
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गत जेठ १७ गते प्रतिनिधि सभामा जवाफ दिने क्रममा “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ”भन्ने भनाईसँगै नेपाली राजनीतिक वृत्तमा फेरि एकपटक नेपाल-भारत सिमाना सम्बन्धबारे बहस शुरू भएको छ। यो बहसले पुन: एकपटक हामीले सिमानालाई कसरी बुझ्छौँ प्रश्न पनि सतहमा ल्याइदिएको छ।
नेपाल–भारत सिमानाबारे प्रचलित सामान्य बुझाइ र यससम्बन्धी भएका अधिकांश अध्ययनहरूबीच उल्लेखनीय भिन्नता देखिँदैन। एकातर्फ, भारतसँगको खुला सिमानालाई भूपरिवेष्ठित नेपालका लागि वरदान मानिन्छ। अर्कोतर्फ विभिन्न सरकारी अध्ययन र प्रतिवेदनले खुला सिमानालाई राष्ट्रिय सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रका रूपमा चित्रित गर्दै आएका छन्।
सन् १९८३ मा हर्क गुरुङको नेतृत्वमा तयार पारिएको “सीमा तथा बसाइसराइ प्रतिवेदन”ले नेपाल–भारत सिमानाको नियमन गर्नुपर्ने सिफारिस गरेको थियो जसले मधेशमा व्यापक विवाद र असन्तोष उत्पन्न गरेको थियो। सन् २०१८ मा श्रीधर खत्रीको नेतृत्वमा उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले खुला सिमानालाई नेपालको राष्ट्रिय सुरक्षाका सम्भावित चुनौतीहरूमध्ये एकका रूपमा पहिचान गरेको थियो। सन् २०१६ मा गठित नेपाल र भारतका प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदनमा समेत खुला सिमानाको व्यवस्थापन र नियमनसम्बन्धी प्रस्ताव गरिएको सुनिन्छ। त्यस्तै अर्को लोकप्रिय धारणा के पनि छ भने राज्यले सिमानाको वास्तविकता बुझ्न सक्दैन र सीमाञ्चलको समुदायले मात्र सिमानाको अर्थ र अनुभवलाई सही रूपमा बुझेका हुन्छन्।
यी फरक-फरक अवधारणालाई दुई थरी दृष्टिकोणका रूपमा व्यक्त गर्न सकिन्छ, राज्यको र सीमान्तका बासिन्दाको। पहिलो दृष्टिकोणले सीमालाई सुरक्षा, सार्वभौमिकता र नियन्त्रणको दृष्टिले हेर्छ भने दोस्रोले दैनिक आवागमन, नाता–सम्बन्ध र जीविकोपार्जनलाई केन्द्रमा राख्छ। तर यी दुवै थरी दृष्टिकोणले नेपाल–भारत सीमाका विभिन्न बिन्दुहरूबीच विद्यमान महत्त्वपूर्ण भिन्नतालाई ओझेलमा पार्छ।
सिमाना राज्यहरूलाई अलग्याउने राजनीतिक परिकल्पना हो तर सीमान्त भने ऐतिहासिक भूगोल। राजनीतिक सिमानालाई समग्रमा समरूपीय हिसाबले व्यक्त गर्न खोजिन्छ जसले त्यसमा अन्तर्निहित हुने भिन्दाभिन्दै सिमान्तका विशेषतालाई बेवास्ता गर्छ। सिमान्तका स्वरूप स्थानीय भूगोल, इतिहास, आर्थिक गतिविधि र सामाजिक सम्बन्ध अनुसार फरक–फरक हुन्छन्।
सुस्ता र सुनौलीको सिमानाबोध मौलिक रूपमै फरक छ। सुस्तामा मुख्यतः नदीको धार, भूमि अतिक्रमण र सार्वभौमिकतासम्बन्धी विवाद जोडिएको छ तर सुनौलीमा सिमानाको अनुभव फरक छ। त्यहाँको सन्दर्भमा नेपाल–भारत सिमाना मुख्यतः दैनिक आवागमन, व्यापार, पर्यटन, तीर्थयात्रा र सामाजिक अन्तक्रियाद्वारा परिभाषित हुन्छ। हजारौं मानिसहरू रोजगारी, किनमेल, स्वास्थ्य सेवा वा धार्मिक प्रयोजनका लागि दैनिक रूपमा सिमाना वारपार गर्छन्। यस अर्थमा सुनौलीको सीमा दुई देशबीच विभाजनको रेखाभन्दा पनि सम्पर्क आदान–प्रदान र अन्तनिर्भरताको प्रतीकको रूपमा देखा पर्दछ।
वीरगन्ज–रक्सौल त आर्थिक गतिविधिका दृष्टिले झनै महत्त्वपूर्ण नाका हो। यद्यपि गतिशीलताका हिसाबले यी दुई नाका पनि फरक प्रकृतिका छन्। वीरगन्ज–रक्सौल खास गरी नेपालको औपचारिक व्यापार, भन्सार प्रणाली, सुक्खा बन्दरगाह, रेल सम्पर्क र आपूर्ति शृङ्खलासँग जोडिएको आर्थिक करिडोरको रूपमा विकसित भएको छ। नेपालको अधिक आयात–निर्यात यही नाकाबाट हुने भएकोले यहाँ सिमानाको अनुभव राष्ट्रिय अर्थतन्त्र, राज्यको नियमन र पूर्वाधार केन्द्रित गतिविधिद्वारा परिभाषित हुन्छ।
वीरगन्ज–रक्सौल र सुनौलीजस्ता सीमाबिन्दुहरू मुख्यतः व्यापार, यातायात र आर्थिक गतिविधिद्वारा परिभाषित हुन्छन् भने महोत्तरीका भिट्टामोड र मटिहानीजस्ता सीमान्तमा दुवैतर्फका जनसमुदायबीचको गहिरो सामाजिक र सांस्कृतिक सम्बन्ध देख्न सकिन्छ। एउटै मैथिल सांस्कृतिक काल्पनिकी भएकाले दुवै तर्फका गाउँहरूबीच ऐतिहासिक रूपमा अन्तरसम्बन्ध छ जहाँ विवाह, नातागोता र चाडपर्व साझा सामाजिक जीवनका सामान्य अभ्यास बनेका छन्। तर झापाको बाहुनडाँगी क्षेत्रमा सीमापार सम्बन्धभन्दा बढी साझा पर्यावरणीय चुनौतीहरूले सिमानावरिपरिको जीवनलाई आकार दिएका छन्। नेपाल र भारत दुवैतर्फ फैलिएको वन क्षेत्र र जङ्गली हात्तीको आक्रमण दुवैतर्फका स्थानीय बासिन्दाका लागि दीर्घकालीन समस्या बनेको छ। सीमावर्ती तराईका धेरै भूभागहरूमा नदीजन्य बाढी र डुबानका कारणले नेपाल र भारतका सीमावर्ती गाउँहरू एउटै प्राकृतिक विपद्को चपेटामा पर्छन्।
यी उदाहरणहरूले देखाउँछन्, सम्पूर्ण नेपाल–भारत सिमाना एकै प्रकृतिको समान सामाजिक भूगोल होइन। यो त बरु फरक–फरक ऐतिहासिक, सामाजिक, आर्थिक र पर्यावरणीय प्रक्रियाहरूबाट निर्मित बहुआयामिक सीमान्तहरूको समष्टि हो। सिमानालाई केवल दुई सार्वभौम राष्ट्रलाई विभाजन गर्ने राजनीतिक रेखाका रूपमा बुझ्ने परम्परागत राज्य–केन्द्रित दृष्टिकोणले सीमान्तका विविध अनुभवहरूलाई समेट्न सक्दैन।
सबै सीमा क्षेत्रका बासिन्दाले सिमानालाई एकै तरिकाले अनुभव गर्दैनन्। नागरिकताका आधारमा उनीहरूलाई एकै खालको सामाजिक समूहका रूपमा चित्रण गर्ने प्रवृत्ति देखिए पनि वास्तवमा सीमान्तमा पर्ने वर्ग, जात, लिङ्ग, पेशा, राज्यसँगको पहुँच तथा स्थानीय शक्तिसम्बन्धका आधारमा सिमानाको अनुभवमा गहिरो भिन्नता पाइन्छ। सीमापार व्यापारबाट लाभान्वित व्यापारी, सीमापार पारिवारिक र सांस्कृतिक सम्बन्धमा गाँसिएका परिवार, दैनिक ज्यालादारी गर्ने मजदुर, सीमापार अनौपचारिक व्यापारमा निर्भर महिलाहरू, नागरिकता समस्याबाट प्रभावित समुदाय वा वन्यजन्तुको आक्रमण झेल्ने किसानहरूले एउटै सीमालाई फरक–फरक तरिकाले अनुभव गर्छन्। पहाडबाट बसाइँ सरी आएको बुटवलवासीका लागि भारतको सुनौली बिहेबारीजस्ता ठूला अवसरमा सस्तोमा लत्ताकपडा किन्ने ठाउँ हुन सक्छ तर दशगजामा बगिरहेको कुलोबाट सिँचाइ गर्ने कपिलवस्तु शुद्धोधन गाउँपालिकाको कचरिहवाका सीमान्तका नेपालीका लागि भारत आफूजस्तै अर्को किसान बस्ने भूगोल हो।
समस्या अनेक
जसरी सीमान्त अनुभव भूगोलपिच्छे फरक छ त्यसै गरी सीमाक्षेत्रमा विद्यमान समस्या पनि भिन्दाभिन्दै छन्। झापादेखि कञ्चनपुरसम्मका सीमाक्षेत्रमा देखिने समस्या एकअर्कासँग तुलना गर्न नसकिने खालका छन्। प्रत्येक सीमा–जिल्लाले आफ्नै विशिष्ट संरचना, विकासको असमानता र सीमा व्यवस्थापनका भिन्न अभ्यासहरू अनुभव गरेको पाइन्छ जसले सिमानामा एकै किसिमका समस्या हुन्छन् भन्ने सरलीकृत दृष्टिकोणलाई अस्वीकार गर्छ।
सीमा अतिक्रमण, अनौपचारिक व्यापार तथा सीमापार सामाजिक अन्तक्रियाजस्ता केही सामान्यीकृत प्रवृत्तिहरू विभिन्न स्थानमा देखिए पनि तिनको अभिव्यक्ति प्रत्येक जिल्लामा स्थानविशेष ऐतिहासिक–भौगोलिक अवस्थाले फरक रूपमा निर्धारण गरेको हुन्छ। झापा–इलाम क्षेत्रको चिया निर्यातमा भारतीय बजारमाथिको निर्भरताले मुख्य भूमिका खेलेको छ। फलस्वरूप भारतीय सीमामा नेपाली प्रशोधित चियामा लगाइएको रोकका कारण चिया निर्यात गम्भीर रूपमा प्रभावित भएको छ। लामो समयदेखि निरन्तर निर्यात हुँदै आएको चिया सीमानाकामै रोकिंदा र परीक्षण प्रक्रिया झन जटिल बनाइँदा स्थानीय अर्थतन्त्र नै सङ्कटमा परेको छ।
यस्ता खालका आर्थिक अस्थिरताले सीमावर्ती श्रम बजारलाई पनि प्रभावित पार्दछ। खुला सिमानाका कारण भारतको पश्चिम बङ्गालबाट इँटाभट्टाहरूमा काम गर्न आउने अस्थायी श्रमिकहरूको प्रवाह बढ्दो छ। तर उनीहरूको अनियमित र अभिलेखरहित आगमनले श्रममा आधारित सीमा अर्थतन्त्रलाई अनौपचारिक बनाउँदै लगेको छ। यसै सन्दर्भमा रोहिङ्ग्या नागरिकहरूको अनियमित प्रवेशलाई सुरक्षा चिन्ता मानी सीमा निगरानी र अभिलेखीकरणको अभ्यासमा कडाइ गरिएको छ। साथै, बाहुनडाँगी क्षेत्रमा देखिने मानव–वन्यजन्तु द्वन्द्व पनि सीमाको एउटा महत्त्वपूर्ण परिस्थितिजन्य आयाम हो जहाँ वन क्षेत्रको आसपास मानव बस्ती विस्तार, वन्यजन्तुको प्राकृतिक आवागमन मार्गमा बढ्दो मानव हस्तक्षेपका कारण हात्तीहरू आफ्नो परम्परागत मार्गबाट विचलित हुँदै बस्ती र खेतीयोग्य क्षेत्रमा प्रवेश गर्दछन्। यसले अन्ततः मानव बस्तीमा आक्रमण र ठूलो आर्थिक तथा मानवीय क्षति निम्त्याउने चक्र निर्माण गरेको छ।
झापाको विशिष्टता यतिमै सीमित छैन। सन् १९९० को दशकदेखि भुटानी शरणार्थीहरूको प्रश्नले झापालाई दक्षिण एसियाली क्षेत्रीय राजनीति र मानवीय सुरक्षाको केन्द्र बनाएको छ। झापाका विभिन्न शिविरमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरूको तेस्रो देशमा पुनर्स्थापनमार्फत समाधान खोजेपश्चात् झापा केवल नेपाल–भारत सीमाको प्रश्न मात्र नभई भुटान, भारत र अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिक अन्तक्रियाले प्रभावित हुने क्षेत्र भएको देखाउँछ।
यसै सन्दर्भमा “चिकेन–नेक”करिडोरको भू–राजनीतिक महत्त्वले झापाको सीमा राजनीतिलाई झन् जटिल बनाएको छ। यो करिडोरमा भारतले सुरक्षा निगरानीलाई उच्च प्राथमिकता दिँदै आएको छ जसले गर्दा झापा केवल स्थानीय सीमाक्षेत्र मात्र नभई दक्षिण एसियाली भू–राजनीतिक प्रतिस्पर्धाको प्रभाव प्रत्यक्ष अनुभव गर्ने सीमा–भूगोल हो। त्यस्तै गरी रोहिङ्ग्या र बाङ्लादेशी मूलका व्यक्तिहरू भारतीय परिचयपत्रसहित सीमापार प्रवेश गर्न सक्ने सम्भावनाले झापाको सीमा व्यवस्थापन, मानवीय दायित्व र सुरक्षा चिन्ताबीचको तनावलाई झन तीव्र बनाएको छ।
झापाको अनुभवले देखाउँछ, सीमालाई केवल अतिक्रमण वा सीमापार सम्बन्धको सामान्य दृष्टिकोणबाट बुझ्न सकिंदैन। यो त बहुआयामिक र विभिन्न ऐतिहासिक, आर्थिक, परिस्थितिजन्य तथा भू–राजनीतिक प्रक्रियाहरूको अन्तक्रियाबाट निर्मित जटिल सीमा हो, जसको विश्लेषण स्थानविशेष राजनीतिक अर्थतन्त्र र शक्तिसम्बन्धहरूको सन्दर्भमा मात्र सम्भव हुन्छ। यदि एउटै झापा जिल्लाभित्र यति विविध आयामहरू अन्तर्निहित छन् भने कञ्चनपुरसम्मका सीमावर्ती जिल्लाहरूलाई एउटै विश्लेषणात्मक ढाँचामा राख्ने प्रयास झन बढी समस्याग्रस्त देखिन्छ।

“रोटी–बेटी” को छाया
सीमान्तका बासिन्दाको दृष्टिकोण भनेर राष्ट्रिय राजनीतिक सङ्कथनमा प्रस्तुत गरिने केही अवधारणा पनि प्रश्नबाट मुक्त छैनन्। काठमाडौंका रैथाने भइसकेका सीमान्तवासीले जसरी नै आज पनि सीमान्तमै बसिरहेका सीमान्तवासीले सिमाना बुझ्छन् भन्ने पनि जरुरी छैन। सीमान्तमा बसिरहेका स्थानीयका लागि सिमाना प्राथमिक पहिचान नहुन सक्छ। उनीहरूका लागि जातीयता, भाषा, पेशा, वर्ग वा स्थानीय समुदायसँगको सम्बन्ध बढी महत्त्वपूर्ण हुन सक्छ। त्यसैले सीमावर्ती बासिन्दाहरूको अनुभवलाई पनि स्वतः सिद्ध, एकीकृत र समान मान्नु झनै समस्याग्रस्त बुझाइ हुन्छ। तसर्थ सीमालाई “तलबाट”अध्ययन गर्ने दृष्टिकोण पनि आफैमा आलोचनाबाट मुक्त छैन।
एउटै सीमारेखाभित्र सहअस्तित्वमा रहेका बहुआयामिक सिमान्तलाई एकरूपीय दृष्टिले हेर्दा स्थापित केही लोकप्रिय अवधारणाहरूले सीमान्त सम्बन्धलाई एकोहोरो रूपमा व्याख्या गर्दछन्। फलस्वरूप सीमान्त सम्बन्धका विविध पक्षहरू ओझेलमा पर्छन्। नेपाल–भारत खुला सिमानालाई व्याख्या गर्न बारम्बार प्रयोग गरिने एउटा प्रचलित अवधारणा “रोटी–बेटी”हो। यस अवधारणाको ऐतिहासिक र सामाजिक आधारलाई पूर्णतः अस्वीकार गर्न नसकिए पनि यसमाथि पुनर्विचार गर्न आवश्यक छ। “रोटी–बेटी”मूलतः सीमान्तका केही विशेष समुदायहरूका अनुभवबाट निर्मित एउटा दृष्टिकोण हो – विशेषतः ती समुदायहरू जहाँ सीमापार वैवाहिक सम्बन्ध, साझा भाषा र नातासम्बन्ध आदिले लामो समयदेखि सामाजिक जीवनलाई आकार दिएका छन्। तर के केही समुदायहरूको यस्तो अनुभवले १८८० किलोमिटर लामो सम्पूर्ण नेपाल–भारत सिमाना क्षेत्रको विविध अनुभवलाई प्रतिनिधित्व गर्न सक्छ ?
अझ महत्त्वपूर्ण त सीमापार विवाह र पारिवारिक सम्बन्धको तीव्रता स्वयं समयसँगै परिवर्तनशील छ। नागरिकतासम्बन्धी जटिलता, बदलिंदो आर्थिक आकांक्षा, शहरीकरण, शिक्षा, बसाइँसराइ तथा विवाहका बदलिंदा ढाँचाहरूका कारण सीमापार वैवाहिक सम्बन्धको अभ्यास विगतको तुलनामा धेरै कम हुँदै गएको छ। यस्तो अवस्थामा पनि “रोटी–बेटी”लाई स्थिर र अपरिवर्तनीय सीमागत यथार्थका रूपमा पुनरुत्पादन गरिरहनुले समाजमा वर्तमान सामाजिक परिवर्तनप्रति उदासीन रहने जोखिम बोकेको छ।
नेपाल–भारतको सीमान्तीय अनुभवलाई “रोटी–बेटी”को सांस्कृतिक अभ्यासले जति व्यक्त गर्छ त्यत्तिकै बाहुनडाँगीका किसानको हात्ती आतङ्कको अनुभव वा कोशी, गण्डकी, कर्णाली र महाकालीजस्ता प्रमुख नदी क्षेत्रका दुवैतर्फका बासिन्दाको साझा असुरक्षाले पनि अभिव्यक्त गर्छ।
यस्ता साझा पर्यावरणीय अनुभवहरू, सीमासँग जोडिएका प्रचलित एवं प्रमुख सांस्कृतिक काल्पनिकी र अवधारणाभित्र अदृश्य रहन्छन्। प्रश्न गर्न सकिन्छ, किन सीमा वारपार गर्ने ट्रक चालक, रिक्सा चालक, स–साना व्यवसायी, आपूर्तिमा निर्भर श्रमिकहरूको सिमानाको अनुभव नेपाल–भारत सिमानासँग जोडिएका प्रचलित भाष्यहरूको हिस्सा बन्दैनन् ? उनीहरूका लागि सीमा कुनै सांस्कृतिक निकटताको प्रतीक मात्र होइन, बरु जीविकोपार्जन, राज्यको नियमन, भन्सार प्रक्रिया, ट्राफिक जाम, नाकाबन्दीको सम्भावना र आर्थिक अनिश्चिततासँग गाँसिएको दैनिक यथार्थ हो।
वास्तवमा “रोटी–बेटी”जस्तो भाष्यले केही विशिष्ट समुदायहरूको जीवन अनुभवलाई विशेषाधिकार प्रदान गर्दै अन्य सीमान्तीय अनुभवलाई ओझेलमा पार्छ। यसले सीमालाई मुख्यतः सामाजिक–सांस्कृतिक निकटताको स्थानका रूपमा चित्रित गर्छ, जबकि धेरै सीमावर्ती समुदायहरूका लागि सीमा असुरक्षा, पर्यावरणीय जोखिम, आर्थिक निर्भरता, नियमन, अनिश्चितता वा भू–राजनीतिक विवादको स्थल पनि हुन सक्छ। यसरी, एउटा सीमित अनुभवलाई सम्पूर्ण सीमाको प्रतिनिधि यथार्थका रूपमा प्रस्तुत गर्नु आफैमा ज्ञान उत्पादनको शक्ति–राजनीतिसँग जोडिएको प्रश्न हो किनभने यसले निश्चित समुदायको अभ्यासलाई प्राथमिकता दिन्छ र अन्य अनुभवलाई दोयम दर्जामा राख्छ। एउटै सांस्कृतिक काल्पनिकीभित्रको सीमापार विवाह जति सिमानाको यथार्थ अनुभव हो त्यति नै सुदूरपश्चिमका नेपाली नागरिकले सिमानामा खप्नुपर्ने सास्ती पनि नेपाल–भारत सिमानाकै जीवन्त अनुभव हो।
अस्पष्ट लम्बाइ
सीमामाथिको ज्ञान उत्पादनको सन्दर्भमा अर्को महत्त्वपूर्ण समस्या नेपाल–भारत सीमाको लम्बाइबारे विद्यमान असङ्गत तथ्याङ्क हो। नेपाल–भारत सीमाको लम्बाइ कतै १,७५० किलोमिटर, कतै १,८०८ किलोमिटर र कतिपय सन्दर्भमा १,८८० किलोमिटर भनेर उल्लेख गरिएको पाइन्छ। हेर्दा यो सामान्य तथ्यगत त्रुटि वा प्राविधिक कमजोरी जस्तो देखिए पनि “आलोचनात्मक सीमा अध्ययन”को दृष्टिकोणबाट हेर्दा यसले सीमालाई बुझ्ने दुई फरक दृष्टिकोण – राज्य–प्रेरित र सीमावासी–प्रेरितबीचको अन्तर्निहित तनावलाई उजागर गर्दछ।
राज्य–केन्द्रित दृष्टिकोणमा सीमाको लम्बाइ कति छ भन्ने प्रश्न अन्ततः राज्य कहाँसम्म फैलिएको छ भन्ने प्रश्नसँग जोडिन्छ। यस अर्थमा सीमा कुनै निष्क्रिय रेखा नभई राज्यको सार्वभौमिकता, प्रशासनिक नियन्त्रण र पहुँच अनि ऐतिहासिक दाबीहरूको भौतिक अभिव्यक्ति हो। त्यसैले सीमाको लम्बाइसम्बन्धी तथ्याङ्कहरू स्वयं पनि तटस्थ वैज्ञानिक तथ्यका रूपमा होइन, विशेष ऐतिहासिक, प्राविधिक र राजनीतिक प्रक्रियाबाट उत्पादित हुन्छन्। नक्साङ्कन, भू–सर्वेक्षण, अभिलेखीकरण र सीमाङ्कनका अभ्यासहरू बुझ्दा एउटै सीमाका लागि फरक–फरक लम्बाइहरू प्रस्तुत गरिनु कुनै सामान्य विरोधाभास मात्र नभई ज्ञान उत्पादन प्रक्रियाभित्रै रहेको अनिश्चितता र प्रशासनिक अस्पष्टताको अभिव्यक्ति हो।
सीमान्तका बासिन्दाको दृष्टिकोणबाट हेर्दा सिमानाको लम्बाइले आफैमा कुनै विशेष अर्थ राख्दैन। सीमान्तमा बस्ने समुदायका लागि सिमानाको लम्बाइ १७५० किलोमिटर हो वा १८८० किलोमिटरभन्दा पनि उनीहरूको दैनिकी, जीविकोपार्जन, सांस्कृतिक सम्बन्धको प्रश्न महत्त्वपूर्ण हुन्छ। यो पारिवारिक सम्बन्ध, श्रम प्रवाह, बजार सञ्जाल, धार्मिक यात्रा, बाढी डुबानसँग गाँसिएको जीवित सामाजिक–राजनीतिक क्षेत्र हो। यस अर्थमा सिमानाको मापनभन्दा अनुभव बढी महत्त्वपूर्ण हुन्छ।
विडम्बना, नेपाल–भारत सीमासम्बन्धी बहसमा यी दुई दृष्टिकोणमध्ये कहिले एक त कहिले अर्कोको प्रभुत्व देखिन्छ। एकातर्फ राज्य–प्रेरित विमर्शले सीमालाई अत्यधिक प्राविधिक र भू–राजनीतिक विषयमा सीमित गर्छ भने अर्कोतर्फ सीमावासीहरूको अनुभवलाई व्याख्या गर्ने क्रममा “रोटी–बेटी”जस्ता सांस्कृतिक रूपकहरूले सीमालाई अत्यधिक भावनात्मक सम्बन्धमा रूपान्तरण गर्दछन्। तर दुवै दृष्टिकोण सिमानालाई निरन्तर निर्माण भइरहने शक्तिसम्बन्धका आधारमा र त्यसलाई कसले, कसरी र कुन राजनीतिक उद्देश्यका लागि परिभाषित गरिरहेको छ भन्ने परिप्रेक्ष्यमा हेर्न असफल छन्। परिणामतः सीमाभित्र रहेका असमानता, तनाव, विभेद र फरक–फरक स्थानीय समस्याहरू अदृश्य बन्न पुग्छन्।
जटिलतमै बुझौँ
पूर्वी र पश्चिमी नेपालका सीमान्तहरूलाई एकअर्कासँग तुलना गरेर समरूपीय निष्कर्षमा पुग्ने प्रयास आफैमा सीमित र समस्याग्रस्त हुन पुग्छ। कारण, पश्चिममा देखिने धेरै विशेषता पूर्वमा पनि विद्यमान छन् तर फरक स्वरूपमा। श्रम, बसाइँसराइ, सीमापार व्यापार, धार्मिक सम्बन्ध, मानव बेचबिखन, सुरक्षा संवेदनशीलता, पर्यावरणीय समस्या, सांस्कृतिक अन्तरनिर्भरता, पर्यटन, साम्प्रदायिक तनाव वा भूराजनीतिक चासोहरू कुनै एक क्षेत्रको मात्रै विशेषता होइनन्। तिनीहरू सम्पूर्ण नेपाल–भारत सिमानामा विभिन्न मात्रा र स्वरूपमा विद्यमान छन्। तर कुन ऐतिहासिक सन्दर्भमा, कुन शक्तिसम्बन्धभित्र, कुन सामाजिक संरचनासँग अन्तरक्रिया गर्दै, कुन स्थानीय अनुभव र अर्थ उत्पादन गर्छन् भन्ने कुरा भने स्थान अनुसार फरक हुन्छ।
त्यसैले विभिन्न सीमावर्ती क्षेत्रबीचको भिन्नता समस्याहरूको उपस्थितिमा होइन तिनको प्रकृति, अन्तरसम्बन्ध, ऐतिहासिक विकासक्रम र स्थानीय अर्थमा निहित छ। यो जटिलतालाई बुझ्ने प्रयास नै सिमाना अध्ययनका लागि बढी अर्थपूर्ण र फलदायी हुन्छ।
गौरव भट्टराई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति अध्यापन गर्छन् । उनका Nepal Between China and India: Difficulty of Being Neutral र Nepal’s Power Elites: Rajahs, Ranas and Republic गरी दुई पुस्तक प्रकाशित छन्। ...
गौरव भट्टराई त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति अध्यापन गर्छन् । उनका Nepal Between China and India: Difficulty of Being Neutral र Nepal’s Power Elites: Rajahs, Ranas and Republic गरी दुई पुस्तक प्रकाशित छन्।