
लिम्बूहरूले सम्झौता गरे पनि गुमेको स्वायत्तता फिर्ता गर्न बेलाबेलामा विद्रोह गर्न भने छाडेनन्।
लिम्बूहरूको ऐतिहासिक प्रसङ्ग कोट्याउँदा अधिकांशमा १८३१ सालपछि लिम्बूवानमा पूर्णरूपमा शान्ति स्थापना भएको थियो भन्ने धारणा रहेको पाइन्छ। पटक–पटक युद्ध गर्दा सफलता हात नलागेपछि १८३१ साउनमा सेनहरूले दिएको अधिकार थमौती गर्न गोर्खाली भारदारहरूले नुनपानी छोई कसम खाएर राजा पृथ्वीनारायण शाहले एक लालमोहर जारी गरेपछि लिम्बूहरूले गोर्खाली आधिपत्य स्वीकार गरेको र साविक रूपमा किपटिया स्वायत्तता उपभोग गर्न पाएको भन्ने बुझाइ लिम्बूहरूमा पाइन्छ। २०२१ सालमा भूमिसुधार लागू भएपछि किपटको अन्त्यसँगै लिम्बूले पाएको स्वायत्तता पनि समाप्त भएको भन्ने धारणाले लिम्बू समुदायमा जरो गाडेको वर्षौंवर्ष भइसक्यो।
इतिहासका स्रोतहरूलाई केलाउँदै निफन्दै गर्दा १८३१ साउन सुदी १ रोज २ मा पृथ्वीनारायण शाहले लालमोहर गरिदिदा सीमित लिम्बूलाई मात्रै समेटेका थिए, सम्पूर्णलाई होइन। लालमोहर पाउने तीन जना लिम्बू सुब्बा पाँचथरका आङ्देम्वे कुम राय, चौबिसेका चेम्जोङ सुन राय र आठराईका इङ्नाम जङ्ग राय हुन्। यो सम्झौतामार्फत सीमित लिम्बूहरूले मात्रै गोर्खाली आधिपत्य स्वीकार गरेको देखिन्छ। असन्तुष्ट लिम्बूहरूलाई फकाउन गोर्खालीहरूले कहिले पत्र लेख्ने र कहिले दूतहरू पठाउने गरेका थिए। त्यति गर्दा पनि उनीहरूले बेलाबेला विद्रोह मच्चाउँदै आएका थिए।
त्यसो त गोर्खालीहरूले आक्रमण गर्नुअघि नै लिम्बूहरूलाई मिल्न आउन १८२९ सालमा पाँचथरको पुनि रायलाई पत्र पठाएका थिए। यसका लागि दूतका रूपमा गोसाई काल पुरीलाई दूत पठाएका थिए। तर यो कूटनीति लिम्बूहरूले स्वीकारेनन्। आङ्देम्बे थरका लिम्बू पुनि राय पहिल्यैदेखि विजयपुरका सेन राजाहरूप्रति बफादार थिए। उनका सन्ततिले यो पत्र अहिलेसम्म जोगाएर राखेका छन्।
बन्धु रानाको सक्रियता
कोतपर्वअघिसम्म गोर्खाली राजदरबारमा राना र थापा मगरहरूको पुस्तौनी भारदारी अधिकार रहन्थ्यो। सोही क्रममा रानी राजेन्द्रलक्ष्मीको नायवीकालमा सर्वजित राना नामका मगर भारदार मूलकाजीका रूपमा नियुक्त भएका थिए। तर राजदरबारभित्रको हानाथाप र षडयन्त्रका क्रममा राजकुमार बहादुर शाहले श्रीहर्ष पन्तलगायत केही भारदारहरूको सहयोग लिएर सर्वजित रानाको हत्या गरे। नायव महारानी राजेन्द्रलक्ष्मीसँग अवैध सम्बन्ध राखेको आरोपमा राजदरबारको छिडीमा १८३५ भदौ २१ गते सर्वजित राना काटिए भने राजेन्द्रलक्ष्मी चाँदीको नेलसहित थुनामा परिन् (बाबुराम आचार्य, अब यस्तो कहिल्यै नहोस –२०६८: ५)। तर समयक्रममा राजेन्द्रलक्ष्मी अनेक जुक्तिबुद्धिले थुनामुक्त मात्रै भइनन्, राजदरबारभित्र पुन शक्तिमा फर्किइन्। आफू शक्तिमा फर्कनासाथ उनले बहादुर शाहलगायत आफ्ना विरोधीहरूको दमन गरिन् भने सर्वजित रानाकै भाई बन्धु रानालाई काजी बनाइन् (ज्ञानमणि नेपाल, नेपालको महाभारत –२०५२:२०)।

अब राजदरबारमा बन्धु राना हर्ताकर्ता बने।
यसरी काजी हुन आइपुगेका बन्धु राना राजदरबारको आदेशअनुसार गोर्खाली आधिपत्य स्वीकार गर्न आनीकानी गरिरहेका लिम्बूहरूलाई फकाउने अभिभारा लिएर १८३७ सालमा पूर्वतिरको दौडाहा निस्केका थिए। त्यो बेला उनले फेदाप, छथर, मेवाखोला, मैवाखोलाका लिम्बूहरूलाई किपटिया अधिकार प्रदान गरेर गोर्खाली आधिपत्य स्वीकार गर्न राजी गराएका थिए।
इतिहासकार भगिराज इङ्नामले लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (२०७७:२८३)मा प्रकाशित गरेको खेवा लिम्बू सुब्बा वेमां रायको नाममा १८३७ वैशाख वदी ३० रोज ५ मा तत्कालीन राजा रणबहादुर शाहले जारी गरेको लालमोहरले छथरका खेवाहरू १८३७ सालमा मात्रै गोर्खालीहरूसँग मिलेको स्पष्ट पार्छ।
मोहरमा “तहासम्म मकुवानीका नुन षायाको थीयो ञाहासम्म धंजीयले भर्नु मर्नु पनी गर्यो सेवकको तहासम्म हो मकुवानी राजा पनि ई येस देस पनी हाम्रा अम्वल भई देसमा जजस राजाको हुकुं छ र्उस देसका सेवकले र्उ राजा कन मांने धर्म हो सोही जानी जीय धंको षातीरजामा पाया आर्उला भन्ने कुरा वींन्ती गरी पठायाछौं तसकुराकन हिजो गर्नु नगर्नु गरया छं धंजीयाको पीछा गरी वक्स्यौं षातीर जामा सीता आफ्ना भाई भै दस लीम्वु सुवा राई लीकन आव पीछा लीञु” भन्ने परेको छ। खेवाहरूकै नाममा जारी अर्को मोहरमा “वंधुरानाको वाटो गरी हीजो तीमीहरू पीछा पर्याथ्यौ हामीले पीछा लियकै छ” (इङ्नाम, २०७७:१८१) भन्ने परेबाट काजी बन्धु रानाले खेवा लिम्बूहरूलाई गोर्खाली अधिपत्यमा आउन राजी गराएका थिए भन्ने देखाउँछ।
उनै बन्धु रानाले १८३७ असोज वदी ४ रोज १ मा एक कस्यपत्रमार्फत मञ्जित रायलाई सेन मकवानीको समयकै जस्तो अधिकारसहित महाफेदापको जिम्मा दिए (इङ्नाम, २०७७:५८८–८९)बाट बल्ल फेदाप थुमका लिम्बूहरूले गोर्खाली आधिपत्य स्वीकार गरेको स्पष्ट हुन्छ। फेदाप थुममा १९ थरी लिम्बूहरूको आबादी रहेको छ। यो थुम तेह्रथुममा पर्छ।
फागो, सेरेङ र लिवाङ थरका लिम्बूहरूले त अझ पछि मात्रै मन खोलेर गोर्खाली आधिपत्य स्वीकार गरेका थिए। १९३९ साउन वदी ८ मा उनीहरूलाई पठाइएको मोहरमा “तिमीहरूले खोलिकन बिन्ती नगर्दा आजसम्म ढिलो भएको हो. अब तिमीहरूको कुरा भारदारहरूबाट बिस्तार विन्ती गर्या सुन्यौँ हिजु हिन्दुपतिले बक्स्याको नगरा निशानमा मर्यादा जो हो हामीले बक्सन्छौ. मोहन देख्न चाडो हजूरमा आव” (शिवकुमार श्रेष्ठ, लिम्बूवानको ऐतिहासिक अध्ययन– २०५२:१३४) भन्ने परेबाट सेरेङ, लिवाङ तथा फागो लिम्बूहरू १८३१ साउनको सम्झौतामा संलग्न थिएनन् भन्ने स्पष्ट हुन्छ। नगरा निशान प्रदान गर्नु भनेको उनीहरूको पूर्ववर्ती अधिकार कायम गरिनु हो।
१८३९ जेठ सुदी २ रोज ३मा फागु, सेरेङ, लिवाङ र फेदापका लिम्बूहरूलाई दावांदेखि पूर्व, चाँगेबाट पश्चिम, फालिखोलादेखि दक्षिण र खिकामाछादेखि उत्तरको साँध–सिमाना कायम गरी उनीहरूको किपट कायम गरिदिएको रुक्काको सक्कल कागज चाँगेका टङ्क आङ्बुहाङसँग सुरक्षित छ। पहिले उनीहरूलाई किपट जमिनको साँध सिमाना कायम गरिदिएर पछि नगरानिशान लिन राजधानी बोलाइएको यताबाट पुष्टि हुन्छ।
यी लिम्बू समूहले पाएको मोहरमा गोर्खाली राजाकै भाषामा “खोलिकन बिन्ती नगर्दा” भन्ने उल्लेख हुनुलाई अर्थपूर्ण रूपमा बुझ्नपर्ने हुन्छ। त्यस बेला माथि उल्लेख गरिएका लिम्बू सुब्बाहरू १८३९ सालसम्म भित्री मनले गोर्खालीसँग कुरा नखोली बसेका अर्थात् उनीहरू गोर्खालीहरूसँग मन फुकाएर मिल्न सकिरहेका थिएनन् भन्ने स्पष्टैसँग बुझ्न सकिन्छ।
गोर्खालीहरूसँग पूर्ण रूपमा मिल्नुअघि सेरेङ लिम्बूहरूको गतिविधिले त गोर्खालीहरूलाई निकै तनाव दिएको देखिन्छ।
इतिहासप्रधान पत्रिका पूर्णिमा को पूर्णाङ्क ५८ (चैत २०४०:३९–४०) मा इतिहासकार दिनेशराज पन्तले प्रकाशमा ल्याएको एक लालमोहरतिर नजर लगाउँदा यस्तो थाहा हुन्छ।

त्यो बेला रणबहादुर शाहले विजयपुरमा रहेर गोर्खाली प्रशासन चलाइरहेका सुब्बा जोगनारायण मल्ललाई लेखेको पत्रमा सेरेङहरू गतिविधि माथि निकै निगरानी राखिएको पाइन्छ। पत्रमा “…उप्रान्त लिंवु श्रृंग्याहरू मिल्न आउँदैछन् भन्ने कुरो तिमीले लेखेछौ। हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्या जस्तो गरी बीरभद्र राई जस्तो आयथ्यो। त्यस्तै गरी निख्रिकन आया पिछा लेऊ” भन्ने परेको छ।
यस पत्रमा उल्लेख भएको वाक्यांश “हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्यो। हाम्रा पालामा पनि तन्ले २/४ बेर मिल्न आउँदै फट्टाउँदै गर्या…” भन्ने उल्लेख भएबाट सेरेङहरू पहिल्यैदेखि मकवानी सेनहरूसँग नजिक थिए र गोर्खाली शाहहरूले उनीहरूलाई हात लिन पटक–पटक प्रयास गर्दा पनि सफल कहिले नजिक भए जस्तो गर्ने र कहिले दूरी बढाउने काम सेरेङहरूले गर्दै आइरहेका थिए भन्ने स्पष्ट छ। पत्रमा सेरेङहरूलाई “लिंवु श्रृंग्या” लेखिएको छ। यो पत्र अपूरो भएकोले मिति खुलेको छैन। तर यो पत्रअघि क्रमैसँग छापिएको पत्रहरूको मिति १८३५ देखि १८३७ साल भएकोले यो पत्र १८३७ साल आसपासको हो भन्ने अनुमान गर्न सकिन्छ।
त्यसैले १८३१ साउनको पृथ्वीनारायण शाहको मोहरले सबै लिम्बूहरूलाई समेटेको थिएन भन्ने बुझ्न जरुरी हुन आएको छ।
यस्तै गोर्खालीहरूले लिम्बूवानको भूगोल जिते पनि लिम्बूहरूको मन जित्न निकै मुस्किल परिरहेको थियो। त्यसैले उनीहरूले लिम्बूहरूसँग बेलाबेलामा सम्झौताहरू गर्नुपरिरहेको थियो।
१८४३ को अर्को सम्झौता
१८३१ सालमा गोर्खाली सेना पूर्वतिर आउनुअघि तमोर नदी पश्चिमका अधिकांश लिम्बूहरूको राजनीतिक सम्बन्ध मकवानी सेनहरूसँग थियो भने तमोर पूर्वका लिम्बूहरू राजनीतिक रूपमा सिक्किमसँग निकट थिए। लिम्बूहरूको सिक्किमसँगको राजनीतिक सम्बन्ध स्पष्ट रूपमा खुल्ने राजा गीर्वाणयुद्धविक्रम शाहको समयको एउटा लालमोहर उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छ।
पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल (सङ्ख्या ९०, कात्तिक–मङ्सिर २०४२:३१)मा प्रकाशित लिम्बू सुब्बा मिंहित रायलाई तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले १८६९ वैशाख सुदी ५ मा जारी गरेको लालमोहरमा “तेरा वावु वराजु देषि विहोरी आयाको किपटजिमिन संलुप्पा तस्को साँध सुवेल ढुङ्गो देषि लाया रुवा देषि चार किल्ला भित्रका जिमिन सुषिंको राजाले फागुंदेषि फोरि तँलाई नगारा स्मेत भिन्न पारि भिन्ना सुवांगि गरिदियाको रहेछ हाम्रा प्रतापले मिच्यापछि–१ वाट पनि मोहर गरि भिन्न सुवाँगि थामि वस्कनु भयाको रहेछ आज हामी पनि फागुको अलागक गरी सुषिंमले दियाको वमोजिम सुवागी चार किल्ला भित्र जिमिन थामि बक्स्यौं” भन्ने परेको छ। यसमा उल्लेखित संलुप्पा अर्थात् साङरुप्पा ताप्लेजुङको साविकको फाकुम्बा गाउँमा पर्छ। यहाँ नेयोङ लिम्बूहरूको मुख्य आबादी छ। माथि उल्लेख गरिएको मोहरले उनीहरूको राजनीतिक सम्बन्ध त्यस बेला सिक्किमसँग थियो भन्ने स्पष्ट हुन्छ।
पूर्वी अभियानतिर बढेका गोर्खाली सेनानायक अभिमानसिंह बस्नेत विजयपुरपछि साँगुरीगढी हुँदै मूलघाटमा झरेर उत्तरतिर लाग्ने क्रममा तमोर नदीको गढतिर हुँदै धनकुटाको कुर्लेगढी पुगेर त्यहाँ प्रशासनिक बन्दोबस्त गर्दै गरेकोमा उनलाई पृथ्वीनारायण शाहले इसिलिम्बा हुँदै च्याङ्थापुतिर बढ्ने आदेश दिएका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी –२०६१)। यो आदेशमा सिक्किमको रणनीति पनि राम्ररी बुझ्दै गर्नु भन्ने उल्लेख छ।

गोर्खाली सेनासँग त्यस क्षेत्रमा लिम्बू सुब्बाहरू भिड्दै गर्दा कतिपय लिम्बू सुब्बाहरू आफूहरूको राजनीतिक निकटता भएको मुलुक सिक्किम पुगेर गोर्खालीसँग सीमाक्षेत्रमा छापामार शैलीबाट युद्ध लडिरहेको थिए। यससम्बन्धी एक ऐतिहासिक पत्र दार्जिलिङ, मिरिकनिवासी संस्कृतिविद् विरही काइँलासँग सुरक्षित छ। यो पत्रमा रणबहादुर शाहले १३ जना लिम्बू सुब्बालाई ढिलो नगरीकन आफूसँग मिल्न आउन आग्रह गरेका छन्।
स्वस्ति श्री गिरिराज चक्रचुडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मानोन्नत श्रीमनमहाराजाधिराज रणबहादुर शाह देवानाम सदा समर विजयिनाम———————
स्वस्ति श्री सर्वोपमायोग्य श्री देवपति राय थामावुं राय श्री बहीनामसा राय श्री फेन्दुवा राय श्री शाभामुधा राय श्री थेवेसिं राय श्री जसमुषा राय श्री गोथिम राय श्रीसां राय श्री नामसाहां राय श्री इगुमसेदी राय श्रीपोतवा राय श्री ओबदेवा राय श्री फोवोहांग्या राय श्री यंवा राय श्री षिंभिदिंग राय श्री पात्लुवा रायके आशिषपूर्वक पत्रमिदं यहाँ कुशल ताहाँ कुशल चाहिये आगे यहाँको समाचार भलो छ उप्रान्त जीहाको निमिष खायाको थियो सेवकको गर्नु निमिष सक्दो गर्नुछ गर्यौ आज हाम्रो पाव भनी आयौ त तम्रो पिछा लियौ बस्र्दास्ती गरौला हिजो तिमीहरूले पारि बसी लुटपीट गोवध खतछित् गर्याको सब माफगरिबक्यौं हाम्रा पिछा पर्यापछि गोवध नगर्नु पारी हुँदा गर्याको षत वापत तिमीहरूलाई कसैले दराउतम्बी गर्या अप्सरिया होला निमिषको साझो गरी टहलमा रुझु रहु तिमी सुबा सुबाहरूको षातिरजामासित पजनी भेटाई आज तम्रो खायन पायन जस्को जस्तो जस्तो छ जाँची बुझि लाजिमा माफिक बनाइबक्सौंला सर्वथा चाँडो गरी आज ढिलाइ नगर उप्रान्त तम्रो ज्या लुटपिट गर्याकोमा हामीले माफ गरिबक्स्याकोछ जस्ले लुटपिट लियाको छ मागी लेउ। तिमीले माग्दामा नदिया अप्सरिया हुनेछ तसर्थ तिमीहरू चाडो गरी आयापछि सबै कुराको बन्दबस्त गरिबक्सौंला।
योङहाङ वंशावली (२०७८:१८)मा यस मोहरमा उल्लेख गरिएका देवपति रायलाई योङहाङ लिम्बू भएको उल्लेख छ। सो वंशावलीअनुसार मोहरमा उल्लेख गरिएका लिम्बू सुब्बाहरू योङहाङ, साँवा, फेन्दुवा, थेवे, वोखिम, साम्सोहाङ, थाम्सुहाङ, इजम, पतङ्वा, नेम्वाङ, खिम्दिङ आदि थरगत समूहका भएको उल्लेख छ। उक्त वंशावलीअनुसार राजा हिलिहाङको देहान्तपछि उनका सन्तति भीमहाङ, देवजित आदि सिक्किम पलायन भएका र गोर्खालीविरुद्धको युद्धमा देवपति रायले त्यस क्षेत्रको नेतृत्त्व सम्हालिरहेको पनि उल्लेख गरिएको छ।
मोहरमा सीमाक्षेत्रमा बसेर लुटपिट गरेको र गोर्खाली मान्यता विपरीत गोवध गरेकोमा माफी दिएको उल्लेख हुनुले ती लिम्बू सुब्बाहरूले गोर्खाली अधिपत्यलाई अवज्ञा गर्दै त्यसविरुद्ध विद्रोह र छापामार युद्धमा आफूहरूलाई सक्रिय गराएका थिए भन्न हिच्किचाइरहन आवश्यक छैन।
यो पत्रलाई लिम्बू र गोर्खालीबीचको दोस्रो सम्झौता पनि भन्न सकिन्छ। यसमा सम्झौता गर्ने लिम्बू सुब्बाहरू सबैजसो हालः पूर्वी नेपालको सीमाक्षेत्रका बासिन्दा थिए। तर लिम्बूहरूले यस्ता सम्झौता गरे पनि गुमेको स्वायत्तता फिर्ता गर्न बेलाबेलामा विद्रोह गर्न भने छाडेनन्। १८४८ सालमा चैनपुरमा सिक्किमी र लेप्चाहरूको साथ लिएर भएको लिम्बूहरूले गरेको विद्रोहलाई राज्यले बडो मुस्किलले दबाएको थियो।
यो विद्रोह दबाइए पनि लिम्बूहरूसँग राज्य पछिसम्म पनि सशङ्कित थियो। १८५० सालमा विजयपुरको प्रशासन चलाएर बसेका गोर्खाली सुब्बा पूर्णानन्द उपाध्ययले तत्कालीन राजासमक्ष अर्जी हालेर लिम्बूहरूले सिक्किमका मन्त्री छत्रजितसँग मिलेर आफूहरूलाई बेलाबेलामा दुःख दिइरहेको गुनासो गरेको र राजा रणबहादुर शाहले उनलाई तत्काल सिक्किमीलाई जस्तै लिम्बूहरूलाई विश्वास गरिनहाल्नु भन्ने आदेश दिएको पत्र (महेश सी. रेग्मी, रेग्मी रिसर्च सेरिज वर्ष ३, अङ्क १२–नोभेम्बर १९७१:२७८–७९) पढ्न पाइएबाट पछिसम्म पनि लिम्बूहरू र राज्यबीच पूर्णरूपमा विश्वासको वातावरण बनिसकेको रहेनछ भन्ने स्पष्टै देख्न सकिन्छ।
निष्कर्ष
यी ऐतिहासिक तथ्यहरूबाट थाहा पाउनुपर्छ, १८३१ साउनको लालमोहरपछि पनि लिम्बूहरू शान्त थिएनन्। उनीहरूसँग पटक–पटक गोर्खालीहरूले सम्झौता गर्नुपरेको थियो। पूर्वी सिमानामा रहेका लिम्बूहरूको आबाद क्षेत्र सामरिक रूपमा निकै संवेदनशील थियो। छेवैमा सिक्किम राज्य हुनु र सिक्किमसँग लिम्बूहरूको निकट सम्बन्ध रहनु, त्यस बेला भारतका रहेका अङ्ग्रेजहरू पनि रणनीतिक रूपमा उत्तिकै सक्रिय रहनु र उत्तरमा तिब्बत हुनुले लिम्बूहरूलाई पूर्णरूपमा हात लिई हाल्न गोर्खालीहरूलाई सहज थिएन। किनकि आवश्यक परे लिम्बूहरू कि सिक्किमसँग मिलेर गोर्खालीहरूसँग भिड्थे, कि त सिक्किम बसाइँ सरेर जान्थे।
राज्यले लिम्बूहरूलाई आश्वस्त तुल्याउँदै राख्नुपरेका कारण पनि लिम्बूवानमा किपट थमौतीको प्रशस्त लालमोहर र रुक्काहरू पाइएको हो।
राजकुमार दिक्पाल इतिहास अध्ययनमा रूची राख्ने लेखक हुन्। ...
राजकुमार दिक्पाल इतिहास अध्ययनमा रूची राख्ने लेखक हुन्।