देवशमशेरका आखिरी दिनहरू

देवशमशेर भारत पुगे। तर राजा र सेनासामु कुरा राख्न नपाएकाले आफू साँच्चै अपदस्थ भएकामा उनी विश्वस्त थिएनन्। छोटो समयमा आफूले राम्रो काम गरेकाले आफूलाई हटाउन नसक्ने उनको सोच थियो। 

राणा शासनका संस्थापक जंगबहादुर राणाका कान्छा भाइ–बुहारी धीरशमशेर कुँवर र नन्दकुमारीका छोरा थिए देवशमशेर। नारायणहिटीमा नन्दकुमारीबाट खड्गशमशेर, देवशमशेर, चन्द्रशमशेर र भीमशमशेरको जन्म भएको थियो। यी चार भाइमध्ये खड्गशमशेरबाहेक तीन जना श्री ३ महाराज एवम् प्रधानमन्त्री भए। उनका बुबा धीरशमशेर प्रधानसेनापतिसम्म भए। 

जंगबहादुरका तेस्रा भाइ कृष्णबहादुर कुँवर निःसन्तान थिए। उनले आफ्ना सन्तान नभएपछि देवशमशेरलाई धर्मपुत्र राखेका थिए। सन् १८६२ मा जन्मिएका देवशमशेर असाध्यै सुखसयलमा हुर्किए। कृष्णबहादुरको धनसम्पत्तिको एक्लो उत्तराधिकारी भएकाले देवशमशेरसँग प्रशस्त धनसम्पत्ति थियो। 

१८८५ नोभेम्बर २१ को रात हिटी दरबारमा आफ्नै ठाइँलाबा तत्कालीन प्रधानमन्त्री रणोद्वीप सिंह कुँवरको हत्या गरेर शमशेर खलक (धीरशमशेरका सन्तान) ले सत्तारोहण गरे। त्यसपछि वीरशमशेर प्रधानमन्त्री र श्री ३ महाराज भए। ज्येष्ठताका आधारमा खड्गशमशेर कमान्डर इन-चिफ, रणशमशेर जंगीलाठ र देवशमशेर कमान्डिङ जनरल भए। १८८६ मार्चमा वीरशमशेरले खड्गशमशेरलाई कमान्डर इन-चिफबाट हटाएर पाल्पातिर लखेटेपछि रणशमशेर कमान्डर इन-चिफ र देवशमशेर जंगीलाठ भए।

त्यसको दुई महिनापछि मे २० मा कमान्डर इन-चिफ रणशमशेरको निधन भएपछि देवशमशेर कमान्डर इन-चिफ नियुक्त भए (नेपालस्थित ब्रिटिस रेजिडेन्टले आफ्नो सरकारलाई पठाएको रिपोर्टका आधारमा)। सन् १८८७ देखि १९०१ सम्म करिब १५ वर्ष देवशमशेर कमान्डर इन-चिफ रहे। 

कार्यवाहक प्रधानमन्त्री हुँदा देवशमशेर।
तस्बीर सौजन्य: कुर्त बोएक

१९०१ मार्च ५ मा तत्कालीन प्रधानमन्त्री वीरशमशेरको निधन भयो। सोही दिन राणा रोलक्रमअनुसार देवशमशेर नयाँ प्रधानमन्त्री एवम् श्री ३ महाराज घोषित भए। त्यसपछि रोलक्रमअनुसार चन्द्रशमशेरलाई उनले कमान्डर इन-चिफ र भीमशमशेरलाई जंगीलाठ नियुक्त गरे। शासन सम्हालेको करिब ३ महिनामा देवशमशेरले धेरै सुधारवादी काम गरे। उक्त समयमा भएका कामको फेहरिस्त तयार गरी नेपालस्थित ब्रिटिस रेजिडेन्ट कर्नेल पियर्सले आफ्नो सरकारलाई पठाएका थिए। राष्ट्रिय अभिलेखागार, नयाँ दिल्लीमा रहेको दस्ताबेजमा उनले लेखेका छन्— 

नयाँ प्रधानमन्त्रीको प्रशासनिक क्षमताको मूल्याङ्कन गर्न अहिले नै अलि चाँडो हुन्छ। किनभने उनले सत्ता सम्हालेको भर्खर तीन महिना मात्र भयो। तर यो तीन महिनामा उनले गरेका केही कामले उनी आफ्ना जनताको भलाइका पक्षमा काम गर्न र समयसँगै चल्न उत्सुक छन् भन्ने देखिन्छ। प्राथमिक शिक्षाका क्षेत्रमा उनले सही दिशामा अगाडि बढ्दै केही प्राथमिक पाठशाला खोलेका छन्। अर्को नवीनतम कामका रूपमा उनले सल्लाहसुझाव प्राप्त गर्नका लागि ठाउँठाउँमा सुझाव पेटिकाको व्यवस्था गरेका छन्। ती सुझाव पेटिकामा ताला लगाइएको हुन्छ। प्रत्येक दिन ती सुझाव पेटिका सीधै दरबारमा ल्याएर नै खोलिन्छ। यसबाट आम नागरिकलाई उनीहरूका समस्या सीधै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराउन मद्दत पुग्नेछ।

नयाँ प्रधानमन्त्रीले सरकारी अड्डाहरूमा कर्मचारीलाई दैनिक ६ घण्टा काम र प्रत्येक कर्मचारीलाई वार्षिक १७ दिन बिदाको व्यवस्था गरेका छन्। त्यस्तै प्रधानमन्त्रीले हालै मसँगको अन्तर्वार्तामा दासप्रथाको अन्त्यका लागि समेत ठूलै प्रयास हुँदै गरेको बताएका छन्। प्रधानमन्त्री र अन्य उनका धेरै भाइहरूले पनि आफ्नो घरमा रहेका दासहरूलाई स्वतन्त्रता दिएर एउटा उदाहरण प्रस्तुत गर्दै छन्। त्यही प्रक्रिया अन्यका हकमा समेत अवलम्बन गरिनेछ।

अखबारका रूपमा गोरखापत्र प्रकाशन भएको विषयलाई उनले यसरी उल्लेख गरेका थिए— 

प्रधानमन्त्रीले काठमाडौंमा नेपाली भाषामा पत्रिकाको मुद्रण र प्रकाशनको बन्दोबस्त गरेका छन्। मैले बुझेअनुसार त्यो राज्यको सुपरीवेक्षणमा हुनेछ र त्यसले नेपाल र भारतको समाचार मात्र होइन, अन्य मुलुकका समाचारसमेत  पस्कनेछ । 

भारत पलायन 

देवशमशेरको सुधारवादी कदमबाट जहानियाँ राणाशासनको भविष्यमा खतरा देखेका अनुदार राणाहरू एकजुट भएर उनी विरुद्ध षड्यन्त्र गरे। फलतः देवशमशेर प्रधानमन्त्री भएको १११औं दिनमा १९०१ जुन २६ मा उनी विरुद्ध रक्तविहीन ‘कु’ भयो।

अपराह्न पाँच बजेतिर दरबार स्कुलमा पुरस्कार वितरण गरेर फर्किंदा वीरशमशेरका छोराहरूको अंशबन्डाको कुरा नमिलेकाले कुरा मिलाइदिने बहानामा उनलाई सेतो दरबार पुर्‍याइयो। त्यहीँ उनलाई कैद गरी जबर्जस्ती राजीनामा कागजमा दस्तखत गराइयो। उनको राजीनामा राजा पृथ्वीवीरविक्रमले तुरुन्त स्वीकार गरी चन्द्रशमशेरलाई श्री ३ महाराजसहित प्रधानमन्त्रीमा नियुक्त गरे। पुरुषोत्तमशमशेर जबरालिखित पुस्तक श्री ३ हरूको तथ्यवृत्तान्त, भाग २ मा उल्लेख भएअनुसार अँध्यारो भएपछि त्यहीँबाट उनलाई भ्यानमा राखी रातारात सैनिक पहरासहित काठमाडौंबाट धनकुटातर्फ पठाइयो।  

ब्रिटिस रेजिडेन्ट कर्नेल पियर्सले आफ्नो सरकारलाई पठाएको प्रतिवेदनमा त्यति बेला जनरल गेहेन्द्रशमशेरले देवशमशेरलाई गोली हानेको हल्ला चलेको विषय पनि उल्लेख छ। तर पछि बुझ्दा त्यो हल्ला रहेछ र देवशमशेर सकुशल रहेको निश्चित गरेको उल्लेख छ। सोही रात देवशमशेरलाई हटाएर उनको ठाउँमा चन्द्रशमशेरलाई नियुक्त गरिएको जानकारीको पत्र राजा पृथ्वीवीरविक्रमका तर्फबाट रेजिडेन्टलाई र कोलकातामा भाइसराय छेउ पठाउन दिइएको थियो।

देवशमशेरलाई हटाएको अर्को दिन २७ जूनमा अघिल्लो दिनको फेरबदलसम्बन्धी भाइसरायलाई कोलकाता पठाउने औपचारिक खरिता लिएर कर्नेल जितबहादुर ब्रिटिस रेजिडेन्सीमा पुगेका थिए। चन्द्रशमशेरको सन्देश लिएर पुगेका जितबहादुरले रेजिडेन्टलाई यस्तो भनेका थिए— 
गुरु पुरोहित, भाइभारदर र अधिकृतहरू देवशमशेरको प्रशासनबाट असन्तुष्ट थिए। उनीहरूले चन्द्रशमशेरलाई प्रधानमन्त्री भएर प्रशासनको नेतृत्व लिन आग्रह गरे। यदि चन्द्रशमशेरले त्यो आग्रह अस्वीकार गरेको खण्डमा उनको जीवन नै खतरामा पर्छ भनी भनेकाले उनी बाध्य भएर त्यो स्वीकार गरे।

त्यति बेला ब्रिटिस रेजिडेन्ट पियर्सले देवशमशेरलाई अपदस्थ गर्नुका चार कारण औंल्याएका थिए। त्यसमध्ये पहिलोमा, शिक्षाको विस्तार, पत्रिका प्रकाशनसँगै दासप्रथा अन्त्यबारेको प्रगतिशील विचार थियो। दोस्रोमा, सत्तामा आएको छोटो समयमै उनले एकदमै धेरै काम देखाए। तेस्रोमा, उनी सबैप्रति अति आत्मविश्वासी थिए, राजासँग विवाह सम्बन्धमार्फत नजिक रहेका वीरशमशेरका सन्तान नै उनका दुस्मन भएपछि उनको पतन भयो। चौथोमा, वीरशमशेरको निधन लगत्तै चन्द्रशमशेर प्रधानमन्त्री बन्ने आफ्नो योजना कार्यान्वयन गर्न तयारी अवस्थामा थिएनन् र अहिले उनी परिपक्वतासाथ आफ्नो योजना लागु गर्न सफल भए।  

श्री ३ हरूको तथ्यवृत्तान्त, भाग २ का अनुसार, पृथ्वी वीरविक्रमले देवशमशेरलाई हटाएर उनका ठाउँमा चन्द्रशमशेरलाई नियुक्त गरिएको विषयमा ब्रिटिस भारतका भाइसराय लर्ड कर्जनलाई पठाएको पत्रमा यस्तो भाषा उल्लेख थियो—
महामहिमसमक्ष म यो सूचना गर्दछु कि, मेरो गुरो पुरोहित, भारदार र अधिकृतहरूले मलाई यो जाहेर गरे कि, प्रधानमन्त्री महाराज देवशमशेर जंग राणा बहादुरले राज्यलाई राम्रोसँग सञ्चालन गर्न समर्थ छैनन्। तसर्थ यो डर छ कि, यदि उनलाई यस पदमा अझै कायम राखिने हो भने राष्ट्रमा ठूलो विद्रोह हुन सक्दछ, जसबाट राष्ट्रमा ठूलो संकट आउने सम्भावना छ। साथै यो पनि सूचना गरियो कि, यदि उनलाई पदच्युत गरी कमान्डर इन-चिफ जनरल चन्द्रशमशेर जंग राणा बहादुरलाई सो पदमा नियुक्त गरिएमा राज्यको सञ्चालन राम्रोसँग हुनेछ। त्यसकारण मैले माथि उल्लिखित कमान्डर इन-चिफलाई नेपालको प्रधानमन्त्री र मार्शल पदमा नियुक्त गरी महाराजाको पदवीसमेत दिएको छु।   

देवशमशेरलाई पदच्युत गरी त्यस रात एक रेजिमेन्ट सेनाका साथ काठमाडौंबाट एक्लै धनकुटातर्फ पठाइएको थियो। उनी २६ दिनपछि जुलाई तेस्रो साता धनकुटा पुगे। उनी धनकुटाबाट इलाम र इलामबाट माइपोखरी हुँदै  ३० अक्टोबरमा दार्जीलिङ पुगे। त्यति बेला भारत पसेका उनी त्यसपछि नेपाल फर्किएनन्।

देवशमशेरलाई मासिक रूपमा नेपालबाट निश्चित भत्ता उपलब्ध गराइएको थियो। अपदस्थ गरे पनि चन्द्रशमशेरले उनको सम्पत्ति खोसेका थिएनन्। देवशमशेर अपदस्थ हुँदा कोलकातास्थित बैंक अफ बंगालमा उनको खातामा झन्डै २ लाख २३ हजार भारतीय कम्पनी रुपैयाँ थियो। उनलाई अपदस्थ गरी पठाउने बेलामा देवशमशेर र उनको परिवारको सम्पत्ति सनद गरी नेपालमा सुरक्षित राखिएको थियो, जसमा उनका महारानी र रानीहरूका गरगहना र जुहारत संलग्न थिएनन्। 

राष्ट्रिय अभिलेखालयमा रहेको 'देवशमशेरको सम्पत्ति विवरणसम्बन्धी कागजपत्र'मा उनको स्वामित्वमा कम्पनी रुपैयाँ ४ लाख १६ हजार ८ सय ८७ रुपैयाँ, मोरु २३ हजार ६ सय १ रुपैयाँ, असर्फी ४४ हजार ५२ चार आना थियो, जुन पछि उनलाई कर्नेलमार्फत भारतमा सकुशल पुर्‍याइयो।

श्री ३ हरूको तथ्यवृत्तान्त, भाग २ मै उल्लेख गरिएअनुसार, चन्द्रशमशेरले ७ नोभेम्बरमा देवशमशेरलाई लेखेको पत्रमा उनले लगभग ७० हजार रुपैयाँ, ९६ हजार बराबरको सुन तथा ६ वा ७ लाख बराबरको जुहारत सम्पत्ति पनि उनले साथमा लगेर गएको उल्लेख गरेका थिए।

देवशमशेर र रानी शारदा देवी। 

देवशमशेर भारत पुगे। तर राजा र सेनासामु कुरा राख्न नपाएकाले आफू साँच्चै अपदस्थ भएकामा उनी विश्वस्त थिएनन्। छोटो समयमा आफूले राम्रो काम गरेकाले आफूलाई हटाउन नसक्ने उनको सोच थियो। १५ वर्ष कमान्डर इन-चिफ रहेकाले आफू लोकप्रिय भएको र सेनाले आफूलाई नै रुचाउने उनको विश्वास थियो। त्यसैले उनी जसरी पनि एक पटक काठमाडौं पुगी राजा र सेनाबीच प्रत्यक्ष उपस्थित भएर आफ्नो कुरा राख्ने र आफूलाई अस्वीकार गरे आफू फर्किने कुरा उनको मनमा बलियोसँग बसेको थियो। उनले त्यसका लागि धेरै प्रयास गरे। तर सफल हुन सकेनन्।

१९०३ जनवरीमा प्रधानमन्त्री चन्द्रशमशेर भाइसराय लर्ड कर्जनको निमन्त्रणामा सहभागी हुन दिल्ली दरबार पुगेका थिए। दिल्ली दरबारमा सहभागी भएर बनारस हुँदै नेपाल फर्किंदा चन्द्रशमशेरलाई आक्रमण गर्ने योजना बनेको थियो। त्यस प्रकरणमा बनारसमा केही नेपाली पक्राउ पनि परेका थिए। भारतमा निर्वासित नेपालीहरूलाई देवशमशेर र खड्गशमशेरले भड्काएको आरोप थियो। साथै नेपालमा प्रधानमन्त्री चन्द्रशमशेरको अनुपस्थितिमा काठमाडौं पुगेर देवशमशेरले सत्ता हत्याउन खोजेको आरोप पनि लगाइयो। 

आरोपीमध्येका एकले देवशमशेरसँग रकम लिएको भनिएको थियो। बिनाअनुमति मसुरी छाडेर बनारस पुगी देवशमशेरले नियम उल्लंघन गरेको अर्को आरोप पनि लगाइएको थियो। देवशमशेर आफू अपदस्थ भएर भारत पुगे पनि उनले थुप्रै पटक प्रधानमन्त्री चन्द्रशमशेरसँग भेटघाट गर्न खोजेका थिए। तर चन्द्रशमशेरसँग उनको कहिल्यै प्रत्यक्ष भेट हुन सकेन। पत्राचार भने निरन्तर चलिरह्यो।

देवशमशेर १९०२ मार्चमा मसुरी पुगिसकेका थिए। देवशमशेरले त्यहाँ ब्रिटिस सरकारसमक्ष आफूलाई रहन चिसो र पहाडी इलाका देहरादून अनि मसुरी उपयुक्त हुने भन्दै ती ठाउँको माग गरेका थिए। राजकाजको समय सकिएको र आफ्नो उमेरसमेत उकाली लागेकाले आफूलाई पवित्र तीर्थस्थल हरिद्वार नजिकै पर्ने देहरादून र मसुरीमा बसोबास गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। 

केही समयपछि पाल्पाबाट खड्गशमशेरसमेत भारत पुगे। चन्द्रशमशेरले ती दुवै दाजुहरूबाट आफ्नो शासनमा चुनौती थपिने सम्झिएका थिए। नेपालबाट उनले आफ्ना दुवै दाजुहरूलाई नेपालको सिमानाभन्दा धेरै टाढा र नजिक नभई अलगअलग ठाउँमा प्रहरी निगरानीमा राख्ने गरी बस्ने बन्दोबस्त मिलाइदिन आग्रह गरेका थिए। तसर्थ देवशमशेर र खड्गशमशेर दुवैमाथि ब्रिटिस सरकारको कडा निगरानी थियो। सन् १९०३ को घटनापछि त खड्गशमशेर सागर (अहिले मध्यप्रदेश) मा नजरबन्दकै अवस्थामा थिए। देवशमशेरलाई समेत मसुरी छाडेर कतै जानुपर्दा त्यहाँको प्रशासनसँग अनुमति लिनुपर्थ्यो। काठमाडौंमा प्रधानमन्त्री चन्द्रशमशेरलाई सोधेर मात्र देवशमशेरलाई हिँडडुलको सुविधा मिल्थ्यो।  

देवशमशेरका साथमा धेरै धन भए पनि बेपरबाहका साथ खर्च गर्ने उनको बानी थियो। त्यसैले उनलाई आर्थिक संकटले न्याँक्दै थियो। सीमित धन र नेपालबाट आउने सानो रकमको नियमित भत्ताबाट ठूलो परिवारको गुजारा गर्नुपर्ने भएकाले खर्चमा मितव्ययिता अपनाउनुपर्थ्यो। तर उनले त्यसमा पर्वाह नगरी खर्च गर्थे, जसले उनलाई थोरै रकम चाहिए पनि नेपालमा प्रधानमन्त्री चन्द्रशमशेरलाई लेख्नुपर्ने हुन थाल्यो। 

त्यति बेला सुनका थाल हुन्थे। देवशमशेरसँग असर्फी, गरगहना जुहारत थिए। तर आर्थिक अभाव हुँदै गएपछि उनले ती सबै बिक्री गरिसकेका थिए। पहिल्यैदेखि सुखसयलमा हुर्किएका उनले भारत पुगेपछि अत्यधिक मदिरा पिउन थालेका थिए। उनलाई मानसिक तनावसमेत धेरै थियो। त्यहीबीचमा १९०८ मार्चमा उनकी बडामहारानी राजकुमारी कृष्णकुमारीदेवीको निधन भयो। त्यसबाट उनलाई झन् ठूलो आघात पर्‍यो। 

चन्द्रशमशेर सन् १९०७ मा कोलकाता र सन् १९०८ मा बेलायत भ्रमणमा जाँदा–आउँदा भारतमा उनले भेट गर्ने कोसिस गरेका थिए। तर चन्द्रशमशेरले इन्कार गरेपछि भेट हुन सकेन।

नयाँ दिल्लीस्थित राष्ट्रिय अभिलेखागारमा रहेको 'महाराज देवशमशेरसम्बन्धी फाइल'का अनुसार देवशमशेरलाई आर्थिक अभाव बढ्दै गएपछि त्यहाँ उनका छोराछोरीको बिहे, सुत्केरी खर्च, बिरामी हुँदा आवश्यक औषधि खर्च सबै चन्द्रशमशेरले बेहोरेका थिए।देवशमशेरलाई दिइने नियमित मासिक भत्तासँगै ती अन्य सबै खर्च नेपालबाटै पठाउँथे। 

१९१२ जुलाईमा देवशमशेरलाई पक्षाघात भयो। उनी साह्रै बिरामी परेपछि नेपालबाट सुब्बा मधुसूदन उपाध्यायलाई चन्द्रशमशेरले खटाए। १९१२ जुलाई १९ मा मधुसूदन मसुरी पुगे। त्यस दिन रात अबेर भइसकेकाले देवशमशेरसँग भेट भएन र अर्को दिन उनले देवशमशेरसँग भेट गरे।

भेटपछि सुब्बा मधुसूदन उपाध्यायले प्रधानमन्त्री चन्द्रशमशेरलाई पत्रहरू लेखे। राष्ट्रिय अभिलेखालयमा रहेको 'सुब्बा मधुसूदन उपाध्यायले चन्द्रशमशेरलाई पठाएका पत्रहरू' मा देवशमशेरको स्वास्थ्य अवस्थाको यस्तो वर्णन गरिएको छ— 
१९६९ साल श्रावण ६ गते आज बिहान ११ बजे श्री ३ महाराज देवशमशेरको दर्शन पायौं। कुरा गर्दा सारा बेहोसका कुरा गरिबक्सन्छ। हिजोअस्ति मूर्च्छा पनि भइबक्सिएछ। हिजो बेलुकादेखि भने मूर्च्छा भइबक्सिएको छैन। मूर्च्छा पर्दा चिन्न सकिबक्सन्न। तर दुईतिर बाहुलीमा समात्दा दुई-चार पलासम्म उभि पनि बक्सिन्छ। तर यो बिमारीदेखि डाक्टरहरू पनि यस रोगको विश्वास छैन, दुई-चार दिनमा तलमाथि पार्छ, अथवा छ महिना वर्ष दिनसम्म केही हुँदैन, यसै हो भनी भन्न सक्दैनौं भन्दा रहेछन्। ना तागत साह्रै छ बोल्दाबोल्दै पनि कहिले त बेहोस होइबक्सिन्छ कि भने झैं मनमा लाग्छ। डाक्टरहरूले ठेगाना केही नदिएको हुनाले दानप्रदानहरू केही गराउन सकेको छैन। सर्कार (प्रधानमन्त्री चन्द्रशमशेर) को नाउँ कारी मर्ने बेलामा पनि फलाना महाराज आएनन्। देहरादून आइपुगे हुन्, लिन जाऊ भनी अघिल्लतिर जो छ, उसलाई बारम्बार बेहोसमा हुकुम हुन्छ। बेहोस बहुतै छ।  

सन् १९१२ ताका कान्छी छोरीको विवाह समारोहमा जंगी पोसाकमा देवशमशेर।
तस्बिर: दी इलुस्ट्रेटेड जर्नल

उनले अर्को पत्रमा पक्षाघातका कारण देवशमशेरको बायाँपट्टिको अंग अलिअलि मात्र चल्ने उल्लेख गर्दै थप लेखेका छन्—
कुरा होसका एक पनि छैनन् र तागत पनि छैन। अलि बढी कुरा गर्दा दम बढे जसै स्वाँ स्वाँ हुन्छ। कुरा गर्दा तीन खण्डमा एक खण्ड बुझिन्छ, दुई खण्ड बुझिँदैन। कमजोरीका कारण पनि बोली असाध्यै सुस्त छ। दिनमा भन्दा रातिमा व्यथाले ज्यादा सताउँछ। निद्रा पर्दैन र व्यथाले चाप्दा बाहिर साह्रै भने झैं हाहा पार्छ, दम बढे जस्तै पछि भने घाँटीमा केही सुबिस्ता जस्तो देखिन्छ। डाक्टरले यसै भन्न सकेका छैनन्।

पक्षाघात भएपछि पनि करिब २० महिना देवशमशेर जीवितै रहे। पक्षाघात र मानसिक स्थिति उस्तै थियो। त्यस अवधिमा चिकित्सा उपचारदेखि विभिन्न दानधर्म चलिरहे। फेब्रुअरी १९१४ देखि देवशमशेरको स्वास्थ्य झन्झन् बिग्रँदै गयो। त्यसपछिका दिनमा उनले सबैतिर दुख्छ भन्दै कसैलाई कतै पनि छुन दिन छाडे। २० फेब्रुअरी १९१४ बिहान साढे ११ मा मसुरीमा उनको निधन भयो।

देवशमशेरले भारतमा राजकुमारी शारदाकुमारीलाई बिहे गरी रानीको दर्जा दिएका थिए। तर शारदाकुमारीबाट कुनै सन्तान भएनन्। पति देवशमशेर बाँचुन्जेल उनी नेपाल आइनन्। आफ्ना सन्तान नभए पनि उनले अन्य रानीहरूबाट जन्मिएका सन्तानको अभिभावकत्व ग्रहण गरिन्। त्यसपछिका दिनमा उनै शारदामार्फत चन्द्रशमशेरले अन्यको हेरचाहका लागि भत्ता पठाउँथे। त्यहाँ केही पर्दा उनले चन्द्रशमशेरलाई गुहार्थिन्।  

चन्द्रशमशेरले देवशमशेरलाई सत्ताच्युत गरे पनि नेपालमा जन्मिएका उनका छोराको रोल खारेज गरेनन्। देवशमशेरको सम्पत्तिमाथि आँखा गाडेनन्। सत्ताको खेलमा चन्द्रशमशेर देवशमशेरप्रति कठोर भए पनि दाइ नाताले उनीप्रति नरम नै रहे। 

देवशमशेरको निधनको करिब तीन दशकपछि जुद्धशमशेरको समयमा देवशमशेरका अन्य छोरासहित १९४५ सेप्टेम्बरमा विधवा शारदाकुमारी काठमाडौं आइन्। जुद्धशमशेरले आफूले सत्तात्याग गर्नुअघि दसैंको अवसर पारेर भाउजूलाई नेपाल आमन्त्रण गरेका थिए। नयाँ दिल्लीस्थित राष्ट्रिय अभिलेखागारमा रहेको 'नेपालस्थित ब्रिटिस मिनिस्टरले आफ्नो सरकारलाई सन् १९४५ को पठाएको वार्षिक प्रतिवेदन'मा लेखिएअनुसार, पहिलो पटक नेपाल आएकी रानी शारदाकुमारीलाई उनले श्री ३ को रानी बराबरको तोप सलामी र सम्मानसाथ काठमाडौंमा स्वागत गरेका थिए।  

सन्तोष खडेरी नेपालसम्बन्धी ऐतिहासिक दस्ताबेजको अध्ययन र लेखनमा संलग्न छन्। उनको यो लेख हामीले संकथन मन्थनमाला-२०८० बाट साभार गरेका हौं। ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *