
संवत् २०४० सालको पिस्कर काण्डबारे अध्ययन गर्दा मैले दोलखा र सिन्धुपाल्चोक जिल्लाका थामीहरू बसोबास गर्ने क्षेत्रका माओवादी लडाकू, पूर्वमाओवादी र उनीहरूप्रति सहानुभूति राख्ने गाउँलेहरूसँग कुराकानी गरेको थिएँ। मलाई के लागेको छ भने राजनीतिका वास्तविक आधार बुझ्न यी किसिमका कुरा बुझ्नु आवश्यक हुन्छ।
माओवादी लडाकूहरूमा राजनीतिक चेतना कसरी जाग्यो भनी सोध्दा उनीहरूले ‘पिस्कर हत्याकाण्ड’ भनी छोटो जवाफ दिए।सिन्धुपाल्चोकको पिस्करमा एउटा मेलामा प्रहरीले सात जना गाउँले मारिएका थिए भने थुप्रै घाइते भएका थिए।त्यसपछि थुप्रैलाई पक्राउ गरिएको थियो।त्यसैले त्यस वरपरका बासिन्दाहरूमा राजनैतिक चेतना जाग्न र माओवादीको प्रभाव फैलनमा पिस्कर हत्याकाण्डको पनि भूमिका रह्यो। पिस्कर काण्डले गर्दा नै माओवादीप्रति स्थानीय जनताको सहानुभूति बढ्यो भनेर चाहिँ म भन्न चाहन्न। मलाई के लाग्छ भने यस्ता घटनाबाट मानिसमा राजनीतिक चेतना बढाउने जस्ता सकारात्मक परिणाम निस्कन्छन्। माओवादीले विद्रोह सुरु गरेको रोल्पामा भएका अपरेसन रोमियो (२०५२) र किलोसेरा (२०५५) जस्ता घटनाहरूबाट माओवादी विद्रोह झन् चर्कियो भन्ने भनाइ पनि छ। तर विद्रोह चर्कनमा यी कारणहरू मात्र जिम्मेवार थिएनन्।
निको प्रगतिशील थामी समाज, थामी भाषा तथा सांस्कृतिक उत्थान केन्द्र र एम्नेस्टी इन्टरनेसनलका प्रकाशनहरूमा उल्लेख भएअनुसार पिस्कर काण्डको घटना विवरण यसप्रकार छ।
संवत् २०४० सालको माघे सङ्क्रान्तिका दिन पिस्कर वरपरका झन्डै दुई हजारजति गाउँलेहरू स्थानीय महादेवस्थान मन्दिरमा भेला भएका थिए। उनीहरू माघे सङ्क्रान्तिका दिन वर्षेपिच्छे लाग्ने जात्रा मनाउनका लागि त्यहाँ आएका थिए। जात्रामा उनीहरूले केही गीतहरू (प्यारोडी गीतसमेत) गाएका थिए। ती गीतहरूमा स्थानीय जमिनदारहरूको विरोध गर्दै गरिबहरूलाई सम्मान गर्न आग्रह गरिएको थियो।
स्थानीय प्रहरीचौकीका प्रहरीले प्रमुख जिल्ला अधिकारी, डि.एस.पी. र स्थानीय जमिनदार देवीजङ्ग पाण्डेको सहयोगमा मेलालाई घेरा हालेर गाउँलेमाथि जथाभाबी गोली प्रहार गरे। वीरबहादुर थामी र इले थामी घटनास्थलमै मारिए। उनीहरूलाई तुरुन्तै ‘शहीद’ घोषणा गरियो। त्यसको लगत्तै अरू पाँच जना गाउँलेहरू पनि मारिए भने १५ जना गम्भीर रूपमा घाइते पनि भए। जात्राका दिन जात्रामा भाग लिएको निहुमा कैयौँ मानिसहरूलाई पक्राउ गरियो। तीमध्ये धेरै जनालाई तीन वर्षसम्म मुद्दा नचलाईकनै थुनामा राखियो। केही समयपछि स्थानीय बासिन्दाहरूले यस घटनाको विरोधमा लोकबहादुर चन्दको सरकारसमक्ष उजुरी दर्ता गरे। त्यति बेला सरकारले पीडितलाई क्षतिपूर्ति दिने वाचा गरे पनि त्यसको कहिल्यै कार्यान्वयन भएन।
स्वतःस्फूर्त र सचेत नेतृत्व
नेपालमा राजनीतिक चाहनाको अभिव्यक्तिका लागि सांस्कृतिक र धार्मिक कार्यक्रमको उपयोग गर्ने संस्कार लामो समयदेखि चलेको कुरा मानवशास्त्रीय दृष्टिबाट देख्न सकिन्छ। राजनैतिक चेतना जगाउन पनि यस्ता सञ्चहरूको प्रयोग गर्ने गरिन्छ। केही समाजशास्त्रीहरूले परम्परागतसंस्कार र विद्रोह एकआपसमा नमिल्ने कुरा हुन् भने पनि पिस्करमा त्यस्तो देखिँदैन।
एम्नेस्टी र इन्सेकले तयार पारेको रिपोर्टमा भनिएअनुसार पिस्कर जात्रालाई बाहिरिया तत्त्वहरूले राजनैतिक रङ दिएका थिए। एम्नेस्टीको रिपोर्टमा भनिएको छ, “पिस्कर क्षेत्रमा केही समयदेखि एउटा उग्रवादी समूहले स्थानीय जमिनदारहरूको मानमर्दन गरेको कुराबाट स्थानीय अधिकारीहरू चिन्तित थिए।” थामी लेखकहरूका अनुसार यो जात्रामा स्थानीय बासिन्दाहरूको लामो समयदेखि पीडाले विद्रोहको रूप लिएको थियो। उनीहरूका अनुसार त्यस क्षेत्रका मानिसहरूको ‘शासक’ विरुद्धको असन्तोष २०३७ सालपछि द्रुतगतिमा फैलियो। शोषित–पीडित समुदाय आफ्ना मूलभूत अधिकारप्रति सचेत भए। पिस्कर जात्रा र त्यहाँको राजनीतिक चेतना स्थानीय बासिन्दाको स्वतःस्फूर्त विद्रोह र सचेत नेतृत्वबीचको सहकार्यको एउटा उदाहरण हो।
थामी समुदायका मानिसहरू ठूला जमिनदारहरूले आफ्नो शोषण गरेको महसुस गर्छन्। त्यसैले उनीहरूका गीत, कविता, कथा आदिमा यस्तो हेपाइको पीडाको अभिव्यक्तिका साथै न्यायको माग गरिएको हुन्छ। पिस्करकै तथ्याङ्क उपलब्ध नभए पनि छिमेकी गाउँको भू-स्वामित्वको तथ्याङ्क हेर्दा उनीहरूको पीडा सही देखिन्छ। नब्बे प्रतिशत जनसङ्ख्या भएको दोलखाजिल्लाको आलम्पु गाविसका थामीहरूमध्ये ७५ प्रतिशतसँग प्रतिपरिवार पाँच रोपनीभन्दा कम मात्र जमिन छ। कुनै थामीको पनि बीस रोपनीभन्दा बढी जमिन छैन।यहाँ बाहुन-छेत्री बसोबास गर्ने त्यति धेरै भएका छैन।यसरी बाहिरबाट आएका बाहुन-छेत्रीहरूले थामीहरूलाई चर्को ब्याजको ऋणमा फसाएर उनीहरूको जमिन कब्जा गरेकाले थामीहरूमा बाहुन-छेत्रीप्रति असन्तुष्टि अझ बढेको छ।
पिस्कर हत्याकाण्डभन्दा अगाडि नै यहाँ तनाव व्याप्त थियो।स्थानीय ठालुहरूको शोषणबाटपिल्सेका त्यहाँका बासिन्दाहरूका चाहना र कम्युनिस्ट पार्टीका सदस्यहरूले उठाएका माग मिल्दाजुल्दा थिए। गाउँका केही पढेलेखेका ठूलाबडाहरू आफैले सिकेका तर थामीहरूले नजानेका कम्युनिस्ट विचारधाराका साथ गाउँ फर्के। उनीहरूले उठाएका मागहरू विशेष गरी भूमिसुधार र राजनैतिक अधिकारले थामीहरूलाई आकर्षित गर्यो। यस सम्बन्धमा लेखिएका लेखहरूका अनुसार पिस्कर गाउँमा अमृत बोहरा र माधव पौडेल जस्ता ‘माथिल्लो जाति’का व्यक्तिहरूले स्थानीय किसानहरूलाई भूमिगत रूपमा रातभर एउटा कोठामा मैनबत्तीको उज्यालोमा कम्युनिस्ट सिद्धान्तबारे बताएका थिए। त्यसपछि केही थामीहरूमा कम्युनिस्ट पार्टीसँग सहकार्य गर्दा आफ्नो पनि स्वार्थ पूरा हुने रहेछ भन्ने भावना जाग्यो।

राज्यको हैकमवादसँग प्रतिस्पर्धी
पिस्कर काण्ड भएको १५ वर्षपछि माओवादीहरू त्यहाँ पुग्दा स्थानीय बासिन्दा र माओवादीबीच माथिका सवालमा सहमति थियो। प्रजातान्त्रिक पद्धतिका माध्यमबाट पाउनुपर्ने अधिकार उपभोग गर्न नपाउँदा गाउँलेहरू निराश थिए र उनीहरूले आफू उपेक्षित भएको महसुस गरेका थिए। त्यस भेगका धेरै बासिन्दाहरूलाई पुराना कम्युनिस्ट नेताहरूभन्दा माओवादीहरूको कुरा मन पर्यो।
एक जना स्थानीय व्यक्तिका शब्दमा त्यहाँको अवस्था यस्तो थियो :
सहर र जिल्ला सदरमुकाममा बस्ने र ठूलो स्वरमा बोल्न सक्ने मानिसहरूका लागि मात्र प्रजातन्त्र आयो। गाउँ र दुर्गम क्षेत्रमा बस्ने मानिसहरूलाई प्रजातन्त्र भनेको के हो थाहा भएन। उनीहरूले थाहा पाऊन् पनि कसरी!प्रजातन्त्र पुनःस्थापनाको लडाइँ काठमाडौँबाट सुरु भएर गाउँमा गएको थियो। त्यसको ठीक उल्टो माओवादीको आन्दोलन भने गाउँबाट सुरु भयो।
यस भनाइबाट राज्यसत्तामाथि कसको प्रभुत्व रहने भन्नेबारेमा राज्य र माओवादीको विपरीत धारणा छ भन्ने प्रस्ट हुन्छ। राज्यले पिस्करका बासिन्दाहरूको चाहना र आवश्यकता बुझ्न सकेन भन्ने महसुस भयो। यसको ठीक विपरीत माओवादीहरूले उनीहरूको समस्याप्रति चासो र सहानुभूति राखे। यसले के कुरा देखाउँछ भने राज्य वा माओवादी जुनसुकै पक्ष होऊन् जनताको समस्या समाधानका लागि तत्परता देखाउने पक्षले स्थानीय जनताको समर्थन पाउँछ र केन्द्रीय नेतृत्वसम्म प्रभाव फैलाउँछ।
पिस्कर काण्डका बारेमा राजनीतिक रूपले मध्यमार्गी थामी सांस्कृतिक समितिद्वारा पिस्कर घटनाबारे उल्लेख गरिएको छ। यस काण्डमा मारिएका दुई जना थामीहरूलाई देशमा प्रजातन्त्र स्थापना गर्नका लागि ज्यान अर्पण गरेका बहादुर भनिएको छ। लेखको अन्त्यमा सरकारले देशका लागि जीवन अर्पण गरेका मानिसहरूको योगदानको कदर नगरेको भनी असन्तुष्टि व्यक्त गरिएको छ। शहीद वीरबहादुरबारे लेखमा यसो भनिएको छ – विचरा गाउँको केटाले शत्रुसँग बहादुरीका साथ लडेर सच्चा राष्ट्रवादी बनेर आफ्नो ज्यान गर्वका साथ देशलाई अर्पे।
लेखको अन्त्यमा प्रश्न सोधिएको छ – प्रजातन्त्रका लागि आफ्नो जीवन बलिदान दिने ती महान् व्यक्तिहरूको नाम शहीदहरूको पङ्क्तिमा नराखिनु अपमान होइन ? उनीहरूले गाउँलेको जीवनमा सुधार ल्याउँछ भनेर प्रजातन्त्रको पक्षमा लडेका थिए। तर प्रजातन्त्रको स्थापनाका लागि लडेका गाउँलेहरूका समस्यालाई प्रजातन्त्रले बेवास्ता गर्छ भने उनीहरू वैकल्पिक उपाय रोज्न स्वतन्त्र हुन्छन्।
अर्को अझ उग्र थामी प्रकाशनले १९९७ मा छापेको थियो – “पिस्करमा मारिएका शहीदहरूको इच्छा पञ्चायती व्यवस्थाका ठाउँमा बहुदलीय व्यवस्था स्थापना गर्नु थियो ? यस्तो भए किन अझै पनि पुरानै शासकले जस्तो जनताको खुन चुसिरहेका छन् ? वास्तवमा यो गलत कुरा हो। त्यसैले जनताको हकहितका लागि आगामी दिनमा पिस्करका जनताको रगत फेरि बग्नेछ। ”पिस्करवासीहरूका अनुसार उनीहरूले २०४० सालमै आफ्ना गाउँहरू गुमाएर राष्ट्रका लागि ठूलो त्याग गरिसकेका छन्। शहीदको त्यागलाई राष्ट्रले उपहास गर्छ भने त्यसका विरुद्ध आफ्नो जीवन बलिदान गर्न उनीहरू फेरि तयार हुन्छन्। स्थानीय जनताको यसै संवेदनशीलताको फाइदा उठाउँदै माओवादीहरूले जनताको त्यागको सम्मान गर्ने र त्यहाँका बासिन्दाको आवश्यकता पूरा गर्ने वाचा गरे र उनीहरूलाई उपयोग गरे।
स्थानीय जनतामा बढ्दो राजनैतिक चेतनाविरुद्ध सरकारले चलाएको दमन अभियानबाट उसैलाई नोक्सानी पुगेको एउटा उदाहरण हो ‘पिस्कर काण्ड’। यस काण्डले जनताको चेतना अझै बढायो ।सात जनाको मृत्यु भएको, १५ जना घाइते भएको र सरकारले धरपकड गर्ने र बेपत्ता पार्ने काम गरेकाले यस घटनाबाट त्यस क्षेत्रका सम्पूर्ण जनता मारमा परे। उक्त जात्रामा उपस्थित मात्र भएका सयौँ गाउँलेहरूलाई सरकारले कम्युनिस्ट भएको शङ्कामा पक्राउ गर्यो र तीमध्ये कतिपयलाई तीन वर्षसम्म जेलमा राख्यो।पक्राउ परेकाहरूको पारिवारिक स्थिति खस्कियो।
गाउँलेहरूका अनुसार जेलबाट फर्केका मानिसहरूले वर्गसङ्घर्षबारे धेरै जानकारी लिएर आए। उनीहरूले त्यस क्षेत्रमा कम्युनिस्ट विचारधारा फैलाउनमा सहयोग पुर्याए । यसरी पिस्कर हत्याकाण्ड राजनीतिक चेतना बढाउने माध्यम बन्यो जसलाई पछि माओवादीहरूले उपयोग गरे।

व्यावहारिक सिद्धान्तको तागत
संवत् २०५७ सालसम्म पिस्कर माओवादीहरूको आधार इलाकाको रूपमा रहेको थियो। त्यो कुरा देखाउन उनीहरूले विदेशी संवाददाताहरूलाई यहाँ लगेका थिए। गाउँमा राजनीतिक चेतना पहिले नै जागिसकेको थियो । माओवादीहरू यहाँ पुग्दा उनीहरूको विचारधारा र गाउँलेहरूको चाहना एकआपसमा मिल्दाजुल्दा थिए ।
यहाँ मैले व्यावहारिक सिद्धान्तसम्बन्धी ग्राम्स्कीको विचारलाई छलफलको आधार बनाएको छु। यहाँ व्यावहारिक सिद्धान्त भन्नाले मैले उनीहरूले गाउँलेहरूका दैनिक जीवनसँग सम्बन्धित विषयमा गरेका ठोस आर्थिक सुधारलाई भनेकी हुँ। यस्तो विचार सैद्धान्तिक विचारधाराको सहायक हो। यसमा वर्गसङ्घर्षका विचार र क्रान्ति दुवैलाई समेटिएको हुन्छ। यस्ता खालका आन्दोलनमा यी दुवै सिद्धान्त वा विचारबीच तालमेल हुनुपर्ने र एउटाले अर्कालाई सघाउनुपर्ने कुरामा अन्य समाजशास्त्रीले पनि जोड दिएका छन्।
माओवादीप्रति सहानुभूति राख्ने स्थानीय गाउँलेहरूलाई आन्दोलनको लक्ष्य अनि अन्तर्राष्ट्रिय र ऐतिहासिक तथा त्यसभित्रको राजनैतिक जटिलताका बारेमा थाहा नहुन सक्छ। तर उनीहरू माओवादीले उठाएका भूमिसुधार, शोषक जमिनदारहरूमाथि कारबाही, प्रहरीलाई लखेट्ने तथा राजनैतिक शक्ति पूर्ण रूपमा आफ्नो हातमा लिने जस्ता नाराहरूबाट आकर्षित भएका थिए। माओवादी विचारधाराका बारेमा केही माओवादी लडाकू अनभिज्ञ छन्, उनीहरू कि त डरले कि त भावी सानको लोभले यसमा लागेको हुन भन्ने तर्क छ।२०४० सालमा पनि ती गाउँलेहरूले प्रजातन्त्रलाई यस्तै किसिमले बुझेका थिए,तर केही वर्षपछि उक्त व्यवस्थाले उनीहरूको चाहना पूरा गर्न नसकेको थाहा पाए।
पार्टीगत गुटबन्दीयुक्त राजनीति र खोक्रो आश्वासनबाट वाक्क भएका धेरै मानिसलाई माओवादीको उद्देश्य सही र अर्थपूर्ण लाग्यो। माओवादीमा नलागी घरै बसेर हासिल गर्न सकिने केही थिएन र माओवादी बन्दा धेरै घाटा पनि लाग्दैनथ्यो।
मैले कुराकानी गरेका स्थानीय मानिसका विचारमा आफ्ना अघिल्ला प्रयोगहरू असफल भइसकेका थिए।उनीहरूले माओवादीलाई पनि एउटा अर्को प्रयोगका रूपमा लिए। माओवादीहरूले आफ्ना उल्लेखित लक्ष्यहरू पूरा गरेनन् भने उनीहरूले तुरुन्तै माओवादी छोड्छन्। केहीले छोडिसकेको घटना पनि छन्। यसले माओवादी आन्दोलनमा लागेकाहरू केही कुरा बुझेर नै लागेका छन् भन्ने देखाउँछ । आफूले भत्काउन चाहेको वर्गीय संरचना माओवादीभित्र पनि कायम रहेको थाहा पाएपछि माओवादी छोडेर हिँडेका पनि छन्।
निष्कर्ष
व्यावहारिक सिद्धान्तले लामो समयसम्म पनि नेपाली समाजमा समतामूलक ढाँचा स्थापना गर्न सकेन। पिस्करवासीहरूको प्रजातन्त्रप्रति जस्तै माओवादीप्रति पनि ढिलो–चाँडो असन्तुष्टि बढ्न थाल्नेछ। एक जना पूर्वमाओवादीका अनुसार त्यहाँभित्र यस्ता घटना घट्न थालिसकेका छन्।
राजनीतिबारे स्थानीय मानिसमा जागृत चेतनालाई राष्ट्रिय हितका पक्षमा माओवादीले भन्दा फरक ढङ्गले उपयोग गर्न सकिन्छ। नेपालका गाउँहरूमा पहिलेदेखि आफ्नो प्रभाव कायम राखेका शक्तिहरूको भन्दा माओवादीहरूको प्रभाव किन विस्तार भयो भन्ने कुरा नजिकबाट हेर्नुपर्छ।
विकासका लागि समुदायको सहभागिताको कुरामा लगातार जोड दिइए पनि स्थानीय स्तरमा काम गरिरहेका व्यक्तिहरूलाई स्थानीय स्तरमै सीमित गरियो। उनीहरूलाई स्थानीय स्तरमा काम गर्ने राष्ट्रिय स्तरको सहभागी ठानिनुपथ्यो। जनजातिका सम्बन्धमा पनि यही कुरा लागू हुन्छ। संवत् २०४६ सालपछि राजनीतिमा हाबी रहेका जनजातिको एजेन्डा पनि त्यसभन्दा माथि अर्थात् जनजातिभन्दा माथि उठ्न सकेन। कुनै एक जातिभन्दा माथि उठेर राष्ट्रिय हितमा काम गर्नुपर्थ्यो।
धेरै रिपोर्ट र लेखहरूमा माओवादीले जनजातिको एजेन्डालाई मानेको कुरा उल्लेख गरेका छन्। माओवादीले त्यसो गर्नुको पछाडि ती एजेन्डालाई राष्ट्रिय राजनीतिको माध्यमका रूपमा यसलाई लिनु हो। उनीहरूले आफ्ना कार्यकर्ताहरूलाई राष्ट्रिय राजनीतिमा समाहित गराएका छन् भन्ने मलाई लाग्छ। छोटकरीमा भन्ने हो भने राजनीतिक चेतना वा विषयवस्तुलाई विकासवादी वा जातीय दायराभन्दा माथि उठेर हेर्नुपर्छ।
वर्ग, जात, जाति जस्ता समुदायका हरेक क्षेत्रमा राम्रो पकड भएका स्थानीय व्यक्तिहरूलाई समान रूपमा सहभागी गराई मूलधारमा ल्याउनुपर्छ। नेपालमा समाज निर्माण गर्ने मुख्य तत्त्वका रूपमा सामूहिक प्रयासलाई लिइन्छ जबकि हरेक व्यक्तिमा हुनैपर्ने राजनीतिक चेतनाको विकास गर्ने कुरालाई बेवास्ता गरिन्छ।
राष्ट्रको विकासको मूल साँचो
अमेरिकाका शिक्षण संस्थाका मानवशास्त्री अर्जुन अप्पादुराईका अनुसार राष्ट्र निर्माणका लागि खास गरी विकासशील मुलुकका हरेक व्यक्तिमा महत्त्वाकाङ्क्षी भावना विकास गर्नुपर्छ। यो महत्त्वाकाङ्क्षी भावना नै राजनीतिक चेतना बढाउने मुख्य कुरा हो र यसले हरेक व्यक्तिलाई आफ्नो भूमिकाका लागि सक्रिय गराउँछ।उनका अनुसार महत्त्वाकाङ्क्षी भावना प्रजातान्त्रिक प्रक्रियामा नभई नहुने पक्ष हो। तर माओवादी आन्दोलनमा यस्ता महत्त्वाकाङ्क्षालाई नकारात्मक रूपमा प्रयोग भएको सम्बन्धमा उनको भनाइ थियो – उनीहरूका कामको पश्चात्ताप गर्नुको साटो अरू ऐतिहासिक उपलब्धिहरूलाई प्रयोग गर्नुपर्छ।
उनको कुरामा सहमत हुँदै म के सुझाव दिन चाहन्छु भने विद्यमान सङ्कट समाधान गर्न राज्यले उपयुक्त कदम चाल्नुपर्छ। माओवादीहरू स्थानीय स्तरका मानिसमा भएको राजनीतिक जागरणलाई माध्यम बनाएर राष्ट्रिय स्तरसम्म पुऱ्याउन कसरी सफल भए भन्ने कुरा हेर्दै त्यस्तै खालका रणनीति राष्ट्रले पनि अपनाउनुपर्छ।
४२ वर्षअघि आजकै दिन ३० पुस २०४०मा सिन्धुपाल्चोकमा भएको पिस्कर काण्डको स्मृतिमा प्रकाशित यो लेख हामीले २०६१ सालमा सोसल साइन्स बहा:द्वारा प्रकाशित पुस्तक समावेशी लोकतन्त्रका आधारहरू (सम्पादन: मोहन मैनाली)बाट साभार गरेका हौं।
कर्नेल विश्वविद्यालयबाट विद्यावारिधि गरेकी सेरा स्नाइडरमेन युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया (युबीसी) की मानवशास्त्र विभाग र स्कुल अफ पब्लिक पोलिसी एन्ड ग्लोबल अफेयर्स इन्स्टिच्युट अफ एसियन रिसर्चकी सहायक प्राध्यापक हुन्। ...
कर्नेल विश्वविद्यालयबाट विद्यावारिधि गरेकी सेरा स्नाइडरमेन युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया (युबीसी) की मानवशास्त्र विभाग र स्कुल अफ पब्लिक पोलिसी एन्ड ग्लोबल अफेयर्स इन्स्टिच्युट अफ एसियन रिसर्चकी सहायक प्राध्यापक हुन्। नेपाल, भारत र चीनको तिब्बतमा क्षेत्रमा अनुसन्धानरत् उनको लेखनमा रिचुअल्स अफ एथ्निसिटी: थाङमी आइडेन्टिटिज विट्विन नेपाल एन्ड इन्डिया र सहसम्पादनमा दार्जीलिङ रिकन्सिडर्ड: हिस्ट्रिज पोलिटिक्स इन्भारोमेन्ट्स पुस्तक पनि प्रकाशित छ।