
संवत् २०२० साउन २० गते राति दुई बजेतिरको कुरा। अर्घाखाँची, छत्रगञ्ज डिही गाउँका नेत्रप्रसाद पन्थीले संस्कृत व्याकरणको कौमुदीको किताब, फुपैका गरगहना झोलामा राखेर सुटुक्क घर छाडे। तर नसोचेको भयो! उनलाई पढाउन लैजाने भनेका भूवनेश्वरशरण उपाध्याय अघिल्लो रात नै साइत पार्न घर छाडेका रहेछन्। उनी कहाँ बसेका थिए, थाहा भएन। मध्यरातमा पुगेका नेत्रलाई भुवनेश्वरकी जहानले बाटो लागेको मान्छे घर नफर्कन आग्रह गरिन्। बरु लालटिन दिँदै भनिन, "लौ यो लिएर जाऊ। जहाँ उज्यालो हुन्छ, त्यहीँ छाडिदिनू। उज्यालो भएपछि म लिन आउँला।"
त्यसपछि नेत्र पूर्व दिशा पारेर लालटिनको धिपधिपे उज्यालोमा पढ्न लाहुर जाने सपना बोकेर ठाडो पहाड ओर्ले। तर कहाँ जाने, कसरी लाहुर गइन्छ, केही अत्तोपत्तो थिएन।
जे भए पनि लाहुर हिँडेका नेत्रका पाइला फर्केनन्। त्यसको चार वर्षपछिको कुरा हो, उनकै गाउँका केशव पन्थीलाई पनि नेत्रले पढेको सार्वजनिक मिडिल स्कुलमा जान उकुसमुकुस भइरहेको थियो। त्यहाँ शुल्क तिरेर पढ्नुपर्थ्यो। शुल्क मात्र होइन किताब, कपडा, चप्पल, मसी, कलमको जोहो गरिदिनुपर्ने हुनाले बाबुआमाले गाह्रो मानिरहेका थिए।
तत्कालीन ग्रामीण समाजमा केशवको मात्र होइन, धेरैजसो अभिभावकलाई स्कुलको खर्च अतिरिक्त बोझ भएको थियो। महिना दिन बितिसक्दा अभिभावकले मासिक शुल्क समयमा बुझाउन सक्दैनथे। त्यस्तो बेला विद्यार्थीहरूलाई शुल्क ल्याउन भन्दै विद्यालयबाट घर फर्काइन्थ्यो। त्यो बेलाको कुरा सम्झँदै केशव लेख्छन्, "घर जाँदा अभिभावक आआफ्नो काममा गइसकेका हुन्थे। यस्तो दिन हामी घर न घाटका बन्न पुग्थ्यौँ।"
सोही मिडिल स्कुलमा पढेका झविन्द्र पाण्डेका अनुसार त्यति बेला स्कूलमा पढाएको बुझिँदैनथ्यो, "अलजेब्रा अल्झेउरा झैँ लाग्थे।" धेरै विद्यार्थीका लागि स्कूलभन्दा वनपाखा रमाइला हुन्थे। छिटै घर फर्केमा स्कूल छाडेर आएको भनी बाबुआमाले गाली गर्ने हुनाले, उनीहरू नजिकैका वनजङ्गलमा दिन बिताइरहेका हुन्थे। हिउँदमा तिजु, काफलका बुटामा र बर्खामा चिउरीका बुटामा झुन्डिएका हुन्थे। वन जाँदा पिङ बाट्ने, पिङ खेल्ने, भुसाहा भर्ने, कोही दिनभर खोपी (तीनतारे) खेल्ने, चुरोटका खाली पकेटको बेट बनाएर बिताउँथे। साँझपख के के न गरे जस्तो आमालाई थर्काउँदै, खाजा माग्दै घरभित्र पस्थे।
यस्तो अवस्थाको भेउ अभिभावकलाई पनि थियो। कतिपय बाबुले छोरालाई स्कुल नपठाएर घरमै पढाउँथे। आफूले भन्दिने र छोरालाई भनाउन लगाउने गरी संस्कृतका किताबहरू कण्ठ गर्न लगाउँथे। वर्णमालाको किताब खोजेर ल्याई अआ कख पढाउँथे। त्यसबाट नक्षत्र, बार, गते, तमसुक आदि कुरा घरमै पढ्थे। बाबुले भनेको सुनेको आधारमा डिही गाउँका लक्ष्मण पन्थीले चण्डीका श्लोक कण्ठ गरे। बाबुले हरेक बिहान पूजा गर्दा भनेका संस्कृतका श्लोक पनि उनले सिकेका थिए। घर पढ्दा उनी लिखित रूपमा दक्ष थिएनन् तर बाबुले पढाएको आधारमा ४० अध्याय वेद कण्ठ गरेका थिए।
घरमा सामान्य पढेपछि उनी गाउँका पढालेखाकहाँ पढ्न गए। चेतनारायण पन्थीले गाउँका विद्यार्थी जम्मा गरेर कहिले आफ्नो घरमा, कहिले ठाँटीमा पढाउँथे। त्यसबाहेक भारतबाट पढेर आएका पठित मानिसकहाँ पनि पढ्न गए। उनको लागि स्कूल भनेको आफ्नै घर, गाउँको ठाँटी, छिमेकीको बेसी, गोठ आदि भए।
त्यसो गर्दा सजिलो यो थियो कि गाउँको मिडिल स्कूलमा जस्तो पैसा तिर्नुपर्दैनथ्यो, पढाइ पनि हुन्थ्यो र घरको काम पनि बित्दैनथ्यो। गोठाल्याइँ गर्दै पढ्न सकिन्थ्यो। कालान्तरमा आफूले पढ्न नपाएको मिडिल स्कूल उच्च मावि हुँदा हेडमास्टर भएका लक्ष्मणले प्राथमिक शिक्षा गाउँमै यताउता पढेपछि, २०३२ सालमा फुपाजुसँग माध्यमिक शिक्षाको निम्ति भारततर्फ गएका थिए। लक्ष्मण सम्झन्छन्, "बाले मलाई गाउँको स्कूलमा नपढाउनुका दुईओटा कारण हुन सक्छन्, एउटा छोरालाई संस्कृत पढाउने र पण्डित बनोस् भन्ने चाहना, अर्को आर्थिक अभाव।"
मेरो विचारमा संस्कृत पढ्ने भनेको एउटा मुख्य कारण आर्थिक अभाव हो। संस्कृत पाठशालाहरूले धेरैका छोराहरूलाई व्यवस्थापन गरिदिएका हुन्थे। त्यहाँ नि:शुल्क पढाउने मात्र होइन, खान पनि सित्तैमा पाइन्थ्यो। २०३० र २०४० सालमा समेत गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, दाङ, प्यूठान वरिपरि नि:शुल्क पठनपाठन गराउने थुप्रै संस्कृत पाठशाला थिए। यी सबै पाठशालामा पढ्न पैसा तिर्नु त पर्दैनथ्यो। तर खाने-बस्ने सुविधा चाहिँ निश्चित विद्यार्थीले मात्र पाउँथे। त्यसमा लगानीकर्ता र गुरुहरूको तजबिज निर्णायक रूपमा चल्थ्यो। पाठशालाले दिने सुविधा प्राय: आफ्नै नातागोता, समाजकै ठूलाठालु र नाम चलेका पण्डितका छोराहरूले पाउँथे। यसकारण पाठशालाको खान्की खाएर पढ्न चाहने—स्थान र वर्गविशेषका धेरै बटु बाहुनहरू त्यस अवसरबाट वञ्चित हुन पुग्थे।
भारतमा पढ्न कहाँ जाने ? नेपालबाहेक बनारस अर्को शैक्षिक गन्तव्य थियो। तर बनारसमा नि:शुल्क पढ्ने ठाउँ भेटिए पनि नि:शुल्क खाने बस्ने ठाउँ सीमित नै थिए। बनारस त पढालेखा बाहुन, मुखिया जिम्मावाल, पैसा हुने साहू महाजनहरूले आफ्ना सन्तानलाई पढ्न पठाउने थलो हो भन्ने धारणा बनिसकेको थियो।
वञ्चित विद्यार्थीलाई २००७ सालपछिको सन्दर्भमा खोलिएका थुप्रै आधुनिक विद्यालयले पनि आश्रय दिन सकेनन्। गुल्मी अर्घाखाँचीमा सात सालपछि थुप्रै मिडिल स्कूल खोलिएका थिए। पञ्चायतकालको सुरुदेखि मध्यसम्म अर्घाखाँचीमा पाँच र गुल्मीमा सातओटा हाईस्कूल खुलिसकेका थिए। यी नवोदित विद्यालयले शैक्षिक चेतना त फैलाए, तर आधुनिक शिक्षा पढ्न पैसा तिर्नुपर्ने भयो। खाने प्रबन्धसहित नि:शुल्क छात्रावास त परैको कुरा भयो। त्यसैमा पूर्वाधार र योग्य शिक्षकको अभावले ती विद्यालयहरू लामो समयसम्म आफ्नै सीमाभित्र अल्झिरहे। यो शैक्षिक सङ्क्रमणकालीन सन्दर्भमा विशेषत: बाहुन समुदायका अभिभावकहरूले आफ्ना ससाना बालकलाई भारततर्फको शैक्षिक यात्रालाई निरन्तरता दिए।
भारतमा पढ्न कहाँ जाने ? नेपालबाहेक बनारस अर्को शैक्षिक गन्तव्य थियो। तर बनारसमा नि:शुल्क पढ्ने ठाउँ भेटिए पनि नि:शुल्क खाने बस्ने ठाउँ सीमित नै थिए। बनारस त पढालेखा बाहुन, मुखिया जिम्मावाल, पैसा हुने साहू महाजनहरूले आफ्ना सन्तानलाई पढ्न पठाउने थलो हो भन्ने धारणा बनिसकेको थियो। धेरै अभिभावकको लागि बनारसमा न त चिनजानको आधार थियो, न त पर्याप्त आर्थिक सामर्थ्य। सम्बन्ध वा पहुँच भएकामध्ये पनि नियमित खर्च भर्न नसक्दा उनीहरूका लागि बनारस पुग्नु र टिकेर पढ्नु दुरुह नै थियो। त्यसैले नेपालका धेरै गाउँ र परिवारका लागि बनारस तीर्थ जाने थलो त थियो, पढ्ने थिएन।
---
गाउँबाट लघुकौमुदीको किताब बोकेर हिँडेका नेत्रले भूवनेश्वरलाई अन्तत: बाटामै भेटाए। सबै बेलिविस्तार लगाएपछि बाटोमै घर पर्ने एक आफन्तकहाँ आफूसँग भएका गहनासँग पैसा साटी त्यसलाई कुटुरो पारेर हिँडे। घरबाट निस्केको छैटौँ दिनमा उनीहरू बनारस पुगे।
बनारसमा राम्रा आश्रम भेटिए सकभर उतै बस्ने इच्छा उनीहरूको थियो। त्यहाँ उनीहरु "लोटा बाबाजीका तिला" भन्ने आश्रममा पुगे। पुगेको भोलिपल्ट नेत्रलाई आश्रममा छाडेर भुवनेश्वर बस्ने खाने सुविधा भएका विद्यालयको खोजीमा हिँडे। नि:शुल्क पढ्ने ठाउँ त पाइए तर खाने थलोकै समस्या भयो। केही दिनपछि उनले 'यहाँ नबसौँ' भने। वृन्दावन जाने कुरा भयो। वृन्दावन बनारसबाट ७१५ किलोमिटर दूरीमा पर्दछ। त्यहाँ खाने, बस्ने र पढ्ने ठाउँको बारेमा भुवनेश्वरलाई थाहा थियो।
वृन्दावनमा भुवनेश्वरले नेत्रलाई एउटा खाने ठाउँ देखाइदिए। जहाँ उनले एउटा लोटा किन्नुपर्ने भयो। जसले खाने बेलामा दाल थाप्ने र हातमुख चुठ्नेदेखि शौचालय जानसम्मलाई काम दिन्थ्यो। वृन्दावनमा एउटा सेठ (धनी मानिस) कहाँ बिहान बेलुका लोटा लिएर दाल थाप्न गए। दालसँगै रोटी पनि दिइन्थ्यो। एवंरीतले नेत्र एकतिरको आश्रममा बस्ने, अर्कोतिरको सेठकहाँ खाने र दिनमा नजिकैको संस्कृत पाठशालामा गएर पढ्न थाले।
केही समय बसेपछि भुवनेश्वरले नेत्रलाई "तिमी यहीँ बसेर खाँदै पढ, म चाहिँ गोवर्धन जान्छु" भने। गोवर्धन धेरै टाढा थिएन, वृन्दावनबाट २५ किलोमिटर जति दूरीमा पर्दथ्यो। तर एक्लै बस्न नेत्रले मानेनन्, सँगै जान्छु— म पनि उतै पढ्छु भनेर जिद्धी गरे। गोवर्धनमा पुगेपछि त्यहाँ पनि भुवनेश्वरले उनलाई खाने ठाउँ देखाइदिए।

लघुकौमुदी किताब बोकेर लगेका नेत्रले वृन्दावन पुगेपछि तर्कसंग्रह, हितोपदेश, अमरकोश किताब किने। भुवनेश्वरले पनि उच्च माध्यमिक विद्यालय (अर्थात् मेट्रिक) तहको परीक्षा दिने भनेर अंग्रेजीका किताबहरू किने। त्यति बेलासम्म उनलाई संस्कृत मात्र पढेर हुँदैन भन्ने ज्ञान भएको थियो। मैले नेत्रप्रसादलाई सोधेँ, "भुवनेश्वर त गुजरात गइसकेका थिए, किन एकैचोटि गुजरात नजानु भएको ?" उनले भने, "गुजरात त धेरै टाढा पर्दथ्यो, बेलाबेलामा घर जान पनि पाइने भनेर सकभर हामीहरू अयोध्या वृन्दावन तथा गोवर्धनतिर बस्न चाहेका थियौँ।"
दुवै जना गोवर्धनमा पढ्न बसेको एक महिना भएको थियो, त्यही बेला भुवनेश्वरलाई पत्थरीको रोग देखियो। त्यसपछि उनले आफू गुजरात जाने योजना नेत्रलाई सुनाए। किनभने त्यहाँ उनले चिनेका आयुर्वेदिक औषधालय पनि थिए। जहाँ गएर नि:शुल्क उपचार गर्न सकिन्थ्यो। स्वास्थ्य सुरक्षाको हिसाबले भुवनेश्वर जाने भएपछि नेत्रलाई पनि एक्लै बस्न मन लागेन, म पनि जान्छु, भने।
अन्तत: २०२० भदौ अन्ततिर गोवर्धनदेखि हिँडेका भुवनेश्वर र नेत्र ८४० किलोमिटर टाढाको गुजरात अहमदाबादमा रहेको कालुपुरमा पुगे। जुन अर्घाखाँचीबाट लगभग १८ सय किलोमिटर टाढा थियो।
अंग्रेजले छाडेर गएपछि अहमदाबादमा हिन्दू व्यापारीहरूको प्रभाव बढ्दै गएको थियो। उनीहरूबाट दान चन्दा आदि पाइने आशाले गुजरातको गाउँका जमिनदारमा आश्रित भएर चलेका पुराना मन्दिर पाठशालाहरू शहरका व्यापारीमा आश्रित भई शहरतिरै बसाइँ सर्न थालेका थिए।
यीमध्ये अहमदाबादको आनन्दनगर पालडी भन्ने ठाउँमा रहेको कौशलेन्द्र मठ प्रमुख थियो। जुन अहमदाबादबाट ४२० किलोमिटर पश्चिम दख्खिनमा पर्ने महात्मा गान्धी जन्मेको पोरबन्दर शहरको नजिकै शिंगडा भन्ने गाउँमा थियो। कौशलेन्द्र मठले रघुवर रामानन्द वेदान्त संस्कृत महाविद्यालय चलाएको थियो।
अंग्रेजले छाडेर गएपछि अहमदाबादमा हिन्दू व्यापारीहरूको प्रभाव बढ्दै गएको थियो। उनीहरूबाट दान चन्दा आदि पाइने आशाले गुजरातको गाउँका जमिनदारमा आश्रित भएर चलेका पुराना मन्दिर पाठशालाहरू शहरका व्यापारीमा आश्रित भई शहरतिरै बसाइँ सर्न थालेका थिए।
हिन्दू र वैष्णव व्यापारीहरुले मठमन्दिर र पाठशालामा लगानी गर्न थालेपछि बनारस, हरिद्वार आदि ठाउँमा पढेका पठित मानिसहरू पनि गुजराततर्फ आकर्षित भए। प्राय: बनारसमा पढेर गएका पठित व्यक्तिले व्यापारी महाजनकहाँ पर्वविशेषमा कथा महात्मे कहने गर्दथे। त्यहाँबाट आएको आम्दानीले ठाउँठाउँमा आफैले जमिन किनेर मठहरू पनि बनाउँथे। मठको साथै पाठशाला पनि खोलेका हुन्थे।
गुजरातमा विद्यार्थी अभाव हुँदा कतिपय विद्यार्थीलाई मठाधीश आफैले बनारस, हरिद्वार, ऋषिकेश गएर ल्याउँथे। गुजरातको लोदराका सन्त बलराम दास र अहमदाबाद बाडीगाउँ आश्रमका महन्त नारायण दासले २०१९ सालतिर आयुर्वेद पढाउने संस्कृत पाठशाला खोलेका थिए। सोही समयमा बद्रीनाथ, केदारनाथको तीर्थयात्रा सम्पन्न गरी फर्किदा उनीहरूले हरिद्वारबाट विद्यार्थी गुजरात लगेका थिए। त्यस क्रममा गुल्मीका जनार्दन र लक्ष्मीकान्त उनीहरूसँग गुजरात आए। पछि अरू साथीहरूलाई पनि उनीहरूले बोलाए।
गर्मी बिदामा नेपाल गाउँ गएका बेला गुजरातमा काम गरिरहेका, पढिरहेका र पढाइरहेका नेपालीहरूले गाउँबाट ससाना बालकहरूलाई पढ्नका लागि गुजरात लैजान्थे।
यस क्रममा डिही गाउँका केपी शर्मा ११ वर्षको उमेरमै गाउँ छाडेर गुजरात आए। दुर्गाप्रसाद पन्थीले बनारस पढ्न खर्च पुराउन नसक्ने देखेर आए। उनले भाइलाई पनि बोलाए। केशव पन्थी र रामप्रसाद पन्थी पाठशालाको ठेगाना खोज्दै खोज्दै गुजरात आए। सात कक्षा पास गरेर बसेका छविलाल २०३२ सालमा छिमेकी काकासँग गुजरात आए।
गुजरातमा नि:शुल्क पढ्न पाइने खबरले बासुदेव पन्थीकी आमाले कक्षा ५ पढेको छोरालाई आफ्ना ढुंङ्ग्री मुन्द्री साहूकहाँ अडाना राखेर बाटाखर्च निकाली पठाइन्। डिहीबाट मात्र होइन, गुल्मीको लिम्घा, मुसिकोट, हाडहाडे, दैलेखको टाँडीमाडी, बर्दियाको राजापुर, धनकुटाको छुम्लिङ, मोरङ, जुम्ला, तेह्रथुम, डोटी लगायतका ठाउँबाट त्यहाँ विद्यार्थी गएका थिए।
गुजरातमा मन्दिर पाठशाला धेरै हुनाले भर्ना हुनलाई त्यति गाह्रो थिएन। खाने, बस्ने र पढ्ने व्यवस्था नि:शुल्क हुन्थ्यो। त्यसका लागि सामान्यत: मौखिक रूपमा सोधनी गरेरै भर्ना लिइन्थ्यो।
कौशलेन्द्र मठमा त्यहाँका प्रधानाचार्य रामेश्वरानन्दाचार्यले भर्ना गर्नुअघि २०२० सालमा नेत्रको परीक्षा लिएका थिए। उनले सुरुमा, "आपने कितना पढा है ?", भनेर सोधे। नेत्रले त्यति बेला हिन्दी बोल्न जान्दैनथे। नेपालीमै भन्ने अनुमति पाए। रामेश्वरानन्द त्यहाँको मठाधीशका चेला नेपाली मूलका थिए। उनले नेपाली बुझ्ने भएकाले नेत्रले नेपालीमै लघुकौमुदी पढेको सुनाए।
रामेश्वरानन्दाचार्यले भाष्य बनाउन लगाए। उदाहरणका लागि गाईको भाष्य निर्माण गर्दा गाईका सिङ हुन्छन्, पुच्छर हुन्छ, चारओटा खुट्टा हुन्छन् भन्यो भने त्यो भाष्य भएन। त्यसको विशेषता खोज्नु पर्दथ्यो। जस्तो गाईको घाँटीमा माल्चो हुन्छ, अरू जनावरको हुँदैन। यसप्रकारले भाष्य बनाउन जानेको आधारमा नेत्रलाई कोशलेन्द्र मठमा भर्ना गरियो। कमजोर विद्यार्थीलाई उक्त मठले शिंगडा मठमा लगेर भए पनि पढाउँथ्यो। टाढा जान नमाने अहमदाबाद शहरमै थुप्रै पाठशाला थिए। नभए साधुको सेवा गरेर नजिकैको आधुनिक स्कूल पढ्न पनि सक्थे। उपाय अनेक भेटिन्थे।
अहमदाबाद जस्तो ठूलो शहरमा गाउँबाट आएका काँचा कलिला युवक केही समय बसेपछि विभिन्न मौका पाउनासाथ हिँडिहाल्थे। अर्को पाठशालामा गएर पढ्न थालेमा, पढाउनलाई विद्यार्थी पाउन नसक्ने हुन सक्थ्यो। त्यसैले कौशलेन्द्र मठमा पढ्नेलाई शास्त्री पढुन्जेल अन्त जान नदिन कबुलियतनामा गर्दथे। धेरै विद्यार्थी भए भने आफ्नो विद्यालयलाई दाता, व्यापारी र अन्य महाजन तथा विश्वविद्यालयले समेत राम्रो मूल्याङ्कन गर्ने र नाम तथा इज्जत रहने हुनाले पनि कबुलियतनामा गराएर पाठशालामै राखिएको हो।
पढ्ने क्रममा प्राय: पाठशालामा ११ बजे पुग्नुपर्दथ्यो। सरस्वतीको बन्दना गरेपछि पढाइ सुरु हुन्थ्यो। २०३४ सालतिर कोशलेन्द्र मठमा उत्तर मध्यमा पढ्दा संस्कृत काव्य, संस्कृत व्याकरण, हिन्दी भाषा गरी ५० पूर्णाङ्कका तीनओटा विषय अनिवार्य थिए। त्यसबाहेक अमरकोश, हितोपदेश, गणित, रघुवंश र तर्क संग्रह पनि पढाइ हुन्थ्यो। कौशलेन्द्र मठमा ऐच्छिक नेपाली पढ्न पाए पनि अंग्रेजी ऐच्छिक रूपमा पढ्न पाइँदैनथ्यो। त्यहाँका मठाधीशलाई अंग्रेज र अंग्रेजी भाषाप्रति रोष थियो।

गुजरातका अरू पाठशालामा चाहिँ अंग्रेजी पढ्न पाइन्थ्यो। अहमदाबादको एलिश ब्रिज नजिकै समर्थेश्वर संस्कृत विद्यालयमा कोहीकोहीले स्वअध्ययनबाट अंग्रेजीको पनि परीक्षा दिएका हुन्थे। धनकुटा छुम्लिङका रुद्र नेपालले, " अंग्रेजी पढे पो आधुनिक विद्यालय र कलेजमा पढाउन पाइन्छ", भनिरहने हुनाले गुल्मी, हाडहाडेका टेकराज पन्थीले पढ्दापढ्दै स्वअध्ययनबाट ऐच्छिक अंग्रेजी पनि पढिरहेका थिए। तर कौशलेन्द्र मठमा चाहिँ अंग्रेजी पढेको थाहा पाए पाठशालाबाट निकालिदिने डरले त्यहाँ पढ्ने कसैले गुप्त रूपमा पनि अंग्रेजी पढेनन्।
सावरमती नदी किनाराको काशी विश्वनाथ पाठशालामा पढ्दा अतिरिक्त समयमा अंग्रेजी पढे अवरोध थिएन, तर संस्कृततर्फ पास हुनै पर्दथ्यो। त्यहाँ पढ्ने बेलामा गुल्मी अर्खावाङका भेषराज अर्यालको भेट बझाङका धनप्रसाद पण्डितसँग भयो। धनप्रसादको उठबस पूर्वी नेपालका महात्मा भरतदाससँग थियो। धनप्रसादमार्फत भरतदाससँग चिनजान भएका भेषराजले उनकै प्रेरणाबाट पत्राचार पाठ्यक्रमबाट अंग्रेजीमा आईए पढ्न थाले। त्यति बेला उच्च माध्यमिक शिक्षा बोर्ड, मध्यप्रदेश, भूपालले पत्राचार पाठ्यक्रमबाट पढाइ गर्दथ्यो।
यसप्रकार संस्कृत पढ्दापढ्दै केहीले पत्राचार माध्यमबाट आधुनिक शिक्षा र अंग्रेजीतिर पनि फड्केका थिए। कोही मन्दिरमा बसेर मठाधीशको सेवा गरेपछि उनकै अनुमतिले हिन्दी हाईस्कूलमा गएर समेत विज्ञान र गणित पनि पढेका थिए। आधुनिक विद्यालयमा बिहानको पढाइ सकेपछि दिउँसो फेरि संस्कृत विद्यालयमा पनि पढ्न जानुको विशेष कारण हुन्थ्यो। त्यहाँ पढेपछि निश्चित छात्रवृत्ति पाइन्थ्यो। त्यसबाट हाईस्कूलमा शुल्क तिर्ने खर्च पुग्थ्यो। संस्कृत महाविद्यालयमा प्राय: दिउँसो ११ देखि ५ बजेसम्म पढाइ हुने हुँदा दुवैतर्फ पढ्ने तारतम्य मिलाउन सकिएको थियो।
गुजरातका विभिन्न पाठशालाहरूमा पढाउने गुरुहरू प्राय: नेपाली र बिहारी थिए। लोदराको बाला हनुमान संस्कृत पाठशालामा २०३० सालको दशकमा पढाउने पाँचमध्ये तीन जना बिहारी थिए, दुई जना चाहिँ नेपाली थिए। तीमध्ये नारायणदत्त मिश्र (बिहार)ले व्याकरण विषयमा आचार्य गरेका प्रधानाचार्य थिए। गुल्मी धुर्कोटका पुरुषोत्तम पन्थीले उनलाई साहित्य पढाउँथे। साहित्यमा उनले भट्टिकाव्य पढाउँथे। महात्मा रामेश्वर दासले तर्कसंग्रह र हितोपदेश पढाउँथे। कन्हैया कुमारले हिन्दी पढाउँथे र गुल्मी अर्खावाङकै गोकर्ण अर्यालले नेपाली र गणित पढाउँथे।
रघुवर रामानन्द संस्कृत महाविद्यालयमा पनि बिहारकै थिए। २०३२ सालताका बबुवा झा, जगदीश झाले पनि पढाए। त्यही समयमा नेपालका रामेश्वरानन्दाचार्य र भुवनेश्वरले पनि कौशलेन्द्र मठमा पढाएका थिए। विद्यार्थीहरूमध्येकै उपल्लो पाठ पढिरहेको विद्यार्थीले निम्न तहको कक्षामा पढाउने चलन त्यहाँ थियो। त्यस क्रममा गुल्मीका चूडामणि ज्ञवालीले पनि शिंगडा मठमा पढ्दापढ्दै आफूभन्दा तल्लो पाठेलाई पढाएका थिए। नेपाली गुरूहरूले पनि त्यहाँ नेपालबाट विद्यार्थीहरू लगिरहन्थे।
गुजरातका विभिन्न पाठशालाहरूमा पढाउने गुरुहरू प्राय: नेपाली र बिहारी थिए। लोदराको बाला हनुमान संस्कृत पाठशालामा २०३० सालको दशकमा पढाउने पाँचमध्ये तीन जना बिहारी थिए, दुई जना चाहिँ नेपाली थिए। तीमध्ये नारायणदत्त मिश्र (बिहार)ले व्याकरण विषयमा आचार्य गरेका प्रधानाचार्य थिए।
२०२० र २०३० सालको दशकमा कौशलेन्द्र मठमा परीक्षा दिन आउने अहमदाबादभरिका विद्यार्थीको सङ्ख्या उल्लेख्य हुन्थ्यो। अहमदाबाद वरिपरिका संस्कृत पाठशालाहरूका लागि कौशलेन्द्र मठ नै परीक्षा तथा शैक्षिक समन्वयको मुख्य थलो थियो। २०३४ सालमा त्यहाँ परीक्षा दिन आउने विद्यार्थीको सङ्ख्या ३५० को हाराहारीमा थियो। उल्लिखित विद्यार्थीमध्ये झन्डै आधा विद्यार्थी नेपाली हुन्थे भने बाँकी उत्तर प्रदेश, विहार र राजस्थानका थिए।
२०३० सालतिर कौशलेन्द्र मठमा मात्र करिब ५० जना नियमित विद्यार्थीले पढिरहेका थिए। तीमध्ये करिब २५ जना नेपाली थिए। यस हिसाबले २०२० देखि २०४० सालको दशकसम्म यति नै सङ्ख्यामा नेपालीहरू गुजरात पढ्न गएको भन्न नसकिए पनि उल्लेख्य सङ्ख्यामा नेपाली विद्यार्थीहरूले गुजरातमा पढेका हुनसक्ने अनुमान गर्न सकिन्छ।
अन्तमा
नेपालको शैक्षिक इतिहासमा २००७ सालको राजनीतिक परिवर्तनले महत्त्वपूर्ण मोड प्रदान गरेको थियो। यद्यपि यस परिवर्तनको प्रत्यक्ष लाभ ग्रामीण समाजका सबै तहले लामो समयसम्म प्राप्त गर्न सकेनन्। गुल्मी, अर्घाखाँचीमा २०१५ साल आसपासमा नयाँ विद्यालय स्थापना आरम्भ भए पनि ती शैक्षिक संस्थाहरू भौगोलिक स्थानको पहुँचमा थिएनन्।
२०२८ सालको नयाँ शिक्षा योजनाले विद्यालय थप सुदृढ गराए पनि विद्यालयले लिने शुल्कका कारणले नजिकैका कतिपय विद्यार्थी पढ्नबाट वञ्चित रहे। साथै विद्यालयमा राम्रो व्यवस्थापन हुन नसक्दा पढाइमा त्यसको प्रत्यक्ष असर भयो। परिणामस्वरूप कतिपय विद्यार्थीहरू घर नजिकैका विद्यालय छाडेर उत्तर भारतका विभिन्न स्थान हुँदै गुजरातसम्म जानुपरेको कुरा यहाँ लेखियो। यस अवस्थामा आधुनिक विद्यालय प्रणालीले ग्रामीण समाजसँग समन्वय स्थापित गर्न नसकेको तथ्य यो लेखबाट देखिन्छ।
पहाडी भेगका बाहुन समुदायमा संस्कृत शिक्षा लिने परम्परा केवल धार्मिक आवश्यकता मात्र नभई जीविकोपार्जनसँग समेत जोडिएको थियो। धेरै सन्तान हुने परिवारको व्यवस्थापनमा समेत यो उपयोगी ठानिन्थ्यो। पाठशालामा नि:शुल्क भोजनको व्यवस्था हुने र अध्ययनपश्चात् सरकारी सेवामा प्रवेशको सम्भावना कायम रहेकाले आधुनिक शिक्षाको प्रारम्भिक चरणमा समेत संस्कृत शिक्षाप्रति आकर्षण कायम रह्यो।
पहाडमा रहेका पाठशालामा त्यहाँको खान्की खाएर पढ्ने अवसर सीमित भएकाले उत्तर भारतका विभिन्न ठाउँ लगायत गुजरातसम्मका विद्यापीठसम्म जाने प्रवृत्ति व्यापक बन्यो। अनुसन्धानको दौरानमा तत्कालीन समयमा भारत गएर पढ्ने मानिससँग कुराकानी गर्दा, यो अभ्यास अर्घाखाँची र गुल्मीमा मात्र नभएर, पूर्व र पश्चिम नेपालका अन्य भूभागमा पनि रहेको थियो। यस सन्दर्भमा नेपालको शैक्षिक इतिहासको एउटा महत्त्वपूर्ण हिस्सा निर्माण गर्ने काम गुजरात लगायत भारतका अरू शहरहरूले पनि गरेका हुन सक्छन्।
गुजरातको सन्दर्भमा संस्कृत पढी फर्केका धेरै त नेपालको ग्रामीण क्षेत्रका स्कूलमा मास्टर भई काम गरे। खासगरी दुर्गम भनिएका क्षेत्रहरूमा। त्यसबाहेक कतिले क्याम्पसमा राजनीतिशास्त्र पढाए। कोही वन सेवाका कर्मचारी भए। कोही प्रहरी भए, कोही सरकारको आयुर्वेद संस्थानमा विशेषज्ञ चिकित्सक भए। यसले यो पनि देखाउँछ कि त्यस समयमा संस्कृत शिक्षा लिएकाहरूको महत्त्वपूर्ण हिस्सा सरकारी सेवामा रहेको छ। सरकारी सेवामा बाहुन वर्गको वर्चश्व रहेको भन्ने भाष्यलाई यसले पनि थप मलजल गरेको थियो।

– प्रस्तुत लेख मार्टिन चौतारीद्वारा प्रकाशोन्मुख जर्नल समाज अध्ययन-२१ मा समाविष्ट 'नेपालीहरूको गुजरातसम्मको शिक्षा-यात्रा' को संक्षिप्त अंश हो।
इतिहास अध्ययनमा रुचि राख्ने स्वतन्त्र अनुसन्धाता अर्जुन पन्थी सह-सम्पादनमा नेपाली म्यागेजिनका २५ वर्ष (वि.सं. २०४६–२०७०), सह-लेखनमा मिडिया तालिम : नेपाली अभ्यासको लेखाजोखा पुस्तक प्रकाशित छन्। मिडिया अध्ययन र समाज अध्ययन जर्नलका सम्पादन समूहका सदस्य रहिसकेका उनी अहिले काठमाडौँदेखि हिन्दुस्थानसम्म फैलिएको ऐतिहासिक पैदलमार्गबारे अध्ययन गरिरहेका छन्। ...
इतिहास अध्ययनमा रुचि राख्ने स्वतन्त्र अनुसन्धाता अर्जुन पन्थी सह-सम्पादनमा नेपाली म्यागेजिनका २५ वर्ष (वि.सं. २०४६–२०७०), सह-लेखनमा मिडिया तालिम : नेपाली अभ्यासको लेखाजोखा पुस्तक प्रकाशित छन्। मिडिया अध्ययन र समाज अध्ययन जर्नलका सम्पादन समूहका सदस्य रहिसकेका उनी अहिले काठमाडौँदेखि हिन्दुस्थानसम्म फैलिएको ऐतिहासिक पैदलमार्गबारे अध्ययन गरिरहेका छन्।