
नेपालको इतिहास लेखनमा संवत् विषय विमर्शमा श्यामसुन्दर राजवंशी सिद्धहस्त छन्। लिपि विशेषज्ञको रूपमा ख्याति कमाएका राजवंशीका विभिन्न जर्नलमा दर्जनौँ अनुसन्धानमूलक लेख र पुस्तक प्रकाशित छन्। उनै राजवंशीसँग नेपालमा चलेका संवत्हरूको इतिहास र यसको गणितीय प्रमाणबारे गोविन्द न्यौपानेले गरेको अन्तर्वार्ता।
* * *
संवत् के हो ? गणित विषयसँग यसको के-कस्तो सम्बन्ध छ ?
संवत् भनेको इतिहासको प्राण हो। संवत् नभएको इतिहासलाई कथा मात्र भन्न सकिन्छ। गणित विज्ञान हो। संवत्लाई गणितले मात्र दोर्याउन सक्छ। त्यसैले संवत्लाई गणितको ‘लिग’बाट लगिएन भने रेललाई लिगबाट नहिँडाई अर्कोतिर लगिए जस्तै हुन्छ र त्यहाँ दुर्घटना निश्चित हुन्छ। त्यस्तै दुर्घटना देखिएको उदाहरण भक्तपुर दरबारभित्रको सुनधाराको अभिलेखहरूलाई औंल्याउन सकिन्छ। किनकी त्यहाँ धारामा पनि नेपालसंवत् ८०८ छ र सँगैको पर्खालमा रहेको ठूलो शिलालेखमा पनि नेपालसंवत् ८०८ नै छ। ती मितिको समानान्तर विक्रमसंवत् भने एउटामा १७४५ र अर्कोमा १७८९ दिइएको छ। यसैलाई भनिन्छ संवत्को दुर्घटना।
भारतीय उपमहाद्वीप र नेपालमा प्रचलित विक्रम संवत्बारे बताइदिनुस् न।
भारतको संवत् र पात्रोहरूको सङ्ख्या कति छन्, बताई नसक्नु छ। मुख्य कुरो भारतले अभ्यास गरेको इस्वी संवत् विश्वको जुनसुकै मुलुकमा पनि गणित एउटै छ। विक्रम संवत् नेपालमा पनि छ, भारतमा पनि। तर, भारतमा विक्रम संवत् कार्तिक शुक्ल प्रतिपदाबाट फेरिन्छ भने नेपालमा वैशाख १ गते फेरिन्छ। यसमा दार्शनिक आधार खोजेर पार लाग्दैन। लिच्छविकालमा नेपालमा चलेको संवत्लाई शक संवत् भन्नेहरूले संवत्लाई गणितको लिगमा नहिँडाइकन विक्रम संवत् भारतमा कार्तिकादि भए जस्तै शक संवत् पनि भारतमा चैत्रादि थिए भने नेपालमा कार्तिकादि भएको भन्दै आएका छन्। यस्तो दार्शनिक तर्क काम लाग्दैन। दार्शनिक कुरा भनेको भारतमा विक्रम संवत् कार्तिकादि छ भने नेपालमा पनि त्यो विक्रम संवत् कार्तिकादि हुनुपर्दछ र शक संवत् भारतमा चैत्रादि छ भने नेपालमा पनि चैत्रादि नै हुन्छ। त्यसरी फरक फरक ढङ्गले हेरिनुलाई दर्शन भनिदैन।
अभिलेखमा प्रयुक्त संवत् शाक शाके र शक एउटै हो भन्ने विद्वान्हरूको धारणाबारे बताइदिनुस् न।
विद्वान्हरूले दायाँ-बायाँ कतै नहेरी शक, शाके शाक जे भने पनि उही हो भन्नु आश्चर्य होइन। मध्यकालको अभिलेखहरूमा नेपाल संवत्सित जहिले पनि ८०२ वर्षको अन्तर देखिने गरेको संवत्लाई भ्रमवश कतै शक भनेर लेख्ने गरियो र कतै शाके भनेर लेख्ने गरियो। यथार्थमा शक र नेपाल संवत्बीच ८०० र ८०१ अन्तर भएकोलाई मात्र भन्न पाइने हो। लिच्छविकालमा नेपालमा प्रचलित संवत् ८०२ वर्ष भुक्त भएपश्चात् ८०३ हुनुको बदला फेरि १ देखि सुरु गर्दै ल्याएको संवत् कालान्तरमा नेपाल संवत् कहलिएको हो। त्यही भएर नेपाल संवत्मा जहिले पनि ८०२ जोड्नासाथ लिच्छविकालमा चलेको संवत् आउने हो। लिच्छविकालमा चलेको संवत्लाई कसैले शक कसैले शाके भन्यो भन्दैमा उसको ८०२ को साइज हेरफेर हुँदैन।

शक संवत्बारेको विवादलाई प्राज्ञिक जगत्ले किन निरूपण नगरेको होला ?
लिच्छविसंवत्को निर्णयमा शकसंवत् के हो भन्ने कुरा प्रष्ट पारेको छैन, भ्रममा नपरौं। त्यो पुस्तकले लिच्छविकालमा चलेको संवत्लाई दुई थरी संवत् हो त्यसमा पहिलो शक संवत् र अर्को शक संवत् ४९८ बाट उठेको मानदेव संवत् हो, यो मानदेव संवत् ३०४ वर्षसम्म चल्यो भन्ने मान्यतालाई नै सकारेको मात्र हो। त्यसका लागि सुमतितन्त्र नामक ग्रन्थलाई अघि सारेको हो। यदि त्यो निर्णयले शक संवत्लाई प्रष्ट पारेको भए सुमतितन्त्रमा प्रष्ट लेखेको ४९८ किन लिइएन? किनभने, लिच्छविकालमा चलेको संवत् कार्तिकबाट सुरु हुने संवत् भनेर थाहा छ, होइन भन्न सक्ने स्थिति छैन। फलस्वरूप कार्तिकमा ४९८ भएको शकसंवत् वैशाख पुग्दा ४९९ हुन्छ भन्न पाइएन। त्यही भएर संवत् ३१ को अभिलेखको मितिको गणना गर्दा यसलाई शक ५२९ को कार्तिकदेखि शक ५३० को आश्विनसम्म भन्नका लागि संवत् ३१ मा ४९८ र ४९९ नजोडी सम्भव नै छैन।
त्यस्तै, संवत् ३०१ को अभिलेखको मितिको गणना गर्न पनि शक ७९९ को कार्तिकदेखि शक ८०० को आश्विनसम्म रहन्छ भन्नका लागि संवत् ३०१ मा ४९८ र ४९९ नजोडी सम्भव नै छैन। संवत् ३१ भनेको वि.सं ६६४ को कार्तिकदेखि वि.सं ६६५को आश्विनसम्म रहने देखाई त्यही विक्रम संवत्बाट १३५।१३५ घटाएर शक ५२९ र शक ५३० बनाएको कुरालाई गणित भनेर पत्याउने भइदियो। त्यस्तै, संवत् ३०१ भनेको पनि विक्रम संवत् ९३४ को कार्तिकदेखि विक्रमसंवत् ९३५ को आश्विनसम्म रहने देखाई त्यसबाट १३५।१३५ घटाएर शक ७९९ र ८०० बनाएको कुरालाई पत्याउने भइदियो। वि.सं ९३५ वैशाखसम्म ३०१ भएको मानदेव संवत् ३०४ सम्म चल्यो भन्नका लागि विक्रम संवत् कति हुनुपर्छ ? नेपाल संवत् वि.सं ९३६ कार्तिक मै उठिसक्यो भन्ने पनि कुनै हेक्का नराख्ने गणकले शक संवत् प्रष्ट पारेको भन्न मिल्छ?
लिच्छविकालीन संवत्का सम्बन्धमा तपाईंले विद्यावारिधि तहमा गरेको शोधपत्रलाई त्रिभुवन विश्वविद्यालयले मान्यता दिनुअघिसम्म तात्कालिक राजकीय प्रज्ञा-प्रतिष्ठानले अर्कै खाले मतलाई स्वीकारेको थियो। यसबारे के भन्नुहुन्छ?
पुरानो स्थापित धरातल नभत्काइकन त्यो ठाउँमा अर्को धरातल बन्दैन। मेरो विद्यावारिधिको शोधपत्रले लिच्छविकालमा चलेको संवत् सम्बन्धमा पनि पहिले स्थापित मानेको मान्यता पूर्णत: भत्किसकेको देखाएको हो। त्यसरी दृष्टान्त देखाउँदा पनि होइन त्यही पुरानै धरातलमा टेका हालेर भए पनि बस्नुपर्दछ भनेर कुनै बुद्धिमानले भन्दैनन्। ठीक त्यही भएर मेरो मतलाई त्रिविले मान्यता दिएको हो।
आज भन्दा ४० वर्षअघि संवत् ५३६ को गोकर्ण बालुवागाउँको अंशुवर्माको अभिलेख भेटिएको थिएन। त्यो बेलासम्म संवत् ५३५ को लगन ज्यावहालको अभिलेख मात्र भेटिएको थियो। त्यति बेला नयराज पन्त, धनवज्र वज्राचार्य मात्र होइन सारा इतिहासकारको मान्यतामा संवत् ५३५ को अभिलेख अंशुवर्माको अभिलेख किमार्थ हु नसक्दैन भन्दै आएका थिए। संवत् ५३६ को गोकर्ण बालुवागाउँको अभिलेख प्रत्यक्ष रूपले अंशुवर्माकै पाइएपछि अघि बनेका मान्यता भनौं वा धरातल धराशायी भएर भत्के। यो अभिलेख भेटिएको बेला स्वयं नयराज पन्त र धनवज्र वज्राचार्य जीवित थिए। उहाँहरूले लिच्छवि संवत्को सम्बन्धमा “आफू चुकें” भन्ने महसुस भलिभाँती गर्नुभएकै हो।
नेपाल संवत्बारे सुल्झिन नसकेको विवाद छ – कसैले यसलाई लिच्छविकालदेखि चलेको भन्छन् त कसैले पछि राघवदेव वा शंखधर साख्वाले चलाएको, यहाँको मत के छ ?
वि.सं ९३५ वैशाखसम्म लिच्छविकालमा चलिरहेको संक्षिप्त लिच्छवि संवत् ३०१ चलिरहेका थियो भन्ने कुरा सहोत्तरतन्त्रको पुष्पिका वाक्यले भन्छ। त्यस बेला शासनसत्तामा मानदेव नाम गरेका तृतीय मानदेव शासक थिए भन्ने पनि बताउँछ। ती तृतीय मानदेवपछि आउने शासक राघवदेव रहेको ऐतिहासिक स्रोतले बताएको छ।
९३६ कार्तिकमा आएर १ देखि सुरु भएको नयाँ संवत् देखा पर्यो। त्यही नयाँ संवत् कालान्तरमा नेपाल संवत् कहलिन आएको तथ्य ऐतिहासिक स्रोतहरूले बताएका छन्। सहोत्तरतन्त्रको पुष्पिका वाक्यमा रहेको संवत् ३०१ लाई मानदेव संवतै हो भनी जिद्दी गर्नेहरूले ९३६ कार्तिकसम्ममा मानदेव संवत् ३०४ भुक्त भइसक्छ भनी सिद्ध गर्न सकेको छैन र सिद्ध गर्न सक्ने पनि होइन। वि.सं ९३६ मा ३०४ वर्ष मानदेव संवत् बितिसकेको हुन सक्छ या हुन सक्दैन त्यसको परवाह नगर्नेहरू नेपाल संवत् शंखधर साख्वाले चलाएकै हो भनी दौडिरहनमा मजा मानिरहेका छन्। मरुटोलको लुकु फल्चा नेपाल संवत् सुरु भएको ताकाभन्दा अघिको ठहराउन पुरातात्विक उत्खनन भएको हुनुपर्यो वा शंखधरले बनाएको भन्ने कंकेश्वरीको चैत्यको गर्भगृहको पुरातात्विक उत्खननबाट पुष्टि हुनुपर्यो। बरु नेपाल संवत्लाई गौरवमय बनाउन शंखधर साख्वाको देन छ भन्न भने सकिएला।

संवत्मा तिथि र दिनको महत्वपूर्ण स्थान हुन्छ। तपाईंको विचारमा पूर्णिमान्त र अमान्त, चैत्रादी र कार्तिकादि भनेको के हो ?
तिथि भनेको बिहान, दिउँसो, बेलुका, राति जुनसुकै बेला सर्न सक्छ। कुनै बेला तिथि दुई दिन देखाइएको पनि हुन्छ, कुनै दिन चाहिँ टुट भएको पनि देखाइएको हुन्छ। चन्द्रमासमा तिथि मात्र देखाइन्छ। सूर्यको अंश तिथिले बताउन सक्दैन। दिन भनेको एक सूर्योदयदेखि अर्को सूर्योदय नभएसम्म रहन्छ। सूर्योदयलाई गतेबाट जनाइएको पात्रोले देखाउँछ।
सरकारी कामकाजमा तिथिलाई गौण मानिन्छ भने हाम्रो जन्म दिन लगायत सबै संस्कारको काममा तिथिबाट लिइन्छ। तापनि तिथि जुनसुकै बेला सर्न सक्ने भएकोले सूर्योदय हुँदा सूर्यले जे तिथि भेट्टायो अर्को सूर्योदय नभएसम्म त्यही तिथि मानेर काम चलाउने गरिन्छ। सौर्यमण्डलको ग्रहमा सूर्य प्रधानग्रह भएको हुनाले चन्द्रोदय भए बेलाको तिथि सूर्यले मान्दैन। सूर्योदय हुँदाको तिथिलाई चन्द्रमाले पनि इन्कार गर्न सक्दैन। बाह्रवटा संक्रान्तिभित्र चन्द्रमा आफै आबद्ध भएर बस्न करै लाग्छ। त्यही भएर स्पष्ट महिना भनेको १२ वटा संक्रान्तिले तय गरेको महिनालाई मात्र महिना भनिन्छ। तिथिमितिको गणना गर्दा ३० दिनको महिना गरेको मतलब त्यो सावनमासको दिन हो। यो चोख्खै तिथि मात्र पनि होइन र गतेको दिन मात्र पनि होइन।
पूर्णिमान्त भनेको महिनाको अन्तिम दिन पूर्णिमालाई मानेको हुन्छ भने अमान्त चाहिँ महिनाको अन्तिम दिन औंसीलाई मानेको हुन्छ। अहिले विक्रम संवत्को वर्ष पूर्णिमान्त र नेपाल संवत्को वर्ष अमान्त छ। शक संवत् कलिगत संवत् पनि अमान्त नै छन्। विक्रम संवत् मल्लकालमा अमान्त र शाहकालमा पूर्णिमान्त मानिए तापनि नेपाल संवत् सुरुदेखि अहिलेसम्म अमान्त नै छ। नेपाल संवत् अहिलेसम्म अमान्त भनी थाहा हुँदाहुँदै पनि मल्लकालको तिथिमिति गणना गर्दा पूर्णिमान्तबाट ट्वाक्क मिल्यो भन्न पाइने होइन। लिच्छविकालमा चलेको संवत् कार्तिकबाट उठेको कार्तिकादि संवत् भनेर जान्दाजान्दै पनि जसले चैत्रादिबाट गणना गरेर ट्वाक्क मिल्यो भन्दै गरेको छ। त्यो गणना दुनियाँलाई आँखामा छारो हालेको भन्दा अरू होइन भन्न सकिन्छ। किनभने शक संवत् आखिरमा चैत्रादि नै रहेछ कार्तिकादि होइन भन्ने कुरा अरूले भन्दा पनि उहाँहरू आफैले चरितार्थ गरेको भयो।
तपाईंले विक्रम संवत्को कुनै सैद्धान्तिक धरातल छैन भन्नुभएको छ, त्यसको के आधार छ ?
राजस्थानको नन्दसा यूपको अभिलेखमा संवत् ४८१ लाई कृत संवत् भनिएको पाइन्छ। त्यही कृत संवत्लाई मन्दसौरको अभिलेखमा कृत संवत् र मालव संवत् दुवै उल्लेख गरियो। यसबाट कृत संवत् र मालव संवत् एउटै रहेछ भन्नेमा शङ्का गर्नुपर्ने अवस्था रहेन। ९३६ मा आएर मालव संवत् मात्र भनियो। यही माल वसंवत् ९७३ पुगेपछि विक्रमकाल भनिएको कुरा बीजापुरको विदग्धराजको अभिलेखमा देखा पर्यो। वसन्तगढको पूर्णपालको अभिलेखमा विक्रमादित्यकाल भनेर विक्रम संवत् १०९९ उल्लेख गरियो।
यसरी कृत, मालव, विक्रम संवत् भनेको एउटै संवत् हुन् र यसका प्रवर्तक शकपार्थियाई शासक वोनोनसले आफ्नो राज्याभिषेकको उपलक्ष्यमा इ.पू ५८ मा चलाएको कुरा भारतीय विद्वान्हरूले लेख्ने गरेका छन्। यस आधारमा नेपालमा नेपाल संवत्को आरम्भ भएको बेलासम्म भारतमा विक्रम संवत् भन्ने नामको नामोनिसान थिएन भन्ने बुझियो। मालव संवत् ९३६ को कार्तिकमा नेपालमा नयाँ संवत् आरम्भ भएको हो। जुन बेला विक्रम संवत्को नामोनिसान थिएन त्यस बेला वि.सं ६३३ देखि उठेको मानदेव संवत् भनेर लिच्छवि संवत्को निर्णयमा गणकलाई त्यसरी गणना गर्ने अधिकार कसरी पायो ?
नेपालमा विक्रम संवत्को नाम उल्लेख हुन आएको पहिलो अभिलेख नेपाल संवत् ५११ को पाटन उकुवहालको ताम्रपत्रमा हो। त्यसमा विक्रम वर्ष भनेर १४४४ अंकित गरिएको छ। यसमा विक्रम संवत् र नेपाल संवत्बीच ९३३ वर्ष फरक मात्र देखिएको छ। जितामित्र मल्लको अभिलेखमा कहीं विक्रम संवत् र नेपाल संवत्बीच ९३७ फरक, कहीं ९८१ वर्ष फरक देखाइएको अभिलेख छन्।
विक्रम संवत्, सुमतितन्त्र र सूर्य सिद्धान्तको विषयमा तपाईंले खण्डन गर्नुभए पनि अरू धेरै विद्वान्ले मुक्तकण्ठले लेखेका छन्। यसमा तपाईंको विमतिको आधार के हो ?
विभिन्न विद्वानहरूको सूर्य सिद्धान्त विभिन्न थरीका छन्। त्यही भएर सुमतितन्त्रमा दिइएको सूर्य सिद्धान्त अरू सूर्य सिद्धान्त मिल्दैन। यो कुरा विद्वान्हरू सबैलाई थाहा छ। सुमतितन्त्रमा धेरै संवत्हरूको नाम छन् तर विक्रम संवत्को उल्लेख त्यहाँ कतै छैन। जसले आफ्नो गणना सुमतितन्त्रबाट गरेको भनी धाक दिन्छ र जसले सुमतितन्त्र नभेटिएको भए हामीलाई लिच्छवि संवत्को निर्णय गर्न ज्यादै गाह्रो पर्थ्यो भन्छ, स्वयं उसले नै सुमतितन्त्रको सूर्य सिद्धान्त पनि लिएनन् र सुमतितन्त्रमा हुँदै नभएको विक्रम संवत् चाहिँ लिन्छ। त्यसलाई सुमतितन्त्रको अनुकूल भन्न मिल्दैन।
जो जसले सुमतितन्त्रको तारिफ मुक्तकण्ठले गरिरहेका छन् उनीहरूलाई लिच्छविकालमा चलेको संवत् शक संवत् र मानदेव संवत् नै हो भन्नमा अत्यन्त खुसी छ। त्यही भएर लिच्छवि संवत्को निर्णय भनेर जुन निर्णय देखा पर्यो त्यसमा सुमतितन्त्रबाट गरेको भनेको हुनाले नै उनीहरू सुमतितन्त्रप्रति गौरव मानिरहेका हुन्। लिच्छवि संवत्को निर्णयमा जुन सूर्य सिद्धान्तबाट गणना गरे भनी देखाइयो त्यो सुमतितन्त्रको होइन। सुमतितन्त्रमा शकसंवत्मा १३५ जोडे विक्रम संवत् आउँछ भनेर दिइएको पनि छैन। सुमतितन्त्रमा दिइएको शक ४९८ लाई १३५ जोडेर वि.सं ६३३ बनाउँदैमा सुमतितन्त्रबाट गणना गरेको भन्न पाइने होइन।
चाँगुको संवत् ३१ को अभिलेखको मिति जुन गणना गरियो त्यसमा ४९८ जोड्ने बित्तिकै ५२९ आउने हुन्छ। ५२९ शकमा आउन ४९८ मा १३५ जोडेर ६३३ बनाइ त्यो ६३३ लाई ३१ मा जोडेर वि.सं ६६४ बनाइकन फेरि त्यसबाट १३५ घटाई शक ५२९ बनाइको हिसाबलाई खाली सारनतारन गर्न मात्र जानेको भयो। लिच्छवि संवत्को निर्णय गर्न सुमतितन्त्र र सूर्य सिद्धान्त कहीं कतै आकर्षित नगरिएको हुनु नै यसको मुख्य खोट हो। सुमतितन्त्रमा खोट छ भनेर हामीले भन्दा पनि संशोधन मण्डल स्वयंले सिद्ध गरेको हो।

नयराज पन्तको लिच्छविसंवत्को निर्णय पुस्तकमा ३९० दिनको एक वर्ष हुन्छ भनिएकोमा तपाईंको फरक धारणाबारे थप प्रष्ट पारिदिनुस् न।
माघ शुक्ल त्रयोदशीलाई त्यो वर्षको तिथिगण ३४३ मानेपछि चैत्रशुक्ल प्रतिपदा आउन त्यसमा बाँकी ४७ दिन जोड्यो भने जम्मा ३९० दिन हुन्छ। त्यो भनेको शक ५२९ को वर्षमा ३९० दिनको वर्ष भनेको भयो, जुन चन्द्र, सूर्य, पृथ्वी सृष्टि भएदेखि कहिल्यै भएको थिएन। अभिलेखमा भएको संवत् ३१ लाई नयराज पन्तले वि.सं ६६४ को कार्तिकदेखि ६६५ को आश्विनसम्म रहन्छ भनेर पुस्तकमा भन्नुभएकै छ। ६६४ को माघशुक्ल त्रयोदशीदेखि चैत्रशुक्ल प्रतिपदासम्म ३९० दिन भयो र ६६५को वैशाख १ गते आउन अर्को १० दिन जोडेपछि ४०० दिन हुन्छ।
हाम्रो पञ्चाङ्ग पात्रोमा हरेक वर्षमा ३६५ दिन छ। त्यो कुनै बेला घटेर ३६४ भएको छैन, बढेर ३६६ भएको पनि छैन। तर अधिकमास त हरेक ३/३ वर्षमा आइरहेकै छ। जब अधिकमास आउँछ ३६५ दिनसम्म त्यो वर्षभित्र पर्यो। बाँकी स्वतः अर्को वर्षमा पर्न जान्छ। उदाहरणका लागि, १०० वर्षको पञ्चाङ्ग थुपार्नुहोस् र अधिकमास परेको वर्षको पञ्चाङ्ग पात्रोहरू मात्र छुट्याएर अलग राख्नु होस्। ती अधिकमास भएको वर्षमा ३९० दिन अझ ४०० दिन भएको पात्रो भेटिदैन। फेरि पनि, २०८० सालको पञ्चाङ्ग पल्टाएर हेर्नुभयो भने त्यो वर्ष श्रावणमा अधिकमास परेको देख्नुहुन्छ। त्यो वर्ष चैत्रको अन्तिमसम्म रामनवमी देख्न पाइन्न। कारण अधिकमास भएकोले हो।
यदि त्यो वर्ष अधिकमास परेको वर्ष भएकोले ३९० दिन ४०० दिनसम्मको २०८० को पात्रोमा हुनुपर्यो भन्नुभयो भने त्यो महाभूल हुन्छ। २०८१ सालको पञ्चाङ्ग पनि पल्टाएर हेर्नुभयो भने त्यो वर्ष वैशाख ५ गते रामनवमी परेको देख्नु हुनेछ। यसरी वैशाख ५ गते परेको रामनवमी २०८० सालकै भन्न पनि पाइएन त्यो दिन रामनवमी नसकेसम्म २०८० साल नै कायम भन्न पनि पाइएन। त्यही २०८१ सालको चैत्र २४ गते आएर रामनवमी परेको छ। यसरी एउटै वर्षमा रामनवमी दुइचोटि देखियो भने पनि त्यो वर्ष ३५४ दिनको वर्ष पनि होइन ३९० दिनको वर्ष पनि होइन।
नेपालको इतिहास लेखनमा येले संवत् जस्ता संवत्हरूको के कति वैज्ञानिक आधार छ ? मिथक र अनुश्रुतिको आधारमा पनि संवत्हरूले मान्यता पाउँछन् ?
राष्ट्रिय स्तरको इतिहास र त्यसका स्रोतहरूमा ती संवत्हरू आइरहेको छैन। ती आ-आफ्ना जाति-संस्कृतिसित सम्बन्धित होलान्। ती जाति र संस्कृतिको अध्ययन गर्नेहरूलाई अवश्य चाहिएला र उनीहरूले नै त्यसको दार्शनिक पक्ष उजागर गर्लान्। इतिहासको पृष्ठहरूमा यी संवत्हरूले नेपालको अरू संवत्सित कुनै प्रकारको सम्बन्ध स्थापित गरेको छैन। दह्रो अभिलेख दस्तावेजहरू नभेटिएसम्म त्यसबारे केही टिप्पणी गर्न मिल्दैन। संवत् भनेको अभ्यास गर्ने विषय होइन।
नेपालमा प्रचलित, उत्पत्ति या जन्म भएको लिच्छविकालमा चलेको संवत् र नेपाल संवत् मात्र हुन्। विक्रम संवत्, कलिगत संवत्, इस्वी संवत् र शक संवतको जन्म नेपालबाहिर भएका हुन्। संवत् चाहे व्यक्तिले या शासकले चलाएको होस्, त्यसको अन्तर्यभित्र आउने गणितले कुनै मुलाहिजा राख्दैन। नेपाल संवत्मा अनुश्रुति र मिथक जोडिएको अवश्य हो। तर, नेपाल संवत् उल्लेख भएका ऐतिहासिक स्रोत अनगिन्ती पाइनु र यसभित्रको गणित पक्षलाई कसैले उपेक्षा गर्न नसकेर नै यसले राष्ट्रिय मान्यता पाएको हो।
गोविन्द न्यौपाने नेपालको इतिहास र संस्कृतिमा रुचि राख्ने लेखक हुन् । ...
गोविन्द न्यौपाने नेपालको इतिहास र संस्कृतिमा रुचि राख्ने लेखक हुन् ।