पुरुषको ऋग्वेद

हिन्दू ज्ञान परम्पराको आदिग्रन्थ मानिने ऋग्वेद महिलाद्वेषी छ।

ऋग्वेद हिन्दू धर्मको पहिलो पुस्तक मानिन्छ। ऋग्वेद १० वटा मण्डलमा विभाजित छ, जसमा प्रत्येकमा औसतमा १०० वटा सूक्त अर्थात् कविता रहेका छन्। हरेक सूक्तका रचयिताको नाम संहितामा उल्लेख गरिएका छन्, जसमध्ये अधिकांश पुरुष छन्। अधिकांश सूक्तमा इन्द्र, अग्नि जस्ता देवताको स्तुति गरिएको छ। ऋग्वेदका प्रमुख विषयहरूमा भजन, सृष्टिकथा, युद्ध, यज्ञ, सोमरस र सोमपान, मृत्यु, वाणी, प्रकृति, पानी, आदि पर्दछन्।

सामान्य बुझाइमा ऋग्वेदलाई सम्पूर्ण ज्ञानको भण्डार, अपौरुषेय अर्थात् स्वतः सिद्ध सत्यको अर्थमा बुझिन्छ। एक महिलाको दृष्टिकोणबाट ऋग्वेद पढिसक्दाका मेरा सीमित बुझाइ यहाँ प्रस्तुत छन्।

मातृसत्ताको अवशेष 

ऋग्वेदमा महिलाको उपस्थिति कमै छ। रचयितासँगै अधिकांश पात्र पनि पुरुष छन्। यति हुँदाहुँदै पनि ऋग्वेदमा केही महिला रचनाकार र पात्रले छाप छोड्न भने सफल भएका छन्।

समाजमा पितृसत्ताअघि मातृसत्ता थियो भन्ने कुरा ऋग्वेदमा भेटिएका केही अवशेषले देखाउँछन्। संसारका धेरै सभ्यताको आदिकालमा रहेको मातृसत्ताका केही चरित्र हुन् – राजा अस्थायी र रानी स्थायी हुनु, देवीको पूजा गरिनु, रजस्वलाको पूजा गरिनु, महिलाले बहुपति विवाह गर्नु, विवाह नगरेरै धेरै पुरुषसँग संसर्ग गर्नु। यीमध्ये केही प्रचलनको अवशेष मात्र होइन पुरुषले यस्तो मातृसत्ता अन्त्य गरेको कथाको जरा पनि ऋग्वेदमा पाइन्छ।

ऋग्वेदमा विभिन्न देवीको पूजा गरिन्छ। तीमध्ये विद्याकी देवी सरस्वती प्रमुख छिन्। सरस्वतीकै समानान्तर रूपमा वा विद्या/वचनका देवीका रूपमा भारती, वाक् र इलादेवी भेटिन्छन्। त्रिदेवीमध्येका लक्ष्मी र दुर्गा ऋग्वेदमा देखा पर्दैनन् (तर अलक्ष्मी छिन्, जसलाई दुत्कारिन्छ)। ऋग्वेदका नारी चरित्र पुस्तकमा मदनमणि दीक्षित लेख्छन, “दुर्गा र काली ऋग्वेदभन्दा पनि प्राचीन तर रैथाने भारतीय देवीहरू हुन्।” दक्षिण एसियाका रैथाने अनार्य जातिका यी देवी पछि आर्य परम्परामा मिसिएको दीक्षित बताउँछन्।

सूर्यको किरण बनेर बिहान देखापर्ने उषादेवी ऋग्वेदकी प्रमुख देवी हुन्। रात्रीकी देवी निशा, वनदेवी, इन्द्राणी, आदि अरू देवीको पनि यदाकदा उल्लेख पाइन्छ।

वागाम्भृणी देवीको आराधना गरिएको सूक्तलाई ऋग्वेदमा देवी सूक्त भनेर चिनिन्छ, जसमा हालसम्म पनि हिन्दू समाजमा कायम देवीको स्तुति गर्ने परम्परा पाइन्छ। ऋग्वेदको दशौं मण्डलको १२५औं सूक्तको अंश (तिलकप्रसाद लुइँटेलको नेपाली अनुवादबाट):

