
७ जनवरी २०२५। नयाँ दिल्लीमा कठ्याङ्ग्रिने चिसोमा पनि मलाई सिरकभित्र गुटमुटिने छुट थिएन। भारतको कूटनीतिक इतिहाससम्बन्धी दस्तावेजहरूका सङ्कलक तथा अध्येता अवतारसिंह भासिनले मलाई भेटका लागि इन्डिया इन्टरन्यासनल सेन्टरमा दिउँसो १२ बजे समय दिएका थिए। एक त इन्डिया इन्टरन्यासनल सेन्टरको पुस्तकालय स्रोत–साधनको हिसाबले भरिपूर्ण छ। अर्को त्यहाँ हरेक दिनजसो साहित्यिक वा सांस्कृतिक कार्यक्रमहरू भइरहेकै हुन्छन्। यसअघि नेपाल-भारतसम्बन्धी एउटा कार्यक्रममा म पनि त्यहाँ वक्ता भएर पुगेको थिएँ।
१२ बज्नुभन्दा केही मिनेटअघि नै इन्डियन इन्टरन्यासनल सेन्टरमा पुगेर भासिन सरलाई भेटेँ। मैले गरेको एउटा इमेल, त्यसको तत्कालै पाएको जवाफ, फोन नम्बर साटासाट अनि भेटघाट ! उनीसँगको पहिलो भेट नै अत्यन्त सहज लाग्यो।
दिल्लीबाट काठमाडौं फर्किएपछि पनि उनीसँग ह्वाट्सएपमार्फत पटक-पटक संक्षिप्त कुराकानीहरू भए। कहिले कुनै किताबबारे सोध्न त कहिले नेपाल-भारत सम्बन्धमा संलग्न रहेका व्यक्ति र घटनाबारे सोधखोज गर्न। सन् १९५९ मा प्रकाशित पत्रकार गिरिलाल जैनको इन्डिया मिट्स चाइन इन नेपाल किताबको समकालीन सान्दर्भिकता उनले बारम्बार दोहोर्याउँथे। त्यस्तै नेपाल-भारत सम्बन्धमा भोला चटर्जीको लेखलाई भारतीय विदेश मन्त्रालयले सन् १९७० को दशकमा कसरी ग्रहण गर्थ्यो भन्ने होस् वा उनको आफ्नै काठमाडौं बसाइ पनि वर्णन गरिरहन्थे।
सन् २०२६ को पहिलो दिनमा भएको अन्तिम संवाद भने निकै औपचारिक हुन पुग्यो। तर, त्यसको २५ दिनपछि एकै पटक उनको मृत्युको खबर पाउँदा भने झल्यास्स भएँ। उनको आकृति अनुहारमा आइरह्यो – अग्लो कद, फुलेका दाह्री र आँखीभुइँ, पन्जाबी फेटा, पेटभन्दामाथि बेल्ट लगाउने पाइन्ट, टलक्क टल्किने छालाका जुत्ता, गाडा इस्त्री गरिएका कपडा। उनको चियापानको शैली पनि सम्झिएँ। कालो चियाले भरिएको कपमा तीन-चार थोपा दूध हालेर खान्थे। चियाको रङका लागि मात्र उनी दूध प्रयोग गर्थे।
सात महिनाको दिल्ली बसाइमा उनीसँग बारम्बार अन्तरक्रिया गर्ने मौका मिल्यो। भेट हुने ठाउँ भने सधैं एउटै थियो, इन्डिया इन्टरन्यासनल सेन्टर। पटक-पटकको भेटमा मैले उनीबारे धेरै जानकारी पाएँ। खास गरी किताब पढ्ने र कम्प्युटरमा बस्ने उनको लगाव चकितै पार्ने खालको थियो। ८९ वर्षको उमेरमा पनि बिहानै इन्डिया इन्टरन्यासनल सेन्टर पुगेर पुस्तकालयमा घण्टौं बिताउँथे। कहिलेकाहीं त दुई-तीन दिन आईसीयुमा बसेर आएको भन्थे। लेखपढको त्यस्तो भोक थियो उनमा।

जून १९३५ मा जन्मिएका भासिन भारतको राष्ट्रिय अभिलेखालय र रक्षा मन्त्रालयमा सेवा गरेपछि सन् १९६३ मा विदेश मन्त्रालयमा प्रवेश गरे। त्यहाँ झन्डै तीन दशक सेवा गरी जून १९९३ मा विदेश मन्त्रालयअन्तर्गतको इतिहास विभागका निर्देशक पदबाट अवकाश लिए। सेवाकालीन दिनहरूमा उनले काठमाडौं, भियना, लाओस, बोनस्थित भारतीय दूतावासहरूमा पनि काम गरे।
अवकाशपछि भने उनले अधिकांश समय अनुसन्धान र प्रकाशनमा लगाएको देखिन्छ। भारतीय विदेश नीतिको बहुखण्डीय दस्तावेजको सङ्ग्रहबाहेक उनले नेहरू, तिब्बत एन्ड चाइना (२०२१) र नेगोसिएटिङ इन्डियाज ल्यान्डमार्क एग्रिमेन्ट्स (२०२४) जस्ता किताब पनि लेखे। भासिनसँग निकै नजिक दिल्ली विश्वविद्यालयका सह-प्राध्यापक राजीव रञ्जनका अनुसार उनको एउटा पुस्तक समीक्षाको क्रममा थियो भने अर्को किताब लेखनको योजना बनाइसकेका थिए। त्यस पुस्तकको नामसमेत भासिनले सोचिसकेका थिए – मेकिङ इन्डियाज इन्टरन्यासनलबाउन्ड्री।
भासिनसँगको हरेक भेटमा म एउटै प्रश्नको जवाफ खोजिरहन्थेँ– उनले भारतको विदेशनीतिको दस्तावेजीकरण गर्दा देखे, बुझेको नेपाल-भारत सम्बन्ध कस्तो हो?
“सब कुछ मेरे किताब मे है।” – उनले दिने जवाफ प्रायः यही हुन्थ्यो।
हुन पनि उनले तयार पारेका ती ठेलीहरूमा नेपाल-भारत सम्बन्धको इतिहास बताउने प्रशस्त दस्तावेज र घटनाक्रमहरू अभिलिखित छन्। भारतको परराष्ट्र सम्बन्धको दस्तावेजीकरण गर्ने क्रममा यो उनको पहिलो कृति थियो र पहिलो पटक दुई खण्डमा प्रकाशित थियो – नेपाल्स रिलेसन्स विद् इन्डिया एन्ड चाइना (सन् १९४७-९२)। त्यसलाई पछि अद्यावधिक गर्दै सन् २००५ सम्मका दस्तावेज समेटी पाँच खण्डमा रूपान्तरण गरियो। जसको नाम हो, नेपाल-इन्डिया, नेपाल-चाइना रिलेसन्स।
म सन् २०१० मा सङ्गम इन्स्टिच्युट फर पोलिसी एनालिसिस एन्ड स्ट्राटेजिक स्टडिजमा उपसम्पादकको रूपमा काम गर्दाका समयमा त्यस सङ्ग्रहसँग परिचित भएको थिएँ। त्यति बेला काठमाडौंमा उक्त सङ्ग्रहबारे दुईवटा हल्ला प्रचलित थिए। पहिलो, त्यो सङ्ग्रह दुर्लभ छ र सजिलै उपलब्ध हुँदैन। दोस्रो, भारतीय दूतावासबाटै उक्त पुस्तक उच्च मूल्यमा किन्न सकिन्छ। यस्तो हल्लाको यथार्थबारे निश्चित रूपमा केही भन्न त सकिन्न तर पछि काठमाडौंस्थित विभिन्न पुस्तकालयहरूमा ती ठेलीहरू फेला पारेपछि मैले आफैले पनि प्रयोग गरेँ।
भासिनसँगको भेटका क्रममा मैले उनी सूचना र ज्ञानको खुला पहुँचका दृढ समर्थक रहेको पाएँ। उनले ती सबै खण्डहरू निःशुल्क रूपमा अनलाइन उपलब्ध गराएका रहेछन्। रोचक त, उनले नेपालसँग सम्बन्धित मात्र नभई पाकिस्तान, श्रीलङ्का, चीन, बाङ्लादेशलगायतका देशहरूसँग भारतको सम्बन्धसम्बन्धी दस्तावेजहरूको बृहत् सङ्ग्रह गरेका रहेछन्।
उनको अर्को विशेषता हो, उनी प्रश्न सुन्न रुचाउँथे। एउटा प्रसङ्ग मेरा लागि स्मरणीय छ जुन भारतका पूर्वपरराष्ट्र सचिव त्रिलोकीनाथ कौलसँग सम्बन्धित छ। कौल बेइजिङमा भारतको चार्जे द अफेयर्स भएको बेला तिब्बतसम्बन्धी चीन-भारत सम्झौताका प्रमुख वार्ताकारहरूमध्ये एक रहँदा सन् १९५४ मा पञ्चशील सम्झौतामा हस्ताक्षर हुन निर्णायक भूमिका खेलेका थिए। सन् २०२१ मा प्रकाशित नेहरू, तिब्बत एन्ड चाइना मा भासिनले कौल एक चिनियाँ महिलासँग ‘हनिट्र्याप’मा परेको कारण उक्त सन्धिमा हस्ताक्षर हुन पुगेको आरोप लगाएका छन् (पृ. १५४)। त्यसो त भासिन उक्त आरोप लगाउने पहिलो व्यक्ति होइनन्। यो कथन चीन अध्ययन गर्ने भारतीय रणनीतिकार र अनुसन्धानकर्ताहरूका बीच निकै नै लोकप्रिय छ। उनीहरूले यसैलाई बारम्बार दोहोर्याउँदै आएका छन्।
कथनको सुरुवात भने सन् १९५४ को मार्च १३ मा मुख्य सचिव एनटी पिल्लईले कौलको निजी जीवनबारे प्रधानमन्त्री नेहरूलाई लेखेको चिट्ठीबाट हनिट्र्यापको कथन सुरु भएको देखिन्छ। अरू जस्तै म पनि यही भाष्यबाट प्रभावित थिएँ तर अध्ययनका क्रममा नयाँ तथ्यहरू फेला पारेँ।
नयाँ दिल्लीको जनपथस्थित भारतको राष्ट्रिय अभिलेखालयमा मैले त्रिलोकीनाथ कौलले सन् १९५२ मा तयार पारेको ‘तिब्बत पोलिसी, टप सेक्रेट नोट्स अन इन्डिया एन्ड चाइना अन तिब्बत’ (Tibet Policy, Top Secret Notes on India and China on Tibet) शीर्षकको तीन सय ६६ पृष्ठको वर्गीकृत प्रतिवेदन फेला पारेँ। उक्त प्रतिवेदनमा चिनियाँ गतिविधिहरूको सूक्ष्म अभिलेखीकरण गर्नुका साथै भारतका लागि सम्भावित नीतिगत विकल्पहरू विस्तृत रूपमा प्रस्तुत गरिएका छन्। यस गहिरो अध्ययनले कौलको पेशागत प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ। त्यसैले उनको निर्णयलाई व्यक्तिगत सम्बन्धबाट प्रभावित भएको दाबीसँग पत्याइहाल्न गाह्रो छ।
त्यस्तै, २५ जनवरी १९५२ मा परराष्ट्र मन्त्रालयमा पठाइएको ‘इन्स्ट्रक्सन्स फर द इन्डियन एम्बेसडर अन द सब्जेक्ट अफ् इन्डियन इन्ट्रेस्ट इन तिब्बत’ शीर्षकको ‘अति गोप्य’ तहको फाइलमा पनि कौलले चीनका लागि तत्कालीन भारतीय राजदूत के.एम.पणिक्करले पहिले नै प्रधानमन्त्री चाउ एनलाईलाई भारतले ‘चीनले अपनाएको समग्र नीतिको कदर गरेको’ र बाँकी मुद्दाहरू समाधान गर्न ‘वार्तालाई स्वागत गर्ने’ कुरा अवगत गराइसकेको उल्लेख गरेका छन्। कौलका अनुसार चाउ एनलाईले चीनले ‘तिब्बतमा भारतीय चासोलाई प्रत्येक सम्भव तरिकाले सुरक्षित राख्न चाहेको’ तथा सीमालाई स्थिर बनाउनु ‘भारत, नेपाल र चीनका लागि साझा हितको विषय’ भएको जोड दिएका थिए।

यसको अर्थ हो, कौल ‘हनिट्रयाप’मा पर्ने खालका भावुक पात्र होइनन्। उनी त एक सूचित वार्ताकार देखिन्छन् जसका विस्तृत विवरण र विश्लेषणले भारतलाई चीनसँगको वार्तामा रणनीतिक तयारी गर्न सक्षम बनाएको थियो। पछि उनैले १९५४ को सम्झौतालाई ‘अहिलेसम्म चिनियाँ सरकारले हस्ताक्षर गरेको सबैभन्दा छिटो सम्पन्न भएको सम्झौता’ भनेर व्याख्या गरेका छन्।
कौललाई लगाइएको आरोपले उनले उच्च तहमा गरिएका निर्णय र निर्देशन कसरी पालना गरेका थिए भन्ने तथ्यलाई ओझेलमा पार्छ। यस्ता दाबीहरू पूर्णतः अस्वीकार गर्न नसकिने भए तापनि त्यसलाई जोड दिएको प्रसङ्गले इतिहास लेखनमा जटिल रणनीतिक वार्तालाई व्यक्तिगत आचरणमा सीमित पार्ने प्रवृत्ति रहेको उजागर गर्छ। यस अर्थमा ‘हनिट्र्याप’ कथ्य घटनाको यथार्थ प्रतिबिम्बभन्दा पनि इतिहासलाई व्यक्तिगत र नैतिक रूपमा पुनर्व्याख्या गर्ने पश्चदृष्टिको एउटा उपकरण हुन सक्छ जसले पञ्चशील सम्झौतालाई आकार दिने संस्थागत कूटनीतिक र भू-राजनीतिक तर्कहरूलाई स्पष्ट पार्नुको साटो तिनलाई कमजोर बनाउँछ।
इन्डिया इन्टरनेसनल सेन्टरको रेस्टुरेन्टमा जब मैले भासिनलाई कौलबारे उनको दाबीलाई चुनौती दिने सामग्री आफूले भेटाएको बताएँ, उनले सहजै भने, “त्यसो भए तिमीले आफ्नो दृष्टिकोण सँगसँगै प्रमाण पनि प्रस्तुत गर्नुपर्छ।”
बहस र आलोचनात्मक संवादप्रति उनको सकारात्मक दृष्टिकोणले मलाई आश्वस्त बनायो। तर, कौलको प्रसङ्गले अभिलेखमा मात्रै आधारित अनुसन्धानका सीमालाई पनि उजागर गर्यो। यस्ता अनुसन्धान पूर्ण सत्यभन्दा पनि खास कागजातहरूको पहुँचमा सीमित रहन्छन्। ती कागजातहरू कुनै विशेष ऐतिहासिक समयमा उपलब्ध हुनु र कसका लागि लेखिएको हो भन्ने सन्दर्भमा निर्भर रहनुले पनि एउटा प्रश्न उठाउँछ – इतिहासका घटनाहरू स्वयं शक्तिशाली हुन् कि तिनलाई समय र सत्ताअनुरूप वर्णन गर्ने इतिहासकारहरू नै बढी प्रभावशाली हुन्छन्?
सन् १९५० को दशकमा कौलले चीन-भारत सम्बन्धमा तयार पारेका सामग्रीहरू ओझेलमा पर्न सक्छन् तर भासिनले समकालीन पाठकका लागि प्रस्तुत गरेका व्याख्याहरूले वर्तमानमा नयाँ अधिकार प्राप्त भने गर्लान्। तसर्थ भासिनप्रतिको वास्तविक श्रद्धाञ्जली भनेको उनी एउटा कूटनीतिक सम्बन्धका इतिहासकार थिए भन्ने स्वीकार गर्नु मात्र होइन, उनले आत्मसात् गरेको बौद्धिक नैतिकताको पहिचान गर्नु पनि हो। अर्थात् अभिलेखहरू अन्तिम सत्य होइनन्, बरु संवाद सुरु गर्ने माध्यम हुन् जहाँ प्रमाणको भूमिका भनेको असहमति जनाउन मात्र नभई इतिहासको पुनर्व्याख्याका लागि ढोका खोल्ने सम्भावना भइरहन्छ।
नेपालीले आफैँ नगरेको संग्रह पनि गरिदिएर नेपाल-भारत तथा नेपाल-चीन सम्बन्धको अध्ययनमा आवश्यक सामग्री जुटाइदिएकोमा हामी भासिनप्रति सदा आभारी रहनेछौँ।
गौरव भट्टराई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति अध्यापन गर्छन् । उनका Nepal Between China and India: Difficulty of Being Neutral र Nepal’s Power Elites: Rajahs, Ranas and Republic गरी दुई पुस्तक प्रकाशित छन्। ...
गौरव भट्टराई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति अध्यापन गर्छन् । उनका Nepal Between China and India: Difficulty of Being Neutral र Nepal’s Power Elites: Rajahs, Ranas and Republic गरी दुई पुस्तक प्रकाशित छन्।