
१९४७ आश्विन सुदी ६ रोज ६। काठमाडौँको दरबार स्कूलको सामुन्ने पूर्वतिर बैठक बनाइएको थियो। बैठकमा श्री ५ र श्री ३ सरकार बसेका थिए । रानीपोखरीका चारै सुरमा जङ्गी र निजामती कर्मचारी दर्जाअनुसार ठाउँठाउँमा सामेल थिए। दुनियाँदार पनि रमिता हेर्न भेला भएका थिए । यस्तैमा पानीको अनौठो फोहरा बर्साइयो।आतसबाजी भयो ।
दिनेशराज पन्तद्वारा सम्पादित श्री ३ वीर शमशेरको जीवनचरित्र का अनुसार, नेपालको पहिलो आधुनिक खानेपानी प्रणाली वीरधारा खोल्ने उत्सव थियो त्यो । त्यति बेला लैन (चउर) मा आठवटा, राजाको दरबारमा ६ वटा, श्री ३ को दरबारमा ११ वटा, टुँडिखेलमा १६ वटा, थापाथलीमा १३ वटा, ठमेलमा सात र नक्सालमा दुई गरी काठमाडौँ शहरभरमा १३१ वटा धारामा पानी छाडियो।
सो समारोहमा कमान्डर इन चिफ देव शमशेरले भनेका थिए, “श्री ३ महाराज वीर शमशेर जंगबहादुरको धर्म शरीर हुनाले मैला पानी खानाले रोगव्याध आऊने हुँदा दुनिञाका उपर नीगाहा भै देशबाट अंग्रेज झिकाइ पानी खुवाउने व्यवस्था गरिबक्स्यो।”
वीरधारा खोल्दा श्री ३ वीर शमशेरले पनि भाषण गरेका थिए । सो भाषणअनुसार, काठमाडौँ ब्याँसीलाई चारैतर्फ फटिक जस्तो साफ पानी बग्ने खोलाहरू भएको पहाडले घेरेको भए पनि पिउने असल, साफ पानी नपाउनाले यहाँका मानिस बडो अभागी छन् भन्ने कुरो श्री ३ को ओहदा अख्तियार गर्ने बित्तिकै (१९४२) वीर शमशेरको चित्तमा लागेको थियो ।त्यसैले योभन्दा अझ महत्त्वपूर्ण कामबाट फुर्सत हुने बित्तिकै नेपालमा पानीको काम चलाउँला भन्ने इरादा उनले गरेका थिए ।
आजभन्दा १३५ वर्षअघि यो काम गर्न अहिले जस्तो सजिलो थिएन। यस्तो खालको खानेपानीको व्यवस्था गरेको अनुभव नेपालीसँग थिएन। यसका लागि चाहिने सामान यहाँ बन्दैनथे । ती सामान ओसार्न यातायातको सुविधा थिएन। कुनै पनि नेपालीले यो विषय पढेका थिएनन्।
प्रविधि, पूर्वाधार र पैसाका दृष्टिले अहिले मेलम्ची खानेपानी आयोजना सक्न जति अप्ठ्यारो छ त्योभन्दा धेरै अप्ठ्यारो थियो वीरधारा बनाउन । सो धारा खोल्दा गरेको भाषणमा वीर शमशेरले यो काम गर्न कति अप्ठ्यारो भएको थियो भन्नेबारे बताएका थिए। उनले भनेका थिए, “म बढाएर बोल्न चाहदिनँ। भई आयाको कुरा र त्यसको छोटकरी बयान गर्दा सबै कुरो बुझिन्छ।”
आफ्नो छोटो भाषणमा वीर शमशेरले “मुश्किल” एक पटक र यसको बहुवचन “मुश्किलात” तीन पटक बोलेका थिए। भाषणअनुसार यो पानीको काम चलाउने कुरो १९४५ सालमै उठान भएको थियो । तर नेपालमा यस्ता काम गर्न लायकका मानिस थिएनन्। त्यसैले सो काम गर्न एक जना इन्जिनियर मिलोस् भनी इन्डिया गभर्मेन्टमा दरखास्त गर्नुपर्यो।
दरखास्त दिएपछि अंग्रेजले एक जना इन्जिनियरलाई यहाँ पठाइदिए। ब्रिटिस र नेपालीबीचको पत्राचारमा यिनलाई मिस्टर फिनियोर भनिएको छ। यिनलाई काठमाडौँमा पानी पुर्याउने उपायको तजबिज निमित्त सात सय रुपैयाँ महिनावारीमा करार गरिएको थियो। वीरगन्जदेखि काठमाडौँ ल्याउने व्यवस्था पनि नेपालले मिलाएको थियो। ती इन्जिनियर नेपालमा थोरै दिन मात्र बसे । तैपनि उनले जग्गाको नापजाँच गरे। नक्सा उतारे र रुद्रमती नदीबाट यतिसम्म पानी आउन सक्छ भन्ने अन्जामसम्म गरे।

उनी फर्किएपछि अर्का इन्जिनियर लकहार्ट म्याथ्यु सेन्ट क्लर नेपाल आए। उनलाई सन् १८९० मार्चसम्म कम्पनी रु. १२२५ तलब दिइएको थियो। अप्रिलदेखि साढे १२ रुपैयाँ थपेर रु १२३७ पैसा ५० बनाइयो । ती इन्जिनियरले जाँची, बुझी पहिलेको सर्वेक्षण रिपोर्टमा सच्च्याउनुपर्ने कुरा सच्च्याए। उनले बनाएका नक्सा हेरेपछि यस काममा यहाँसम्मको कठिनाइ आइपर्छ भनी वीर शमशेरको नजर खुल्यो।
पहिलो आधुनिक धारा खोल्दाको उत्सव समारोहमा बोल्दै वीर शमशेरले भने, “यो खानेपानीका लागि २५ माइल (४० किलोमिटर) लामो पाइप र ती पाइप बाँध्न चाहिने सरजाम चाहिन्थे। यी सबैको तौल थोरैमा पनि ५० हजार मन (१८ लाख ६६ हजार केजी) थियो र यी सबै सामान इङ्ग्ल्यान्डदेखि ल्याउनुपर्थ्यो। यसमध्ये २९ माइल बाटोमा त यी सामान मानिसले बोक्नुपर्थ्यो। त्यसमाथि ती सामानलाई चिसापानी गढी र चन्द्रागिरिका दुईवटा उकाला-त्यो पनि चानेचुने होइन सात हजार फिट अग्ला र दुईवटा ओराला कटाउनुपर्थ्यो। सुगौलीबाट भीमफेदीसम्मको औलो लाग्ने बाटोमा वर्षको सात महिनासम्म मानिसको आवतजावत हुँदैनथ्यो। त्यसैले वर्षमा पाँच महिना मात्र सामान ढुवानी गर्न पाइन्थ्यो।
काम चल्दै आएपछि वीर शमशेर खुसी भए। किनभने रिजर्भ्वायर अर्थात् पानी जमाउने पोखरी र हेडवर्क अर्थात् जहाँबाट पानी ल्याउने हो सो ठाउँको काम डकर्मीहरूले मजबुत बनाए। सिमेन्टमट्टी त्यति बढी लाग्दा वीर शमशेरलाई ताजुप लागेको थियो। यहाँनेर वीर शमशेरले सामान ढुवानी गर्न कति खर्च लागेको थियो भन्ने कुरा बुझाउन हिसाब गरेर देखाए, “सो मट्टीको एक पीपालाई अन्दाज रु दश कलकत्तामा लागेकोलाई यहाँ आईपुग्दा खर्चसमेत लगाई रु तेत्तीस जति पर्दो रहेछ । यसबाट तिमीहरूलाई केही बोध हुन सक्छ — कतिसम्म खर्च भयो हो। मैले यस कामलाई ज्यादा खर्च लाग्ने कुरा र सो काममा पहिलेदेखि मुस्किलातको कुरा गरेकोमा तिमीहरूले माफ राख्न पर्छ।”
भादगाउँमा धारा बनाउन वीर शमशेरकी कान्छा बडामहारानीको रुचि रहेछ र यसमा लागेको खर्च बेहोरेकी रहिछन् (खासमा खर्च न बडामहारानीको थियो न श्री ३ को। उनीहरू न खेतीपाती गर्थे न व्यापार। यसमा रैतीले तिरेको कर खर्च भएको थियो। तर त्यति बेला यसरी जम्मा भएको पैसालाई श्री ३ र उनका परिवारको आम्दानी मानिन्थ्यो)।
काम गर्दै जाँदा कहिले पहिलेका काममा केही भूल भएको थाहा हुन्थ्यो। कहिले केही सामानको दरकार पर्थ्यो जुन सामान यहाँ पाइँदैनथ्यो। कहिले माल चलान हुँदा ढिलो हुन्थ्यो। कहिले चिताएको कुरा पुग्दैनथ्यो । कहिले बेमौसममै पानी पर्थ्यो। त्यस्तो हुँदा पनि बडो “सबुरी” र मेहनतले गर्दा परमब्रह्म ईश्वर श्री पशुपतिनाथको अनुग्रह मिल्यो र खानेपानीको काम सम्पन्न भयो।
यसरी काम सम्पन्न भई पानी खोल्दाको अवसरमा आफूलाई वीर शमशेरले पनडुब्बीमा यात्रा गर्ने त्यस यात्रीसँग तुलना गरेका छन् जो अनेक नदीनाला तरेर पहाडले रोकेको विरानो मुलुक घुमेर घर फर्किएपछि आफ्ना प्यारा जहानबच्चालाई आफ्ना खुसीदिलले यात्राको वर्णन गर्छ र जति बेला मुस्किलात सम्झनामा मात्र बाँकी रहन्छ। वीर शमशेरका अनुसार वीरधाराको काममा अन्दाजी ६ लाख २० हजार मानिस र रु ६ लाखभन्दा अलि बढी खर्च लाग्यो।
धाराका केही प्राविधिक कुरा र फाइदा पनि वीर शमशेरले भाषणमा भनेका छन्, “शहरमा र शहरबाहिर बस्नेहरूलाई समेत जति पानी चाहियो भनी पानी माग्न सक्तछ। सो पानी पचासी फिटसम्म अलगोमा पनि पुग्छ। कहिलेकाहीँ जरुरत परी आयामा १२० फिटसम्म अलगो ठाउँमा लैजाऊँ भने पनि जोड थपी सधैँ पानी चढ्न सक्छ। …पानी रहने पोखरीमा शहरवासीहरूलाई नौ दिनसम्म चाहिने जति पानी रहन सक्छ । डाक्टरीका रीतिले पानी जाँच्ने काम हुँदा यो पानी असल र साफ ठहर्यो। अब उपरान्त हैजासँग लड्ने पानी भयो, अर्थात् अब हैजाले जोर गर्ने छैन भन्ने मलाई उम्मेद छ।”

वीर शमशेरको यो उम्मेद ठीकै थियो। वीर शमशेरको जीवनचरित्र मा गरिएको अनुमानअनुसार त्यति बेला “मैला पानी षानाले पानीका कीराबाट अनेक रोग ऊत्पती भै वर्षको १२/१५ सये मानिस नोकसान हुन्थ्ये। ” कीटाणु नभएको पानी खान पाउँदा यस्ता कीटाणुले ल्याउने रोग कम हुने नै भए । तर वीर शमशेरका चाकरीबाजहरूका दृष्टिमा यो पानी चमत्कारी पनि थियो ।
वीर शमशेरको जीवनचरित्र का अज्ञात लेखकले यसबारे भनेका छन्, “सो जल कस्तो सफा नीस्क्यो भने श्रीवाग्मती गंगाको जलभंदा २ मासा हल्का षादामा बहुत ठन्डा पेटको रोग समेत हर्न्या हल्का हुनाले आफ्नु ज्यू समेत हल्का आनंद हुने येस्ता जल श्री ३ महाराजबाट दुनीञाका ऊपर दया रक्षा गर्नाका नीमीत कीर्ती राषीबक्स्याकोमा गैह्र पुरवासी दुनीञाहरूले येस्ता धर्मकार्य्य अघि पनि भयेन पछी पनी हुनेछैन अपुर्व पुन्य हो भनी ज्यसपुर्वकको गान गर्दछन्।”
भाषणको अन्त्यतिर वीर शमशेरले वीरधाराको काममा सघाउने इन्जिनियर र कारिन्दा सबैलाई धन्यवाद दिए। उनले सबैभन्दा धेरै प्रशंसा सिपालु इन्जिनियर पठाइदिएकोमा अंग्रेजलाई दिए। उनले भने, “अंग्रेज साहेबान हिन्दुस्तानमा आई नबसेका भए र हजारौँ कुरामा हिन्दुस्तानलाई सुविधा दिई नराखेको भए तिर्खाएका नेपाली रैती र भारदारले अझसम्म फोहोर पानी व्यवहार गर्न पर्थ्यो। सफा पिउने पानीको आशा थिएन। अंग्रेज हिन्दुस्थानमा नआएको भए उति टाढाबाट ब्रिटिस गभर्मेन्टले सो काममा मद्दत दिउँ भन्दा सक्ने थिएन।”
वीरधारा खोल्दाको उत्सवमा बेलायती दूतावासका कर्णेल बाइली पनि उपस्थित थिए। उनले सुन्ने गरी वीर शमशेरले भने “ईश्वरले ठूलो तजबिज गरी हिन्दुस्तानी र अंग्रेजहरूलाई एकै ठाउँमा राखी करोडौँ हिन्दुस्तानीहरूलाई यस्ता ठूला र सत्यवादी ब्रिटिस नेसनका गभर्नमेन्टमा राखिदिएकोमा हामीहरूको ईश्वरलाई धन्यवाद छ।”
त्यति बेला धर्म कमाउने काम गर्ने चलन थियो। धर्म अरू किसिमले पनि गर्न सकिन्थ्यो। दान दिन सकिन्थ्यो। मन्दिर बनाउन सकिन्थ्यो। तर पानी खुवाउनुलाई उत्तम धर्म गर्नु ठानिन्थ्यो भन्ने कुरा वीर शमशेरको जीवन चरित्र का लेखकले लेखेका छन्, “१/२ जनालाई दानपुन्य गर्नाले ऊही १/२ जनाले मात्र पाउने। यो पानी ता पछीसम्म रहने र गैह्र दुनीञालाई बहुत सुबीस्ता हुन गयो ….र यो कीर्ती पछिसम्म रहने ठुलो नेकीको काम हुन गयो।” त्यसैले होला आफू श्री ३ हुनुभन्दा पहिले पनि वीरले यस्तो काम गरेका थिए। चारधाम गर्न बद्री केदार जाँदा बाटामा पानी नभई तीर्थयात्री र त्यहाँका बासिन्दालाई पानीको सङ्कट देखेर त्यहाँ पानीको बन्दोबस्त गरिदिएका थिए।
वीरधारा खुलेको पाँच वर्षपछि १९५२ मार्गबदी २ रोज २ मा भादगाउँमा यस्तै धारा खोल्ने उत्सव थियो। उत्सवमा श्री ३ वीर शमशेरले भादगाउँ दरबार पुगेर जुवा खुलाउन चुट्की लगाए। दुनियाँ जुवामा भुलेकाले उत्सवमा दर्शक भएनन्। त्यसैले श्री ३ ले उत्सव नसकिउञ्जेलका लागि जुवा बन्द गराए। काम सकिएपछि दुई दिनका लागि जुवा खोलिदिए।
कीर्तिपुर अग्लो डाँडामा बसेको छ। नजिकैको पानीको मुहान दूधपोखरीबाट ल्याएको पानीमाथि चढ्न सक्तैन। त्यसैले त्यहाँका मानिसले सफा पानी खान काठमाडौँका मानिसले कलधाराको पानी खाएको झण्डै ५० वर्ष अर्थात् वि.सं १९९६ सम्म पर्खनुपर्यो। त्यस सालको मार्ग ९ गते कीर्तिपुरमा जुहारकुमारी देवीधारा खोलियो । त्यस दिन गरिएका भाषणअनुसार तीनवटा बम्बधारा, सातवटा नलीधारा र बस्तुभाउले पानी खाने एउटा टब व्यवस्था गरियो। जुहारकुमारी देवीधारामा कीर्तिपुर एक्लैले खाइनसक्ने पानी आयो र यो पानी चुलीगाउँले पनि पायो।
त्यस उत्सवमा बोल्दै कम्यान्डिङ इन चिफ जनरल देव शमशेरले भादगाउँको धाराको कामलाई उस जमानाका जान्ने मानिस र वैद्य डाक्टरले गर्न नसकेको काम भनी तारिफ गरे। किनभने “यस पानीका कामले हैजालाई हामीदेखि बर्खास्त गरिदियो। औ हाम्रा यस पहाडमा रहेका निर्मल असल पानी पाउनाले मानिसको रोगहरूलाई धेरै हटाया। औ असह्य सहनु पर्ने नसिब लिई आयाका प्राणीहरूलाई यस कामले गर्दा धेरै सजिलो मात्र होइन कि धेरै आनन्द दिने हुनेछ।”
भादगाउँमा धारा बनाउन वीर शमशेरकी कान्छा बडामहारानीको रुचि रहेछ र यसमा लागेको खर्च बेहोरेकी रहिछन् (खासमा खर्च न बडामहारानीको थियो न श्री ३ को। उनीहरू न खेतीपाती गर्थे न व्यापार। यसमा रैतीले तिरेको कर खर्च भएको थियो। तर त्यति बेला यसरी जम्मा भएको पैसालाई श्री ३ र उनका परिवारको आम्दानी मानिन्थ्यो)।
उत्सवमा देव शमशेरले वीर शमशेरकी कान्छी बडामहारानीको मुक्तकण्ठले तारिफ गरे। उनले भने, “दयाले भरियाका [श्री ३ वीरका] सबै कामहरूमा भित्र अन्तस्करणबाट हजूरसँग एक राय भई काम गर्ने हजूरका कान्छा बडामहारानी भई बक्स्याको छ। मौसुफ श्री कान्छा बडामहारानीबाट उपकारको काम धेरै गरिबक्स्याको छ, तापनि यस भादगाउँको पानीको काम गरिबक्सिएला भन्ने हाम्रा चित्तले देख्याको थिएन । झट्ट यो काम गरिबक्सनाले हामीलाई बहुत आश्चर्य गरायो। नाना तरहका दुखमा परेको प्रजाहरू ऊपर आमा झैँ भई ठुलो दया गरिबक्सियो। …यसमा हामीहरू अन्तस्करणबाट हजूरका श्री कान्छा बडामहारानीलाई शुक्र गुजारी गर्दछौं । उहाँबाट यो ठुलो दयाको काम प्रजाहरूमा नाना तरहको रोग ब्याध निवारण होस् भनी गरिबक्स्याकोमा हामीहरू उहाँलाई र हजूरलाई सुख र धेरै कालसम्म बचाइबक्सोस् भनी श्री परमेश्वरसँग प्रार्थना गर्दछौ।’

त्यस उत्सव हुँदा नेपालको राज्य चलाउने “कठिन काम” वीर शमशरेका “हातमा राखिएको” १० बर्ष भएको थियो। उत्सवमा दिएको भाषणको सुरुमै वीर शमशेरले भने, “आफ्ना बुद्धि वरकतले भेटेसम्मको सीप र बल गर्नमा बाँकी नराखे पनि “मेरो मुलुकका प्रजाप्राणीहरूका निमित्त भलाई गरौँ भन्या मेरो इच्छामाफिक काम जरुर हुन सकेको छैन भन्या म मान्दछु।” तर यसको दोष उनले अरूलाई दिएका थिए। उनले भनेका थिए, “यस मुलुकमा केही नयाँ इन्तजाम बढिया मतलबले सुरु गर्दा दुनियाँहरूको धेरै वर्षदेखिको मूर्खता र बेखबरीले गर्दा अनेक तरहको बाधा परिआउँछ । यस्तो बाधा अरु मुलुकका दुनियाँबाट आफ्ना सरकारलाई हुँदैन।”
त्यसपछि उनले काठमाडौँको कलधाराका फाइदाबारे बताएका थिए, “सालसालमा बराबर हैजाले मानिसको धेरै नोक्सान गराउँदा र अरूअरू रोगले यस शहरमा धेरै मानिस मर्नाले र सधै पानी कम्ती भई दुनियाँले दु:ख पाउनाले मेरो मुलुकको प्रजाप्राणीको दुख मेट्न केही जुक्ति गर्न मनसुवा गर्न पर्ने थियो। सो उठाएको काम हुन सक्छ सक्तैन भन्ने मनमा शङ्का लागेको थियो। तर ईश्वरका अनुग्रहले सो काम पूरा भयो। म खुसीसाथ यहाँ भन्दछु कि सो नलको पानी चार बर्ष दुनियाँले खायापछि यसको गुण अघि हामीहरूले यतिसम्म गुण होला भनी खूब ज्यादा आशा गरेको भन्दा पनि ज्यादा देखियो । सो शहरमा हैजा देखिन छाड्यो । अरूअरू धेरै मानिस मर्ने रोगहरू पनि धेरै घटेको छ। हाम्रो जस्तो गरिब मुलुकमा धन भनेको निरोगी हुनु हो।”
उनले भनेका थिए, “रोग हटाई मानिसको आयु लामो गराउने एउटा उपाय आसपासका पहाडमा प्रशस्त पाइने साफ निर्मल पानी पाउने व्यवस्था गर्नु हो । काठमाडौँमा गरेको अनुभव सिद्ध भएको हुनाले र सब मैला पानी खानाले हैजा र अरूअरू रोगले धेरै मानिस मरेको देखिनाले मेरो कान्छा बडीमहारानीले दया गरी डेढ लाख रुपैयाँ आफ्नै खर्च लगाई यस भादगाउँ शहरमा नलको पानी ल्याउने काम उठाएका हुन् । … काठमाडौमा झैं भादगाउँका मानिसलाई आरोग्य र खुसी आनन्द गराउने कुरो होला भन्ने मलाई ठूलो आशा छ । यो पानी ल्याउनलाई जो बनाउनुपर्ने काम गर्दा र यो कामको सामान देशबाट ल्याउँदा मुस्किल परेको थियो । तापनि दुनियाँको निमित्त यो काम पूरा भएको देखेर निज महारानी खुसी छन् । हाम्रा मुलुकका लोग्ने स्वास्नी मानिस सबै यो कामद्वारा खुसी र निरोगी रहनन् भन्ने आशा गरेकी छन् ।”
त्यस अवसरमा श्री ३ वीरले काठमाडौँमा पाइखाना (शौचालय) र ढल बनाउने काम सुरु भएको सगर्व घोषणा गरे। आफ्नै घरमा पाइखाना बनाउनेले बनाइहाले। नबनाउने दुनियाँलाई सरकारतर्फबाट बनाइदिने घोषणा पनि उनले गरे। त्यसलाई उनले शहरको मैला फ्याँक्न सरकारले गर्न लागेको इन्तजाम भनेका थिए।
खासमा उनले सुरु गरेको यो काम पछि काठमाडौँका स्वच्छ पानीका भण्डार पोखरी र नदीलाई मैला पार्ने अभियानको सुरुवात हुन पुग्यो।
श्री ३ वीरका यी कामले प्रभावित भएर हुनुपर्छ देव शमशेरले आफू श्री ३ नहुँदै १९५३ सालमा आफ्नी दिवंगत रानी कर्मकुमारीको स्मृतिमा आठवटा कलधारामार्फत अमलेखगन्जमा पानीको बन्दोबस्त गराइदिए। १९८३ फागुन ५ गते नेपाल गभर्मेन्ट रेल्वे खुल्दा श्री ३ चन्द्र शमशेरले दिएको भाषण र त्यसको अंग्रेजी अनुवादअनुसार यसबाट “तिर्खाले ब्याकुल भएका जात्रु र बस्तुभाउहरुको ठूलो उपकार” भएको थियो।
खानेपानीको यो इतिहासले निरङ्कुस जहानियाँ राणा शासनमा सत्तामा बस्नेहरूले केही मान्यता लिएका थिए र त्यसमा उनीहरू गम्भीर थिए भन्ने देखाउँछ, जसमध्ये एउटा थियो: मानिसलाई स्वस्थ राख्ने एउटा उपाय सफा खानेपानी दिनु हो र दुनियाँलाई सफा खानेपानी पुर्याउनु सरकारको धर्म (कर्तव्य) हो।
काठमाडौँमा कलधारा आएको १५ वर्ष र भादगाउँमा कलधारा आएको १० वर्ष भइसकेको थियो। यी दुई शहरमा हैजा आउँदैनथ्यो। आइहाले पनि यदाकदा मात्र मान्छे मर्थे। तर पाटनवासीले कलधाराको असल, निर्मल पानी खान पाएका थिएनन् । यसो हुनाले हैजाजस्ता अनेक तरहका रोग उठ्थे र पाटनवासीलाई बेथाले ज्यादा पक्रन्थ्यो।
१९६२ सालमा आएर मात्र पाटनका बासिन्दाले कलधाराको पानी खान पाए। आषाढ १ गते पाटनको पानी खोल्ने अवसरमा श्री ३ चन्द्र शमशेरले गरेको भाषणमा कलधारा बनेको जस आफ्नी महारानीलाई पनि दिएका थिए, जो हालसालै परलोक भएकी थिइन्। उनले भने, अब उपरान्त पाटन शहरवासीहरूले बराबर मूलबाट निस्केको सुग्घर पानी प्रशस्त पाउने भयो। यो ठूलो उपकारको काम भएको केही त मेरा स्वर्गवासी महारानीले गर्दा भएको हो। उनी सजीव छँदा यी पाटन शहरवासीहरूलाई पानीको साह्रै दु:ख भएको छ, सो दुःख हटाउनुपर्छ भन्ने इच्छा लिएकी थिइन्। अहिले यो हामी दुवै मिली बनायाको यो पानीको काम खोलेको उत्सव हेर्नलाई यस संसारमा रैनन् (रहिनन्) । तापनि स्वर्गबाट आफ्नो मनको इच्छा पूरा भएको काम हेर्न लागेकी हुनन्।”
पाटनमा कलधारा जोड्दा काठमाडौँमा वीरधारा जोड्दा जस्तो मुस्किलात भोग्नुपरेन किनभने यतिञ्जेलमा यस्तो काम गर्न नेपाली इन्जिनियर तयार भइसकेका थिए। एक्जिक्युटिभ इन्जिनियर कर्णेल कृष्णनरसिंह राणाले एक्लै पाटनको कलधाराको काम यति चाँडै बडो ताजुबसँग गरेको भनी मुख्य इन्जिनियर किशोरनरसिंह राणा र श्री ३ चन्द्रले उनको तारिफ गरेका थिए। इन्जिनियर राणाले भने, “निज कर्णेलले अगाडि यस नेपालमा बनेको काम भन्दा यो पानीको काममा धेरै काम सुधारेका छन्। त्यसमध्ये यो पाटन पानी कामको हेडवर्कको त जोडै छैन भने पनि हुन्छ।”
यसपछि काठमाडौँमा धारा थपिए। खोकना,टोखा, धुलिखेल, धरान, विराटनगर,नेपालगन्जमा पनि धारा जडान भए। तर काठमाडौँ उपत्यकाको महत्त्वपूर्ण शहर कीर्तिपुरमा पानी थिएन। कीर्तिपुर डाँडाको फेदीमा सानातिना कुवा र पँधेरा त थिए तर त्यसले त्यहाँका मानिस र चौपायलाई धान्दैनथ्यो।
कीर्तिपुर अग्लो डाँडामा बसेको छ। नजिकैको पानीको मुहान दूधपोखरीबाट ल्याएको पानीमाथि चढ्न सक्तैन। त्यसैले त्यहाँका मानिसले सफा पानी खान काठमाडौँका मानिसले कलधाराको पानी खाएको झण्डै ५० वर्ष अर्थात् वि.सं १९९६ सम्म पर्खनुपर्यो। त्यस सालको मार्ग ९ गते कीर्तिपुरमा जुहारकुमारी देवीधारा खोलियो । त्यस दिन गरिएका भाषणअनुसार तीनवटा बम्बधारा, सातवटा नलीधारा र बस्तुभाउले पानी खाने एउटा टब व्यवस्था गरियो। जुहारकुमारी देवीधारामा कीर्तिपुर एक्लैले खाइनसक्ने पानी आयो र यो पानी चुलीगाउँले पनि पायो।
यो धाराले त्यति बेला कीर्तिपुरमा रहेका ११ सयवटा घरमा बस्ने १२ हजार मानिस र तीन हजार जति बस्तुभाउलाई सफा पानी पुर्यायो। यस काममा रु ८४ हजार खर्च भएको थियो।
यो कलधारा बनाउन परेका समस्याबारे श्री ३ जुद्ध शमशेरले आफ्नो भाषण (जुद्ध यो धारा खोल्दा त्यहाँ जान नपाएकाले यो भाषण पद्म शमशेरले पढेर सुनाएका थिए) मा भनेका छन्, “पानी शून्य यो डाँडामाथि पानी ल्याउन गाह्रो परिरहेको तिमीहरूलाई थाहै छ। पहिले पिउन लायकको असल प्रशस्त पानी भएको मूल नभई भएन । दोस्रो, यति माथिसम्म चढ्न सक्ने पानी ल्याउन कौन उचाइको मूलबाट हुँदैनथ्यो । त्यसो हुनाले टाढा टाढाका ठाउँसम्म पनि जाँच बुझ गराई हेरियो। तर चाहिँदो माफिक मूलको पत्ता पाइएको थिएन । आखिर लोहकोटमा एउटा मूल भेटियो र विचार गरी हेर्दा उचाइ ता मिल्ने भयो । तर मूल सानो हुनाले त्यो एउटा मूलको पानीले मात्र पत्तो नलाग्ने देखियो । भाग्यले, त्यहीँ वरपर अरू पनि पानीको आमद हुने बाटो ईश्वरले जुटाइदिएका रहेछन् । ती सबै मूलको पानी एकै ठाउँमा जम्मा गरी ल्याई तिमीहरूलाई यथेष्ट सफा सुग्घर पिउने पानी पुर्याइदिन पाइयो । यसबाट तिमीहरूलाई पानीको कमीले भैरहेको कष्ट र गन्दा पानीको भर पर्नुपर्दा भोगिरहनु परेको दु:ख निवारण हुने भएकाले साह्रै खुसी मानिरहेको देख्दा सुन्दा हामीलाई बहुतै आनन्द लागेको छ।”
खानेपानीको यो इतिहासले निरङ्कुस जहानियाँ राणा शासनमा सत्तामा बस्नेहरूले केही मान्यता लिएका थिए र त्यसमा उनीहरू गम्भीर थिए भन्ने देखाउँछ। ती मान्यता यी थिएः
मानिसलाई स्वस्थ राख्ने एउटा उपाय सफा खानेपानी दिनु हो र दुनियाँलाई सफा खानेपानी पुर्याउनु सरकारको धर्म (कर्तव्य) हो।
यस्तो पानी खुवाएबापत दुनियाँबाट पैसा लिनु हुँदैन।
अनेक अप्ठ्यारा भए पनि खानेपानी (अर्थात् सार्वजनिक निर्माण) को काम गर्नुपर्छ र यस काममा ढिलासुस्ती हुनुहुँदैन।
यी उहिलेका मान्यता हुन्। अहिलेको समाजवादउन्मुख गणतन्त्रका लागि काम नलाग्ने मान्यता !
(लेखमा उपयोग गरिएका जानकारी माथि उल्लेखित किताबबाहेक परराष्ट्र मन्त्रालयका सार्वजनिक नभएका कागजपत्र, २ सी. १५५ का पोका न ३५/२, ३५/४, ३५/८, ३५/११, ३५/१५, ३५/४०, २५/४३ र ३५/४५ बाट लिइएका हुन्।)
मोहन मैनाली लेखक, पत्रकार तथा डकुमेन्ट्री निर्माता हुन्। उनको पछिल्लो पुस्तक 'मुकाम रणमैदानः नेपाल-युद्धको बखान' हो। ...
मोहन मैनाली लेखक, पत्रकार तथा डकुमेन्ट्री निर्माता हुन्। उनको पछिल्लो पुस्तक ‘मुकाम रणमैदानः नेपाल-युद्धको बखान’ हो।