
नेपालमा क्रिकेटको इतिहास
भारत र बेलायतमा पढेका राजपरिवारका सदस्यले सन् १९३० को दशकमा नेपालमा क्रिकेट भित्र्याएको विश्वास गरिन्छ। दोस्रो विश्वयुद्धपछि क्रिकेट फैलिँदै गयो भने सन् १९४६ मा क्रिकेट संघ स्थापना भएको थियो। सन् १९६० र ७० को दशक क्रिकेटका लागि संघर्षपूर्ण रह्यो। तर भारतसँग सीमा जोडिएका ठाउँहरूमा फस्टाउँदै गएपछि र तीनवटा केबल टेलिभिजनको आगमनसँगै यो पुनः बौरिँदै गयो। नेपालमा तीनवटा केबल स्टेसनहरूले क्रिकेट प्रसारण गर्छन्। लोकप्रियताको हिसाबले क्रिकेटले फुटबललाई चुनौती दिन थालेको छ।
सन् १९९८ को एसीसी ट्रफी प्रतियोगिता नेपालले सफलतापूर्वक आयोजना गरेको थियो भने हालै सिङ्गापुरमा नेपालको टोली यु-१९ टोली सन् २००० को विश्वकपमा छनोट भएको छ। सन् १९९८-१९९९ मा उक्त भेट्रान प्रतियोगितामा विश्वका शीर्ष खेलाडीहरूले काठमाडौँमा प्रतिस्पर्धा गरेका थिए।
संरचना
वर्षौँदेखि औपचारिक आधार कम वा हुँदै नहुँदा पनि कमजोर संरचनाका बाबजुद क्रिकेट अस्तित्वमा छ र फस्टाउँदो छ। अस्ट्रेलियामा जस्तो ‘ग्रेड’ क्रिकेट यहाँ कमै खेलिन्छ। क्लबहरूले एक दिवसीय नियममा आधारित प्रतियोगिता आयोजना त गर्छन् तर प्रायः नियमित भने छैनन्। आठ वर्षअघिसम्म खेलिए पनि अहिले शनिबारदेखि शनिबारसम्मको दुई दिवसीय क्रिकेट नेपालमा खेलिन्न।
नेपाल क्रिकेट संघ (क्यान)ले अहिले क्रिकेटलाई पाँच क्षेत्रमा विभाजित गरेको छ। उनीहरूको विकास कार्ययोजना पहिल्यै तपाईंसँग भएकाले म अब यसमा गहिरोसँग प्रवेश गर्नेछु तर आफूले गरेका काममै केन्द्रित हुन्छु। प्रायः क्षेत्रहरू भारतसँग सीमा जोडिएका छन् यी क्षेत्रमै क्रिकेटको विकास भएको छ। रोचक त के छ भने यु-१९ क्याम्पमा काठमाडौँका जम्मा दुई जना मात्र थिए। क्यानले मलाई विश्वास दिलाएको छ कि सबै खेलाडी दक्षताका आधारमा छनोट भएका हुन्।
मेरो भ्रमण
यु-१९ शिविर, काठमाडौँ
यो त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको थियो। यो एउटा स्तरीय मैदान हो। यसको सेन्टर स्क्वायर र आउटफिल्ड अधिकांश भारतीय र पाकिस्तानी टेस्ट मैदान बराबर छ। हाल पभेलियनमा गर्नुपर्ने काम थुप्रै छ, यद्यपि यसको योजना पनि बनिसकेको छ जुन निकै उत्कृष्ट देखिन्छ।
६ दिनमा तीनवटा सेन्टर विकेट म्याच खेलेर पिचको गुणस्तर जाँचिएको थियो र अन्तिम दिनमा पनि पिच पहिलो दिनको जस्तै राम्रो भएको पाइयो। अलिकति कडा भए पनि आउटफिल्ड निकै राम्रो छ जसलाई टप ड्रेसिङ गरेर सुधार्न सकिन्छ।
अभ्यास पूर्वाधार
अभ्यास पूर्वाधार मु्ख्य मैदानभन्दा बेग्लै र छुट्टै सावर तथा ड्रेसिङ रुम भएको आकर्षक पभेलियनसहितको थियो। टर्फ विकेट निकै राम्रा थिए र उनीहरूसँग कुल चारवटा थिए। नेट चाहिँ अझ राम्रो हुनसक्थ्यो। म विशेष गरी खेलाडीहरूको प्रतिभाबाट प्रभावित भएँ। उनीहरूले राम्रो प्राविधिक क्षमता देखाए। ब्याटिङभन्दा अझ बलिङ राम्रो थियो। उनीहरूसँग बल स्वीङ गर्न सक्ने चार र तीन जना बायाँहाते अर्थोडक्स बलर थिए।
क्रिकेट सतह
हाल विभिन्न गुणस्तरको टर्फमा क्रिकेट खेलिने गरेको छ र धेरैजसो माटोको तहमाथि बिच्छ्याइएको म्याटमा खेलिन्छ। पोखरामा चाहिँ मैले एकदमै पुरानो कन्क्रिट पिच देखेँ। त्यहाँको विद्यालयमा केटा र केटी गरी ६०० विद्यार्थी छन् र खेल शिक्षकले मलाई बताएअनुसार दुई वर्षअघि उनले एउटा क्रिकेट टोली पनि बनाउन सकेका थिएनन्। अहिले सबै जना खेल्न चाहन्छन्।
भ्रमण गरेका सहरहरू
समयको सीमितताका बाबजुद मेरो मूल्याङ्कनमा नेपाल क्रिकेटलाई छोटो अवधिमा पनि मैले यु-१९ टोलीसँग सकेसम्म धेरै समय बिताओस् भन्ने थियो। यद्यपि, म पोखरा पुगेँ जुन हवाई यात्राबाट ३५ मिनेट र गाडीमा साढे पाँच घण्टाको यात्रा हो। क्यानलाई लाग्छ अन्नपूर्ण हिमशृंखलाको फेदमा अवस्थित लोकप्रिय पर्यटकीय सहर पोखरा क्रिकेटका लागि विकास गर्ने सकिने उपयुक्त आधार भएको दोस्रो सहर हो। मेरो विचारमा पनि भविष्यमा क्यानले यहीँ मुख्य मुख्य प्रतियोगिता आयोजना गर्नेछ। मनै लोभ्याउने तालहरू, सुन्दर दृश्यसँगै पोखरामा आकर्षक क्रिकेट मैदान विकास गर्न सकिने सम्भावना छ।
मैदान निरीक्षण
काठमाडौँ, त्रिभुवन विश्वविद्यालय
मैले पहिले नै मुख्य मैदान र अभ्यास पूर्वाधारहरूबारे उल्लेख गरिसकेको छु। यो ठाउँले विश्वस्तरीय क्रिकेट केन्द्र बन्ने सम्भावना राख्छ। अभ्यास पूर्वाधारहरू मुख्य मैदानको एकापट्टि छन् जुन फाइदाजनक नै हो। तत्काल चाहिँ यी पूर्वाधार फुटबल मैदानका लागि तोकिएको क्षेत्रको छेउमै छन्। क्यानले अभ्यास पूर्वाधार विस्तार गर्न यसलाई हस्तान्तरण गर्न भनी अधिकारीहरूसँग वार्ता गरिरहेको छ।
काठमाडौँ इन्जिनियरिङ संस्थान मैदान
यो पहिल्यैदेखि क्रिकेट खेल्दै आइएको मैदान हो। क्रिकेटले फुटबलसँग साझा गरेको यो मैदानमा हाल थप मर्मत गरेर माटोका दुईवटा कडा पिच प्रयोग गर्न सकिन्छ। यो एउटा निकै ठूलो मैदान हो र यसलाई नेपाल खेलकुद परिषद्ले क्रिकेटको बृहत्तर लाभका लागि प्रयोग गर्न सकिने सुझाव दिएको छ। अस्ट्रेलियामा सिन्थेटिक विकेटसँगको अनुभव भएकाले मलाई के लाग्छ भने फुटबल पिचको बीचमा दुई या तीन कन्क्रिट पिच राख्न सकिन्छ जसले मैदानलाई राम्रोसँग विविधीकरण गर्छ। परिणामतः मैदानको प्रभावकारी उपयोग पनि हुन्छ। यो निकै आकर्षक मैदान हो र यसलाई उपयुक्त खेल क्षेत्रको रूपमा प्रयोग गर्न सकिन्छ।
सेन्ट जेभियर्स स्कुल मैदान
यो रमणीय वातावरण भएको मैदान हो। यसलाई सन् १९९८ को एसीसी टुर्नामेन्टको बेला प्रयोग गरिएको थियो। त्यति बेलाको टर्फ पिच अझै छ। सेन्ट जेभियर्समा मैदानमा रहँदा सेतो जर्सीमा अर्को विद्यालयको एक टोली पनि आइपुग्यो र मैले उनीहरूका लागि केही बेर फिल्डिङ सत्र चलाइदिएँ। उनीहरूको उत्साह असाधारण थियो। उनीहरूलाई विद्यालय एसोसिएसनका अधिकारीले त्यहाँ पठाएका थिए जो क्रिकेटलाई केटा र केटी दुवैको विद्यालयमा स्थापित गर्न निकै मेहनत गरिरहेका छन्। नसीम उल घानीले यस विषयमा फलोअप गर्ने सङ्केत गरे।
पोखरा
पोखरा खेल रङ्गशाला
यो क्षेत्रले उच्च सम्भावना बोकेको छ। पोखराकै स्थानीय तथा खेलकुद परिषद्का सदस्यसचिव विनोदशंकर पालिखे पोखरामा क्रिकेट मुख्य खेल गतिविधि र आकर्षण बनेको हेर्न निकै आतुर छ। उनले यो रङ्गशाला क्षेत्रबाहिर क्रिकेट पूर्वाधार विकासका लागि क्यानसँग वाचा गरिसकेका छन्।

हाल सिन्डर एथलेटिक ट्र्याक रहेको यो रङ्गशालालाई फुटबल र एथलेटिक्सका लागि प्रयोग गरिँदै आएको छ। यसको क्षेत्र निकै ठूलो छ र यहाँ कम्तीमा दुईवटा विकेट राख्न सकिन्छ। अहिले एउटा समथर क्षेत्र छ जसलाई तत्कालै प्रयोगमा ल्याउन सकिन्छ। एउटा स्थानीय विद्यालयले फुटबलका लागि प्रयोग गरिरहेको छ। यहाँ कङ्क्रिट विकेट राख्न पाए क्रिकेटले यस्तो उत्साह र सुविधाका बीच तीव्र गतिमा प्रगति गर्ने थियो।
पृथ्वीनारायण क्याम्पस
रगर टी पोखरा
फुटबल र क्रिकेटका लागि प्रयोग हुँदै आएको राम्रो क्षेत्र। अन्य मैदानमा जस्तै यस मैदानमा पनि सिँचाइ सुविधा भइदिए फाइदा पुग्ने थियो। मैदान निकै सुक्खा थियो र आउटफिल्ड निकै उबडखाबड। तथापि सुधार गर्ने हो भने यसको स्वरूप कस्तो हुन्छ भनेर सबैले अनुमान गर्न सक्थे। विश्वविद्यालयका अधिकारीहरू निकै उत्साही देखिएका थिए र मलाई लाग्छ भविष्यमा विकासका लागि सहकार्य पनि गर्छन्। मुख्य मैदानबाहिर एउटा सानो माटोको अभ्यास पिच छ, जहाँ म पुग्दा पूरै अभ्यास चलिरहेको थियो। सहभागीहरूको उत्साह अधिक थियो र मैले फिल्डिङका तौरतरिका सिकाउँदै उनीहरूसँग करिब ३० मिनेट बिताएँ।
गण्डकी बोर्डिङ स्कुल
यहाँ कन्क्रिट विकेट भएको राम्रो क्रिकेट मैदान छ जुन ३० वर्षभन्दा बढी समयदेखि प्रयोगमा छ। विद्यार्थीहरूको प्रतिक्रिया निकै उत्साहजनक थियो। खेल शिक्षकले मलाई भनेअनुसार दुई वर्षअघिसम्म एउटा क्रिकेट टोलीसमेत बनाउन नसकिने स्थिति भएकामा अहिले सबै विद्यार्थी खेल्न चाहन्छन्। नसीम उल घानीले ‘क्विक’ अथवा ‘कांगा’ क्रिकेट आदिमार्फत यसलाई अघि बढाउनुपर्छ। उत्कृष्ट रूपमा सञ्चालन भएको तथा राम्रो सुविधा भएको र विद्यार्थीहरूमा रुचि पनि देखिएकाले यो विद्यालयमा अधिक सम्भावना छ।
राजनीतिक र सरकार
खेलकुद परिषद्का सदस्यसचिव विनोदशंकर पालिखे क्रिकेटका जुझारु समर्थक हुनुहुन्छ। कैयौँ पटकको भेटमा मैले उहाँलाई क्रिकेटको मामिलामा अत्यन्तै प्रेरणादायी भएको पाएँ। पोखराकै बासिन्दा भएकाले उहाँ त्यस ठाउँमा क्रिकेटको विकासका लागि आतुर हुनुहुन्छ। उहाँलाई लाग्छ, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले उहाँको गृहनगरमा पर्यटक भित्र्याउनेछ।
१५ नोभेम्बर १९९९ मा क्यानका पदाधिकारी र विभिन्न खेलका थुप्रै प्रशिक्षकहरू र मिडियासमेतको उपस्थितिमा उहाँसँग मैले उहाँकै कार्यकक्षमा औपचारिक भेटघाट गरेको थिएँ। २० नोभेम्बरमा उहाँले काठमाडौँ नजिकैको रमणीय पहाडी सहर नगरकोटमा राष्ट्रिय खेलकुद परिषद्का तर्फबाट मेरा लागि दिवाभोजसमेत आयोजना गर्नुभयो। मैले अस्ट्रेलियन दूतावासको समारोहलगायत अरू अवसरमा पनि उहाँसँग समय बिताएँ।
युवा तथा खेलकुदमन्त्री
२२ नोभेम्बर १९९९ मा मैले क्यानका पदाधिकारीसहित युवा तथा खेलकुदमन्त्रीसँग भेट्ने अवसर पाएँ। उहाँ मेरो भ्रमणबारे पूर्णतः जानकार हुनुहुन्थ्यो र क्रिकेटलाई निकै सम्मान गर्नुहुन्थ्यो। निश्चय नै उहाँले क्यानका पदाधिकारीलाई राम्रैसँग चिन्नुभएको छ।
अस्ट्रेलियाली उच्चायोग
अस्ट्रेलियाली उच्चायुक्तले मेरा लागि एक समारोह आयोजना गर्दै केही सरकारी अधिकारी, पत्रकार, क्यान पदाधिकारी र यु-१९ टोलीलाई पनि निम्त्याउनुभएको थियो। उच्चायुक्त पनि क्रिकेटका निकै पारखी हुनुहुन्छ भने उहाँले विभिन्न अवसरमा क्यानलाई सहयोगसमेत गर्नुभएको छ। मलाई लाग्छ उहाँहरूबीच केही राम्रा योजनामा अझ सहकार्य हुनेछ।

मिडिया
मेरो नेपाल भ्रमणबारे अंग्रेजी र स्थानीय दुवै भाषाका सञ्चारमाध्यममा राम्रैसँग कभर भयो। उनीहरू निकै मिलनसार थिए भने उनीहरूबाट प्राप्त प्रतिक्रियाले मलाई हौस्याएको थियो। मलाई लाग्छ सचिव पाण्डेले मिडिया क्लिपिङहरू पठाउनुहुनेछ। नेपाली मिडियाले क्रिकेटका लागि क्यान अथवा आईसीसीले गरेका प्रयत्नहरूलाई पूर्ण समर्थन गर्नेछ भन्नेमा मलाई अलिकति पनि सन्देह छैन। तीन केबल टेलिभिजन स्टेसनले नेपालमा विश्वभरिका क्रिकेटको प्रत्यक्ष प्रसारण गरिरहेका छन् जुन क्रिकेटप्रतिको ठूलो स्वीकार्य हो।
अम्पायरहरू
मेरो अनुरोधमा क्यानले सकेसम्म धेरै अम्पायरलाई काठमाडौँमा छलफलका लागि बोलायो। मलाई लाग्छ यो निकै लाभदायी भयो किनकि यसले मलाई अम्पायरिङका नीति नियम सुन्ने सुनाउनेबाहेक अरू विभिन्न आयाममा छलफल गर्ने मौका दियो। १० अम्पायर उक्त छलफलमा सहभागी थिए र उनीहरू लिखित कानुनप्रति निकै अडिग रहेको पाएँ। क्रिकेटका सूक्ष्म पक्ष जान्दा कसरी उनीहरूको अम्पायरिङ सुध्रिन्छ भनेर हामीले निकै खुला माहोलमा छलफल गर्यौँ। हामीले ‘इलिगल बलिङ’का विषयमा पनि छलफल गर्यौँ। यद्यपि क्याम्पमा बलर नहुनुले चाहिँ मलाई चिन्तित बनाएको थियो। छलफलमा सहभागी दुई अम्पायरलाई हालसालै बाङ्लादेशको अम्पायरिङ स्कुल पठाइएको थियो।
नसीम उल घानी
नसीम उल घानी मसँगै हुनुले मलाई निकै सहयोग पुग्यो। मलाई लाग्छ उहाँलाई पनि मेरो उपस्थिति उपयोगी नै भयो होला। निश्चय नै, क्रिकेटमा मेरो उच्च ख्यातिले सहयोग नै हुन्छ अन्यथा नेपालमा यस्तो अवसर प्राप्त नहुन सक्थ्यो।
प्रशिक्षकहरू
एउटा खेलका दौरान मैले विश्वविद्यालय मैदानमा प्रशिक्षकहरूसँग बैठक डाकेँ। दुर्भाग्यवश, उनीहरूको ज्ञान र क्रिकेटप्रतिको रुचि देखेर म स्तब्ध भएँ। उनीहरूका भावभंगीले भनिरहेको थियो – “यो केवल एउटा जागिर हो।”
आवास
म बसेका दुवै होटेल निकै राम्रा थिए। दुवै सहरमा सबै स्तरको बस्ने व्यवस्था छ। यी दुवै केन्द्रमा ठूला प्रतियोगिता नै आयोजना गर्ने हो भने पनि आवासले समस्या खडा गर्दैन।
कम्प्युटर प्रोग्राम
मेरा सम्पर्क अधिकृत कोमल पाण्डे र मैले क्याम्पमा भएका सबै खेलाडीको कम्प्युटर अभिलेख राख्यौँ। सम्पूर्ण नेपाली खेलाडीको कम्प्युटर अभिलेख राख्ने यो पहिलो सुरुआत हुनेछ।
सिफारिस र सुझाव
कङ्क्रिट सिन्थेटिक सतह
नेपाली क्रिकेटको सर्वप्रथम प्राथमिकता सिन्थेटिक सतहसहितको कङ्क्रिट क्रिकेट पिच हाल्नु हो भन्नेमा म करिब करिब निश्चिन्त छु। यी दुवै नेपालमै उचित मूल्यमा पाइन्छ।
अधिकारीहरू र यु-१९ टोलीसँगको मेरो छलफल र अवलोकनका आधारमा टर्फको गुणस्तर अथवा म्याटिङ विकेट सामान्यतया राम्रो छैन। यसले युवा खेलाडीलाई ब्याटिङमा उत्रने आत्मविश्वास विकास गर्न कठिन बनाउँछ भने अर्कोतिर खराब पिचमा पनि बलरहरूले सजिलै विकेट लिन सक्छन्।

मैले यो अवस्थाबारे क्यान पदाधिकारीसँग कुरा गरिसकेको छु र क्रिकेट पिच निर्माणका बारेमा सूचना प्रवाह गर्नेछु। यसका अलावा, म उनीहरूलाई अस्ट्रेलियामा प्रयोग हुँदै आएको स्टिल मेस क्रिकेट केजको पनि विस्तृत विवरण पठाउनेछु। यसको लागि पनि नेपालमै सामग्री उपलब्ध छ। अभ्यास पिच र केज सानै ठाउँमा पनि ठड्याउन सकिन्छ र यसलाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिन्छ। विशेष गरी विद्यालयमा यी अत्यन्तै उपयोगी हुनेछन्।
टर्फ विकेटलाई बेवास्ता गर्नु हुँदैन। तर अहिलेलाई यो त्यहाँ बढी उपयोगी हुन्छन् जहाँ यसलाई उचित हेरचाह गरिन्छ। यसका लागि वित्तीय स्रोत र ग्राउन्डस्मेन सीप पनि चाहिन्छ। यदि पोखरालाई अन्तर्राष्ट्रिय स्तरको भेन्यु बनाउने हो भने उच्च गुणस्तरको टर्फ विकेट खाँचो हुन्छ। जसका लागि उपयुक्त ठाउँ त हुँदै हो।
सिन्थेटिक क्रिकेट बल
अहिले प्रायः सबै क्रिकेट खेल नेपालमा छालाको बलले खेलिन्छ। छिट्टै बिग्रने र महँगो पर्ने हुनाले यो त्यति प्रभावकारी हुँदैन। सस्तो खाले छालाको बल फेरि यति साह्रो हुन्छन् कि ब्याटै भाँच्छन्।
मुम्बईको एक विद्यालयमा रहेका एक यू-१९ खेलाडीसँग टाँका लगाएको सिन्थेटिक बल थियो र मलाई त्यो उपयुक्त लागेको थियो। त्यसको दाम पनि जम्मा ६४ रुपैयाँ। मलाई लाग्छ सीधै उत्पादकसँग किन्यो भने यो अझ सस्तो पर्छ। मेरो विचारमा सिन्थेटिक बल खरिदको व्यवस्था गर्न सकियो भने यसले नेपालमा क्रिकेटको विकासमा सघाउनेछ।
खेल संरचना
मलाई लाग्छ क्यानले आफ्ना संरचना विद्यालय र क्लबहरूमा आधारित बनाउनुपर्छ। मलाई यो पनि लाग्छ कि सीमित ओभरको क्रिकेटले यहाँका युवाहरूको खास प्रतिभा पूर्णरूपमा विकास गर्न सक्दैन र लामा लामा खेलहरू नै बढी उपयोगी हुन्छन्।
प्रशासनिक तहमा अधिक उत्साह छ तथापि बाहिरबाट अलिकति सहयोग भयो भने राम्रै हुन्छ। प्रायः क्रिकेट भारतीय सीमावर्ती क्षेत्रमा बढी लोकप्रिय छ, शायद भारतबाटै केही सहयोग लिन पो सकिन्छ कि! एमआरएफ एकेडेमीलाई निम्त्याए कसो होला?
प्रशिक्षकहरू
प्रशिक्षण र प्रशिक्षकहरूलाई अत्यधिक सहयोगको खाँचो भएको मैले पाएँ। मैले लेभल-वान अस्ट्रेलियन प्रशिक्षण पुस्तिका र भिडियोसहितको प्रस्तुतीकरण लगेको थिएँ। उनीहरू यसबाट खुसी नै भए तथापि प्रशिक्षणमा उनीहरूलाई धेरै सहायता आवश्यक छ। हाल प्रशिक्षकहरू सरकारबाट नियुक्त छन्। आर्थिक हिसाबले यो राम्रै भए पनि प्रशिक्षकहरूको विकासका लागि यो त्यति उपयोगी हुँदैन। किनकि, उनीहरू अक्सर अर्कै खेलका लागि प्रयोग गरिन्छन् र उनीहरूले औपचारिक तालिम नलिएको पनि देखिन्छ।
क्यानले प्रशिक्षकहरूलाई आफ्नो संस्था मातहत राख्न खोजिरहेको छ र यो राम्रो कदम भएकामा म पनि सहमत छु।
हाललाई लेभल-वानमा केन्द्रित रहँदै, नेपाली क्रिकेट अझै विस्तार र विकास भएमा मलाई लाग्छ प्रशिक्षण संरचना स्थापना गर्न पूर्ण राष्ट्र प्रशिक्षण निर्देशक या आईसीसी क्षेत्रीय विकास अधिकृत महत्त्वपूर्ण हुनेछन्।
प्रतिभा
खेलाडीहरूको स्तर देखेर म त छक्क परेको थिएँ। प्राविधिक रूपमा उनीहरू राम्रो खेलाडी थिए। उनीहरूले भारतीय शैलीसँग मिल्दोजुल्दो स्वाभाविक सीप प्रदर्शन गरे। मसँग सहकार्य गरेका खेलाडीहरूले अत्यधिक उत्साह देखाए। उनीहरूको क्रिकेटको ज्ञान देखेर म त अचम्मित भएको थिए। मलाई लाग्छ उनीहरूले यस्तो कौशल टेलिभिजन हेरेर सिके, आफ्नो आदर्शहरूले खेलेको शैली नक्कल गर्दै सिके। उनीहरूले गरेको नक्कलमा विभिन्न देशका खेल्ने शैलीदेखि हेयरस्टाइल पनि समावेश थियो।
खेलाडीहरूमा खेलको समझ राम्रै छ र युवा खेलाडीहरूसँग काम गर्न पाउनु मेरा लागि ताजगीपूर्ण रह्यो। उनीहरूको क्रिकेटप्रेम र सरल व्यवहार सम्झँदा साँच्चै भन्नुपर्दा सन् १९५० र ६० को दशकमा फर्केको जस्तो अनुभव थियो। ज्ञानका लागि उनीहरूको प्यासमा प्रश्न गर्ने ठाउँ नै थिएन र म निरन्तर विचारशील प्रश्नहरूले घेरिएको थिएँ।
मैदान
यही प्रतिवेदनमा अन्त उल्लेख गरेअनुसार सुरुमा कन्क्रिट सिन्थेटिक विकेटमा र त्यसपछि टर्फमा केन्द्रित हुँदै मैदानहरूको स्तरोन्नति गर्न सामान्यतः आवश्यक छ। आईसीसीले प्रदान गर्ने वित्तीय सहायता अत्यन्तै लाभदायी हुनेछ। पाँचै क्षेत्रका मैदान जान नपाए पनि मैले पाएको सूचनाअनुसार यी सबै क्षेत्रका मैदान विकासका लागि सहयोग आवश्यक छ।
काठमाडौँ र पोखरामा मैदान सुधारका लागि प्रशस्त अवसर छन् र सरकार पनि विकासका उपयुक्त जग्गा छुट्याउन इच्छुक छ। प्रथम श्रेणीको स्तरीय मैदानका लागि पोखरा उपयुक्त स्थल हो। रङ्गशालासँगै रहेको यो ठाउँमा नजिकैको खोलाबाट पानीको नियमित आपूर्ति पनि उपलब्ध छ। अन्तर्राष्ट्रिय स्तरका खेल खेलाउने उद्देश्य राख्ने हो भने क्यान या मैदानका अधिकारीले उच्चस्तरीय टर्फ सुविधा विकास गर्नुपर्छ।
यु-१९ राष्ट्रिय टोली
विश्वविजेता टोलीहरूसँग प्रतिस्पर्धा गर्ने हो भने विदशी प्रशिक्षक तत्कालै चाहिएको छ। अहिले उनीहरू अनुभवहीन छन् र कोलम्बो जानुअघि चेन्नईमा कम्तीमा एक हप्ता अभ्यास गर्नु निकै आवश्यक छ। खेलाडीहरू श्रीलङ्का पुग्नुअघि त्यहाँको हावापानीमा अभ्यस्त हुन पनि जरुरी छ।
दुर्भाग्यवश, यु-१९ राष्ट्रिय टोलीका लागि प्रशिक्षक खोज्न बीसीसीआईका सचिवले सहयोग गरिरहेका छैनन्। केही महिनाअघि सहायताका लागि अनुरोध गरिएको थियो तर कुनै प्रतिक्रिया पाइएको छैन।
रस, नेपालमा जे देखेँ त्यसबाट म निकै प्रभावित भएको छु। विशेष गरी काठमाडौँ र पोखरा दुवै सहरका गल्ली र मैदानमा देखेका क्रिकेट खेलले प्रभावित भएको छु। यहाँ क्रिकेटप्रतिको प्यास असाध्यै छ र अबको समय क्रिकेटका लागि सहयोग गर्ने र यो अद्वितीय अवसरको सदुपयोग गर्ने हो।
—६ डिसेम्बर १९९९
हिमालखबर, कान्तिपुर टेलिभिजनलगायत संस्थामा काम गरेका तिमल्सिना हाल नेपालन्युजमा आबद्ध छन्। उनी विशेषगरी अनुवाद र चलचित्र समीक्षा विधामा कलम चलाउँछन्। ...
हिमालखबर, कान्तिपुर टेलिभिजनलगायत संस्थामा काम गरेका तिमल्सिना हाल नेपालन्युजमा आबद्ध छन्। उनी विशेषगरी अनुवाद र चलचित्र समीक्षा विधामा कलम चलाउँछन्।