‘द कमन्स’ बारे

‘द कमन्स’ बारे

‘द कमन्स’ ले समाज विज्ञान र मानविकी विषयमा लेखिएका अनुसन्धात्मक लेख, रिपोर्ट, फिचर, निबन्ध, श्रव्य–दृश्यलगायतका सामग्री प्रवद्र्धन र प्रकाशन गर्दछ । यसले नेपाल र तथा विश्व इतिहास, राजनीति, संस्कृति, अर्थतन्त्रसँगै समाज र दैनिक जीवनका विविध पक्षबारे सामग्री प्रस्तुत गर्नेछ। नेपालभित्र र बाहिरका नेपाली तथा गैरनेपाली पृष्ठभूमिका स्थापित तथा नयाँ पुस्ताका अनुसन्धानकर्ता, विद्वान्, लेखक, पत्रकार, फोटोपत्रकार, कलाकारलगायत छानिएका रचना समावेश गरिनेछन् ।

‘द कमन्स’ नै किन ?

यी तीन मोटामोटी कारणले ‘द कमन्स’ जस्तो सार्वजनिक मञ्चको आवश्यकताबारे बताउँछन्।

१. विश्वमै आममानिसका लागि आर्थिक हिसाबले प्राज्ञिक शैक्षिक लेखन/प्रकाशन सामग्री भौतिक र डिजिटल रूपमा आर्थिक हिसाबले डाउनलोड र खरिद गर्ने सुविधा कमै मात्र उपलब्ध छ । नेपालमा त अझ बढी यसको अभाव छ । लागतका हिसाबले ती सामग्री सहज उपलब्ध तथा पहुँचमा छैनन् । पहुँच भएका कतिपय सामग्री पनि यसको लक्षित निश्चित समूह र जटिल लेखनशैलीका कारण सर्वसाधारणको समझभन्दा केही परका लाग्छन्। त्यसैले पनि यस्ता लेखनले आलोचना खेप्ने गर्दछ।

२. यतिबेला बौद्धिकतालाई अस्वीकार गर्नेको जमात बढ्दो छ । ‘क्लिकबेट’ पत्रकारिता र सामाजिक सञ्जालहरूले अनुसन्धानमुखीभन्दा अफवाहप्रेरित सूचनालाई बढावा दिँदा सुसूचित बहस र विचार–विमर्शमा कमी आउनुका साथै समाजमा समभाव खस्किँदो छ। तथ्य पुष्टि गर्न केही संस्था तथा साइट पनि छन् । तर ती पनि मानवीय संसाधनको कमी, आर्थिक अपर्याप्तता र अन्य विविध कारणले गर्दा खासै प्रभावकारी देखिँदैनन् । यस अर्थमा, ‘द कमन्स’को उद्देश्य यसरी निर्माण गरिने ‘कमन सेन्स’माथि प्रश्न गर्दै, विचार निर्माणमा नागरिक सहभागिता अझ पेचिलो बनाउन चाहिने सार्वजनिक ‘डिजिटल मञ्च’ को विकास पनि गर्नु हो ।

३. नेपाली सार्वजनिक वृत्तको सन्दर्भमा, विशेषगरी गएको दशकमा मध्यम र लामा लेख्य सामग्रीको उत्पादन र खपत दुवैमा उल्लेखनीय वृद्धि भएको छ । त्यसैगरी केही यस्ता प्राज्ञिक कार्य पनि भएका छन्, जसले पाठकको ठूलो जमातमाझ पुग्न धेरै हदसम्म ‘सरल’ र कम ‘शब्दजाल’ले भरिएको सैद्धान्तिक लेखनको उपाय अपनाएका छन् । ग्राफिक निबन्ध, उपन्यास, फोटो निबन्ध पनि सञ्चार र ज्ञान उपभोगको लोकप्रिय र शक्तिशाली माध्यम बनिरहेका छन् । यसमा पाठ्यसामग्री पनि सहायक रहेकामा कुनै सन्देह छैन । यद्यपि यी सामग्री/लेखनलाई समायोजन र प्रवद्र्धन गर्ने प्लेटफर्महरूको भने साँच्चिकै अभाव छ।

ज्ञान उत्पादन र प्रसारमा यस्ता नवीन प्रवृत्तिहरूको उपयोग गर्नेमा ‘द कमन्स’ आशावादी छ ।

‘द कमन्स’मा प्रकाशन हुने सामग्रीका प्रकार र ढाँचा

१. पाठ्यसामग्रीको प्रकाशन र प्रवद्र्धन यसको प्राथमिक लक्ष्य हुनेछ । जस्तो कि, पुस्तक समीक्षा, लामा विस्तृत/गहन निबन्ध, लेख, रिपोर्ट, अन्तर्वार्ता र एक्सप्लानर ।
२. ग्राफिक निबन्ध, इलुस्ट्रेसन साथै फोटो निबन्ध ।
३. श्रव्य–दृश्य सामग्रीः पडकास्ट, मिडिया सर्टस् र वृत्तचित्र ।
४. सामग्रीहरू नेपाली र अंग्रेजी भाषामा हुनेछन् ।

‘द कमन्स’ सोसल साइस वहाः को पहल हो ।

अंग्रेजीमा पढ्नुहोस् ।

 

Want to Share an Article? Send It to Us!


Submit Article