14 February 2026

विद्या हराए काशी जानू !

कुनै बेला सिंगो सहर नै विश्वविद्यालयसरह रहेको बनारस नेपालीका लागि पनि तीर्थाटन र शिक्षाटनको मुकाम थियो।

नेपालमा शिक्षाको इतिहासको चर्चा गर्दा अवश्यमेव कतै न कतैबाट यसको प्रसंग भारतसँग जोडिन्छ। त्यसमा पनि नेपालको सीमाबाट नजिक पर्ने र प्राचीनकालमा उत्तर भारतको पनि शिक्षाको केन्द्र रहेको काशीले नेपाली शिक्षाको इतिहासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। नेपाली समाजमा प्रचलित भनाई ‘विद्या हराए काशी जानू’ यसको ज्वलन्त प्रमाण हो। 

परापूर्वकालदेखि मुख्यतया एक्काइसौं शताब्दीको सुरुवातसम्म राजादेखि रंक सबै नेपालीका लागि काशी शिक्षा, व्यापार, जीविकोपार्जन, राजनीति, राजनीतिक पलायन र पुस्तक प्रकाशन आदिका लागि अपरिहार्य गन्तव्य रहिरह्यो। पाटनका मल्ल राजा सिद्धिनरसिंह मल्ल होऊन् वा गोर्खाका राजा पृथ्वीनारायण शाह; रणबहादुर शाहको प्रवास वा कृष्णप्रसाद कोइरालाको सम्पूर्ण परिवारलाई राजनीतिक शरणका लागि होस्; सन् १५७६ मा तीर्थयात्राका लागि गएका पाटनका लुङ भारो हुन् वा तीर्थयात्राका लागि जाने कुनै पनि नेपाली तीर्थयात्री; नेपाली साहित्यकार भानुभक्त, मोतीराम, सुधपा (सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान) वा ईश्वर बल्लभ होऊन् वा कुनै सिकारु लेखक; जंगबहादुरका छोरीहरू काशीमा बिहाइएकी विष्णु दिव्येश्वरी र उनकी बहिनी डम्बरकुमारी खास्टोकी आविष्कारक डम्बरकुमारी हुन् वा काशीवासका लागि जाने नेपाली विधवाहरू; हरेक तह र तप्काका नेपालीहरूको लागि केही शतकसम्म काशी शीर्ष गन्तव्य बनिरह्यो।

बेलायती साम्राज्यको पूर्ण वर्चस्व हुनुअघिसम्म काशी भारतवर्षमा शिक्षाको केन्द्र थियो। ईसाको सत्रौं शताब्दीको मध्यकालमा लेखिएका यात्रा विवरणले काशीमा ठूला मन्दिरको संरक्षकत्वमा पाठशाला र अध्ययन संस्थानहरू भएको चर्चा गरेका छन्। त्यस्ता पाठशाला विद्वान् पण्डितका घरहरूमा पनि हुन्थे र सम्पन्न व्यक्तिहरूले त्यस्ता विद्यालयहरूलाई आर्थिक सहयोग गरेका हुन्थे। भनिन्थ्यो, ‘काशीको हरेक घरमा पण्डित र त्यहाँ उसको विद्यालय हुन्छ र यसर्थमा पूरै सहर नै एउटा विश्वविद्यालय हो।’ 

ईसाको सत्रौं शताब्दीको अन्त्यमा भारतमा मुगल साम्राज्यको अवसान भयो र बेलायती साम्राज्यले बिस्तारै आफ्नो शासन सुदृढ गर्दै गयो। ई.संं. १७८१ मा काशीका राजा चेत सिंहलाई अपदस्थ गरी कम्पनी सरकारले काशीलाई आफ्नो नियन्त्रणमा लियो। सन् १७८१ मा वारेन हास्टिङले काशीका राजालाई बन्दी बनाएर तिनको अपमान गरेको निहुँमा भारतीयहरू तिनका विरोधी भए। तर काशी नरेशले जनताको वास्ता नगरी एक्लै भागेकाले तिनीहरू राजासँग पनि असन्तुष्ट थिए। त्यो समय संवेदनशील थियो। जनता कम्पनी सरकार र काशीका राजा दुवैतिरबाट असन्तुष्ट थिए।

