सोतरीत-साइमुन्द्री अर्थात् लिम्बू समाजको छोरी सुरक्षा चेतना

लिम्बू विवाहको परम्परागत प्रथामा प्रचलनमा रहेको सोतरीत र साइमुन्द्री अभ्यासले यो समाज छोरी सुरक्षाप्रति प्रतिबद्ध देखिन्छ।

नेपाली समाजमा विवाह भन्नासाथ दुलाहा बाजागाजासहित जन्ती लिएर दुलहीको जन्मघर पुग्छ। त्यहाँबाट दुलहीलाई लिएर आफ्नो घर फर्कन्छ। नेपालका आदिवासी लिम्बू समुदायको विवाह संस्कार भने पृथक छ। यो लेखमा लिम्बू समाजमा महिलाको विवाह संस्कारसँग सम्बन्धित रीत र रीतद्वारा समुदायले महिलालाई प्रदान गरेको अधिकार र स्थानबारे चर्चा गरिएको छ।

पहिले पाका पुस्तामार्फत् कुटुम्ब चलाउन लागिएको घरसमक्ष विवाह प्रस्ताव पठाइन्छ। कुरा छिन्दा प्रस्तावित बेहुलीका बुबाआमाको सर्तलाई मगनी गर्न जाने केटापक्षले स्वीकार गर्नुपर्छ। बुबाआमाबाट निश्चित नगद वा सुन चाँदिको माग हुनसक्छ,  त्यसलाई सोतरीत भनिन्छ।

सबै सर्तहरू र प्रस्तावित बेहुलीको स्वीकृति भएपछि तोकिएको मितिमा बेहुला सामान्य भेषभुषामा एक जना बुढ्यौली र एक जना लोकन्दा साथी लिएर बेहुली लिन पुग्छ। त्यसपछि बेहुली आफ्ना दुई जना जति माइती र यथासक्दो लोकन्दी (नयाँ परिवार र परिवशेमा जाँदा बेहुलीको सहजताका लागि साथमा जाने/लगिने महिला साथी)हरूसहित कर्मघर अर्थात् बेहुलाको घर पुग्छन्। बेहुली आएपछि बेहुलाको घरमा भब्य विवाह समारोह हुन्छ।

त्यसपछि बेहुला र लोकन्दीहरू बेहुलीलाई लिएर पुनः बेहुलीको जन्म/माइतीघर फर्कन्छन्। त्यतिबेला भने बेहुलीले आफ्नो माइती र लोकन्दीहरूसहित बेहुलालाई आफ्नो जन्मघर भित्र्याएझैँ दृश्य देखिन्छ। त्यहाँ पनि भोज भतेर चलाइन्छ। भोज भतेरपश्चात बेहुला ससुराली घरबाट र बेहुली माइतीघरबाट कर्मघरतर्फ लाग्छन्, दुवैको दाम्पत्य जीवन सुरु हुन्छ।

मुन्धुममा वर्णित लिम्बू समाजको पहिलो विवाह

लिम्बूहरूको दर्शनशास्त्र मुन्धुममा विवाहसम्बन्धी पहिलो समारोहको वर्णन बडो रोचक ढङ्गले गरिएको छः

फूलको सृष्टि कथाअनुसार धेरै अघि उमेरदार पुरुषहरू र महिलाहरू इम्बिरी यङधङ (तमोर नदी)को दुई किनारामा बसेर प्रेमका गीत गाउँथे। जब हिउँदको समयमा हिमपात हुनथाल्थ्यो, तब नदीको दुई किनारामा रहेका बाँस नुहेर नदीमाथि पुल बन्थ्यो। उमेरदार युवक र युवतिहरूबीच त्यहीँ पुलमार्फत् एकापसमा भेट हुन पाउँथे।

वि.सं. १९३२ मा लिम्बू विवाहमा दुलाहा पक्षले दुलही पक्षलाई तिरेको सोतरीतको कागज ।
स्रोतः राजकुमार दिक्पाल

एकापसमा भेट भएर उनीहरू ठूलो र फराकिलो सेतो ढुङ्गामा बसेर गाउँथे, नाच्थे, पिरती साँटासाँट गर्थे। त्यसै ढुङ्गालाई युप्पालुङ वा युप्पारुङ भन्न थालियो। जब एकापसमा भेट भएर सेतो, चेप्टो र फराकिलो ढुङ्गामा बसेर ती वयस्क युवा युवतिहरू नाच्दै, गाउँदै जाँदा माया बस्न पुग्यो। उनीहरूले विवाह गर्ने निर्णय गरे। तर त्यसका लागि उनीहरूलाई सर्वशक्तिमान तागेरा निङ्वाफुङ माङले उनीहरूको एकापसको तौल बराबर हुनुपर्ने बताए। त्यसबेला पुरुषहरू महिलाहरूभन्दा वजनदार थिए। त्यसैले महिलाहरूलाई गहनापातले पुरापुर सजाएर पुरुषहरूले आफू समान बनाउनुपर्ने भयो। यसो गर्दा आफूभन्दा महिलाहरूको वजन बढी भइदियो। त्यसपछि पुरुषहरूले खुकुरी, ढाल, तरबार आदि हतियारले आफूलाई सुसज्जित बनाउनु पर्‍यो। यसरी एकापसमा सन्तुलित बन्नका लागि पुरुषहरूले महिलाको पछ्यौरामा चाँदिको मोहर बाँधि दिने चलन चल्यो। चैतन्य सुब्बाले सन् १९९८ मा द कल्चर एण्ड रिलिजन अफ लिम्बूज पुस्तकमा लेखेअनुसार यसैलाई कतै युप्पारुङ याङ त कतै युप्पालुङ याङ भन्न थालियो।

मुन्धुमअनुसार पहिलोपटक विवाह गर्ने केटाको नाम खोङ्लिसो अयासक्पा र केटीको नाम आङ्गोरा ससिकहाङ्मा हो। मुन्धुममा वर्णित् उनीहरूले विवाह गरेको ढुङ्गा अहिले पनि ताप्लेजुङको लेलेप गाउँको इम्बिरी यङधङ (तमोर नदी) किनारमा रहेको साँगोमा छ। अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीको २०७८ मा प्रकाशित दसलिम्बूवान सत्रथुमको नीति पुस्तकमा यसलाई “नेन्दुरी पासाङलुङ” भनिएको छ।

जसरी खस आर्य समुदायमा स्वयम्बरको समयमा दुलाहाले दुलहीलाई औँठी लगाइदिन्छन्, यस्तै लिम्बू जातिको विवाहमा बेहुलाले बेहुलीको पछ्यौरामा चाँदिको मोहर बाँधिदिन्छन्। युप्पारुङ वा युप्पालुङ याङ भनिने यस मोहर केटीले जीवनभर आफ्नो साथमा राख्छिन्।

लिम्बूहरूको प्रथाजन्य कानुनअनुसार पत्नीले आफ्नो पतिसँग चित्त नबुझे पतिको निधारमा यहीँ मोहर हानिदिए पारपाचुके भएको ठहर्छ। आधुनिक राज्यले कानुन बनाई लागू गरेपछि लिम्बूको यो प्रथा निस्तेज हुन पुगे।

सोतरीत: छोरीको सहारा

लिम्बू समाजमा दाइजो होइन सोतरीत प्रचलित छ। बेहुला पक्षबाट बेहुली पक्षले माग गरेअनुसार सुनचाँदिका गहनाका साथै नगद बुझाउनुलाई सोतरीत भनिन्छ।

केटी पक्षले माग गरेअनुसार सोतरीत तिर्न सके मात्र वैवाहिक प्रक्रिया अगाडी बढ्छ। रीत तिरेको कागज भर्पाई नै गरिन्छ। आजभन्दा एक सय ५० वर्षअघि विवाहमा रित तिरेको एउटा भर्पाई लिखतमा यस्तो लेखिएको छः

