27 September 2025

लिम्बू सुब्बा र सिभुवाली आचार्यबीचको त्यो सम्झौता

राज्यद्वारा संरक्षित धर्म तथा संस्कृतिसँग अनुकूलताले आचार्यहरूलाई शैक्षिक र वृत्तिविकासको उन्नयनमा ठूलो सहयोग पुर्‍यायो। तर, उनीहरूलाई बसोबासको अनुमति दिने किपटिया जिम्मावाल लिम्बू सुब्बाका सन्ततिहरू भने यी अवसरबाट वञ्चित रहे।

अरुण नदीदेखि पूर्वको भूभागमा २०२१ सालअघिसम्म अर्थात् भूमिसुधार लागू हुनुभन्दा अघिसम्म लिम्बूहरूको किपट सुवांगी प्रथा थियो। जग्गाजमिनको तिरो उठाउने, पञ्चखतबाहेकका मुद्दामामिलामा न्याय निरुपण गर्ने, रस्ती रसाउने अनि बस्ती बसाउने जस्ता अधिकारसहित ठाउँठाउँमा लिम्बू अगुवाहरूलाई सुब्बा पद दिने चलन थियो। राज्यले नै लालमोहर गरी सुब्बा पद दिएकाहरू किपट जमिनको हर्ताकर्ता हुन्थे। लिम्बूहरूले आफ्नो थातथलोमा सञ्चालन गर्ने यिनै व्यवस्थालाई सुवांगी प्रथा भन्ने गरिन्थ्यो भने प्रथा पालना गराउने जिम्मा पाएको व्यक्तिलाई सुब्बा। गैरलिम्बूहरू सुवांगी प्रथा रहेको किपटमा बसोबास गर्न आए लिम्बू सुब्बाहरूको अनुमति अनिवार्य हुन्थ्यो। 

उदाहरणका लागि, ताप्लेजुङको हाङपाङमा यक्सो थरका लिम्बू सुब्बाहरूको बोलावट र अनुमतिमा प्रसाईं ब्राह्मणहरूले बसोबास सुरु गरेका थिए। उपमणि प्रसाईं र अरूहरूले सम्पादन गरेको प्रसाईं वंश-वृक्ष  पुस्तकको दोस्रो संस्करण (संवत् २०७२) अनुसार काठमाडौंमा आफ्नो किपट सम्बन्धमा फिराद गर्न पुगेका यक्सो सुब्बाहरूलाई त्यहाँ खडानन्द प्रसाईंले भेटी लेखापढीमा सहयोग गरे। त्यो गुन सम्झेर खडानन्दलाई तपाईंका सन्तान पूर्व आए भने आफूहरूको ठाउँमा आऊन् भनी निम्ता दिई यक्सो सुब्बाहरू हाङपाङ फर्के। 

त्यसपछि खडानन्दका साहिँला छोरा कुलानन्द आफ्नो परिवारका साथै जेठी भाउजू (रामकृष्णकी पत्नी) र उनका छोराहरू कर्णानन्द र हर्कदेवलाई साथमा लिएर आठराईको हाङपाङ आई यक्सो सुब्बा खलकलाई भेटे। भाउजू र भतिजलाई हाङपाङमा छाडेर कुलानन्द भने इवा बस्न गए। पछि कुलानन्दका छोरा कर्णानन्दलाई हाङपाङको यक्सो सुब्बाहरूले थरी पदको जिम्मेवारी दिए। 

भगिराज इङनाम र शेरबहादुर इङनामको तेहथुम जिल्लामा सुब्बाङ्गी प्रथा  (२०७०) पुस्तकअनुसार यक्सो लिम्बूहरूले आफ्नो सुवांगीमा रहेको किपट क्षेत्रमा प्रसाईंहरूलाई आफ्ना आराध्यादेवी युमालाई मान्ने सर्तमा बसोबासको प्रबन्ध गरे। तत्कालीन अवस्थामा हाङपाङ पुगेका प्रसाईंहरूमध्ये सिद्धिनारायणले यक्सो लिम्बू सुब्बाहरूसँग १८९९ मङ्सिर सुदी ७ रोज ६मा खर्क भोगचलनको लागि कागज गरेका थिए।

त्यस्तै, धनकुटाको ताङ्खुवा, सिभुवा गाउँका आचार्य ब्राह्मणहरूको आबादीलाई लिन सक्छौँ। आचार्य ब्राह्मणहरूले लिम्बू सुब्बाहरूसँग अनुमति लिएर त्यस क्षेत्रमा बसोबासका साथै व्यापार व्यवसाय सञ्चालन थालेका थिए। पूर्वका लिम्बू बस्तीहरूमा पछि पुगेका ब्राह्मणहरूलाई त्यहाँ बस्न किपटको जिम्मा लिएका लिम्बू सुब्बाहरूको सहमति अनिवार्य थियो भन्ने यस लेखको तर्क हो। सोही तर्क पुष्टि गर्ने केही दस्तावेजमार्फत यस लेखमा धनकुटा सिभुवाका आचार्यहरूको आबादी, पुस्तान्तरण र राष्ट्रिय एवं सार्वजनिक ख्यातिबारे संक्षिप्त चर्चा गरिएको छ। 

को हुन् आचार्य

संस्कृत भाषाको ‘आचार्य’ को अर्थ हो गुरु वा शिक्षक। पुराना लेखोटहरूमा आचार्यलाई कतै अचार्ज, कतै अचार पनि लेखिएको पाइन्छ। कालान्तरमा यिनै शिक्षादीक्षा दिने वा गुरुकुल चलाउने ब्राह्मणहरूको समूहको थर आचार्य कायम रहन पुग्यो। इतिहासकार बाबुराम आचार्यले प्राचीनकालको नेपाल  (२०६०) पुस्तकमा उल्लेख गरेअनुसार हिन्दू धर्मशास्त्रअनुसार कुनै पनि किसिमको वृत्तिहरू ग्रहण नगरी शिक्षादान गर्ने पेशा अपनाएका ब्राह्मणहरू नै ‘आचार्य’ थरका ब्राह्मण कहलाए।

आचार्यहरू कौडिन्य गोत्रका ब्राह्मण हुन्। न्युजपोर्टल खबरहब  (२०७६ साउन १६) मा प्रकाशित थरगोत्रसम्बन्धी सामग्रीअनुसार प्याकुरेल, लम्जेल, पनेरु, सत्याल, मरासिनी, पराजुली, बास्कोटा, त्रिताल, न्यौपाने, कमलकोटे, लकाई, खड्का, गाम्ले थापा, बन्जाडे, रावल, बन्जारा, गैरे आदि आचार्यका सगोत्री हुन्।

आचार्यको उद्गमस्थल

आचार्यहरूको उदगम स्थलबारे आचार्यहरूमै मतभिन्नता छ। वेदनाथ आचार्यको अविर्भाव आख्यान  (२०७९) पुस्तक समीक्षा गर्दै पत्रकार निर्मलकुमार आचार्यले गोरखापत्रअनलाइन  (२०७९ चैत १८) मा उल्लेख गरेअनुसार कौडिन्यगोत्री आचार्यका पुर्खा तुर्कहरूको अत्याचारबाट जोगिन भारतको कान्यकुब्जबाट १०औँ शताब्दीतिर खस साम्राज्यका राजाको शरणमा पुगेको उल्लेख गरेका छन्। तर इतिहासकार आचार्यले भने काश्मीरदेखि उत्तरतर्फको हिमालय, काराकोरम तथा हिन्दूकुश गरी तीन पर्वतमाला एकै ठाउँमा गाँसिएर रहेको क्षेत्र नै हाल नेपालमा बसोबास गरिरहेका खस ब्राह्मणहरूको उद्गमस्थल भएको उल्लेख गरेका छन्। उनका अनुसार तिनै क्षेत्रबाट दुर्गम भञ्ज्याङ पार गरी यसदेखि पूर्वतर्फ रहेका हिमाली क्षेत्रहरूमा आबाद हुन आइपुगेको एउटा शाखा नै ब्राह्मण समुदाय हुन्।

जताबाट प्रवेश गरे पनि आचार्य ब्राह्मणहरू तत्कालीन खस साम्राज्यअन्तर्गतको दुल्लु (दैलेख जिल्ला) बाट नेपालभरि फैलिएको चाहिँ स्पष्ट छ। आचार्यलगायत विभिन्न ब्राह्मण समूहले पुरेत्याइँका कामबाट दुल्लु वा खस साम्राज्यमा पाएको बिर्ता वा आबादीको चर्चा गर्दा तत्कालीन खस साम्राज्यबारे अलिकति ऐतिहासिक चर्चा गर्नु उपयुक्त हुन्छ।

इतिहासकार धनवज्र वज्राचार्यले गोपालराजवंशावलीको ऐतिहासिक विवेचना  (२०६४) मा उल्लेख गरेअनुसार १२औँ शताब्दीमा कर्णाली प्रदेशमा खस राजा नागराजले स्वतन्त्र राज्य खडा गरे। त्यस क्षेत्रमा एकसे एक योद्धा शासक निस्के। नागराजका उत्तराधिकारीहरू क्राचल्ल, अशोक चल्ल र जितारी मल्ल प्रशिद्ध भए। आफ्ना पूर्वजले सिञ्जाका पश्चिम, पश्चिमोत्तर र दक्षिणमा आफ्नो राज्य विस्तार गरेकोमा राजा जितारी मल्ल चाहिँ पूर्वतर्फ बढ्दै नेपाल उपत्यकासम्म आक्रमण गर्न आइपुगेका थिए। उनले १३४४ पुसमा पहिलो आक्रमण गरे। यस्तै १३४५ फागुनमा दोस्रो पटक र १३४६ फागुनमा तेस्रो पटक आक्रमण गरे। गोपालराजवंशावलीमा उनको सेनाले नुवाकोट कब्जा गरी देउपाटनमा प्रवेश गरी गाउँ-गाउँमा आगो लगाई पाटनको किल्ला घेरेर बसे। 

तत्कालीन प्रभावशाली खस राज्यमा दुईवटा राजधानी थिए। सुरुमा खस राज्यका संस्थापक नागराजले जुम्लाको सिञ्जालाई राजधानी बनाएका थिए। उनका छैटौँ उत्तराधिकारी राजा क्राचल्लको समयमा विराटपीट (दुल्लु) ले पनि खस राज्यको दोस्रो राजधानीको रूप लिएको थियो। त्यस बेला खस राज्यको गृष्मकालीन राजधानी सिञ्जा र शीतकालीन राजधानी दुल्लु रहेको इतिहासकार सूर्यमणि अधिकारीले कन्ट्रीब्युसन्स टु नेप्लिज स्टडिज  (डिसेम्बर १९७९–जून १९८०) जर्नलमा उल्लेख गरेका छन्।

धनवज्र वज्राचार्यले पूर्णिमा  (साउन २०२२) मा उल्लेख गरेअनुसार दुल्लुलाई राजधानी बनाउने राजा क्राचल्ल १२६४ सालमा गद्दीमा बसेका थिए। उनले आफूलाई ‘परमसौगात’ (बुद्धका ठूला उपासक) भन्ने विशेषण लगाएका थिए। उनी शैव धर्मको पनि उत्तिकै आदर गर्थे। कुमाउ बालेश्वरको अभिलेखमा मुकाम श्री सम्पन्न दुल्लु नजिकको शहर उल्लेख गरिएको छ। त्यसबाट क्राचल्लको समयमा दुल्लुमा बस्ती बसी त्यस ठाउँ सम्पन्न भइसकेको भन्ने बुझिन्छ। वज्राचार्यले नागराजले स्थापना गरेको कर्णालीको खस वंशको राज्यमा १३ पुस्ताले राज्य गरेको उल्लेख गरेका छन्। तीमध्ये पृथ्वी मल्ल अन्तिम खस राजा थिए।

तत्कालीन खस राज्यअन्तर्गत पर्ने दुल्लुका आचार्यलगायतका ब्राह्मणहरूको बिर्ता थमौती गरिएको राजा रणबहादुर शाहको लालमोहर
स्रोतः नारायण नेपाल

आचार्यहरूले पाएको पुरेत्याइँ बिर्ता

१४औँ शताब्दीको उत्तरार्द्धमा, खस राजाहरू पृथ्वी मल्ल र अभय मल्लको पालामा शासन सञ्चालनमा सामन्तहरूको ठूलो हात थियो। राजा कमजोर भएको मौका पारी सामन्त मलय बर्माले राज्यमा आफ्नो एकाधिकार कायम गरे। उनीपछि उनका छोराहरूमा खस राज्य भाग लाग्यो। मलय बर्माको देहान्तपछि उनका छोराहरूले सल्यान, जाजरकोट, रुकुम, दैलेखलाई आ-आफ्नो भाग लगाए। जुम्लामा कल्याल वंशका बलिराजले हैकम जमाए। खसहरूमध्ये रास्कोटी वंशजले दुल्लु र दैलेखमा, चन्द परिवारले प्यूठानमा र समालवंशीले अछाम, रुकुम, सल्यान, गोताम, बागलुङ, गलकोट र जाजरकोटमा राज्य स्थापना गरे। पेशल दाहालको नेपालको इतिहास (२०५७) पुस्तकअनुसार कर्णाली प्रदेशमा २२ राज्य देखा परेकोले यस क्षेत्रलाई बाइसी राज्य भनियो।

बहादुर शाहको नायवीकाल १८४७ सालमा बाइसी राज्यअन्तर्गत पर्ने दुल्लु दैलेख नेपाल राज्यमा गाँभियो। प्राचीन नेपाल  (साउन २०३०) मा उल्लेख भएअनुसार दुल्लु कब्जा गर्न सरदार अमरसिंह थापा, कप्तानहरू गोलैया र रणवीर खत्री र सरदार शत्रुसाधन शाही दुई कम्पनी फौज लिएर त्यहाँ पुग्दा कास्कीका द्वारे जयभद्र बोहरा पनि आफ्नो नेतृत्वमा अमरसिंह थापाहरूलाई सघाउन सैनिक लिएर त्यहाँ पुगेका थिए। उनीहरूले पहिले सुर्खेत र त्यसपछि दुल्लु दैलेखलाई कब्जा गरेका थिए। त्यहीँ खस साम्राज्यको दुल्लु दैलेख क्षेत्रमा आचार्य ब्राह्मणहरूले पनि खस राजा जितारी मल्लकै समयमा पुरेत्याइँको बिर्ता पाएका थिए। पछि राजा मलय बर्मा (बम) ले पनि उनीहरूको बिर्तालाई थमौती गरिदिए। पछि शाह राजाहरूले पनि उनीहरूको बिर्ता थमौती गरिदिए। 

१८५२ भदौ वदी १३ रोज ६ मा राजा रणबहादुर शाहले आचार्यलगायत हुमागाईँ, नेपाल, पोखरेल, लम्साल, दाहाल, रिमाल, बयलकोटी, भट्टराई, कोइराला, भुर्तेल, बस्ताकोटी, सापकोटा, खराल र रिजाल ब्राह्मणहरूको बिर्ता थामिदिएको लालमोहर जारी गरे। इतिहास अन्वेषक नारायण नेपालको सौजन्यमा प्राप्त उक्त लालमोहरमा उल्लेख छ, “…तिमी ब्राह्मणहरूको पुर्खालाई अघिका जितारी मल्ल मलय वम राजाले सिलापत्र तांवापत्र लेषि …साक्षि राषि विर्ता वितलव गरि दियाको राजा राजाले नहर्‍याको हिजोका किलाभित्र आजसम्म चलन चलि आयाको जग्गा आज हामिले पनि थामि वक्सौ तिमि वितलवका ब्राह्मणहरूले तांहांका अघि अघिका राजालाई ज्या रितले मान्दथे आज पनि तेस जग्गाका अमालिलाई परापुर्वदेषि मानि आयाका रितले प्रोत्या गर। ” 

खस राजाहरूपछि बर्मा अर्थात् बम वंशको यस क्षेत्रमा राज्य चल्यो। पछि उनीहरूलाई पराजित गरी यस क्षेत्रमा शाह राजाहरूले अधिकार जमाए। यी सबै राजाहरूले यस क्षेत्रमा आबाद भएका ब्राह्मणहरूको बिर्ता थमौती गरिदिँदा आचार्यहरूको पनि यस क्षेत्रमा बिर्ता थमौती भएको थियो। यसबाट स्पष्ट हुन्छ – खस राजा जितारी मल्लको समयमै तत्कालीन खस साम्राज्य कर्णाली प्रदेशमा बिर्ता प्राप्त गरी आबाद भएका आचार्यहरू समयक्रममा नेपालको विभिन्न ठाउँमा फैलिएका हुन्। 

आचार्यहरूको सिभुवा आगमन

इतिहासकार बाबुराम आचार्यका पुर्खा पहिले जुम्ला (खस साम्राज्य अर्थात् कर्णाली प्रदेश) बाटै फैलिएका हुन्। घटराज भट्टराईको प्रतिभै-प्रतिभा र नेपाली साहित्य  (२०४०) पुस्तकलाई उद्धृत गर्दै राजेश गौतमले इतिहास लेखनको इतिहास (२०५१) पुस्तकमा उल्लेख गरेअनुसार पश्चिम जुम्लाको पुर्ख्यौली थलोबाट गोरखा र नुवाकोटमा बसाइँ सर्दै आएका आचार्यहरूको एउटा परिवार ललितपुरको गोदावरीमा बसे। अर्को परिवार मुड्खुमा गएर बसे। मुड्खुमा बस्ने आचार्यहरूको एक परिवार पछि आचार्य दीक्षित भए। ललितपुरमा बस्ने आचार्य परिवारबाट जन्मेका एक सदस्य बाबुराम आचार्य इतिहास शिरोमणि घोषित भए।

कौडिन्य गोत्री आचार्य समाजले प्रकाशित गरेको आचार्य वंशावली  (२०७०) को भूमिकामा उल्लेख भएअनुसार ‘लमजुङबाट नुवाकोट र त्यहाँबाट काठमाडौँ हुँदै काठमाडौँबाट धनकुटा गौँडामा कारिन्दाको रूपमा खटिएका देउऋषि आचार्यका सन्तान नै सिभुवाका आचार्यहरू हुन् ।’ धनकुटामा भर्खरै अड्डा अदालत तथा सैन्य पल्टन खडा हुँदै गर्दा देउऋषि आचार्य त्यता पुगे। खासगरी खजुम र तुङघङ थरका लिम्बूहरूको परम्परागत सुवांगी रहेको ठाउँमा उनीहरूकै अनुमतिमा बसोबास सुरु गरी त्यस क्षेत्रमा उनले आफ्नो वंशको जग बसाए। १८७१ सालदेखि सिभुवाली आचार्यहरूले उक्त थलोमा आफ्नो जग बसालेका हुन्। 

सिभुवाली आचार्यहरू जैसी उपवर्गका ब्राह्मण हुन्। ब्राह्मणभित्र उपाध्यय र जैसी उपवर्ग रहेको छ भने उपाध्ययभित्रै पूर्विया र कुमाई उपवर्ग पनि रहेका छन्। इतिहासकार बाबुराम आचार्यको श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी  (२०६१) लेखअनुसार ब्राह्मणले जारी गरेर ल्याएको वा विधवा विवाह गरेको अवस्थामा उनीहरूबाट जन्मेका सन्तानलाई उपाध्यय ब्राह्मण र क्षेत्री ठकुरीहरूले देवकार्य वा पितृकार्यमा नलिने हुँदा उनीहरूलाई फलित ज्योतिषीको काम दिइयो र ‘ज्योतिषी’ शब्दको अप्रभंश नै जैसी हुन पुग्यो।

सिभुवाली आचार्यहरूको नातागत सम्बन्ध त्यहाँका रिजालहरूसँग पनि रहेको छ। रिजालहरू पनि जैसी उपवर्गका ब्राह्मण हुन्। आचार्य वंशावली  (२०७०) अनुसार सिभुवाली आचार्यहरूका पुर्खा देउऋषि आचार्यको एउटा विवाह सिभुवाली रिजालकी छोरीसँग भएकोले सिभुवाली आचार्यहरू त्यहाँका रिजालका भान्जा खलक हुन्।

देउऋषि आचार्यसँगको सम्झौता

ताङ्खुवा गाउँ खजुम र तुङघङ (तुम्बाहाङ) लिम्बूको परम्परागत सुवांगी रहेको किपट क्षेत्र हो। यस क्षेत्रमा उनीहरू नै हर्ताकर्ता थिए। तीमध्ये तुम्बाहाङ थरका लिम्बू सुब्बा तुम्याहाङजितसँग सम्झौता गरेर यिनै लिम्बू सुब्बा र कारोबारीहरूसँग अनुमति लिई देउऋषि आचार्यले आजभन्दा २११ वर्षअघि यस क्षेत्रमा जरोकिलो गाडेको ऐतिहासिक प्रमाण उपलब्ध छ। धर्मकर्मका लागि लिम्बू सुब्बाहरूले बनाएको दुई तले सत्तलमा रहेर देउऋषि आचार्यले गाउँमा नुनको व्यापार चलाए। उनी गाउँबाट ज्वानो, मेथी आदि मसला सङ्कलन गरी पटनाको व्यापार कोठीमा लगेर बेच्ने गर्थे। १८७१ असोज सुदी १२ रोज २ मा देउऋषि आचार्यले लिम्बू सुब्बा तथा कारोबारीहरूसँग यससम्बन्धी गरेको सम्झौताको नक्कल आचार्य वंशावली  (२०७०) मा पढ्न पाइन्छ। “गछपत्र” भनिएको उक्त सम्झौताको व्यहोरा
यस्तो छः

लिखितम ६ थरको बन्चरे बस्ने सु. लोकसु राई तुम्वाहाङको नाति सु. फन्च राईको छोरा सु. तुम्याहाङजित तुम्बाहाङ यक कारवारी अट्टायको नाति कारवारी माहादलको छोरा ऐ ऐ बस्ने कारवारी वोलिअन्त लिम्बू राई कृष्णध्वज लिम्बू १ हामी यति लेखिएका जवानहरूको अघि हाम्रा जुजु बराजुले सर्कारबाट सनत पत्र लालमोहर तिरीज गरी खाई चर्चि भोग चलन गरी आयाको हाम्रा बाझा जग्गामा हाम्रा बाबु दाजुहरूले बनाएका धर्मकिर्ति चौतारा २ तले सत्तल पाटीमा विसं जैसिको नाति सुकदेव जैसीको छोरा धन्कुटा गौंडाको कारिन्दा देउरिषि जैसी अचार्जले वसि नुनको व्यापार गाउँमा नै गर्ने ज्वानो मेथि जम्मा गरी पटना कोठीमा लाने गरी बस्न पाउन्याहुँ भनि हामीलाई मगनि गर्दा सत्तल भयाकाले ४ दाम ठेकि सलामी मोहर नै नखाई हाम्रा स्वचित्तले दिएका हौं हाम्रो कुभलो तिमीले नचिताउनु तम्रो कुभलो चिताउने छैनौं पछि हाम्रा नाख सन्तानले तम्रो मन वचनको कदर गर्नु परी आयाका कल झगडा दुवैका मतोले मिलाई गरौंला भनि हामी दुवै तर्फको मनोमान राजि खुशी छ तसर्थले हामी भाई भैयाद सरह भैकन बस्न्याइँ भनि यो धर्मपत्र मुचुल्काको गछपत्र लेखि दोहोरो व्यहोरा लियौं दियौं ईति सम्वत १८७१ साल मिति आश्विन सुदी १२ रोज ५ सुभम्––

पत्रको दाहिने फट्केमा पत्र बुझ्ने देउऋषि आचार्य र साक्षी बस्ने सिंह लिम्बूको सहीछाप छ। देउऋषि आचार्यले सम्झौता गरेका लिम्बू सुब्बा तुम्याहाङजित तुम्बाहाङ प्रदेश नम्बर १ का पूर्वप्रदेश प्रमुख प्राध्यापक गोविन्दबहादुर तुम्बाहाङका पुर्खा हुन्।

यो सम्झौताले सिभुवाली आचार्यहरूको धनकुटामा सुरु गरेको आबादीको इतिहास खुलाउनुको साथै धनकुटामा कहिलेदेखि गौंडा स्थापना भई त्यहाँबाट सैन्य र प्रशासनिक काम सुरु भयो भन्ने कुरा किटानसाथ उल्लेख गर्न सकिने ऐतिहासिक आधार पनि दिन्छ।

आचार्यहरूको धर्मकीर्ति

पश्चिम नुवाकोटबाट जागिरको सिलसिलामा पूर्वको धनकुटा पुगेका देउऋषि आचार्यका सन्ततिहरूले आर्थिक, राजनीतिक, शैक्षिक, प्रशासनिक तथा धार्मिक क्षेत्रमा उल्लेख्य प्रगति गरे। यसै क्रममा उनीहरूले धनकुटामा एउटा भव्य धर्मकीर्ति पनि स्थापना गरे।

धनकुटा बजारको पुछारमा रहेको बसपार्कदेखि पूर्वतर्फ दुई सय मिटरजति दूरीमा नर्वदेश्वर नामको एक शिवालय छ। यो शिवालयसँगै भव्य सत्तलहरू पनि छन्। नजिकै शिवालयलाई गुठी चढाइएको हाल चल्तीको मूल्यमा निकै महँगो पर्ने फाँटिलो र घमाइलो जग्गा पनि छ। त्यहाँ एउटा घण्टी रहेको छ। 