यस्तो समयमा सन् १७७८ मा एक जना अंग्रेज युवा जोनाथन डंकन काशीको रेसिडेन्ट र सुपरिटेन्डेन्ट नियुक्त भएर आए। बेलायतीहरूको मुख्य उद्देश्य व्यापारिक भए पनि उनीहरू त्यहाँ शासन गर्न चाहन्थे। त्यसका लागि त्यहाँका जनतालाई हात लिनु आवश्यक थियो। साथै न्यायालयलगायतका प्रशासनिक केन्द्रमा हिन्दू वा भारतीय संस्कृतिअनुरूपका तर्कहरूको व्याख्या गरी अंग्रेज न्यायाधीश र अधिकारीहरूलाई सहयोग गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने खाँचो पनि थियो। 

ईसाको सत्रौं शताब्दीको मध्यकालमा लेखिएका यात्रा विवरणले काशीमा ठूला मन्दिरको संरक्षकत्वमा पाठशाला र अध्ययन संस्थानहरू भएको चर्चा गरेका छन्। त्यस्ता पाठशाला विद्वान् पण्डितका घरहरूमा पनि हुन्थे र सम्पन्न व्यक्तिहरूले त्यस्ता विद्यालयहरूलाई आर्थिक सहयोग गरेका हुन्थे। भनिन्थ्यो, ‘काशीको हरेक घरमा पण्डित र त्यहाँ उसको विद्यालय हुन्छ र यसर्थमा पूरै सहर नै एउटा विश्वविद्यालय हो।’

आफ्नो शासनको जरो राम्ररी गाड्न, हिन्दू संस्कृतिलाई राम्ररी बुझ्न र काशीवासीलगायत भारतीयलाई आफूहरूप्रति ऋणी बनाइराख्ने रणनीतिअनुरूप कम्पनी सरकारले विद्यानगरी काशीलाई विद्या र धर्मको केन्द्रका रूपमा थप विस्तार गर्ने नीति बनायो। काशी संस्कृत शिक्षाको केन्द्र त थियो नै, धार्मिक आस्था र विश्वासका कारण भारतीय उपमहाद्वीपका विविध स्थानबाट मानिस पनि त्यहाँ आउँथे। त्यसैले यसको संरक्षण र संवद्र्धन गरे काशीका मात्र नभएर त्यससँग सम्बन्धित सबै कम्पनी सरकारप्रति अनुगृहीत हुने पक्का थियो। यसै पृष्ठभूमिमा डंकनले काशीमा संस्कृत अध्ययनलाई औपचारिकता दिने र प्रवद्र्धन गर्ने उपाय निकाले। साथै जनतालाई खुसी बनाउन संस्कृतका पाठशाला र उर्दू, फारसी पढाउने मदरसा खोल्ने पनि योजना बनाए। १ जनवरी १७९१ मा मा डंकनले कोलकाता गएर गभर्नर जनरलसमक्ष काशीमा संस्कृत कलेज खोल्ने प्रस्ताव राखे। प्रस्तावमा उनले यस्तो कलेजको सञ्चालनबाट आदिम अवस्थामा रहेको भारतीय विद्या पढेका भारतवासीलाई युरोपेली विद्याको ज्ञान हुने र युरोपको उच्च ज्ञान प्राप्त गरी भारतीयहरू सजिलै अंग्रेजका भक्त हुने तर्क गरे। यो नीति केही हदसम्म सफल पनि भयो। डंकनले हिन्दू कानुनका व्याख्याका लागि पण्डित र विद्यार्थीको सहयोगमा हस्तलिखित ग्रन्थको संकलन गर्न सकिने, त्यसले एकातिर हिन्दूहरूको समूहमा बेलायतीहरूको ख्याति बढ्ने र अर्कोतिर भारतीय विद्या भण्डारमा उनीहरूको पहुँच पनि हुने तर्क राखेका थिए। यो आकर्षक प्रस्ताव गभर्नर जनरलले तुरुन्तै स्विकारे र डंकनले माग गरेको वार्षिक १४ हजार आर्थिक अनुदानको साटो वार्षिक २० हजार दिने गरी संस्कृत कलेज सञ्चालन गर्ने अनुमति दिए। 

