नेपाल–भारत अध्ययन परिशीलन

प्राज्ञिक कर्म गरेर दैनिक सीमा–सम्बन्ध र यसका चुनौतीलाई राम्रोसँग पर्गेलेर लेख्न सक्ने हो भने हामीले नेपालभित्र बसेर अथवा भारतीयहरूले भारतभित्र बसेर नेपाललाई हेर्ने चासो र नेपाललाई हेर्न सक्ने क्षमता वृद्धि हुन्थ्यो। दुर्भाग्य, हामी गरिब आर्थिक हिसाबले मात्रै छैनौं, परिकल्पनामा समेत छौं।

संस्कृत परम्परामा दीक्षित हुन चाहने नेपालीहरू धेरै अघिदेखि उत्तर भारतका काशी जस्ता सहरमा गई अध्ययन सम्पन्न गरी फर्केर यहाँ त्यस्तै परम्पराभित्र बसेर पढ्ने–पढाउने काम गर्दै आएका थिए। अहिलेको नेपालको राजनीतिक भूखण्डभित्र रहेका नेपालीहरूमाझ यो अध्ययन–परम्परा राणाकालको उत्तरार्द्धमा र पञ्चायतकालको सुरुवाती वर्षहरूसम्म पनि बलियै थियो। पढ्नका लागि उता जाने र फर्केर नेपालमा आई पढाउने क्रमको निकै लामो इतिहास भए पनि यो विषयमा धेरै गहन अध्ययन नभएकाले यसका विभिन्न पहलुबारे धेरै भन्न सकिन्न। 

राणाकालमा शासकहरूले पत्याएका संस्कृतका धेरै पण्डितहरू यही परम्परामा दीक्षित भई पण्डित, विश्लेषक र अध्येताका रूपमा काम गर्थे। यसबाहेक भारतलाई बुझ्न जाने व्यक्तिहरू राणाशासक वा शासनका सुराकीहरू थिए। उनीहरूलाई निश्चित ‘टास्क’ दिएर तत्सम्बन्धमा बुझेर आउन भनिन्थ्यो।  शाह कालखण्डमा पनि यो प्रचलन थियो। 

सरकारी अनुमति लिएर औपचारिक रूपमा आधुनिक डिग्री लिन जाने प्रचलन बीसौं शताब्दीको पहिलो चरणमा सुरु भयो। सन् १९१० को दशकको अन्त्यसम्ममा संस्कृत पढ्न जानेहरूको गन्तव्य बनारस अनि आधुनिक शिक्षा लिन जानेहरूको गन्तव्य कोलकाता हुने प्रवृत्ति सुरु भइसकेको थियो। 

सन् १९४० को दशकमा आइपुग्दा उत्तर भारतका अरू विश्वविद्यालय वा कलेजमा, बनारस हिन्दू विश्वविद्यालयमा, दार्जीलिङ र दक्षिण भारततिर गई नेपाली विद्यार्थीहरूले अध्ययन गरेको पाइन्छ। सन् १९४६ मा बनारस हिन्दू विश्वविद्यालयमा पढिरहेका नेपाली विद्यार्थीहरूले ‘नेपाली छात्र संघ’ नै खोलेका थिए। यस्तै संघ (हिमाञ्चल छात्र संघ?) कोलकातामा पनि खोलिएको थियो। ती स्थानमा राम्रै संख्यामा नेपाली विद्यार्थी उपस्थित भएकाले यस्ता संघ खोल्न सम्भव भएको हो। धेरै विद्यार्थीले स्नातकको उपाधि पनि पाइसकेका थिए। स्नातक गर्नेहरूको उद्देश्य नेपालमा आएर वा भारतमै पनि प्राज्ञिक काम गर्ने थिएन। ‘डिग्री’ पाउने ध्याउन्न मात्र थियो। 

सन् १९५० पछि नेपाली विद्यार्थीलाई उच्च अध्ययन गर्न भारत जान थप सहज भयो। यस्ता विद्यार्थीमध्ये धेरै जसोले मेडिसिन, इन्जिनियरिङ, कृषि आदि प्राविधिक विषय रोज्थे। भारतले नेपालीहरूलाई दिने छात्रवृत्ति वा अरू प्रकारका छात्रवृत्ति पनि यस्तै विषयका लागि बढी उपलब्ध हुन्थे। यो संख्या सन् १९६० को दशकपछि झनै बढ्दै गयो। यस्ता विद्यार्थीले आफ्नो विधामा पिएचडी वा अरू डिग्री लिँदा उनीहरूको शोध–विषय भारत–केन्द्रित भएको खासै देखिन्न। उदाहरणका लागि, इलाहाबाद विश्वविद्यालयबाट केही नेपाली विद्यार्थीहरूले इतिहास विधामा पिएचडी उपाधि हासिल गरे पनि उनीहरूको शोध–विषय नेपाल–केन्द्रित नै थियो। सन् १९८० पछिका दशकहरूमा भारतमा समाजशास्त्र, मानवशास्त्र वा समाजविज्ञानका अरू विधा पढ्न गएका विद्यार्थीहरूको प्रवृत्ति पनि उस्तै रह्यो। भारतमै पढ्न गए पनि भारत–केन्द्रित समाज वैज्ञानिक अध्ययन खासै नगरेकाले नेपालीहरूले भारत–केन्द्रित विषयवस्तु (समाज, राजनीति, भूगोल, इतिहास, इत्यादि) मा अनुसन्धान गरेर निकालेको ज्ञानको भण्डार निम्छरो छ। 

प्रारम्भिक चरणमा भारतबाट उच्च–अध्ययन गरेका नेपाली विद्यार्थीले नेपाल–केन्द्रित अनुसन्धान गर्नुको पछाडि तात्कालिक समयमा भरखर स्थापना र सञ्चालन हुँदै गरेको त्रिभुवन विश्वविद्यालयमा विभिन्न विधाको जग हाल्न चाहिने जनशक्तिको आवश्यकता भएकाले हुन सक्छ। तर विभिन्न कारणले पञ्चायतकालको अन्त्यसम्म पनि नेपाल–भारत सम्बन्धबाहेक भारतका अभिलेखालयहरूमा काम गरेका अध्येताहरूले पनि नेपालसम्बन्धी विषयमा नै आफ्नो शोध केन्द्रित गरे। 

नेपाली जनजीवन, राजनीतिक, सामाजिक र सांस्कृतिक जीवन भारतबाट धेरै हिसाबले प्रभावित छ। यस अर्थमा पनि नेपालीहरूको वा नेपालभित्र अवस्थित संस्थाहरूमा भारतसम्बन्धी ज्ञान हुन एकदम आवश्यक छ। उता भारत विशाल उपमहाद्वीप भएकाले उसले छिमेकी बुझ्न ज्ञानमा गर्नुपर्ने लगानीको तुलनामा धेरै गुणा बढी हामी जस्तो भारतको छेउमा रहेको र उताबाट हर क्षेत्रमा प्रभावित हुने राज्यले गर्नुपर्ने हो। तर पञ्चायतकाल र त्यसपछिको व्यवस्थामा पनि यसतर्फ फिटिक्कै लगानी भएको छैन। 

भारतीयको नेपाल अध्ययन 

उन्नाइसौं शताब्दीमा नेपालमा आएका भारतीय प्राज्ञिक/अध्येताहरू ‘इन्डोलोजी’ अध्ययन परम्परामा दीक्षित थिए। र ती नेपालमा अवस्थित पुराना हस्तलिखित ग्रन्थ खोज्न आएका थिए। ती ग्रन्थहरूले भारत अथवा भारतीय उपमहाद्वीपको इतिहासलाई प्रकाश पार्न के–कसरी सघाउँछन् भन्ने उनीहरूको उद्देश्य हुन्थ्यो। यस्ता अध्येता केही व्यक्तिगत रूपमा त केही संस्थाहरूसँग आबद्ध थिए। यो क्रम उन्नाइसौं शताब्दीमा सुरु भयो र सो शताब्दीभरि चलिरह्यो। 

दोस्रो विश्वयुद्धपछि भारत र अन्य ठूला देशहरूमा विभिन्न क्षेत्रहरूमा केन्द्रित ‘एरिया स्टडिज’ गरिनुपर्छ भन्ने सोचले जरा गाड्यो। विशेषगरी सन् १९५५ मा ‘इन्डियन स्कुल अफ इन्टरनेसनल स्टडिज’ दिल्लीमा खुल्यो। यो संस्थासँग आबद्ध भएर सतीश कुमार, अनिरुद्ध गुप्ता आदि प्राज्ञ नेपालको राजनीतिक इतिहास अथवा राजनीतिशास्त्रको विधाबाट नेपाल–केन्द्रित अनुसन्धान गर्न सन् १९६० तिर आए। र आफ्नो अनुसन्धानमा आधारित पुस्तकसमेत लेखे। सन् १९७० मा सो संस्था जवाहरललाल नेहरू विश्वविद्यालय (जेएनयू)मा गाभियो। र त्यसको नाम परिवर्तन भएर ‘स्कुल अफ इन्टरनेसनल स्टडिज’ रह्यो। अनिरुद्ध गुप्ता यो स्कुलका डिन भएर सेवा–निवृत्त भए। 

सन् १९७० भन्दा पहिले ‘इन्डियन स्कुल अफ इन्टरनेसनल स्टडिज’ दिल्लीबाहेक कोलकाता विश्वविद्यालय, इलाहबाद विश्वविद्यालय र दिल्ली विश्वविद्यालयबाट पनि नेपालसम्बन्धी केही काम भएका छन्। तर यी सबै काम गर्न जो–जो यहाँ आए, उनीहरूले राजनीतिशास्त्र, राजनीतिक इतिहास, कूटनीतिक इतिहास अथवा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विधामा विद्यावारिधि गरेका हुनाले उनीहरूले लेखेका पुस्तक पनि तिनै विधा–सम्बन्धित थिए। 

अनिरुद्ध गुप्ताले नेपालको राणाशासनका अन्तिम वर्ष राणाशासनविरोधी आन्दोलन र त्यसपछिको राजनीतिक विकासमा केन्द्रित काम गरे। अर्का अध्येता रमाकान्तले इलाहबाद विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्ध (सन् १८१६–१८७७) मा अध्ययन गरे। केसी चौधरीले कोलकाता विश्वविद्यालयमा नेपाल–भारत सम्बन्धमा सन् १८१६ भन्दा अगाडिको समयमा केन्द्रित रही काम गरे। कञ्चनमोय मजुमदारको अध्ययन सन् १८३७–१८७७ बीचको नेपाल–भारत सम्बन्धमा केन्द्रित रह्यो। भारत स्वतन्त्र भइसकेपछि नेपाल अध्ययन गर्न आएका पहिला पुस्ताका समाज वैज्ञानिकहरूको अध्ययन नेपाल–भारतको कूटनीतिक इतिहास र नेपालको राजनीतिक विकासक्रममा केन्द्रित थिए। 

पञ्चायतकालभरि पनि नेपालसम्बन्धी काम गर्ने भारतीयहरूले योभन्दा भिन्न विषयमा प्रवेश गरेको खासै देखिँदैन। सन् १९७० पछि जेएनयूको ‘स्कुल अफ इन्टरनेसनल स्टडिज’ मा राजस्थान विश्वविद्यालय, जयपुरको ‘साउथ एसिया स्टडिज सेन्टर’ र बनारस हिन्दू विश्वविद्यालयभित्र ‘सेन्टर फर स्टडिज इन नेपाल’ नाउँका अध्ययन–केन्द्र थिए। यी तीनै सेन्टरमा नेपालसम्बन्धी अध्ययन गर्ने–गराउने गरिन्थ्यो। यी तीनै स्थानमा नेपालसम्बन्धी के–कस्तो खालको अध्ययन भएको रहेछ भनेर सन् २००० मा म खोजिपसेको थिएँ। जेएनयू र राजस्थान विश्वविद्यालयमा राजनीतिक इतिहास, नेपाल–भारतको राजनीतिक सम्बन्ध र कूटनीतिक इतिहासभन्दा बाहिर काम भएको खासै देखिएन। यद्यपि केही अध्येताले अलिक फरक काम गर्न भरखर–भरखर सुरु गरेको देखिन्थ्यो। जस्तो, नेपाल–भारतकै सम्बन्धमा लेख्दा जलविद्युत्‌को विकासमा केन्द्रित भएर काम गर्ने अथवा नेपालबाट भारत गएका आप्रवासी र भारतबाट नेपाल आएका आप्रवासी मुद्दामा तिनमा बिस्तारै काम हुन थालेका थिए। 

बनारस विश्वविद्यालयमा भने नेपालसम्बन्धी अध्ययन गर्न चाहने नेपालीहरू नै बढी थिए। त्यहाँको ‘सेन्टर फर स्टडिज इन नेपाल’मा भएका पिएचडी शोधपत्र हेर्दा बहुसंख्या नेपाली अध्येताहरूले नै गरेको भेटियो। विभिन्न कारणले बनारस विश्वविद्यालयमा गएर पिएचडी गर्ने क्रममा यो सेन्टरसँग आबद्ध भएर नेपालीहरूले अनुसन्धान गरेको पाइयो। मेरा लागि यो तथ्य अलि अनौठो थियो किनभने त्यति बेलासम्म त्रिभुवन विश्वविद्यालयभित्रै राजनीतिशास्त्र वा इतिहासका अरू विभिन्न विषयहरूमा पिएचडी गर्ने वातावरण बनिसकेको थियो। 

सन् २००० सम्ममा नेपालमा विशेषगरी युरोप र अमेरिकाबाट ठूलै संख्यामा मानवशास्त्री अध्ययनका लागि आउन थालेको लगभग ५० वर्ष भइसकेको थियो। तर विभिन्न प्रयोजनका लागि नेपाल अध्ययन गर्ने भारतीयहरूले राजनीतिक इतिहास, कूटनीतिक इतिहास, अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिशास्त्रका उपाधिका लागि अध्ययन गर्दा र पछि उनीहरूले तिनै विधा पढाउने क्रममा पनि त्यस्ता नेपालसम्बन्धी नेपाली र विशेषगरी विदेशीहरूले मानवशास्त्रीय ढर्रामा लेखेका सामग्री पढेको प्रमाण मैले सन् २००० मा अध्ययन गर्दा खासै भेटिनँ। 

उदाहरणका लागि, प्रभाव, आयतन र ज्ञान उत्पादनका दृष्टिले नेपालमा पञ्चायत सकिएको पहिलो दशकमा भएको सबभन्दा ठूलो सामाजिक आन्दोलन जनजाति आन्दोलन थियो। सन् १९९० को जनआन्दोलनअघि नै नेपालका जनजातिहरूमा केन्द्रित रही विदेशी मानवशास्त्रीले टन्नै लेखिसकेका थिए। तर नेपाल विषयमा चासो राख्ने भारतीय प्राज्ञहरूले लेखेका सामग्रीमा त्यस्ता सामग्री पढेर ज्ञान लिएको मैले पाइनँ। अरू विधामा उपलब्ध सामग्री पढेपछि आफ्नो विधामा काम गर्न थप महत्त्वपूर्ण प्रश्न सोध्न सकिएला वा मैले गरेको कामको वैधानिकता बढ्ला भनेर उनीहरूले सोचे–विचारेको पाइएन। 

यो समस्यालाई कसरी बुझ्ने ? एउटा त विधागत संकीर्णता भनेर बुझ्ने होला। अर्को, यसलाई अन्तर–विधागत ज्ञान चाहिन्छ भन्ने कुरा बुझ्न नचाहेको वा बुझ्न चाहे पनि अभ्यास गर्न नचाहेको भन्न सकिन्छ। यसबाहेक भारतमा बसेर अध्ययन गर्दा यस्ता खालका कुरै चाहिँदैन, पढ्नुपर्दैन भनेर हेपेर पनि उनीहरूले त्यसरी सोचेका हुन सक्छन्।

राजनीतिशास्त्र, कूटनीतिक इतिहास अथवा अन्तर्राष्ट्रिय सम्बन्धमा चासो राख्ने भारतीय प्राज्ञहरूले विशेषगरी मानवशास्त्रीय विधामा नेपाली समाजबारे लेखिएका दर्जनौं पुस्तक र हजारौं लेख नपढ्दा नेपाली समाजबारेको उनीहरूको ज्ञान साह्रै अपूर्ण हुन्छ। यस्ता सामग्री नपढी भारतीय पत्रपत्रिका, अनलाइन पोर्टल वा नेपाली पत्रपत्रिका, अनलाइन पोर्टलसहित भारतीय राज्य र नेपाली राज्यले अगाडि बढाएको विचारका आधारमा मात्रै केही सामग्री पढेर निष्कर्ष निकाल्दा त्यस्तो विश्लेषण/निष्कर्ष भारतीय राज्यले नेपालसम्बन्धी हेर्ने धारणाभन्दा फरक हुन गाह्रो हुन्छ। समाजविज्ञानका विभिन्न विधामा टेकेर काम गर्दा भारतीय राज्यको विचारभन्दा फरक विचार पनि आउनुपर्ने हो। त्यसो नहुँदा राज्यको विचारबाट धेरै प्रभावित भएर प्राज्ञिक कर्म भइरहेको देखिन्छ। बेला–बेलामा केही भिन्न विचार आए पनि नेपाल सम्बन्धमा भारतीय प्राज्ञिक विश्लेषणको ‘फ्रेमवर्क’ राज्यको विश्लेषणको ‘फ्रेमवर्क’ भन्दा धेरै फरक छैन। 

नेपालमा भारतीय प्राज्ञहरूको नाम लिँदा भारतीय प्राज्ञ एसडी मुनीको नाम छुट्दैन। नेपालसम्बन्धी मुनीको पहिलो किताब सन् १९७३ मा प्रकाशन भएको थियो। कुनै एउटा देशको अर्को देशमाथिको अध्ययन परम्परामा पाँच दशकअगाडि पहिलो किताब निकालेको व्यक्तिको नाम अझैसम्म उल्लेख भइरहनुलाई कसरी बुझ्ने ? पहिलो त, एसडी मुनीको ‘स्टेइङ पावर’ बलियो रहेछ भन्नुपर्‍यो। यसलाई अर्को दृष्टिबाट पनि हेर्न सकिन्छ— भारतीयहरूको नेपालसम्बन्धी अध्ययन परम्परा यति कमजोर रहेछ कि, पाँच दशकअघि किताब लेख्ने व्यक्ति नै अझै पनि उद्धृत भइरहेका छन्; सामयिक ठानिन्छन्। अर्थात् उनले काम गरेको विधामा उनलाई विस्थापन गर्ने प्राज्ञ भारतीय उच्च–शिक्षा–संरचनाले अझै जन्माउन सकेको रहेनछ। 

सन् २०२१मा नेपालको मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डिगढ विश्वविद्यालयबिच शिक्षक र विद्यार्थी आदानप्रदान गर्ने समझदारीमा हस्ताक्षर गरिँदै।
मध्यपश्चिम विश्वविद्यालयको फेसबुक पेज।

नेपालमा भारत अध्ययन 

नेपालमा पहिलो पटक सन् १९५९ मा मात्र विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालय, त्रिवि) स्थापनापछिका प्रारम्भिक दिनमा त्रिविका विद्यार्थीहरूलाई कतिपय विषय पढाउन भारतीय शिक्षकहरू आएका थिए। सन् १९७० देखि इतिहास, राजनीतिशास्त्र जस्ता विषयमा नेपालमै पिएचडी गर्न सकिने आधार बन्न थाले पनि नेपाली विद्यार्थीको शोध–अध्ययनको विषय भारत–केन्द्रित भएन। 

नेपालमा इतिहासमा पिएचडी गर्ने सबैले सुरुका दशकमा र पछिसम्म पनि नेपालभित्रकै विषय छाने। केहीले नेपाल–भारत सम्बन्धबारे अध्ययन गरे पनि भारतीय समाजबारेको अध्ययन गर्नेतर्फ कसैको चासो गएन। भारतीय समाज, त्यहाँको राजनीतिक विकास आदिबारे अध्ययन गरेर त्यसको आलोकमा भारतलाई, अझ नेपाल–भारत सम्बन्धलाई बुझ्ने प्रयास नेपालमा कुनै पनि विधाबाट भएको छैन। 

एउटा अपवाद भने देखिएको थियो। सन् १९८० को दशकमा लगभग ५–६ वर्षका लागि त्रिविअन्तर्गतको ‘सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज’ (सिनास) मा तात्कालिक राजा वीरेन्द्र शाहका भिनाजु कुमार खड्गविक्रम शाह कार्यकारी निर्देशक थिए। आफ्नो कार्यकालमा उनले राजनीतिशास्त्री, समाजशास्त्रीको ठूलै जमात भेला गरे। त्यहाँबाट ‘स्ट्राटेजिक स्टडिज सिरिज’ जर्नल, ‘सिनास इयर रिभ्यू’ नामको वार्षिक एउटा रिभ्यू प्रकाशन र ‘सिनास फोरम करेन्ट इस्यू’ सिरिज प्रकाशन भयो। तात्कालिक मुद्दाहरूमा आधारित भएर यी संग्रहमा भारत–केन्द्रित काम गराउन उनी सफल भए। प्राध्यापक कृष्ण खनाल, डा. लोकराज बराल जस्ता हस्तीहरूले सो परियोजनामा काम गरे। ‘स्ट्राटेजिक स्टडिज सिरिज’ मा सन् १९८० को भारतको राजनीतिक विकासक्रमबारेका लेखहरू छन्। यसबाहेक ‘सिनास इयर बुक’ मा भारतको राजनीतिक विकासक्रमलाई समीक्षा गर्दै गोविन्द मल्लले ‘सिनास फोरम करेन्ट इस्यू’ मा एउटा परिच्छेद लेख्थे। 

तात्कालिक अवस्थामा भारतीय राजनीतिशास्त्री अथवा भारतका अरू समाज वैज्ञानिकहरूले लेखेका सामग्री तथा अनुसन्धानमूलक पुस्तकहरूको गहिरो अध्ययन गरेर भन्दा पनि मिडियाको गहिरो अध्ययन गरेर यस्ता सामग्री तयार गरिएका हुन्थे। भारतमा भइरहेको खासगरी राजनीतिक विकासक्रम बुझ्न ‘डाइजेस्ट’ का रूपमा यी उपयोगी भए पनि भारतीय समाज बुझ्न त्यति सहयोगी हुन्थेनन्। 

पञ्चायतकालपछि पनि सिनासमा रहेका राजनीतिशास्त्रीमध्ये ध्रुव कुमारले मात्र भारतसम्बन्धी काम गरेको देखिन्छ। सिनासमै एउटा महत्त्वपूर्ण सेमिनार गरेर नेपाल्स इन्डिया पोलिसी शीर्षकमा उनले सम्पादन गरेको किताब सन् १९९२ मा प्रकाशित छ। यसभन्दा पछि पनि नेपाल–भारत सम्बन्धबारे केही सेमिनार भए होलान्। 

भारतले नेपालको राजनीति, अर्थतन्त्र, सामाजिक र सांस्कृतिक जीवनमा प्रभाव पार्ने भएकाले भारतीय समाज र राजनीति बुझ्न नेपालीहरूलाई आवश्यक छ। तसर्थ भारत बुझ्न प्राज्ञिक हिसाबले कर्म गर्न सक्ने नेपालीहरू तयार गर्न नेपालले पनि लगानी गर्नुपर्छ। त्यस्तो लगानीले विश्वविद्यालयभित्र राजनीतिशास्त्र, इतिहास र समाजविज्ञानका अरू विधा— जस्तो समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, आदिमा भारत–केन्द्रित अध्ययन गर्न पिएचडी कार्यक्रम चलाउने र त्यस्ता अध्ययन गर्न चाहनेलाई विद्वत्वृत्ति, शोध–वृत्ति दिएर पिएचडी वा अन्य स्वतन्त्र अनुसन्धान गर्न–गराउन सकिन्छ। विश्वविद्यालयका नेतृत्वकर्ताहरूले मात्रै सोच्ने हो भने पनि भारत–केन्द्रित अनुसन्धान हामीले मज्जैले गर्न सक्ने काम हो।

भारतीय समाज र त्यहाँको राजनीतिबारे अध्ययन गर्नु हाम्रा लागि एकदमै महत्त्वपूर्ण छ। तर हाम्रा विश्वविद्यालयभित्र यो काम किन भइरहेको छैन भनेर धेरै विषय जान्ने, धेरै विषयबारे गुड्डी हाँक्न सक्ने विश्वविद्यालयका ठुलठूला पदाधिकारीलाई हामीले सोध्नुपर्छ। र यस्तो काम महत्त्वपूर्ण हो भन्ने लाग्छ भने त्यसलाई के–कसरी कार्यान्वयन गर्ने भन्नेतिर लाग्नु उत्तिकै जरुरी छ। 

त्यस्तो काम कसरी गर्न सकिन्छ ?

भारत–केन्द्रित हाम्रा प्रायः अध्ययन ‘नेपाल–भारत सम्बन्ध’ भन्ने खालका हुन्छन्। तिनै अध्ययन पनि धेरैजसो सेमिनारहरूमै सीमित भएको मैले पाएको छु। पछिल्लो समय पनि नेपाल–भारत सम्बन्ध भन्ने खालका नै किताब धेरै देखिन्छन्। भारतभित्र फिल्डवर्क गरेर वा अन्य हिसाबले भारत–अध्ययन गर्ने नेपालीहरू फाट्टफुट्ट भए पनि ती नेपालभित्रै बसेर भारत–अध्ययन गरिरहेका छैनन्। संस्थागत क्षमताका हिसाबले सोच्ने हो भने पञ्चायतकालमा भन्दा बढी अहिले भारत बुझ्नका लागि नेपालमा प्राज्ञिक कर्म भइरहेको छ भन्ने कुनै आधार देखिन्न।

हामीले छिमेक–अध्ययन गर्न जरुरी छ भन्दाखेरि प्रत्युत्तरमा ‘स्रोत छैन’ भनिन्छ। पैसा छैन भन्ने आधार मलाई फितलो लाग्छ। हाम्रो प्राथमिकता नभएको हो, हामीले छिमेक–अध्ययनको महत्ता नबुझेको हो, स्रोत नभएको होइन। छिमेक–अध्ययनको काम हाम्रा विश्वविद्यालयले विभिन्न हिसाबले नेपाल सरकारसँग पैसा मागेर, आफ्नै अलुम्‌नाईसँग पैसा उठाएर, नेपालभन्दा बाहिर बसेका नेपाली डायस्पोरासँग सहयोग मागेर जुटाउन सक्छन्। अन्तर्राष्ट्रिय सम्बन्धका अनुसन्धानहरूका लागि विश्वमा खोलिएका फाउन्डेसनहरूसँग पनि सहकार्यको हात बढाउन सकिन्छ। 

संसारभरि नै भारतमाथि प्राज्ञिक चासो बढ्नुको एउटा प्रमुख कारण उसको बढ्दो आर्थिक समृद्धि र सामरिक क्षमता हो। संसारको ठूलो अर्थतन्त्रका रूपमा भारत झन्‌–झन् अगाडि बढ्दै छ। यो सबैले देखे–स्विकारेको कुरा हो। म आफैं ३० वर्षअघि अमेरिकामा पढ्दा मेरो विश्वविद्यालय —युनिभर्सिटी अफ पेन्सलभिनिया—मा भारतसम्बन्धी अध्ययन गर्ने लामो परम्परा भएकाले समाजविज्ञानका सबै विधाहरूमा एउटा न एउटा फ्याकल्टी थिए। तर सोही समय मेरै परिवारका अरू सदस्य पढिरहेको कोर्नेल विश्वविद्यालय जस्तो अमेरिकाको धनी विश्वविद्यालयमा भारतमा काम गर्ने इतिहासकार, इतिहास विभागमा पढाउँदैनथे। 

यो धेरै अगाडिको कुरै होइन; ३० वर्ष अगाडिसम्म पनि कोर्नेल जस्तो ठूलो विश्वविद्यालयमा भारतमा पूर्णकालीन अनुसन्धान गर्ने एउटा पनि इतिहासकार थिएनन्। अहिले भारत बलियो हुँदै जाँदा अमेरिकाका ठूला र साना विश्वविद्यालयमा भारत बुझ्न लगानी बढिरहेको छ। तिनका फ्याकल्टीमा गएका ३० वर्षको दाँजोमा धेरै जना भारत–अध्येता काम गर्दै छन्। भारत–केन्द्रित अध्ययन–अनुसन्धान गर्न सहयोग गर्ने अनुसन्धान–संस्थाहरू र ठूला अक्षयकोष (इन्डाउमेन्ट) भएका संस्थाहरू उत्तर अमेरिकामा मात्र होइन, अन्यत्र पनि बढेका छन्। नेपाली विश्वविद्यालयहरूले यस्ता ठाउँहरूमा आफ्नो पहुँच बढाउन जरुरी छ। विश्वविद्यालयभन्दा बाहिर बसेका संस्थाहरूले पनि रुचि छ भने त्यसमा चासो दिनु जरुरी छ। 

अहिले सार्क राष्ट्रहरू मिलेर खडा गरेको साउथ एसियन युनिभर्सिटी दिल्लीमा सञ्चालनमा छ। त्यो विश्वविद्यालय आफैंमा प्राज्ञिक हिसाबमा ठीकठीकै बलियो तर आर्थिक हिसाबले एकदम कमजोर धरातलमा उभिरहेको हुनाले यो विश्वविद्यालयको भविष्य के होला, अहिल्यै भन्न सकिँदैन। तथापि त्यसको एउटा सबलमध्येको विभाग समाजशास्त्र हो। सो विश्वविद्यालय गएर नेपालीहरूले एमए र पिएचडी तहको अनुसन्धान गर्ने बाटो अहिलेलाई खुला छ, गरिरहेका पनि छन्। नेपाली विद्यार्थीहरूलाई यस्तै अध्ययनको बाटो अन्य भारतीय विश्वविद्यालयहरूमा पनि खुलाउन सकिन्छ। त्यो त्यहाँका विश्वविद्यालय र भारत सरकारसँग कुराकानी गरेर गर्न सकिन्छ। नेपाल सरकारले भारत सरकारलाई हामीलाई भारतीय विश्वविद्यालयहरूमा हरेक वर्ष २५ वटा पिएचडी–छात्रवृत्ति उपलब्ध गराइदेऊ भन्न सक्छ। भारतले उदारता देखाएर यो बाटो खोलिदियो भने सजिलो भयो, नत्र नेपाल आफैंले लगानी गरेर पनि यो काम गर्न सक्छ। यति वर्ष पिएचडी गर्नका लागि म लगानी गर्छु। तर तिमीले आएर यो काम गर्नुपर्छ भनेर अनुबन्ध गरेर पठाउन सकिन्छ। 

छिमेक वा भारत— अध्ययन हाम्रो उद्देश्य हो भने सो पूर्तिका लागि एक होइन, अनेक उपाय छन्। यो राज्यको प्राथमिकतामा पर्छ कि पर्दैन, महत्त्वपूर्ण कुरा त्यो हो। राज्यको मात्र किन, नेपालमा यति धेरै विश्वविद्यालय छन्, तिनको प्राथमिकतामा परे भइहाल्यो। त्रिभुवन विश्वविद्यालय मात्र किन? काठमाडौं विश्वविद्यालयभित्र डेभलपमेन्ट स्टडिज भन्ने विभाग छ। यो विभागले आफ्ना अनुसन्धानकर्मी र विद्यार्थीहरूलाई तिम्रो भारत–केन्द्रित अनुसन्धान पनि हुनुपर्‍यो, हामी त्यसका लागि पैसाको जोहो वा सहयोग गर्ने प्रणाली तयार गर्छौं भन्न किन मिल्दैन ? 

भारतको राज्य/सरकारले जे नै सोचे पनि नेपाल–भारत सीमाको दुवैतिर अध्ययन गर्न हामीलाई खासै कठिनाइ छैन। कुनै एउटा तेस्रो देशको व्यक्तिले आएर अध्ययन गर्न, सीमाको दुवैतर्फ जान दुवै देशकै भिसा चाहियो। दुवै देशमा दिनदिनै आउन–जान सक्ने वातावरण उसलाई उपलब्ध नहुन सक्छ। नेपाली वा भारतीयलाई हरेक दिन एकअर्काको क्षेत्रमा स्थलगत अध्ययन गर्ने सुविधा छ। राज्यले जेसुकै विचार अंगीकार गरे पनि, बोलीचालीको भाषामा ‘रोटी–बेटी’ भनिने सम्बन्धलाई महत्त्वपूर्ण ठान्ने प्राज्ञ निर्माण गर्नु हामीलाई, हाम्रो विश्वविद्यालयलाई महत्त्वपूर्ण लाग्छ भने यस्तो काम गर्न सक्ने ‘फेलोसिप’ मज्जाले दिन सकिन्छ। त्यस्ता ‘फेलोसिप’ खडा गर्न हाम्रा स्वतन्त्र विश्वविद्यालयहरूलाई कसले रोकेको छ ? 

त्रिभुवन विश्वविद्यालयले हरेक वर्ष सीमा–अध्ययनका लागि तीन ओटा ‘फेलोसिप’— एउटा समाजशास्त्रीका लागि, एउटा मानवशास्त्री र एउटा इतिहासकारका लागि—प्रदान गर्नलाई कसले रोकेको छ ? राज्यले जे–जस्तो धारणा राखे पनि, उसको प्राथमिकतामा नपरे पनि यस्ता खालका प्राज्ञिक कर्म गर्न सकिन्छ। यसका लागि अर्को एउटा कल्पना चाहिन्छ। यस्तो कल्पना गर्न सक्ने मानिसहरू चाहिन्छ। प्राज्ञिक कर्म गरेर दैनिक सीमा–सम्बन्ध र यसका चुनौतीलाई राम्रोसँग पर्गेलेर लेख्न सक्ने हो भने हामीले नेपालभित्र बसेर अथवा भारतीयहरूले भारतभित्र बसेर नेपाललाई हेर्ने चासो र नेपाललाई हेर्न सक्ने क्षमता वृद्धि हुन्थ्यो। तर हाम्रो दुर्भाग्य, हामी गरिब आर्थिक हिसाबले मात्रै छैनौं, परिकल्पनामा समेत छौं। त्यसैले अलिकति बल र सिर्जनात्मकता लगाएर हुन सक्ने छिमेक (वा भारत) अध्ययन हामीले गर्न–गराउन सकेका छैनौं।

- यो लेख हामीले संकथन [मन्थनमाला (२०८१-८२)]बाट लिएका हौं।

मार्टिन चौतारीसँग आबद्ध ऐतिहासिक वन्त स्टडिज इन नेपाली हिस्ट्री एन्ड सोसाइटी जर्नलका सम्पादक हुन्। ...