भीमबहादुर बस्नेत र ठाकुरप्रसाद बरालले लेखेको धनकुटाका ऐतिहासिक सामग्रीहरू  (२०६१) पुस्तकमा उल्लेख भएको घण्टाभिलेखअनुसार यो घण्टी १९४४ मङ्सिर सुदी ५ रोज ४ मा छोरा कृष्णलालको देहान्त हुँदा स्मृतिस्वरूप उनका बुबा नरपतिले चढाएका हुन्। अभिलेखमा यो घण्टी लक्ष्मी बाँडाले बनाएको पनि उल्लेख छ। 

अभिलेखअनुसार नरपति त्यस बेला धनकुटा गौंडाका खरिदार थिए। राणा शासनको समयमा खरिदार पद निक्कै ठूलो हैसियत बोकेको पद मानिन्थ्यो। घण्टी चढाउने नरपतिका सात भाई छोरामध्ये गङ्गाधरका पनाति सुरेशप्रसाद आचार्यसँग भएको लेखकको कुराकानीअनुसार नरपति सिभुवाली आचार्यहरूका पुर्खा देउऋषिका नाति हुन्। उनै नरपतिले नर्वदेश्वर शिवालयको स्थापना गरेका हुन्। 

यस शिवालयका लागि धनकुटाको याक्चनाघाट र सुनसरीमा प्रशस्तै जग्गा आचार्य परिवारले गुठीदान गरेका थिए। अहिले नर्वदेश्वर शिवालयको रेखदेख सुरेशप्रसादका काहिँला काका विराटनगरनिवासी घनश्याम आचार्यले गरिरहेका छन्।

शिवालय तेलिया इँटाबाट बनेको छ। त्यस बेला त्यस्तो इँटा जहाँतहीँ बन्दैनथ्यो, काठमाडौँबाट झिकाउनुपर्थ्यो। नर्वदेश्वर शिवालय, यसको सत्तलका साथै शिवालयका लागि स्थापना गरिएको गुठी हेर्दा निकै लगानी गरिएको स्पष्ट हुन्छ र त्यस बेलै सिभुवाली आचार्यहरू प्रतिष्ठित र सम्पन्न थिए भन्ने अनुमान लगाउन सकिन्छ। 

सिभुवाली आचार्यको सार्वजनिक जीवन

सिभुवाबाटै तेलिया गाउँतिर विस्तारित आचार्यका सन्ततिमध्येका हुन्, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता महेश आचार्य। पहिले वामपन्थी आन्दोलनका हस्ती र पछि दरबारका पत्यारिलो भई राजसभाका सदस्य हुन पुगेका यज्ञप्रसाद आचार्य, पूर्व मुख्यमन्त्री भीम आचार्य, चीनका लागि नेपाली राजदूत राजेश्वर आचार्य, पत्रकार तथा तत्कालीन राष्ट्रिय सभाका सदस्य जनार्दन आचार्य, धरानका पुराना राजनीतिज्ञ तथा पत्रकार गिरीराज आचार्य आदि सिभुवाली आचार्य खलकका ख्याति कमाएका व्यक्तित्वहरू हुन्।

ताङ्खुवा गाउँको सिभुवामा आबाद आचार्यहरूको मामा खलक रिजालहरूले पनि राष्ट्रिय एवं सार्वजनिक जीवनमा ठूलो नाम कमाए। उदाहरणका लागि, दुई पटक प्रधानमन्त्री भएका नगेन्द्रप्रसाद रिजाल सिभुवाकै रिजाल हुन्।

राज्यसँगको निकटता र विश्वसनीयता, राज्यद्वारा संरक्षित धर्म तथा संस्कृतिसँग अनुकूलताले आचार्यहरूलाई शैक्षिक र वृत्तिविकासको उन्नयनमा ठूलो सहयोग पुर्‍यायो। उनीहरूलाई बसोबासको अनुमति दिने मुन्धुमी परम्परा बोकेका किपटिया जिम्मावाल लिम्बू सुब्बाका सन्ततिहरू भने राष्ट्रिय एवं सार्वजनिक जीवनमा देखा पर्ने अवसरबाट वञ्चित रहिआएका छन्। प्राध्यापक गोविन्दबहादुर तुम्बाहाङलाई अपवादका रूपमा लिने हो भने आर्थिक एवं राजनीतिक वृत्तमा समेत लिम्बूहरू ओझेलमा परेका छन्। 

राजकुमार दिक्पाल इतिहास अध्ययनमा रूची राख्ने लेखक हुन्। ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *