
सूचनाको आदानप्रदान गरेरै अहिलेसम्म समाजको गतिशीलता कायम छ र पछिल्लो समय सूचना प्रवाहको सबैभन्दा सशक्त माध्यम सामाजिक सञ्जाल हुन पुगेको छ। अहिले सूचना प्रवाह र विचार आदानप्रदानमा मात्र नभई धारणा नै परिवर्तन गरिदिने सशक्त माध्यम सामाजिक सञ्जाल बनेको छ। तर, सामाजिक सञ्जाल नै अफवाह, मिथ्या र भ्रामक सूचना प्रवाहमा पनि प्रयोग भइरहेछ। कसरी भूलवश मात्र नभई जानाजान नै गलत र भ्रामक सूचना प्रवाहमार्फत सामाजिक समस्याहरू सिर्जना गरिन्छ भन्नेमा यो लेख केन्द्रित छ।
सामाजिक सञ्जालमा नक्कली परिचयमा रहेर धार्मिक एवं जातीयताको विषयमा अफवाह फैलाउने, आर्थिक प्रलोभन देखाएर ठग्ने, चरित्र हत्या गर्ने र मानसिक यातना दिने गरेको पाइन्छ। सामाजिक सञ्जालको प्रयोगको लत, असावधान प्रयोग, भर्चुअल सङ्गत र लोभका कारण प्रयोगकर्ताहरू मिथ्या तथा भ्रामक सूचनाका दूत बन्ने गरेका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरू (व्यक्तिगत र संस्थागत दुवै) सूचनाको सुरक्षाप्रति गम्भीर नभएकाले यो माध्यमबाट समाजमा अशान्ति, कट्टरता र विग्रह सिर्जना हुन मद्दत पुगिरहेको तथ्य नै यो अध्ययनको निष्कर्ष हो।
मिथ्या तथा घृणाजन्य सामग्रीको प्रभाव
सूचनाको स्रोत तथा अभिव्यक्तिको माध्यमका रूपमा सामाजिक सञ्जालको दैनिक प्रयोगको दर सन् २०१० देखि ह्वात्तै बढेको हो।
यसको प्रयोगको विस्तारसँगै यो माध्यम मिथ्या सूचना फैलाउने प्रमुख माध्यम पनि हुन पुगेको तथ्याङ्कहरूले देखाउँछन्। सेप्टेम्बर २०२३ मा युनेस्को र इप्सोसले १६ देशमा गरेको सर्वेक्षणमा सहभागीमध्ये ६९ प्रतिशतले मिथ्या सूचना सबैभन्दा बढी फैलिने माध्यमका रूपमा सामाजिक सञ्जाल रहेको विश्वास व्यक्त गरेका छन्। ६७ प्रतिशतले अनलाइन माध्यमबाट घृणायुक्त सामग्रीको सामना गरिरहेको बताए जसमध्ये ७४ प्रतिशत ३५ वर्षमुनिका छन्। घृणायुक्त सामग्री फेसबुकमा सबैभन्दाबढी प्रचलित छ (५८%), त्यसपछि टिकटक (३०%), एक्स (१८%), र इन्स्टाग्राम (१५%) बाट हुने गर्छ।
नेपालमा सामाजिक सञ्जाल
डिजिटल–२०२२ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा एक करोड ३७ लाख जना अर्थात् कूल जनसङ्ख्याको ४५.७ प्रतिशत सामाजिक सञ्जालमा सक्रिय छन्। जसमध्ये पुरुषको सहभागिता ५८.१ तथा महिलाको ४१.९ प्रतिशत छ। हरेक वर्ष यो सङ्ख्या ५.४ प्रतिशतले बढ्छ। सामाजिक सञ्जाल प्रयोग गर्नेहरूमध्ये एक करोड २३ लाख जनाले फेसबुक प्रयोग गर्छन्। अधिकांशका लागि सामाजिक सञ्जाल अभिव्यक्तिको मञ्च पनि भएको छ। “नेपाल मिडिया सर्वेक्षण २०२२” ले गरेको सर्वेक्षणमा १८ वर्षभन्दा माथिक पाँच हजार पाँच सय ८२ जना सहभागीमध्ये ४८ प्रतिशतले सार्वजनिक हितको मुद्दामा आफ्नो विचार साझा गर्ने माध्यम सामाजिक सञ्जाल रहेको बताएका थिए।
इन्टरनेटको सहज पहुँच र सामाजिक सञ्जालको प्रयोगसँगै साइबर अपराधको दर पनि बढ्दो छ। टेलिग्राफका अनुसार साइबर अपराधले हरेक सेकेण्डमा १४ जनालाई असर पुर्याउँछ। नेपालमा आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१ सम्म पुग्दा साइबर अपराधको दर ३५७ बाट बढेर १९ हजार ७३० पुगेको छ। भ्रामक समाचार, घृणात्मक टिप्पणी, चरित्र हत्या तथा आर्थिक ठगी जस्ता समस्या दैनिक रूपमा देखिन्छन्।
नेपाल जस्तो जातीय, धार्मिक र भाषिक विविधता भएको देशमा सामाजिक सञ्जालको दुरुपयोगबाट समाजमा अस्थिरता र विग्रह बढ्ने सम्भावना अझ बढी छ। राजनीतिक र धार्मिक समूहहरूले मात्र नभई व्यक्तिगत र व्यावसायिक लाभ लिन चाहनेहरूले पनि कथ्य निर्माण, षड्यन्त्र र दुष्प्रचारका लागि सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन्। राजनीतिक संयन्त्र अस्थिर भएको समयमा यस्तो दुरुपयोग अझ बढी हुन्छ।
मिथ्या सूचनाका प्रकार
समाजिक सञ्जालमार्फत कट्टरता र अशान्ति फैलाउनेले मिथ्या सूचनाको अत्यधिक प्रयोग गरेको पाइन्छ। यसलाई अहिलेको युगमा डिजिटल हतियार भन्न सकिन्छ। यस्ता मिथ्या सूचनाको आधारमा तयार पारिएको सामग्रीले उग्र सोच र गलत क्रियाकलाप बढाउँछ।
झुठो (फेक) समाचार शब्द धेरै वर्षदेखि प्रयोग भइरहेको छ। जसको आधार मुख्यतयाः सत्य र तथ्यदेखि निकै टाढा रहेको सूचनामा आधारित हुन्छ। जो सत्य लाग्न सक्छ। यसमा अन्य उमेर समूहभन्दा बढी युवा उमेरलाई तान्ने गर्छ। यस्ता गलत सूचनाको आधारमा तयार गरिएको समाचार वा सामग्रीले उग्र सोच र गलत क्रियाकलापलाई बढाउने गर्छ। गलत जानकारी धेरै आकार र रूपहरूमा सामाजिक सञ्जालमा फैलाउने गरिएको छ। मिथ्या सामग्री उत्पादन गर्नेले पैसा कमाउन; राजनीतिक प्रभाव पार्न अथवा समाजमा कट्टरता र अशान्ति फैलाउन सामाजिक सञ्जालमा फैलाउँछन्। सामाजिक सञ्जालमा पस्किने सामग्रीलाई धेरैले सत्य ठानेर उत्पादनकर्ताको उद्देश्य नजानीकनै फैलाउने गर्छन्। यसमा दोस्रो पक्षको रुपमा रहेको सूचना उपभोगकर्ता वा प्रसारकर्ताको उद्देश्य कुनै हानि पुर्याउने हुँदैन। कतिपय अवस्थामा मिथ्या सूचना उत्पादन र प्रसार गर्ने समूह एउटै भएको पनि पाइन्छ जसको उद्देश्य अशान्ति फैलाउने हुन्छ।
क्लेयर वार्डलले ‘अन्डरस्ट्यान्डिङ इन्फर्मेसन डिसअर्डर’मा सात प्रकारका मिथ्या सूचना पहिचान गरेका छन्।
पहिलो हो, व्यङ्ग्य जसले कसैलाई हानि पुर्याउने उद्देश्य राख्दैन तर उपभोक्तालाई मुर्ख बनाउने क्षमता राख्छ। तुलनात्मक रूपमा यो कम हानिकारक भए पनि धार्मिक, जातीय वा संवेदनशील विषय समेटिएको छ भने विग्रह सिर्जना गर्न सक्छ।
दोस्रो, शीर्षक वा तस्बिरसँग मेल नखाने भ्रमपूर्ण सम्बन्धका आधारमा बनाइएका सामग्री। यसलाई पनि कम हानिकारक मानिन्छ। तर, भ्रम सिर्जना गर्न भने सक्षमहुन्छ।
तेस्रो, भ्रामक सामग्री। कुनै मुद्दा वा व्यक्तिलाई आफ्नो स्वार्थअनुसार व्यक्त गर्न सूचनाको गलत प्रयोग गरिन्छ। यो पनि तुलनात्मक रूपमा कम हानिकारक मानिन्छयद्यपि यसले समाजमा व्यक्ति वा संस्थाबारे भ्रम सिर्जना गर्छ।
चौथो, कुनै घटना वा अभिव्यक्तिलाई गलत सन्दर्भमा प्रयोग गरिएको सामग्री। यस्तो मिथ्या सूचनामा वास्तविक सामग्रीलाई गलत प्रसङ्गमा प्रयोग गरिन्छ। योहानिकारक हुन्छ।
पाचौँ, छलपूर्ण सामग्री। यसमा कुनै आधिकारिक स्रोत वा व्यक्तिका नाममा झुटो सूचना निर्माण गरिन्छ। यो धेरै हानिकारक हुन्छ।
छैटौं, तोडमोड गरिएको सामग्री। वास्तविक जानकारी, तस्बिर, भिडियोलाई तोडमोड गरी मिथ्या सामग्री बनाइन्छ। यो पनि अत्यधिक हानिकारक हुन्छ।
सातौं, शतप्रतिशत झुटो सामग्री। धोका दिन वा हानि पुर्याउने उद्देश्यले नै यस्ता सामग्री तयार पारिन्छ। यस्ता सामग्रीलाई सबैभन्दा बढी हानिकारक मानिन्छ।
सामाजिक सञ्जालका अल्गोरिद्मले यस्ता मिथ्या सूचना फैलिन मदत पुर्याउँछन्। भनिन्छ, सत्यले जुत्ताको तुना बाँध्दै गर्दा झुटले शहरको परिक्रमा लगाइसकेको हुन्छ।

सामाजिक सञ्जालमार्फत कट्टरता र अशान्ति
कट्टरता भनेको व्यक्तिको सोचलाई क्रमशः उग्र, हिंसात्मक वा चरम वैचारिक पक्षधरतातर्फ धकेल्नु हो। अनलाइन माध्यमबाट प्रवाह हुने कट्टरताका स्रोत पाँच प्रकारका छन् — भावनात्मक आघात, पहिचानको सङ्कट, आर्थिक प्रलोभन, वैचारिक प्रचार, डिजिटल सामूहिक प्रभाव।
आघातः अपमान, भेदभाव, क्षति, सामाजिक अस्वीकृति वा समाधान नगरिएको मनोवैज्ञानिक अथवा मनोसामाजिक पीडाले कट्टरपन्थी कथ्यहरूको जोखिम सिर्जनागर्दछ। प्रायःजसो अतिवादी विश्वासहरूको जगमा व्यक्तिगत र सामूहिक गुनासाहरू हुन्छन्। अतिवादीहरूले भावनात्मक रूपमा पीडितहरूलाई हिंसाका लागि उक्साउँछन्। आघातका पीडितहरूले पीडालाई वैचारिक शत्रुतामा रूपान्तरण गर्ने उपायहरू सामाजिक सञ्जालमा फेला पार्न सक्छन्। म्याककाउली र मोस्कालेन्को(२०१७) ले प्रस्तुत गरेको ‘दुई पिरामिड मोडल’ले वैचारिक कट्टरपन्थ र कार्यगत कट्टरपन्थलाई दुई फरक मनोवैज्ञानिक प्रक्रियाका रूपमा प्रस्तुत गर्छ। विचार पिरामिडले तटस्थदेखि अतिवादी विचारहरूसम्मका व्यक्तिहरूको पहिचान गर्छ भने कार्यगत पिरामिडले निष्क्रियदेखि हिंसासम्मको विकासलाई देखाउँछ। यी दुई पिरामिड समान छैनन् किनभने अतिवादी विचार भएका धेरैजसो मानिस हिंसात्मक कार्यमा संलग्न हुँदैनन् हिंसात्मक कार्य गर्ने केहीको विचार कट्टरपन्थी नहुन पनि सक्छ।
पहिचान सङ्कटः कट्टरताको अर्को कारण पहिचानको सङ्कट पनि हो। आफ्नो परिवार, संस्कृति, धर्म वा राष्ट्रबाट अलगिएको महसुस गर्ने मानिसहरूले आफ्नोपहिचानको खोजी गर्छन् जसले कट्टरतासम्म पनि पुर्याउँछ। यस्तो पहिचान सङ्कट विशेष गरी युवा, आप्रवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र सामाजिक रूपमा अलग्गिएका व्यक्तिहरूमा बढी हुन्छ।
आर्थिक प्रलोभनः आर्थिक रूपमा कमजोर व्यक्तिलाई आर्थिक प्रोत्साहन, रोजगारीको झुटो वाचा वा आर्थिक लाभको प्रस्तावले आकर्षित गर्छ। कट्टरता र अशान्ति फैलाउन चाहनेले सामाजिक सञ्जालमा अनेक थरी आर्थिक अवसर देखाएर आर्थिक रूपमा कमजोर युवालाई आकर्षित गर्छन्।
वैचारिक प्रचारः कुनै पनि कट्टरपन्थको बौद्धिक मेरुदण्ड विचारधारा हो। हिंसालाई जायज बनाउन राष्ट्रवाद, धर्म वा क्रान्ति जस्ता कथ्यहरूको प्रसार गरिन्छ। यस्ताकथ्य स्थापित गर्न वास्तविकतालाई तोडमोड गरी सामाजिक सञ्जालमार्फत प्रसार गरिन्छ। मीम्स, भिडिओ, बनावटी गौरवगाथा र इतिहासको अपव्याख्या गरिन्छ।
डिजिटल सामूहिक प्रभावः डिजिटल सामूहिक प्रभावले विश्वास प्रणालीहरूलाई आकार दिन सामाजिक सञ्जालका समूहहरू लगायतको अनलाइन शक्तिलाई जनाउँछ। फेसबुक, टिकटक र टेलिग्राम जस्ता प्लेटफर्महरूले इकोच्याम्बरहरू सिर्जना गर्छन्। यस्ता इकोच्याम्बरले प्रयोगकर्तासम्म एकैनासका भिन्दाभिन्दै सामग्री पुर्याउँछन्। बारम्बार एकैनासको सामग्रीको उपभोगले पृथक् गुनासोहरूलाई साझा कट्टर पहिचान र कार्यमा रूपान्तरण गर्छ।
सामाजिक सञ्जालका जोखिम
नेपालमा सामाजिक सञ्जालमार्फत सामाजिक विग्रह सिर्जना गर्ने तथा व्यक्तिलाई असर पुर्याउने अभ्यासहरू भएको पाइन्छ। प्रवृत्तिगत हिसाबले हेर्दा मूलतः तीनप्रकारका मिथ्या सूचनाहरू प्रसार हुने गरेको छः धार्मिक वा जातीय विग्रह सिर्जना गर्ने, आर्थिक ठगी गर्ने र चरित्र हत्या गर्ने।
विभिन्न व्यक्ति तथा समूहले नक्कली खाताबाट हिन्दू–मुस्लिम समुदायबीच तनाव सिर्जना गर्ने उद्देश्यले तस्बिर, भिडियो तथा लेखहरू प्रसार गरेको पाइएको छ।त्यस्तै मधेशी र पहाडी समूदायबीच वैमनस्यता फैलाउने योजनाबद्ध पोस्ट देखिने गरिएको छ।
सामाजिक सञ्जालहरूमा आर्थिक आम्दानी हुने प्रलोभन देखाई ठगी गरिएको पाइन्छ। यस्ता आर्थिक ठगी विद्युतीय मुद्रा, एप्स मुद्रा, विदेशमा काम लगाइदिने, सित्तैमा गेमहरूको लिंक उपलब्ध हुने जस्ता प्रलोभन देखाएर हुने गर्छ। प्रलोभन देखाएर नचाहिने सामग्रीहरू सेयर, लाइक गराएर युवाहरूलाई कट्टरता र असन्तोषतर्फ उन्मुख पनि गर्छन्।
नेपाल प्रहरीको साइबर ब्युरोमा महिलाले लिएर आउने उजुरीमा चरित्र हत्या, अनावश्यक सन्देश, भिडियो र प्रलोभनको विषय हुने गर्छ। नक्कली प्रोफाइलबाट अश्लील सामग्री सेयर गर्ने, विभिन्न फेक सामग्रीहरू बनाएर चरित्र हत्या गर्ने जस्ता आपराधिक कामहरू हुने गरेका छन्।
पछिल्ला वर्षहरूमा राजनीतिक अफवाह फैलाउने, जातीय/धार्मिक विवाद उक्साउने, अनेकन् प्रकारका त्रास सिर्जना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने खालकामिथ्या सामग्रीहरू प्रसार हुने गरेका छन्। त्यसैले यस्ता अपराध रोक्न बहुआयामिक कानुनी संरचना विकास गरिएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ ले “शान्ति र सुव्यवस्थामा खलल पुर्याउने अफवाह फैलाउने कार्य”लाई दण्डनीय बनाएको छ। त्यस्तै, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार (साइबर अपराध) ऐन, २०६३ ले “सामाजिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा घृणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचकोसुमधुर सम्बन्धलाई खलल पार्ने, महिलालाई जिस्काउने, हैरानी गर्ने, अपमान गर्ने जस्ता सामग्रीको प्रकाशन वा प्रदर्शन”लाई अपराध ठम्याएको छ। यस्तो अपराध गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ। यस्तो अपराध बारम्बार गरे अघिल्लो सजायको डेढ गुणा हुनेव्यवस्था छ।
महोत्तरीका चौधरी अनुसन्धानात्मक पत्रकारितामा रुची राख्छन्। ...
महोत्तरीका चौधरी अनुसन्धानात्मक पत्रकारितामा रुची राख्छन्।