नेपालको हात्ती कूटनीति 

मध्यकालदेखि नै नेपाली राजनीतिमा हात्ती महत्त्वपूर्ण साधनका रूपमा प्रयोग भएको पाइन्छ। कतै हात्ती शासकको शक्ति बनेको छ त कतै युद्ध र कूटनीतिक अस्त्र अनि कतै शिकारीको सहयोगी।

२०८३ असार २०। भरतपुर महानगरपालिका–२३ मा हात्तीले एकै परिवारका दुई जनाको ज्यान लियो। ‘धुर्वे’ नाम राखिएको हात्तीले त्यो विनाश गरेको थियो। चितवन आसपास क्षेत्रमा ‘आतङ्क’ नै मच्चाएको यो हात्तीले २०६६ सालयता २५ जनालाई मारिसकेको छ। 

कुनै बेला चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्रमा आउने जङ्गली हात्ती रोनाल्डोले स्थानीय र कामदारलाई त्रसित बनाएको थियो। यसले १५ जना मान्छे मारेको थियो। पछि यो शान्त भयो।

पूर्वी नेपालको झापा हुँदै भारतबाट आउने जङ्गली हात्तीको त्रास बेग्लै छ। ती हात्ती रौतहटसम्म पनि आउने गरेका छन्। बाटोमा पर्ने घर भत्काउने, मान्छेलाई आक्रमण गर्ने घटना भइरहन्छन्।

जसरी जङ्गली हात्तीले दुःख दिइरहेको छ, त्यसभन्दा फरक घरपालुवा हात्तीले मान्छेलाई अनेक काममा सघाइरहेका छन्। मान्छेमाथि बारम्बार आक्रमण गर्ने हात्ती खोज्न हात्तीकै प्रयोग हुन्छ। गैँडा, बाघ गणना गर्न पनि हात्तीको प्रयोग हुन्छ। चोरी शिकारी नियन्त्रणमा हात्तीकै प्रयोग हुन्छ।

अहिले भइरहेको हात्तीको प्रयोग ज्यादै सीमित देखिन्छ। लामो समयसम्म हात्ती राज्यको शक्ति थियो। हात्तीलाई व्यापार, कूटनीति, युद्ध, यातायात, सुरक्षा, घरेलुलगायत काममा प्रयोग गरिन्थ्यो। धेरै हात्ती हुने राज्य शक्तिशाली हुन्थे। 

लिच्छविकालबाटै हात्तीलाई युद्ध कार्यमा प्रयोग गरेको पाइन्छ। त्यस बेला सेनाका चार अङ्ग हुन्थे– रथ, हात्ती, घोडचढी र पैदल लड्ने सैनिक। तर काठमाडौँ पहाडी क्षेत्र हुँदा रथ चढेर लड्ने सैनिक भएको बुझिँदैन। घोडा र हात्ती चढेर लड्ने सैनिक भने थिए। राजा मानदेवले मल्लपुरी आक्रमण गर्दा हात्तीको प्रयोग गरी गण्डकी नदी तरेको सङ्केत उनले राखेको चाँगुनारायणको स्तम्भलेखमा छ। अंशुवर्माको हाँडीगाउँको अभिलेखमा राज्यभिषेक गर्दा राजा चढ्ने हात्तीलाई विशेष रूपमा सजाएको उल्लेख छ। कौटिल्यले पनि बाटो बनाउन, खोला तर्ने ठाउँ बनाउन हात्तीको प्रयोग हुने उल्लेख गरेको धनवज्र वज्राचार्यले पूर्णिमाको २०२६ माघ–फागुन–चैत अङ्कमा प्रकाशित लेख ‘लिच्छविकालको शासनपद्धति’मा उल्लेख गरेका छन्।

सल्यानमा पक्रेको हात्ती सल्यानमै र पाल्पाबाट हात्ती पठाई पक्रेको हात्ती पाल्पा नै पठाउन राजा राजेन्द्रविक्रम शाहको भाकामा १८७४ फागुनमा सुब्बा रुद्रवीर शाहीलाई पठाएको पत्र।
भीमसेनकालीन अभिलेख संग्रह, तेस्रो भाग।

हात्तीको शक्ति

विभिन्न राज्यमा विभाजित काठमाडौँ उपत्यकामा हात्तीकै लागि तनाव हुने र हात्तीकै आदानप्रदानबाट सुलह हुने घटना धेरै पटक भएको थियो। प्रताप मल्ल सत्तामा आएको केही समयमा नै भक्तपुरमा आक्रमण गर्न पुगेका थिए। प्रताप मल्लले कब्जा जमाएको आफ्नो किल्ला फिर्ता ल्याउन भक्तपुरका राजा नरेश मल्लले प्रशस्त धन र हात्ती दिएका थिए।

संवत् १७७१ सालमा कान्तिपुरका चौतरिया बनेर दोलखा बसेका झगल ठकुल र ललितपुरका सैनिक मिलेर भक्तपुरमाथि आक्रमण गरे। दुवै पक्षले जित्न सकेनन्। तर दोलखा र ललितपुरले भूपतीन्द्र मल्लसँग दुईवटा हात्ती र हर्जाना लिएको बाबुराम आचार्यको पुस्तक श्री ५ बडामहाराजधिराजको संक्षिप्त जीवनीमा उल्लेख छ।

यद्यपि, उपत्यकाका सबै राज्य हात्तीका लागि मकवानपुरसँग भरपर्नु पर्थ्यो। मकवानपुर राज्यको भावर क्षेत्रमा ठूलो जङ्गल थियो, प्रशस्त हात्ती थिए। उपत्यकाका राज्यसँग शुल्क लिएर मकवानपुरले हात्ती खेदा गर्न दिन्थ्यो। संवत् १७५३ सालको हिउँदमा कान्तिपुरका राजा भूपालेन्द्र मल्ल आफ्नी आमा ऋद्धिलक्ष्मीका साथ हात्ती खेदाका लागि तराई झरेको बाबुराम आचार्यले नेपालको संक्षिप्त वृत्तान्त पुस्तकमा उल्लेख गरेका छन्।

मकवानपुरले कहिलेकाहीँ हात्ती उपहार दिएर पनि काठमाडौँ उपत्यकाका राज्यसँग सुमधुर सम्बन्ध राख्थ्यो। काठमाडौँका राज्यबाट भने मकवानपुरले सुन पाउँथ्यो। हात्ती कूटनीतिकै कारण मकवानपुरलाई सङ्कट पर्दा कान्तिपुरले सहयोग गरेको उदाहरण पनि छन्। सिन्धुलीमाढीको कुनै एक गढीमा शत्रु पक्षबाट आक्रमण हुँदा मकवानपुरका राजा माणिक सेनले कान्तिपुरसँग सहायता मागेका थिए। कान्तिपुरले झगल ठकुलकै नेतृत्वमा सैनिक पठाएको थियो। यसबाट खुसी भएका राजा माणिक सेनले हात्ती उपहार दिएका थिए। बदलामा कान्तिपुरका राजा भाष्कर मल्लले एक जोर सुनका चुरा, एक जोर मोती र शिरोपाउ पठाइदिएको श्री ५ बडामहाराजधिराजको संक्षिप्त जीवनी पुस्तकमा उल्लेख छ।

नेपालको संक्षिप्त वृत्तान्तमा उल्लेख भएअनुसार मकवानपुर राज्यले आफै पनि हात्ती पक्रिएर राम्रा हात्ती आफूसँग राखी अरू हात्ती मुगलानियाँ धनाढ्यलाई बिक्री गर्दथ्यो। धनाढ्यका घरमा हात्ती हुनु ठूलो प्रतिष्ठा थियो।

पृथ्वीनारायणको हात्ती नीति

मकवानपुर र गोरखाबीच सम्बन्ध गाँसिनु र पछि युद्ध हुनुको एउटा कारण हात्ती पनि थियो। मकवानपुरको सिमाना पहाडदेखि तराईसम्मै फैलिएको थियो। दक्षिणको घना जङ्गल छिचोलेर आउन मुगलहरूलाई कठिन थियो। अर्कोतिर जङ्गलका हात्तीबाट हुने व्यापार र हात्तीसहितका सेनाको कारण यो राज्य बलियो हुन सकेको थियो।

गोरखा भने राज्य विस्तारमा लागेको थियो। यही बेला मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारी र पृथ्वीनारायण शाहको विवाहको चर्चा चल्यो। हेमकर्ण सेनले कन्यादानको समयमा छोरीलाई गजमोती हार लगाइदिए र दुलहा-दुलहीलाई एकदन्ता हात्तीमा चढाएर अन्माउन चाहे। यी दुवै वस्तु गौनाका साथ पठाइदिने राजारानीको चाहना थियो। तर राजकुमार दिग्बन्धन सेनले आपत्ति जनाए। पृथ्वीनारायण शाह ती सामान नलिई हिँडे। यही कारणले दिग्बन्धन र पृथ्वीनारायण अर्थात् ज्वाइँ-जेठानको मिल्ती भएन।

हेमकर्ण सेनको मृत्युपछि गोरखाले मकवानपुरलाई आक्रमणमार्फत आफूमा मिलायो। दिग्बन्धन भागेर हरिहरपुर पुगे। गोर्खाली सेनाले हरिहरपुरगढीमा पनि आक्रमण गर्‍यो। छोरासहित दिग्बन्धन भाग्न सफल भए। तर यिनकी रानी, छोरी र सातवटा हात्ती गोर्खालीले पक्रिए। पछि दिग्बन्धनले आत्मसमर्पण गरे र बहिनीको विवाहमा खोसेको हात्ती र गजमोती हार पृथ्वीनारायणलाई समर्पण गरे।

मकवानपुर कब्जा गरेपछि त्यहाँका राजाले यसअघि गरेजस्तै पृथ्वीनारायणले भावर क्षेत्रमा हात्तीसार राखे। हात्ती खेदा गरेर पक्रिएका राम्रा हात्ती राजदरबार र सैनिक कारबाहीका लागि राखेर अरू हात्ती बिहारमा बेचिदिन्थे। जङ्गलमा मरेका गाई, साँढेका सिङ र दँतार हात्तीका दाह्रा फेला परे ती राजाको सम्पत्ति मानिन्थ्यो।

पृथ्वीनारायणले भारततर्फ निकासी गरिने नेपाली वस्तुहरूमा हात्ती तथा जडीबुटीलाई विशेष जोड दिएका थिए। हात्ती पक्रनु नै ठूलो बहादुरी थियो। हात्ती पक्रन घरपालुवा हात्तीको लावालस्कर चाहिन्थ्यो। जङ्गली हात्ती र अन्य घरेलु उत्पादन बेचेर सुनचाँदी ल्याउने पृथ्वीनारायणको नीति भएको बाबुराम आचार्यको पुस्तक नेपालको संक्षिप्त वृत्तान्तमा उल्लेख छ।

गोरखाले संवत् १८२२ सालमा कीर्तिपुर विजय गरेपछि पृथ्वीनारायण सुन्दरप्रसाद नामको हात्ती चढेर शहर घुमेको सुन्दरानन्द बाडाले लेखेको पुस्तक त्रिरत्नसौन्दर्यगाथामा उल्लेख छ। यो हात्ती १८७३ सालमा मरेको पनि उनले उल्लेख गरेका छन्।

बुटवल क्षेत्रमा चर्न छाडिएको हात्ती वनहात्तीसँग लडाइँ हुँदा मरेको र त्यसको एउटा दाँत फेला परेको, अर्को खोजी भइरहेको भनेर मणिराजले पाल्पाका तैनाथवाला हाकिम उजीरसिंह थापालाई १८७४ फागुनमा लेखेको पत्र।
भीमसेनकालीन अभिलेख संग्रह, तेस्रो भाग।

कूटनीतिमा हात्ती

नेपालले २०८२ साल पुसमा दुईवटा हात्ती कतारलाई उपहार दियो। ६ वर्षको पोथी रुद्रकली र पाँच वर्षको भाले खगेन्द्रप्रसाद। 

नेपालमा हात्ती कूटनीति नयाँ होइन। बाध्यतामा परेरै पनि हात्ती उपहार दिने चलन गोरखा राज्य विस्तार नहुँदैदेखि थियो। मकवानपुर राज्यले मुगल बादशाहलाई सालिन्दा १४ हात अग्लो हात्ती नजरानाका रूपमा दिनुपर्थ्यो। त्यति अग्लो हात्ती दिन नसक्दा मकवानपुरका राजाहरूले हात्तीको साटो १० देखि १२ हजार रुपियाँ पटनामा रहेका मुगल हाकिमलाई बुझाउँथे।

मकवानपुरले औरङजेबको समयदेखि प्रतिवर्ष एक हात्ती दिल्ली पठाउँथ्यो। तर मुर्सिदाबादका नबाब दिल्लीका बादशाहभन्दा ठालु बनेपछि यिनै नबाबहरूले पटनामा राखेका अफिसरहरूलाई हात्ती दिन्थे।

गोरखाले मकवानपुरमाथि विजय गरेपछि पनि यो क्रमले निरन्तरता पायो। त्यसका लागि पृथ्वीनारायणले सुब्बा दीनानाथ उपाध्यायलाई दरभंगाका हाकिम मेजर केलीसँग भेट्न पठाए। उपाध्यायले महोत्तरीको तलहट्टी प्रदेश आफ्नो अधिकारमा राख्ने र त्यसबापत यसअघिका मकवानपुरका राजाले तिरेबमोजिम मालवाजवी तिर्न तयार भएको सन्देश दिएका थिए। केलीले उनलाई पटना काउन्सिलका हाकिम जर्ज बेन्सिस्टार्टसमक्ष पठाए। बेन्सिस्टार्टले प्रस्ताव स्वीकार गरेका थिए।

हात्तीको प्रसङ्ग नेपाल र इस्ट इन्डिया कम्पनी सरकारबीच १८५८ सालमा भएको सन्धिमा पनि परेको छ। त्यस बेला राजा रणबहादुर शाह स्वामी बनेर बनारस पुगेका थिए। उनी नफर्किउन् भन्ने चाहना नेपालमा रहेका काजी दामोदर पाँडेलगायत भारदारको थियो। कम्पनी सरकार पनि नेपाललाई सहयोग गरेको बहानामा राजकाजमा हात हाल्न खोजिरहेको थियो। 

दुवै पक्षको स्वार्थ मिल्दा नेपाल र कम्पनी सरकारबीच १८५८ कात्तिकमा सन्धि भयो। यसको एउटा बुँदामा ‘नेपाल सरकारले कम्पनी सरकारलाई मकवानपुरबापत बर्सेनि बुझाउँदै आएको हात्ती अबदेखि बुझाउनु नपर्ने’ उल्लेख भएको पूर्णिमाको २०३१ माघ अङ्कमा प्रकाशित ‘भीमसेन थापा’ लेखमा नयनराज पन्तले उल्लेख गरेका छन्। 

नेपाल र कम्पनी सरकारबीचको उक्त सन्धिमा बनारसमा रहेका स्वामी महाराज रणबहादुरलाई नेपालबाट खर्च दिने विषय पनि छ। त्यहाँ भनिएको छ, “स्वामीजीलाई घरखर्च चलाउन सघाउ पुगोस् भनी विसं. १८५८ मंसिरदेखि पटना सिक्का ८२ हजार रुपियाँको सालिन्दा आयस्ताको यो सानो सौगात स्वामीजीलाई दिइनेछ। सो ८२ हजार मध्येबाट ७२ हजार नगद भुक्तानी दिइनेछ र बाँकी रहेको १० हजारको आधा हात्ती र आधा ढोई दिइनेछ। हात्तीको मोल १ हातको १२५ रुपियाँ तोकिएको।”

त्यस बेला हात्तीको मूल्य त्यसको उचाइअनुसार तय हुने पनि यसले बुझाउँछ। रणबहादुरलाई दिने एउटा हात्ती १२ हातसम्मको हुँदा १५ सयसम्म पर्ने देखिन्छ। सामान्यतः एसियाली हात्ती अफ्रिकी हात्तीभन्दा साना हुन्छन्। एसियाली हात्तीको काँधसम्मको उचाइ दुईदेखि साढेतीन मिटरसम्म हुन्छ। बर्दिया राष्ट्रिय निकुञ्जमा २०४९ सालमा भेटिएको राजागज हात्ती अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो एसियाली हात्ती मानिन्छ। यो हात्ती ३.४३ मिटर अग्लो थियो। तर यो हात्ती अन्तिम पटक २०६४ सालमा तत्कालीन सूर्यपटुवा गाविसको कैलाशीमा देखिएपछि हराएको अन्नपूर्ण पोस्ट दैनिक ले २०७३ चैत १४ गते समाचार छापेको छ।

राणाकालमा हात्तीलाई प्रयोग गरेर हुने ‘शिकार कूटनीति’ पनि खुब चलेको थियो। यसरी शिकार गर्दा पाटे बाघ, गैँडा, भालु, बँदेल, चितुवा, मृगजस्ता जनावर मारिन्थ्यो। धेरैजसो हिन्दू धर्मावलम्बीको बसोबास भएको नेपालमा गणेशको बहान मानिने हात्तीलाई त्यस बेला पनि शिकार गरेको पाइँदैन। बरु हात्ती नै प्रयोग गरेर पक्रिने गरिन्थ्यो। यसरी पक्रनुलाई हात्ती खेदा भनिन्थ्यो। हात्ती खेदा विदेशी पाहुनालाई देखाइन्थ्यो।

नेपालको निम्तोमा १९६८ सालमा शिकार खेल्नकै लागि बेलायती सम्राट जर्ज पाँचौँ नेपाल आएका थिए। उनका लागि चितवनमा खेलिएको शिकारमा ६०० हात्ती प्रयोग गरिएको र ३९ बाघ, १८ गैँडा, चार भालुलगायत मारिएको सरदार भीमबहादुर पाँडेले त्यस बखतको नेपाल, भाग १ मा उल्लेख गरेका छन्। 

त्यसको १० वर्षपछि १९७८ सालमा श्री ३ चन्द्रशमशेरको निमन्त्रणामा बेलायतका युवराज प्रिन्स अफ वेल्स, एडवर्ड (पछि राजा एडवर्ड आठौं) पनि नेपालमा शिकार खेल्न आएका थिए। पर्सिभल ल्यान्डनको पुस्तक नेपालको दोस्रो भागमा उल्लेख भएअनुसार उनको शिकारमा ४२८ हात्ती प्रयोग भएका थिए। त्यस क्रममा १८ बाघ, ८ गैँडा, दुई भालु र दुई चितुवा मारिएका थिए। शिकारका क्रममा बाघ मार्नुलाई विशेष मानिन्थ्यो।

१९७८ सालमा हात्तीको सहाराले शिकार गर्दै बेलायतका प्रिन्स अफ वेल्स एडवर्ड।
ब्रिटिस लाइब्रेरी।

युद्धमा हात्ती

१८७१ मंसिरको मध्यतिर अंग्रेजको फौज सिमानातिर आइपुगेको खबरपछि पाल्पा र बुटवलमा खटिएका भीमसेन थापाका भतिज काजी उजीरसिंह थापा सतर्क भए। उनले कल्पु पल्टन तयारी अवस्थामा राखे। १२ सय जति ढाक्र्या (पजनीमा परी जागिर गुमाएका) पनि जम्मा गरेर पुगेसम्म बन्दुक र नपुगेकालाई धनुकाँड दिए। तर उनीसँग हात्ती र हात्तीलाई बोकाएर युद्धस्थलसम्म पुर्‍याइने ठूला तोप र गोला थिएनन्।

उता अंग्रेजतर्फ मेजर जेनरल जोन सलिभन ऊडको कमान्डमा रहेको फौजमा सुरुमा ४५ सय सिपाही थिए। नबाबका बजिरले ऊडका लागि ३० वटा हात्ती लखनउबाट पठाए। पुस १ गते हिँडेका ती हात्ती पुस १३ तिर ऊडसमक्ष आइपुगेका थिए। पुसको दोस्रो हप्ता ऊडको फौज र पाल्पाली राजाका पर्वते सिपाहीसहित १० हजारको लस्कर १८ वटा तोप, १४ वटा हात्ती र केही घोडासहित आक्रमणका लागि आएको गोर्खाली फौजले खबर पाएको थियो। उनको साथमा पाल्पाली राजाका भारदार कनकनिधि तिवारी थिए, उनैले बाटो देखाउने काम गरेका थिए। तर जितगढीको यो लडाइँमा अंग्रेजको हार भयो, कनकनिधि मारिए।

पश्चिमतर्फ १८७१ पुसतिर अंग्रेजले रामगढ आक्रमण गर्ने योजना बुने पनि सफल भएनन्। त्यसको कारण थियो, उनीहरूका कुल्ली र भरिया भाग्नु। रामगढ किल्ला अप्ठ्यारो र उकालो ठाउँमा थियो। अंग्रेज सैनिक उकालो चढ्न नसक्ने भए।

त्यसको दुई महिनापछि फागुनमा भने अक्टरलोनीले एउटा फौजलाई मलाउँ डाँडा पठाएर रामगढलाई तीनतिरबाट घेरे। हात्तीलाई बोकाएर १८ पाउन्डका गोला खाने तोप पनि डाँडामा पुर्‍याए। अंग्रेजहरूले सडक बनाएर र तोपसहितका हातहतियार झाम्टागढी तथा रामगढका किल्लानजिकका डाँडामा उकालेको मोहन मैनालीले पुस्तक मुकाम रणमैदान: नेपाल-अंग्रेज युद्धको बखान मा लेखेका छन्।

मिलिटरी स्केच अफ द गोर्खा वार इन इन्डिया पुस्तकमा हात्तीले युद्धमा कसरी काम गर्थे भन्ने उल्लेख छ। नेपाल-अंग्रेज युद्धमा टारागढसँग जोडिएको एउटा सहायक किल्ला अग्लो स्थानमा थियो। त्यस किल्लाको पर्खालबाट करिब २२५ पाइला टाढा अंग्रेज सेनाले तोप राख्ने स्थान बनाए। तर त्यस्तो उबडखाबड र ठाडो बाटोमा भारी तोपहरू लैजानु असम्भवजस्तै थियो। मानिसहरूले मात्र तान्नुपरेको भए यस काममा धेरैसमय र श्रम लाग्ने निश्चित थियो।

हात्तीको शक्तिले १८ पाउन्डका तोपहरू पालैपालो तान्दै माथि लगियो। प्रत्येक तोपसँग एउटा हात्ती हुन्थ्यो र ठाउँ पर्याप्त भएको अवस्थामा दुईवटा हात्तीको पनि प्रयोग गरिन्थ्यो। …यसरी भारी तोपहरू लैजाने टोली सुरक्षित र व्यवस्थित रूपमा गन्तव्यमा पुगेको र बिहानदेखि किल्लामाथि तोप प्रहार सुरु गरेको थियो। तर नेपालीसँग ठूला हतियारको अभाव थियो। खाली केही बन्दुक, सात पाउन्ड गोला खाने तोप, विष दलिएका काँडसहितका धनु र पत्थर थिए। त्यसकारण पनि यो किल्लाको युद्ध अंग्रेजले सजिलै जितेको मैनालीले पुस्तकमा लेखेका छन्।

नेपालका लागि १८७२ सालको हिउँदमा काठमाडौँमै युद्धको ठूलो जोखिम भयो। अंग्रेज फौज निर्णायक युद्धको तयारीमा थियो। उनीहरू काठमाडौँ नै हमला गर्ने उद्देश्यले बढ्न थालेका थिए। नेपालसँग न शक्तिशाली हतियार थिए, न ठूलो फौज। युद्धमा केही सीमित हात्ती प्रयोग भएका थिए। तिनको हालत कति खराब थियो भन्ने चितवन माडीको घटनाबाट स्पष्ट हुन्छ।

नेपालले पजनीका बेला जागिर गुमाएका ढाक्रे र ज्यालामजदुरी नदिई काममा लगाइने सर्वसाधारण अर्थात् झारालीलाई पनि युद्धमा प्रयोग गर्थ्यो। सिपाहीलाई भने तलब (खान्गी) वा जागिर (जग्गा) दिइन्थ्यो। चितवन माडीमा खटिएका सिपाहीले करिब पाँच महिनादेखि तलब पाएका थिएनन्। उनीहरूले आफ्ना कमाण्डरलाई खाइखर्च र कपडाबिना अब काम गर्न नसक्ने बताए। कि सापट रुपियाँ कि बिदा दिन भने। तर भीमसेन थापाको आदेशविना कमाण्डरले बिदा दिन सक्दैन थिए। सापटीका लागि भीमसेनसँग दुई हजार रुपियाँ मागेका थिए। यद्यपि ठूलो समस्या हात्तीको थियो।

माडीमा रहेका हात्तीलाई दाना थिएन। माहुतेलाई दिने सिधादान सकिएको थियो। स्थानीयबाट उठाउनुपर्ने पैसा सिपाही लगाउँदा पनि उठेको थिएन। यस्तोमा अंग्रेज फौज नजिक आइपुगेपछि कतिपय गोर्खाली सिपाही उतै मिल्न गए। यो दृश्य माडीको मात्र नभई अन्यत्र पनि दोहोरिँदै थियो। यसअघि १८७१ पुसमा दाङका सुब्बा जसिवन्त अधिकारीका हात्तीवालाले खान नपाएर बिदा दिन भनेको आफ्नो पुस्तकमा मैनालीले उल्लेख गरेका छन् ।

युद्धमा हात्ती मर्थे पनि। काठमाडौँका लागि अगाडि बढेको अंग्रेजले चुरेगढी भञ्ज्याङ कब्जा गर्दासम्म पाँचवटा हात्ती मरेका थिए। तर यी हात्ती गोलाबारुदले भन्दा पनि पानीमा विष हालिएको कारण मरेको अंग्रेजको अनुमान थियो। यस बेला गुलमोहरका जरा भएका धेरै डोका फेला परेका थिए। गुलमोहरका जरा विषालु हुन्छन्। त्यसैले पानीमा विष हालिएको र त्यही पानी खाएर हात्ती मरेको अंग्रेजको अनुमान भएको मुकाम रणमैदान: नेपाल-अंग्रेज युद्धको बखान  पुस्तकमा उल्लेख छ। नेपाल–अंग्रेज युद्ध सुगौली सन्धिमा टुङ्गियो। यो सन्धिबाट नेपालले तीन भागको एक भाग भूगोल गुमाएको थियो।

२००२ सालमा स्वेच्छाले प्रधानमन्त्री पद पद्मशमशेरलाई सुम्पेर सन्यास धारण गर्न पाल्पाको रिडीतर्फ प्रस्थान गर्दै जुद्धशमशेर।
ब्रिटिश लाइब्रेरी।

शिकारमा हात्ती

जंगबहादुरको पालासम्म आइपुग्दा पनि काठमाडौँमा हनुमानढोकाअगाडिको भागमा हात्तीघोडा राख्ने ठाउँ यथावत् थियो। नक्साललगायत ठाउँमा पनि हात्तीसार थिए। उपत्यकाबाहिर अघिबाटै ठाउँठाउँमा हात्तीसार थिए। जंगबहादुरले १९०६ सालमा पूर्व मेचीदेखि पश्चिम डोटीसम्म ठूलो चौडा बाटो बनाउन लगाएको पुरुषोत्तमशमशेर राणाले आफ्नो पुस्तक श्री ३ हरूको तथ्य वृत्तान्तमा उल्लेख गरेका छन्। त्यस बेला यातायातका आधुनिक साधन नभएको हुँदा यस्ता बाटो हात्ती, घोडा हिँडाउन बनाएको अनुमान लगाउन सकिन्छ।

जंगबहादुरकै पालादेखि राणा प्रधानमन्त्रीहरू प्रायः हिउँदमा तराई झर्थे। तराई झर्नुको उद्देश्य नै शिकार र हात्ती खेदा हुन्थ्यो। त्यस बेला यो ठूलो उत्सव नै हुन्थ्यो। ठाउँठाउँमा क्याम्प लाग्थे। क्याम्प लागेका ठाउँका मानिसले पनि काम पाउँथे।

शिकार र हात्ती खेदाका लागि कहिले बारा, पर्सा र त्यसभन्दा पूर्व त कहिले चितवन र त्यसभन्दा पश्चिमतिर जान्थे। जस्तो, १९१८ सालमा जंगबहादुर शिकारका लागि पश्चिम तराई गएका थिए। हटौँडादेखि शिकार गर्दै ठोरी पुगेर १०औँ दिनमा त्रिवेणी पुगेका थिए। त्रिवेणीमा अरू १० दिन मुकाम राखेका थिए। त्यहाँ उनले ६ वटा पाटे बाघे र एउटा ठूलो गोही मारेका थिए। त्यस बेला मुकाम सार्दै बाँकेसम्म पुगेर शिकार खेलेको पुरुषोत्तमशमशेरले उल्लेख गरेका छन्। त्यो वर्षको शिकारमा जंगबहादुरले ३१ वटा बाघ, २७ जरायो, २२ चित्तल, ११ गोही, ११ अर्ना,१० बँदेल, चार भालु, तीन चितुवा, एउटा अजिङ्गर र गैँडा मारेका थिए। २१ वटा हात्ती पक्रिएका थिए।

संवत् १९१९ सालको शिकारमा भने जंगबहादुरले ३९ बाघ, चार डमरु, पाँच भालु, चार गैँडा, १५ जरायो, तीन बँदेल मारेका थिए। १८ वटा हात्ती पक्रिएका थिए।

बाघ शिकार गर्नुअघि पहिला त्यो बसेको ठाउँलाई एकातिर कोण बनाएर तीनतिर सेतो कपडाले घेरा लगाइन्थ्यो। अनि हात्ती लगाएर घेरामा पारिन्थ्यो। अन्तिममा गोली हानेर मारिन्थ्यो। यसरी शिकार गर्न जाँदा सयौँ हात्ती लगिन्थ्यो। जस्तो, प्रिन्स अफ वेल्थ अल्बर्ट एडवर्ड शिकारका लागि नेपाल आउँदा ८०० हात्ती लगाएर बाघलाई घेरा हालिएको पुरुषोत्तमशमशेरले उल्लेख गरेका छन्।

घरेलु तालिमप्राप्त हात्ती लगाई जङ्गली हात्तीलाई घेरा हालेर पक्रिने गरिन्थ्यो। यसरी पक्रिएका कतिपय ठूला भीमकाय हात्तीको दारा काटेर छाडिन्थ्यो। छावालाई तालिम दिएर राखिन्थ्यो। त्यस बेला राणा परिवार र राणा परिवारले अनुमति दिएका व्यक्तिले मात्र हात्ती पाल्न पाउँथ्यो। 

२०८२ पुसमा चितवनको सौराहामा आयोजित १९औं हात्ती महोत्सवमा हात्तीसहित सहभागी माहुते।
नेपाल पर्यटन बोर्ड

रवाफका लागि हात्ती

श्री ३हरूको तथ्य वृत्तान्त भाग १ अनुसार जंगबहादुरका छोरा जगतजंग मनहरा दरबारमा सरेका थिए। मनहराबाट कवाजका लागि टुँडिखेल जाँदा र फर्किंदा उनी हात्तीको दुवैतर्फको दाह्रामा प्वाल पार्न लगाई ती दाह्राबीचमा झुला राखेर त्यही झुलामा झुल्दै रवाफका साथ हिँड्थे।

हात्ती पाल्नु र चढ्नु ठूलो प्रतिष्ठा थियो। गीर्वाणयुद्धविक्रम शाहलाई हात्तीमा राखेर शहर घुमाउँदा त्यस बेलाका शक्तिशाली मुख्तियार भीमसेन थापा अर्को हात्तीमा पछिपछि हुन्थे। त्यस्तै, प्रधानमन्त्री जुद्धशमशेर ढोई हात्ती चढेर शहर घुम्थे। उनले राजकाज छाडेर सन्यासी भएर काठमाडौँ उपत्यका छाड्दा हात्ती चढेर बाहिरिएका थिए। संवत् १९९३ फागुन २५ गते राजा त्रिभुवनको रजत जयन्ती नेपालको इतिहासमा अपूर्व घटना थियो। यसरी रजत जयन्ती मनाउने उनी पहिलो राजा थिए। त्यस दिन टुँडिखेलमा आतबाजी गरी घ्याम्पो उडाइयो, मार्च पास भयो, गरिबलाई ख्वाइयो। कतिपय कैदी पनि छाडियो। कानमा ठूलाठूला हीराका टप लगाएर र गलामा हीराको माला लगाएर राजा त्रिभुवन नारायणहिटीबाट हनुमानढोकासम्म बग्गीमा गए। त्यहाँबाट भने खुब सजिएको हात्तीमा चढेर इन्द्रचोक, असन हुँदै टुँडिखेल गएको सदरदार भीमबहादुर पाँडेले त्यस बखतको नेपाल भाग २ मा  उल्लेख गरेका छन्।

संवत् २००७ सालपछि पनि रवाफ दखाउन जमिनदारहरूले हात्ती पाल्थे। पहाडमा हात्ती पाल्न गाह्रो थियो। तराईमा भने हात्तीको उपयोग सवारीका लागि, ठूला भारी बोकाउन, काठ र मुढा बोक्न प्रयोग हुन्थ्यो। पत्रकार पर्वत पोर्तेलले २०८० मंसिर १ गतेको कान्तिपुर दैनिक मा कुनै बेला यसरी झापामा हात्ती पाल्ने जमिनदारहरूको कथा लेखेका छन्। 

दुई दशकदेखि पत्रकारितामा संलग्न प्रकाश गुरागाईं कवि तथा इतिहासका अनुसन्धाता हुन्। खुट्टामा श्रीपेच (कविता संग्रह), जङ्क्सन पिपलबोटः नयाँ सडकको कथा (गैरआख्यान) पुस्तक लेखेका गुरागाईंको सम्पादनमा दाइबाः चित्तरञ्जन नेपाली (स्मृति ग्रन्थ) र आफर (कविता संग्रह) पनि प्रकाशित छन्। ...