तामाङको पहिचान सङ्घर्ष 

तामाङ जातिले ‘तामाङ’ भनाउन तथा लेखाउन पनि राजदरबारमा बिन्तीपत्र हाल्नुपरेको इतिहास छ।

तामाङहरूलाई राज्य स्वयंले लामो समयसम्म ‘मुर्मि’ र ‘भोट्या’ सम्बोधन गरिरह्यो। खासगरी पुराना सरकारी अभिलेखहरूमा यी शब्द प्रशस्त प्रयोग भएको पाइन्छ। अन्वेषक जनकलाल शर्माले हाम्रो समाजः एक अध्ययन पुस्तकमा लेखेअनुसार ‘मुर्मि’ शब्दको अर्थ सिमानाको बासिन्दा हुन्छ। ‘भोट्या’ भनेको तिब्बततिरका बासिन्दा भन्ने हो। यस अर्थमा राज्यले आदिवासी तामाङहरूलाई ‘सिमानातिरको तिब्बती’ भन्ने ठानेको बुझ्न सकिन्छ। 

संवत् १९१० सालमा बनेको मुलुकी ऐनले तामाङलगायत केही सीमान्तकृत आदिवासीहरूलाई ‘मासिन्या मतुवाली’ करार गरिदियो। ‘मासिन्या ज्यू अमालिले लिन्याको’ महलमा ‘भोट्या चेपाङ माझी दनुवार हायु दरै कुमाल पहरी गैह्र मासिन्या जात’ भन्ने उल्लेख छ। यहाँ भोट्या भनेर तामाङलाई भनिएको हो।

मुलुकी ऐनमा ‘नमासिन्या मतुवाली’ करार गरिएकाहरूले हाडनाता करणीजस्तो अपराध गर्दा उनीहरूलाई सजाय गरी ‘भोट्या’ जातमा मिलाइदिनू भन्नेसम्मको प्रावधान राखिएको थियो। ऐनको ‘आफ्ना हाडनातामा करणी गन्र्या नमासिन्या मतुवाली जात गैह्रको तपसिल’को महल ४ मा लेखिएको छ, ‘आफ्ना हाडमा ४ पुस्तादेषि माथि आफुदेषि ७ पुस्तासम्मका ११ वर्ष नाघ्याका कंन्या विधवा स्वास्निको करणि गन्र्या नमासिन्या मतुवालि जात गैह्रको अ‍ैन वमोजिम् अंस सर्वस्व गरि जात पतित गरि भोट्या जाता मिलाइ दिनु एस्ताको पानि चल्छ पानिको मात्र पतिया दिनु’ भन्ने उल्लेख छ। यसबाट इतिहासमा तामाङहरूमाथि राज्यको व्यवहार उदाङ्गो हुन्छ।

तामाङ समुदायले बेलाबेलामा विद्रोह गर्दै आएकोले पनि राज्य उनीहरूप्रति निर्मम हुन पुगेको देखिन्छ। १८५० जेठ पहिलो र साउनको दोस्रो साता लच्याङ क्षेत्रबाट विद्रोह सुरु भएको विद्रोह दमनका क्रममा एक हजार तामाङले बलिदान गर्नुपरेको २०४१ सालमा प्रकाशित पूर्णिमा पत्रिकाको पूर्णाङ्क ६४ मा दिनेशराज पन्तको लेखमा पढ्न पाइन्छ। २०१६ सालमा धादिङको खनियावासमा सेक्के तामाङ र दामन पाख्रिनको नेतृत्वमा भएको विद्रोह पनि तामाङहरूको शोषणको प्रतिरोध नै थियो। 

यसरी बेलाबेलामा विद्रोहको झण्डा उठाउने तामाङहरूलाई राज्यले सेनामा भर्ना लिए पनि हतियार होइन, लामो समयसम्म भारी बोक्ने काममा मात्र खटाइरह्यो। कतिसम्म भने सेनामा बन्दोबस्तीका लागि गठन भएको पीपा गोश्वारा नै तामाङहरूका लागि खोलिदिएको अड्डा हो भन्नेसम्मको भान पर्न पुग्यो।

श्री ३ चन्द्रशमशेरले १९७२ सालमा नेपाली युवालाई लाहुर भर्ती पठाउन जारी गरेको सनद, जहाँ तामाङ थर पनि परेको छ।
सौजन्य: कमल मादेन

पानी नचल्नेबाट मुक्ति

तामाङहरू छुवाछूतको पनि शिकार भए। वर्णाश्रमअन्तर्गत दलित उत्पीडित वर्गमा परेर नभई तामाङहरू गोभक्षक भएकाले युगौँसम्म उनीहरूको हातको पानी चलाइएन। 

जङ्गबहादुर राणाले प्रधानमन्त्री हुँदा उनीहरूको हातको पानी फुकुवा गरिदिएको पुरुषोत्तमशमशेर जबराले श्री ३ हरूको तथ्यवृत्तान्त पुस्तकमा लेखेका छन्। तर, कहिलेदेखि तामाङहरूको हातको पानी फुकुवा गरियो भन्नेबारे तिथिमिति फेला पर्न सकेको छैन। 

वि.सं. १९१० सालमा मुलुकी ऐन घोषणा भए पनि पछि विभिन्न ऐनहरू थप्दै र परिमार्जन गर्दै लगिएको थियो। सोही क्रममा १९१७ पुस सुदी १ रोज ७मा मेचे जातिको हातको पानी फुकुवा गरिएको मुलुकी ऐनमा उल्लेख छ। मेचेहरूको पानी फुकुवा गरिएको पत्रमा ‘नेवार मगर गुरूँ भोट्या लापच्याका हातका पानि हाम्रा मुलुकमा चल्याको छ इ मेच्या जातको ता अघि पनि चल्याको रहेछ...आज देषि मेच्या जातका हातको पानि चल्याको छ’ भन्ने उल्लेख भएकोले १९१७ सालअघि नै तामाङहरूको हातको पानी फुकुवा गरिएको हो भन्ने स्पष्ट हुन्छ।

तामाङहरूको हातको पानी फुकुवा हुनुमा जङ्गबहादुरकी एक रानीको भूमिका हुन सक्ने अनुमान हुन्छ। जङ्गबहादुरले दरबारमा धाई सुसारे काम गर्न गएकी तामाङ महिलालाई ४२औँ रानी बनाएका थिए। जङ्गबहादुरका छोरा पद्मजङ्गले आफ्नी आमा तथा सौतेनी आमाहरूको सूचीमा एक जना भोटेनी भित्रिनी भएको उल्लेख गरेका छन्। जंग–गीता पुस्तकमा कमल दीक्षितले लेखेअनुसार उक्त सूचीमा ‘उनी वामा मैयाकी धाई भएकी र यिनको लोग्ने छ’ उल्लेख छ। यिनलाई वामाधाई भनिएको छ। यो टिपोटअनुसार जङ्गबहादुरले रानी बनाउनुअघि नै उनको विवाह भइसकेको देखिन्छ।

आफूले पानी नचल्ने तामाङ जातिकै महिलालाई रानीको रूपमा दरबार भित्र्यासकेपछि जङ्गबहादुर तामाङहरूको हातको पानी फुकुवा गर्न अग्रसर भए होलान् वा यिनै रानीले आफ्ना माइतीखलकको हातको पानी फुकुवा गर्न जोडबल गरिन् भन्ने अनुमान पनि गर्न सकिन्छ।

श्री ३ भीमशमशेरले १९८९ सालमा तामाङ लेख्न पाउने गरी जारी गरेको इस्तिहार।
सौजन्य: रविन्द्र तामाङ

पहिचानको खोजी 

तामाङहरूलाई स्वपहिचान दिलाउन सीता बडामहारानीको अहम् भूमिका छ। श्री ३ महाराज भीमशमशेरले आफ्नी विवाहिता रानीको देहान्तपछि बडामहारानी पद दिएर दिलकुमारी ब्लोन (तामाङ)लाई टङ्गाल दरबार भित्र्याए। उनलाई सीता बडामहारानी नाम दिएर भारदारहरूलाई दाम चढाउन लगाई उनीहरूलाई रानी स्वीकार गर्न लगाइएको थियो। उनको माइतीगाउँ तत्कालीन पूर्व ४ नम्बर दिप्रुङ (दिप्लुङ) थुमको दिहु हो। पहिले भोजपुरमा पर्ने यो गाउँ २०३२ सालपछि खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ (साबिकको सत्येश्वरी छितापोखरी गाविस–१) मा पर्छ। 

तर कतिपय तत्कालीन भारदारहरूलाई यी तामाङ नारीलाई रानी स्वीकार गर्न गाह्रो भएको देखिन्छ। तीमध्ये एक थिए काशीनाथ आचार्य दीक्षित। उनले आफ्नो संस्मरणात्मक कृति भएका कुरा मा ‘श्री ३ लाई मनपरी गर्ने भन्दा पनि ज्यादा शौख कान्छा महारानीलाई पूरा बढाई उनको सन्तानलाई सरोवर गर्ने भित्र इच्छा थियो। मैले सो कुरा मञ्जुर नगर्ने ढाचा देखाएको थिएँ, यसमा कान्छा महारानीलाई बडामहारानी गराउने कुरा वागमै उठेको हो। श्री भीमले पनि मरेभन्दा पनि ती भोटेनीलाई बढाएर राख्नुभयो, बिहे गरेकीलाई कोठामा कैद गर्नुभयो’ भन्ने उल्लेख गरेका छन्। जसको अर्थ हो आचार्य दीक्षितलगायतले दिएको सल्लाह भीमशमशेरले मरिगए पनि मानेनन्। त्यस बेला सीता बडामहारानी शक्तिशाली थिइन् भन्ने पनि दीक्षितकै उद्गारबाट बुझ्न सकिन्छ। उनी लेख्छन्, ‘...दाजैलाई जागिर खाने मन भएछ र दाज्यैबाट सो कुरा भन्नुहुँदा सोही मौकामा आफ्नु आधार ज. भीमको हजुरमा विन्ति गरे। वाहाबाट कान्छा महारानीसित विन्ति गर भन्ने मर्जी भयो।’

उनै सीता बडामहारानीलाई दरबार भित्र्याएका भीमशमशेरसमक्ष एक जना अगुवा जङ्गवीरले आफूहरूले ‘तामाङ’ लेख्न पाउनुपर्ने माग अघि सारे। पुर्ख्यौली थलो संखुवासभाका उनी दार्जिलिङमा पढेका उनले ब्रिटिस भारतीय सेनामा पनि काम गरेका थिए। उनको मागलाई सम्बोधन गर्दै भीमशमशेरले १९८९ मा एक इस्तिहार जारी गरे। अन्वेषक रविन्द्र तामाङले प्राचीन तामाङ जातिको ऐतिहासिक रुपरेखा पुस्तकमा प्रकाशित गरेको उक्त इस्तिहारको बेहोरो यस्तो छः

...आगे नेपाल सरहदभर मुलुकका जङ्गी निजामती अड्डा गौँडा गोश्वारा भैभारदार रैतिदुनिय गैड्रके यथोचित उप्रान्त बाह्र तामाङ जातलाई लामाभोटे भन्ने चलन चलेकोमा अरु–अरु अनेक किसिमका जात थरकाहरू पनि लामा भोटे भनी बोलाईने र लेखिने हुनाले कुन भोटे के जात थरको हो केही छुटिने भएन हामी बाह्र तामाङलाई आफ्नो तामाङ जात भन्ने भनिने लेख्ने लेखाईने गराई बक्स्ये हुँदोहो भनी सो तामाङ जातका सरदार बहादुर जङ्वीर तामाङदेखि ओ.वी.ई.डी.एम.एल.सी. अगुवा भै जाहेर गरेको कुरा मुनासीबै लेखिएको हुँदा सो कुरा मन्जुर गरी बक्सी यो इस्तिहार जारी गरी बक्सेको छ। अब उप्रान्त हाम्रा नेपाल सरहद गोरखा राज भरका तामाङ जातले आफ्नो जात लेख्दा लेखाउँदा तामाङ भनी लेख्ने लेखाउँने गर्नु जङ्गी निजामती सरकारी अड्डाखाना पल्टनका कागजमा र दुनियादारको व्यवहारमा पनि बाह्र तामाङ जातका भोटेको जात लेख्दा र सो जातका भोटेलाई बोलाउँदा लामाभोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नु इति सम्वत् १९८९ साल भाद्र ६ रोज १ शुभम्।

यो इस्तिहारलाई १९८९ साउन ११ गते गोरखापत्रको पहिलो पृष्ठमा प्रकाशित गरेर सार्वजनिक रूपमा तामाङ लेख्न पाउने अधिकारबारे जानकारी गराइएको थियो। भीमशमशेरले इस्तिहार प्रदान गरेको दिन भदौ ६ गतेलाई केही वर्षयतादेखि तामाङहरूले ‘तामाङ पहिचान दिवस’का रूपमा सम्झना गर्दै आएका छन्। 

तामाङ थर लेख्न पाउने गरी जारी गरिएको इस्तिहार छापिएको १९८९ साउन ११ को गोरखापत्रको पहिलो पृष्ठ।
सौजन्य: सन्तोष योञ्जन तामाङ

इस्तिहारअघिका तामाङ 

भीमशमशेरले इस्तिहार जारी गर्नुभन्दा १७ वर्षअघि नै चन्द्रशमशेरले जारी गरेको एक सनदमा जात थरकै रूपमा तामाङ शब्द परेको छ। पहिलो विश्वयुद्ध सुरु भएको एक वर्षपछि १९७२ सालमा चन्द्रशमशेरले नेपालभरिका तालुकदारहरूका नाममा ब्रिटिस सेनामा रिक्रुट भर्ती गरी पठाउन एक सनद जारी गरे। 

उक्त सनदमा रिक्रुटका लागि नेपाली लक्का जवानको शारीरिक बनावट, तन्दुरुस्ती र उमेर मात्र होइन, जातथरै तोकिएको थियो। यसअनुसार रिक्रुट लिन सकिने जातथरमा ठकुरी, घले, सुनुवार, मतवाली खस, छेत्री, मगर, रानाभाट, गुरुङ, लिम्बू, किराँती राई, नगरकोटी, शेर्पा र तामाङ रहेका थिए। यो सनदको छायाँप्रति अन्वेषक कमल मादेनबाट यो लेखकलाई प्राप्त भएको हो। हतियार बोक्ने पेशामा वञ्चित पारिदै आए तापनि विश्वयुद्धजस्तो योद्धाहरूको अपरिहार्य आवश्यकतामा भने तामाङ जवानका लागि पनि रिक्रुट भर्ती खुलाएको पुष्टि हुन्छ। 

यस्तै १८८५ सालको एक लालमोहरमा पनि तामाङ शब्द प्रयोग भएको पाइएको छ। पशुपतिनाथ मन्दिरभित्र प्रवेश गर्न पाउने र नपाउने जातबारे जारी गरिएको लालमोहरमा ‘...देवालको ढोकासम्मः हिण्डुः जातका पानी चलने जातले र पाहाड्का तामां भोटेलेः चढी दर्शन गर्न हुन्छ...’ लेखिएको डा. गोविन्द टण्डनको पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययनः अभिलेख खण्ड पुस्तकमा उल्लेख छ।

यस्तै रणबहादुर शाहको समयमा १८५० साउन सुदि ५ आइतबार जारी गरिएको एक लालमोहरमा पनि थरका रूपमा तामाङ परेको छ । धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठलिखित दोलखाको ऐतिहासिक रुपरेखा पुस्तकमा दोलखाको भीमेश्वर मन्दिरका सम्बन्धमा जारी गरिएको लालमोहरमा ‘...गुठियार द्वाकलन्हुंको गुनेश्वर ढोक्छेको वंसनारायण क्वाट्छेको मोजन्त विहारछेको इन्द्रनारायण गाउँको मिन्हाया र षेतको मोहिनायेक जोगीराम तामाङको सन्तानमा २ कम्र्मध्याचोको सन्तानमा २ गाउको अमाली षेतको अघिल्लो अधिञाँ वाली सध्यार्नु...’ भन्ने परेको छ। 

धादिङको जीवनपुर र डढुवा देउरालीका तामाङ र गुरुङहरूको नाममा जगन्नाथ देवल बनाउन २०/२० धार्नी वेत बुझाउन जारी गरिएको उर्दीको उतार।
स्रोतः भागवतनरसिंह प्रधान

वि.सं. १८५३ सालमा पनि जगन्नाथ देवल बनाउँदा जीवनपुर र डढुवा देउरालीका तामाङ र गुरुङहरूका नाममा राज्यले झारावापत २०/२० धार्नी वेत बुझाउन उर्दी जारी गर्दा ‘जिर्उनपुर तांमा गुरुं’ भन्ने परेको छ। जीवनपुर तामाङहरूको बसोबास रहेको धादिङ जिल्लामा पर्छ। यो पत्रको उतार इतिहासकार भागवतनरसिंह प्रधानको सङ्कलनमा सुरक्षित छ।

यसबाट पनि त्यस बेला थरका रूपमा तामाङ शब्द फाट्टफुट्ट प्रयोग भएको प्रमाणित हुन्छ। तर अधिकांशमा मोहर र रुक्काहरूमा तामाङलाई जनाउँदा मुर्मि भोट्या भन्ने परेको देखिन्छ। 

तिब्बती भाषामा ‘तामाङ’ शब्दको अर्थ खुलाउँदा ‘ता’को अर्थ घोडा ‘माङ’को अर्थ व्यापारी वा धनी हुन्छ। उनीहरूलाई कतैकतै घोडचडी पनि भन्ने गरेको पाइन्छ।

भाषाशास्त्री अमृत योञ्जनको भनाइमा ‘ताम’ भनेको कुरा र ‘पाङ’ भनेको बोल्नु हो। ‘ताम’ र ‘पाङ’ मिलेर तामाङ भएको हो। यसको अर्थ कुराको पहल गर्ने वा भाषाको उत्पत्ति गर्ने भन्ने लाग्छ। यसैमा तामाङहरूले आफूलाई तामाङ भन्नु वा भनाउनुमा गौरव गरेको देखिन्छ।

निष्कर्ष

तामाङहरूले गौरव मान्ने यस्तो सामुदायिक र जातीय पहिचानका लागि उनीहरूले लामो सङ्घर्ष गर्नुपरेको छ। अनेकौँ राजनीतिक परिवर्तनहरू भए पनि उनीहरू अशिक्षा, गरिबी, अचेतना र अवसरविहीन सहेर बाँचिरहेका छन्। युगौँदेखि शोषण र सीमान्तीकरणको जाँतोमा पिसिएका उनीहरूको मूलप्रवाहीकरण आज पनि कल्पनातीतझैं लाग्छ। 

यसो हुनुमा उनीहरूमाथि राज्यबाट भएको विभेद नै मुख्य कारण हो। ऐतिहासिक भूलहरूप्रति राज्यले क्षमायाचना गर्नुपर्छ। योसँगै क्षतिपूर्तितर्फ पनि उत्तिकै इमानदार हुन जरुरी छ। 

राजकुमार दिक्पाल इतिहास अध्ययनमा रूची राख्ने लेखक हुन्। ...