछा देख्नै पाउँदैनन्। अब त त्यसरी सुनाउनेहरू पनि दुर्लभ भइसके। केहीको भनाइमा भने, टेम्केमैयुङकै केराबारी पुछारको एक, दुई मूलमा भने अहिले पनि चार, पाँच किलो जति तीते माछा आउँछन्।
भोजपुरको पश्चिमबाट दक्षिण बग्ने पिखुवा खोला त्यस भेगको ठूलो खोला हो। यो खोला टेम्केमैयुङ गाउँपालिका-१ मा पर्ने मैयुङ लेकमा उत्पत्ति भएर भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिकाको बीचैबीच गएर हतुवागढी र पौवादुङ्मा गाउँपालिकाको ठुलोदुम्मा र होम्ताङ पुछार अरुण नदीमा बिलाउँछ। पुराना पुस्ताका मानिसहरूका अनुसार पिखुवा जलाधार क्षेत्रका पिखुवा र यसका सहायक तथा उपसहायक खोलाहरूमा उहिलेउहिले प्रशस्तै तीते माछा पाइन्थ्यो।

रैथाने माछा
सन् १९५८ को वसन्त ऋतुमा एक भारतीय पर्वतारोहण टोली सोलुखुम्बुस्थित चोयु हिमाल चढ्न आयो। टोलीमा जुलोजिकल सर्भे अफ इन्डियामा कार्यरत जीवशास्त्री ए. के. दत्त पनि थिए। अन्य पर्वतारोहीहरू चुचुरोतिर उक्लिदा उनी भने पाँच हजार मिटरभन्दा तल दूधकोशी नदी जलाधार क्षेत्रमा प्राणीहरूको अनुसन्धानमा लागे। उनले ६४ स्थानबाट माछा, स्तनधारी, सरिसृप र माकुराका दुई हजार जति नमुना सङ्कलन गरे। तीमध्ये माछाका मात्रै ३३ वटा नमुना थिए।
दत्तको उक्त अध्ययन प्रतिवेदन सन् १९६१ सेप्टेम्बरमा जुलोजिकल सर्भे अफ इन्डियाद्वारा प्रकाशित जर्नलको भोल्युम ५९ मा 'जुलोजिकल रिजल्ट्स अफ दि इन्डियन चोयु एक्स्पीडिसन (१९५८) इन नेपाल' शीर्षकका विभिन्न भागका रूपमा छापिए। त्यसैको सातौँ भाग माछाशास्त्री ए. जी. के. मेनन र ए. के. दत्तको संयुक्त लेख थियो, जसको उपशीर्षक थियो – पिसेस (कन्क्लुडेड). सिलोह्रिन्कस सुडोकेनेइस, अ न्यू साइप्रिनिड फिस फ्रम नेपाल। लेखमा तीतेलाई वैज्ञानिक नाम सिलोह्रिन्कस सुडोकेनेइस दिइएको थियो। उक्त लेखमा यसलाई आसामको ब्रह्मपुत्रमा पाइने पी. होमोलोप्लेरा सँग मिल्दोजुल्दो भए पनि पूर्वी नेपालको रैथाने माछा भनिएको छ।
नेपाल सरकारले सन् १९८० मा तीते माछाको तस्बिर अङ्कित १० रुपियाँ दरको हुलाक टिकट प्रकाशन गर्दा "तीते माछा"लाई "तीते" मात्रै लेखिएको छ। वैज्ञानिक नाम सिलोह्रिन्कस सुडोकेनेइस पनि उल्लेख छ। मेनन र दत्तलाई नै उद्धृत विश्व संरक्षण संघ (आइयुसिएन) ले सन् २०१० को सूचीमा अंग्रेजीमा नेप्लिज टोरेन्ट मिनउ/स्टोन कार्प उल्लेख गरेको छ।
इजिप्सियन जर्नल अफ अक्वाटिक बायोलोजी एन्ड फिसरिज जर्नलमा प्रकाशित ओमहरि श्रेष्ठको फिस डाइभर्सिटी एन्ड वाटर क्वालिटि प्यारामिटर्स अफ दूधकोशी रिभर, नेपाल शीर्षकको शोध आलेखमा दूधकोशी नदीमा २१ प्रकारका माछा भेटिएको उल्लेख गरिएको छ जसमा दुई प्रजातिका तीते माछा छन्। त्यसमा तीते माछालाई 'लिस्ट कन्सर्न' भनिएको छ जसको अर्थ वैश्विक संरक्षणको हिसाबले कम चासो रहेको भन्ने हुन्छ।
तीते माछा नेपालका पूर्वी पहाडी क्षेत्रबाट न्यानो पानी बग्ने खोला र खोल्सीहरूमा पाइने सानो प्रजातिको माछा हो। यिनीहरूको मोटाइ र लम्बाइ औसत मान्छेको हातको औला जत्रो हुन्छ, धेरै मोटोमा बूढी औंला जत्रो। मेनन र दत्त (१९६४) ले यसको लम्बाइ नौ मिलिमिटर उल्लेख गरेका छन्।
सप्तकोशी नदी प्रणालीको ओखलढुङ्गा, खोटाङ, भोजपुर, सोलुखुम्बु, संखुवासभा, पाँचथर, ताप्लेजुङका दूधकोशी, अरुण र तमोरमा मिसिने खोलाहरू लिखु, होङ्गु, रावा, पिखुवा, इर्खुवा, संखुवा, मावा, हिंवा, इवा, मुवा, काबेलीजस्ता उच्च पहाडी क्षेत्रबाट सुरु भएका तर हिमनदी नमिसिने खोलाहरू यसका मुख्य विचरण क्षेत्र हुन्। मुख्य प्रवाहको नजिकका न्यानो मूलहरू तिनका प्रजनन् क्षेत्र हुन्। यसको स्वाद हल्का तीतो हुने हुनाले यसलाई तीते माछा भनिएको हो।
जीवशास्त्रीहरूका अनुसार यिनीहरू मिनउ समूहका माछामा पर्छन्। मिनउ समूहमा संसारका तीन हजारभन्दा बढी किसिमका सानाखाले माछाहरू पर्छन्। मिनउहरू समूहमा बस्छन् र समूहमै बसाइँ सर्छन्। पानीमुनिको ढुङ्गामा टाँसिएर बस्ने हुनाले तीते माछालाई स्टोन कार्प भनिन्छ। तीते माछा रैथाने प्रजातिको भए पनि यिनीहरू ऋतुअनुसार बसाइँ सरिहरन्छन्। साथै यिनीहरूलाई नेटिभ इन्डेमिक भनिएको छ जसको अर्थ रैथाने तथा सीमित क्षेत्रमा पाइने भन्ने हुन्छ।
कन्काई नदी प्रणालीमा माछाको अध्ययन गरेका जीवशास्त्री डा. जीवन गुरुङका अनुसार भिरालो भूभागमा तीव्र वेगले बग्ने स्वच्छ पानीका खोलाहरू मन पराउने हुनाले वातावरणीय अनुकूलनको क्रममा शरीरमा लेउ परेर यी माछा चिप्लो भएका हुन् जसले गर्दा पानीको प्रवाहले निरन्तर हानिरहेको ढुङ्गाहरूमा पनि सजिलै टाँसिने क्षमता विकास भएको हुन्छ। यिनीहरूको बसाइँसराइको दूरीबारे खासै अध्ययन भइनसकेकाले कति टाढासम्म ओहोरदोहर गर्छन् भन्न सकिँदैन। पहाडी ठाडो खोलाहरूमा पाइने मान्यता स्थापित भए पनि मोरङको मैदानमा बग्ने लोहोन्द्र खोलामा पनि तीते माछा पाइएको स्थानीयवासी बताउँछन्।
तीते माछाहरू एउटै समूहमा ढुङ्गा वा मुढाहरूमा टाँसिएर बस्छन् र ऋतु परिवर्तनसँगै समूहमा बसाइँ सर्छन्। अत्यन्तै स्वच्छ र सफा पानीमा बस्न रुचाउने यिनीहरू भदौमा खोला नजिकैको पानीका मूलतिर प्रजनन्का लागि लाग्छन्। तिनीहरूको फुल न्यानो मूल पानीमा डुबेका ढुङ्गाहरूमा टाँसिएको हुन्छ। फुल पार्ने तथा प्रजनन्को काम सकिएपछि यिनीहरू भदौ अन्तिमतिर मुख्य थलोतिर फर्किन्छन्। त्यही मौकामा ढडिया थापेर स्थानीयले मार्ने गर्छन्।
स्थानीयका अनुसार मूलमा भएका सबै तीते माछा हूल बाँधेर एकै समयमा राति हिँड्छन्। त्यसैले साँझ ढडिया थापेर बिहान उठाएर शिकार गर्नुपर्छ। यिनीहरू एक वा बढीमा दुई रातमा बसाइँ सरिसक्छन्। कुन रात बसाइँ सर्छन् भन्ने थाहा नहुने भएकाले शिकारका लागि निकै रात धाउनुपर्छ। “कुनै कुनै साल त दश रातसम्म झरीमा भिज्दै कुर्नुपर्थ्यो”, ७३ वर्षमा हिँडिरहेका साम्पाङ सम्झिन्छन्।

सांस्कृतिक महत्त्व
सप्तकोशी नदीको पहाडी जलाधार क्षेत्रका रैथाने किराँतीका लागि तीते माछा आफैमा संस्कृति हो र सांस्कृतिक सम्पदा पनि। पाँचथर र ताप्लेजुङ जिल्लाको सिमानामा पर्ने काबेली ए जलविद्युत परियोजनाको सामाजिक मूल्याङ्कन प्रतिवेदन २०१३ मा आदिवासी माझी, राई र लिम्बूहरूलाई उनीहरूको कुल देवताको पूजा गर्न र अरू संस्कारहरू गर्न तीते माछा चाहिने उल्लेख छ। त्यसमा लेखिएको छ, “लिम्बू र राईहरूले न्वागी पूजा गर्दा प्रकृति र देवीदेवतालाई ताजा तीते माछा चढाउनुपर्छ।”
हुन पनि सुनुवारहरूको विवाह कर्म र राईको न्वागी अर्थात् नयाँ चलाउने पितृपूजामा तीते माछा अनिवार्य थियो। त्यसैले हरेक साल आफ्नो भागमा आएको मध्ये एक, दुईवटा अर्को साल ताजा तीते नआउँदासम्म संस्कारमा प्रयोग गर्नको लागि सुकाएर राख्ने गरिन्थ्यो। न्वागीमा नयाँ अन्न र कृषि औजारहरूको पूजा घरमा नयाँ तीते भित्रिएपछि मात्रै गर्ने गरिन्थ्यो।
स्थानीय खोला किनारका प्राकृतिक पानीका मूलहरूमा प्रशस्त तीते माछा पाइँदासम्म तीते टिप्ने मौसम सबै गाउँका लागि एउटा उत्सव हुन्थ्यो। गाउँ नै मिलेर शिकारमा जाने र जानै नसक्ने तथा नभ्याउनेहरूलाई पनि कुनै विभेद नगरी भाग लगाएर घरघरै पुर्याइदिने चलन थियो। वर्षमा एक छाक भए पनि तीते खानुपर्छ भन्ने संस्कृति जत्तिकै प्रखर मान्यता थियो। तीते पाइने मूल संरक्षण गर्नु सबैको दायित्व थियो।
तत्कालीन वल्लो किराँतका सुनुवार, माझ किराँतका राई र पल्लो किराँतका लिम्बूको नियमित खाद्य शृङ्खलाको एउटा परिकार मात्र होइन तीते माछा। यो त जन्मदेखि मृत्युसम्मको सांस्कृतिक कर्मकाण्डको एक हिस्सा पनि हो। सुनुवारहरू यसलाई नेङ भन्छन्। वान्तावाहरू तीते माछालाई ङाक्ङा भन्छन् । सुनुवारहरूले नेङ भन्छन् भने लिम्बूहरूले किघिकःना र मेख्ना भन्छन्। राईहरू भने बहुभाषी समुदाय भएको हुनाले खोलापिच्छे भिन्दाभिन्दै नाम छ।
खोलामा तीते मासिएपछि संस्कृतिमै बदलाव आएको छ। पहिला सबैको घर पुर्याएर मात्रै शिकारीको घरमा पाक्थ्यो, अहिले भएको ठाउँमा पनि दुई-चार जना मिलेर थाहै नदिई शिकार गर्ने चलन आएको छ। सामूहिकता व्यक्तिवादमा र उत्सव गोपनीयतामा परिणत भयो।
ओखलढुङ्गा खिजिदिम्बाका समिर सुनुवारका अनुसार लिखु खोलाको दोभान, सिरुवा, सोधा, झोलुङगे, सत्देल्बु, बेबेर, लिम्ती तीते माछा पाइने मुख्य क्षेत्र हुन्। तीते माछा पाउन छोडेपछि त्यस भेगका सुनुवारहरूलाई मुक्दुमी विधिअनुसार सांस्कृतिक कर्महरू गर्न कठिनाइ भइरहेको छ। त्यता मात्रै हैन सबैजसो किराँती बस्तीमा तीते माछाको साटोमा अरू नै माछाको प्रयोग गरिन्छ। अचेल धेरैजसो घरमा मधेशको सिद्रामाछा प्रयोग हुन्छ।

विकासले गरेको विनाश
विगतमा जमिन, वनजङ्गल र पानीमा रैथानेहरूको विशेषाधिकारसँगै पानीको एक पैदावर तीते माछामा पनि स्थानीय रैथाने बासिन्दाहरूको अधिकार कायम थियो। भगिराज इङ्नामको पुस्तक लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह: सम्बत् १७१९-२०२० (सन् १६६२-१९६३) को भूमिकामा लेखिएको छ, “शाह राजाहरूबाट प्रदान गरिएको प्रायः सबै लालमोहर, रुक्काहरूमा ‘.... तेरा पिता पुर्खादेखि खाईपाई आएको जग्गा जमिन र तित्या महभिर थामिदिँदै सुब्बाङ्गी थामि दिएको’" भन्ने छ। यहाँ तित्या भन्नाले तीते माछा र महभिर भन्नाले भीर मौरी भन्ने बुझिन्छ। यी दुई शब्दको सन्धि भई तित्यामहभिर भएको हो।”
यसले पृथ्वीनारायण शाहको गोरखा राज्य विस्तारभन्दा अघि तीते माछा त्यस किराँत क्षेत्रमा महत्त्वपूर्ण जलपैदावर भएको र नयाँ राज्य व्यवस्थाले पनि त्यसमाथिको आदिवासी तथा रैथाने जातिको अधिकारलाई निरन्तरता दिएको देखिन्छ।
२०२१ सालको भूमिसुधार लागू हुनुभन्दा पहिला जल, जमिन र वनको स्वामित्व स्थानीय जमिनदार जिम्मावालको हुन्थ्यो। जसले खनजोत गरिरहेको जमिन भए पनि त्यससँगै जोडिएको पानीको मूल उसको हुँदैनथ्यो, जिम्मावालकै हुन्थ्यो। त्यसैले त्यस मूलमा आउने तीते माछा जिम्मावालको हुन्थ्यो। त्यसको शिकार जिम्मावालको आदेश, अनुमति र तजबिजमा हुन्थ्यो। जथाभाबी शिकार गर्न पाइँदैनथ्यो। शिकार गर्नुअघि जिम्मावालको अनुमति लिनुपर्थ्यो। अनुमति पाएपछि जिम्मावालको सलामी दस्तुर बुझाउनुपर्थ्यो।
एउटा उदाहरण, तत्कालीन पूर्व ४ नम्बर सिक्तल थुम पर्ने खावाका मानवहादुर राई ठुला जिम्मावाल थिए। उनी एक्लैले सबैतिर नभ्याउने हुनाले दिल्पा पाटी गाउँका आफ्नै वंश इन्द्रबहादुर राईलाई तल्लो दिल्पा क्षेत्रका लागि सहायक जिम्मावाल बनाएका थिए। उनी त्यस भेगका तीते पाउने मूलहरू हरेक साल पालैपालो टोल टोललाई भाग लगाएर शिकार गर्न दिन्थे। जुन टोलले आफ्नो पालोमा शिकार गरे पनि त्यस मूलको सेवाक्षेत्रका सबै घरलाई भाग पुर्याउनुपर्थ्यो। इन्द्रबहादुरका छोरीपट्टिका नाति विष्णुकुमार राई आफ्नो मावली घरमा हरेक साल जिम्मावालको भाग तीन मुरी जति तीते आउने गरेको आफ्नी आमाले सुनाएको बताउँछन्।
भूमिसुधारपछि जमिनको रेखाङ्कन तथा त्यसको स्वामित्व वैधानिक रूपमा जोतपोत गर्नेको नाममा दर्ता हुने क्रम सुरु भयो। पानीका मूलहरू पनि जग्गाधनीको हुन थाले। २०३६ सालमा भोजपुरमा जग्गा नापी भयो। तीते माछाको स्वमित्व जिम्मावालबाट जग्गाधनीमा सर्यो। त्यसपछि तीते माछाको शिकारमा लापरबाही हुन थाल्यो।
खोलातिर फर्किदा शिकार गर्नुपर्ने परम्परागत नियम भएकोमा प्रजनन् गर्न उकालो लाग्दालाग्दै मार्न थालियो। “फर्किदाभन्दा जाँदाजाँदैको तीते धेरै मीठो हुने” भाष्य स्थानीय स्तरमा फैलियो जसले गर्दा सबै तीते मूलतिर लाग्दालाग्दै उल्टो ढडिया थापेर मार्न थालियो। त्यसैबाट यो मासिन सुरु भएको पुरानो पुस्ताका मान्छेहरू बताउँछन्।
स्थानीय बासिन्दा भएकाले पिखुवामा भएका परिवर्तनको साक्षी हुँ म। पिखुवाका उत्तरी जलाधार क्षेत्रमा २०३० को दशकबाट अलैँची खेती थालिएको हो। अन्नखेती नहुने भिरालो साँघुरो अप्ठ्यारा खोल्सीहरूमा पनि फाँडेर, भत्काएर, पर्खाल लाएर, मूलको धारालाई अर्कोतिर मोडेर अलैँची लगाउन थालियो जसले तीते माछाको प्राकृतिक खेलोक्षेत्र नासिँदै गयो। त्यस भेगमा अलैँची खेतीको सुरुवात हुनु र तीते माछा मासिन थालेको समय कालखण्ड एउटै पर्नु संयोग मात्रै हैन।
अलैँची खेती व्यापक हुँदै गएपछि विषादीको प्रयोग पनि सुरू भयो । एकपछि अर्को रोग र कीराहरूले अलैँची आक्रमण गर्ने, त्यसको लागि झन्झन् कडा विषादीहरूको प्रयोग बढ्ने अभ्यास भयो। त्यसभन्दा माथिका धान खेतहरूमा रासायनिक मल प्रवेश गर्यो। जसले गर्दा तीते माछाका भ्रुणहरू नै मासिए। पिखुवाका मुहान क्षेत्रमा अहिले न अलैँची छ न त तीते माछा नै।
ताप्लेजुङ र पाँचथरका खोलाहरूमा अहिले पनि तीते माछा पाइने भए पनि लोपोन्मुख अवस्थामै रहेको स्थानीय बासिन्दाले बताउने गरेका छन्। उनीहरूको अनुभवमा सडक निर्माण तथा खोलाहरूमा बनेका र बनिरहेका जलविद्युत आयोजनाले तीते माछा मास्ने भूमिका खेलको छ। पिखुवा खोलामा आठ मेगावाटको पिखुवा टक्सार जलविद्युत आयोजनाबाट केही वर्षदेखि विद्युत उत्पादन भइरहेको छ भने चार मेगावाटको सुम्निमा जलविद्युत आयोजना निर्माणाधीन छ।
स्थानीय बासिन्दाको अनुभव भन्छ, जलविद्युत आयोजना निर्माण गर्दा खोलाहरूमा पानीभन्दा धेरै बालुवा लेदो बगेर तिनीहरूको दैनिकीलाई असर पार्यो। तीते माछाका प्रजनन् क्षेत्रहरू नष्ट भए। विचरण क्षेत्रहरू अवरुद्ध भए।
काबेली ए प्रतिवेदनमा पनि “परियोजनाको कारण काबेलीमा पानीको बहाब घट्नाले संस्कार र अन्य धार्मिक कार्यहरूमा महत्त्वपूर्ण माछाका प्रजातिहरूको सङ्ख्या घट्न सक्छ” भनिएको छ। त्यस्ता परियोजनाहरूले तीते माछाको सङ्ख्या घटाउने होइन मास्ने नै काम गरिरहेका छन्। त्यसको साथै खोलामा माछा मार्न प्रयोग हुने विषादी, विद्युतीय करेन्ट, विश्वव्यापी जलवायु परिवर्तनको असर स्वरूप प्राकृतिक जलचक्रमा अनियमितता, अतिवृष्टि, अनावृष्टिले पनि तीते माछा मास्न भूमिका खेलिरहेका छन्। थोरैथोरै बाँकी रहेको क्षेत्रमा पनि यही रफ्तारमा मासिदै जाने हो भने पछिल्लो पुस्ताले तीते माछाको नाम पनि सुन्ने अवसर गुमाउने छन्।
भाषाविज्ञानमा स्नातकोत्तर पूर्ण पी राई मोरङ, सिधराहस्थित वाणी माविमा अध्यापन गर्छन्। शिक्षा, संस्कृति र समसामयिक विषयका उनका विभिन्न लेख पत्रपत्रिका र अनलाइन सञ्चार माध्यममा प्रकाशित छन्। ...
भाषाविज्ञानमा स्नातकोत्तर पूर्ण पी राई मोरङ, सिधराहस्थित वाणी माविमा अध्यापन गर्छन्। शिक्षा, संस्कृति र समसामयिक विषयका उनका विभिन्न लेख पत्रपत्रिका र अनलाइन सञ्चार माध्यममा प्रकाशित छन्।