
'प्राध्यापक धरमदासनी अब यस संसारमा रहनुभएन।'
६ फेब्रुअरी २०२५ मा ह्वाट्सएपमा स्मृति एस पटनायकले पठाएको यो सन्देशले मन खिन्न भयो। प्राध्यापक मुरलीधर धरमदासनीको खोजमा थिएँ म जसको सुरुवात उनको विद्यावारिधि शोधमा आधारित किताब इन्डियन डिप्लोमेसी इन नेपालबाट भएको थियो। नेपाल र भारतमा गरिएका विस्तृत अन्तर्वार्ता र आधिकारिक कागजातहरूको अध्ययनका आधारमा तयार पारिएको यो किताब सन् १९७६ मा भारतको आलेख प्रिन्टर्सले पहिलो पटक प्रकाशन गरेको थियो।
बजारमा अप्राप्य यस किताबको महत्त्व र पुनः प्रकाशनको प्रक्रियाबारे पत्रकार लक्ष्मण श्रेष्ठले प्रकाशन संस्था बुकहिलका अध्यक्ष भूपेन्द्र खड्कालाई अनुरोध गरेका थिए। पुनः प्रकाशनका लागि अनुमति लिन लेखकसँग विभिन्न माध्यमबाट सम्पर्क भएपछि श्रेष्ठले आफूले प्राप्त गरेको फोटोकपी हेर्दै हरेक शब्द टाइप गरेर यो किताब तयार पारेका थिए। त्यसपछि पुनः लेखकसँग प्रतिक्रिया लिने प्रयास गरे पनि कोभिड-१९ महामारीका कारण सम्भव भएन। सन् २०२३ मा पुनः प्रकाशित भए पनि किताब लेखकसम्म पुग्न सकिरहेको थिएन।
सन् २०२४ नोभेम्बरमा एउटा फरक सन्दर्भमा श्रेष्ठसँग भेट हुँदा मैले 'अभिलेखीय अनुसन्धानका लागि करिब सात-आठ महिनाका लागि दिल्ली जाँदैछु' भनेको थिएँ। उनले 'लेखक धरमदासनीसँग प्रत्यक्ष सम्पर्क हुन नसकेको' उल्लेख गर्दै 'सम्भव भए पुनः प्रकाशित केही प्रति किताब उनीकहाँ पुर्याउन सकिन्छ कि ?' भनी सोधे। उनको अनुरोध किताबको भरिया बन्ने नभई एउटा बौद्धिक स्मृतिलाई सीमापार पुर्याउने प्रयास थियो। एउटा अनुसन्धानका लागि उत्साहित भएर नयाँ सम्भावनाहरू खोज्दै हिंडिरहेको मानिसले झैं मैले पनि आशावादी भएर उक्त प्रस्ताव स्वीकार गरेँ। धरमदासनीका पुस्तकहरू पढेको थिएँ तर उनीसँग भेट भएको थिएन। उनीबारे पत्ता लगाउन जवाहरलाल नेहरू विश्वविद्यालय र दिल्ली विश्वविद्यालयमा रहेका मेरा सम्पर्क-सूत्रहरूको प्रयोग गर्ने विचार गरेँ।
श्रेष्ठले मलाई पाँच प्रति किताब दिए, एउटा लेखकलाई र अरू अन्य विद्वान्लाई पनि दिने गरी। किताबले झोलाको भार त बढायो नै। त्यो भन्दा भारी थियो त्यसले बोकेको इतिहास।
ती किताब करिब एक महिनासम्म नोइडास्थित मेरो कोठाको र्याकमा चुपचाप बसिरहे। सन् २०२५ जनवरी ६ मा ‘इन्डिया इन्टरन्यासनल सेन्टर’ मा ‘हिमालयन डायलग्स’ मा नेपाल-चीन सम्बन्धबारे चर्चा गर्न वक्ताको रूपमा निम्त्याइएपछि मैले तीन प्रति साथमा लिएर गएँ। राजीव रञ्जनले सञ्चालन गरेको मेरो प्यानलमा जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक एमेरिट्स एस.डी. मुनी, मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एन्ड एनालिसिसकी अनुसन्धानकर्ता स्मृति एस पटनायक र जिन्दल स्कुल अफ इन्टरन्यासनल अफेयर्सकी सहप्राध्यापक गुञ्जन सिंह सहभागी थिए। यी सबै जनाले नेपालबारे विशेष जानकारी राख्छन् र लेखिरहन्छन् पनि।
कार्यक्रम सकिनासाथ एस.डी. मुनी हिँडेका कारण न किताब दिन पाइयो न त धरमदासनीबारे सोध्ने मौका नै मिल्यो। तथापि रञ्जनले हामीलाई इन्डिया इन्टरन्यासनल सेन्टरभित्रको डाइनिङ रुममा खाना खान लगेपछि मैले धरमदासनीबारे सोधखोज गरेँ। तर त्यहाँ उपस्थित कसैले पनि उनलाई चिनेनन् न त उनको किताब नै पढेका थिए। एक क्षण त मलाई लाग्यो, दिल्लीमा चीनसम्बन्धी विज्ञका रूपमा परिचित सिंह, रञ्जन तथा दक्षिण एसियाका विज्ञका रूपमा परिचित पटनायकहरूका लागि धरमदासनी प्राथमिक चासोको विषयक नै किन बनुन् ?
भारतको विदेशनीति विमर्श पछिल्ला वर्षहरूमा चीन, हिन्द-प्रशान्त र विश्व शक्ति-राजनीतितर्फ बढी केन्द्रित हुँदा नेपाल जस्तो ‘छिमेकी’बारेको अध्ययन गहिरो ऐतिहासिक खोजबिनभन्दा पनि तात्कालिक कूटनीतिक व्यवस्थापनमा सीमित हुन थालेको हो ?
मैले धरमदासनीबारे उनीहरूलाई विस्तृतमा बताएँ। बनारस हिन्दू विश्वविद्यालयअन्तर्गत स्थापित ‘नेपाल अध्ययन केन्द्र’ मार्फत उनले नेपालसम्बन्धी बहुआयामिक अनुसन्धान बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनका कृतिहरूको दायरा हेर्दा उनको व्यक्तित्व एउटा साधारण अनुसन्धानकर्ता मात्र नभई नेपाललाई गहिरोसँग बुझेका समर्पित नेपाल विशेषज्ञ प्रतित हुन्छन्। उनले इन्डियन डिप्लोमेसी इन नेपाल बाहेक नेपाल-भारत सम्बन्धबारे प्रशस्त लेख र किताबहरू प्रकाशन गरेका छन्। उनका अध्ययनहरू इन्डियाज एड टु नेपाल (सन् १९८२), पोलिटिकल इकोनोमी अफ फरेन एड इन द थर्ड वर्ल्ड: अ केस स्टडी अफ नेपाल (सन् १९८४), पोलिटिकल पार्टिसिपेसन एन्ड चेन्ज इन साउथ एसिया इन द कन्टेक्स्ट अफ नेपाल (सन् १९८४) र इलेक्ट्रोरल पोलिटिक्स इन साउथ एसिया (सन् १९८८) जस्ता किताबहरूमार्फत सार्वजनिक भएका छन्।
यी रचनाहरूमा उनले नेपाललाई केन्द्रमा राखेर दक्षिण एसियाली राजनीतिक सहभागिता र परिवर्तनको गहिरो विश्लेषण प्रस्तुत गरेका छन्। त्यस्तै उनीद्वारा सम्पादित सम एस्पेक्ट्स अफ वर्किङ अफ पार्लियामेन्टरी डेमोक्रेसी इन नेपाल (सन् १९९२), डेमोक्रेटिक नेपाल (सन् १९९२) र नेपाल इन ट्रान्जिसन (सन् १९९७) जस्ता किताबहरूले नेपालको लोकतान्त्रिक अभ्यास र सङ्क्रमणकालीन अवस्थालाई उजागर गर्छन्। पछिल्लो क्रममा उनले सम्पादन गरेका इन्डिया-नेपाल पार्टनरसिप एन्ड साउथ एसियन रिसर्जेन्स (सन् २०००), इन्डिया एन्ड नेपाल: बिग पावर–स्मल पावर रिलेसन्स इन साउथ एसिया (सन् २००१) र नेपाल्स फरेन पोलिसी (सन् २००५) मा उनले नेपाल-भारत सम्बन्धलाई क्षेत्रीय सुरक्षा सन्तुलन र कूटनीतिक संरचनासँग जोडेर विश्लेषण गरेका छन्।

नेपालबारे यति फराकिलो दायरामा काम गरेका धरमदासनीबारे भारतीय विज्ञहरू नै जानकार नहुनु मेरा लागि आश्चर्यजनक थियो। तथापि, पटनायकले आफ्ना सम्पर्कहरू प्रयोग गरेर उनीबारे पत्ता लगाउने प्रतिबद्धता जनाइन्। मैले तीनै जना वक्ताहरूलाई एक-एकप्रति किताब दिएँ।
माथि उल्लिखित सन्देश त्यो भेटको ठीक एक महिनापछि आएको थियो। पटनायकले बनारस हिन्दू विश्वविद्यालयको नेपाल अध्ययन केन्द्रमा बुझ्दा धरमदासनीको निधन भइसकेको जानकारी प्राप्त भइसकेको रहेछ। र्याकमा रहेका दुईप्रति किताब दिल्लीको कुनै पुस्तकालय वा अध्ययन केन्द्रलाई दिने सोचेँ। तर अप्रिल ८ मा भारतका अर्का नेपाल विशेषज्ञ महेन्द्र पी. लामासँगको भेटले पुनः आशा जगायो। उनले बडो आत्मविश्वासका धरमदासनी जीवित नै भएको बताउँदै सम्पर्क नम्बर उपलब्ध गराइदिने वचन पनि दिए। त्यसपछि पटक-पटक मैले उनीसँग धरमदासनीको सम्पर्क नम्बर माग्दै ह्वाट्सएपमा सन्देश पठाइरहेँ। अन्ततः मे २४ मा उनले जवाफ दिए, “धरमदासनीको सम्पर्क नम्बर हराइसकेको रहेछ।”
एकदमै दोधारमा परेँ म — धरमदासनी साँच्चिकै जीवित छन् त ?
मेरा लागि अब धरमदासनीको खुटखबर मात्र चासोको विषय रहेन। अन्तरर्राष्ट्रिय सम्बन्धको विद्यार्थी एवं नेपालको छिमेक सम्बन्धबारे अनुसन्धानरत पनि रहेकाले मेरो मनमा अनेकौं प्रश्नहरू सलबलाउन थाले।
के यो धरमदासनी जस्ता विद्वान्ले दशकौं लगाएर गरेको नेपालसम्बन्धी गहिरो अध्ययनले आजको भारतीय वैदेशिक नीतिवृत्तमा निरन्तरता नपाएको सङ्केत हो ? वा भारतको विदेश नीति विमर्श पछिल्ला वर्षहरूमा चीन, हिन्द-प्रशान्त र विश्व शक्ति-राजनीतितर्फ बढी केन्द्रित हुँदा नेपाल जस्तो ‘छिमेकी’ बारेको अध्ययन गहिरो ऐतिहासिक खोजबिनभन्दा पनि तात्कालिक कूटनीतिक व्यवस्थापनमा सीमित हुन थालेको हो ? के धरमदासनीले गरे जस्तो दीर्घकालीन र गहिरो अध्ययन आजका विद्वान्हरूको प्राथमिकतामा पर्दैन ? पर्थ्यो भने त उनी जीवित रहे-नरहेको विषय यति धेरै अन्योलमा पर्नुपर्ने थिएन।
भारतमा नेपाल अध्ययन कुनै आकस्मिक चासोको विषय होइन बरु समर्पित विद्वान्हरूको निरन्तर प्रयासबाट निर्माण भएको एउटा सुदृढ प्रयास हो।
त्यस्तै भारतका शैक्षिक संस्थाहरूमा पुस्तागत हस्तान्तरण पनि कमजोर हुँदै गएको देखिन्छ। बनारस हिन्दू विश्वविद्यालय जस्ता संस्थामा स्थापित नेपाल अध्ययन परम्पराको निरन्तरता नहुँदा नयाँ पुस्ताका अनुसन्धानकर्ताले पुराना विद्वान्हरूको कामसँग पर्याप्त रूपमा परिचित हुने अवसर गुमाएका छन्। अर्कोतर्फ आजको नीतिकेन्द्रित विशेषज्ञताको समयमा छोटा लेख, थिंकट्यांक प्रतिवेदन र मिडिया विश्लेषणमा रुचि देखिएका कारण पनि गम्भीर अध्ययनमा आधारित पुस्तक र तिनका लेखक क्रमशः ओझेलमा पर्ने गरेका छन्। त्यसैले धरमदासनी अहिलेका भारतीय विदेश नीतिविज्ञहरूका लागि ‘अनभिज्ञ व्यक्ति’ अनुभूत हुन्छ।
नेपाल-भारतसम्बन्धी भारतीय ज्ञान उत्पादनको वर्तमान अभ्यासमा धेरै नेपाली र भारतीय विद्वान्हरू मुख्यतः प्राध्यापक एस.डी. मुनीको नाममै सीमित देखिन्छन्। यसले प्रारम्भिक पुस्ताका गम्भीर र आधारभूत अनुसन्धानकर्ता र तिनका कर्महरू क्रमशः ओझेलमा पर्दै गएको यथार्थ उजागर गर्छ। यसरी ओझेल परेका अर्का व्यक्ति हुन् रमाकान्त।
आफ्नो अभिलेखीय अनुसन्धानका क्रममा मैले नेपाल-भारत सम्बन्धको अध्ययनमा जहाँसुकै प्रा.डा. रमाकान्तको उपस्थिति पाएँ मानौं नेपाल अध्ययनको प्रारम्भिक बौद्धिक संरचना उनको लेखनले थामिरहेको थियो। उनका कृतिहरूले उनको व्यक्तित्वलाई एक समर्पित नेपाल विशेषज्ञका रूपमा प्रस्तुत गर्छन्। इन्डो-नेप्लिज रिलेसन १८१६–१८७७ (सन् १८७७) मार्फत ऐतिहासिक सम्बन्धको सूक्ष्म विश्लेषणदेखि नेप्लिज फरेन पोलिसी एन्ड चाइना (सन् १९६८) र नेपाल-चाइना एन्ड इन्डिया (सन् १९७६) जस्ता पुस्तकहरूमा क्षेत्रीय शक्ति सम्बन्धको त्रिकोणीय आयामसम्म उनले नेपाललाई व्यापक भू-राजनीतिक सन्दर्भमा प्रस्तुत गरेका छन्। त्यस्तै बी.सी. उप्रेतीसँगको सहसम्पादनमा प्रकाशित नेसन बिल्डिङ इन साउथ एसिया (सन् १९९१), इन्डो-नेपाल रिलेसन्स (सन् १९९२) तथा इन्डिया एन्ड नेपाल: एस्पेक्ट्स अफ इन्टरडिपेन्डेन्ट रिलेसन्स (सन् २००१) जस्ता किताबले नेपाल-भारत सम्बन्धलाई केवल कूटनीतिक विषयका रूपमा होइन परस्पर निर्भरता, राज्य निर्माण र क्षेत्रीय अन्तरसम्बन्धका गहिरा प्रश्नहरूसँग जोडेर व्याख्या गरेका छन्।
यस अर्थमा रमाकान्तको काम ऐतिहासिक विवरण मात्र नभई नेपाललाई केन्द्रमा राखेर विकास गरिएको सुसङ्गत बौद्धिक परियोजना पनि हो जसले उनलाई भारतका गम्भीर नेपाल अध्येताका रूपमा स्थापित गरेको छ।
धरमदासनी र रमाकान्तको खोजले मलाई भारतमा नेपाल अध्ययनको विगतसम्म पुर्यायो।
सन् १९६३ मा राजस्थान विश्वविद्यालयको राजनीतिशास्त्र विभागअन्तर्गत स्थापित ‘दक्षिण एसियाली अध्ययन केन्द्र’लाई दक्षिण एसियाली अध्ययनमा थप अनुसन्धान गर्न प्रोत्साहित गर्ने भनेर एसिया फाउन्डेसनमार्फत अमेरिकी सहयोग प्राप्त भएको रहेछ। यस सिलसिलामा ह्यान्स मोर्गेनथाउ, लियो ई. रोज र सुसान रुडोल्फ जस्ता अमेरिकी विद्वान्हरू समेत केन्द्रमा आवतजावत गर्ने गरेका रहेछन्। त्यसै क्रममा रमाकान्तको उपस्थितिसँगै नेपाल अध्ययनले केन्द्रभित्र स्पष्ट पहिचान प्राप्त गर्यो। उनैले निर्माण गरेको मार्गमा ए.डी. मुनी, आर.एस. चौहान, धरमदासनी जस्ता अनुसन्धानकर्ताहरूले पाइला सारे। धरमदासनीले यस केन्द्रमा सन् १९८९ सम्म अध्यापन गरे। त्यस क्रममा उनले प्रारम्भमा भारतको नेपालप्रतिको कूटनीतिक व्यवहारमाथि अनुसन्धान गरेका थिए जसले पछि उनको व्यापक नेपाल केन्द्रित अध्ययनको आधार तयार गरेको थियो।
यसरी रमाकान्तले प्रारम्भिक संरचना निर्माण गर्ने र धरमदासनीले त्यसलाई विस्तार र गहिराइ दिने प्रक्रियाबाट नै भारतमा नेपाल अध्ययनको सशक्त बौद्धिक परम्पराको विकास भएको देखिन्छ। यस केन्द्रबाट प्रशिक्षित धेरै अनुसन्धानकर्ताहरू नेपाल विशेषज्ञका रूपमा स्थापित भए, जसमध्ये बी.सी. उप्रेती पनि पर्छन्। सन् १९६६ देखि प्रकाशित जर्नल साउथ एसियन स्टडिजमा नेपालसम्बन्धी लेखहरू निरन्तर प्रकाशित हुन थाले। यसले नेपालसम्बन्धी अध्ययन परम्परालाई सुदृढ बनायो।
सन् १९७६ मा बनारस हिन्दू विश्वविद्यालयअन्तर्गत नेपाल अध्ययन केन्द्र स्थापनापछि धरमदासनीको नेतृत्वमा बहुविषयगत अनुसन्धान र प्रकाशनले नेपाल अध्ययनलाई गहिरो र व्यापक आधार प्रदान गर्यो। यस केन्द्रले थुप्रै गोष्ठीहरू आयोजना गर्नुका साथै दर्जनौं विद्यावारिधि अनुसन्धानहरू सम्पन्न गर्यो जसमा धेरै नेपाली विद्यार्थीहरू पनि संलग्न हुन पुगे।

समकालीन भारतीय अनुसन्धान हेर्दा यस्तो गहिराइ र परिपक्वता क्रमशः क्षीण हुँदै गएको अनुभूति हुन्छ। सतीश कुमार, कञ्चनमोय मजुमदार, अनिरुद्ध गुप्ता, के.सी. चौधरी, आर.एस. चौहान जस्ता भारतीय स्वतन्त्रतापछिको प्रथम पुस्ताका विद्वान्हरूले नेपाल अध्ययनमा स्थापित गरेको उच्च मापदण्डलाई आजको भारतीय अध्ययन-अनुसन्धानले कायम राख्न सकेको देखिँदैन। भारतमा नेपालसम्बन्धी समकालीन ज्ञान उत्पादन अभ्यास फिल्डवर्क र फिल्ड अवलोकनभन्दा पनि इन्टरनेटहरूमा सहजै उपलब्ध हुने सामग्रीको पुनः उत्पादनमा आधारित छ। यसले व्यक्तिहरूको विस्मृति मात्र नभई सम्पूर्ण बौद्धिक परम्पराको क्रमशः अवमूल्यन भइरहेको सङ्केत गर्दछ।
सात महिनापछि, २९ जुन २०२५ मा दिल्लीबाट काठमाडौं फर्किंदा बाँकी रहेको एक प्रति किताब झोलामा राखेँ। अब मेरा लागि त्यो किताब एक प्राज्ञिक सामग्री मात्र रहेन, एउटा अधुरो भेट, एउटा असफल खोज र भारतीय समाजमा (शायद नेपाली समाज र विश्व समाजमै पनि !) हराउँदै गएको बौद्धिक स्मृतिको प्रतीकका रूपमा रूपान्तरित भइसकेको थियो।
पछिल्ला वर्षहरूमा स्रोत अभाव र संस्थागत कमजोरीका कारण यस्तो बौद्धिक परम्परा कमजोर बन्दै गएको जनाउँछ। मलाई यो कुरा प्राथमिकताको परिवर्तन, संस्थागत निरन्तरताको अभाव र ज्ञान उत्पादनको शैली परिवर्तनको संयुक्त परिणाम जस्तो लाग्यो। तर पनि रमाकान्त र धरमदासनीले निर्माण गरेको गहिरो, व्यवस्थित र दीर्घकालीन बौद्धिक परम्परा आजको सन्दर्भमा झन् महत्त्वपूर्ण देखिन्छ। यसले देखाउँछ, भारतमा नेपाल अध्ययन कुनै आकस्मिक चासोको विषय होइन बरु समर्पित विद्वान्हरूको निरन्तर प्रयासबाट निर्माण भएको एउटा सुदृढ प्रयास हो।
फेरि पनि खोज त धरमदासनीको थियो। उनको पुनः प्रकाशित पुस्तक उपलब्ध गराउनु थियो।
नेहरू मेमोरियलमा अभिलेखीय सामग्रीहरूको अध्ययन गर्ने क्रममा मेको दोस्रो हप्ताको एक दिन राजस्थान विश्वविद्यालयका अनुसन्धानकर्ता लाधु आर. चौधरीसँग भेट भयो। उनी वर्ग र कूटनीतिबीचको सम्बन्धको अध्ययन गरिरहेका रहेछन्। अरू सयौं अनुसन्धानकर्ताहरू जसरी नै उनी पनि दैनिक रूपमा माइक्रोफिल्म र पाण्डुलिपि खोज्दै अभिलेखहरूमा परामर्श गर्थे। राजस्थान विश्वविद्यालयबाट आएको भन्ने बित्तिकै मैले सोधिहालें, “तपाईंलाई रमाकान्तबारे केही जानकारी छ कि ?”
“दक्षिण एसियाली अध्ययन केन्द्रका रमाकान्त सर भन्नुभएको हो ?”, उनले प्रतिप्रश्न गरे।
त्यो प्रश्न मेरो लागि सुखद् आश्चर्य थियो। त्यसअघि दिल्लीमा नेपाल-भारत वा दक्षिण एसिया र भारत सम्बन्धमा काम गरिरहेको दाबी गर्ने धेरैजसो व्यक्तिले धरमदासनी र रमाकान्तबारे अनभिज्ञता प्रकट गरेका थिए। कतिले नाम नै सुनेका थिएनन्, सुनेको बताउनेले पनि अनिश्चित र अस्पष्ट कुरा गर्ने गर्थे। त्यसैले मैले बल्ल एक जना उपयुक्त व्यक्ति फेला पारेको महसुस गरें। अझै हौसिएर मैले धरमदासनीबारे पनि सोधेँ तर उनले टाउको हल्लाउँदै केही थाहा नभएको बताए। बरु थप जानकारीका लागि रमाकान्तका निकट सहयोगी प्रा. गोपालकृष्णको सम्पर्क नम्बर दिए।
गोपालकृष्णसँग कुरा भएपछि थाहा भयो, रमाकान्त अल्जाइमर्स रोगबाट पीडित रहेछन्। स्मरणशक्ति निकै कमजोर भइसकेकाले उनीसँग अर्थपूर्ण संवाद सम्भव रहेनछ। जयपुरस्थित दक्षिण एसियाली अध्ययन केन्द्रको पुस्तकालयमा नेपालसम्बन्धी धेरै सन्दर्भ सामग्रीहरू, सरकारी कागजातहरू, जनगणना तथ्याङ्क र अप्रकाशित शोधपत्ररू सुरक्षित रहेको जानकारी भने उनले दिए। गोपालकृष्णसँग पनि मैले धरमदासनीबारे सोधेँ। उनले धरमदासनीको निधन भइसकेको बताए। गहिरो दुःख व्यक्त गरे पनि मैले उनले दिएको जानकारीलाई सहजै स्वीकार गर्न सकिनँ किनभने केही दिनअघि मात्र प्रा. लामाले उनी जीवित रहेको भनेका थिए।
आफ्नो अनुसन्धानको क्रममा मैले बनारस हिन्दू विश्वविद्यालयसँग आबद्ध, ‘नेपाल सम्बन्ध’ विषयमा विद्यावारिधि गरिरहेकी अनुसन्धानकर्ता शिवानी पाण्डेसँग पनि कुराकानी गरें। उनको संस्थागत निकटता र अनुसन्धानको विषयले ममा विश्वासको ठोस आधार जगायो। मैले उनलाई धरमदासनीको खोजीमा सहयोग गरिदिन अनुरोध गरें। पटनायक र गोपालकृष्णको सूचनामा मैले विश्वास गर्न सकिरहेको थिइनँ किनभने लामाको भनाइले धरमदासनी जीवित छन् र उनको हातैमा उनको पुस्तकको नयाँ संस्करण उपलब्ध गराउन पाउँछु भन्ने आशा जागेको थियो।
बौद्धिक परम्पराहरू केवल लेखनमा मात्र जीवित रहँदैनन्। तिनीहरू संस्थागत स्मृति, निरन्तर संवाद र पिंढीगत हस्तान्तरणमा निर्भर हुन्छन्।
शिवानी पाण्डेले धरमदासनीको सम्पर्क नम्बर उपलब्ध गराइन्। पटक-पटक सम्पर्क गर्दा पनि एउटै जवाफ आयो, “यो नम्बर तपाईंको पहुँचभन्दा बाहिर छ।”
यो कुरा सुनाएपछि शिवानीले अर्को सम्पर्क नम्बर खोजेर उपलब्ध गराउने वाचा गरिन्। केही समयका लागि भए पनि आशा पलायो। तर, केही दिनपछि नै त्यो निराशामा परिणत भयो। शिवानीले धरमदासनीको निधन भइसकेको पुष्टि गरिन्। त्यो पूर्वसूचनाको पुष्टि मात नभई एउटा सम्भावनाको अन्त्य पनि थियो।
अन्ततः मैले धरमदासनीलाई उनको पुनः प्रकाशित पुस्तक दिन सकिनँ। उनलाई दिन भनेर र्याकमा राखिएका दुई प्रति पुस्तकमध्ये एक प्रति नेहरू मेमोरियल म्युजियम एन्ड लाइब्रेरीलाई उपहारस्वरूप दिएँ। पुस्तक ग्रहण गर्ने क्रममा त्यहाँका एक अधिकारीले पुस्तकको आवरण हेरेर 'यो राम्रो पुस्तक रहेछ' मात्र भने। पुस्तकको पुन:प्रकाशन र त्यसको वितरणमा मेरो कुनै भूमिका थिएन तर पनि मभित्र एक किसिमको जिम्मेवारीको अनुभूति भइरहेको थियो। हुन सक्छ नेपाल-भारत सम्बन्धमा ज्ञान उत्पादनको इतिहासप्रति मेरो हुर्कंदो रुचिले नै मलाई त्यस दिशातर्फ धकेलेको थियो।
सात महिनापछि, २९ जुन २०२५ मा दिल्लीबाट काठमाडौं फर्किंदा बाँकी रहेको एक प्रति किताब झोलामा राखेँ। अब मेरा लागि त्यो किताब एक प्राज्ञिक सामग्री मात्र रहेन, एउटा अधुरो भेट, एउटा असफल खोज र भारतीय समाजमा (शायद नेपाली समाज र विश्व समाजमै पनि !) हराउँदै गएको बौद्धिक स्मृतिको प्रतीकका रूपमा रूपान्तरित भइसकेको थियो।
त्यस अनुभवले मलाई एउटा गहिरो सन्देश दियो — बौद्धिक परम्पराहरू केवल लेखनमा मात्र जीवित रहँदैनन्। तिनीहरू संस्थागत स्मृति, निरन्तर संवाद र पिंढीगत हस्तान्तरणमा निर्भर हुन्छन्। यी आधारहरू कमजोर हुँदै जाँदा धरमदासनी जस्ता विद्वान्हरू शारीरिक रूपमा मात्रै नभई ज्ञानको सक्रिय परिदृश्यबाट समेत धुमिल हुँदै जान्छन्। यो हराउने प्रक्रिया अचानक हुँदैन। यो त एउटा क्रमिक प्रक्रिया हो जसले अन्ततः हामीलाई प्रश्न र जिज्ञासाविहीन बनाउँछ। यस रिक्तताले हामीलाई दैनिक जीवनमा अल्झिरहेको यान्त्रिक मानव बनाइदिनेछ।
यो लेख प्रकाशनको तयारीमा मैले धरमदासनीका अन्य पुस्तकका आवरणहरू त मुस्किलले भेटेँ तर उनको तस्बिर भने कतै फेला पार्न सकिन। किन हामीमध्ये कसैले उनलाई सम्झन चाहेन? सायद, यो हामी यान्त्रिक मानवमात्र बन्दै गएको संकेत त होइन?
गौरव भट्टराई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति अध्यापन गर्छन् । उनका Nepal Between China and India: Difficulty of Being Neutral र Nepal’s Power Elites: Rajahs, Ranas and Republic गरी दुई पुस्तक प्रकाशित छन्। ...
गौरव भट्टराई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति अध्यापन गर्छन् । उनका Nepal Between China and India: Difficulty of Being Neutral र Nepal’s Power Elites: Rajahs, Ranas and Republic गरी दुई पुस्तक प्रकाशित छन्।