
२०८२ फागुन २९ गते (मार्च १३ तारिख) झापालीहरूले सामाजिक संजालमा अलि अनौठा दृश्य पोस्ट गरे। कुनै दृश्यमा किसानहरू एक-डेढ फिट पानी जमेको खेतमा आलु खन्दै देखिन्थे। "जे गर्छन् झापालीले गर्छन्" त्यो दृश्य पोस्ट गर्ने किसानले भनेका थिए। त्यो देख्दा लाग्थ्यो झापालीहरुले पानीमा फल्ने आलु लगाउन थालेछन्।
अर्को पोस्टमा भएको फोटोमा कुचो बनाउने अम्रिसोका ठूल्ठूला मुठा हिलाम्मे तलाउमा डुबेका थिए। उहिले बाँसमा किरा नलागोस भनेर त्यसमा भएको गुलियो हटाउन बाँस काटेर तीन चार/महिना हिलो माटो/पानीमा डुबाउँथे। बाँसलाई सुरक्षित राख्ने यो प्रविधि अम्रिसोका कुचोमा प्रयोग गर्ने विचार झापालीले गरेछन् कि जस्तो लाग्थ्यो।
कुनै दृश्यमा यसपालि फागुन नबित्दै साउन/भदौ आइपुगेछ भन्नुजस्तो गरी पानी टम्म भरिएका खेतका गह्रा देखिन्थे। ती गह्रा बिचमा घर देखिन्थे। घरभित्र पानी पसेर बिजोग भएका दृश्य पनि पोस्ट गरिएका थिए।
अनि अर्को दृश्यमा चाहिँ बिघाका बिघा खेतमा लगाएका केराका बोट भाँचिएका/लुछिएका र पात चिथोरिएका देखिन्थे। भीषण युद्द हुँदा चलाइएका गोलाबारीले उजाडेका बस्ती झैँ देखिन्थे केराबारी। झापामा आउने जाने गर्ने जंगली हात्तीले केरा खाइदिन्छन्/भाँचिदिन्छन्। तर केराघारी यसरी उजाड्न सक्ने गरी हात्तीका धेरै बथान अब झापामा कहाँ बाँकी छन र !
अनारमनीः असामान्य पानी
अनारमनीमा गएको फागुन २८ गते परेजति पानी यसअघि यही ऋतुमा परेको थिएन।
यो विध्वंश र दुर्दशा अघिल्लो दिन चलेको हावाहुरी र अत्यन्त भीषण पानीको करामत थियो। त्यसदिन अर्थात् फागुन २८ गते बेलुकी ५ बजेसम्म झापाको अनारमनीमा पानी परेको थिएन। ६ बजेसम्ममा ११ एमएम जति पानी पर्यो। त्यसको एक घण्टा अर्थात् ६ देखि ७ बजेसम्ममा थप ४५ एमएम पानी पर्यो।
यतिसम्म ठीकै थियो। तर ७ बजेदेखि ८ बजेका बिचको एक घण्टामा ७२ एमएम पानी थपियो। यो एक घण्टा मात्रैमा परेको पानी विपद् ल्याउन सक्ने पानीभन्दा २० प्रतिशत बढी थियो। ६ बजेदेखि ८ बजेसम्मका दुई घण्टामा जति पानी पर्यो त्यसभन्दा १५/१६ प्रतिशत कम पानी परेको थियो भने पनि त्यो खतरनाक हुन सक्थ्यो।
यस बिचमा कुनै बेलामा त १० मिनेटमा १६ एमएमसम्म पानी पर्यो। यस्तै मुसलधारे पानी घण्टाभर परेको भए एक घण्टामै ९६ एमएम पानी पर्थ्यो। धन्न यसो भएन।
पानी पर्न थालेका तीन घण्टामा जति पानी पर्यो त्यति पानी १२ घण्टा लगाएर परेको भए पनि त्यसले खतरा ल्याउन सक्थ्यो।
पानी अझ पर्दै गयो। राती ८ बजेदेखि ९ बजेसम्ममा ३० एमएम पानी थपियो। ६ बजेदेखि ९ बजेका बिचमा परेको (१५७ एमएम) भन्दा कम (१४० एमएम) पानी २४ घण्टामा पर्दा पनि शतर्क हुनुपर्छ भन्छन् मौसमविद्हरू। यहाँ बेलुका ६ बजेदेखि बिहान ३ बजेसम्मका नौ घण्टामै १६९ एमएम पानी परिसकेको थियो।
अनारमनी आसपासका झापाका धेरै ठाउँमा यति भिषण त होइन तर असामान्य मात्रामा पानी परेको थियो।
फागुन २८ गते झापा र आसपास परेको असामान्य पानी
त्यस दिन जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी जानकारी दिने वेबसाइट पेजमा देखाएको नेपालको नक्शामा झापाको अनारमनीमा रातो रङको घण्टी झुण्ड्याइएको थियो। अर्थात् मौसमविदहरूका दृष्टिमा त्यस दिन मौसमले खतराको घण्टी बजाएको थियो। त्यस दिन गोरखा, चितवन, उदयपुर आदि जिल्लामा पनि भीषण वर्षा भएको थियो तर झापाको अनारमनीमा परे जति पानी नेपालभर कहीँ पनि परेको थिएन।
त्यस दिन मात्र होइन सन् १९९६ सम्म मेची, कोशी, सगरमाथा र जनकपुर अंचलभरका पानी नाप्ने एउटा पनि स्टेशनले त्यस महिना (मार्च) मा एकै दिनमा यति धेरै पानी रेकर्ड गरेका थिएनन्।
जल तथा मौसम विज्ञान विभागले नेपालभरका २० वटा स्टेशनमा मार्च महिनामा २४ घण्टामा परेको पानीको रेकर्ड दिएको छ। यो रेकर्डअनुसार मार्च महिनामा एक दिनमा सबैभन्दा बढी ८४.४ एमएम पानी जुम्लामा १९७१ मार्च ३ तारिखमा परेको थियो। अस्ति अनारमनीमा यसको डबल पानी परेको थियो।
यसका आधारमा फागुन २८ गते फागुन २८ गते बिहानदेखि २९ गतेबिहानसम्को एक दिनमा जति पानी परेको थियो त्यसभन्दा बढी पानी एक दिनमा परेको थिएन होला भनी अन्दाज गर्न सकिन्छ। (विभागले तथ्यांक दिएका २० वटाबाहेकका अरू स्टेशनमा बढी पानी परेको हुन सक्ने हुनाले यकिन गरी भन्न सकिँदैन।)
यहाँ यसपालि अनारमनीमा एक दिनमा परेजति पानी मार्च महिनाभरमा कति ठाउँमा, कति पटक परेको थियो भनी हेर्नु उपयुक्त हुन्छ। यसका लागि माथि उल्लेख भएका चारवटा अंचलका सबै स्टेशनका पानी नाप्न शुरू भएका वर्षदेखि १९९६ सम्मका रेकर्ड हेरौँ (यस्ता स्टेशन फरक फरक वर्षमा स्थापना भएकाले शुरू भएको मिति फरक फरक छ)।
मार्चमा धेरै पानी परेका ठाउँ
यस कामका लागि हिउँदमा बढी वर्षा (पानी भन्दा पनि हिउँ) हुने हिमाली भेगका २५०० मिटरभन्दा अग्ला ठाउँमा रहेका स्टेशनमा मार्चमा परेको वर्षाको कुरा छाडौँ किनभने त्यहाँ त्यतिवेला बढी वर्षा हुनु स्वभाविक हो। धेरै पानी पर्ने संखुवासभाका चेपुवा र नुमजस्ता स्टेशनको पनि कुरा छाडौँ किनभने त्यो नेपालकै धेरै वर्षा हुने ठाउँमध्येमा पर्छ। जल तथा मौसम विज्ञान विभागका प्रकाशनका अनुसार नुममा सन् १९६० मा वर्षभरमा ६३४७ एमएम पानी परेको थियो जुन नेपालका अरू धेरै ठाउँका तुलनामा निकै बढी हो।
यसो गर्दा के देखिन्छ भने सिन्धुलीगढी, नेपालथोक, माने भन्ज्याङ (ओखलढुङ्गा), दोरपा (खोटाङ), कुरुलेघाट (खोटाङ) र सोक्तिम (इलाम) गरी ६ ठाउँमा एक एक पटक मात्र यसपालि मार्चको एक दिनमा अनारमनीमा परेको भन्दा बढी वर्षा रेकर्ड गरिएको थियो। अरू स्टेशनमा अरू वर्षमा अस्ति अनारमनीमा एक दिनमा परेजति पानी मार्च महिनाभरमा पनि परेको थिएन।
यहाँ एउटा अलि अचम्म र अपत्यारिलो लाग्ने एउटा अपवाद हो कि गल्ति हो त्यसलाई ध्यान दिनुपर्छ। विभागको प्रकाशनअनुसार फागुन २८ गते असामान्य वर्षा भएको अनारमनीभन्दा ११ किलोमिटर पूर्व दक्षिणमा पर्ने चन्द्रगढीमा सन् १९४९ मार्च १६ तारिख बिहानदेखि १७ तारिख बिहान (२००५ साल चैत ३ गते बिहानदेखि ४ गते बिहान) सम्म ३८३ एमएम पानी परेको थियो।
एक दिनमा ३८३ एमएम पानी! त्यो पनि मार्च महिनामा! अलि अपत्यारिलो लाग्छ।

त्यसैले चन्द्रगढी वरपरका अरू स्टेशनमा के भएको थियो भनी हेरौँ। त्यतिवेला झापामा चन्द्रगढीबाहेक अरू स्टेशन थिएनन्। अलि टाढाका स्टेशनमा त्यतिवेला मौसम सामान्य थियो।
चन्द्रगढी विमानस्थलको पूर्वी कुनाबाट २ किलोमिटर पूर्व नजाँदै नेपालको सिमाना मेची नदी कटेर भारत पुगिन्छ। यस हिसाबले चन्द्रगढीमा परेको भीषण पानीको असर भारतमा पनि परेको हुनुपर्छ। यसको रेकर्ड भारतीयहरूले राखेको हुनुपर्छ।
भारतको मौसम विज्ञान विभागले सन् १९५० मा 'मौसम' नामक जर्नल निकाल्न थाल्यो। यसको पहिलो अंकमा पूर्वी नेपालसँग सिमाना जोडिएका पश्चिम बंगाल र बिहारजस्ता ठाउँमा भएको असामान्य वर्षाबारेमा उल्लेख छ। सो जर्नलका अनुसार, १९४९ अप्रिल १ देखि मे १५ सम्म भारतका पश्चिम बंगाल र बिहारलगायतका ठाउँमा असामान्य खालले बढी पानी पर्यो। सो जर्नलको पहिलो अंकमा उल्लेख भएअनुसार यो डेढ महिनामा ३८१ एमएमसम्म पानी पर्यो जुन सामान्यभन्दा ४ देखि ५ गुणा बढी हो। कलकत्तामा मे ७ बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म लगातार पानी पर्यो। त्यसको भोलिपल्ट बिहान ८ बजे अर्थात एक दिनमा कतै कतै २०३ एमएम पानी पर्यो।
चन्द्रगढीमा ३८२ एमएम पानी परेका दिन पश्चिम बंगाल र बिहारमा असामान्य पानी परेको भए यसको विवरण उनीहरूले राख्ने थिए किनभने यो दिनभन्दा सामान्य पानी परेका वेला अप्रिल र मेको रेकर्ड उनीहरूले राखेका छन्। त्यसैले त्यस दिन पश्चिम बङ्गाल र बिहारमा असामान्य वर्षा भएको थिएन।
त्यस दिन चन्द्रगढीमा मात्र पानी परेको थियो होला त ? यस कुराको निर्क्यौल अरू प्रमाण फेला पारेपछि मात्र हुनसक्छ। अहिलेलाई यसै भएको थियो भनेर जोड नगरौँ।
शंका गर्ने ठाउँ भएको त्यो पुरानो कुरालाई छाड्दा फागुन २८ गते अनारमनीमा यसअघि कहिल्यै नपरेको पानी पर्यो भन्न सकिन्छ। यस्तै असम्भवजस्तो देखिने घटना भयो भने त्यसलाई उहिले 'दैव चरित्रले गर्दा' भएको भन्ने गरिन्थ्यो। अहिलेसम्म नपरेको असामान्य खालको पानी कसरी पर्यो भन्दा अहिले हामी 'प्रकृतिको चरित्रले गर्दा' भन्न सक्छौँ किनभने नियममा नबाँधिनु प्रकृतिको प्रकृति (स्वभाव) हो। लामो समय आफूले जे गरेको छ त्यो नगर्नु उसको मूल चरित्र हो।
जलवायू परिवर्तनले गर्दा अहिले आएर यो नियम अझ बढी लागू भएको छ। मौसम झन् अनियमित बनेको छ। मानिसले मौसमको चाल हेरेर उसको नियम यस्तो रहेछ भनी अन्दाज गर्ने र त्यहीअनुसार काम गर्दै आएका छन्। जस्तै, फागुन (अथवा अरू कुनै पनि महिना) मा हावापानी यस्तो हुन्छ भन्ने ठानेर सोही अनुसार काम गर्नु।
अनारमनी लगायतका नेपालका विभिन्न ठाउँमा विगत केही वर्षयता भइआएका असामान्य खालका वर्षाले हामीलाई पटक पटक सम्झाएका छन्- हावापानी जति वेला जसरी पनि आउन वा नआउन सक्छ। यसले भविष्यमा झन् अनिष्ट हुने कुराको संकेत गरेको छ। तर पहिलेका अरु ठाउँका यस्ता घटनालाई जस्तै यसपालिको झापाको घटनालाई पनि कसैले गम्भीर रूपमा लिएजस्तो देखिँदैन।
दशा चूपचाप आउँदैन, बाजा बजाएर मात्र आउँछ। त्यस्तो बाजा सुन्नु/नसुन्नु हाम्रो इच्छा र क्षमताको कुरा हो। यी असामान्य पानीले बजाएको बाजा सुनेनौँ/बुझेनौँ भने हामीले पानीको दहमा आलु खनिरहनुपर्छ, हिउँद नसकिँदै मध्यबर्खा भोगिरहनुपर्छ। घरभित्रै पानीमा डुबुल्की मारिरहनु पर्छ।
मोहन मैनाली लेखक, पत्रकार तथा डकुमेन्ट्री निर्माता हुन्। उनको पछिल्लो पुस्तक 'मुकाम रणमैदानः नेपाल-युद्धको बखान' हो। ...
मोहन मैनाली लेखक, पत्रकार तथा डकुमेन्ट्री निर्माता हुन्। उनको पछिल्लो पुस्तक ‘मुकाम रणमैदानः नेपाल-युद्धको बखान’ हो।