
कुनै बेला राज्यले राई–लिम्बूका लागि छुट्टै पल्टन खडा गरेको विषयमा चर्चा हुँदै थियो, कवि राज माङ्लाकसित। उच्च माध्यमिक विद्यालयका प्राचार्यसमेत रहेका यी कविमा श्रीजङ्ग पल्टन राज्यले राई–लिम्बूका लागि खडा गरिदिएको पल्टन हो भन्ने भ्रम परेको रहेछ।
राई–लिम्बूका लागि राज्यले खडा गरिदिएको पल्टन श्रीजङ्ग नभई भैरवनाथ पल्टन चाहिँ हो भन्ने मेरो स्पष्टीकरणले राजजीको चित्त बुझिरहेको थिएन। उनी अझै शङ्का गरिरहेकै थिए, ‘इतिहासकारहरूले त लिम्बू लिपिका आविस्कारक त्येअङ्सी सिरिजङ्गाको सम्मानमा श्रीजङ्ग पल्टन खडा गरिदिएकोले यसैलाई पो कतिपयले लिम्बूको पल्टन भन्छन् त ?’
केही इतिहासकारले यस्तै लेखिदिएकोले कतिपय लिम्बूमा श्रीजङ्ग पल्टन राई–लिम्बूका लागि खडा गरिएको र यो लिम्बू लिपिका आविस्कारक त्येअङ्सी सिरिजङ्गाको सम्मानमा खडा गरिएको भन्ने भ्रम अहिले पनि कायम छ।
भ्रमको सिर्जना
श्रीजङ्ग पल्टन लिम्बूहरूका लागि स्थापना गरिएको हो भन्ने भ्रमले २०४२ सालदेखि लिम्बूहरूमा औपचारिक रूपले प्रवेश पायो। इतिहासकार शिवकुमार श्रेष्ठको पुस्तक लिम्बूवानको ऐतिहासिक अध्ययन प्रकाशनपछि यो पल्टनको खान्गीका लागि आठवटा थुमबाट चढाइएका खेतहरूको विवरण दिंदै श्री जुंगा देवाङ्सीको नाममा श्रीजङ्ग पल्टन स्थापना भएको हो भन्ने धेरै लिम्बूहरूको भनाइ छ। उनले पुस्तकमा ‘यो पल्टन आजसम्म शाही सेनामा छ र श्रीजङ्ग पल्टनको निशान अझै पनि धनकुटामा छ र मानिसहरू यसलाई भगवतिको रुपमा मान्छन्’ भन्ने उल्लेख गरेका छन्।
श्रेष्ठभन्दा एक कदम अगाडि बढेर जनार्दन घिमिरेले श्री निशान भगवती मन्दिर धनकुटा संक्षिप्त इतिहास पुस्तिकमा ‘श्रीजङ्ग पल्टनको नामाकरण लिम्बूवानका राजा तथा धर्म र लिपिका प्रचारक श्रीजङ्गा देवाङ्सीको नामबाट श्री ५ पृथ्वीनारायण शाहले उनको सम्मान तथा स्मृतिमा श्रीजङ्ग पल्टन खडा गरेका हुन्। श्रीजङ्ग पल्टनलाई पाल्पाबाट धनकुटा ल्याइएको भन्ने भनाइ छ’ भन्ने उल्लेख गरिदिएपछि भ्रममाथि अर्को भ्रम सिर्जना हुन पुग्यो।
श्रीजङ्ग पल्टन पृथ्वीनारायण शाहको समयमा गठन भएको सैनिक सङ्गठन होइन। बङ्गाल–बिहारका नवाव कासिम अलि खानका सेनापति गुरगिन खानको नेतृत्त्वमा आएको सेनालाई लडाइँमा हराउँदा दुई तोप र चार सय ५० जति बन्दुक लुटमा आएपछि यिनै बन्दुकबाट पृथ्वीनारायण शाहले पहिले श्रीनाथ र कालीबक्स कम्पनी खडा गराएका थिए। सन् १७६७ मा सिन्धुलीको लडाइँमा अङ्ग्रेजी सैन्यदललाई भगाई लुटमा आएका बन्दुकबाट गोरख, वर्दवानी (वज्रवानी) र सवुज कम्पनी गठन गरिएका थिए भन्ने इतिहास शिरोमणि बाबुराम आचार्यले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी पुस्तकमा उल्लेख गरेका छन्।
आफ्नो काम र जिम्मेवारीका क्रममा श्रीजङ्ग पल्टन नेपालका विभिन्न जिल्लामा स्थानान्तरित भइरह्यो। तर पूर्वी नेपालको धनकुटामा यो पल्टन लामो समय बसेको मात्रै होइन, यो पल्टनको निशान अहिले पनि त्यही नै रहेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको यो निशानलाई भगवतीका रूपमा पुजिन्छ। यो परिसर निशान भगवतीस्थानका नाममा नगरकै महत्त्वपूर्ण आध्यात्मिक आस्थाको केन्द्रको रूपमा स्थापित छ।
धनकुटाकै अर्का इतिहासकार गोपालबहादुर भट्टराईले पनि आफ्नो पुस्तकमा धनकुटा गौडाको इतिहास मा निशान भगवती र श्रीजङ्ग पल्टनबारे चर्चा गर्न छुटाएका छैनन्। उनले पुस्तकमा ‘माथवरसिंह थापाको समयमा वि.सं. १८९९ मा ६ कम्पु (श्रीजङ्ग) पल्टन धनकुटामा खडा भयो। उक्त पल्टन धनकुटाको हालको निशान थानछेउमा थियो’ भनेर लेखेका छन्। तर, वि.सं. १८९९ मा माथवरसिंह थापा प्रधानमन्त्री बन्नु त के स्वदेशमै थिएनन्। भीमसेन थापाको पतनपछि उनी भारत पुगेका थिए।

पश्चिमी मोर्चामा श्रीजङ्ग
इतिहासकार शिवकुमार श्रेष्ठले यो पल्टन गठन भएको तिथिमिति त प्रस्तुत गरेका छैनन् तर यो पल्टन पूर्वको शान्ति सुरक्षाका लागि लिम्बूवान खडा भएको भन्ने उल्लेख गरेका छन्। उनले ‘लिम्बूवान तथा पल्लोकिराँत सामरिक महत्त्वको थियो किनभने लिम्बूवानको सिमानासँग तिब्बत, सिक्किम, भारतको सिमाना जोडिन्छ। विदेशी राष्ट्रहरूको आक्रमण रोक्न देशभित्र सुरक्षाको लागि लिम्बूवानका श्रीजङ्ग पल्टन खडा गरियो’ भन्ने उल्लेख गरेको छन्। उनको यो लेखन तथ्यसम्मत छैन। किनभने यो पल्टन लिम्बूवान अर्थात् पूर्वी नेपालमा स्थापना भएकै होइन।
यो पल्टनको स्थापना राजधानी काठमाडौंमै भएको थियो र पल्टनको सुरुवाती सक्रियता पश्चिमका युद्ध क्षेत्रहरूमा देखिन्छ।
रानी राजेन्द्रलक्ष्मीको नायवीकालमा जम्मा १७ विभिन्न पल्टन गठन भएका थिए, तीमध्ये श्रीजङ्ग पल्टन पनि एक थियो। डा. तुलसीराम वैद्यलगायतलिखित नेपालको सैनिक इतिहास –२ का अनुसार यो पल्टन १८४२ वैशाख १ गते गठन भएको हो। पल्टन गठन लगत्तै गोरखाली राज्य विस्तार अभियानका क्रममा पश्चिमी क्षेत्रमा सक्रिय रहेको थियो। पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल सङ्ख्या २३ मा प्रकाशित वंशावलीमा ‘शाके १७०७ जेठ महिनामा चौतरिया नरु शाहसहित काजी देवदत्त थापा, सरदार प्रतिमन राना र सुब्बा योग मल्ल सबुज, नयाँगोरख, पुरानोगोरख, श्रीमेहर, श्रीजङ्ग र रणभीम गरी जम्मा ६ कम्पनी लिएर घरसामीमा बसेका थिए, ठूलो लडाइँ भई नवकोट सर गरे’ भन्ने परेको छ।
यताबाट हेर्दा शाके १७०७ अर्थात् १८४२ को जेठ महिनामा श्रीजङ्ग पल्टनको सक्रियता पश्चिमी क्षेत्र देखियो। गठन भएको एक महिनापछि नै यो पल्टन पश्चिमी क्षेत्रमा देखिएकोले पूर्व लिम्बूवानमा यो पल्टन गठन भएको कुनै पनि हालतमा मान्न सकिन्न। यो पल्टन शाके १७०८ अर्थात् १८४३ मा श्रीनाथ, सबुज, भवानीवक्स, पुरानोगोरख, नयाँगोरख, रामदल, दुर्गावक्स र रणभीम पल्टनका साथ श्रीजङ्ग पल्टन लिएर चौतरिया दलजित शाहको नेतृत्त्वमा काजी स्वरूपसिंह कार्की र धोकलसिंह बस्नेतहरू कास्कीको युद्धमा सक्रिय भएका थिए। त्यसपछि यो पल्टन बाइसी राज्यअन्तर्गतको पर्वत राज्यको युद्धमा सक्रिय थियो। त्यसैले सामरिक महत्त्वको पूर्व लिम्बूवानको सम्भावित बाह्य आक्रमणको प्रत्याक्रमण गर्न यो पल्टन खडा भएको भन्ने श्रेष्ठको तर्कमा कुनै दम देखिंदैन।
लिम्बूहरूले प्रचलनमा ल्याएको मौलिक लिपिका आविस्कारक सिरिजङ्गाको नाममा पनि यो पल्टन खडा गरिएको होइन। पश्चिमी अभियानलाई प्रभावकारी बनाउन यो पल्टन खडा गरिएको देखिदा यो पल्टनको स्थापनाको कुनै पनि सम्बन्ध लिम्बूवानसँग छैन। सिरिजङ्गा अध्येताद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे सिरिजङ्गा फाल्गुनन्द र इमानसिंह चेम्जोङको लेखोट मा लेख्छन्, ‘केही इतिहासकारहरूले सिरिजङ्गाको नामबाट पल्टनको नाम र खेतहरूको नाम राखिएको भनेर भ्रम छरेका छन्। याक्थुङ्बा लिम्बू भाषा लिपि चलाएको आरोपमा गोर्खालीहरूबाटै देश निकाला गरिएका सिरिजङ्गाका नामबाट पल्टनको नाम कसरी रहला र ?’

पूर्वमा श्रीजङ्ग
स्थापना भएको सुरुवातमै पश्चिम क्षेत्रको युद्धमा होमिएको श्रीजङ्ग पल्टन पूर्वतिर कहिले आयो त ? यसबारे अब यहाँ चर्चा गरिन्छ।
वि.सं. १८७१ मा अङ्ग्रेजले नेपाल विरुद्ध धावा बोलेपछि विभिन्न मोर्चाहरूमा नेपाली सैनिकहरू तैनाथ हुनुपर्ने भयो। सोही क्रममा विजयपुर क्षेत्र, मकवानपुर क्षेत्र, पाल्पा क्षेत्र, र सुदूरपश्चिमको कुमाउ, गढवाल क्षेत्रमा नेपाली सेना तैनाथ गरिएको डा. सुरेन्द्र केसीलिखित गोर्खाभर्तीः कथा, व्यथा र आन्दोलन मा लेखिएको छ।
वि.सं. १८७१–७२ मा भएको युद्धका क्रममा पूर्वी मोर्चामा तम्तयारी अवस्थामा रहन खटिने पल्टनमा श्रीजङ्ग पल्टन त्यसतर्फ गएको हो। प्राचीन नेपाल सङ्ख्या २४ मा अङ्ग्रेजसँग युद्ध लड्न पूर्व विजयपुर, धनकुटामा श्रीजङ्ग, मेहर पल्टन लिई काजी भक्तवीर थापा, काजी बालनरसिंह कुँवर, बहादुर भण्डारी र अरू भारदारहरू डटे भन्ने उल्लेख छ। इतिहासकार डा. इन्दिरा जोशीको पुस्तक नेपाल–अङ्ग्रेज युद्ध मा पूर्वी मोर्चाको सैन्य नेतृत्त्व बख्तावर थापाले गरेको उल्लेख गरेकी छन्। कर्णेल भक्तवीर थापा र बालनरसिंह कुँवरले पूर्वी नेपालतिर खटिदा पहाडी क्षेत्र आठराईका लिम्बू सुब्बाहरू राजगुन्द राय, टटुवा राय, किदाहाङ राय तथा आंपु रायलाई १८७२ असार सुदी १ रोज ६ मा लेखेको पत्र यो लेखकसँग सुरक्षित रहेको छ। यो पत्रले पनि श्रीजङ्ग पल्टन सोही समयतिर पूर्वको पहाडी क्षेत्र अर्थात् धनकुटामा तैनाथ थियो भन्ने अनुमानलाई बलियो बनाउँछ।
वि.सं. १८७१ मा पूर्वी मोर्चा सम्हाल्न श्रीजङ्ग र मेहर गरी दुई पल्टन गएकोमा मेहर विजयपुर क्षेत्रमा र श्रीजङ्ग धनकुटातिर गएको थियो भन्ने अनुमानका लागि केही विचार गरौँ।
इतिहासकार महेशराज पन्तले पूर्णिमा पत्रिकाको पूर्णाङ्क ९५ मा मेहर पल्टन मोरङमा रहेको १९७१ कात्तिक २३ गतेको पत्र प्रकाशित गरेका छन्। यसो हुँदा सो समय उक्त पल्टन तराई क्षेत्रमा तैनाथ थियो भन्ने देखिन्छ। लेखक मोहन मैनालीले मुकाम रणमैदान मा काजी बालनरसिंह कुँवरले मुकाम धनकुटाबाट जनरल भीमसेन थापालाई अङ्ग्रेज विरुद्धको युद्धमा चीनसँग सहयोग माग्न लेखेको अर्जीको व्यहोरा प्रकाशित गर्दा यो अर्जी लेखिएको तिथिमा भदौ वदी १२ रोज ४ उल्लेख छ। पात्रोमा भिडाउँदा यो तिथि १८७२ साल पर्न आउने हुँदा यो समय भीमसेन थापालाई सरसल्लाह दिने हैसियतका साथ बालनरसिंह कुँवर धनकुटामा रहेछन् भन्ने बुझिन्छ। बालनरसिंह भीमसेन थापाका भाइ नयनसिंह थापाका ज्वाईं हुन्।
इतिहासकार भगिराज इङ्नामले लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह मा धनकुटाका मूर्तिढुङ्गा, ताङ्खुवा, होम्वेला, हिलेलगायतका गाउँबाट तिरो उठाई चार किस्तामा १५ सय २२ रुपैयाँ ५० पैसा श्रीजङ्ग पल्टनमा दाखिल गर्नु भन्ने वि.सं. १८७४ चैत वदी १ रोज २ को पत्र प्रकाशित गरेका छन्। यसले पनि श्रीजङ्ग पल्टन अङ्ग्रेज विरुद्धको युद्धको तैनाथीका लागि पूर्वतिर जाँदा धनकुटामा रहेर पहाडी क्षेत्रको जिम्मेवारीमा रहन थालेको पुष्टि हुन्छ।
पहिले शक्तिपीठहरूमा पूजाआजा गर्ने, भाकल गर्ने आदि युद्धको तयारीकै रूपमा लिइन्थ्यो। सेनामा भगवतीप्रति विश्वास भएकै कारण छाउनी–छाउनीमा देवदेवीका मन्दिरहरू स्थापना गरिएका थिए।
सेनामा प्रत्येक पल्टनको आआफ्नै झन्डा हुन्छ। यसलाई पल्टनको निशान भनिन्छ। युद्धकै तयारीमा पूर्वी नेपालतिर पुगेको श्रीजङ्ग पल्टनको निशानको धनकुटामा निरन्तर पूजा चलेपछि यस पूजा परिसरकै नाम निशान भगवती कहलिन पुग्यो। यहाँ भगवतीको मन्दिर भने निकै पछि मात्रै बनाइएको हो। धनकुटामा आइपुगेको पल्टनको निशान विभिन्न ठाउँमा ठड्याउन खोज्दा साइत ननिस्केको र हालः निशान सुरक्षित रहेको ठाउँमा ठड्याउँदा मात्रै निशानको डण्डा पनि राम्ररी गाडिएकोले यस ठाउँलाई शुभ मानिएको आध्यात्मिक विश्वास अहिले पनि धनकुटामा यथावत् रहेको छ। वि.सं. २०१८ मा श्रीजङ्ग पल्टनलाई बदली गर्न इन्द्रध्वज पल्टन आउँदा श्रीजङ्गको निशान उठाएर लैजान खोज्दा पनि केही अनिष्टका सङ्केतहरू देखिएपछि यो निशानलाई त्यहीं राखेर यसको यथावत पूजा चलाइयो। श्रीजङ्ग पल्टन जहाँ भए पनि दशैंको नवमीको दिन पूजा गर्न उक्त पल्टनका प्रतिनिधि धनकुटा आइपुग्ने भगिराज इङ्नामले लिम्बू जातिको इतिहास मा लेखेका छन्।
पछि काजी जसपाउ थापा यहाँ हाकिम भएर खटिदा यसै ठाउँमा कोतखाना स्थापना गरेका थिए। कोतखाना स्थापना गरिएको प्रमाणका लागि यसै मन्दिर परिसरमा ठडिएको वि.सं. १८७९ को शिलालेखलाई देखाउन सकिन्छ। १८७१ देखि २०१८ सालसम्म अर्थात् १४७ वर्ष यो पल्टन पूर्वी नेपालमा रहेको देखिन्छ।

राई–लिम्बू पल्टन
वि.सं. १७६३ मा विजयपुरका राजा विधाताइन्द्र र उनका काका मकवानपुरका राजा शुभ सेन मुगलहरूको अपहरणमा परेका थिए। त्यस बेला राजा विधाताइन्द्रकी रानी इन्दुराजराजेश्वरीले चेम्जोङलगायतका लिम्बूहरूसित दुश्मन विरुद्ध युद्ध लड्न गुहार मागी पठाएको पत्र उपलब्ध छ। पत्रमा ‘आगे पूर्वमह नीमकहराम ही धुम उठी वभूते रामकीश्न थापाले मेजल हैतो पान्चपत्र दरशन तो कीत शोभा शुवा मजकुरकरलह्रो बरीके हानतुजाहि महतोदरे शवके जश होय से करत’ भनिएको २०२५ सालमा प्रकाशित प्राचीन नेपाल को सङ्ख्या ४ मा जनकलाल शर्माले लेखेका छन्।
त्यस बेला विजयपुरमा सेन राजाहरूले चलाउने राजभाषा मैथिलीबाट लेखिएको यो पत्रलाई इमानसिंह चेम्जोङले अनुवाद गरेका छन्। चेम्जोङको किरातकालीन विजयपुरको संक्षिप्त इतिहास पुस्तकमा समावेश उक्त पत्रमा ‘उप्रान्त प्रथम पत्र यो छ कि आजदेखि उता पूर्वमा मेरो हक केही रहेन। धूमधाम लडाइँ गर्न पर्यो। यहाँबाट रामकृष्ण थापा पठाएका छौं। सामो राय सुभाको ताम्रपत्र हेरियो। तिमी सामो राय सुभालाई निश्चय कर लाग्ने रहेछ। दुश्मनमाथि झट्टै हमला होओस् भनी म चाहन्छु। मेरो र तिमीहरू सबैको जय होस’ भनिएको छ।
रानी इन्दुराजराजेश्वरीबाट गुहार मागिएपछि चेम्जोङलगायतका लिम्बूहरूले दक्षिणका मुगलहरू विरुद्ध घमासान युद्ध लडेका थिए। यी लिम्बू सेनाले ठाउँठाउँमा अड्डा जमाएर बसेका पूर्णियाका नवाफ इस्फुन्दियार खाँप्रति बफादार सेनाहरूलाई भगाई दक्षिण मोरङ पार गराई मोरङ राज्यको सिमाना जजालगढसम्म कायम गरेका थिए। त्यसपछि उनीहरूले चञ्जितपुर दरबारबाट रानी इन्दुराजराजेश्वरीलाई विजयपुरमा ल्याई राजसिंहासनमा बसाए।
१८३१ साउनपछि विजयपुर गोर्खालीहरूको अधीनस्थ भयो। त्यसपछि शाह राजाहरूले लिम्बूहरूको विभिन्न समूहलाई समयसमयमा लालमोहर प्रदान गर्दै सहमतिमा ल्याउन थाले। यसरी सहमतिमा आएका लिम्बूका केही समूहलाई नगरा निशानको लालमोहरसहित बाह्य आक्रमण भए प्रत्याक्रमण गर्न हतियारसमेत प्रदान गरेको इतिहास पाइन्छ।
१८३९ साउन वदी ७ मा राजा रणबहादुर शाहले सेरेङ रैनसिंह राय, फागो श्रीदेव राय, लिवाङ शुभदत्त राय र फेदापका आतहाङ रायलाई ‘हिजो खोलिकन बिन्ती नगर्दा आजसम्म ढिलो भएको हो...हिजु हिन्दुपतिले बक्स्याको नगरा निशानमा मर्यादा जो हो हामीले बक्सन्छौ मोहर देख्न चाडो हजूरमा आव‘ भन्ने व्यहोराको लालमोहर पठाएर पुराना हकभोगको अधिकार साबिकै कायम गरिदिएर गोर्खालीहरूको अधीन स्वीकार गर्न सहमत गराएको, यी चार थरी लिम्बूहरूले राजधानी पुगेर राजा रणबहादुर शाहबाट १८४० जेष्ठ सुदी १२ रोज १ मा खुँडा, बन्दुक र धनुकाँड जस्तो हातहतियारहरू पनि बुझेको शिवकुमार श्रेष्ठले लेखेका छन्। लालमोहरमा उल्लेख भएअनुसार उनीहरूलाई प्रदान गरिएको हातहतियारको विवरण यस्तो छः
आगे रैनसिंह राईके ३०० खुँडा ३२ बन्दुक २२८ धना, श्रीदेव राईके २५० खुँडा ३० बन्दुक २२० धना श्री फेदाप आतहाङ राईके २५२ खुँडा २५ बन्दुक २२७ धना श्री शुभवन्त राईके १६० खुँडा २० बन्दुक १४० धना।
यसरी आफ्नो आबादभूमिको सुरक्षा र युद्धका लागि हातहतियार दिइसकेपछि चार जना लिम्बू सुब्बाहरूका साथै थप दुई जना शामो चेम्जोङ र जयकर्ण वनेमलाई सिक्किमबाट हुने आक्रमणको प्रत्याक्रमणका लागि हातहतियार तथा खरखजनासहित तयार भएर रहन सजग गराउँदै राजा रणबहादुरले १८४१ माघमा लालमोहर पठाए। लालमोहरमा ‘...बाकी सुषीमबाट कटक गर्छ भन्या लेख्याछौ मुषे कटक गर्न सकेन कदाचित आइजाला कत्तल गरौला परन्तु गौडा पनि जहा जहा बिग्य्राको छ मानिस झारा गरी चाडो बनाव‘ भन्ने व्यहोरा परेबाट लिम्बूहरूले कुनै पनि पल्टनमा जागिर नखाइकनै त्यस भेगको सुरक्षा आफै गर्ने रहेछन् भन्ने बुझिन्छ।
लिम्बूहरूलाई आफूप्रति सहमत गराउन नगरा निशानको लालमोहर जारी गर्नुभन्दा अघि उनीहरूलाई रिझाउने उद्देश्यले भोजपुरमा ठूलो क्षेत्रफलमा चरन क्षेत्रमा प्रयोग हुने जग्गा उपलब्ध गराइएको थियो। १८३९ जेठ सुदी २ रोज ३ मा राजा रणबहादुर शाहले यी चार समूहका लिम्बूहरूको नाममा जारी गरेको रुक्कामा खिकामाछा (टक्सार) देखि उत्तर फालिखोला (फालिकोट) देखि दक्षिण दाँवादेखि पूर्व र र्याङदेखि पश्चिममा बाँझो जग्गा दिइएको उल्लेख छ।
आदिवासी जनजातिहरूमध्ये मगर र गुरुङहरूले धेरै पहिलेदेखि गोरखा राज्यमै सैन्य सेवा गरेको इतिहास पाइन्छ। तर लिम्बूहरूले जङ्गबहादुरको समयभन्दाअघि सैनिकका रूपमा सरकारी पल्टनमा भर्ना भई सेवा गरेको प्रामाणिक इतिहास हालसम्म फेला परेको छैन। जङ्गबहादुरको उदयपछि उनैले पूर्वका राई–लिम्बूहरूलाई सैन्य पल्टनमा भर्ना गर्न सुरु गरेको थाहा हुन्छ।
राजा सुरेन्द्र र तत्कालीन प्रधानमन्त्री तथा कमान्डर इन–चिफ जङ्गबहादुरले संयुक्त रूपमा जारी गरेको एक पत्रबाट राई–लिम्बूहरू जङ्गबहादुरकै समयदेखि मात्रै सरकारी सैन्य पल्टनमा भर्ना हुन थालेको ऐतिहासिक प्रमाण मिल्छ। योगी नरहरिनाथको इतिहास प्रकाशका सन्धि पत्र संग्रह भाग–१ मा संग्रहित १९२० कात्तिक वदली ६ रोज १ मा जारी पत्रमा ‘आगे हाम्रा भर मुलुकका ठाकुर राजपुत गैह्रके १९११ सालमा भोटतर्फ अडाञी हुँदा र १९१४ सालमा लखनौ तर्फ लडाञी हुँद मार्फत् भै भारादार गैह्रले साथ लागि भर समेत् गर्याको विस्तार गरी श्री ...प्राइम्मिनिस्टर...जङ्गबहादुरले खशलाई क्षेत्री तुल्ल्याई बराबर दर्जा बढाई बक्सनु भयाको छ मगर गुरुङ्लाई पनि कर्नेली दर्जा पुर्याइ पुरानो रोजा पल्टनमा भर्ति गरी वक्सनु भयाको छ अरु पर्जा जनलाई पनि सिपाही तुल्याइ पल्टन खडा गरी वक्सिनु भयाको छ अघि देखि मासिने नेवार जातलाई पनि न मास्नु भन्ने स्थिति गरी बक्सिनु भयाको छ. लिंवु किराती जातलाई पनि पल्टन खडा गरी न मास्नु भन्न्या स्थिति गरी बक्सिनु भयाको छ...’ भन्ने परेको छ।

जङ्गबहादुरकै शासनकालमा पूर्वका लिम्बूहरू सैनिकमा भर्ना हुन हिँडेको घटनाका बारेमा प्रसिद्ध वनस्पतिविद् जे.डी. हुकरले पनि आफ्नो यात्रावृत्तान्त हिमालयन जर्नल्स मा उल्लेख गरेका छन्। उनका अनुसार जङ्गबहादुरले कडा आदेश जारी गरी ६ हजार लिम्बूहरूलाई नेपाली सेनामा भर्ना गर्न काठमाडौं झिकाएका थिए। उनीहरूलाई काठमाडौंमा शिविर बनाएर राखिएको थियो। तर त्यतिखेरै अचानक हैजा फैलियो। उनीहरूमध्ये सैयौँ व्यक्ति परिवारसहित हैजाबाट मरे। जसका कारण सेनामा भर्ना हुन डराउनेहरू काठमाडौंबाट फेरि पूर्वतिरै फर्के।
राई र लिम्बूका लागि गठन गरिएको छुट्टै पल्टन भने भैरवनाथ पल्टन हो। यसमा राई, लिम्बू, सुनुवार र याक्खा जातिबाट मात्रै भर्ना गरिन्थे। राजा गीर्वाणयुद्धविक्रम शाहको समयमा १८६७ भदौ १२ गते गठन भएको भैरवनाथ पल्टनलाई पछि राई–लिम्बूलाई मात्रै भर्ना गर्ने गरी पुनर्संरचना गरियो। राई–लिम्बू पल्टनका रूपमा चिनिदै आएको यो पल्टन २००९ सालमा खारेजीमा पर्यो। त्यसपछि सबै जातिलाई यो पल्टनमा भर्ना गर्न थालियो।
यो पल्टनमा राई–लिम्बू सेनाले शिकार बन्दोबस्तका लागि काम गर्नुपर्ने भएकोले यसलाई ‘शिकारी पल्टन‘ पनि भनिन्थ्यो। यो पल्टनमा जङ्गबहादुर राणाबाट १९२८ फागुन सुदी १३ रोज ७ मा लप्टन दर्जा पाएका धनकुटा, बन्चरेका फौदसिंह लिम्बूको नियुक्ति पत्रमा ‘सवारी सीकारी उर्दि कवायत पहरा चौकी लडाई भिडाई हाल हुकुम रात बिरात आठैप्रहर टहल्मा रुजु रही निमकको सोझो चिताई‘ भनी काम कर्तव्य सम्झाइएकोले यो पल्टनमा नियुक्त सेनाले शिकारका समयमा बन्दोबस्तीको जिम्मेवारी निर्वाह गर्नुपर्ने स्पष्ट हुन्छ।
त्यस बेला ललितपुरमा रहेको यो पल्टनबाट वि.सं. १९०५ मा जागिर छाडेर कतिपय राई–लिम्बूहरू आफ्नै थातथलो पूर्वी नेपालतिर पुगेका र जागिर छाडेर गएका उनीहरू जागिरमा यथावत् फर्काउन अनेक कोसिस गर्दा पनि जङ्गबहादुर सफल हुन नसकेको दुईवटा ऐतिहासिक पत्र इतिहासकार ज्ञानमणि नेपालले नेपालनिरुपण पुस्तकमा लेखेका छन्।
राई लिम्बूहरूको पुरानो बस्तीका रूपमा परिचित ललितपुरको तिखेदेवल क्षेत्रमा यिनै भैरवनाथ पल्टनमा जागिर खान पूर्वबाट आएका सैनिकहरूले बस्ती बसाएको सोही क्षेत्रका पुराना बासिन्दा पूर्व प्रशासक मञ्जुलकुमार याक्थुङ्वाले मौलिक किरात धर्म संस्कार पुस्तकमा उल्लेख गरेका छन्। उनीहरूमध्ये लप्टन शम्शेरजङ्ग फागो चोङ्बाङको अगुवाइमा सानो हात्तीवनमा यक्वा पूजा सुरु गरिएको हो, जो अहिलेसम्म निरन्तर चलिरहेको छ।
यी ऐतिहासिक प्रसङ्ग र तथ्यहरू निफनेर के भन्न सकिन्छ भने श्रीजङ्ग पल्टन लिम्बूहरूको लागि र सिरिजङ्गाको सम्मानका गठन गरिएको पल्टन होइन।
राजकुमार दिक्पाल इतिहास अध्ययनमा रूची राख्ने लेखक हुन्। ...
राजकुमार दिक्पाल इतिहास अध्ययनमा रूची राख्ने लेखक हुन्।