“स्वश्ति श्री सम्वत १९३२ मिति वैशाष सुदी १४ रोज् ३ मा मेवा षोला जिनुपुं बस्ने सुवा सुभमानको छोरि सुभहांमा भन्याको केटि आठराई हांपांङ बस्ने भगिवंन्त लिम्बुले स्वास्नि लकि विभाहा गरि दस् लिम्बुको रितामा सोतरित तिर्या पही”

वि.सं. १८८९ मा काजी बालनरसिंह कुँवरले साइमुन्द्री नछिनिएकी लिम्बू महिला कुमारी कन्या सरह हुने भनी गरेको फैसलाको कागज।
स्रोतः भगिराज इङ्नाम

यो लिखतमा विभिन्न २५ शीर्षकमा त्यो समयमा ९३ रुपैयाँ १२ आना रीत तिरेको देखिन्छ। यसमा कल्या (केटीही मगनीको सूत्रधार) बराजु, बज्यै, बाबु, सासु, फुपु, कान्छा बाबु, महिला बाबु, कान्छी आमा सैमुन्द्री आदिका शीर्षकमा रीत तिरिएको छ। तीमध्ये सबैभन्दा धेरै योयांपा (योक याङ) शीर्षकमा सबैभन्दा धेरै २५ रुपैयाँ रीत तिरिएको छ। माथि उल्लेख भएअनुसार यो रकम केटीको घरमा कमारा कमारी दिन नसकेकोमा तिरिएको रकम हो। कागजमा आठवटा शीर्षकमा ४७ रुपैयाँ आठ आना भने तत्कालै नतिरिएको अर्थात् तिर्न बाँकी रहेको देखिन्छ।

बैरागी काइँलाको २०७५ सालमा प्रकाशित समन्वेषण पुस्तकमा समावेश एक लेखअनुसार छोरीलाई सौता हालेर वा परित्यक्त भएर लोग्नेबाट कदाचित अपहेलित हुनुपर्दा गहना पाएको यस्ता सुन चाँदि र नगद तथा वस्तुले उसलाई बाँकी जीवन धान्न ठूलो सहारा दिन्छ।

लिम्बूहरूको सोतरीतलाई राज्य तथा समाजका अगुवाहरूले नियन्त्रणको प्रयत्न गरेका थिए। भगिराज इङ्नामको २०७७ मा प्रकाशित पुस्तक लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह मा  “गीर्वाणयुद्धविक्रम शाहको राज्यकालमा वि.सं. १८६० जेठ वदी ९ रोज २ मा चैनपुर अम्बरभरका लिम्बू र याक्खाहरूमा जारी गरिएको रुक्कामा छोरीको सोतवापत ५० रुपैयाँभन्दा बढि नखानू, १६ आना हिसाब गरी नगद जिन्सी जे हुन्छ, त्यो लिनू, सोतमा कमारा कमारी नलिनू” भन्ने आदेश जारी गरिएको लिखत समाविष्ट छ। चैनपुर अम्बलभर भन्नाले अरुणपूर्व र मेचीपश्चिमका सम्पूर्ण पहाडी भेग पर्दछ।

वि.सं. १८६० मा सोतरीतको अधिकतम परिमाण ५० रुपैयाँ तोकिए पनि त्यसको ७२ वर्षपछि ९३ रुपैयाँ १२ आना तिरिएको लिखत भेटिएको छ। यसबाट राज्यले तोकेको उक्त रीत सीमा पूर्णरुपमा लागू हुन नसकेको देखिन्छ।

सोतरीतकै कारण लिम्बूहरूलाई “छोरीचेलीको रीत खाने जाति” भन्ने अपजस पनि नपरेको होइन। त्यसैले समाजसुधारक फाल्गुनन्दले यस रीतको सामयिक सुधारको पहलको प्रयास गरेको देखिन्छ। उनले १९८८ वैशाख २४ गते पाँचथरको लेब्रेकुटीमा १७ थुम, १० लिम्बूवानका सुब्बा, अमाली, पान तुम्याङ (जान्ने बुझ्ने पञ्च)को चुम्लुङ गरी लिम्बू समाजमा सुधारका लागि सात बूँदे सत्यधर्म मुचुल्का गराएका थिए, जसको पहिलो बूँदामै “छोरी–चेलीको सोतरित (सुनौली रुपौली) नखानू नलिनू” भन्ने उल्लेख थियो।

आधुनिक लिम्बू समाजमा भने सोतरीतलाई परम्परा धान्ने वा बचाउने गरी साङ्केतिक रुपमा मात्रै ब्यवहार गर्ने चलन छ।

‘साइमुन्द्री नछिन्दासम्म कुमारी कन्या’

खस ब्राह्मण समाजमा कुनै पनि महिला विवाहपछि आफ्नो पतिको थरगोत्रमा पुग्छिन्। लिम्बू महिला भने विवाहपश्चात पनि आफ्ना बाबुको थरमै कायम रहीरहन्छ। लिम्बू महिला विवाह गरेर जता पुग्छिन्, आफ्नै कुल देवतालाई पनि लिएर जान्छिन् र पतिको घरमा पनि तिनै देवतालाई आराध्य मान्छिन्। जस्तो कि मुदेन्छोङ साँवा थरका लिम्बू महिलाले विवाह गरेर कर्मघर पुग्दा आफ्नो कुलायनको देवता दुङदुङे पनि लिएर जान्छिन्।

लिम्बू दुलाहा दुलहीको पछ्यौरामा युप्पालुङ याङ बाँधिदिदै।
स्रोतः कापोप्बा चुम

बैरागी काइँलाका अनुसार लिम्बू भाषाको शब्द ?साइंमुन्ंआङंते.रे (?साइ मुन्देआङ् ते.रे) को अप्रभंस नै सैमुन्द्री अथवा साइमुन्द्री हो। यसको अर्थ वंशबाट छुट्याएर लैजाऊ अर्थात् बिहेदान गरेकी छोरीचेलीलाई माइतीको वंशबाट कुटुम्बको वंशमा मिलाएर लैजाऊ भन्ने हो। अबदेखि सम्पूर्ण रुपमा हाम्री छोरीचेली फलानो ज्वार्ईँको भयो, उनको जीवन र मृत्यूको संस्कारको सम्पूर्ण जिम्मेवारी ज्वाईँ पक्षको भयो भन्ने वैधानिकता प्रदान गर्न अपनाइने रीतलाई साइमुन्द्री (कतै सैमुन्द्री) भनिन्छ।

लिम्बू महिलाहरूमा जीवनभर आफ्नै थरगत र आध्यात्मिक पहिचान भए पनि उनीबाट जन्मेको बच्चालाई पैतृक पहिचान दिलाउने रीत पनि हो साइमुन्द्री। साइमुन्द्री रीत नबुझाउने दम्पतिका सन्तान खोसा (अवैध) हुन्छ। बैरागी काइँलाले २०७१ मा लाइक जर्नल मा लेखेअनुसार यो रीत कानुन सरह लिम्बू समाजमा लागू हुन्थ्यो। सन्तानलाई वैधानिकता दिन दस्तुर तिर्नुपर्थ्यो। यस्तो रीत सम्पन्न गर्ने वा नगर्ने भन्ने सम्पूर्ण अधिकार र जिम्मेवारी माइती पक्षमा निहित हुन्छ।

साइमुन्द्री वा सैमुन्द्री नछिनीकन यदि ती महिलाको मृत्यू भयो भने उनको काजक्रिया वा सम्पूर्ण मृत्यू संस्कारको जिम्मा माइती पक्षको हुन्छ। उनीबाट जन्मेका सन्तानले पनि पैतृक मान्यता पाउँदैनन्, ती सन्तान पनि माइती पक्षकै जिम्मामा रहन्छन्।

१९३ वर्ष पुरानो ऐतिहासिक कागजमा उल्लेख गरिएअनुसार विवाहित भए पनि महिलाले अर्कै प्रेमी रोजेको वा ‘अवैध’ सम्बन्ध स्थापित भएको अवस्थामा साइमुन्द्री नछिनिएको भएमा उनको प्रेमी वा नयाँ श्रीमान्बाट जारी उठाउनसमेत मिल्दैनथ्यो। सुवांगी किपट रहेको ताप्लेजुङ, आठराई थुमअन्तरगतको हाङपाङ गाउँमा यससम्बन्धी मुद्दा परेको एक अप्रकाशित लिखत इतिहासकार भगिराज इङनामबाट प्राप्त भएको थियो।

उक्त लिखतअनुसार नराम्पा नामका ब्यक्तिले युजिदिमा नामकी लिम्बू महिलालाई विवाह गरे। ती महिलासँग सुन्दरे खम्बु राईले करणी विराएको आरोप लगाई नराम्पाले सुन्दरेबाट जारी रकम उठाए। यससम्बन्धी गुनासो स्थानीय अमालमा पुग्यो र त्यहाँका लिम्बु सुब्बा गजविर राईले तत्कालिन धनकुटा गौँडाका हाकिम काजी बालनरसिंह कुँवरसमक्ष उजुरी गरे। यस मुद्दामा फैसला हुँदा साइमुन्द्री वा सैमुन्द्री नछिनिएकी महिला कन्यासरह हुने र उनलाई परपुरुषको बात नलाग्ने हुँदा यसअघि उठाइएको जारी रकम जोबाट उठाइएको हो, उसैलाई फिर्ता दिने आदेश भयो। उक्त आदेशको ब्यहोरा यस्तो छः

“स्वस्तिश्री काजि वालनरसिं कुवर कस्यपत्रम्———

आगे नरांपा राईके यथोजित उप्रान्त ञुजिदिमा भन्याकि केटि वापत अघि तेरा सैमुंद्रि नापरि फुकाें कन्न्या धदाष्पाल कर्नि गर्यो भनि रिसले चारि हानि दाम लियेछस दस लिम्वु दस षुम्बुका रितमा फुंको कन्न्याको करानिमा छिनार लागदैन भनि याहा गजविर राई कराउन आयो यो शुनदर्य षुम्बु राईका दाम दाम जो लियाका फिर्ता गरिदेउ विहोरा अरु छ भन्या जोरी याहा आउ इति सम्वत् १८८९ साल मिति अस्वीन सुदि ८ रोज ७ सुभम्”

साइमुन्द्री नछिनेसम्म लिम्बू महिला विवाहित भए पनि उनलाई कानुनी रुपमै कन्या सरह मान्यता दिइ परपुरुषसँग विवाह गर्न समेत छुट भएको लिम्बू समाजको प्रथाजन्य कानुनलाई राज्यले समेत मान्यता दिएको स्पष्ट हुन्छ।

समाज सुधारक फाल्गुनन्दले छोरीहरूको सोतरीत लिन नहुने चलन चलाउने उठाएको सत्य धर्म मुचुल्काको प्रति।
स्रोतः अवोध अविरल आङबुहाङ

निष्कर्ष

जङ्गबहादुर राणाले वि.सं. १९१० मा मुलुकी ऐन जारी गरेपछि शासकवर्गले गैर हिन्दू समाज र संस्कृतिहरूमाथि कानूनी पकड जमाउदै गए। त्यस्तै ऐनहरूको जबरजस्त कार्यन्वयनले भाषिक, सांस्कृतिक र धार्मिक विविधता भएको मुलुकका आदिवासीहरूको मौलिक प्रथाजन्य कानुन अमान्य बनाउँदै लग्यो। परिणाम यी प्रथाजन्य कानुनी अभ्यासहरू लोप हुने अवस्था आयो।

राज्यको कानूनी बन्देजको अलावा छोरीचेलीको सोतरीत खान हुँदैन भन्ने मान्यताले पनि लिम्बूहरूले सांकेतिक रूपमा सोतरीतको प्रथा कायम राखेका छन्।  यी ऐतिहासिक र सांस्कृतिक तथ्यहरूले लिम्बू समाजमा महिलाको वैवाहिक सम्बन्धले उनको हक-अधिकार, पहिचान र सम्मानित स्थानमा फेरबदल नल्याउने जनाउ दिन्छ।

राजकुमार दिक्पाल इतिहास अध्ययनमा रूची राख्ने लेखक हुन्। ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *