नाम — बालाशंकर मिश्र
ठेगाना — पुरानो दिल्ली।
इलम — पन्डित्याइँ, व्यापार र इस्वीको १९औं शताब्दीको पूर्वार्द्धमा गोर्खाली राज्यलाई भारतीय र विश्वव्यापी सार्वजनिक वृत्तसँग जोड्ने मेलो।
त्यस बखतको उपमहाद्वीपभरि बुझिने दफ्तरी भाषामा भन्नुपर्दा, अखबार नवीसी। मुगल शासनअघिको सल्तनतको समयदेखि नै हिन्दुस्तानमा विभिन्न प्रकारका नवीस, अर्थात् लेखक, पदहरू सरकारी चलनचल्तीमा थिए । खुफिया नवीसले शासकलाई मोफसलबाट गोप्य सूचना प्रवाह गर्थे भने वाकिया नवीस दरबारका दैनिकी लेख्थे । यसै गरी अखबार नवीसको काम भने विभिन्न राजारजौटा, जमिनदार र साहूमहाजनका प्रतिनिधिका रूपमा एकअर्काका निवासमा बसेर दरबार र शहरबजारका घटनाहरूबारे समाचार सम्प्रेषण गर्नु थियो।
सन् १९५१ अघि भारततर्फको सम्बन्ध हेर्ने अड्डा मुन्सीखाना हाँक्नेहरूमध्ये मीरमुन्सी लक्ष्मीदास प्रधान र उनका सन्तान–दरसन्तानबारे केही मोटामोटी जानकारी हामीलाई छ। तर गोर्खाली कूटनीति र विदेश सम्बन्धलाई चलायमान राख्ने साना पात्रहरूबारे हाम्रो ज्ञान र रुचि अझै पनि पातलो छ। यीमध्ये थिए उल्थाको काम गर्ने नौसिंदा, जसले नेपालभित्र कमैले बुझ्ने तर मुन्सीखानामा धेरै चल्ने फारसी भाषाका पत्रहरूको हिन्दी वा नेपालीमा अनुवाद गर्थे। विसं १८९९ (सन् १८४२)मा महिनाको ९ रुपैयाँ तलब थाप्थे (मीरमुन्सीको तलब उति बेलै १३०० रुपैयाँ थियो)। अर्काथरी हुन्थे, काठमाडौं पर सरहद नजिक बसेर जिल्लाका सुब्बालाई फारसी पत्राचार र सीमा विवादमा सहयोग गर्ने जागिरदारहरू जसले प्रायः विदेशी मुद्रामा अलि बढी तलब लिएको देखिन्छ। उनीहरूका संवेदनशील चिठीपत्र वारपार गर्ने तर मासिक ५ रुपैयाँ पनि नकमाउने हलकाराबारे हामी लगभग अनभिज्ञ छौं।
यिनै पात्रमध्येका थिए, बालाशंकर। सन् १८३० तिरदेखि कम से कम दुई दशकसम्म गोर्खाली सरकारको सेवामा बिताएका उनी अभिलेखहरूका पानामा काठमाडौंका शासकवर्गलाई हिन्दुस्तानसँग जोड्ने सानो तर महत्त्वपूर्ण पुर्जाका रूपमा देखिन्छन्। भीमसेन थापादेखि जंगबहादुर राणासम्मका प्रशासनलाई उनले अलिअलि जासुसी, अलिअलि खरिद–बिक्री तर धेरैजसो भने नियमित राजनीतिक र सार्वजनिक चासोका समाचार पठाएर तलबी सेवा दिएका थिए। प्रायः राजा राजेन्द्रविक्रम शाहका नाममा पठाइएका हिन्दुस्तानी भाषाका उनका हस्तलिखित अखबारले मुख्यतः दिल्ली, पन्जाब र राजपुताना क्षेत्रहरूका दरबार र बजारमा सुनिने राजकाजका समाचार बोकेका हुन्थे।
बालाशंकरकै बोलीमा भन्ने हो भने नेपाल सरकार ‘रोटी देनेवाले’ (रोटी दिनेवाला) थियो भने अंग्रेज सरकार ‘रक्षा करनेवाले’ (रक्षा गर्नेवाला)। पत्रहरूमा आफूलाई प्रायः ‘भिक्षुक’ वा ‘ब्राह्मण’ भन्न रुचाउने बालाशंकरका भाइ जयशंकरले पनि लाहोरमा बसेर अंग्रेजी दूतावासको लेखनदास हुँदाहुँदै गोर्खालीहरूको खुफिया पत्र वारपार गर्ने र पन्जाब क्षेत्रको हल्ला–समाचार पठाउने काम गरेको देखिन्छ। दोस्रो, उनको निवास नेपालबाट दिल्ली वा अझै पश्चिम (पन्जाब, काश्मीर या अफगानिस्तान) वा दक्षिण (ग्वालियर, जयपुर र अरू माराठा वा राजपुताना राज्यहरू) जाने सरकारी यात्रुहरूका निम्ति साविकको बास थियो। दस्तावेजअनुसार बालाशंकर राजनीतिक भ्रमणमा मात्र नभएर दरबारको वैवाहिक सोधपुछ वा मालसामान, लत्ताकपडा र घोडा पैठारी गर्न आएका नेपाली कर्मचारीलाई पनि सहयोग गर्थे। काठमाडौं दरबारले फर्माइस गरेका वस्तु मिलाउन ‘प्रोक्योरमेन्ट एजेन्ट’ सरहकै काम पनि गर्थे। तलब भने उनले ‘अखबार नवीस’ अर्थात् समाचार लेखकको नाममा पाएको देखिन्छ।
१९औँ शताब्दीका हस्तलिखित अखबार
बालाशंकरले नेपाल पठाएका पत्र प्रायः दुई भागमा हुन्थे। सबैभन्दा अगाडि हुन्थ्यो, नेपालका राजा, मुख्तियार वा अरू कुनै अधिकारीलाई नाम किटेर पठाएको चिठी, जसमा क्षेमकुशल र अरू व्यक्तिगत कुरा पथ्र्यो। यो छोटो हुन्थ्यो, ‘कभर लेटर’ सरहकै। त्यसपछि उनले पठाएको अखबार। सुरुवातमा अक्सर ‘खबर दिल्लीकी’ लेखिएको हुन्थ्यो, जहाँ गएका हप्ताहरूमा त्यस सहरको दरबार, बजार वा कचहरीमा भएका राजनीतिक, सामरिक, सांस्कृतिक वा आर्थिक कुराको लामो फेहरिस्त रहन्थ्यो। त्यसपछि ‘खबर लाहोरकी’ वा ‘खबर अकबराबादकी’ वा ‘खबर ग्वालियरकी’ आदि लेखेर अरू सहरको समाचार पनि आउन सक्थ्यो। उदाहरणका लागि, १८९८ साउन–भदौका तीन साता समेटेर लेखिएको एउटै अखबारका हरफ यसप्रकार छन्।
“लुध्यानेकी खबरसे मालूम हुवा १ महीनेके अर्सेसे लुध्यानेमे वर्षा नहीँ हुइथी। तारिख २५।२७ जौलाईमे २।२ पहेर तलक पानी बरसता रहा।” (लुधियानाबाट आएको समाचारबाट थाहा भयो कि लुधियानामा एक महिनादेखि पानी परेको छैन। जुलाई २५/२७ मा दिउसो सम्म पानी पर्यो।) “खबर दिल्लीकीः श्रावण सुदी १२ रोजमे हजूर के हुकुम बमोजिम बादशाही छापेखानेमे ५० पर्चे अखबारके तय्यार हुवेथे।” (दिल्लीको समाचार: श्रावण शुक्लपक्ष १२ मा हजुर (अर्थात् दिल्लीका बादशाह)को आदेश अनुसार, शाही छापाखानामा ५० कपी अखबार तयार पारिएको थियो।) “ईंगलिस्तानके बादशाहने ३० रिजमंट और पल्टन् गोरेकी फराँसके मुकाबले तय्यार करवाई हैँ।” (इङ्गल्याण्डका राजाले फ्रान्सेली सेना विरुद्ध लड्न गोराहरुको ३० वटा रेजिमेन्ट र पल्टन् तयार पारेका छन्।) “दषनकी (दक्षिणभारत) खबरसे मामूम हुवा कौमबिराली और अरबके और मरहेटे हैदराबादके जिलेमे इकठ्ठे हुवे, कुछ खजाना सर्कार अंगरेजीका लीयाथा।” (दक्षिण भारतबाट आएको समाचारबाट थाहा भयो कि कौमबिराली (?), अरब र मराठाहरू हैदराबादको जिल्लामा भेला भएर ब्रिटिश सरकारबाट केही खजाना लुटे।) “बुरून् साहब कलकटर हाँसीका बास्ते हवाखोरीके शिमलेको रवाना हुवे।” (हाँसीका कलेक्टर बर्नस् साहेब ताजा हावा खानशिमला गए।) “मिर्जा गुलाम निजामु्द्दिनके बेटे मिर्जा नौवाने हँसमुंखजामे अपनी लौंडीको मारपीट करी बाबत हरामकारी के। लौंडी मज्कूरका सिर मुडवा डाला था। लौंडी मज्कूर किलेकी फसीलके ऊपर चढकर खंधकमे गिरकर मरगई।” (मिर्जा गुलाम निजामुद्दीनका छोरा मिर्जा नौवा(?)ले हँसमुंखजा(?)मा आफ्नी केटीलाई व्यभिचार गरी भन्दै कुटपिट गरे। केटीको शिर मुण्डन गरे।ती केटी किल्लाको पर्खाल चढेर खाल्डोमा खसेर मरिन्।)
बालाशंकरले यस्ता खबरका स्रोत– कहिले व्यक्तिगत जानकारीबाट, कहिले अरू हस्तलिखित अखबार त कहिले छापाका फारसी, हिन्दुस्तानी वा अंग्रेजी पत्रिकाहरूबाट– कहिलेकाहीँ अखबारको मजबुनमै खुलाएका हुन्थे । नेपाली अभिलेखमा रहेका उनका धेरैजसो चिठी (वा कभर लेटर) उनका तलब नपाएको दुखेसोले भरिएका छन्। १८९९ पुसमा एक पत्रमा उनी राजा राजेन्द्रविक्रमलाई भन्छन्, ‘श्री ५ के खजानेसे रुपया मेरी तलब तनख्वाहका माफिक दस्तूरके नहीँ इनायत होता है। बिदुन रुपैयेके बन्दा हैरान और परेशान है।’ (श्री ५ को कोषबाट मेरो तलब भनेबमोजिम आइपुगेको छैन । पैसा बिना म हैरान र चिन्तित छु।)
बेलायती स्रोत पल्टाउँदा भने बालाशंकरको आर्थिक अवस्था फरक देखिन्छ। काठमाडौंमा सन् १८२०–१८४० को दशकसम्म ब्रिटिस रेजिडेन्सीमा कार्यरत ब्रायन हज्सनले सन् १८३८ मा कोलकाता पठाएको पत्रमा गोर्खाली सरकार र उत्तर भारतका विभिन्न शासकहरूबीच बढ्दै गएको अंग्रेजविरोधी गोप्य पत्राचारको सन्दर्भ देखिन्छ। हज्सन बालाशंकरलाई सम्पन्न साहु (‘रिच बैंकर’) भन्छन्। तर यसलाई पैसाको मामलामा तलमाथि नचाहने चनाखो साहु वा अप्ठ्यारोमा परेको व्यापारीले आफूले जानेको दरबारिया भाषामा लेखिएको बिन्तीका रूपमा बुझ्न सकिन्छ।
गोर्खाली सूचना सञ्जाल
नेपाल राज्यलाई हिन्दुस्तानका राजा–रजौटासँग सम्पर्क गराउनेमा प्रमुख खेलाडी थिए– काठमाडौंमा व्यापारिक कोठी राख्ने भारतीय साहुहरू। मालसामान र हुन्डी ओसारपसारसँगै यी कोठीका कारिन्दा हलकाराले लिखित चिठीपत्र र मौखिक सूचना पनि सिमाना हुँदै नेपाल खाल्डो वारपार गर्थे। बनारस वरपर साहु गौरीनाथ, अमृतसरतिरको दिलसुख राय, कुमाउँतिर गंगाराम शास्त्री, नजिबाबाद छेउ काश्मीरी खत्री भारामलमार्फत सम्पर्क बने जस्तै दिल्ली, दोआब र राजपुताना क्षेत्रसँगको सेतु भने बालाशंकर बने।
यस्ता संयन्त्रहरूलाई गोर्खाली शासक तथा सैन्य र निजामती प्रशासकहरूलाई भारत, तिब्बत र बृहत् एसियामा जोड्ने सूचना र ज्ञान आदानप्रदानका प्रणालीहरूको पृष्ठभूमिमा हेर्नुपर्छ। सरकारी तहको मात्रै सम्बन्ध केलाउने हो भने यसको एक हिस्सा थिए– नेपालबाट औपचारिक रूपमा अंग्रेजका अधीनका वा तिब्बतका विभिन्न सहर–राजधानीमा पुगेका ओहदाका वकिल र तिनका कचहरी। उनीहरू शुद्ध कूटनीतिक क्रियाकलापमा मात्र नलागेर नेपालमा माग हुने मालसामान तथा पुस्तक, पत्रिका, नक्सा र अरू पाठ्यसामग्री पनि पठाउने काम गर्थे। यसै संयन्त्रको अर्को हिस्सामा पर्थे लाहोर, हेरात वा ग्वालियर जस्तै स्वतन्त्र वा अर्धस्वतन्त्र राज्यमा पुगेका गोर्खाली राज्यका औपचारिक र अनौपचारिक एजेन्टहरू।
अझ सन् १८०० र १८४० बीच लाहोर र पन्जाब क्षेत्रमा नेपालीको बाक्लो उपस्थिति र सामरिक चासो परराष्ट्र सम्बन्धित अभिलेखहरूमा टड्कारो देखिन्छ। सबैभन्दा उपल्लो र सार्वजनिक तहमा राजा रणजित सिंह र राजेन्द्रविक्रमबीच उपहार र खिल्लतको आदानप्रदान थियो। गोप्य रूपमा भने त्यहाँ सैन्य श्रम गर्न पहाडबाट झरेका लाहुरे, तीर्थयात्रु वा व्यापारिक र सांस्कृतिक काममा पुगेका गोर्खाली अधिकारीहरूमार्फत धेरै प्रकारका सूचना नेपालसम्म पुग्थे। नेपालको कूटनीतिक अभिलेखहरूमा अहिले पनि त्यहाँ पुगेका सैनिक, यात्रु, वैद्य, हल्कारा आदिले लाहोर, अमृतसर, जलन्धर र अम्बाला जस्ता ठाउँबाट पठाएका रिपोर्ट भेटिन्छन्। यी सामग्रीमा रणजित सिंह र गोर्खाली टोलीले गरेका रोचक गफगाफको सार, सिख साम्राज्यका अधिकारीहरूको तलब–खान्गी वा लाहोर दरबारको हस्तलिखित नक्साको खाकासमेत पाइन्छ। बालाशंकरका अखबारमा पनि दिल्लीपछि अत्यधिक खबर लाहोर र पन्जाबकै हुन्थ्यो।
अर्जीमा अड्चन
नेपाल सरकारलाई वर्षौं सेवा दिने बालाशंकरले यो संवेदनशील काम गर्दा कस्ता अनुभव बटुले त ? यो बुझ्न सन् १८३८ को अन्त्यतिर उनले लेखेको ६ मिटर लामो अर्जी हेर्नुपर्ने हुन्छ। यो चिठी लामो हुनुको कारण छ। गएको पाँच महिनासम्म पत्राचारको उत्तर नआएपछि अगाडिका २० चिठीको पाठसमेत लेखेर उनले राजेन्द्रविक्रमलाई पठाएका रहेछन्। उनको पत्र दिल्लीबाट काठमाडौं नपुगेको हो वा काठमाडौंबाट दिल्ली नपुगेको हो, ठ्याक्कै भन्न गाह्रो छ। तर सम्पर्कमा अड्चन आउनुको कारण छ।
१८३० को दशक एसियामा भूराजनीतिक गर्मागर्मी र राज्यशक्ति पुनःसंरचनाको समय थियो। एकातर्फ मुगल साम्राज्यको संकुचनसँगसँगै सन् १७०० देखि १७६० बीच उठेका अवध र हैदराबाद वा सिख र मराठा राज्य जस्ता राजनीतिक एकाइ राज्य बन्दा नबन्दै असफलतातिर बढ्दै थिए। अर्कोतिर सैन्यकेन्द्रित अर्थ–राजनीतिको आडमा उठेका इस्ट इंडिया कम्पनी र गोर्खा सरकारले भने सबल राज्यको ढाँचा लिँदै थियो। एसियामा व्यापारिक एकाधिकार गुमाएको हुनाले पनि अंग्रेजका लागि उपमहाद्वीपमा प्रशासनिक र कूटनीतिक सशक्तीकरण बढी महत्वपूर्ण थियो। गोर्खाली र अंग्रेजले एकअर्काको सैन्य संगठन र राजनीतिक गतिविधिलाई नजिकसँग नियालिराखेका थिए। एकअर्काप्रति सशंकित पनि थिए।
भारतका सहरबजारमा भने गोर्खाली र अंग्रेजहरूको फेरि एक चोटि लडाइँ पर्दैछ भन्ने हल्ला मजासँग चलेको थियो। त्यति बेला भारतमा रहेका नेपाली दूत, कर्मचारी, गुप्तचर र अखबार नवीसहरूले लेखेका सन्देशहरूबाट यो कुरा प्रस्टै देखिन्छ। यस अवस्थामा काठमाडौं दरबारले गंगावारिपारिका हिन्दुस्तानी राजाहरूसँग मात्र नभएर काबुल र बर्मासम्मका प्रतिनीधिसँग पत्राचार कायम गरेका थिए, जुन कुराले अंग्रेजलाई अझ उत्तेजित बनायो। आफू प्रशासित सहरहरूको हुलाक सेवा अंग्रेजले आफ्नो नियन्त्रणमा ल्याइसकेका थिए। तर भारतका अरू क्षेत्रहरूबीच चल्ने डाकसेवा पनि धेरैजसो कम्पनी सरकारका दूतावास, रेसिडेन्सीमार्फत, सञ्चालित हुन थालेको केही समय भइसकेको थियो। यही बेला उत्तर भारतका ठाउँ–ठाउँमा नेपाल सम्बन्धित व्यक्तिका पत्राचार अंग्रेज सरकारको निगरानी सुरु भयो र निशानामा परे बालाशंकर पनि।
त्यो लामो अर्जीको पहिलो चिठीमै बालाशंकर आफूलाई दिल्लीका अंग्रेज अधिकारीहरूले गरेको सोधपुछबारे लेख्छन्। हप्ता दिनपछि लेखिएको दोस्रो चिठीमा उनका दाजु सदाशंकरलाई दिल्लीका कोतवाल (त्यस बेलाका नगरप्रहरी)ले बयान लिन थालिसकेका थिए। नेपाल सरकारका लागि तिमीहरू अखबार पनि लेख्छौ भन्ने प्रश्नमा अखबार त होइन सहर वरपर भएका नयाँ घटनाबारे चाहिँ सूचना पठाउने गरेको दाइले भनेको बालाशंकर लेख्छन्। राजाको लालमोहरका आधारमा यो काम गरेको हो भनेर सोध्दा यस्तो सानोतिनो कामका लागि राजाको मोहर दिँदैनन्, मात्र मुख्तियारको आदेश भए पुग्छ र पहिले भीमसेन थापा र हाल रंगनाथ पौड्यालको पत्रका आधारमा यो काम गरेको जानकारी पनि हामीले पाउँछौं।
महिना दिनपछिको पत्रबाट नेपाल–भारत सम्पर्क संयन्त्रबारे अरू नयाँ कुरा हामीलाई थाहा हुन्छ। सार्वजनिक जानकारीका कुरा र व्यापारसम्बन्धी पत्राचार बालाशंकर सामान्यतः अंग्रेज–सञ्चालित हुलाकबाट पठाउँछन् भने गोप्य जानकारी र भारतमा रहेका नेपालीहरूले पठाउन खोजेका संवेदनशील सरकारी पत्र उनी अंग्रेजबाट नभेटियोस् भनेर निजी हल्कारा वा प्रतिनिधिमार्फत काठमाडौं पठाउँदा रहेछन्। दिल्लीका मजिस्ट्रेटको मतलबको अर्को विषय हुन्छ– सुन्नमा आएको नेपाली र बर्मेली सरकारी प्रतिनिधिहरूबीच अंग्रेजविरोधी षड्यन्त्रमा भइरहेका भेटघाट। पुछताछबाट मात्र छानबिन कतै नजाने देखेपछि उनीहरूले बालाशंकरको निवासबाट नेपालसम्बन्धी सबै कागजपत्र जफत गर्दछन्।
बालाशंकर समस्यामा पर्छन्। पहिलो समस्या, नेपालबाट महिनौंसम्म पनि केही प्रतिक्रिया नआइदिँदा आउँदो चिठीमा के र कतिसम्म लेख्ने भन्नेमा उनी अलमलमा पर्छन्। ‘बेहुकुम श्री ५ का के कोई बात कर्ने नहीं सकता हूं। बीच इन दिनोके बात बेतौर हो रहा है डाकमे। अर्जी खत भेजनेसे मेरे मनको भय मालूम होता है। हाल मुफस्सिल ये है के हरेकतरफसे सुना जाता है श्री ५ गोर्षालीके और साहेबान अंगरेजके लडाईंका षबर सुन्नेमे आता है। राजा बर्माके तरफसे भी ऐसा बात सुन्नेमा आता है (श्री ५ को हुकुमबिना केहि कुरा गर्न सकिरहेको छैन। यसैबीच आजकल डाकमा बेढङ्गका कुरा भइरहेका छन् । अर्जी पत्र पठाउँदा मलाई डर लाग्छ। मोफसलमा चारैतिरबाट गोर्खालीहरू र अंग्रेजहरू बीच लडाईको कुरा सुनिन्छ । बर्माको राजाबाट पनि यस्तै खबर सुनिन्छ।),’ उनी लेख्छन्।
दोस्रो, नेपालसम्बन्धी अरूबाट प्राप्त चिठीको व्यवस्थापन। अंग्रेजहरूले कागजपत्र नै माग्न थालेपछि समस्याले अर्को रूप लिन पुग्छ। यो द्विविधालाई आफ्नै भाषामा यसरी राख्छन्। ‘मालूम होता है इन दिनोमे नेपालसे आया चिठी जरुर कहीं खोला जायगा। जिस रोज चिठी डाकमे आवेगा उसी रोज चिठी बेल साहब बहादुरकको दिखलाना पडेगा। चिठी बिना दिखाए नहीं बनता है। दिखलानेमे भी बडा बडा मुशकिल है। इधर तो दस्तूर बेदस्तूर कोई कुसूर रखके मेरा हुरमत लियाजायगा। और कोई बात बेतौर होनेसे अथवा चिठीके दिखलानेसे श्री ५ के नजदीक बन्देकी नमकहरामी साबत होवेगी (सुनिन्छ आजकल नेपालबाट आउने चिठी कतै न कतै पक्कै खोलिनेछ। जुन दिन चिठी हुलाकमा आइपुग्छ, त्यहि दिन बेल साहेबलाई देखाउनुपर्ने हुन्छ। पत्र नदेखाईकन हुँदैन। देखाउन पनि धेरै गाह्रो छ।यहाँ त ठिक-बेठिक केही गल्तीको देखाएर मेरो इज्जत खोसिनेछ। र यदि केहि अनुचित कुरा भयो वा पत्र देखाइयो भने श्री ५ को अगाडि मैले नुनको सोझो नगरेको साबित हुन्छ ),’ उनी थप्छन्, ‘इस्मे बन्दा बर्बाद होजायगा। (यसरि त म बर्बाद हुनेछु।)’
यहीबीच बालाशंकरसँग रहेका कति चिठी जफत हुन्छन्। कति चिठी आफूले नपाउँदै अंग्रेजले रोकेको पनि उनले सुने। नेपालबाट भर्खरै आएका पाहुना लक्ष्मण पण्डित उनकै निवासमा नजरबन्दीको अवस्थामा पुग्छन्। यति हुँदा पनि उनले अखबारहरू भने विभिन्न तरिकाबाट काठमाडौं पठाएको देखिन्छ। आफ्नै निजी हलकारा र पटनाका नेपाली दूत शालिग्राम सिंह वा बनारसमा रहेका नेपाली जमादार मन्नुसिहं वा मेजर रघुविरसिंह जस्ता व्यक्ति मार्फत नियमित अखबार र अरू गोर्खाली सुराकीहरूका सन्देश काठमाडौं जाँदै गरेको विवरण पनि उनको अर्जीमा पर्छ। त्यस बेला पन्जाबमा अड्केका माथवरसिंह थापाका पत्र नेपाल छिराउने काम पनि बालाशंकरले गरेका थिए। तर यो प्रकरणको अन्त्यतिर बालाशंकरलाई साह्रै चित्त दुखाउने कारण भने गोर्खाली शासकका सेवामा लागेका उनकै सहकर्मी ज्वालानाथ बने।
ज्वालानाथको घरमा अंग्रेजले छापा मार्दा उनले बरु बालाशंकरको घरमा खोजे नेपाल सरकारको चिठीपत्र पाइने पोल खोलिदिए। लगत्तै दुई जमदार, दुई थानेदार र सात सिपाही आएर बालाशंकरको घरका पत्र जफत गरे र मिश्र निवासका चासोका व्यक्तिहरूलाई नजरबन्द गरे। ‘ज्वालानाथने पहेले तो मुझ्से वचन किया था मै तुमसे दगा नही कर्नेका हूं। परंतु अब मुझे मालूम हुवा मेरै हक्कमे ज्वालानाथने बडा विश्वासघात किया है (ज्वालानाथले पहिले त मलाई धोका नदिने वाचा गरेका थिए। तर अब मलाई थाहा छ कि ज्वालानाथले मलाई ठूलो धोका दिएका छन्।),’ उनी थप्छन्, ‘ज्वालानाथ मेरा कातिल है, येह बात चाहता है नेपालके दर्बारसे जो टुकडा मिलता है सो मौकूफ होजावे। (ज्वालानाथ मेरो हत्यारा हो। ऊ चाहन्छ कि नेपाल दरबारबाट मैले जे पनि टुक्रा पाउछु त्यो बन्द होस्।)’ बालाशंकरका दुःख अझै सकिएको देखिँदैन। नजरबन्दमा रहेका लक्ष्मण पण्डित नेपाल फिर्ता बोलाइन्छन्। बालाशंकर चाहिँ आफू अखबार लेख्ने काम रोकेर, अंग्रेज बेल साहबकै हुकुम कुरेर बसेको भन्छन्। अन्त्यमा आठ महिनाको तलब–खर्च नपाएको भनेर पुरानै पाराको गुनासोमा फर्किन्छन्। तर अभिलेखहरूबाट हामी थाहा पाउँछौं, बालाशंकरले छिट्टै अखबारको काम सुरु गर्छन्। सन् १८४२ देखि १८५२ सम्म राजा राजेन्द्रविक्रम र जंगबहादुरसँग पत्राचार अझ बाक्लिएको देखिन्छ। बालाशंकरले समयमा तलब पाए, पाएनन् भन्न गाह्रो छ। तर विसं १९०८ (सन् १८५१-२)को निजामती किताबखानाको ढड्डामा उनी ‘दिल्लीबाट अखबारी खबर पठाउने’ भनी वार्षिक ३६० रुपैयाँ जागिरेका रूपमा दर्ज भने भएका छन्।
युगान्तर
सन् १८३७–१८३९ मा उत्तर भारतका दरबारहरूसँगको राजनीतिक सम्पर्क उत्कर्षमा पुगेपछि त्यसलाई सामसुम पार्न तथा भारतीय उपमहाद्वीपभरको हुलाक व्यवस्था, सूचना प्रवाह र कूटनीतिक संस्कारलाई नियन्त्रणमा राख्ने क्रममा कम्पनी र गोर्खा सरकारबीच एउटा करार हुन्छ। नेपालको कूटनीतिक इतिहासमा कमै चर्चा हुने सन् १८३९ को यो बन्देजले गोर्खा दरबारलाई गंगापारका राजारजौटासँग सिधा सम्पर्क राख्न प्रतिबन्ध लगाइदियो। पत्राचार र आवतजावत गर्नैपर्ने भए अंग्रेज रेसिडेन्टमार्फत गर्नुपर्ने भयो । द्विपक्षीय सन्धि वा अहद हुनुको सट्टा राजाको एकतर्फी लालमोहर लागेको यस करारनामामा भारतीय रैती–व्यापारीहरूलाई नेपाली अदालतमा पहुँच सुनिश्चित गर्ने मुद्दा पनि परेको थियो।
विश्वस्तरमै चलिरहेका बृहत्तर परिवर्तनका पदचाप हामीले कुनै दुई सरकारबीचको कूटनीतिक सम्बन्ध वा सामरिक घटनामा सीमित भएर होइन, बरु बदलिँदो सामाजिक प्रविधि (सोसल टेक्नोलोजी)मा बढी पाउँछौं। हस्तलिखित सामग्रीमा टिकेको विद्वत्परम्परालाई बिस्तारै बजारकेन्द्रित छापाखानाको संस्कारले विस्थापित गर्दै थियो। शास्त्रीय भाषा र वाङ्मयको सर्वोच्चतालाई देशी भाषा–साहित्यले राम्रै मुकाबिला दिँदै थियो। हस्तलिखित दरबारकेन्द्रित अखबारी परम्परा थोक उत्पादनको युगअनुसार छापा प्रविधिको बाटो जाँदै थियो। यसैको चापमा बालाशंकर, ज्वालानाथ जस्ता अखबार नवीसहरू पनि परेको हुनुपर्छ।
सन् १८५९ तिरको नेपालका सरकारी तलबदारहरूको विवरणमा हामी रघुनाथ थट्टे (गोविन्द रघुनाथ थत्ते, धत्ते)लाई मासिक ३० रुपैयाँ थाप्ने अखबार नवीसका रूपमा त पाउँछौं। तर मराठी थट्टे नवीस नभएर देवनागरी लिपिको पहिलो हिन्दी पत्रिका बनारस अखबारका सम्पादक थिए। हिन्दी छापाका इतिहासकारले बनारस अखबार नेपाली राजदरबारको आर्थिक संरक्षणमा चलेको भनेका छन्। तर माथिको स्रोत हेर्दा सायद राजदरबारलाई संरक्षकभन्दा पनि ग्राहक भन्नु उपयुक्त होला। यसको एक दशकभित्र जंगबहादुरको प्रशासनका व्यक्तिहरू अंग्रेजी छापाका अखबारहरूका नियमित पाठक हुन थालिसकेका थिए। बालाशंकरको समयको अन्त्य भइसकेको थियो, शायद उनका चोटपटकहरूको पनि।
हिमाल साउथएसियनका पूर्वसम्पादक शुभाङ्ग पाण्डे अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसमा इतिहासमा विद्यावारिधि गरिरहेका छन्। ...
हिमाल साउथएसियनका पूर्वसम्पादक शुभाङ्ग पाण्डे अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसमा इतिहासमा विद्यावारिधि गरिरहेका छन्।