प्राणीमा हुने जीवनशक्ति, दर्शनक्षमता र अन्न भोग गर्ने सामर्थ्य वाग्देवीकै सहयोगले प्राप्त हुन्छन्। मेरो सामर्थ्य नजान्नेहरू विनाश हुन्छन्। हे बुद्धिमान् मित्र हो! तिमीहरू ध्यान देओ, मैले भनेको कुरा श्रद्धाको विषय हो।

जगत्‌का सर्वोच्च स्थानको दिव्यलोक मैले नै प्रकट गरेको हुँ। मेरो उत्पत्तिस्थल विराट् आकाशका अपतत्त्वमा छ। उसै स्थानबाट सम्पूर्ण विश्वमा म व्याप्त हुन्छु। महान् अन्तरिक्षलाई मैले नै आफ्ना उन्नत देशले स्पर्श गरेकी छु।

समस्त लोक बनाएर म वायु जस्तै सबै ठाउँमा विचरण गर्दछु। मेरो महिमा स्वर्गलोक र पृथ्वीभन्दा पनि महान् छ।

“यो वागाम्भृणी सूक्त सबैभन्दा पृथक, श्लाघनीय तथा विश्व साहित्यमा समेत उच्चताको नयाँ शिखरमा पुगे जस्तो म देख्छु”, दीक्षित लेख्छन्।

इन्द्राणी अर्थात् इन्द्रकी पत्नीलाई शची वा पौलोमी (पुलोमा दानवकी छोरी) भनेर पनि चिनिन्छ। इन्द्राणी ऋग्वेदकी प्रमुख नारी हुन्। कतै उनी पतिसँग झगडा गर्छिन्, कतै पतिको सामर्थ्यको बखान गर्छिन्, त कतै सौतामाथि विजय प्राप्त गरेर खुसी हुन्छिन्। एक ठाउँमा उनी आफू ऋग्वेदका नायक इन्द्रकी पनि स्वामिनी भएको बताउँछिन्। ऋग्वेदको दशौं मण्डलको १५९औं सूक्तको अंश (एचएच विल्सनको अङ्ग्रेजी अनुवादबाट):

म नै ध्वजा हुँ। म नै शिर हुँ। अति विशिष्ट भएर म मेरा पतिलाई मनाउँछु। मेरा पतिले पनि मैले भने जस्तो गर्छन्। म सबै प्रतिद्वन्द्वीमाथि विजय प्राप्त गर्छु।

मेरा पुत्र शत्रु नाश गर्न सक्ने छन् र मेरी पुत्री साम्राज्ञी छे। म सबैमाथि विजय प्राप्त गर्छु। पति पनि मेरो यशको सराहना गर्छन्।

इन्द्राणीले यहाँ आफूलाई ध्वजा र शिर भनेर आफू कुनै समुदायको प्रमुख भएको बताएको अध्येताले बताएका छन्, अर्थात् यो अभिव्यक्तिले मातृसत्ताको सङ्केत गर्दछ। “नारी प्रधानताको अवशेषबारे ऋग्वेदमा यही एउटा सूक्तले प्रष्ट चर्चा गरेको हामी पाउँदछौं ऋग्वैदिक नारी चरित्र मा दीक्षित भन्छन्।

ऋग्वेदबाहेक अरू शास्त्रका केही कथाले पनि इन्द्रको तुलनामा इन्द्राणीको श्रेष्ठता इङ्गित गर्दछन्। विभिन्न कथामा कोही मानवले तप गरेर शक्ति बढाउन थालेमा इन्द्रको सिंहासन हल्लिएको पाइन्छ। राजाको शक्ति क्षीण हुँदै गएमा राजा फेर्ने तर रानी उही रहने प्राचीन मातृसत्ताको प्रचलनमा यी कथा देखिन्छन्।

महाभारतको एउटा कथामा इन्द्रको पतन भएको अवस्थामा देवताहरूले मानव राजा नहुषलाई स्वर्गको राजा बनाउँछन्, जसले रानी शचीलाई अपनाउन खोज्छन्। अर्थात, सर्वश्रेष्ठ पुरुष इन्द्र बन्न सक्छ, तर शची भने उही रहन्छिन्।

शची पुलोमा दानवकी छोरी हुन्। दानवहरूमा देवहरूभन्दा पृथक् व्यवस्था अर्थात् मातृसत्ता रहेको बुझिन्छ। त्यही प्रचलनअन्तर्गत शचीले “मेरी छोरी साम्राज्ञी छे” भनेको देखिन्छ।

ऋग्वेदमा विभिन्न देवीको पूजा गरिन्छ। तीमध्ये विद्याकी देवी सरस्वती प्रमुख छिन्। सरस्वतीकै समानान्तर रूपमा वा विद्या/वचनका देवीका रूपमा भारती, वाक् र इलादेवी भेटिन्छन्। त्रिदेवीमध्येका लक्ष्मी र दुर्गा ऋग्वेदमा देखा पर्दैनन् (तर अलक्ष्मी छिन्, जसलाई दुत्कारिन्छ)।

बहुपति विवाह

ऋग्वेदको दशौं मण्डलको ८५औं “विवाह सूक्त” मा प्रथमतः सूर्यकी पुत्री सूर्याको विवाह जुम्ल्याहा दाजुभाइ अश्विनीकुमारसँग हुन्छ (कतिपय अध्येताले भने सूर्याको विवाह सोमसँग भएको मान्दछन्)। अघि बढ्दै जाँदा भनिन्छ, (तिलकप्रसाद लुइँटेलको नेपाली अनुवादबाट):

हे सूर्या! सोमले सर्वप्रथम पत्नीका रूपमा तिमीलाई प्राप्त गरे। त्यसपछि गन्धर्व तिम्रा पति भए। तिम्रो तेस्रो पति अग्निदेव हुन्। मानिसका वंशज तिम्रा चौथा पति हुन्।

त्यो कालमा एकपति/एकपत्नी सँगसँगै बहुपति प्रचलन पनि सामान्य प्रचलन भए जस्तो बुझिन्छ।

यो सूक्तमा वरलाई बधु सुम्पिँदा उनलाई आशीर्वाद दिइन्छ, यो शुभ अवसर जस्तो बुझिन्छ। त्यसपछि वधुलाई यस्तो आशीर्वाद दिइन्छः

हे वधु ! तिमी सासू, ससुरा, नन्द र देवरका लागि महारानी जस्तै होऊ। तिमी सबैमाथि स्वामिनी जस्तै होऊ!

केही उल्लेखनीय महिला

ऋग्वेदमा केही मानव महिलाले पनि छाप छोड्न सफल भएका छन्।

विश्पला

ऋग्वेदमा महिला योद्धा कमै छन्, तीमध्ये विश्पला विशेष छिन्। मण्डल १ को सूक्त ११६ मा भनिन्छ (तिलकप्रसाद लुइँटेलको नेपाली अनुवादबाट):

खेल राजाको पक्षमा रहेर युद्ध गरेकी विश्पला नामकी स्त्रीको गोडो युद्धमा काटिएर चराको प्वाँख खसेझैँ खस्यो। रातका समयमा तिमीहरू (अश्विनीकुमार) ले त्यस विश्पलालाई अर्को युद्ध सुरु हुँदा आक्रमण गर्न सक्ने गरी फलामको गोडो लगाइदिएर तयार गरेर राख्यौ।

अर्थात्, खुट्टा काटिएपछि अश्विनीकुमारले विश्पलालाई फलामको खुट्टा बनाएर लगाइदिए र विश्पला फेरि युद्धमा सक्रिय भइन्। विभिन्न सूक्तमा उनको यो कथाको उल्लेख गरिन्छ।

मुद्‌गलानी

केही गाईवस्तु चोरिएपछि मुद्‌गल र मुद्‌गलानी ती गाईवस्तु फिर्ता ल्याउन गोरुगाडा/रथमा जान्छन्। मुद्गलानी त्यो रथकी सारथी हुन्छिन्। ऋग्वेदको दशौं मण्डलको १०२औं सूक्तको अंश (वेन्डी डोनिगरको अङ्ग्रेजी अनुवादबाट)

उनले हजारौं मूल्य भएको गाडाको सामान जितेर ल्याउँदा हावाले उनको वस्त्र माथि उडाएको थियो। गाईवस्तु फिर्ता ल्याउने यो खोजको यात्रामा मुद्गलानी सारथी थिइन्। इन्द्रको सेना बनेर उनले लडाइँमा गुमेका सामान फिर्ता ल्याइन्।

विश्पला र मुद्‌गलानीका कथाले ऋग्वैदिक समयमा यात्रा, रथ चलाउने, युद्ध जस्ता विभिन्न गतिविधिमा महिलाको सहभागिता देखाउँछ।

घोषा

घोषालाई यहाँ अमाजु भनिन्छ, विवाह नगरी बसेकी महिला। कुनै छालाको समस्याका कारण उनी अविवाहित रहेको बुझिन्छ। उनले ऋग्वेदका चिकित्सक अश्विनीकुमारलाई पूजा गर्छिन् र निको भएर फेरी युवतीझैँ बनेपछि चाहेको वरसँग विवाह गर्छिन्। दशौं मण्डलको ४०औं सूक्तका अंश (तिलकप्रसाद लुइँटेलको नेपाली अनुवादबाट)

हे अश्विनीकुमार हो! युवा पतिले युवा पत्नीबाट प्राप्त गर्ने सुखबाट म अपरिचित छु। तिमीहरू नै त्यो सुखको वर्णन गर्दछौ। पत्नीलाई माया गर्ने स्वस्थ र बलिष्ठ पतिका घरमा पुग्न पाउँ भन्ने मलाई रहर छ।

हे अश्विनीकुमार हो! तिमीहरूका सामर्थ्यले घोषा नारीलक्षणले युक्त सौभाग्यवती भइन्। रोजेको गतिलो वर उनलाई प्राप्त भयो।

घोषा ऋग्वेदकी मात्र नभएर हिन्दू शास्त्रकै सम्मानित विदुषी हुन्। उनी ऋग्वेदकी पात्र मात्र नभएर दुई सूक्तकी रचनाकार पनि हुन्। त्यसकारण उनलाई एक ‘ब्रह्मवादिनी’ अर्थात् ज्ञानको खोजी गर्ने महिला भनेर पनि चिनिन्छ। 

ऋग्वेदबाहेक अरू शास्त्रका केही कथाले पनि इन्द्रको तुलनामा इन्द्राणीको श्रेष्ठता इङ्गित गर्दछन्। विभिन्न कथामा कोही मानवले तप गरेर शक्ति बढाउन थालेमा इन्द्रको सिंहासन हल्लिएको पाइन्छ। राजाको शक्ति क्षीण हुँदै गएमा राजा फेर्ने तर रानी उही रहने प्राचीन मातृसत्ताको प्रचलनमा यी कथा देखिन्छन्।

अपाला

अपालाको कथा ऋग्वेदको आठौं मण्डलको ९१औं सूक्तमा पाइन्छ। केही हदसम्म घोषाको कथा अपालासँग मिल्छ। दाँतले सोम पिस्दै अपाला सोमपान गर्न इन्द्रलाई बोलाउँछिन् र आफ्नो कथा सुनाउँछिन्। उनलाई कुनै छालाको रोग लागेको हुन्छ र पतिले छाडेका हुन्छन्। इन्द्रलाई उनी आफ्नो पेट, आफ्नो बुबाको कपाल र बुबाका खेत फेरि उर्वर होउन् भन्ने वरदान माग्छिन्। सोमपान गरेपछि इन्द्रले उनका इच्छा पूरा गरिदिन्छन् र उनको छाला पनि सुन्दर बनाइदिन्छन्। तिलकप्रसाद लुइँटेलको नेपाली अनुवादबाट:

इन्द्रले अपालालाई पवित्र बनाएर उनको बाहिरी त्वचा सूर्यदेवको भन्दा बढी तेजसम्पन्न गराए।

यो कथामा महिलाले यौवन र सुन्दरताका आफ्ना इच्छा प्रकट गरेको र ती इच्छा पूरा गरेको देखिन्छ। अपाला र घोषाका कथाले ऋग्वैदिक समयमा महिला आफ्नो वर र विवाहसम्बन्धी अभिव्यक्ति र निर्णय आफै गर्थे भन्ने देखाउँछन्।

लोपमुद्रा 

सप्तऋषिमध्ये एक अगस्त्यकी पत्नी लोपमुद्रा ऋग्वेदकी एक पात्र तथा रचनाकार हुन्। उनको कथा विस्तृत रूपमा अरू नै शास्त्रमा पाइन्छ। ऋग्वेदमा भने, पहिलो मण्डलको १७९औं सूक्तमा रतीदेवीप्रति समर्पित उनको यस्तो अभिव्यक्ति छ। (तिलकप्रसाद लुइँटेलको नेपाली अनुवादबाट):

समर्थ पुरुष पत्नीकहाँ जाउन्। उहिले ऋषिको स्तरमा पुगेर सत्यसाधनामा लागेका र देवतासँग साँचो सत्य बोल्ने मानिस जेजति थिए, तिनीहरूले पनि सन्तान उत्पादन गरेका थिए। उनीहरू अन्त्यसम्म ब्रह्मचर्य आश्रममा रहेनन्।

लोपमुद्राले यहाँ आफ्ना ऋषि पतिलाई ब्रह्मचर्य त्यागेर सन्तान उत्पादनमा लाग्न आह्वान गरेकी छिन्। पति समर्थ हुनुपर्ने धारणा व्यक्त गरेकी छिन्।

मातृसत्ताको बलात् दमन

ऋग्वेदमा स्पष्टवक्ता, श्रेष्ठ र विविध भूमिका पूरा गर्न समर्थ नारी पाइन्छन्। तर यहीबाट नारीको भूमिका खुम्च्याउन सुरु गरिएको देखिन्छ।

मातृसत्ताको एउटा चरित्र हो, रजस्वलाको पूजा। यो प्रचलनको अन्त्यको कथा ऋग्वेदमा पाइन्छ। ऋग्वेदमा इन्द्रले वृत्रासुरको वध गरेको कथा छ। पहिलो मण्डलको सूक्त ३२ मा भनिन्छ (वेन्डी डोनिगरको अङ्ग्रेजी अनुवादबाट)

त्यो अहिको वध गर्ने बेलामा तिमीले त्यस हत्याको बदला लिन सक्ने कसलाई देख्यौ र डरायौ? चील तर्सिएर हावा र धरती पार गरेझैं त्यसपछि तिमीले द्रुत गतिमा उनान्सय खोला पार गर्‍यौ।

इन्द्र किन भागे भन्ने कथा ऋग्वेदमा पाइँदैन। तर महाभारतमा (र पछि गएर अरू पनि हिन्दूशास्त्रमा) यो कथाको पछिल्लो भाग पाइन्छ। सर्पका रूपमा पानीमा बस्ने वृत्रासुर ब्राह्मण भएको हुनाले इन्द्रलाई ब्रह्महत्याको पाप लाग्छ, जुन हिन्दू धर्ममा पाँच महापातकमध्ये एक मानिएको छ। त्यो पापबाट भागेर इन्द्र लुक्न जान्छन्। उनलाई पापबाट निस्कने उपाय दिन ब्रह्माले त्यो पाप चार भाग लगाएर अरूलाई बाँडिदिने प्रस्ताव राख्छन्। कथाका विभिन्न संस्करणमा ती तत्त्व पनि फरकफरक पाइन्छन् – पानी, धरती, पहाड, वनस्पति आदि तत्त्वमा ब्रह्माले पाप बाँडिदिन्छन्। तर एउटा तत्त्व भने सबै कथामा पाइन्छः महिला। ब्रह्माले महिलालाई इन्द्रको पापमोचन गरिदिने अनुरोध गर्दै उनीहरूलाई रजस्वला हुने श्राप दिन्छन्।

अर्थात्, त्यतिञ्जेल हुँदै आएको रजस्वला पूजाको प्रचलन उल्टियो र रजस्वलालाई पाप भन्न थालियो।

विभिन्न पुरुष नायकले सर्प वा ड्रागनलाई मारेको मिथकले मातृसत्ताको अन्त्य गर्दै पितृसत्ताको स्थापना गरेको दर्शाउने केही नारीवादी विश्लेषकको मान्यता छ। ऋग्वेदका ‘अहि’ वृत्रासुर पनि त्यस्तै सर्प हुन्। अहि, अर्थात्, पानीमा बस्ने सर्प वा नाग वा विशाल ड्रागन। ऋग्वेदमा वृत्रासुरको यस किसिमको बयान पनि बारम्बार आउँछः पानीमा बसेका, पानीलाई घेरेका, कुम नभएका, हात वा खुट्टा नभएका, विशाल र अपरिमेय, आदि।

“यस्ता सर्प वा ड्रागनको पहिचान देवीपूजाको परम्परासँग सम्बन्धित छ,”आफ्नो पुस्तक ह्वेन गड वाज अ वुमन मा मर्लिन स्टोन भन्छिन्।

वुमन्स इन्साक्लोपेडिया अफ मिथ्स एण्ड सिक्रेट्स मा बार्बरा वाकर भन्छिन्, “ड्रागनको वध गरेपछि मात्र पुरुष देवताको आरोह हुन्छ। इन्द्रले वृत्रको वध गरेको कथा त्यस्तै एउटा कथा हो जसले मातृशक्तिको अन्त्य र आकाशका देवताको उदय जनाउँछ।”

समानान्तर कथाहरू 

विभिन्न भारोपेली मिथकमा नायकले नागको वध गरेको उल्लेख छ जसले मातृसत्ताको अन्त्य गरेको आशय पाइन्छ। ग्रीक मिथकमा मेडुसाको कथा छ। मेडुसालाई कतै परमसुन्दरी भनिन्छ भने कतै अत्यन्त कुरूप। मेडुसाको कपाल सर्पले बनेको हुन्छ र उनीसँग आँखा जुधाउने जोसुकै मानिस ढुङ्गाको मूर्तिमा परिणत हुन्छ। उनले कैयौं पुरुषलाई ढुङ्गा बनाइसकेकी हुन्छिन्। यहाँ महिलाले विवाह नगरेर विभिन्न पुरुषसँग संसर्ग गर्ने विम्ब पाइन्छ। नायक पर्सियसले यी मेडुसाको हत्या गरेर नयाँ समाजको स्थापना गर्छन्।

यस्तै कथा बाइबलको आदिकथा जेनेसिसमा पनि छ। भगवान्‌ले प्रथम मानव पुरुष र महिला आदम र इभलाई स्वर्गको बगैँचामा बसाएका हुन्छन्। एउटा सर्पले इभलाई भगवान्‌ले नखानु भनेको फल खान उक्साएपछि उनले खान्छिन् र उनमा ज्ञान आउँछ। अबोध अवस्थामा नग्न रहेका आदम र इभ ज्ञानको फल खाएपछि लजाउँछन् र लुगा नलगाई भगवान्‌सामु नआउने बताउँछन्। अर्थात् यो ज्ञान यौनिकता र सृष्टिको ज्ञान हो, जुन महिला परम्परासँग सम्बन्धित छ। 

आफूलाई नटेरेको थाहा पाएपछि भगवान्‌ले उनीहरूलाई स्वर्गबाट निकालिदिन्छन्। उनले महिलालाई श्राप पनि दिन्छन् – रजस्वलाको पीडा। रजस्वला पापको फल मानिएकाले महिलाको शरीर नै पापको घर र रजस्वलाबाट जन्मिएका हरेक मानिस जन्मजातै पापी मानिन्छन्। यहि मान्यता अनुरूप येशु ख्रिष्टको जन्म कुमारी आमाबाट, रजस्वला र संसर्गको पापबिनै भएको मानिन्छ।

अन्यत्र यी कथाहरू मिथक भइसकेका छन् र पुस्तकमा सीमित छन्। नेपालमा भने यो कथा अझै पनि जीवन्त छ। भक्तपुरमा बर्सेनि मनाइने बिस्केट जात्राको केन्द्रमा एउटा कथा छ। कथामा एउटी राजकुमारीले दिनदिनै विवाह गर्छिन्। तर बिहानै दुलहा मरिसकेको भेटिन्छ। अन्त्यमा, एउटा नौलो केटाले उनलाई विवाह गर्छ। ऊ रातभर सुत्दैन। राति राजकुमारी निदाएपछि उसले राजकुमारीको नाकबाट सर्प निस्केको देख्छ। उसले सर्प मारिदिन्छ। बिहान उठ्दा ऊ जीवितै हुन्छ। त्यसपछि राजकुमारीले दिनदिनै नयाँ मान्छे विवाह गर्ने प्रचलन अन्त्य हुन्छ र त्यो नौलो केटो राजा बनेर वंश स्थापना गर्छ।

छुट्टाछुट्टै ज्ञान परम्परा

इन्द्राणी, घोषा, अपाला, सकटा आदि महिला अपवाद हुन् जो पुरुष विद्वान्‌का बीचमा पनि विद्वत्ता प्रमाणित गर्दै ऋग्वेदमा पर्न सफल भए। तर हामीले के विचार गर्नुपर्छ भने ऋग्वेद नितान्त पुरुष परम्परा हो र यसमा महिला रचनाकार नभेटिनु वा कम भेटिनु आश्चर्यको कुरा होइन। “ऋग्वेद पुरुष प्रधान संसारमा पुरुषले पुरुषका मुद्दाबारे लेखेको पुस्तक हो,” द ऋग्वेद पुस्तकमा वेन्डी डोनिगर भन्छिन्। 

यसो भनिरहँदा प्रश्न उठ्न सक्छः के ज्ञानको पनि लैङ्गिकता हुन्छ? ज्ञानले महिला र पुरुष छुट्याउँछ? ज्ञानका परम्परा पनि अलग हुन्छन्? 

हुन्छन् । किनकी महिला र पुरुषका ज्ञान परम्परा ऐतिहासिक रूपमा अलग रहँदै आएका छन् । आज पुरुष परम्पराले ज्ञानमाथि एकाधिकार कायम गरेर ज्ञान लैङ्गिक रूपमा तटस्थ हुन्छ भन्ने भाष्य स्थापित गरेको छ। वर्तमानमा हामीले ज्ञान भनेर चिन्ने अधिकांश परम्परा पुरुष परम्परा हुन्। 

संसारको आदिकालमा, विवाह र विशेष गरी एकपति विवाहको स्थापना नभएसम्म महिला र पुरुष अलग्गै बस्थे। ऋग्वेदमा पनि त्यस्तो परम्पराको अवशेष देखिने मदनमणि दीक्षित बताउँछन्। “महिला र पुरुषबीचमा पतिपत्नीको सम्बन्ध वा दाम्पत्य जीवन हुँदैनथ्यो, सन्तान उत्पादनका लागि अस्थायी सम्बन्ध बन्थे,” ऋग्वेदको प्रसिद्ध पुरूरवा-उर्वशी संवादको सन्दर्भमा उनी भन्छन्, चार वर्ष सँगै बसेपछि उर्वशीले पुरूरवालाई छोड्छिन्। उर्वशीलाई खोज्दै जाँदा पुरूरवाले उनलाई अरू महिलासँग बसिरहेको भेट्छन्। उर्वशीले पुरूरवासँग नफर्किने, बरू छोरा आयु उनलाई पठाइदिने बताउँछिन्।

महिला र पुरूषका छुट्टाछुट्टै समूह हुने समयमा ज्ञान परम्परा पनि छुट्टै हुन्थे। पुरुष ज्ञान परम्परामा हुने विषयका थुप्रै उदाहरण ऋग्वेदमा छन् – सृष्टिकथा अर्थात् संसारको इतिहास, प्रकृति, पानी, यज्ञ, युद्ध, सोमरस, देवता अर्थात् अध्यात्म, काव्य, साहित्य, आदि। यीबाहेक पुरुषका अरू आधुनिक ज्ञान परम्परा विकसित भएका छन् – विज्ञान, प्रविधि, गणित, उद्योग, प्रशासन, कानुन, चिकित्सा, आदि।

किनकी महिला र पुरुषका ज्ञान परम्परा ऐतिहासिक रूपमा अलग रहँदै आएका छन्। आज पुरुष परम्पराले ज्ञानमाथि एकाधिकार कायम गरेर ज्ञान लैङ्गिक रूपमा तटस्थ हुन्छ भन्ने भाष्य स्थापित गरेको छ। वर्तमानमा हामीले ज्ञान भनेर चिन्ने अधिकांश परम्परा पुरुष परम्परा हुन्।

महिलाका ज्ञान परम्परामा यी सबै विषय कतै न कतै हुन्थे नै । तर सँगै महिलाको विशिष्ट ज्ञान परम्परा पनि हुन्थ्यो जसमा जीवनको अन्तर्भागको ज्ञान हुन्थ्योः रजस्वला के हो? सृष्टि कसरी र कहिले हुन्छ? गर्भवती, नवजात शिशु र प्रसूति आमाको कसरी ख्याल राख्ने? आदि।

पुरुष र महिला छुट्टै बस्ने समयमा पुरुषलाई न महिलाका विषयको ज्ञान थियो, न यो ज्ञानमा पहुँच दिइन्थ्यो। कालान्तरमा पितृसत्ताले विभिन्न किसिमका ज्ञान खोज्दै, महिलालाई त्यस्ता ज्ञान सिक्ने स्थानबाटै बहिष्कृत गर्दै ज्ञान परम्पराहरू नै कब्जा गर्‍यो। विवाह र पितृस्थानिकता अर्थात् विवाहपश्चात् पतिको घरमा जाने/बस्ने परम्पराको आविष्कारसँगै महिलाहरू छिन्नभिन्न भए र महिला परम्परा टुक्रिए। विडम्बना, आज अधिकांश ज्ञानका लागि महिला पुरुष परम्परामा नै निर्भर छन्।

ऋग्वेदमा के छ र छैन भन्ने किन महत्वपूर्ण छ भने, ऋग्वेदलाई हिन्दु समुदायको सबै ज्ञानको भण्डार मान्छन्। ऋग्वेद मात्र नभएर सम्पूर्ण पौरुषीय ज्ञान परम्पराको कुरा गरौं – विज्ञान, प्रविधि, गणित, आदि। यिनै ज्ञान परम्पराका आधारमा पुरुष प्रधान सरंचना बनेका छन्, जस्तै आधुनिक पुँजीवाद, राजनीति, वित्तीय क्षेत्र, विज्ञान, प्रविधि, प्राज्ञिक क्षेत्र, सञ्चार, चिकित्सा, कानुन, आदि। यी सबै परम्परामा महिलाको न्यून उपस्थिति, भूमिका र निर्णय क्षमता छ। त्यसै अनुरूप आजका बालिका र युवतीलाई शिक्षित गरिन्छ। 

तर महिलाको जीवनमा एउटा यस्तो मोड आउँछ, जब उसलाई यी कुनै पनि ज्ञानले पुग्दैन। उसले महिलाबाटै थप कुरा सिक्नुपर्ने हुन्छ। रजस्वला, गर्भाधान, गर्भावस्था, जन्म, प्रसूति जस्ता नितान्त स्त्रैण अनुभूतिमा महिलालाई मातृहरूको अनुभव र ज्ञानको खाँचो पर्छ।

कहाँ छ महिलाको ऋग्वेद ?

मूल प्रश्न पुरुष परम्परामा महिलाको स्थान कम किन छ भन्ने होइन यी सबै कुरा सिकाउने महिलाको सिङ्गो परम्परा कहाँ छ भन्ने हो। आज पनि केही ठाउँमा महिला परम्परा जीवित छन् जसले जीवनका अन्तर्भागको कुरा गर्छन्। 

नेपालकै कर्णाली र सुदूरपश्चिममा गाइने मागल, पूर्वी पहाडमा गाइने सङ्गिनी, मधेशमा थुप्रै चाडपर्वमा गाइने गीतमा नितान्त महिला परम्परा छन्। यी परम्परामा जन्म, व्रतबन्ध, विवाह, अन्त्येष्टि जस्ता जीवनका महत्त्वपूर्ण क्षणका हरेक चरणको वर्णन पाइन्छन्। देवीदेवताका कथाका माध्यमबाट रजस्वला, गर्भाधान, गर्भवती अवस्था, जन्म र प्रसूति अवस्थाका वर्णन तथा महिलाका निम्ति आवश्यक जानकारी पाइन्छ। नेपालका विभिन्न आदिवासी, जनजाति समुदायका लोक परम्परामा पनि यस्ता जानकारी पाइन्छ। 

ऋग्वैदिक समयमा पनि ऋग्वेद जस्ता पुरुष परम्पराबाट पृथक् यस्ता महिला परम्परा थिए होलान्। मैले मेरा विदुषी मातृहरूलाई ऋग्वेदमा खोज्दिन, ऋग्वैदिक समयका महिला परम्परामा खोज्छु। अफसोस ती आज हामीसँग छैनन्।

मेरो निष्कर्ष के हो भने ऋग्वेद पुरुषको ज्ञान परम्परा होः यसलाई पुरुषले रचे (वेद व्यासले यसको सङ्कलन गर्दै आज हामीले चिनेको रूप दिए भनिन्छ)। पुरुषले नयाँ पुस्तामा हस्तान्तरण गरे र महिलालाई वर्जित गरेर आजपर्यन्त पनि पुरुषले नै थामिरहेका छन्। निस्सन्देह, ऋग्वेद ज्ञानको भण्डार हो, तर सम्पूर्ण ज्ञानको भण्डार होइन।

सेवा भट्टरा नेपाली लोक साहित्य तथा हिन्दु मिथकमा रूची राख्ने स्वतन्त्र सञ्चारकर्मी हुन्।      ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *