सिद्धान्तरहित धर्म

एउटा हिन्दू विश्वका जटिलतासँग कत्ति पनि डराउँदैन। किनभने उसले स्वीकार गरेको हुन्छ— यो संसार जटिल र जेलिएको छ र थुप्रै कुरा आफ्नो ज्ञानभन्दा पर छन्।

जब सन् २००६ मा म संयुक्त राष्ट्रसङ्घको महासचिव पदका लागि भारतको पहिलो र एकल आधिकारिक उम्मेदवार बनें, केही पत्रकारले मेरो विश्वदृष्टिमा मेरो हिन्दू आस्थाको के भूमिका छ भन्नेबारे बुझ्न चाहे। मैले धार्मिक आस्थाले कुनै व्यक्तिको कार्यक्षेत्र र जीवनमा उसको आचरणलाई प्रभावित गर्न सक्छ भन्ने विचार राखें। केहीका लागि यसको अर्थ केवल आफूमाथि आस्था राख्नु हुन्छ। मसहित अन्य मानिसका लागि भने यो हामी स्वयंभन्दा केही माथिको स्रोतबाट उत्पन्न हुन्छ। 

एक अर्थमा आस्था त्यो चीज हो, जसले तपाईंलाई आवश्यक जोखिम उठाउन साहस प्रदान गर्छ। यो आस्थाले तपाईंलाई जीवनका उतारचढाव र अनिश्चितताको सामना गर्ने शक्तिसमेत दिन्छ। यस्ता उतारचढाव ती सबै व्यक्तिको जीवनमा आउँछन्, जो विश्वमा केही परिवर्तन ल्याउन चाहन्छन्। यसकारण मलाई खुलेर आफूलाई एक निष्ठावान् हिन्दू हुँ भन्नुमा कुनै समस्या छैन। मेरा लागि यी शब्दहरूको अर्थ के थियो भन्नेबारे ती पत्रकारसामु चर्चा गरें। म एक ‘हिन्दू कट्टरवादी’ होइन। मैले यस पुस्तकमा भनिसकेको छु र पहिलेदेखि नै भन्दै आएको छु— हिन्दू धर्मबारे सबैभन्दा आधारभूत कुरा, यसको कुनै आधारभूत वा कट्टर सिद्धान्त छैन।

मैले वैश्विक विविधतामा मेरो आस्थासमेत हिन्दू मान्यताको देन हो भनेर भनें। किनभने हिन्दूवादभित्र नै प्रशस्त धार्मिक विविधता छ। हाम्रो धर्ममा कुनै एकल धर्मग्रन्थको साटो अनेक धर्मग्रन्थ छन्। मेरो धर्मले मलाई मेरो व्यक्तिगत धारणा अनुरूप ईश्वरसमक्ष पुग्ने प्रयास गर्ने अनुमति दिन्छ। मेरो पालनपोषण यसरी नै भएको थियो कि, मैले ईश्वरका सबै प्रतीकलाई समान रूपले वैध मान्न सकूँ। मेरा पिताले निकै श्रद्धाका साथ हरेक दिन पूजापाठ गर्नुहुन्थ्यो तर उहाँले कहिल्यै मलाई यसमा सहभागी हुन आग्रह गर्नुभएन भन्ने कुरा मैले उनीहरूलाई सुनाएँ। उहाँ आफ्नो पुत्रले हिन्दू परम्पराअनुसार आफ्नो सत्य स्वयम् खोजोस् भन्ने चाहनुहुन्थ्यो। मैले आफ्ना छोराहरूको समेत ठीक यसैगरी पालनपोषण गरेको छु। 

राजनीतिक उद्देश्यका लागि धर्मको दुरूपयोग निःसन्देह हाम्रो समकालीन यथार्थको एक दुःखद र (थुप्रै मामिलामा) त्रासदीपूर्ण अङ्ग हो। जस्तो— संयुक्त राष्ट्रसङ्घका महासचिव कोफी अन्नानले एक पटक भनेका थिए— “धर्ममा कहिल्यै कुनै समस्या हुँदैन। समस्या त केवल यसलाई मान्ने व्यक्तिहरूमा हुन्छ।”

आफ्नो सत्य खोज्दै म यस सत्यसम्म पुगेको छु कि, सत्यका अनेक रूप हुन सक्छन्। यसै कारण म विश्वसामु एक यस्तो दृष्टिकोण प्रस्तुत गरिरहेको छु जुन खुला, समन्वयकारी र सहिष्णु छ। मेरो धर्म ती व्यक्तिहरूका निम्ति होइन, जो प्रश्न गर्न नमिल्ने र कट्टर धार्मिक सिद्धान्तको खोजीमा छन्। संशय र अनिश्चितताको यस घडीमा योभन्दा असल धर्म अरू के हुन सक्छ, जसमा यी दुवैका लागि प्रशस्त ठाउँ छ।

राजनीतिक उद्देश्यका लागि धर्मको दुरूपयोग निःसन्देह हाम्रो समकालीन यथार्थको एक दुःखद र (थुप्रै मामिलामा) त्रासदीपूर्ण अङ्ग हो। जस्तो— संयुक्त राष्ट्रसङ्घका महासचिव कोफी अन्नानले एक पटक भनेका थिए— “धर्ममा कहिल्यै कुनै समस्या हुँदैन। समस्या त केवल यसलाई मान्ने व्यक्तिहरूमा हुन्छ।” सबै धर्मको उद्देश्य हामीभित्र ईश्वरीय भावना जगाउनु हो। तर दुर्भाग्य केही मानिसले आफ्नो धर्मको प्रयोग एक किसिमले अरूमाथि प्रहार गर्नका लागि गर्छन्। उनीहरू धर्म स्वयम् ईश्वरीयता वा दिव्यताको स्तरसम्म उँचो उठाउने माध्यम मात्र हो भनेर बिर्सन्छन्। किनभने हिन्दूवाद ईश्वरसम्म पुग्ने विविध मार्गमा विश्वास राख्छ। यसकारण म अरू मानिसका धार्मिक मान्यतालाई आफ्नो मान्यतासरह नै वैध मान्छु। मैले आफ्नो धर्मको मूल्य र सिद्धान्तको हिन्दूत्ववादी व्याख्या स्वीकार्न नसक्नुको कारण यही हो।

परन्तु एक निष्ठावान् वा धर्मपरायण हिन्दू हुनुको अर्थ— मेरा लागि के हो ? म नियमित मन्दिर जान्नँ। तर पनि म हरेक दिन पूजा गर्छु। कैयौं पटक त मैले केवल दुई मिनेटका लागि मात्रै पूजा गरेको छु। धेरैजसो हिन्दू आफ्नो घरमा एउटा सानो वा ठूलो मन्दिर वा पूजाकोठा बनाउँछन्, जहाँ कम्तीमा पनि एउटा सानो मूर्ति त हुन्छ नै। 

अमेरिकाको म्यानह्याटनस्थित मेरो घरमा समेत एउटा सानो पूजाकोठा थियो। अहिले दिल्ली र तिरुवनन्तपुरममा केही ठूलो पूजाकोठा छ। यो ईश्वरसँग जोडिने मेरो पवित्र स्थल हो। तर पनि म उपनिषद्को ईश्वर अज्ञेय र अगम्य छन् भन्ने सिद्धान्तमा विश्वास गर्छु। ईश्वरलाई न त चिन्न सकिन्छ, न त पाउन नै। समस्त पूजा ईश्वरसम्म पुग्ने प्रयास हो, जुन ईश्वरलाई हामी स्पर्श गर्न सक्दैनौं। म कहिलेकाहीँ मन्दिरसमेत जान्छु। यो कुरा मेरी आमा र अन्य श्रद्धालुहरूका लागि कति महत्त्वपूर्ण कार्य हो भन्नेबारे म जानकार छु। तर व्यक्तिगत स्तरमा ईश्वर र मनुष्यबीच कुनै माध्यम वा मध्यस्थताको आवश्यकता छैन भन्ने मेरो विश्वास छ। ईश्वर तपाईंको हृदयमा छन् भने उनी अन्त कहाँ–कहाँ बास गर्छन् भन्ने कुराले कुनै अर्थ राख्दैन।

यसकारण म वेदान्तको खुलापन, विविधता, विराटता र उच्च दार्शनिक आकाङ्क्षामाथि गर्व गर्छु। मलाई हिन्दू धर्मको पालनामा कुनै किसिमको बाध्यताको अभाव र पूजापाठका विविध र समृद्ध विधिहरूमा समेत गर्व छ। साथै मलाई ईश्वरका कुनै पनि रूप र देवीदेवतालाई आफ्नो प्रिय ईश्वरीय रूप मान्ने स्वतन्त्रतामाथि गर्व छ। म हिन्दू धर्मको सहिष्णुताको प्राचीन परम्परा र सभ्यताको अगाध समर्थक हुँ, जसले अरू धर्मका अनुयायीलाई सदैव अँगाल्छ र उनीहरूलाई आफ्नै धार्मिक मान्यताको पालना गर्ने स्वतन्त्रता दिइरहन्छ। यो एक उल्लेखनीय तथ्य हो— भारत एक मात्र यस्तो देश हो, जहाँ यहुदी समुदाय शताब्दीऔंदेखि सुख र शान्तिका साथ बसोबास गरिरहेका छन्। उनीहरूले आफ्नो धर्मको विरोधको एक सानो घटनासमेत सामना गर्नुपरेको छैन। यसै कारण मलाई हिन्दूवादमाथि आनन्दबोध र गर्व महसुस हुन्छ। 

हिन्दूवादले विश्वलाई निश्चिततामा बाँधेर हेर्दैन। यसको प्रकृतिमा कालो र सेतो, सत्य र असत्यको निकै कम स्थान छ। भलो र कुभलो वा कर्तव्य र विद्रोहलाई लिएर यसले विविध दृष्टिकोणलाई स्वीकार्छ अनि परिस्थिति अनुरूप त्यसको मूल्याङ्कन गर्छ। स्वामी विवेकानन्दले अक्सर कुवाको भ्यागुताको सन्दर्भ दिने गर्थे।

आधुनिक विश्वसँग भारतको अनुकूलता यसको स्वीकृति र व्यावहारिक तथा उदार धार्मिक संस्कृतिमा आधारित छ। ‘सम्भवतः उसले पनि जान्दैन’को कुरा गर्ने हिन्दू धर्मले कालो र सेतो, सत्य र असत्यभन्दा माथि उठेर मानव जीवनलाई हेर्छ र जीवन–मृत्युका प्रश्नहरूको सन्देह र संशयलाई विविध दृष्टिकोणबाट स्वीकार गर्छ। यसकारण यो कट्टरवादभन्दा माथि उठेर सोच्नेहरूको धर्म हो। आज विश्वमा ठाउँठाउँमा धार्मिक कट्टरवादका लहर उठेको देख्दा स्वामी विवेकानन्दको सन्देश शान्ति र सहअस्तित्वको मन्त्र साबित हुन सक्छ। उनले भनेका थिए— “हामी केवल सार्वभौमिक सहिष्णुतामा मात्रै विश्वास राख्दैनौं, बरु सबै धर्मलाई सत्यका रूपमा स्वीकार गर्छौं।” यसकारण संयुक्त राष्ट्रसङ्घको महासचिव पदको प्रत्याशीका निम्ति यो आदर्श धर्म थियो। हारपछि पनि मेरो धर्मले नै मलाई सान्त्वना दिँदै हामीले परिणामको चिन्ता नगरी आफ्नो धर्मको पालना गर्नुपर्छ भन्ने श्लोक स्मरण गराएको थियो।

हिन्दूवादले विश्वलाई निश्चिततामा बाँधेर हेर्दैन। यसको प्रकृतिमा कालो र सेतो, सत्य र असत्यको निकै कम स्थान छ। भलो र कुभलो वा कर्तव्य र विद्रोहलाई लिएर यसले विविध दृष्टिकोणलाई स्वीकार्छ अनि परिस्थिति अनुरूप त्यसको मूल्याङ्कन गर्छ। स्वामी विवेकानन्दले अक्सर कुवाको भ्यागुताको सन्दर्भ दिने गर्थे। हिन्दू, इसाई, मुसलमान सबै आआफ्नो कुवामा बसेर त्यसलाई नै सम्पूर्ण विश्व सम्झिरहेका छन्। तर यी सबैले एकआपसबाट धेरै सिक्न कुवाबाट बाहिर निस्कनु आवश्यक छ। 

हिन्दूवाद निश्चित र कठोर मान्यताहरूको योगफल भएको व्यवस्था होइन। यसले विश्वलाई जटिलताहरूको सामना गर्ने उपाय सुझाउँछ। यसले सत्य बहुमुखी छ र सृष्टिको रचना वा जीवनको अर्थसँग जोडिएका प्रश्नहरूको कुनै निश्चित उत्तर छैन भन्ने स्वीकार गर्छ। ऋषिमुनिप्रति श्रद्धाभाव राख्दै दुई वा अनेकौं विचारको परस्पर आदानप्रदानबाट मात्रै सत्य उद्​घाटित हुन सक्छ भन्ने कुरालाई यसले अपनाउँछ। यसै कारण कुनै एक विचारले सत्यमाथि एकाधिकारको दाबी गर्न सक्दैन। एक हिन्दूका लागि सबैभन्दा ठूलो सत्य यही हो— सत्यका अनेक रूप हुन सक्छन्। 

हिन्दूवादमा जीवन एक गतिशील प्रक्रिया हो, जसको सधैंका लागि कुनै निश्चित समाधान खोज्न सकिँदैन। यसले मनुष्यको बाँच्ने अनुभव र उसको विश्वासअनुसार नयाँ रूप लिइरहन्छ। ईश्वरका साथ समेत मानिसको सम्बन्ध हरेकको व्यक्तिगत अनुभव र विश्वासमा निर्भर हुन्छ। हरेक मानिसले आफ्नो सत्य स्वयम् खोज्नुपर्ने हुन्छ। प्रत्येक मानिसले आत्मतृप्ति र मुक्तिका लागि स्वयम् प्रयास गर्नुपर्छ।

हिन्दूवाद यस आध्यात्मिक स्वतन्त्रताका साथै सांसारिक जीवनसँग समेत गहिरोसँग जोडिएको छ। सतही दृष्टिकोणबाट हेर्दा हिन्दूवाद परलोकको शाश्वतताको विचारमा केन्द्रित भएको प्रतीत हुन सक्छ। तर वास्तवमा हिन्दूवाद संसारको त्यागसँग जोडिएको अध्यात्म मात्रै भने होइन। जस्तो, रेमन पणिक्करले सङ्केत गरेका थिए— वेदको महानताको आधार अकाल वा कालहीनता (टाइमलेस) नभई काल प्रचुरता (टाइमफुल) र काल पूर्णता हो। 

अथर्ववेदको एक श्लोकका अनुसार समय एक निरन्तर भरिने गाग्रोबाट छचल्किने द्रव जस्तै हो, जुन रित्याउने जति प्रयास गरे पनि कहिल्यै रित्तिँदैन। समय वा काल एक यस्तो निरन्तरता हो, जसको न कुनै सुरूवात छ न कुनै अन्त्य नै। यसको न कुनै परिधि छ न कुनै सीमा नै। यो स्वयम् ईश्वर जस्तै अनन्त र असीम छ। जस्तो, भगवद्गीतामा कृष्णले भनेका थिए— “म काल हुँ, विश्व विनाशक... म अजर–अमर काल हुँ।” 

मैत्रेयोपनिषद्को एक श्लोकको भावार्थ यसप्रकार छ— 

कालबाट नै सबै जीव उत्पन्न हुन्छन्
कालबाट नै विकसित हुन्छन् र फक्रिन्छन्
कालले नै उनीहरूको अन्त्य गर्छ
काल देह र विदेह दुवैमा छ।

जब धर्ममाथि दक्षिणपन्थ सवार हुन्छ अनि यसले युद्ध, विजय अभियान, जेहाद, साम्प्रदायिक हिंसा र नरसंहार जस्ता भयावह परिणाम निम्त्याउने कुरामा कुनै सन्देह छैन। अर्कातर्फ, धर्मको लाभ नैतिकता सिकाउने, कुनै शान्तिपूर्ण प्रार्थनालाई फैलाउने र सान्त्वना दिने कुरासम्म मात्रै सीमित छ। आफ्नो सम्पूर्ण इतिहासमा हिन्दू धर्मले कहिल्यै पनि कुनै अरू धर्म विरूद्ध युद्ध छेडेको छैन, न त अरूमाथि बलात् आफ्नो विचार लाद्ने प्रयास नै गरेको छ। हिन्दूहरू आफ्नो धर्मलाई एक शान्तिप्रिय धर्म मान्छन् र अरू धर्मका मानिसले समेत यस्तै सोच्छन्। हिन्दू धर्मले मनुष्यको आन्तरिक र बाह्य दुवै किसिमको शान्तिमा जोड दिन्छ। 

थुप्रै वैदिक मन्त्रहरू शान्तिका विषयमा केन्द्रित छन् र यसले जीवनमा गहिरो प्रभाव पार्छ भन्ने विश्वास गरिन्छ। यीमध्ये ‘शान्ति मन्त्र’ निकै प्रसिद्ध छ। कुनै पनि शुभकार्यपछि वा कुनै पवित्र ग्रन्थको पाठपछि ’ॐ शान्तिः शान्तिः शान्तिः’ उच्चारण गर्ने गरिन्छ। यसलाई तीन पटक दोहोर्याउनाले तीनै लोकको शान्ति मिल्छ। मनुष्य पृथ्वीलोकमा त्यस बेला मात्रै शान्ति प्राप्त गर्न सक्छ, यदि स्वर्गलोक र उसको हृदयमा शान्ति छ भने। आफ्नो हृदयमा तब मात्र शान्ति प्राप्त गर्न सक्छ, जब स्वर्गलोक र पृथ्वीलोकमा पनि शान्ति छ। यजुर्वेदको एक प्रसिद्ध शान्तिपाठ यस्तो छ— 

ॐ द्यौः शान्तिरन्तरिक्षंः शान्तिः
पृथ्वीः शान्तिरापः शान्तिरोषधयः शान्तिः
वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्तिः
सर्व शान्तिः शान्तिरेव शान्तिः, सा मा शान्तिरेधि।।
ॐ शान्तिः शान्तिः शान्तिः।।

(रेमन पाणिक्करले संस्कृतबाट अनुवाद गरेको भावार्थः शान्ति होस्! अन्तरिक्षमा, पृथ्वीमा, जलमा, वनस्पति लोकमा, ब्रह्म र स्वर्गलोकमा, जडमा, चेतनमा र जगत्​का कणकणमा शान्तिको सञ्चार होस्!)

सोह्रौं लोकसभाका अध्यक्ष (जो यो पद सम्हाल्ने भाजपाका पहिलो सदस्य हुन्) ले प्रत्येक सत्रमा शोक–सूचना पढेपछि ॐ शान्तिः शान्तिः शान्तिः उच्चारण गर्ने परम्पराको थालनी गरेका थिए। यद्यपि यस कार्यमा एउटा धर्मनिरपेक्ष संसद्​मा कुनै एक धार्मिक भाषाको प्रयोगको झलक देख्न सकिन्छ, परन्तु धेरैजसो सांसदले उनीसँगै यो मन्त्र दोहोर्याए। यिनमा अरू पार्टीका धेरैजसो सांसदसमेत सामेल थिए। एक उदारवादी हुनुका नाताले मलाई सुरुमा यो केही अमिल्दो लागेको थियो। तर फेरि सबै सांसद यसलाई दोहोर्याउन बाध्य थिएनन् भने यस मन्त्रमा कुनै खराबी थिएन भन्ने विचार मेरो मनमा आयो। मलाई लाग्छ, एक समावेशी दृष्टिकोण निहित भएको र यो कसैमाथि थोपरिएको छैन भने एक हिन्दूले आफ्नो धर्म प्रकट गर्न सक्छ। 

आफ्नो सम्पूर्ण इतिहासमा हिन्दू धर्मले कहिल्यै पनि कुनै अरू धर्म विरूद्ध युद्ध छेडेको छैन, न त अरूमाथि बलात् आफ्नो विचार लाद्ने प्रयास नै गरेको छ। हिन्दूहरू आफ्नो धर्मलाई एक शान्तिप्रिय धर्म मान्छन् र अरू धर्मका मानिसले समेत यस्तै सोच्छन्। हिन्दू धर्मले मनुष्यको आन्तरिक र बाह्य दुवै किसिमको शान्तिमा जोड दिन्छ।

हिन्दूवाद जीवनको आनन्द, रस तथा लीलाहरूलाई सहर्ष स्वीकार्ने धर्म हो। यसले विश्वलाई गम्भीरता र अन्धकारले ढाकिएको नभई चमकपूर्ण र आनन्दमय देख्छ। जस्तो— भगवद्गीतामा भनिएको छ— “सूर्यको जुन आभाले सम्पूर्ण संसारलाई प्रकाशले ढाकिदिन्छ, त्यो प्रकाश चन्द्रमामा पनि छ र अग्निमा समेत छ। सम्झनु त्यो मेरो आभा हो।” एक प्रकारले यो आभा सबै मनुष्यमा समेत छ। किनकि उपनिषद्का अनुसार ईश्वर प्रत्येक वस्तुमा स्वयम्​लाई र स्वयम्​मा प्रत्येक वस्तु देख्छ। अर्को शब्दमा भन्नुपर्दा सम्पूर्ण सृष्टिमा ईश्वरको आभा झल्किन्छ र ईश्वरमा पनि सम्पूर्ण सृष्टिको आभा झल्किन्छ। 

हिन्दू धर्मग्रन्थमा मानवीय दुःख–कष्टको अस्तित्वलाई समेत स्वीकार गरिएको छ। परन्तु यसलाई मनुष्यको विकासमा एक जागृतिको चरणका रूपमा हेरिएको छ। वेदले हामी कष्ट किन भोग्छौं भनेर बताउँदैन। तैपनि मनुष्यहरूले दुःखलाई सहज रूपमा स्वीकार्छन् र यसबाट मुक्त हुने प्रयास गर्छन् भन्ने कुरा गर्छ। उपनिषद्हरुमा दुःखको अधिक उल्लेख भेटिन्छ। तर वेदहरूमा यो शब्द नै छैन। जस्तो— भगवद्गीतामा भनिएको छ दुःखबाट विरक्ति महसुस गर्नु एक आदर्श स्थिति हो र आत्मबोध गरी यसबाट पार पाउन सकिन्छ। एक आम मानिसका लागि यो काम असम्भव लाग्छ। यसैले ईश्वरमा मन लगाउनु एक सजिलो उपाय प्रतीत हुन्छ।

यसैगरी हिन्दू धर्मग्रन्थहरूमा जीवन र मृत्युसँग सम्बन्धित रहस्यका विषयमा समेत पर्याप्त चिन्तन गरिएको देखिन्छ। परन्तु मृत्युलाई भने त्यति महत्त्व दिइएको छैन। यस सम्बन्धमा रेमन पणिक्करले लेखेका छन्— “यसमा एक अस्तित्ववादी दृष्टिकोण देखिन्छ। मृत्युको घटनालाई स्वीकार गरेर पनि यसलाई जीवनको अन्त्य मानिएको छैन। मृत्युको तथ्यलाई जीवनसँगै एकाकार गरिएको छ, जीवन–मृत्यु–जीवन.. यसरी जीवन र मृत्युलाई एउटै कोणबाट हेरिएको छ।” जीवन–मृत्यु–जीवनको यही निरन्तरता हिन्दू धर्मको विशिष्टता हो। मृत्युलाई एउटा नयाँ जीवनसँग जोडेर हेरिन्छ। पणिक्करकै शब्द उद्धृत गर्दा— “अगाडि एक अथाह सागर छ, त्यसैले त्यहाँ पुग्नुअघिको तट अघाउन्जेल डुल्न र खेल्नका लागि हो।”

हिन्दू धारणामा, धर्मले बढीमा एक सम्पन्न र सम्पूर्ण जीवन जिउने आधार तयार गर्न सक्छ। नियति, ज्ञान, चिन्तन र पूजापाठले तपाईंलाई आत्मतृप्तिको बाटोमा डोर्याउन सक्छ। हिन्दू एउटा खोज हो। तर उसको खोज मानिसभित्रै सीमित छ। हिन्दूवादले जीवनको सत्य खोज्न तपाईंलाई स्वयम्​को मस्तिष्क र हृदयमा हेर्न आवश्यक छ भन्ने बुझाउँछ।

एक आदर्श हिन्दू जिज्ञासुको चित्रण वाल्मीकिको रामायणमा नारदमुनि पात्रमा देख्न सकिन्छ। आत्मानुशासनप्रति निष्ठा र इन्द्रीयहरूमा पूर्ण नियन्त्रण भएका एक सत्य–शोधकका रूपमा उनको चित्रण गरिएको छ। योग, ध्यान, पूजा, समाजसेवा— यी सबै यसै लक्ष्यप्राप्तिका साधन हुन्। तर यी साधनले मात्रै सफलता मिल्छ भन्ने होइन। उक्त लक्ष्य हासिल गर्न तपाईं स्वयम्​ले निकै प्रयास गर्नुपर्ने हुन्छ। स्वामी विवेकानन्द र महात्मा गान्धीले कर्मयोगको सिद्धान्त सिकाएका छन्, निष्क्रियता वा भाग्यवादको सिद्धान्त कदापि होइन। पुरुषार्थको प्राप्ति शिथिलताले सम्भव हुँदैन।

एक बुद्धिमान् हिन्दू आफ्नो मस्तिष्कमा दुई वा त्योभन्दा बढी परस्पर विरोधी विचारहरू एकैसाथ बोकेर हिँड्न सक्छ। संसार पनि यसै आधारमा अडेको छ। हिन्दू धर्मग्रन्थको हकमा पनि यसलाई निश्चितताको कोणबाट होइन, संशयको कोणबाट हेरिन्छ। ऋग्वेदमा भनिएको छ— “सम्भवतः उनलाई पनि थाहा छैन।” ईश्वरबारे लेखिएको यो श्लोक उत्तर-आधुनिक युगको खोज नभई साढे तीन हजार वर्ष पहिलेको ज्ञानको खोज हो। यो आज पनि प्रासङ्गिक छ र सधैं रहनेछ।

प्रायः धर्म एक पहिचान, एक वृत्तान्त र एक पवित्र ग्रन्थमा आधारित हुन्छन्। तर हिन्दूवादले प्रत्येक मानिसको अनेक पहिचानमा विश्वास राख्छ। यसले विविध वृत्तान्तलाई स्वीकार गर्छ र अनेक ग्रन्थलाई श्रद्धेय मान्छ। वास्तवमा विभिन्न मान्यता भएको लोक हिन्दूवादलाई अब्राहमी ढाँचाको एउटा पुस्तकको रूप दिन सकिँदैन। त्यसैगरी यसलाई एउटै ईश्वरीय आकृति र एउटै पूजा पद्धति प्रदान गर्नु पनि असम्भव छ। एउटा हिन्दू बृहत् प्रश्नलाई लिएर जति चिन्तन गर्छ, उसलाई यो कुरा प्रस्ट हुन्छ— थुप्रै विषय मानिसको बुझाइको सीमाभन्दा पर छन्।

यी सबै कुरा भए पनि हिन्दू वास्तविकतामा बाँच्छ— यहाँ र अहिले। उसलाई थाहा छ— अध्यात्म र मोक्षको बाटोमा सांसारिक कर्तव्य र जिम्मेवारी छन्, परिवारप्रति, सामाजप्रति र आफ्नो देशप्रति। फलको आस नगरी ती दायित्व पूरा गर्नुपर्छ भन्नेमा ऊ सचेत छ। कुनै हिन्दूले वर्तमानमा भोगिरहेको चुनौतीसँग जुध्नका लागि आफ्नो धार्मिक सिद्धान्तको आड लिँदैन, कट्टरपन्थको शरणमा पर्दैन र लिखित धार्मिक नियम वा पण्डितको नेतृत्व खोज्दैन। उसले आजको चुनौती दृढतापूर्वक सामना गर्छ, आफूलाई कति कम विषयको ज्ञान छ भन्ने स्वीकारोक्तिसहित। एउटा हिन्दू विश्वका जटिलतासँग कत्ति पनि डराउँदैन। किनभने उसले स्वीकार गरेको हुन्छ— यो संसार जटिल र जेलिएको छ। थुप्रै कुरा आफ्नो ज्ञानभन्दा पर छन्।


भारतीय राजनीतिकर्मी तथा बेस्टसेलर लेखक शशि थरूरका आख्यान र गैरआख्यान गरी दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्। उनी चर्चित समालोचक तथा स्तम्भकार पनि हुन्। ...

रेडियोबाट पत्रकारिता आरम्भ गरेकी स्वेच्छा राउतसँग पहिलो पोस्ट, बीबीसी नेपाली सेवामा काम गरेको अनुभव छ। ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *