‘तामाङले पढेर के हुन्छ र, जागिर पाइने होइन’

ऐतिहासिक बहिष्करण, विद्यालय शिक्षा र डाब्जोङ (दाप्चा)का तामाङको संघर्षको कथा

नेपालमा तामाङ जातिको शिक्षाको इतिहास लामो छैन। तामाङको शैक्षिक इतिहास बुझ्न २००७ सालअघि र पछिको समयलाई विश्लेषण गर्नुपर्छ। राणा शासनकाल (विसं १९०३-२००७) मा केही अपवादबाहेक आम सर्वसाधारण शिक्षाबाट वञ्चित थिए। वर्ण व्यवस्थामा आधारित सामाजिक संरचनाअनुसार शिक्षा स्तरीकृत भएकाले विसं १९१० को मुलुकी ऐनले तागाधारी समूह (ब्राह्मण, क्षेत्री) लाई पढ्न दियो भने मतवालीलगायत सीमान्तकृत समूह शिक्षाबाट वञ्चित भए।

ऐतिहासिक रूपमै राज्य सत्तामा पकड जमाएका र लेखपढमा समेत राज्यबाट विशेष अवसर-सुविधा पाएका बाहुन-क्षेत्रीको शैक्षिक अवस्था अरू जातजातिको तुलनामा उच्च हुनु स्वाभाविक देखिन्छ। तर, करिब-करिब उस्तै जनसंख्या भएका र लगभग उही भूभाग (हाल बागमती प्रदेश) मा बसोबास गर्ने जातजाति (जस्तै: नेवार र तामाङ) बीचको शैक्षिक असमानता पनि आश्चर्यजनक रूपमा ठूलो छ।

नेपालमा तामाङ तेस्रो ठूलो आदिवासी जनजाति समुदाय भए पनि साक्षरता दरमा नेवार, गुरुङ, लिम्बू, राई र मगरभन्दा धेरै पछाडि छन्। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार कुल जनसंख्याको पाँचौँ स्थान (१५ लाख ११ हजार २२१) ओगटेको तामाङ जातिको साक्षरता दर भने ७४.२ प्रतिशत मात्र छ, जुन देशभरका कुल जातिमध्ये ७४ औँ स्थान हो। एउटै भूभागमा रहेका विभिन्न सामाजिक समूहबीच शैक्षिक असमानता किन रहन्छ र त्यसका ऐतिहासिक कारणहरू के हुन् भन्ने विषयमा यो लेख केन्द्रित छ।

यो लेख काभ्रेपलाञ्चोक जिल्लाको तामाङ गाउँ डाब्जोङ (जसलाई दाप्चा पनि भनिन्छ) मा गरिएको अनुसन्धानमा आधारित छ। जनसंख्याको हिसाबले तामाङ बाहुल्य उक्त गाउँ काठमाडौँबाट करिब ४३ किलोमिटरको दुरीमा छ। यो गाउँ काठमाडौँ उपत्यका छिर्ने पूर्वी नाका र व्यापारिक केन्द्रका रूपमा पनि चिनिन्छ। 

लेखमा व्यक्तिहरूको नाम गोप्य राखिएको छ। विशेषगरी विसं १९८६ देखि २०१८ सालसम्मको अवधिलाई यो लेखमा आधार बनाइएको छ, किनभने डाब्जोङमा राणाकालमै विसं १९८६ मा भाषा पाठशाला स्थापना भएको थियो र उक्त पाठशाला २०१८ सालसम्म सञ्चालनमा थियो।

२७ वर्षसम्म पढ्नबाट वञ्चित

डाब्जोङमा राणाकालमै विसं १९८६ मा स्कूल (भाषा पाठशाला) खुलेको थियो। गाउँमा स्कूल खुलेपछि पक्कै पनि त्यहाँका केही तामाङले शिक्षा लिने अवसर पाए होलान् भन्ने मेरो अनुमान थियो। तर, २००७ सालअगाडि उक्त स्कूलमा कुनै पनि तामाङ विद्यार्थीले पढ्न पाएनन्। स्कूल खुल्नेबित्तिकै ब्राह्मण समुदायका र केही वर्षपछि नेवार समुदायका विद्यार्थीहरूले पढ्न थाले। तर, आफ्नै गाउँघरमा खुलेको स्कूलमा भर्ना पाउन तामाङलाई करिब २७ वर्ष लाग्यो। स्कूल खुलेको २७ वर्षसम्म उनीहरू किन पढ्न पाएनन् भन्ने विषय मेरो खोजीको विषय बन्यो।

सुरुमा स्कूलमा संस्कृत पढाइन्थ्यो, जुन ब्राह्मण गुरु/पण्डित रामप्रसाद धितालले अन्य जातजातिलाई पढाउन चाहेनन्। पण्डितले यसो गर्नुका पछाडि मुख्य दुई कारण हुन सक्छन्—एक, संस्कृत ‘देव-भाषा’ भएकाले अरूलाई पढाउन नहुने भन्ने मान्यता, र अर्को, श्रेणी-संरचनाबद्ध समाजमा ब्राह्मणले अन्य जातजातिलाई तल्लो तहको मानी उनीहरूलाई शिक्षा-दीक्षा दिन नचाहनु। यसबाहेक, आफ्नो खुबी संस्कृतमा मात्र भएकाले अन्य विषय, जस्तै: ऐन, स्रेस्ता, गणित, नेपाली आदि पढाउनमा अरुचि हुनु पनि अर्को कारण हुन सक्छ।

उदाहरणका लागि, स्थानीय ज्याम्याङ लामाले स्कूलमा पढ्न नपाएको घटना त्यहाँका धेरैजसो तामाङले सुनाउने गरेका छन्। स्थानीयले बताएअनुसार उनी सँगै खेल्ने साथीहरूसँगै पढ्न पाठशाला पुगेका थिए। उनी पाठशालामा पढ्न पुगेको साल यकिन नभए पनि धेरैले त्यो स्थापनाकालतिरै हुनुपर्ने अनुमान गर्छन्। अरूसँगै पढ्न बस्दा उनलाई संस्कृत ब्राह्मणले मात्र पढ्न पाउने, अरू जातजातिले पढ्न नपाउने भनेर हातमा समातेर पाठशालाबाट निकालिएछ।

तामाङ भएकैले पाठशालामा पढ्न नपाएको तीतो अनुभव उनले धेरैलाई सुनाउने गर्थे। उनले गाउँका अरू तामाङ केटाकेटीलाई पढ्नुपर्छ र पढाउन पठाउनुपर्छ भनेर उत्प्रेरणा दिइरहन्थे। २००७ सालपछि गाउँमा विद्यालय स्थापनाका लागि उनी सक्रिय भएर लागेका थिए।

ज्याम्याङ लामाले स्कूलमा पढ्न नपाएको घटना त्यहाँका धेरैजसो तामाङले सुनाउने गरेका छन्। स्थानीयले बताएअनुसार उनी सँगै खेल्ने साथीहरूसँगै पढ्न पाठशाला पुगेका थिए। उनी पाठशालामा पढ्न पुगेको साल यकिन नभए पनि धेरैले त्यो स्थापनाकालतिरै हुनुपर्ने अनुमान गर्छन्। अरूसँगै पढ्न बस्दा उनलाई संस्कृत ब्राह्मणले मात्र पढ्न पाउने, अरू जातजातिले पढ्न नपाउने भनेर हातमा समातेर पाठशालाबाट निकालिएछ।

वर्णव्यवस्थामा आधारित श्रेणी-संरचनाका कारण औपचारिक शिक्षाको प्रारम्भ भएपछि ब्राह्मणहरूले लेखपढमा सुविधा पाए भने तामाङले त्यहाँ विभिन्न बाधा-अड्चन भोगे। मुलुकी ऐन लागू भएकाले तागाधारी समूह (ब्राह्मण) सँग बसेर मतवाली (तामाङ, राई, लिम्बू आदि) र अछुत भनिएका (दलित) ले पढ्न पाउन कठिन थियो। त्यसैले, तामाङले पनि डाब्जोङको स्कूलमा पढ्न पाएनन्।

प्रजातन्त्र स्थापित भएपछि, खासगरी २००७ सालपछि, डाब्जोङमा फाट्टफुट्ट रूपमा तामाङहरूले स्कूलमा भर्ना पाए। तर पाठशाला शिक्षामा विभिन्न जातजाति र पढ्ने विषयअनुसार उचनीच थियो। संस्कृत पढ्नेलाई माथिल्लो दर्जाको व्यवहार गरिन्थ्यो भने ऐन-स्रेस्ता-हिसाब-नेपाली पढ्नेको स्थान अलि तल्लो दर्जाको हुन्थ्यो। धेरै ब्राह्मण संस्कृत पढ्थे, अरू जातजातिले भाषा वा स्रेस्ता पढ्थे। वेद पढ्नेलाई सिनियर मानिन्थ्यो भने साधारण कर्मकाण्डी, रुद्री, चण्डी पढ्नेलाई जुनियर मानिन्थ्यो। विद्यार्थीमाझ आपसमा पनि उचनीचको व्यवहार हुन्थ्यो। उदाहरणका लागि, वेद पढ्नेले वेद पढ्नेसँग मात्र संगत गर्ने र अन्य विषय पढ्नेसँग खासै बोलीचाली गर्दैनथे।

यस्तो वर्गीकरणले विद्यार्थीमा पढाइप्रति माथिल्लो र तल्लो भन्ने भावनाको विकास भएको थियो। पाठशालामा पढाइने विषयवस्तु र माध्यम भाषा दुवै तामाङका लागि सहयोगी थिएनन्। पाठशालामा हिन्दू धार्मिक पाठहरू (जस्तो, वेद, रुद्री, चण्डी) को बाहुल्य हुन्थ्यो, जसले तामाङको आफ्नो धर्म-संस्कृतिसँग मेल खाँदैनथ्यो। तामाङहरूको आफ्नै भाषा र लिपि भएकाले उनीहरूको नेपाली भाषा र देवनागरी लिपिमा पनि पकड भएन।

नमोबुद्ध नगरपालिका–८ मा रहेको दाप्चा मावि। पुरानो भाषा पाठशाला नै पछि दाप्चा मावि बनेको हो ।
Rabin Giri

हिन्दू परम्परामा आधारित धार्मिक-सांस्कृतिक कर्मकाण्ड, प्रशासनिक काम र व्यापार/व्यवसाय गर्ने समुदायको दैनिक जीवनमा नेपाली भाषा वा भाषा पाठशालामा महत्त्व दिइने विषयवस्तुसँग साक्षात्कार भइरहने हुनाले उनीहरूलाई तुलनात्मक लाभ प्राप्त भयो। ऐन-स्रेस्ता विषयको पठन-पाठन र पाठ्यक्रम/पाठ्यपुस्तक उपलब्ध भएपछि पाठशाला स्थापना भएको केही वर्षपछि ऐन-स्रेस्ता विषयको पठन-पाठन शुरु भयो र त्यससँगै नेवारहरूले त्यहाँ पढ्ने अवसर पाए। व्यापार-व्यवसाय गर्न तथा सरकारी कर्मचारी बन्नका लागि चाहिने शिक्षा लिने कुरा नेवारहरूको प्राथमिकतामा पर्‍यो।

२००७ सालपछि पाठशालामा पढ्न पहुँच पुगे पनि नेपाली भाषाका पाठ पढाइँदा फरक भाषा र लवजका कारण खासगरी तामाङहरू गुरु वा अन्य विद्यार्थीका नजरमा ‘नजान्ने’ र ‘शुद्ध’ लेख्न-बोल्न नसक्ने मानिए। यसले गर्दा पनि उनीहरूमा पढाइप्रति रुचि जागेन। ब्राह्मण र नेवारको तुलनामा तामाङलाई स्कूलमा पढ्नका लागि नेपाली भाषा छिचोल्न समय लाग्ने गर्थ्यो।

डाब्जोङका तामाङहरू मूलतः आफ्नै खेतीपाती र ज्याला मजदुरी गर्ने भएकाले अरू जातजातिसँग सम्पर्क नै कम हुन्थ्यो। अरू जातजातिसँग सम्पर्कमा आए पनि दोहोरो बोल्नुपर्ने निर्णायक तहमा उनीहरू खासै हुँदैनथे। बजार क्षेत्रका नेवारहरू तामाङहरूसँग तामाङ भाषामै बोल्ने गर्थे। यदाकदा ब्राह्मण पनि तामाङ भाषा बोल्ने गर्थे। घरपरिवारमा बोलचालको भाषा तामाङ नै हुने भएपछि तामाङ परिवार र उनीहरूका सन्ततिले नेपाली भाषा र देवनागरी लिपि घरमा सिक्ने कुरै भएन।

औपचारिक शिक्षाको प्रारम्भ हुनुअघि डाब्जोङमा त्यो समयमा निश्चित जातीय समूह—पुरेत्याइँ-पण्डित्याइँ गर्ने ब्राह्मण र व्यापार-व्यवसायमा संलग्न नेवार—समुदायले भने घरपरिवारबाटै साक्षर हुने मौका पाइरहेका थिए। डाब्जोङमा पाठशाला स्थापना हुनुअघि व्यक्तिको घरघरमा गएर पढ्ने-पढाउने चलन फाट्टफुट्ट थियो, र यसरी पढाउने व्यक्ति मुख्यतया: ब्राह्मण र नेवार हुन्थे। त्यहाँका ब्राह्मण र नेवार समुदायलाई जसरी परम्परागत पेसा-पुरेत्याइँ-पण्डित्याइँ र व्यापार-व्यवसायले गर्दा लेख्न-पढ्न जान्न आवश्यक थियो, त्यस्तो आवश्यकता तामाङलगायत अन्य जातजातिलाई थिएन।

तामाङ समुदायमा बोम्बो र लामा शिक्षामा दीक्षित हुने परम्परा छ। बोम्बो शिक्षा मौखिक र वंशाणुगत पनि हुने र लामा शिक्षाका लागि सम्भोटा लिपि प्रयोग हुने हुँदा उनीहरूलाई देवनागरी लिपि जानिरहनुपर्ने बाध्यता थिएन। तामाङहरूलाई आफ्नो सांस्कृतिक परम्परा र विश्व दृष्टिकोणका हिसाबले त्यति बेला देवनागरी लिपि जान्नुपर्ने आवश्यकता रहेन। पेसागत आवश्यकताले पनि सम्भ्रान्त वर्गका लागि शिक्षा/पाठशालाको जति महत्त्व थियो, त्यति तामाङहरूको पारम्परिक जीविकोपार्जनका उपाय र विश्व दृष्टिकोणसँग आधुनिक शिक्षा नजोडिएकाले उनीहरू पाठशाला शिक्षातर्फ आकर्षित भएनन्।

पेसा तथा रोजगारबाटै बहिष्कृत

संरचनागत विभेदको गहिरो असरमध्ये एउटा हो रोजगारी। डाब्जोङको पाठशालामा पढ्न पाएका र नपाएका एउटै उमेर समूहबीच सामाजिक हैसियत र रोजगारीको अवसरमा ठूलो खाडल देखिन्छ। पाठशालामा निश्चित समय (विसं १९८६–२००७) मा पढ्न पाएका जातीय समूह समाजमा त्यहीअनुसार स्थापित भए।

उदाहरणका लागि, गणेश अधिकारी र पेम्बा तामाङ एउटै उमेर समूहका भए पनि पाठशाला स्थापना कालमा पढ्ने अवसर पाउँदा गणेश आफूले पढेको स्कूलमा शिक्षक बने। कालान्तरमा उनकै छोरा, नाति तीन पुस्तासम्म सोही स्कूलमा शिक्षक बने र हालसम्म पनि पढाइरहेका छन्। तर, स्कूलमा पढ्न नपाएका पेम्बा र उनका छोरा-नातिको हकमा भने यो अवसर लागू हुन सकेन।

दोर्जे लामालाई उनको हजुरआमा र आमाले जहिल्यै ‘तमसुक लेख्न सकिहालिस्, मान्छेले झुक्काएर खान सक्दैन, नजोती खान पाउँदैन’ भनेर भनिरहन्थे। उनलाई आफूसँगैको गाउँका अरू साथीहरू पढ्न गएको देखेर पढ्न जान मन थियो। तर उनले पढाइलाई निरन्तरता दिन सकेनन्।

यस्तो खालको विभेदले निश्चित जाति, खासगरी ब्राह्मण समुदायका परिवारलाई रोजगारी र सामाजिक प्रतिष्ठा पाउन सम्भव बनायो। यसले उनीहरूको जीविकोपार्जन सहज बनाउनुका साथै भावी सन्ततिलाई समेत पढाउने उत्प्रेरणा दियो। तर, त्यसको विपरीत तामाङ समुदायलाई भने शिक्षा प्राप्त गर्ने समान अवसरबाट वञ्चित गरियो। सो पाठशालामा पहिलो र दोस्रो पुस्ताले पढ्न पाएनन्, तेस्रो पुस्ताबाट मात्रै पढ्न पाए।

पेसा तथा रोजगारको सन्दर्भमा विभेदकारी नीति लाद्नु नै तामाङ सीमान्तीकरणमा पर्नु पछाडिको एउटा प्रमुख कारक तत्त्व हो। ‘पिपा गोश्वारा’ अड्डा राणाकालमा तामाङहरूलाई भर्ती गरिने सबैभन्दा तल्लो तहको अड्डा थियो। पिपामा भर्ती हुनलाई लेखपढ आवश्यक हुँदैन थियो, शारीरिकरूपमा तन्दुरुस्त भए पुग्थ्यो। यसो हुँदा राज्यले उनीहरूलाई नीतिगतरूपमा राजनीतिक र प्रशासनिक संयन्त्रको पहुँचबाट टाढा पुर्‍यायो। त्यसैगरी, देशबाहिर भारतीय/बेलायती सेनामा प्रवेश गर्नसमेत रोक लगाइएको थियो।

तामाङहरूलाई रोजगारीमा स्वदेश र विदेश दुवैतिर विभेदको नीति लिइएकाले शिक्षामा उनीहरूको पहुँच पुगेन र शिक्षा आकर्षणको विषय भएन। ती विभेद र बन्देजले तामाङहरू विपन्न भए र परिवर्तनहरू देख्न पाएनन्। त्यसैले तामाङहरूको शिक्षासम्बन्धी चेतना र विकास निकै कम भयो।

राज्यको राजनीतिक तथा प्रशासनिक संयन्त्रमा पहुँच भएका सम्भ्रान्त वर्गका सामाजिक समूहहरू (ब्राह्मण, क्षेत्री, नेवार) को पहलमा नेपालमा धेरैजसो पुराना विद्यालयहरू स्थापना भएका पाइन्छन्। त्यसैगरी, भारतीय/बेलायती सेनामा भर्ती पाएका लिम्बू, गुरुङ, राई र मगरहरूको पहलमा समेत २००७ सालअघि स्वदेशमै विद्यालय स्थापना भएका थिए। तर ती दुवै अवसरबाट विमुख भएका/गरिएका तामाङ समुदायको पहलमा २००७ सालअघि विद्यालय स्थापना भएको खासै पाइँदैन।

तामाङहरूको ‘मोबिलिटी’ (गतिशीलता) एकदमै कम थियो। एकै ठाउँमा बस्ने, निर्वाहमुखी खेतीपाती र ज्याला मजदुरी नै उनीहरूको प्रमुख आयस्रोत भएपछि शिक्षामा लगानी र चासो पनि कम भयो। शिक्षा आवश्यक नपरेपछि त्यहीअनुसारको मानसिकता बन्दै गयो र ‘तामाङले पढेर के हुन्छ र, जागिर पाइने होइन’ भन्ने खालका भाष्य एक पुस्ताबाट अर्को पुस्तासम्म पुनर्उत्पादन भइरह्यो।

नेवारहरूको प्रवेशसँगै बजारको स्थापना भयो। उक्त बजारले त्यहाँका रैथाने तामाङलाई आकर्षित नगर्ने सम्भावना नै रहेन। गाउँमा बजार खुलेसँगै किनेर खाने उपभोगवादी शैली भित्रियो।

तामाङ समाजमा परम्पराअनुसार नगदी कारोबारको अभ्यास खासै नहुने हुँदा उनीहरूसँग नगद हुँदैन थियो। तर बजारबाट वस्तु किनमेल गर्ने संस्कार बढ्दै गएपछि उनीहरूले विनिमय प्रणालीअनुसार आफ्नो जग्गा साट्न थाले। कतिले पसलबाट उधारो कारोबार गरे। उधारो कारोबार गर्दा पसलका साहुले तामाङहरू लेखपढ गर्न नसक्ने भएकाले फाइदा उठाएर आफूखुसी पैसा खातामा लेखिदिए। अन्ततः उधारो धेरै देखाएर तमसुक बनाएर तामाङहरूको खेतबारी हडपेका थिए। त्यसले उनीहरूको सामाजिक अवस्थालाई थप सीमान्तीकरणतर्फ धकेल्यो। आफ्नो खेतबारी नै नभएपछि ज्याला मजदुरीबाहेक अरू जीविकोपार्जनको विविधीकरण हुन सकेन।

डाब्जोङका केही तामाङहरू पिपा भएकै कारण उनीहरूको राणासँगको सम्बन्धले सामाजिक पुँजी तुलनात्मक रूपमा राम्रो बन्यो। उदाहरणका लागि, फूर्वा तामाङ काठमाडौँ गएका बेला मोहन शमशेर राणाले अग्लो, हट्टाकट्टा, गोरो देखेर ‘यसले छाता ओढाउन सक्छ’ भनेर पिपामा भर्ती गरेको भनिन्छ। पिपा भएकैले पनि फूर्वाले तीनै जना छोरालाई दार्जिलिङ लगेर शिक्षा दिन सके।

उदाहरणका लागि, दोर्जे लामालाई उनको हजुरआमा र आमाले जहिल्यै ‘तमसुक लेख्न सकिहालिस्, मान्छेले झुक्काएर खान सक्दैन, नजोती खान पाउँदैन’ भनेर भनिरहन्थे। उनलाई आफूसँगैको गाउँका अरू साथीहरू पढ्न गएको देखेर पढ्न जान मन थियो। तर उनले पढाइलाई निरन्तरता दिन सकेनन्। दोर्जेले आफ्नो बाल्यकालमा हजुरआमा र आमाले यसो भन्नुको कारण बुझेनन्। तर पछि बिस्तारै उनले थाहा पाए।

दोर्जेले भने, ‘त्यो किन भनेको रहेछ भनेर बुझ्दा पहिला गाउँका नेवारले तामाङको जग्गाजमिन त्यसरी हडपेको रहेछ। त्यही कारण कसैले तमसुक गर्दा आँखा चिम्लेर सही नगरोस् भनेर मेरो हजुरआमा र आमाको चेतना तमसुकसम्म चाहिँ पुगेको रहेछ। त्योभन्दा माथिको चाहिँ उहाँले सोच्नुभएको रहेनछ। जोतेरै खानुपर्छ भन्ने ध्यान बनाइराखेको रहेछ त्यो बेलासम्म पनि।’

पुरानो दाप्चा बजार।
Rabin Giri

असहजतामाझ साक्षर

विभिन्न बाधा-अड्चनका कारण राणाकालको सीमित शैक्षिक संरचनामा तामाङहरूको पहुँच नपुगे पनि, पढ्नबाट वञ्चितीकरणमा पारिए पनि तामाङहरूले पढ्ने-लेख्ने विभिन्न प्रयासहरू भने आ-आफ्नो तर्फबाट जारी राखेका थिए। विभिन्न कारणले गर्दा डाब्जोङका केही तामाङले त्यो समय सामान्य पढ्ने-लेख्ने अवसर पाएका थिए। मुख्यगरी तीन उपायले डाब्जोङका केही तामाङले त्यो समय सामान्य पढ्ने-लेख्ने अवसर पाएका थिए।

पहिलो, कामको खोजीमा नेपालबाहिर (भारत एवं बर्मा) गएकाले। आफ्नो देशमा राज्य-सञ्चालित शैक्षिक संस्थाहरूमा पढ्ने अवसर नपाए पनि कामको खोजी (ज्याला मजदुरी) मा बाहिरी संसारसँग सम्पर्कमा आएका तामाङहरूले लेखपढ गर्ने अवसर पाएका थिए। विभिन्न कामको सिलसिलामा भारत, बर्माजस्ता ठाउँमा पुगेर साक्षर हुन पाएकाले नै उनीहरू राणा सरकारको स्थानीय प्रतिनिधि अथवा तालुकदार भएर काम गर्न अवसर पाएका हुन् भन्ने देखिन्छ।

दोस्रो, गाउँमै लेखपढ गर्ने व्यक्ति (विशेषतः ब्राह्मण र नेवार) कहाँ गएर। राणा शासन चलिरहेका बेला गाउँका तामाङ तालुकदार, लामाका छोरा-नाति लुकी-लुकी लेखपढ गर्न जान्ने व्यक्तिको घरमा पुग्थे। पढ्न-लेख्न जान्ने केही तामाङ घरपरिवारमा भने आफ्ना सन्तानलाई घरमै पढ्न-लेख्न सिकाउने चलन पनि थियो। तामाङ समुदायभित्र आफ्नै परिवारभित्र एक पुस्ताले अर्को पुस्तालाई सिकाउने परिपाटी एकदमै कम भए पनि यदाकदा त्यो अभ्यास पनि भइरहेको थियो।

त्यसैगरी, गाउँमा स्कूल नहुँदा आफ्ना सन्तानलाई गाउँका लेख्न-पढ्न जान्ने ब्राह्मण र नेवारको घरमा पढ्न पठाउँथे। यद्यपि, त्यहाँ पनि अक्षर पढ्न-लेख्न सिकाउने नाममा गुरुले चेलाको श्रम शोषण गर्थे। कतिपय अवस्थामा गुरुको घरमा लेखपढ गर्न जाँदा गुरुले पढाइदिएबापत उनीहरूले कि त गुरुको घरको काम गरिदिनुपर्थ्यो कि त अन्न र पैसा दिनुपर्ने हुन्थ्यो। पढ्ने सबै चेलाले अन्न र पैसा बुझाउन सक्दैनथे। त्यसैले धेरैले आफूले सकेको काम गरिदिएर गुरुलाई सघाउने गर्थे। तथापि, गुरुले पढाउनुभन्दा पनि काम बढी अह्राउने भएपछि पढ्ने चेलाहरू बिस्तारै पढ्न जानै छाड्थे।

उदाहरणका लागि, डाब्जोङका इमानसिंह तामाङ स्कूलमा पढ्न पुग्नुअघि आफ्ना छिमेकी नेवारको घरमा पढ्न जान्थे। उनले त्यहाँ स्याउला काट्ने, ल्याउने, भकारो सोहोर्ने सबै काम गर्नुपरेको थियो। त्यहाँ पढ्नेभन्दा धेरै काम गर्नुपरेपछि इमानसिंह उनीकहाँ पढ्नै गएनन्। पढाइभन्दा पनि काम धेरै गर्नुपरेपछि उनको एक जना साथीले गुरुलाई नै पिटेछन्। पिटेर भागेपछि उनी २/३ दिन वनमै लुकेर बसेका थिए। त्यही भएर उनको नाम नै पछि ‘वनबिरे’ रहन पुगेको थियो। गुरुले आफूसँग पढ्न आउने चेलालाई कतिसम्म अत्याचार गर्थे भन्ने कुरा यो उदाहरणबाट थाहा हुन्छ।

तेस्रो, पिपामा भर्ती भएकाले। डाब्जोङका केही तामाङहरू पिपा भएकै कारण उनीहरूको राणासँगको सम्बन्धले सामाजिक पुँजी तुलनात्मक रूपमा राम्रो बन्यो। उदाहरणका लागि, फूर्वा तामाङ काठमाडौँ गएका बेला मोहन शमशेर राणाले अग्लो, हट्टाकट्टा, गोरो देखेर ‘यसले छाता ओढाउन सक्छ’ भनेर पिपामा भर्ती गरेको भनिन्छ। पिपा भएकैले पनि फूर्वाले तीनै जना छोरालाई दार्जिलिङ लगेर शिक्षा दिन सके। तथापि, स्वदेशमा पिपाका सन्तानलाई भने राणा र अरू कर्मचारीका सन्तानसँग सँगै राखेर पढाइँदैनथ्यो। उनीहरूलाई छुट्टै व्यक्तिसँग राखेर लेखपढ गर्न सिकाइन्थ्यो।

यद्यपि, ती अवसरहरू यदाकदा केहीले पाए पनि शोषणमुक्त भने थिएनन्। तामाङ समुदायभित्रका केही तामाङहरू र अधिकांश पुरुषले मात्रै रोजगारी खोजी अथवा अरू विभिन्न कारणले त्यस्ता अवसरहरू प्राप्त गरेका थिए। जसले पूरै तामाङ समुदायलाई प्रतिनिधित्व गर्दैन। किनभने बहुसंख्यक तामाङहरू त्यस्ता अवसरहरू प्राप्त गर्नबाट वञ्चितीकरणमा परेका थिए।

राज्यको विभेदकारी नीतिका कारण अवसर नपाएका, आफ्नो पहिचान लुकाएर रोजगारीको अवसर पाएका, पुस्तौनी आफ्नै मूलथलोमा बसेका र मूलथलोभन्दा बाहिर गएर बसोबास गर्ने तामाङ परिवारबीच पक्कै पनि शैक्षिक स्तरमा भिन्नता छ। शिक्षाको पहुँच र अवसरको विषयमा चर्चा गर्दा निश्चित भूगोल (लोकेसन) ले पनि प्रभाव पारिरहेको हुन्छ। भूगोलअनुसार विभिन्न जातजातिको शिक्षामा संलग्नतामा भिन्नता पाइन्छ।

निष्कर्षमा बुझ्नुपर्ने विषय के छ भने इतिहासको एउटा कालखण्डमा राज्यले तामाङ समुदायलाई शिक्षा, पेसा तथा रोजगारीमा गरेको विभेदकारी नीति, सोही नीतिले समाजमा संस्थागत गरेको संरचनागत विभेद र असमानता नै तामाङ सीमान्तीकरणको एउटा प्रमुख औजार हो। समय र सन्दर्भअनुसार शैक्षिक वृद्धि/विस्तार र आर्थिक अवस्थामा सुधार भए पनि निश्चित जाति तथा समुदायमा समाजको संरचनागत असमानताहरू विद्यमान हुन्छन्, जुन ती जातजातिको शैक्षिक सहभागितामा झल्किन्छन्।

२००७ सालअघिसम्म पढ्नलाई निषेध गरेको तर २००७ सालपछि शिक्षा सबैको पहुँचमा पुगे पनि यी विभिन्न सामाजिक समूहबीच शिक्षामा तहगत असमानता भने कायम नै छ। ती शैक्षिक भिन्नता अथवा असमानतालाई कम गर्न राज्य असफल भएकैले ती विद्यमान गहिरो संरचनाले सीमान्तकृत तथा लोपोन्मुख समुदायको शैक्षिक सहभागितामा असर पारेको छ। गहिरो संरचनागत असरहरू हालसम्म प्रशासनिक, राजनीतिक, आर्थिक र शैक्षिक क्षेत्रमा विभिन्न रूपमा प्रतिबिम्बित भइरहेका छन्। त्यसैले, इतिहासमा तामाङ समुदायमाथि शिक्षा, पेसा तथा रोजगारीको सन्दर्भमा गरिएको ऐतिहासिक बहिष्करण/अन्यायलाई नजरअन्दाज गरी गरिने कुनै पनि तर्क र विश्लेषण पूर्ण छैनन्।

सन्जिला मोक्तान मार्टिन चौतारीकी अनुसन्धाता हुन् । ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *