
आयको स्रोतका रुपमा श्रम प्रवासन मुख्य विकल्प बन्दै जाँदा नेपाली महिलाहरूको सहभागिता पनि बढ्दो छ। गन्तव्य र कामको स्वरुप बदलिएको छ। युवाहरुको संख्या थपिँदै गएको छ।
नेपालबाट हुने श्रम प्रवासन लामो समयसम्म भारत केन्द्रित रहेको र लगभग पुरुषहरू मात्र सहभागी हुने गरेको भए तापनि केही दशकदेखि श्रम प्रवासनको प्रवृत्तिमा क्रमिक रूपमा परिवर्तनहरू आइरहेका छन्। वैदेशिक रोजगारीमा महिलाहरूको सहभागिता उल्लेखनीय रूपमा वृद्धि हुँदै गइरहेको छ। उनीहरू भारत, मलेसिया र खाडी मुलुकहरू जस्ता परम्परागत गन्तव्यभन्दा बाहिरका देशहरूमा पनि ठूलो सङ्ख्यामा गइरहेका छन्। पछिल्लो एक दशकमा नेपाली महिलाहरूको वैदेशिक रोजगारीमा सहभागिताको अवस्था र स्वरूपबारे लेखमा चर्चा गरिएको छ।
बढ्दो सङ्ख्या
आर्थिक वर्ष २०७१/७२ मा कुल श्रम स्वीकृति लिने महिला श्रमिकहरूको सङ्ख्या करिब ३० हजार थियो भने २०८१/८२ सम्म आइपुग्दा यो सङ्ख्या ९४ हजारभन्दा धेरै पुगेको छ। यस अवधिमा नयाँ श्रम स्वीकृति लिने महिलाहरूको सङ्ख्या पनि तीन गुणाले नै बढेको छ। विश्वव्यापी श्रम बजारमा विशेष गरी हेरचाह, घरेलु काम र सेवा क्षेत्रमा महिला श्रमिकहरूको माग बढ्दो क्रममा छ। विकसित देशहरूमा बुढ्यौली जनसङ्ख्या बढ्दै जानाले र महिलाहरू स्वयं श्रम बजारमा सक्रिय हुनाले व्यक्तिगत हेरचाह र स्वास्थ्य सेवामा श्रमिक अभाव सिर्जना भएको छ। यसले नेपाली महिलाका लागि युरोप, पूर्वी एसिया र अन्य क्षेत्रहरूमा नयाँ रोजगारीका अवसरहरू सिर्जना गरिदिएको छ। नेपालभित्र पर्याप्त रोजगारीको अभाव, सीमित कार्य अनुभव, उत्पादनशील स्रोतहरूमा महिलाको सीमित पहुँच र ज्यालामा भएको लैङ्गिक विभेदले महिलाहरूलाई वैदेशिक रोजगारतर्फ धकेलिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। कृषि क्षेत्रमा निर्भरता घट्दै जानु र ग्रामीण अर्थतन्त्र कमजोर बन्दै जानुले पनि वैदेशिक रोजगारी महिलाको जीविकोपार्जनको महत्त्वपूर्ण विकल्प बन्दै गएको देखिन्छ।
चित्र नं १: महिला श्रमिकका लागि जारी नयाँ तथा पुनः नवीकरण गरिएका श्रम स्वीकृति (२०७१/७–२०८१/८२)

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८१/८२ सम्मको अवधिमा महिला श्रमिकको लागि करिब पाँच लाख श्रम स्वीकृति जारी भएको छ, जसमध्ये करिब ३ लाख ४० हजार नयाँ श्रम स्वीकृति छन्। कोभिड-१९ महामारीपछि महिला श्रम स्वीकृतिको सङ्ख्या तीव्र रूपमा बढेको देखिन्छ जुन सङ्ख्या गत आर्थिक वर्षमा हालसम्मकै उच्च थियो। (यसमा भारततर्फ हुने श्रम प्रवासन तथा अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको तथ्याङ्क समावेश छैन।)
पछिल्ला वर्षहरूमा महिला श्रमिकहरूले वैदेशिक रोजगारीलाई छोटो अवधिको रोजगारीभन्दा दीर्घकालीन जीविकोपार्जन रणनीतिका रूपमा लिन थालेको देखिन्छ। पछिल्ला चार वर्षमा वैदेशिक रोजगारीमा गइसकेर भिसाको अवधि बढाई बस्ने महिलाको सङ्ख्या उल्लेखनीय रूपमा बढ्दै गइरहेको छ। यस अवधिमा औसतमा करिब २८ प्रतिशत महिला श्रमिकले श्रम स्वीकृति पुन: नवीकरण गरेका छन। यसले वैदेशिक रोजगारीमा महिलाको बढ्दो निरन्तरता र निर्भरतालाई देखाउँछ।
युवा नै बढी
गएको एक दशकको तथ्याङ्क हेर्दा, महिला श्रमिकहरू कम उमेरमै (युवा अवस्थामा) नै वैदेशिक रोजगारीमा सहभागी हुने क्रम बढिरहेको देखिन्छ। श्रम स्वीकृति लिने महिलाहरूमा २५-३४ वर्ष उमेर समूहको सबैभन्दा ठूलो हिस्सा भए तापनि पछिल्ला वर्षहरूमा १८-२४ वर्ष उमेर समूहको अनुपात निरन्तर बढ्दै गइरहेको छ। २०७१/७२ मा यस उमेर समूहका २६.४ प्रतिशत महिलाले श्रम स्वीकृति लिएका थिए भने २०८०/८१ सम्म आइपुग्दा यो सङ्ख्या तीन गुणाले बढेर ३९.१ प्रतिशत पुगेको छ।
चित्र नं २: महिला श्रमिक आप्रवासीको उमेर, २०७१/७२–२०८०/८१ (नयाँ श्रम स्वीकृति)

हालका वर्षहरूमा नेपाली महिला श्रमिकहरू जाने गन्तव्य मुलुक र उनीहरू संलग्न हुने पेशागत क्षेत्रहरूमा उल्लेखनीय विविधता आएको छ। खाडी मुलुक र मलेसिया महिला श्रम प्रवासनका लागि अझै पनि प्रमुख गन्तव्य भए तापनि पछिल्ला वर्षहरूमा यी देशहरूमा जाने सङ्ख्या क्रमशः घट्दै गएको छ। पछिल्लो तीन वर्षको तथ्याङ्कले खाडी मुलुक र मलेसियातर्फ जाने महिलाको सङ्ख्या घट्दै गएको र युरोप तथा अन्य नयाँ मुलुकतर्फ जाने महिलाको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको देखाउँछ। मुख्यतः खाडी मुलुक (GCC) र मलेसियामा घरेलु काम तथा हेरचाहको क्षेत्रमा सीमित रहँदै आएको महिला श्रम प्रवासन हाल नयाँ मुलुक र नयाँ पेशागत क्षेत्रमा विस्तार हुँदै गएको छ। पछिल्ला वर्षहरूमा युरोप, दक्षिण कोरिया, जापान तथा केही अफ्रिकी मुलुकहरूमा उत्पादन, आतिथ्य (होटल-रेस्टुरेन्ट) र स्वास्थ्य क्षेत्रका विभिन्न काममा नेपाली महिला श्रमिकको आकर्षण र सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ। क्रोएसिया, रोमानिया, माल्टा, सर्बिया, बुल्गेरिया, पोल्यान्ड, ग्रीस, पोर्चुगल, स्लोभेनिया र लिथुआनिया जस्ता युरोपेली मुलुकहरूका साथै जापान, दक्षिण कोरिया, टर्की, माल्दिभ्स, सेसेल्स र मोरिसस जस्ता देशहरू नयाँ आकर्षक गन्तव्यका रूपमा देखिएका छन्।
यी मुलुकहरूमा श्रमिकका लागि उपलब्ध तलब, सामाजिक सुरक्षा र श्रम अधिकारको अवस्था तुलनात्मक रूपमा राम्रो हुनु, युरोपलगायतका विकसित मुलुकको रोजगारीलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेरिनु, नेपालमा शिक्षित महिलाको सङ्ख्या बढ्दै जानु, सञ्चार प्रविधिमा महिलाको पहुँच विस्तार हुनु र वैदेशिक रोजगारीलाई आत्मनिर्भरता तथा सशक्तीकरणको महत्त्वपूर्ण माध्यमका रूपमा हेर्ने सोच विकसित हुनु यसका प्रमुख कारणहरू रहेको विभिन्न अध्ययनले देखाएका छन्।
चित्र नं ३: नयाँ श्रम स्वीकृति जारी गरिएका गन्तव्य मुलुकहरू (२०७१/७२–२०८१/८२)

बागमती र कोशी प्रदेश सधैँ अगाडि
पछिल्लो एक दशकको तथ्याङ्कलाई हेर्दा नयाँ श्रम स्वीकृति लिने अधिकांश महिला श्रमिकहरू बागमती र कोशी प्रदेशका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशबाट श्रम स्वीकृति लिने महिलाको अनुपात सबैभन्दा कम छ। जिल्ला स्तरमा झापा, मोरङ, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ र काठमाडौँका महिलाले सबैभन्दा बढी नयाँ श्रम स्वीकृति लिएका छन्।
चित्र नं ४: प्रदेशगत नयाँ श्रम स्वीकृति (२०७१/७२–२०८१/८२)

व्यक्तिगत श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दै
पछिल्ला वर्षहरूमा व्यक्तिगत रूपमा आवेदन दिएर श्रम स्वीकृति लिने महिलाको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ भने वैदेशिक रोजगार व्यवसायी संस्थाहरूमार्फत श्रम स्वीकृति लिइने दर निरन्तर घट्दै गएको छ। अझै पनि सबैभन्दा धेरै श्रम स्वीकृति वैदेशिक रोजगार व्यवसायीमार्फत नै लिइने गरेको छ। तर पछिल्ला वर्षहरूमा खाडी मुलुक र मलेसियाबाहेकका अन्य देशतर्फ महिला श्रमिक जाने क्रम बढेसँगै यो ढाँचामा क्रमशः परिवर्तन देखिन थालेको छ। आर्थिक वर्ष २०७१/७२ मा पाँच प्रतिशत महिलाले मात्र व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएका थिए भने आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा यो दर बढेर ४६ प्रतिशत पुगेको छ। यसको एउटा प्रमुख कारण वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई युरोप तथा केही अफ्रिकी मुलुकहरूमा श्रम स्वीकृति प्रक्रियाका लागि अनुमति नहुनु हो। यस्ता मुलुकहरूमा श्रम प्रवासन अधिकतर रूपमा वैदेशिक रोजगार व्यवसायी संस्था तथा एजेन्टहरूको सहयोगमा नै हुने गरेको भएपनि श्रमिकहरूले व्यक्तिगत रूपमा नै श्रम स्वीकृति लिनुपर्ने अवस्था रहेको छ। साथै, श्रम स्वीकृति प्रणालीको डिजिटलाइजेसनले व्यक्तिगत आवेदन प्रक्रिया सहज र पहुँचयोग्य हुनु पनि व्यक्तिगत श्रम स्वीकृतिको सङ्ख्यामा उल्लेखनीय वृद्धिको अर्को कारण हुन सक्छ।
चित्र नं ५ :नयाँ श्रम स्वीकृतिका माध्यमहरू (२०७१/७२–२०८१/८२)

निष्कर्ष
विगत एक दशकको श्रम स्वीकृतिको तथ्याङ्कले वैदेशिक रोजगारीमा नेपाली महिलाको सक्रिय सहभागिता बढिरहेको स्पष्ट देखाउँछ। घरेलु र स्याहारका क्षेत्रबाहेक उत्पादन, आतिथ्य, स्वास्थ्य सेवा जस्ता क्षेत्रमा नेपाली महिला श्रमिकहरूको पहुँच र गन्तव्य मुलुकको विविधीकरणले महिला श्रम प्रवासनको गुणात्मक परिवर्तनलाई सङ्केत गर्छ। त्यसै गरी युवा उमेर समूह (१८-२४ वर्ष) को बढ्दो सहभागिता र श्रम स्वीकृति पुनः नवीकरण गर्ने महिलाको सङ्ख्या बढ्नुले वैदेशिक रोजगारीलाई महिला श्रमिकहरूले पनि दीर्घकालीन जीविकोपार्जनको रणनीतिका रूपमा लिन थालेको देखिन्छ। श्रम प्रवासनमा महिलाहरूको बढ्दो सहभागिताको सकारात्मक प्रभाव नेपालमा भित्रिने विप्रेषण (रेमिट्यान्स) मा पनि परेको देखिन्छ। पछिल्लो नेपाल जीवनस्तर सर्वेक्षण (२०७९/८०) ले नेपालमा भित्रिने कुल विप्रेषणमा महिलाहरूको योगदान १०.४ प्रतिशत रहेको देखाउँछ, जबिक दुई दशकअगाडि (२०६०/६१ मा) विप्रेषणमा महिलाहरूको योगदानको हिस्सा २.७ प्रतिशत मात्र थियो। श्रम प्रवासनमा नेपाली महिलाहरूको सहभागिता बढिरहदा यसलाई थप सुरक्षित, मर्यादित र अधिकारमुखी बनाउनुपर्नेछ भने श्रम प्रवासनलाई परिवारको आयआर्जनमा योगदान गर्ने अवसरको रूपमा हेरिनुपर्ने आवश्यकता छ। सीप विकास र भाषा तालिमका अवसरहरू, नयाँ गन्तव्य मुलुकहरूसँग द्विपक्षीय श्रम तथा प्रवासन सम्झौता तथा प्रदेशगत रूपमा सुरक्षित श्रम प्रवासन लक्षित सूचना र सहयोग संयन्त्र विकास गर्नाले वैदेशिक रोजगारीमा जाने महिला श्रमिकहरूलाई सहयोग पुर्याउन सक्छ।
साकार सापकोटा सेन्टर फर द स्टडी अफ लेवर एंड मोबिलिटी (सेस्लाम), सोशल साइन्स वहा:मा श्रम आप्रवासनको क्षेत्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्। विभिन्न सामाजिक विषयमा अनुसन्धान गर्दै आएका उनको रुचीको विषय श्रम आप्रवासन, शासन प्रणाली, सामाजिक समावेशीकरण, श्रमिक अधिकार, जलवायु परिवर्तन, दिगो विकास आदि पर्दछन्। ...
साकार सापकोटा सेन्टर फर द स्टडी अफ लेवर एंड मोबिलिटी (सेस्लाम), सोशल साइन्स वहा:मा श्रम आप्रवासनको क्षेत्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्। विभिन्न सामाजिक विषयमा अनुसन्धान गर्दै आएका उनको रुचीको विषय श्रम आप्रवासन, शासन प्रणाली, सामाजिक समावेशीकरण, श्रमिक अधिकार, जलवायु परिवर्तन, दिगो विकास आदि पर्दछन्।
अर्जुन खरेल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका उप प्राध्यापक र सेन्टर फर द स्टडी अफ लेवर एंड मोबिलिटी (सेस्लाम) मा रिसर्च फेलो छन्। उनि आप्रवासन, श्रम तथा सामाजिक परिवर्तन जस्ता विषयहरुमा अध्ययन अनुसन्धान गर्छन। ...
अर्जुन खरेल त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रका उप प्राध्यापक र सेन्टर फर द स्टडी अफ लेवर एंड मोबिलिटी (सेस्लाम) मा रिसर्च फेलो छन्। उनि आप्रवासन, श्रम तथा सामाजिक परिवर्तन जस्ता विषयहरुमा अध्ययन अनुसन्धान गर्छन।