२८ अक्टोबर १७९१ मा संस्कृत पाठशाला अथवा गभर्मेन्ट संस्कृत स्कुलको स्थापना भयो। राजा चेत सिंहको पलायनपछि कम्पनी सरकारले उनका भान्जा महाराजा महीप नारायण सिंहलाई गद्दीमा बसाल्यो। उनले विद्यालय स्थापनाका लागि प्रचुर धन र जमिन पनि दिए। त्यति मात्र होइन, नजिकै रहेको मिर्जापुरको आफ्नो जमिनदारीबाट आउने आम्दानी पनि विद्यालयलाई दिने घोषणा गरे। यसरी कम्पनी सरकार, काशी नरेश एवम् त्यहाँका सम्पन्न र बुद्धिजीवीहरूको सहयोगमा काशीमा संस्कृत कलेजको स्थापना भयो। स्थापना हुने वर्ष यस विद्यालयमा लगभग दुई सय जना विद्यार्थी र आठ जना शिक्षक थिए। हिन्दू संस्कृति र धर्मसँग सम्बन्धित विषयको पठनपाठन हुने हुँदा सबै शिक्षक र विद्यार्थी ब्राह्मण थिए। शिक्षा निःशुल्क थियो। ६ जना शिक्षकलाई प्रतिमहिना एक सय रुपियाँ र दुई जनालाई ८० रुपैयाँ तलब तोकिएको थियो। 

सन् १७९४ बाट काशीको सम्पूर्ण प्रशासन पनि पूर्णतः कम्पनी सरकारको हातमा गयो। सन् १८५२ मा विद्यालयका लागि एउटा भव्य भवन बनाइयो र रानी भिक्टोरियाको नाममा यस विद्यालयको नाम पनि क्विन्स कलेज राखियो। यसरी पहिलेको संस्कृत कलेज (पछि क्विन्स कलेज) स्थापनापछि काशीमा औपचारिक संस्कृत अध्ययनको बीजारोपण भयो। 

सोही कलेज भारत स्वतन्त्र भएपछि वाराणसेय संस्कृत विश्वविद्यालय र कालान्तरमा हालको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय भएको हो। 

भारत जस्तै नेपालमा पनि संस्कृत विद्वत्ताको लामो ऐतिहासिक परम्परा थियो। दर्शन, साहित्य, भाषा, ज्योतिष, तन्त्र, आयुर्वेद आदि विषयमा धेरै विद्वान् सक्रिय थिए। नेपालमा रहेको प्राचीन पाण्डुलिपिको सम्पन्न भण्डार यसको ज्वलन्त प्रमाण हो। नेपालमा पनि यस्तै खालको विद्यालय परम्परा रहेको इतिहासले देखाएको छ– सम्पन्न वा धनाढ्य व्यक्तिहरूले विद्यालय स्थापना गरिदिने र विद्वान्हरूले त्यस्ता विद्यालयमा विद्यार्थीहरूलाई पढाउने। कालान्तरमा यो परम्परा हरायो र सरकारले त्यस्ता विद्यालयको नेतृत्व गर्न थाल्यो। पौराणिककालको गुरुकुलीय परम्पराको प्रतिच्छायास्वरूप त्यस्ता धेरै संस्कृतका विद्यालय सरकारी विद्यालयमा परिणत भए। त्यसपछि ख्रिष्टियन  मिसनरी स्कुल खुले र फेरि तिनको प्रभावमा निजी स्तरमा बोर्डिङ स्कुलहरू खुल्दै गए, जुन वर्तमानमा पनि कायमै छ। बौद्ध धर्मसम्बन्धी शिक्षालाई गोम्पा र विहार एवं इस्लामसम्बन्धी शिक्षालाई केही मदरसाहरू पनि नेपालमा खुलेका थिए। काठमाडौंबाट धेरै नेवार बौद्धहरू कोलकाता र केही त श्रीलंकासम्म पनि महाबोधि सोसाइटीमा अध्ययन गर्न गएका थिए। 

केही नेवार वैद्यहरू आयुर्वेदको अध्ययनका लागि कोलकाता पनि गए। व्यापारको केन्द्र पनि मानिने कोलकातामा धेरै नेपालीहरूको आउने–जाने भइरहन्थ्यो। त्यहाँ पनि नेपाली बसोबास भएको पाइन्छ। राणाविरोधी राजनीतिक आन्दोलनको चेतना जगाउनमा पनि कोलकाताको विशेष योगदान छ। तर सन् १९०५ मा बंगभंग (बंगाल  विभाजन) आन्दोलनपछि पूर्वी र पश्चिम बंगालबाट धेरै मानिस काशी बसाइँ सरेर आए। आफ्नो भूमिको विभाजनबाट उनीहरू अंग्रेज सरकारदेखि रुष्ट थिए। बंगालमा अनेक समाजसुधारक र पुनर्जागरकहरूको उदय भइसकेको हुँदा त्यहाँका जनता तुलनात्मक रूपमा बढी सचेत थिए। तिनले पनि काशीमा धेरै अध्ययन संस्थानहरू खोले। त्यसको प्रभाव काशीवासीहरूमा पर्नु स्वाभाविक थियो। नेपालमा अंग्रेजी शिक्षाको प्रारम्भ जंगबहादुरको बेलायत यात्रापछि भएको थियो भने संस्कृत शिक्षाको इतिहासको चर्चा गर्दा यसको आरम्भकाल अज्ञात अर्थात् परापूर्वकालदेखि नै रहेको मानिन्छ।

सन् १८६० ताका बनारसस्थित क्विन्स कलेज भवन।
तस्बिर सौजन्य: इबे/ओल्ड इन्डियन फोटोज

नेपालमा सन् १९५० अघि केही संस्कृत पाठशाला खुलेका थिए।  यस्ता पाठशालाका अतिरिक्त गाउँ–गाउँमा धनाढ्य व्यक्तिहरूले टाढा–टाढाबाट शिक्षक झिकाएर पनि आफ्ना र गाउँका केटाकेटीलाई पढाउँथे। यस्ता पाठशालालाई भाषा पाठशाला भनिन्थ्यो। ती पाठशालामा विद्यार्थीहरूलाई वर्णमाला सिकाइसकेपछि सीधै दुर्गासप्तशती, श्रीमद्भागवत जस्ता संस्कृतका ग्रन्थ सिकाइन्थ्यो। त्यसपछि पनि विद्याव्यसन गर्नेहरू अझ जान्ने गुरुहरूको खोजी गरेर अरू ठाउँमा पढ्न जान्थे। यस्ता विद्यालयले भाषिक ज्ञान र शास्त्रीय पुस्तक पढाउन जोड दिन्थे। यिनको कुनै खास निर्धारित पाठ्यक्रम हुँदैनथ्यो, न त कुनै निर्धारित कक्षा नै हुन्थ्यो। विद्यार्थीहरूले आर्जन गरेको ज्ञान र उनीहरूले विद्यालयमा बिताएको समयका आधारमा विद्यार्थीहरूको समूह विभाजन गरिन्थ्यो। 

प्रायः सबै विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाइन्थ्यो। अध्यापन प्रक्रिया रट्ने र रटाउने अनि उदाहरण हेरी तदनुसार नक्कल गर्ने हुन्थ्यो। विद्यार्थीहरू शतप्रतिशत बालकहरू मात्र हुन्थे। केही बालिकाले मात्र घरमै अक्षर चिन्ने मौका पाउँथे। विद्यार्थीले रटेको र गुरुले रटाएको सुनेर पढ्न नजाने पनि र अर्थ नबुझे पनि घरका केही सचेत र तीक्ष्ण तर अवसर नपाएका महिलाहरूलाई सुनेको भरमा ती पाठहरू कण्ठस्थ हुन्थे। विद्यार्थीहरू पाठ कण्ठस्थ पारेर गुरुलाई बुझाउन आउँदा घरमा गुरू नभेटिए गुरुआमाहरूले नै तिनको पाठ सुनिदिन्थे। तर अन्तिम निर्णय गुरुको नै हुन्थ्यो। 

राजा चेत सिंहको पलायनपछि कम्पनी सरकारले उनका भान्जा महाराजा महीप नारायण सिंहलाई गद्दीमा बसाल्यो। उनले विद्यालय स्थापनाका लागि प्रचुर धन र जमिन पनि दिए। त्यति मात्र होइन, नजिकै रहेको मिर्जापुरको आफ्नो जमिनदारीबाट आउने आम्दानी पनि विद्यालयलाई दिने घोषणा गरे। यसरी कम्पनी सरकार, काशी नरेश एवम् त्यहाँका सम्पन्न र बुद्धिजीवीहरूको सहयोगमा काशीमा संस्कृत कलेजको स्थापना भयो।

गुरुआमाले पूर्वपरीक्षा मात्र लिन पाउँथे। यस्तो शिक्षण परम्परामा लेखनभन्दा पनि पठन धेरै हुन्थ्यो। विद्यार्थीहरुलाई सिर्जनात्मक लेखन वा तर्क र वादविवादको तालीम दिइँदैनथ्यो। तर्क र प्रतिवादको कुनै अवसर थिएन। केही जेहनदार विद्यार्थीहरू मात्र आफै कविता रच्न सक्ने हुन्थे र रचना गरिने विषयप्रायः धार्मिक हुन्थे। हरिहर पाठशालामा पढ्दै गरेका कविद्वय विष्णुराज आत्रेय र  मोदनाथ प्रश्रितको बाल्यकालको संस्मरण, जसमा विद्यालयमा पढ्दा साथीहरूसँग देउता उत्पत्ति भएको हेर्न गएको र समयमा नफर्केको गल्तीबाट छुटकारा पाउन कसरी एउटा नौलो काम गरेर गुरुलाई देखाउन र गुरुहरूलाई प्रभावित पार्न भनी कविता रचना गरेको रमाइलो प्रसंगले त्यसबेलाको पठनपाठन शैली छर्लंग पार्छ। 

यी पाठशालाले सरकारी सेवाका लागि अभिलेख तथा प्राचीन पाण्डुलिपि पढ्नका लागि र पौरोहित्यका लागि अथवा दैनन्दिन जीवनमा आवश्यक साक्षरताका लागि जनशक्ति उत्पादन गर्थे। सन् १९५१ पछि परम्परागत शिक्षा प्रणालीमा केही परिवर्तन ल्याउने उद्देश्यले नेपालको शिक्षा प्रणालीमा फेरबदल गरियो। काशी तथा नेपाल संस्कृत कलेजको सिफारिसमा गणित, सामाजिक शिक्षा जस्ता विषयलाई पाठ्यक्रममा समावेश गरियो। 

कतिपय स्थानमा कुनै औपचारिक विद्यालयबिना पनि गुरुहरूले अध्यापन गर्थे। उदाहरणका लागि ज्योतिष विद्याका लागि पर्वत जिल्लाको गाउँ पाङ प्रसिद्ध थियो। विद्यार्थीहरू बाली भित्र्याइसकेपछि पुसमा पाङ आएर जेठसम्म त्यहीँ बसी पढ्ने र फेरि जेठमा खेतीपातीको समयमा घर फर्किने गर्थे। विद्यार्थीहरू आफ्ना लागि खाने अन्नको बन्दोबस्त आफैं गर्थे भने केही गाउँलेका घर गोठमा र केही बारीका कान्लामा अस्थायी बास बनाएर बस्थे। त्यहाँ सुरुमा भाषा ज्ञानका लागि आधारभूत संस्कृत व्याकरणका लागि कौमुदी र त्यसपछि ज्योतिषका ग्रन्थहरू पढाइन्थ्यो। कतिपय ज्योतिष पढ्न मात्रै पनि त्यहाँ आउँथे। कतिपय विद्यार्थी त्यहाँ पढेर परीक्षाका लागि आफ्नै पहलमा बनारस पनि जान्थे भने कतिपय गाउँघरमा ज्योतिषी पेसा गरी बस्थे। रमाकान्त रिजाल, गजाधर रिजाल, देवीप्रसाद रिजाल, हरिदत्त रिजाल, दयाराम रिजाल, तोयनाथ रिजाल आदिले ज्योतिष पढाएको विद्यार्थी र गाउँलेहरू ससम्मान स्मरण गर्छन्। तीमध्ये रमाकान्त रिजालको पाण्डित्य काठमाडौंको राणा दरबारसम्म पनि चर्चित थियो। आज पनि त्यहाँका तीजका गीतमा चेलीबेटीले आफ्नो भविष्य रमाकान्त ज्योतिषीलाई सोध्ने भाकाका गीत गाउँछन्। 

यसबाट के पनि प्रमाणित हुन्छ भने, यस्ता खालको शिक्षा प्रणालीमा विद्वान् गुरुहरूले आफ्नो विशेषज्ञता जेमा छ, त्यही विषयको शिक्षा दिने गर्दथे। प्रारम्भिक अक्षरारम्भपछि रुद्री र चण्डी पढिसकेपछि आफ्नो रुचिको विषय पढ्न विद्यार्थीहरू टाढा–टाढाका गुरुहरूको सान्निध्यमा जाने गर्थे भने महत्वाकांक्षी र तीक्ष्ण विद्यार्थीहरू काशी वा अन्य सहर जान्थे। कालान्तरमा अंग्रेजी शिक्षाका लागि दार्जीलिङका विद्यालयमा पढाउन पठाउने परम्परा पनि बस्यो। यसरी कि त सम्पन्न परिवारका छोराहरू घरबाट खर्च लिएर काशी पढ्न जान्थे भने कोही त्यहीँ कसैका भान्से, कसैका सुसारे, पुरोहित्याइँ वा अन्य काम गरेर पनि आफ्नो अध्ययनलाई निरन्तरता दिन्थे। वर्षभरि बनारसमा बसेर पढ्न खर्चिलो हुने हुँदा पनि विद्यार्थीहरू परीक्षाका लागि मात्र बनारस जान्थे। 

काशीमा संस्कृत कलेज खुलेपछि उल्लिखित पाठशालामा पढेका विद्यार्थीहरू अन्तिम परीक्षा दिन काशी जान थाले। किनभने नेपालमा अझै निर्धारित पाठ्यक्रमअनुसारको औपचारिक रूपमा परीक्षा लिएर प्रमाणपत्र दिने कुनै आधिकारिक संस्था खुलिसकेको थिएन। कम्पनी सरकार संस्कृत शिक्षामा प्रोत्साहन गरी जनतालाई आफूप्रति आकर्षित गराउन चाहन्थ्यो नै, साथै नेपाललाई पनि आफ्नो पक्षमा लिँदा उसलाई फाइदै फाइदा थियो। 

राणा सरकारलाई पनि बेलायत सरकारको कृपापात्र बनिरहनमा रुचि थियो। साथै उसलाई पनि प्रशासनका लागि केही दक्ष जनशक्तिको आवश्यकता थियो। त्यसैले नेपाली विद्यार्थीको विद्याध्ययनका लागि भारत जाने क्रममा दुवै सरकारको तर्फबाट बाधा थिएन भन्ने तर्क निस्कन्छ। तर राणा सरकारविरोधी गतिविधि भने खुला रूपमा गर्न नदिन कम्पनी सरकार राणा सरकारबीचमा अन्तरिक सहमति थियो। राममणि आदीलाई काशीबाट फिर्ता बोलाएको घटना एउटा उदाहरण हो। 

सन् १८९९ मा राणा सरकारले काशी जाने विद्यार्थीलाई मासिक पाँच रुपैयाँ उपलब्ध गराउँदै आएको थियो। यस्तो भत्ता पछि ३० रुपैयाँसम्म पुग्यो। परीक्षाको प्रयोजन नहुँदै पनि नेपाली विद्यार्थीहरू उच्च अध्ययनका लागि बनारस जाने गरेकै थिए। नेपाली शिक्षार्थीहरू काशीमै गएर त्यहाँका पण्डितहरूसँग पनि पढ्थे। जस्तै:  शिरोमणि आचार्य
(सन् १८२४–१९०३)ले १९ वर्षको उमेरसम्म पं. अंशुमाली पण्डित, काशीनाथ शास्त्री तथा जयराम शास्त्रीसँग पढे। अन्य नेपाली विद्वान् हेमराज शर्मा र राममणि आचार्य दीक्षितले काशीका विद्वान् पण्डित गंगाधर शास्त्रीसँग पढे। 

नेपालका अन्य विद्वान्सँगै भानुभक्त आचार्य र मोतीराम भट्टको नाम पनि बनारसमा पढ्ने प्राचीन नेपाली बुद्धिजीवीहरूको नामको सूचीमा पर्छ। सन् १९१५ मा मदन मोहन मालवीयले काशी हिन्दू विश्वविद्यालय खोलेपछि नेपालीहरू अंग्रेजी, चिकित्साशास्त्र तथा इन्जिनियरिङ अध्ययनतिर आकर्षित भए। काशीमा नेपालीहरूले शिक्षा पाएको इतिहास हेर्दा सन् १९५० अगाडिका धेरैजसो नेपाली बुद्धिजीवी बनारसकै उपज हुन् भन्दा अत्युक्ति नहोला। 

त्यसै समयमा भारत र विश्वमै छापाको नयाँ लहर चलेको थियो। काशी र भारतमा गएका नेपालीहरू पनि छापाको सुविधा देखेर त्यतातिर आकृष्ट भए र छाप्ने र लेख्ने पेसालाई व्यवसायका रूपमा अंगीकार गरी त्यही बसे। सन् १८४० को दशकको मध्यदेखि नै काशीमा संस्कृत र हिन्दी भाषा एवं हिन्दू संस्कृतिसँग सम्बन्धित अन्य भारतीय भाषाका पुस्तक पसल खुल्न थाले भने सन् १८५७ देखि व्यावसायिक रूपमै धेरै छापखाना खुले। ईसाको उन्नाइसौं शताब्दीको उत्तराद्र्धमा नेपाली प्रवासीहरू पनि यस व्यवसायतिर अकर्षित भए र असंख्य नेपाली पुस्तकहरू काशीबाट प्रकाशन हुन थाले। त्यहाँ विद्याध्ययनका लागि गएका विद्यार्थीहरूले जीविकोपार्जनका लागि तिनै प्रेसमा काम पनि गर्न थाले। 

मोतीराम भट्ट, लक्ष्मीप्रसाद देवकोटादेखि काशीबहादुर श्रेष्ठ, मोदनाथ प्रश्रित आदि नेपाली साहित्यकारले विद्यार्थी जीवनमा काशीका छापाखानाहरूका लागि प्रुफ हेर्ने, सम्पादन गर्ने, प्रकाशकको रुचिअनुरूपका कृति रचना गर्ने आदि विविध काम गरे। मोतीराम भट्टले भारतमा हिन्दी भाषा र साहित्यप्रति तत्कालीन भारतीय बुद्धिजीवीहरूको समर्पण देखेर तथा भाषा र जातिको उन्नतिका लागि छापाको भूमिका र सुदृढ साहित्यको महत्व बुझेर भारत जीवन प्रकाशन गृहको अनुभवले पुस्तक प्रकाशनतिर पनि योगदान गरे। त्यसपछि त काशीमा नेपाली प्रकाशन गृहको बाढी नै आयो भन्दा पनि हुन्छ (मैले यसको अन्यत्र विस्तृत चर्चा गरिसकेकी छु)। ब्राह्मण विद्यार्थीहरूले गर्ने अर्को काम नेपालबाट आएका तीर्थयात्रीका लागि पौरोहित्य पनि थियो। 

कतिपय स्थानमा कुनै औपचारिक विद्यालयबिना पनि गुरुहरूले अध्यापन गर्थे। उदाहरणका लागि ज्योतिष विद्याका लागि पर्वत जिल्लाको गाउँ पाङ प्रसिद्ध थियो। विद्यार्थीहरू बाली भित्र्याइसकेपछि पुसमा पाङ आएर जेठसम्म त्यहीँ बसी पढ्ने र फेरि जेठमा खेतीपातीको समयमा घर फर्किने गर्थे। विद्यार्थीहरू आफ्ना लागि खाने अन्नको बन्दोबस्त आफैं गर्थे भने केही गाउँलेका घर गोठमा र केही बारीका कान्लामा अस्थायी बास बनाएर बस्थे।

प्रवासी नेपालीहरू मुख्यतया सहरको पुरानो भागमा बस्थे। रामघाट, मंगलागौरी, दूधविनायक, ब्रह्माघाट, पञ्चगंगाघाट, ललिताघाट, रामकटोरा, दशाश्वमेध आदि स्थानहरूमा मुख्यतया नेपाली बस्ती पाइन्थ्यो। सन् १८४३ मा राजा राजेन्द्रविक्रम शाह र युवराज सुरेन्द्रविक्रम शाहले रानी साम्राज्यलक्ष्मी देवीका नाममा ललिताघाटमा पशुपतिको अनुकृतिको मन्दिर निर्माण गरे। त्यो मन्दिरलाई नेपाली मन्दिर वा साम्राज्येश्वर महादेवको मन्दिर पनि भनिन्छ। सन् १९०० को जनगणनाले भारतमा लगभग अढाई लाख जनसंख्या बसोबास गरेको तथ्यांक प्रकाशन गरेको छ। प्रवासी नेपालीहरू बाक्लिएपछि २०१९ सम्म आइपुग्दा नेपालीहरूकै लागि भनेर नेपाली संस्कृत महाविद्यालय, जगदम्बा प्राथमिक पाठशाला, वाचनालय एवम् पुस्तकालय पनि खोलिएका थिए। 

मेची अञ्चलको ताप्लेजुङबाट काशी पुगेका जगन्नाथ गुरागाईंले अनेकौं असहाय तथा असमर्थ नेपाली विद्यार्थी, काशीमा बस्ने प्रवासी तथा तीर्थयात्रीलाई सुविधा होस् भनी भारतमा छरिएर रहेका नेपालीलगायत धेरैसँग अर्थ संकलन गरेर पञ्चगंगाघाटस्थित मंगलागौरीमा नेपाली धर्मशाला, नेपाली संस्कृत महाविद्यालय र संस्कृत छात्रावास स्थापना गरेका थिए। त्यसपछि जगदम्बा कुमारी देविका नाममा पनि २०१७ मा दूधविनायकमा जगदम्बा धर्मशालाको स्थापना भयो। साथै नेपाली बालिकाहरूलाई नेपाली माध्यमबाट प्राथमिक शिक्षा दिने उद्देश्यले जगदम्बा प्राथमिक पाठशाला र वाचनालय एवम् पुस्तकालय पनि त्यसै धर्मशाला भवनमा खोलिएको थियो। धर्मशालाको सञ्चालन अद्यावधि भए पनि प्राथमिक विद्यालय, संस्कृत महाविद्यालय, वाचनालय एवम् पुस्तकालय विद्यार्थी, पाठक र आर्थिक अभाव एवम् कुशल व्यवस्थापनको अभावमा लामो समयसम्म चल्न सकेनन् र बन्द भए।

नारीहरूको शिक्षाको चर्चा गर्दा पारम्परिक शिक्षा नै सही तर शैक्षिक चेतना जगाउने क्रममा नेपाली चेलीहरूलाई शिक्षित बनाउने काममा पनि काशीले महŒवपूर्ण योगदान गरेको छ। परिवारका पुरुषहरू काशी जाँदा परिवारसँग कुनै न कुनै निहुँमा काशी पुगेका चेलीहरूले र प्रवासमै जन्मिएका छोरीहरूले पनि काशीमा शिक्षाको अवसर पाए। भारतमा त्यसबेला चलेको नारी चेतनाको लहरले प्रभावित भएका पुरुषहरूले पत्नी, छोरी र बहिनीलाई त्यतातिर प्रेरित पनि गरे।

काशीले एक्काइसौं शताब्दीसम्म नेपालका तीन प्रधानमन्त्री बिपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीलगायत धेरै सरकारी उच्चपदस्थ कर्मचारी, शिक्षक, लेखक, विद्वान्, बुद्धिजीवी तथा अन्य जनशक्तिको व्यक्तित्व निर्माणमा योगदान गरेको छ। ईसाको उन्नाइसौं र बीसौं शताब्दी भारतमा राजनीतिक र सांस्कृतिक क्रान्ति र पुनर्जागरणको समय थियो। नेपालका धेरै मानिस खास गरी युवा विद्यार्थी र राजनीतिक शरणार्थी ती गतिविधिबाट प्रभावित भए। यसले नेपाललाई बौद्धिक खुराक र चेतना दियो। त्यो चेतना लिएर नेपाल फर्केका युवाहरूले गाउँ–गाउँ र घर–घरमा चेतनाको ज्योति बाले।

शिक्षा र छापामा रहेको काशीको एकछत्र साम्राज्य बीसौं शताब्दीको अन्त्यतिर आइपुग्दा बिस्तारै दिल्लीतिर केन्द्रित भयो। नेपालमा प्रजातन्त्र पुनःस्थापनापछि नेपालीहरू पनि नेपालमै, भारतीय सहर र देशतिर अवसरको खोजीमा जान थाले। अध्ययनका क्षेत्र फराकिला भए। आधुनिक विषयमा अवसर प्रशस्त भए। काशीमा पहिलेको जस्तो नेपाली जनघनत्व घट्यो। काशीको विद्या परम्परागत भयो । ‘विद्या हराए काशी जानू’ अब एकादेशको कथा मात्र रह्यो।

(चूडालको यो लेख बुकवर्म फाउन्डेसनद्वारा हालै प्रकाशित संकथन, मन्थनमाला २०८१–८२ बाट लिइएको हो।)

अलका आत्रेय चूडाल भियना विश्वविद्यालयमा आबद्ध  दक्षिण एसियाको बौद्धिक एवम् पुस्तक प्रकाशन इतिहासबारे शोधरत् छिन् ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *