
पाल्पा अहिले एउटा जिल्लाको रूपमा र तानसेन एक सांस्कृतिक शहरको रूपमा सीमित रहे पनि यसको विपुल इतिहास छ। यो इतिहास ढिलोमा सन् ७०० मा पाल वंशको राज्य विघटनबाट सुरु हुन्छ। पाल वंशको इतिहास भने कत्यूरीहरूको शासनसँग जोडिन्छ।
ईसापूर्व २५०० वर्ष पूर्वदेखि सन् ७०० सम्म कूर्माचल (हाल भारतको गढवाल)मा कत्यूरीहरूको शासन थियो। बृहत् कत्यूरी साम्राज्य पूर्वमा सिक्किमदेखि नेपाल हुँदै पश्चिममा काबुलसम्म र दक्षिणमा दिल्ली, रोहिलखण्डसम्म फैलिएको थियो। बृहत् कत्यूरी साम्राज्यभित्र थुप्रै माण्डलिक (सामन्त) राजाहरू थिए। छत्रधारी कत्युरी सम्राट्ले आफ्नो नाम पछाडि ‘देव’र माण्डलिक राजाहरूले ‘पाल’पदवी लेख्ने गर्थे।
समयक्रममा कत्यूरी साम्राज्य स–साना माण्डलिक राज्यहरूमा विभक्त भई यस भू–भागमा पाल वंशको शासन कायम भयो। तर सन् ७०० को हाराहरीमा पाल वंशको राज्य विघटनसँगै पालहरूको अधिनमा रहेको भू–भाग पालहरूबाट छुट्न गयो (पाण्डे, बद्र दत्त, कुमाऊँका इतिहास, पृ. १८३, २११)। पालहरूबाट छुटेको भू–भाग नै पाल–पा नामले चिनिन थाल्यो। त्यतिबेला यो भूभागमा मगर भाषाको प्रभाव थियो। मगर भाषामा ‘पा’भन्नाले छुटेको भन्ने बुझाउँछ (श्रेष्ठ, कृष्णप्रकाश, स्थाननामकोश, पृ. १३६)।
खसकाल
हाल तिब्बतमा पर्ने खारी प्रदेशबाट आएर नागराजले बाह्रौं शताब्दीको प्रारम्भतिर सेञ्जा (सिञ्जा) लाई राजधानी बनाई पश्चिम नेपालमा खस अधिराज्यको स्थापना गरेका थिए (नाथ, योगी नरहरिनाथ, इतिहास प्रकाश–भाग १, अंक २, पृ. १४९)। उनका छैटौँ उत्तराधिकारी अशोकचल्लको पालामा खस अधिराज्यको सीमा पूर्वमा नारायणी नदीदेखि पश्चिमा सतलजको चुरे श्रृंखला साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, खारी प्रदेश, केदार खण्ड (कुमाऊँ–गढवाल), लद्दाखसम्म फैलिएको थियो जसअन्तर्गत पाल्पा पनि पर्थ्यो।
‘खस अधिराज्य’को स्थापना भएपछि पहिले पाल पद ओगटेका पालहरूको स्थान सामन्तको रूपमा रहन गयो। जयपाल (द्वितीय) का छोरा पुण्यमल्लले खस राजकुमारी शकुनमालासँग विवाह गरेपछि खस राजपरिवारसँग पालहरूको वैवाहिक सम्बन्ध कायम भयो। सूर्यमणि अधिकारीको पुस्तक ‘पश्चिम नेपालको खस अधिराज्य’अनुसार पालहरूसँग राज्य सञ्चालन गर्ने अनुभव र दक्षता हुनाले खसराजाहरूले पालहरूको सहयोग लिने गर्थे। यसै क्रममा पालहरूले पाल्पामा प्रशासक भई खस अधिराज्यलाई सघाउने काम गरेका थिए।
सेनकाल
खस अधिराज्य विघटन भएपछि यस भू–भागमा बाइसे र चौबीसे राज्यको उदय हुन गयो। सोही क्रममा पाल्पामा सेनहरूको शासन सुरु भयो। राजपूतानाबाट आएका सेनवंशका सन्तति तुथा (तुला) राय सेन, भारतमा मुसलमानहरूको आक्रमण भएपछि राजपुरमा आई उनले ‘राजपुर राज्य’(हालको बुटवलबाट दक्षिण-पश्चिमको भूभाग) खडा गरेका थिए। ‘राजपुर राज्य’पहाडको रिब्दीकोटसम्म फैलिएको थियो। तुथा (तुला) राय सेनका छोरा रिबेलीसेन लगायत उनका दर–सन्तानहरूमा उदय राव, उदयचन्द्र राव, जगब्रहम सेन, धर्मपाल सेन, अनेकसिंह सेन खामराज सेन (रामराज सेन), चन्द्रसेनले पाल्पाको राजकाज चलाएका थिए। त्यसपछि रुद्रसेन पाल्पाका राजा भए।
तानसेन नगरपालिका- ७ प्रभासस्थित शिवालयको जिर्णोद्धार गर्दा फेला परेको शिलालेखले रुद्रसेनले वि.सं. १५४९ मा पाल्पामा शासन गरेको पुष्टि गरेको छ। उक्त शिलालेखमा लेखिएको छ – ‘उभय शिवाय मनुमिन्द्र गते साके १४१४ उदैई सू त्रा दा धर्मै ण रु द्र विर सेन राजा यें।’ यहाँ उल्लेख भएको शाके संवत्मा १३५ जोड्दा वि.सं. १५४९ हुन्छ। सेनकालीन पाल्पा आर्थिक, प्रशासनिक र सैन्य संरचना सबै कोणबाट चौबीसे राज्यहरूमध्ये सबैभन्दा शक्तिशाली थियो। सेनहरूले हाल पाल्पा भैरव मन्दिर रहेको ठाउँ (खास पाल्पा) लाई राजधानी कायम गरी राज्य सञ्चालन गरेका थिए।

रुद्रसेनका छोरा मुकुन्दसेन प्रथमको समयमा पाल्पा राज्यको सीमा पूर्वमा कोशी नदी र पश्चिममा हरिद्वारसम्म (रिजवी, सैयद नजमुल रजा, अठारहवी सदी के जमींदार, पृ. ३१) र दक्षिणतर्फ भारतको अयोध्या एवम् लखनउ नजिकै यमुना नदीको उत्तराखण्डको मैदानी क्षेत्रदेखि हाल भारतको विहार राज्यको पूर्णियाभन्दा अझै दक्षिण गङ्गाको किनारका सम्पूर्ण समतलीय भू–भागसम्म फैलिएको थियो (श्रेष्ठ, निर्मल, समर सौन्दर्यका नायक कर्णेल उजीरसिंह थापा, पृ. ८७)।
राज्य विस्तार गर्ने सिलसिलामा मुकुन्दसेन प्रथमले १५८१ फाल्गुन १९ गते ठूलो फौज लिएर काठमाडौँ खाल्डोमा हमला गरेका थिए। त्यसको ६ महिनापछि पनि पुनः उनले काठमाडौँ खाल्डोमा हमला गरेका थिए (पन्त, महेशराज र पन्त दिनेशराज, नेपाल खाल्डोमा पाल्पाली राजा मुकुन्दसेनको हमला, पूर्णिमा, वर्ष १२, अंक १, पृ. १३)। त्यस्तै नेपाल संवत् ६२२ मा रत्नमल्लको पालामा तिब्बतबाट आएका तिब्बतीहरूलाई धपाउन सेनराजासँग सहयोग मागेका थिए (लंसाल, देवीप्रसाद, भाषा वंशावली, द्वितीय भाग, पृ. ५२)।
फ्रान्सिस ब्युकानन ह्यामिल्टनका अनुसार राजनीतिक पक्षलाई बलियो बनाउन सेन राजाहरूले कुमाऊँबाट दुई भाइहरू प्रतिनिधि तिवारी र कनकनिधि तिवारीलाई ल्याएर मन्त्री र राजसल्लाहकारको स्थान दिएका थिए (एन अकाउन्ट अफ द किङडम अफ नेपाल, पृ.४)। त्यस्तै खसराज्यको नेपा बिर्ताबाट ल्याइएका ‘नेपाल’थरका ब्राह्मणहरूलाई पनि दरबारमा महत्त्वपूर्ण स्थान दिइएको थियो। तिनैमध्येका एक थिए चन्द्रशेखर उपाध्याय नेपाल जसले वि.सं. १८७२ (सन् १८१८) को सुगौली सन्धिमा नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए (यात्री, पूर्णप्रकाश नेपाल, कौशिकादि सन्तति, पृ. १९६-९७)।
सेन शासनकालमै पाल्पालमा काठमाडौं उपत्यकाबाट नेवारहरूलाई लगिएको थियो। मुकुन्दसेन प्रथमले व्यापार व्यवसाय प्रवर्द्धन गर्न र नेवारी शैलीका घरहरूको निर्माण गर्न नेवारहरूलाई पाल्पा लगेका थिए। त्यसै गरी व्यापार प्रवर्द्धन गर्न कश्मीरबाट कशौधनहरूलाई ल्याइएको थियो। सत्रौं शताब्दीको अन्त्यतिर भारतबाट गोला बारुद, बन्दुक बनाउन राम्रो सीप भएका मुसलमान शिल्पकारहरूलाई पाल्पा ल्याइएको थियो। ती मुसलमानहरू कृषि औजार, भाँडाकुडा र गरगहना बनाउने जान्नुका साथै तिजारत (व्यापार) मा पनि माहिर थिए (ड्यास्टिडर मोल्लिका, अन्डरस्ट्यान्डिङ नेपाल मुस्लिम्स इन अ प्लुरल सोसाइटी, पृ.९२)। पाल्पाराज्यलाई प्रशासनिक र सैनिक तवरले चुस्त दुरुस्त राख्न खस अधिराज्यका प्रशासनिक सङ्गठनमा अहम् भूमिका निभाएका ‘कार्की’क्षत्रीहरूलाई पनि सेनराजाहरूले दरबारमा उच्च पदमा राखेका थिए।
यसरी सेन शासनकालीन पाल्पा शक्तिशाली हुनुका साथै विविधतायुक्त पनि थियो।
शाहकाल
गोर्खाली राजा पृथ्वीनारायण शाहले ‘बृहत् नेपाल निर्माण अभियान’सुरु गर्दा पाल्पा शक्तिशाली राज्य थियो। त्यसैले पाल्पासँग सन्धि गर्न मणिकण्ठ रानालाई पाल्पा पठाइएको थियो (पराजुली, बुद्धिसागर, श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जीवनी, पृ. १५)। पृथ्वीनारायण शाहले बृहत् नेपाल निर्माण अभियानलाई मकवानपुर, चौडण्डी, विजयपुर र टिस्टासम्म पुर्याएका थिए। उनको मृत्युपछि बृहत् नेपाल निर्माण अभियान केही बेर सुस्ताउन पुग्यो।
महारानी राजेन्द्रलक्ष्मीले आफ्नो नायवीकालमा पश्चिमतर्फको कास्की दखल गरिसकेकी थिइन्। तर पाल्पाराज्यसँग मित्रता कायम नराखी अभियान अगाडि बढाउन असम्भव थियो। मित्रताको सेतु बन्नपुग्यो विवाह। १८४२ माघ १० गते राजकुमार बहादुर शाहको विवाह पाल्पाका राजा महादत्त सेनको बहिनीसँग भएपछि पाल्पा राज्यसँग गोर्खालीहरूको वैवाहिक सम्बन्ध गाँसियो। यस सम्बन्धले गोर्खालीहरूलाई पश्चिमतिर अभियान अघि बढाउन सहज हुनुका साथै पाल्पाबाट सैन्य सहयोग पनि प्राप्त भयो। महादत्त सेनले आफ्ना विश्वासिला सरदार उपेन्द्रसिं कार्कीको नेतृत्वमा ठूलो फौज पठाएका थिए (श्रेष्ठ, निर्मल, मुझुङेली कार्की, पृ. ७४)।

भीमबहादुर पाँडेको ‘राष्ट्रभक्तिका झलक भाग १’अनुसार यसरी सघाएबापत गोर्खालीले विजित गुल्मी, अर्घा र खाँची गरी तीन राज्यहरू उपहारस्वरूप पाल्पालाई दिएका थिए। त्यस्तै बहादुर शाहले पाल्पाली राजा महादत्त सेनलाई सुनको छाता आदि सम्पूर्ण राज चिह्न, सुनमा हीरा आदि नवरत्न जडिएका दुईवटा माला, मोतीका कुण्डल, मोतीका हार, पगरीलगायत सबै लगाउने लुगा, १०१ हात्ती, १००१ असल घोडा साथै सय भारी रुपियाँ पनि दिएका थिए (पन्त दिनेशराज, आश्रित राज्यउपर बहादुर शाहले लिएको नीति, पूर्णिमा, वर्ष २, अंक २)। यसरी पाल्पाको सरहद विस्तार भएपछि महादत्त सेनले वि.सं. १८४४ मा श्रीनगर शहर बसाइ (हालको तानसेनलाई) राजधानीको बनाए।

महादत्त सेनपछि पृथ्वीपाल सेनको पालामा गोर्खाली र पाल्पाबीच सम्बन्ध राम्रो हुन सकेन। दामोदर पाँडे मारिएपछि उनको नजिक मानिने पाल्पाली राजा पृथ्वीपाल सेन र गढवाली राजा प्रद्युमन शाहको सर्वनास गर्नतिर रणबहादुर शाह लागेका थिए। गढवाली राजा प्रद्युम्न शाह टाढा भएकोले वि.सं. १८६१ वैशाख महिनाको आधाआधीमा चौतारिया हस्तदल शाहलाई सेनापति र बडाकाजी अमरसिंह थापालाई उनका सहायक बनाएर गढवाल हान्न पठाए। साथै उनीहरूको मद्दतका लागि पृथ्वीपाल सेनका सरदार शशीधर टन्डन र पाल्पाली फौज पनि लगे। यसरी पाल्पामा सैनिक शक्ति कमजोर भएपछि पृथ्वीपाल सेनलाई तिम्री बहिनी बिहे गर्छु भनी काठमाडौंमा बोलाए।
गोर्खालीको नियतमाथि शङ्का लागेर पृथ्वीपालले आफ्ना भाइ चौतरिया रणबहादुर सेनसँग बहिनी पठाएका थिए तर रणबहादुरले अति आग्रह गरेकाले १८६१ को जेठमा काठमाडौँ पुगे। शहरभित्र पस्न नपाउँदै पृथ्वीपाल र उनका अंगरक्षकहरूलाई पक्री ललितपुर राजभवनमा नजरबन्द गरियो। पर्सिपल्ट पाल्पामा आक्रमण गर्न साना काजी अमरसिंह थापा (भीमसेन थापाका पिता) र दलभञ्जन पाँडे सेना लिएर काठमाडौंबाट रमाना भए (आचार्य, बाबुराम, नेपालको संक्षिप्त इतिहास ,२६ औं परिच्छेद, पूर्णिमा, वर्ष १६, अंक ४)। यसरी पाल्पा नेपाल अधिराज्यमा विलय भयो। करिब पाँच सय वर्षसम्म पाल्पामा शासन गरेको सेनवंशका समर्थकले प्रतिकार गर्ने सम्भावना भएकाले नेपाल दरबारले पाल्पामा आफ्ना विश्वासी मानिसलाई पठाएको थियो। तत्कालीन मुख्तियार भीमसेन थापाले आफ्ना पिता साना काजी अमरसिंह थापालाई पहिलो तैनाथवाला बनाई पठाएका थिए। उनीपछि पनि पाल्पाका तैनाथवालाहरूमा भीमसेन थापाका सहोदर भाइभतिजाहरूलाई पठाइएको थियो। नेपाल अधिराज्यमा विलय भएपछि पनि पाल्पाको महत्त्वमा कुनै कमी आएन। पश्चिम नेपालको महत्त्वपूर्ण मुकामको रूपमा रहेको पाल्पाबाट नै त्यसभन्दा पश्चिमको प्रशासन र रेखदेख हुने गर्थ्यो।
वर्तमान नेपालमा गोर्खा राज्य विस्तार भइरहेको त्यो समयमा भारतमा भने इस्ट इण्डिया कम्पनीको विस्तार भइरहेको थियो। सन् १६०० मा बेलायती सरकारले ‘गभर्नर एण्ड कम्पनी अफ मर्चेन्ट ट्रेडिङ टु दी इन्डिज’लाई पूर्वी इन्डिज (भारतीय उपमहाद्वीप र पूर्वी एसिया) मा व्यापार गर्न अधिकार–पत्र प्रदान गरेपछि बेलायतीहरू भारत प्रवेश गरे (वुडफोर्ड, पेग्गी, राइज अफ त राज, पृ.१९)। कालान्तरमा उक्त कम्पनी ‘इस्ट इण्डिया कम्पनी’बन्यो। उसलाई दिइएको अधिकार–पत्र २०/२० वर्षमा नवीकरण हुन्थ्यो। सन् १८१३ मा भएको नवीकरणले इस्ट इण्डिया कम्पनीले भारतमा गर्दै आएको व्यापारमाथिको एकाधिकार खुम्चायो। उसलाई चिया र चीनसँगको व्यापारमा मात्र एकाधिकार दिइयो। जसले गर्दा चीन जाने व्यापारिक मार्गको खाँचो पर्यो। यी दुवै कुरा नेपालको सरहदभित्र पर्थ्यो। यी दुई कुरा प्राप्त गर्न कम्पनी सरकारले धेरै प्रयास गर्दा पनि सफल नभएपछि बुटवल, स्यूराज र पूर्वको बाइस मौजाको खिचलो उठाई इष्ट इण्डिया कम्पनीले नेपालउपर सन् १८१४ नोभेम्बर १ तारिखका दिन एकतर्फी युद्ध घोषणा गर्यो। कम्पनी सरकारले नेपाललाई पाँचवटा ठाउँबाट आक्रमण गर्ने योजना बनाएको थियो, त्यसमध्ये पाल्पा एक थियो (स्टिलर, लुडविग, एफ., द राइज अफ त हाउस अफ गोर्खा, पृ.३०२)।
कम्पनी सरकारले पाल्पाको मुहडा बुटवल जितगढीलाई आक्रमण गरी महत्त्वपूर्ण सामरिक लक्ष्य बोकेको पाल्पा सर गरी पश्चिम नेपालसँग नेपाल दरबारको सम्बन्ध छिन्नभिन्न पार्ने सोच बनाएको थियो। नेपाल–अंग्रेज युद्ध (वि.सं. १८७१–७२) को पहिलो चरणमा पाँचैवटा नाकामा कम्पनी फौजलाई नेपाली सेनाले धूलोपिठो पारिदियो (श्रेष्ठ, निर्मल, समर सौन्दर्यका नायक कर्णेल उजीरसिंह थापा, पृ. १९७–२१२)। तर दोस्रो चरणको लडाइँमा पाँचवटा नाकाहरूमध्ये चारवटा नाकामा नेपालले आफ्ना पक्षमा पार्न सकेन। पाल्पाको मुहडा जितगढीको लडाइँमा कम्पनी फौजले वि.स. १८७१ पुस १५ गते मंगलबार र वि.सं.१८७२ वैशाख ७ गते हार बेहोर्नुपर्यो। नेपाली सेनाले यस लडाइँमा जुन वीरता, धीरता र रणकौशल प्रर्दशन गरी विजय पताका फहरायो, त्यसले पाल्पाको गरिमालाई झनै बढाउने काम गर्यो। सुगौली सन्धि भएपछि पनि युद्धको कालो बादल फाटेको थिएन। सम्भावित युद्धको तैयारीमा पाल्पामा गढी गौडाको निर्माण तथा मरम्मत एवं सैनिक मजबुती गर्ने काम युद्धस्तरमा हुन गयो। यस कार्यले पाल्पालाई प्रमुख मुकामको रूपमा स्थापित गर्यो।
जङ्गबहादुर कुँवर राणाको उदयको पूर्वसन्ध्यामा पाल्पाको मातहतमा बागलुङ, पोखरा, प्यूठान र सल्यान जिल्लाहरू थिए भने आठ जिल्ला अदालतमध्ये पाल्पा प्रमुख थियो। जंगबहादुरको उदयसँगै पश्चिमतर्फको प्रमुख गौडा पाल्पालाई बनाइयो। राणाकालको प्रारम्भिक चरणमा जिल्ला प्रशासनको स्वरूप अन्तर्गत प्रधानमन्त्रीको मातहतमा कमाण्डर-ईन्-चिफ र कमाण्डर–इन–चिफको मातहतमा पहिलो तराईको मुख्य गभर्नर-१, दोस्रोमा मध्य गौडा (पाल्पा)-२ र पूर्व गौडा (धनकुट्टा)-३ को व्यवस्था गरिएको थियो। तीमध्ये मुख्य गौडा पाल्पा थियो जसको मातहतमा मातहतमा पश्चिम गौडा गभर्नर (सिलगढी) एवं जिल्ला गभर्नर पश्चिम पहाड रहेको थियो। पश्चिम पहाड गभर्नरअन्तर्गत आसामी राजाहरूमा अछाम, बझाङ, बाजुरा, भीरकोट, दुल्लु, गलकोट, गरुङकोट, जाजरकोट, मुस्ताङ, सल्यान, थालारा आदि थिए। साथै अमालहरू (केही न्यायिक अधिकार पाएको एक मुख्य मानिस भएका गाउँ-घरको मुद्दा-मामिला हेर्ने र सरकारी तिरो उठ्ती–पुठ्ती गर्ने गाउँ घरमा रहेको अड्डा) हरू पनि पाल्पाको मातहतमा रहने व्यवस्था गरिएको थियो (सेभर, एड्रियन, नेपाल अन्डर द रानाज, पृ.४३८)। पाल्पा एक महत्त्वपूर्ण गौडाको रूपमा स्थापित हुनुको मुख्य कारण चाहिँ सैन्य संरचना थियो। जङ्गबहादुरको उदय हुनुभन्दा केही पहिले नेपालमा नियमित २५ र अनियमित ६ रेजिमेन्ट फौज थियो जसमध्ये आधालाई काठमाडौँमा राखिएको थियो भने पाल्पामा ३ रेजिमेन्ट (१३०० जवान) थिए (जोशी, हरिहर राज, जोशी, इन्दु, द फर्स्ट जर्मन टु भिजिट नेपाल, पृ.२५-२६)।
त्यति बेला कायम भएका आठवटा जिल्ला अदालमध्ये एउटा पाल्पा थियो। वि.सं. १९१७ मा नेपाललाई २० जिल्लामा बाँडियो। त्यसमध्ये पाल्पामा जिल्ला अदालत र अमाल रहेको थियो। वि.सं. १९४५ मा पाल्पालाई अझ ठूलो जिल्ला बनाइयो। पाल्पामा क्षेत्रीय सुरु अदालत र अपिल अड्डाको व्यवस्था भयो भने उसको मातहतमा बागलुङ, भगवानपुर, पोखरा, प्यूठान, सल्यान र तौलिहवा जिल्ला अदालतहरू रहने भए। वि.सं. १९७७ मा काठमाडौँ खाल्डोबाहेक प्रशासनिक उद्देश्यले नेपाललाई ३२ जिल्लामा विभाजन गरिएको थियो। पहाड पाल्पा, डोटी, धनकुट्टा, इलाम गौडा र मध्येश (मधेश) जिल्ला गोश्वाराका बडाहाकिम उपरको अपिलसमेत श्रेस्ता अपिलले हेरी बुझी मुख्तियार छेउ लगी सुनाइ ठहरे माफिक तोक फैसला गरिदिनु मुख्तियारबाट तोक फैसला भै छिनिएकोमा अपिल लाग्ने सक्दैन भन्ने व्यवस्था गरिएको थियो ।

राणाकालमा राज्यसंरचना गर्दा पूर्वमा नारायणी नदी, पश्चिममा सल्यान र जुम्ला, दक्षिणमा पाल्ही माझखण्ड र बुटवल अनि उत्तरमा तिब्बत, चीनको सिमानासम्म पाल्पाले छोएको थियो (श्रेष्ठ, दिल्लीबहादुर, नेपाल र विश्व भूगोल दर्पण, भाग–३, पृ. ८२)। सत्यमोहन जोशीको ‘मचा–भूगोल’अनुसार धौलागिरि हिमशृंखला र मुक्तिक्षेत्र पाल्पाभित्र परेको थियो।
राणाकालको पछिल्लो चरण वि.सं. १९९५ मा पाल्पामा अपिल अड्डा थियो। साथै पाल्पा अदालतको मातहतमा बागलुङ, पाल्पा, प्यूठान, सल्यान, थाक र पश्चिम ४ नम्बर जिल्ला अदालतहरू रहने व्यवस्था गरिएको थियो। सात सालको परिवर्तनपछि २००८ सालमा पाल्पा अपिल अड्डाको मातहतमा बागलुङ, पाल्पा, स्याङजा र थाक जिल्लाहरू रहने व्यवस्था गरिएको थियो। राणाकालमा पश्चिम पहाडको रेखदेखको काम पाल्पा गौडाबाट नै हुने तथ्य अभिलेखहरूमा पाइन्छ। अछामको बाली उठाउने र नयाँ मुलुकमा नापी गर्न पनि पाल्पाबाट सिपाही खटाउने काम भएको अभिलेखहरूमा पाइन्छ।

यसरी पाल्पा पश्चिम नेपालको महत्त्वपूर्ण गौडाको रूपमा स्थापित भएको थियो। साथै, प्रशासन सञ्चालन गर्न ठूल-ठूला दरबारहरू, सेनालाई चाहिने हातहतियार जोहो गर्न मेग्जीन अड्डा, हतियार संरक्षण गर्न सिलेखाना, आर्थिक पक्ष चुस्त दुरुस्त बनाउन तीन साँचा तहवील अड्डा, टक्सार, कौशल, भवानी दलको गठन तथा सेनालाई पहिलो ब्यारेकीकरण गर्ने काम पाल्पामा भएको थियो। यसले पाल्पा एउटा महत्त्वपूर्ण सामरिकस्थल र महत्त्वपूर्ण गौडा रूपमा स्थापित भएको देखिन्छ।
निर्मल श्रेष्ठ पाल्पालमा रहेर इतिहास अन्वेषण गर्ने इतिहासकार हुन्। उनका इतिहाससम्बन्धी आधा दर्जन बढी पुस्तक प्रकाशित छन्। ...
निर्मल श्रेष्ठ पाल्पालमा रहेर इतिहास अन्वेषण गर्ने इतिहासकार हुन्। उनका इतिहाससम्बन्धी आधा दर्जन बढी पुस्तक प्रकाशित छन्।