प्रज्ञा नेपाली बृहत् शब्दकोशका कमजोरी

नेपाल प्रज्ञा-प्रतिष्ठानले २०७९ सालमा प्रकाशन गरेको प्रज्ञा नेपाली बृहत् शब्दकोश ३९ वर्षअघि सालमा उसैद्वारा छापिएको र ६० हजार शब्दको प्रविष्टि मात्र पाएको नेपाली बृहत् शब्दकोश जत्तिको मानक पनि बन्न सकेन।

विक्रम संवत् २०४० मा प्रकाशित नेपाल प्रज्ञा-प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश नेपाली भाषाको मानक शब्दकोश हो। २०३० को दशकको सुरुमा त्रिभुवन विश्वविद्यालयका अनिवार्य नेपाली विषयका शिक्षकहरूको विभिन्न समयमा नेपालका विभिन्न ठाउँमा भएका गोष्ठीको नेपाली भाषाको मानक निर्माणमा उल्लेख्य भूमिका रह्यो। 'अनिवार्य नेपाली शिक्षण निर्देशन' (२०३४) यिनै गोष्ठीको परिणाम हो।

यसकै आधारमा नेपाली व्याकरणका पुस्तकहरू तयार हुन थाले भने शब्दकोश नेपाल प्रज्ञा-प्रतिष्ठानले तयार पार्‍यो। यस अर्थमा साठी हजार हाराहारी प्रविष्टि रहेको नेपाली बृहत् शब्दकोश मानक नेपालीको संहिता हो। २०७९ सालमा सोही प्रतिष्ठानले नेपाली बृहत् शब्दकोश भन्दा झन्नै दोब्बर प्रविष्टि रहेको शब्दकोश प्रकाशित गर्यो प्रज्ञा नेपाली बृहत् शब्दकोश को रूपमा। एउटै संस्थाका उस्तै प्रकृतिका एकभन्दा बढी शब्दकोश हुँदैनन् भन्ने सामान्य ज्ञानको आधारमा यो नेपाली बृहत् शब्दकोश को उत्तराधिकारी हुने गरी तयार भएको हो भन्ने मान्नु तर्कसम्मत हुन्छ।

यसै सन्दर्भमा यो शब्दकोशनेपाली बृहत् शब्दकोश जस्तै मानक बन्न सक्छ कि यसमा सुधार आवश्यक छ भन्ने कोणबाट यहाँ हेर्न खोजिएको छ। शब्दकोशबाट लिइएका साक्ष्यका आधारमा मानक शब्दकोशको दृष्टिमा यो शब्दकोशमा के-कस्ता कमजोरी छन् भन्ने चर्चा यस लेखमा गरिएको छ। यी कमजोरीको चर्चा गर्नुको उद्देश्य यसमा सुधार गर्नुपर्ने कुरा केके हुन् भन्ने खुट्याउनु हो।

मानक शब्दकोशको अर्थ

भाषाको मानक भेद भाषिक समाजका सम्पूर्ण क्षेत्रीय भेदहरूको साझा वा एकीकृत र प्रतिष्ठापूर्ण भेद मानिन्छ। मानक भेदमा व्याकरण, शब्दभण्डार, वर्णविन्यास र उच्चारणलाई विशेष ध्यान दिइन्छ। यस्तो मानक रूपको अभिलेख लिखित व्याकरण र शब्दकोश हुन्।

शब्दकोश शब्दको व्यवस्थित भण्डार हो। हेमाङ्गराज अधिकारी र बद्री विशाल भट्टराईले सम्पादन गरेको नेपाली प्रयोगात्मक शब्दकोश (२०६१) को भूमिकामा चूडामणि बन्धुले "कुनै पनि भाषाका शब्दहरूलाई आवश्यकतानुसार तिनको उच्चारण, व्युत्पत्ति, पदकोटि, प्रयोग र वर्णविन्यासका साथै अर्थ, व्याख्या, परिभाषा, पर्याय, प्रयोग र विपरीतार्थक आदिको जानकारी दिँदै राखिएका शब्दहरुको क्रमब​द्ध सूचीलाई शब्दकोश भनिन्छ" भनेका छन्।

शब्दकोशमा राखिने एउटा शब्द र त्यससम्बन्धी सम्पूर्ण सूचना प्रविष्टि हो। सोही प्रसङ्गमा चूडामणि बन्धु मूल प्रविष्टिमा भाषाका शब्दका साथै, उपसर्ग, प्रत्यय, निपात, संक्षिप्त नाम, अक्षर, धातु, व्युत्पन्न शब्द, टुक्का र उखान आदि हुन सक्ने बताउँछन् र मूल प्रविष्टिमा समाविष्ट हुने यी सबै भाषिक रूप शब्दकोशीय स्वरूप हुन् भन्दछन्। जुन शब्दको सूचना दिइने हो त्यसलाई शीर्ष शब्द भनिन्छ। हरेक प्रविष्टिमा शीर्ष शब्दसँग सम्बन्धित सूचना र त्यसको अर्थसँग सम्बन्धित सूचना गरी स्पष्ट छुट्टिने दुई खण्ड हुन्छन्। तिनलाई उद्देश्य र विधेय खण्ड भन्न सकिन्छ। शीर्ष शब्द र त्यसको उच्चारण, व्युत्पत्ति, पदकोटि, प्रयोग (प्रयोगको विषयक्षेत्र, भूगोल, सामाजिक समूह आदि) र वर्ण विन्यास उद्देश्य खण्डमा रहन्छन्। अर्थ, व्याख्या, परिभाषा, पर्याय, प्रयोग (उदाहरण) र विपरीतार्थक आदि विधेय खण्डमा रहन्छन्। यी सबै सूचना सबै प्रविष्टिमा हुँदैनन्, यीमध्ये कुनैमा थोरै र कुनैमा धेरै वा सबै सूचना हुन सक्छन्। शब्दकोशमा शब्दको सूची 'क्रमबद्ध' हुन्छ। त्यो क्रमबद्धता वर्णमा आधारित वा वर्णानुक्रमिक हुन्छ।

शब्दकोशलाई मूल रूपमा सामान्य शब्दकोश र विशिष्ट शब्दकोश गरी दुई समूहमा छुट्याइन्छ। सामान्य शब्दकोशले सबै क्षेत्र र विषयलाई समेट्छ भने विशिष्ट शब्दकोश कुनै खास क्षेत्र वा विषयमा मात्र केन्द्रित हुन्छ। उदाहरणका लागि, बालकृष्ण पोखरेल र अरूले सम्पादन गरेको नेपाली बृहत् शब्दकोश र गङ्गाप्रसाद उप्रेती र अरूले सम्पादन गरेको प्रज्ञा नेपाली बृहत् शब्दकोश सामान्य शब्दकोश हुन् भने कृष्णप्रकाश श्रेष्ठको स्थाननामकोश र यमनाथ तिमिल्सिनाको अभिलेखीय नेपाली शब्दकोश विशिष्ट शब्दकोश हुन्।

उपर्युक्त दुई थरी शब्दकोशमध्ये शब्दकोशीय सिद्धान्त पालना गरेको खण्डमा सामान्य शब्दकोश मानक शब्दकोश बन्न सक्छ भने विशिष्ट शब्दकोश यस्तो सिद्धान्त पालन गरेरै पनि मानक नहुन सक्छ। खास गरी भाषिका कोश र अभिलेखीय शब्दकोशका धेरैजसो प्रविष्टि मानक प्रयोगभन्दा भिन्न हुन्छन् भने स्थान नाममा लोकप्रचलित वर्णविन्यास वा उच्चारणका साथै अन्य भाषाका शब्दसमेत हुन सक्ने हुनाले तिनमा सधैँ मानक प्रयोगको अपेक्षा गर्न सकिँदैन।

कमजोरीका उदाहरण

यहाँ प्रज्ञा नेपाली बृहत् शब्दकोश का प्रविष्टि र ती प्रविष्टिका विभिन्न सूचना खास गरी शब्दको स्रोत, व्युत्पादन, शब्दवर्ग र अर्थ लेखन आदि पक्षमा देखिएका कमजोरीबारे चर्चा गरिएको छ।

प्रविष्टि चयन
यस शब्दकोशमा शब्दको सङ्ख्या बढाउने उद्देश्यले थप प्रविष्टि चयन गर्दा भाषिका र अन्य भाषाबाट गरिएको देखिन्छ। यस क्रममा देखिएका केही समस्या निम्नअनुसार छन्।

मानक नेपालीमा नभएका वर्ण
नेपालीमा ६ मूल स्वर, १० द्विस्वर, २९ व्यञ्जन र अनुनासिकता गरी ३५ खण्डीय र एक खण्डेतर वर्ण छन्। नेपाली लेखनमा भने देवनागरी वर्णमालाका थप स्वर चिह्न ई, ऊ, ऋ, अं, अः र थप व्यञ्जन चिह्न ञ, ण, श, ष, क्ष, त्र, ज्ञ समेत प्रयोग गरिन्छ।

प्रज्ञा नेपाली बृहत् शब्दकोशमा उपर्युक्त वर्ण बाहेकदीर्घ जनाउने खण्डेतर वर्ण (:) र अघोष कण्ठ्य स्पर्श व्यञ्जन (अ्) थपिएको छ। यीमध्ये पहिलो देवनागरी वर्णमालाको विसर्ग चिह्न जस्तै देखिन्छ र यसै शब्दकोशमा विसर्गको लागि पनि यही चिह्न प्रयोग गरिएको छ। दीर्घताको लागि यो चिह्नको प्रयोग गर्नु नेपालीमा नयाँ वर्ण थप्नु हो। 'ख्याःल्लि','गःताडी', 'गँःत्या' यस्ता प्रविष्टि हुन्। कण्ठ्य अघोष वर्ण यसरी थपिएको दोस्रो वर्ण हो। यसलाई देवनागरी वर्णमालाको स्वर 'अ' को खुट्टो काटेर वा 'अ'मा हलन्त चिह्न थपेर लेखिएको छ। यसका उदाहरण 'खोअ्क्पा'र 'खोअ्ङ्बे' हुन्।

भाषामा आगन्तुक शब्दलाई दुई किसिमले व्यवहार गरिन्छ – अनुकूलन गरेर मौलिक वर्ण अनुसार लेख्ने वातिनलाई लेख्न वर्णमालामा नयाँ वर्ण थप्ने। वर्ण थप्दा त्यसको जानकारी दिइन्छ र थपेको वर्णको क्रम निर्धारण पनि गरिन्छ। यो शब्दकोशमा भने वर्ण थपेको जानकारी पनि दिइएको र थपिएका वर्णको वर्णानुक्रम खुलाइएको छैन।

त्यसो त वर्णानुक्रम नखुलाइएको मात्र होइन शब्दकोशमा तिनको क्रम एकनासको पनि छैन। दीर्घता र अनुनासिकताको क्रम कहीँ दीर्घता-अनुनासिकता र कहीँ अनुनासिकता-दीर्घता देखिन्छ। यस्तै अघोष कण्ठ्य स्पर्श व्यञ्जन (अ्) को क्रम स्वर 'आ' र 'इ' भन्दा अघि दिइएको छ। देवनागरीमा स्वरको क्रम व्यञ्जनभन्दा अघि हुन्छ।

मानक नेपालीमा नभएका वर्णको अनुकूलन
यस शब्दकोशमा आगन्तुक शब्दको अनुकूलन गरिएको पनि छ। यस्ता केही उदाहरण लिम्बु भाषाबाट आगन्तुक शब्द छन्। लिम्बु भाषामा अर्ध-विवृत पश्च गोलित स्वर छ। नेपालीमा त्यो स्वर छैन, त्यसको नजिकका दुई स्वर अर्ध-संवृत पश्च गोलित (ओ) र अर्ध-विवृत पश्च अगोलित (अ) छन्। त्यसैले लिम्बु भाषाको उक्त स्वरको साटो अनुकूलन गरेर यसको नजिकका नेपालीमा उपलब्ध दुई स्वर ओ र अमध्ये कुनै एउटा स्वर प्रयोग प्रयोग गर्न सकिन्छ। यस शब्दकोशमा यसै गरिएको छ। यसो गर्दा दुईमध्ये कुनै एउटा मात्र प्रयोग गर्नु पर्थ्यो दुइटै होइन। यहाँ कहीँ 'अ' र कहीँ 'ओ' प्रयोग गरिएको छ, यो भने समस्या हो। 'खक्पा' र 'खोक्पा' यस्ता उदाहरण हुन्।

'तत्सम' बाहेकका शब्दमा 'ण' को प्रयोग
मानक नेपालीमा 'ण' व्यञ्जन छैन तापनि तत्सम शब्दको लेखनमा 'ण' नै लेखिन्छ। तत्समबाहेकका शब्दमा भने 'ण' नलेखेर उच्चारण अनुसार 'न्', 'अँड्', 'डँ' वा 'ड्' लेखिन्छ। यस शब्दकोशमा तत्समबाहेकका शब्दमा समेत 'ण' लेखिएको छ, जस्तै– 'कणाइलो' र'कणाली'।

दोहोरो-तेहेरो प्रविष्टि
प्रज्ञा नेपाली बृहत् शब्दकोशमा आगन्तुक शब्द र नेपालीका शब्द गरी दोहोरो प्रविष्टि भएका र फरक वर्णविन्यासमा थर जस्ता ज्ञानकोशीय प्रकृतिका प्रविष्टिको दोहोरो-तेहेरो प्रविष्टि पनि छन्।

आगन्तुक शब्दको व्याकरण मानक नेपालीको भन्दा फरक छ भने ती शब्दका व्याकरणिक अर्थ दिने अंश मानक नेपालीको राखेर प्रविष्टि दिनु व्याकरणिक रूपको अनुकूलन हो। यस शब्दकोशमा यसो नगरी उही अर्थ भएका मानक नेपालीको शब्द र अन्य स्रोतको शब्दका छुट्टाछुट्टै प्रविष्टि दिइएको छ। यस शब्दकोशमा 'आँखो' नाम शब्दमा -- प्रत्यय लागेर बनेका तिन प्रविष्टि अँख्या, आँखे र आँख्या शीर्ष शब्दमा दिइएको छ। यी तिनै शब्दको अर्थ उही हो।

दोहोरो-तेहेरो प्रविष्टिको ठुलो सङ्ख्या क्रिया वर्गका शब्दमा छ। मानक नेपाली क्रियाको प्रविष्टिको शीर्ष शब्द धातुमा -नु प्रत्यय लागेको नाम शब्दको रूपमा राख्ने परम्परा छ। डोटेली भाषामा भने क्रियामूल बन्ने प्रक्रियामा अन्त्यमा त देखिन्छ तर त्यसअघिको व्यञ्जन भने विभिन्न सन्धि प्रक्रियाले गर्दा फरक-फरक हुन्छ। यस शब्दकोशमा मानक नेपाली र डोटेलीका क्रियामूललाई छुट्टाछुट्टै प्रविष्टि दिइएको छ। यसका उदाहरण टाल्नु-टाल्लु, ठग्नु-ठग्गु-ठग्दु, लाग्नु-लाग्गु, ताप्नु-ताप्दु, तर्नु-तड्डु, चल्नु-चल्लु, तक्नु-तग्गुहुन्। यस शब्दकोशमा ज्ञानकोशीय प्रकृतिका थर बुझाउने शब्दको दोहोरो-तेहेरो प्रविष्टि पनि पाइन्छ, जस्तै– 'त्वानावासू', 'त्वायनावास', 'त्वायनावासू'।

कथ्य रूपको प्रविष्टि
मानक शब्दकोशमा मानक लिखित रूपको प्रविष्टि हुन्छ। यस शब्दकोशमा भने कतिपय कथ्य रूपको पनि प्रविष्टि पाइन्छ। यसरी कथ्य रूप दिँदा त्यसको मानक रूपतिर प्रतिनिर्देश गर्नुपर्छ। यस शब्दकोशमा प्रतिनिर्देश नगरी कथ्य प्रविष्टि दिइएको उदाहरण 'इस्सोर'हो।

पदावलीको प्रविष्टि
स्वतन्त्र शब्दको अर्थ जोडेर समूहको अर्थ नखुल्ने शब्द समूह शब्दकोशको प्रविष्टि बन्छन्, टुक्का र उखान यस्ता प्रविष्टि हुन्। स्वतन्त्र शब्दका अर्थ जोडेर समूहकै अर्थ बुझिने शब्द समूह भने शब्दकोशमा प्रविष्टि बन्दैनन्। यस शब्दकोशमा भने यस्ता शब्द समूहलाई पनि प्रविष्टि दिइएको छ, जस्तै– 'आँखासामु' र 'आँखासामुन्ने'।

आगम र व्याकरणिक रूपको भेद नछुट्याइएको
अन्त्यमा व्यञ्जन गुच्छ वा संयुक्त व्यञ्जन हुने नेपाली धातुमा बाहेकका व्यञ्जन सुरुमा हुने प्रत्यय जोडिँदा अ, इ वा अन्य कुनै स्वर आगम हुन्छ। नेपाली धातुबाट कर्मवाच्यको क्रिया बनाउन पनि -इ प्रत्यय प्रयोग हुन्छ। त्यसैले यस्ता क्रियामा आएको 'इ' स्वरागम हो कि कर्मवाची प्रत्यय हो भन्ने छुट्याउनुपर्छ। यस शब्दकोशमा परेको 'अर्पिनु' सकर्मक क्रियाको रूपमा र कर्मवाची क्रियाको रूपमा दुई छुट्टाछुट्टै शब्द हुन्। यहाँ दिइएको व्युत्पत्ति वा बनोट कर्मवाची क्रियाको हो, सकर्मक क्रियाको होइन।

सरल र तिर्यक् दुवै रूप तथा भाषिकाका शब्दको प्रविष्टि
यस शब्दकोशमा शब्दका सरल र तिर्यक् दुवै रूपका साथै त्यही शब्दको मानकबाहेकको भाषिकागत भेदसमेत छुट्टै प्रविष्टिको रूपमा राखिएको छ। यस शब्दकोशमा प्रविष्ट 'अँखा' शब्द मानक नेपालीको होइन अनि 'आँखा' र 'आँखो' छुट्टै शब्द नभई उही शब्दका सरल र तिर्यक् रूप मात्र हुन्।

वर्णविन्यासमा मात्र भिन्नता भएका शब्द
यस शब्दकोशमा उच्चारण र अर्थ उही भएर वर्णविन्यासमा मात्र भिन्नता भएका शब्दलाई छुट्टै प्रविष्टि दिइएको छ। यस्तो स्थितिमा दुई भिन्न वर्णविन्यासमध्ये कुन चाहिँ मानक हो भन्ने सङ्केत गर्नुपर्ने हो तर त्यसो गरिएको छैन। 'अडकल्नु' र 'अड्कल्नु' यस्तै उदाहरण हुन्।

द्विस्वरमा अनुनासिक चिह्नको अनियमित प्रयोग
अनुनासिक चिह्न वा चन्द्रबिन्दुको प्रयोग स्वरका वर्ण वा मात्रा चिह्नसँग गरिन्छ। यस्तो प्रयोग मूल स्वर वर्ण र तिनका मात्रासँग गर्न समस्या छैन तर नेपालीका द्विस्वरसँग तिनको प्रयोग गर्दा भने अलमल हुने स्थिति छ। नेपालीका दस द्विस्वरमध्ये ऐ र औबाहेकका द्विस्वर लेख्दा दुई ओटा मूल स्वरका वर्ण चिह्न वा पहिलोको मात्रा चिह्न र दोस्रोको वर्ण चिह्न गरी लेखिन्छ। द्विस्वर भनेको दुइटा स्वर होइन एउटै स्वर हो, तिनलाई लेख्न एउटै चिह्न नभएको हुनाले दुई ओटा चिह्न प्रयोग गरेको हो। त्यसैले चन्द्रबिन्दु द्विस्वरको बिचमा होइन पछाडि राख्नुपर्छ। यस शब्दकोशमा भने चन्द्रबिन्दु कहीँ बिचमा र कहीँ पछाडि प्रयोग गरेको देखिन्छ, जस्तै– 'काँइ काइँ' र 'काँइ कुइँ'।

शब्दको स्रोतमा अलमल
यस शब्दकोशमा स्रोतबारे अलमल भएका प्रविष्टि पनि छन्। 'अडकल', 'खलिपा' र 'खलिफा' यस्ता केही उदाहरण हुन्। अडकल शब्दको स्रोत संस्कृत भनिएको छ तर अन्य भाषामा यसको स्रोतबारे प्राक् भारतीय आर्यभाषा भनिएको छ। खलिपाखलिफा शब्दको स्रोत अरबी भाषाको खलीफ भनिएको छ तर यो शब्द अरबीमा खलीफ नभएर खलीफा देखिन्छ।

शब्दको बनोट वा व्युत्पादनमा अलमल
यो शब्दकोशमा शब्दको बनोट वा व्युत्पादन पनि दिइएको छ तर तीमध्ये कतिपयमा त्रुटि देखिन्छ।अर्पिनु शीर्ष शब्दका सकर्मक क्रियाका रूपमा र कर्मवाची क्रियाका रूपमा गरी दुई अर्थ दिइएको छ। यी दुईमध्ये नेपाली क्रियामा -इ कर्मवाची प्रत्यय भएकाले कर्मवाची क्रियाको रूपमा यो व्युत्पत्ति ठीकै छ तर सकर्मक क्रियाको रूपमा भने यो प्रत्यय होइन स्वरागम मात्र हो।

काँठो शीर्ष शब्द काठ मा - प्रत्यय लागेर बनेको देखाइएको छ। काँठो शब्द काठबाट होइन काँठ बाट बनेको हो। काँठको मूल अर्थ यो शब्दकोशले भने जस्तो सहरबाहिरको क्षेत्र होइन यो त विस्तारित अर्थ मात्र हो। काँठ भनेको डाँडाको पाखो वा डाँडाको टुप्पाभन्दा अलि तलको भाग हो। डाँडो जस्तै– ठाडो वस्तुको टुप्पो वा माथिल्लो भागभन्दा केही तलको भाग पनि काँठो नै हुने भयो विस्तारित रूपमा। यसैले भाँडाको मुखभन्दा केही तलको भाग र मानिसको टाउको भन्दा तलको भाग (घाँटी वा छाती) पनि काँठ हो। त्यसैले काँठो शब्द काँठमा प्रत्यय लागेर बनेको हो।

शीर्ष शब्द तड्डु जस्ता शब्दमा हुने रूपध्वनि प्रक्रिया वा सन्धिबारे जानकारी नदिई सोझै तड्--डु मिलेर बनेको जस्तो देखाइएको छ। तर्कुलेतर्कुल्ले दुई शीर्ष शब्दको व्युत्पादन तल+कुलो+ दिइएको छ। यहाँ तर्कु, तर्कुल वा तर्कुलो जस्तो आकार बुझाउन तर्कु मा -लेतर्कुल वा तर्कुलो मा - प्रत्यय लागेर तर्कुले शब्द बन्यो भन्नु तर्कसम्मत हुन्छ।

त्यस्तै काँक्रेविहार शीर्ष शब्दको व्युत्पादन काँक्री+ विहार दिइएको छ। विहार वा मन्दिर भनेका उच्च सांस्कृतिक प्रतिष्ठा प्राप्त संरचना भएको हुनाले तिनलाई चिनाउने आधार छुद्रतावाचक शब्द हुन सक्दैन किनभने छुद्रतावाचक शब्दले सानो मात्रै बुझाउँदैन अलिकति हेयभाव पनि बुझाउँछ। बरु 'मन्दिर क्षेत्रमा गाडिने लिङ्गो' अर्थकोकाँकर मा -ए प्रत्यय लागेर काँकर+ ए+ विहार भयो भन्नु बढी तर्कसम्मत हुन्छ।

शब्दवर्गमा अलमल
यस शब्दकोशमा शब्दवर्गको सूचनामा त्रुटि र अलमल देखिन्छ। यस्तो धेरैजसो क्रिया वर्गका शब्दमा र केही अन्यत्र पनि देखिन्छ। यसको उदाहरण सकर्मक क्रिया र क्रिया भनेर दुई छुट्टै प्रविष्टि दिइएको 'गुदुम्याउनु' र अकर्मक क्रिया र क्रिया भनेर दुई छुट्टै प्रविष्टि दिइएको 'चल्नु' र 'चल्लु' शब्द हुन्। क्रिया अन्तर्गत सकर्मक र अकर्मक दुई समूह हुन्छन्। यसैले सकर्मक र अकर्मक भेद नछुट्याउने हो भने क्रि. मात्रै भने पुग्छ, ती भेद छुट्याउने हो भने क्रि. भन्न मिल्दैन सक्रि. र अक्रि. भन्नुपर्छ। क्रिया र यसका भेदलाई उही तहमा राख्नु गम्भीर त्रुटि हो। माथि चर्चा गरिएको दोहोरो-तेहेरो प्रविष्टिमा शब्दवर्गको यस खालको त्रुटिपूर्ण सूचनाको पनि भूमिका छ।

प्रतिनिर्देशमा अलमल
उही शब्दका वर्णविन्यासका आधारमा देखिने एकभन्दा बढी रूप वा भाषिकाका आधारमा देखिने एकभन्दा बढी रूपमध्ये मानक रूपतिर सङ्केत गर्ने प्रक्रिया प्रतिनिर्देश हो। साथै प्रतिनिर्देशले अर्थ लेखन दोहोरिनबाट जोगाउँछ। यसले गर्दा शब्दकोशमा प्रविष्ट शब्दहरूबिचको सम्बन्ध पनि स्पष्ट हुन्छ र शब्दकोश छरितो पनि बन्छ।

शब्दकोशमा प्रतिनिर्देशसम्बन्धी तीन किसिमका समस्या देखिन्छन् – (१) प्रतिनिर्देशको प्रयोग नगरेर दुई ओटा प्रविष्टिमा अर्थ दोहोर्याउने, जस्तै– 'खलिपा' र 'खलिफा', (२) दुईभन्दा बढी सम्बन्धित प्रविष्टिमध्ये एउटामा प्रतिनिर्देश प्रयोग गर्ने तर अरूमा नगर्ने, जस्तै– 'अँखलो', 'आँख्ला' र 'आँख्लो' र (३) एउटा प्रविष्टितिर प्रतिनिर्देश गरेपछि त्यसबाट फेरि अर्कोतिर प्रतिनिर्देश गर्ने समस्या हो, जस्तै– 'अँखा'बाट 'आँखा'तिर प्रतिनिर्देश गरिएको छ भने 'आँखा'बाट फेरि 'आँखो'तिर प्रतिनिर्देश गरिएको छ।

अर्थलेखनमा समस्या
शब्दकोशमा अर्थलेखनमा पनि समस्या छ। शब्दकोशमा शब्द भिन्न हो कि अर्थ भिन्न हो भन्नेमा अलमल देखिएको छ।उदाहरणका लागि, 'पडेली' शब्दका तीन ओटा प्रविष्टि छन्। यीमध्ये 'हलपाटो' अर्थको 'पडेली' छुट्टै शब्द हो। बाँकी दुई ओटा 'पडेली' छुट्टै शब्द होइनन्। एक खालको गीत र त्यस्तो गीत गाउने काम बुझिने एउटै पडेली शब्द हो। यसैले दुई ओटा पडेली शब्दको प्रविष्टि हुनु र तीमध्ये दोस्रो पडेली शब्दमा दुई ओटा अर्थ दिनु उपयुक्त हुन्छ।

अर्थ एउटा हो कि धेरै भन्ने अलमल यस शब्दकोशमा देखिएको अर्को अलमल हो। यस शब्दकोशमा दुई ओटा 'इस्कोट' शब्द दिइएको छ र तीमध्ये एउटाका दुई अर्थ दिइएको छ – पहिलो पार्यायवाची र दोस्रो वर्णन। तर राम्ररी हेर्दा न ती शब्द दुई ओटा हुन् न त अर्थ दुइटा हुन्।

शब्दकोशमा 'क्षुद्रकण्टकारी' शीर्ष शब्द र त्यसको अर्थ 'अग्निदमनी बुटी' दुवै संस्कृतमा छन्, नेपालीमा होइन। कतिपय शब्दको ठीक अर्थ समात्न सकेको देखिँदैन। 'अँकरा' शब्दका दुई प्रविष्टिमध्ये पहिलोमा झार विशेष र दोस्रोमा जुनसुकै झार भन्ने अर्थ दिइएको छ। हिउँदे खेतीभित्र दुबो, गन्धे आदि पनि उम्रेका हुन्छन् ती त अँकरा होइनन्। त्यसैले दोस्रो प्रविष्टिमा शब्दको ठीक अर्थ आएको छैन। 'अर्धानु' शब्दको अर्थ तीन किसिमले लेखिएको छ तर तीनै ओटाले यस शब्दको ठीक अर्थ दिँदैनन्। यसको ठीक अर्थ 'केही समय प्रयोग गरिसकेको तर काम चल्दैको नफाटेको वा नबिग्रेको' हो।

‘मानक नेपाली शब्दकोश : किन र कस्तो’ गोष्ठीमा भाषाविद् भिम नारायण रेग्मी, हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापा र लेखक तथा समालोचक भिक्टर प्रधान (बायाँबाट क्रमश:)। तस्बिर स्रोत : चिरन घिमिरे 

उपसंहार

प्रज्ञा नेपाली बृहत् शब्दकोशका कमजोरी केलाइएको उपर्युक्त चर्चाबाट यस शब्दकोशमा मानक नेपालीमा नभएका वर्ण थपिएको, मानक नेपालीमा नभएका वर्णको अनुकूलन गर्दा समस्या भएको, 'तत्सम' बाहेकका शब्दमा 'ण'को प्रयोग, व्युत्पादक रूपको कारणले र ज्ञानकोशीय शब्दको दोहोरो-तेहेरो प्रविष्टि, कथ्य रूपको प्रविष्टि, पदावलीको प्रविष्टि, आगम र व्याकरणिक रूपको भेद नछुट्याइएको, सरल र तिर्यक् दुवै रूप तथा भाषिकाका शब्द समेतको प्रविष्टि, वर्णविन्यासमा मात्र भिन्नता भएका उही अर्थका शब्दको प्रविष्टि, द्विस्वरमा अनुनासिक चिह्नको प्रयोग अनियमित भएका प्रविष्टि जस्ता समस्या देखिएका छन्।

त्यसै गरी शब्दको स्रोत, शब्दको बनोट वा व्युत्पादन, शब्दवर्गको सूचना दिने क्रममा र प्रतिनिर्देशको प्रयोगमा अलमल तथा त्रुटि भएको देखिन्छ। अर्थलेखनमा पनि शब्द भिन्न हो कि अर्थ भिन्न हो भन्नेमा र अर्थ एउटा हो कि धेरै भन्नेमा पनि अलमलिएको देखिन्छ। कहीँ कहीँ त शीर्ष शब्द मात्र होइन अर्थलेखन पनि संस्कृतमै छ। कतिपय शब्दको अर्थ राम्ररी नखुलेको वा अर्कै अर्थ दिइएको समेत पाइन्छ।

उपर्युक्त चर्चाका आधारमा यस शब्दकोशलाई यही रूपमा मानक शब्दकोश मान्न सकिने स्थिति देखिँदैन। यो शब्दकोशले मानक शब्दकोशको हैसियत प्राप्त गर्न यसमा गम्भीर सम्पादन आवश्यक छ।


भिम नारायण रेग्मी त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागका शिक्षक हुन्। उनी नेपाली र नेपालका अरू भाषाका व्याकरण, शब्दकोश, लेखन पद्धति जस्ता विभिन्न पक्षमा अनुसन्धान र लेखनमा सक्रिय छन्। ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *