
संवत् २०७२ सालमा काठमाडौंमा अन्तरलिङ्गी व्यक्तिहरूको पहिलो राष्ट्रिय कार्यशाला भएपश्चात् यस समुदायले विभिन्न अवसर र सार्वजनिक मञ्चहरूमा आफ्ना अनुभव, समस्या र सरोकारका विषयमा छलफल, संवाद र प्रस्तुति गर्दै आएका छन्। तर, बौद्धिक जगत्, साहित्यिक क्षेत्र, लैङ्गिक तथा सामाजिक आन्दोलन र नीतिगत बहसहरूमा त्यस्ता विषयवस्तुहरूले प्रवेश पाउन बाँकी नै छ।
अन्तरलिङ्गी व्यक्तिहरूको अस्तित्व शारीरिक विविधताको एक हिस्सा हो, तर उनीहरूको शरीर र पहिचानलाई समाजले सहज रूपमा स्वीकार गर्दैन। बरु, स्थापित महिला र पुरुषको लैङ्गिक मान्यता अनुरूपमा मेल नखाने शरीरलाई ‘असामान्य’ ठान्ने, लुकाउने, परिवर्तन गर्ने वा मान्य हुने भनिएको कुनै एउटा लिङ्गमा समायोजन गर्ने प्रयास हुँदै आएको छ। यसले अन्तरलिङ्गी व्यक्तिहरूको शरीरबारे परिवार, स्वास्थ्यकर्मी र राज्यले नै निर्णय गर्ने अवस्था सिर्जना गरेको छ।
यस लेखले अन्तरलिङ्गी व्यक्तिहरूले भोग्ने विभेदलाई व्यक्तिगत वा शारीरिक अवस्थाको परिणामका रूपमा नभई शरीर, लैङ्गिक मान्यता र सामाजिक संस्थाहरूबीचको सम्बन्धबाट उत्पन्न संरचनात्मक समस्याका रूपमा विश्लेषण गर्ने प्रयास गरेको छ। महिला र पुरुषको जैविक तथा सामाजिक वर्गीकरणभित्र नअटाएका शारीरिक विविधता भएका अन्तरलिङ्गी शरीरलाई कसरी सामाजिक समस्या बनाइन्छ र त्यसले कसरी संस्थागत विभेद उत्पन्न गर्छ भन्ने छलफल गरिएको छ।
लेखमा उद्धृत निजी अनुभव अन्तरलिङ्गी व्यक्तिहरूद्वारा समुदायको हकहितका लागि स्थापित क्याम्पेन फर चेन्ज संस्थाद्वारा सन् २०२४ मा प्रकाशित एक्सपिरियन्सेस फ्रम द ग्राउण्डः पर्सनल न्यारेटिभ्स अफ इन्डिभिजुअल्स विथ इन्टरसेक्स भेरिएसन्स पुस्तक र पछिल्लो समय सम्पन्न निजत्व कथा लेखन कार्यशालाका क्रममा अभिव्यक्त अनुभवहरूबाट अनुमतिसहित लिइएका हुन्।
अन्तरलिङ्गी पहिचान
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको रूपमा चिनिएका ‘एलजीबीटीक्यूआई’मध्ये ‘आई’ अर्थात् ‘इन्टरसेक्स’लाई अन्तरलिङ्गीको अर्थमा लिइन्छ। मानिसलाई जन्मँदै केटा वा केटीका रूपमा वर्गीकरण गर्ने प्रचलन विश्वभर स्थापित छ। नामकरण, जन्मदर्ता, नागरिकता, राष्ट्रिय परिचयपत्र, शिक्षा, विवाह र सामाजिक भूमिकासम्म यही दुईवटा वर्गीकरणलाई सामान्य र स्वाभाविक मानिन्छ। तर, मानव शरीरको जैविक विविधता यो सीमित वर्गीकरणभन्दा व्यापक छ। क्रोमोजोम, हर्मोन, प्रजनन ग्रन्थि र बाह्य तथा आन्तरिक यौनाङ्गका विशेषतामा विविधता भएका व्यक्तिहरूलाई अन्तरलिङ्गी भनिन्छ। परम्परागत रूपमा महिला वा पुरुष शरीरका रूपमा गरिने द्वयसांख्यिक अवधारणासँग मेल नखाने यौन विशेषता भएका व्यक्तिहरू अन्तरलिङ्गी हुन्।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)को प्रतिवेदन ह्यूमन राइट्स भायलेसन्स अगेन्स्ट इन्टरसेक्स पिपुलः अ ब्याकग्राउण्ड नोटमा उल्लेख गरिएअनुसार अन्तरलिङ्गी व्यक्तिहरूले आफ्नो पहिचान, शरीर तथा यौन विशेषताहरू वर्णन गर्न विभिन्न शब्दावली प्रयोग गर्छन्। केहीले आफूलाई ‘अन्तरलिङ्गी’, ‘अन्तरलिङ्गी विविधता भएको व्यक्ति’, ‘अन्तरलिङ्गी विशेषता भएको व्यक्ति’ वा ‘भिन्न यौन विशेषतासहित जन्मिएको व्यक्ति’का रूपमा चिनाउन रुचाउँछन्।
विश्वव्यापी रूपमा अन्तरलिङ्गी व्यक्तिहरू कुल जनसंख्याको करिब १.७ प्रतिशत रहेको अनुमान प्रायः उद्धृत गरिन्छ। नेपालको राष्ट्रिय जनगणना २०७८मा २ हजार ९ सय २८ जना ‘अन्य’ लिङ्गअन्तर्गत सूचीकृत छन्। त्यसअन्तर्गत यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई एकमुष्ट समेटिएकाले अन्तरलिङ्गी व्यक्तिहरूको छुट्टै तथ्याङ्क उपलब्ध छैन।
विभिन्न अध्ययनहरूमार्फत अन्तरलिङ्गी अवस्थाका ४० भन्दा बढी प्रकार पहिचान गरिएका छन्। जसमा महिला र पुरुष दुवैका जननेन्द्रिय हुनु, जननेन्द्रिय स्पष्ट नहुनु, बाह्य जननेन्द्रियको बनावटमा विविधता हुनु, आन्तरिक प्रजनन् अङ्गमा भिन्नता हुनु तथा महिलाका लागि परम्परागत रूपमा मानिने XX र पुरुषका लागि मानिने XY भन्दा फरक गुणसूत्रीय संरचना हुनु जस्ता विशेषताहरू पर्दछन्। यस्ता विविधता शरीरका कुनै पनि यौन विशेषतामा देखा पर्न सक्छन्। कतिपयलाई बाह्य शारीरिक परीक्षणबाट पहिचान गर्न पनि सकिदैन।
अन्तरलिङ्गी विशेषता भएका कतिपय व्यक्तिहरू जन्मँदा बाह्य जननेन्द्रियको बनावट परम्परागत रूपमा पुरुष वा महिलाको जस्तो देखिने हुन्छ। उनीहरूमा अन्तरलिङ्गी विविधता रहेको कुरा पछि, विशेषगरी किशोरावस्था वा वयस्क अवस्थामा मात्र पहिचान हुन सक्छ। कतिपयमा जीवनभर यस्तो विविवधता पहिचान नहुन पनि सक्छ।
अन्तरलिङ्गी शरीरको सन्दर्भमा, ‘अन्तरलिङ्गी अवस्था’, ‘यौन विकाससम्बन्धी भिन्नता भएका व्यक्ति’ (डिफरेन्सेस इन सेक्स डेभलपमेन्ट- डिएसडी) र ‘यौन विकाससम्बन्धी विकार’ (डिसअर्डर्स अफ सेक्स डेभलपमेन्ट- डिएसडी) जस्ता चिकित्सकीय शब्दावली प्रयोग गरिन्छ। तर, अन्तरलिङ्गी व्यक्ति, अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरूले यस्ता शब्दावलीलाई अस्वीकार गर्दै आएका छन्। ओएचसीएचआरकै प्रतिवेदनमा भनिएको छ, यस्ता शब्दावलीले अन्तरलिङ्गी अवस्थालाई रोग वा विकारका रूपमा चित्रण गर्छन्, कलङ्कित बनाउँछन् र आवश्यक नै नभएका चिकित्सकीय हस्तक्षेपलाई प्रोत्साहन गर्छन्।

अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचान
अन्तरलिङ्गी विशेषता भएका व्यक्तिहरूको आफ्नै लैङ्गिक पहिचान हुन्छ। उनीहरू आफूलाई पुरुष, महिला वा गैर-द्वयसांख्यिक (नन-बाइनरी)का रूपमा चिनाउन सक्छन्। त्यसैले, सबै अन्तरलिङ्गी व्यक्तिहरूलाई महिला र पुरुषभन्दा अलग राखेर ‘अन्य’ श्रेणीमा वर्गीकरण गर्नु उनीहरूको अस्तित्व नकार्नुसरह हुन्छ।
खासगरी अन्तरलिङ्गी विशेषाता भएका व्यक्तिहरूको सवालमा तीनवटा आयाम महत्त्वपूर्ण छन्। एक, प्रजनन अङ्ग तथा शरीरका अन्य जैविक विशेषतामा आधारित यौन विशेषता, दुई, व्यक्तिको आत्मबोधमा आधारित लैङ्गिक पहिचान र तीन, आफूमा आकर्षण महसुस हुने लैङ्गिकताका आधारमा निर्धारित हुने यौन झुकाव (सेक्सुअल ओरियन्टेसन)। यी तीनवटै एकापसमा अन्तरसम्बन्धित हुन सक्छ। तर, तिनलाई अलग-अलग राखेर बुझ्नु उत्तिकै आवश्यक छ। नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूले ‘अन्तरलिङ्गी महिला’, ‘अन्तरलिङ्गी पुरुष’, ‘अन्तरलिङ्गी गैर-द्वयसांख्यिक’को रूपमा आफूलाई चिनाउने गरेको पाइन्छ।
कतिपय सन्दर्भमा अन्तरलिङ्गी र पारलिङ्गी एकै हुन् भन्ने भ्रम पनि रहेको पाइन्छ। दुवैले शल्यक्रिया गराउन सक्ने भएकाले यी दुई समूह एकै हुन् भन्ने लाग्न सक्छ। तर, शल्यक्रिया गराउनु वा नगराउनुका आधारमा यी दुई पहिचानलाई एउटै भनेर बुझ्न मिल्दैन। अन्तरलिङ्गी व्यक्तिको सवाल जन्मजात शारीरिक यौन विशेषतासँग सम्बन्धित हुन्छ भने पारलिङ्गी व्यक्तिको सवाल लैङ्गिक पहिचानसँग सम्बन्धित हुन्छ।
अन्तरलिङ्गी व्यक्तिहरूको हकमा शिशु वा बच्चा बेलामा शरीरमा रहेको यौन विशेषतालाई प्रचलित महिला वा पुरुषको जैविक मान्यता अनुरूप बनाउन शल्यक्रिया गराउने गरेको पाइन्छ। यस्ता शल्यक्रिया कतिपय अवस्थामा तत्काल जीवनरक्षा वा स्वास्थ्यका लागि आवश्यक ठानिन सक्छ। तर, स्वास्थ्यका दृष्टिले तत्काल आवश्यक नभए पनि बाह्य जननेन्द्रियको बनावटलाई परम्परागत महिला वा पुरुषको संरचनासँग मिलाउने उद्देश्यले शल्यक्रिया गर्ने गरिएको पाइन्छ। शिशु वा बालबालिकाको सहमति दिन सक्ने क्षमता विकास हुनुअघि गरिने यस्ता गैर-आवश्यक र अपरिवर्तनीय शल्यक्रियाले उनीहरूको शारीरिक स्वायत्तता, भविष्यमा आफै निर्णय गर्न पाउने अधिकार र शारीरिक अखण्डतामा गम्भीर असर पार्न सक्छ। त्यसो त, अन्तरलिङ्गी व्यक्तिहरूले पनि आफ्नो इच्छा र सूचित सहमतिका आधारमा पछि आफ्नो लैङ्गिक पहिचान अनुरूपको शल्यक्रिया गराउन सक्छन्।
पारलिङ्गी व्यक्तिहरूले आफ्नो लैङ्गिक पहिचान र शरीरका विशेषताबीच सामञ्जस्य कामय गर्न, शारीरिक असहजता कम गर्न वा आफ्नो लैङ्गिक पहिचान अनुरूप शरीरको वनावट बनाउन स्वेच्छाले शल्यक्रिया गराउन चाहने गरेको पाइन्छ। शल्यक्रिया गराउने वा नगराउने भन्ने निर्णय व्यक्तिको इच्छा, आवश्यकता, सामर्थ्य र परिस्थितिमा निर्भर हुन्छ। यद्यपि, दुवै समूहका लागि शल्यक्रिया सधैँ आवश्यक नै हुन्छ भन्ने हुँदैन। यसर्थ, अन्तरलिङ्गी व्यक्तिहरूको सवाल शरीरको विविधता पहिचान हुनु एवं स्वीकार्नुदेखि लिएर उनीहरूको शरीरको उचित परिभाषा, लैङ्गिक पहिचानको निर्धारण तथा व्यक्तिको शरीरबारे निर्णय गर्ने अधिकारसम्म पर्दछन्।

सुसूचित पहिचानको सङ्कट
नेपालको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान र सवाल उठान र तिनको नीतिगत रूपान्तरणका निमित्त नील हिरा समाज र त्यसमार्फत निरन्तर पैरवी गरिरहने यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मीहरूको विशेष योगदान छ। मूलतः गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान भएका व्यक्तिहरूलाई एकतृत हुन, आफ्नो पहिचानबारे जानकार भई त्यसलाई अपनाउन, आफ्ना समस्या र सरोकारका विषयवस्तु सम्बन्धित ठाउँमा अभिव्यक्त गर्न सक्ने वातावरण निर्माण गरियो। क्रमिक रूपमा महिला आन्दोलन, सामाजिक आन्दोलन र राज्यका निकायहरूलाई महिला र पुरुषको द्वयसांख्यिक लैङ्गिक पहिचानबाहेकका पहिचानबारे जानकार, सचेत र संवेदनशील बनाउदै लगियो। यद्यपि, अन्तरलिङ्गी पहिचानबारे जानकार, सचेत र संवेदनशील जमात निर्माण गर्ने सङ्गठित कामको थालनी एक दश अघि मात्रै भयो।
परिणामस्वरूप शारीरिक विविधता भएका व्यक्तिहरूले आफू जस्ता व्यक्तिलाई के पहिचानले चिन्न र चिनाउन सकिन्छ भन्ने कुरा थाहा पाउन निकै सङ्घर्ष गर्नुपरेको छ। सुनसरीको एक चौधरी परिवारमा छोरीकै रूपमा जन्मी हुर्किएको एक बच्चाको वयस्क भइसक्दा पनि महिनावारी भएन। परीक्षण गर्दा शरीरभित्र पाठेघर नै नरहेको पत्ता लाग्यो। २०६३ सालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मीमध्ये कसैले उनलाई ‘तिमी तेस्रो लिङ्गी’ हो भनेर पहिचान दियो। पछि अर्का अधिकारकर्मीबाट आफू अन्तरलिङ्गी भएको कुरा थाहा पाए। त्यसयता उनले अन्तरलिङ्गी पुरुषको रूपमा आफूलाई चिनाउँदै आएका छन्।
काभ्रेपलाञ्चोकको एक हुमागाईं परिवारमा चालीस र पचासको दशकमा तीनवटा सन्तान महिला र पुरुष दुवै जननेन्द्रिय लिएर जन्मिए। तीनै जनालाई छोरीकै रूपमा हुर्काइयो। तर, हुर्कने क्रममा तीनै सन्तानले आफूलाई छोराको रूपमा सहज महसुस गर्न थाले। मझौला सन्तानले विभिन्न तालिम एवं प्रशिक्षणहरूमा भाग लिने क्रममा आफू जस्ता व्यक्तिलाई ‘तेस्रो लिङ्गी’ भनिने कुरा थाहा पाए। पछि, एउटा कार्यक्रममा प्रस्तुतकर्ताले ‘दुईवटा लिङ्ग भएको दुईलिङ्गी व्यक्ति’ भनेर केही तस्बिर देखाए। २०७२ सालमा आएर अर्का अधिकारकर्मीबाट आफू अन्तरलिङ्गी भएको थाहा पाए।
त्यही वर्ष, छोरा भएर बाँच्नकै लागि घर छाडेका परिवारका जेठो सन्तानले आफू को र के हो भन्ने बुझ्न नपाई सामाजिक सम्बन्ध र दबाबहरूका कारण आफ्नो प्राण त्यागे। मझौला सन्तान भने आत्मनिर्भर बने र घरजम गरे–परिवारको सहमति विरुद्ध। उनलाई लागिरहन्छ– ‘दाइले पनि आफ्नो पहिचानबारे समयमै थाहा पाउनुभएको भए सामान्य जीवन बिताउन सक्नुहुने थियो।’
शल्यक्रियाको महत्त्व र आवश्यकता
अन्तरलिङ्गी व्यक्तिको जीवनमा विभेदको सुरुवात घरपरिवार र सामाजिक सम्बन्धबाटै सुरु हुने गर्छ। महिला र पुरुष दुवैका जननेन्द्रिय लिएर जन्मिएका, अस्पष्ट जननेन्द्रिय भएका, बाह्य जननेन्द्रियको बनावटमा विविधता भएका, आन्तरिक प्रजनन अङ्गमा भिन्नता भएका तथा महिलाका लागि परम्परागत रूपमा मानिने XX र पुरुषका लागि मानिने XY भन्दा फरक गुणसूत्रीय (क्रोमोजोम) संरचना भएका जुनसुकै अन्तरलिङ्गीहरूले जन्मदैदेखि अपहेलना, हिंसा, विभेद र दुर्व्यवहार झेल्न बाध्य हुनुपर्छ। महिला वा पुरुषको द्वयसांख्यिक खाकाभित्र नअटाउने शरीर र पहिचानका कारण उनीहरूलाई ‘कुलले सरापेको’, ‘अलच्छिना/नी’, ‘छक्का/हिजडा’, ‘पूर्वजन्मको पाप’, ‘रोगी’, ‘काम नलाग्ने’, ‘राक्षस’, ‘धर्तीको बोझ’ जस्ता संज्ञा दिइन्छ। त्यही लाञ्छना र अपमानहरूका कारण उनीहरूमा अनेक प्रश्न, हीनताबोध, मानसिक चिन्ता र सामाजिक बहिष्करणको अवस्था सिर्जना हुन्छ।
संवत् २०५० सालको दशकमा बर्दियाको एक अस्पतालमा चौधरी परिवारको पहिलो सन्तानका रूपमा एउटा बच्चा जन्मियो। छोराको लिङ्ग जस्तो केही स्पष्ट र छोरीको योनि जस्तो केही अष्पष्ट देखिने जननेन्द्रियको ढाँचा लिएर जन्मिएको उक्त बच्चालाई नर्सहरूले भनिदिए–‘छोरा जन्मियो’। बच्चा १० दिन पुगेपछि अष्पष्ट देखिने योनिबाट पिसाब चुहिन थाल्यो। सुत्केरी आमा, नवजात शिशु र बुबा घरबाट निकालिए। बासको ठेगान नभएको आमाबुबाले आसपासका उपचार केन्द्र धाए। धामीझाँक्री लाए। केही सीप लागेन। बच्चा ९ वर्षको हुँदा अस्पताल पुर्याइयो। अनेक परीक्षणहरू गरिए, तस्बिर खिचिए। उनलाई ‘अचम्मकै जन्तु’ झैँ मानियो। उनलाई स्कुलमा साथीहरूले ‘बासमती’ (दुर्गन्धित) भनेर गिज्याउँथे, छिःछिः दूरदूर गर्थे। अनेक प्रयत्नपछि २०७३ सालमा उनको शल्यक्रिया भयो र उनी पिसाब चुहिने समस्याबाट मुक्त भए।
यद्यपि, अन्तरलिङ्गी शरीरका लागि शल्यक्रिया कति आवश्यक र उत्तम विकल्प हो भन्ने कुरा विभिन्न पक्षमा निर्भर हुन्छ। उदाहरणका लागि, छोराको रूपमा हुर्काइएको पटेल परिवारका एक सन्तानको १५ वर्षकै उमेरमा दुईचोटि शल्यक्रिया गराउनुपर्यो। परीक्षणबाट उनको पुरुष शरीरभित्र पाठेघरसमेत रहेको पत्ता लाग्यो। शल्यक्रियामार्फत पाठेघर हटाइयो। क्रोमोजोम परीक्षण गर्दा उनको शरीरमा १२ जोडा XY र १० जोडा XX क्रोमोजोम रहेको भेटियो। सामान्यतया XX क्रोमोजम महिलामा, XY क्रोमोजम पुरुषमा पाइन्छ। उनको शरीरको क्रोमोजोम त्यही ‘सामान्य’ संरचनासँग मेल खाएन।
डाक्टरले उनका अभिभावकलाई “बच्चालाई पूर्ण रूपमा पुरुष बनाउन सकिने” आश्वसन दिंदै त्यसका लागि थप तीनवटा शल्यक्रिया गर्नुपर्ने बताए। तर, अघिल्ला दुईवटा शल्यक्रियाका कारण परिवारमा परेको आर्थिक तनाव र बच्चाको कमजोर शारीरिक अवस्थाबाट उकासिनै बाँकी थियो। बच्चालाई आफ्नो पूरा जीवन शल्यक्रियामै बित्ने त्रासले पनि घेर्यो। अभिभावकको सुझबुझ र धैर्यका कारण थप शल्यक्रिया गरिएको छैन।
हरेक शल्यक्रिया आवश्यक र व्यक्तिको चाहना अनुरूप नै हुन्छन् भन्ने पनि छैन। कँडेल परिवारमा एक सन्तान जन्मियो छोरीको यौनाङ्ग लिएर। तर केही समयपछि यौनाङ्ग अस्पष्ट देखिन थाल्यो। सन्तानको स्वास्थ्य र भविष्यप्रतिको चिन्ताले समस्याको निदान खोज्न लागिपर्यो। परीक्षण गर्दा ४६ वटा xx क्रोमोजोम भेटियो। डाक्टरले ‘सी क्यान बि अ मदर’ भन्दै शल्यक्रियाको सुझाव दिए। पर्याप्त परामर्श, सूचना र छलफलको अभाव थियो। सन्तानको जीवनरक्षा र राम्रो भविष्यका लागि त्यस बेला उपलब्ध विकल्प नै उचित लागेर बच्चाको शल्यक्रिया गरियो।
चिकित्सकीय रूपमा छोरी बनाइयो र सामाजिक रूपमा पनि छोरीको रूपमै हुर्काउन थालियो। हुर्कने क्रममा छोरीको रूपमा न शारीरिक विकास भयो न भावनात्मक विकास नै। शल्यक्रियाद्वारा निश्चित गरिएको शारीरिक विकास र लैङ्गिक पहिचान दुवै विपरित भइदियो। “डाक्टरको एउटा वाक्य वा अस्पतालको परीक्षणको रिपोर्टले मेरो शरीरको सम्पूर्ण वास्तविकता बताउन सक्दैन रहेछ”, उनी भन्छन्।
परिवार र चिकित्सकहरूको त्यस्तो निर्णयलाई सधैँ जानाजानी गरिएको गल्तीका रूपमा मात्र बुझ्न मिल्दैन। जानकारीको अभाव, सामाजिक कलङ्क र अस्वीकारोक्तिको डर, चिकित्सकीय सल्लाह र सन्तानको भविष्यप्रतिको चिन्ताले पनि परिवारलाई यस्ता निर्णय लिन बाध्य बनाएको छ। तर, बच्चाको संरक्षण गर्ने भन्दा पनि उसको लैङ्गिक पहिचान निर्धारण गर्ने उद्देश्यले गरिने यस्ता निर्णय लिनुअघि पर्याप्त खोजबिन र परामर्श आवश्यक छ।
संयुक्त राष्ट्रसंघीय बाल अधिकार समितिले सन् २०१६ मा नेपालको अवस्थाबारे गरेको समीक्षाका क्रममा अन्तरलिङ्गी बालबालिकामा सूचित सहमतिविना गरिने अनावश्यक शल्यक्रिया र चिकित्सकीय प्रक्रियाप्रति चिन्ता व्यक्त गरेको थियो। समितिले अनावश्यक उपचार रोक्न, बालबालिकाको शारीरिक अखण्डता र आत्मनिर्णयको अधिकार सुनिश्चित गर्न तथा परिवारलाई परामर्श र सहयोग उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिससमेत गरेको थियो।

सर्वत्र विभेद
एउटा परिवारमा अन्तरलिङ्गी सन्तान जन्मिएमा जन्मदर्ताकै लागि के-कतिसम्म लड्नुपर्छ भन्ने अर्को उदाहरण छ। दुई दशकअघि बाराको एउटा गाउँमा कुर्मी दम्पतीको सन्तानको रूपमा महिला र पुरुष दुवै जननेन्द्रिय लिएर एउटा बच्चा जन्मियो। त्यहाँ सबैका लागि त्यो कहिल्यै कल्पना नगरिको, त्यसभन्दा पहिले थाहै नपाएको दृश्य थियो। सुत्केरी आमा र नवजात शिशु विस्याहार र अपहेलित बने। गाउँका बूढापाकाले बच्चाको बाबुलाई ‘यो बच्चा राक्षस हो मारिदेऊ’ भने। बच्चा ५ महिनाको भएपछि निल हिरा समाजका अधिकारकर्मीहरूको पहल र सहयोगमा उपचारमा लगियो। त्यही क्रममा जन्म दर्ता चाहियो। लिङ्गको महलमा भर्नका लागि बच्चाको बाबुलाई सोधियो ‘छोरा कि छोरी?’, उनले भने, ‘दुवै’। कर्मचारीले ‘त्यस्तो मिल्दैन’ भनिदिए। डाक्टरले पुष्टि गरेको र आफ्नै सन्तान भएकोले आफू साक्षी रहेको बताए पनि जन्म दर्ता भएन।
जन्म दर्ताका लागि कुर्मीले कलैयामा जिल्लाभरिका सचिवहरूको भेला भएकै ठाउँमा गएर ‘जन्म दर्ता पाउँ’ भन्ने लिखित निवेदन दिए। ‘हुन सक्दैन’ भनियो। चार महिना धाए, भएन। २०६४ असार ४ गते स्थानीय विकास मन्त्रालयमा निवेदन दिए। उनलाई सिंहदरबार पठाइयो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा असार ७ गते मन्त्रिमण्डलको बैठक बस्यो। ८ गतेका दिन प्रधानमन्त्रीको हस्ताक्षरसहित स्थानीय विकास मन्त्रालयलाई लेखिएको पत्र कुर्मीको हात पर्यो।
अर्को दिन मन्त्रालयले जिल्ला विकास मन्त्रालयलाई लेखेको पत्र कुर्मीलाई थमाइयो। १८ दिनको दौडधुपपश्चात् प्राप्त पत्र लिएर जिल्ला विकास कार्यलय पुगे। पत्र बुझ्ने कोही भेटेनन्। स्थानीय विकास अधिकारी खोज्दै जिल्ला प्रशासन कार्यलय पुगे। पत्र बुझ्न आनाकानी गर्दै अधिकारीले आफ्नो स्थानीय निकायलाई खबर नगरी माथिल्लो निकाय पुगेको रोष व्यक्त गरे। अन्ततः पत्र दर्ता भयो। त्यहाँबाट गाविसलाई लेखिएको अर्को पत्र लिएर कुर्मी गाविस सचिवको खोजीमा लागे। चार दिन लगातार धाउँदा पनि सचिव नभेटिएपछि जिल्ला विकास कार्यलय पुगेर सचिवलाई खोज्न मागे। अनि सचिव जिल्ला प्रशासन कार्यलय आइपुगे। हतारमा उनले ‘महिला र पुरुष (तेस्रो लिङ्गी)’ भनेर जन्मदर्ता बनाइदिए।
ठूलै जित हात पर्यो भन्दै कुर्मी मख्ख परे। एक जना पत्रकारले जन्म दर्ता हेरेपछि महिला र पुरुष अनि तेस्रो लिङ्गी पनि किन लेखियो भन्ने प्रश्न गरे। कुर्मीलाई त्यो सच्याउनुपर्छ भन्ने लाग्यो। उनले नयाँ जन्म दर्ता बनाए – महिला र पुरुष दुवै लिङ्गी। बच्चाको हकअधिकारका लागि निरन्तर लगिरहँदा मात्रै आफ्नो बच्चा जस्ता शारीरिक विशेषता भएका व्यक्तिलाई अन्तरलिङ्गी भनिन्छ भन्ने कुरा कुर्मीले थाहा पाए।
अन्तरलिङ्गी बच्चाहरूले शैक्षिक संस्थाहरूमा पनि विभेद खेप्ने गरेका छन्। कुर्मीकै सन्तानलाई दुई कक्षामा पढ्दा स्कुलको पोशाक दिइएन। हेडमाष्टरलाई सोध्दा ‘छोरा न छोरी, यस्तोलाई किन दिनू’ भनियो। पोशाक पाउनका लागि निवेदन लिएर एकपछि अर्को स्थानीय निकायहरूमा पुगे, कुर्मी। उनलाई जसोतसो ‘दुईजोर स्कुलको ड्रेस र एकथान किताब दिनू’ भन्ने पत्र थमाइयो। तर, त्यसका लागि काठमाडौँ जानुपर्ने बताइयो। उनी काठमाडौँको सिंहदरबार पुगे। सहसचिवले ‘कुनै ऐनकानुन भेटिएन’ भनेर टार्न खोजे। उनले डटेरै पहल गरेपछि पत्र पाए, तर त्यसको कार्यान्वयन भएन। अन्ततः आफ्नो बच्चाको पढाइ निरन्तरता दिन स्कुल फेर्नुपर्यो।
चालीसको दशकमा इलामको मगर परिवारमा जन्मिएका एक बच्चाले पनि विद्यालयमा दुर्व्यवहार, अपहेलना, हिंसा र विभेद भोगे। एक्ल्याइए। स्कुल परिवर्तन गर्दै नौ कक्षासम्म पढाइलाई निरन्तरता दिन सके पनि त्यसपछि पढाइ छुट्यो। स्कुलभित्र खेपेको पीडाले सधैँ पछ्याइरह्यो। थप समाजको निरन्तर अपमान र दुर्व्यवहारले उनी मानसिक स्वास्थ्य समस्यामा परे। मनोचिकित्सकको परामर्श र आफ्नै दृढताका कारण बिस्तारै आफूलाई सम्हाले। पछि अन्तरलिङ्गी समुदायकै लागि खटिन थाले। उनी भन्छन्, “म सानो छँदा मलाई जुन मान्छेको आवश्यकता थियो, आज म त्यही व्यक्ति बन्ने प्रयास गरिरहेको छु।”
‘अस्वीकृत’ शरीर
अन्तरलिङ्गी शरीरलाई प्राय:जसो ‘असामान्य’ ठानी स्वीकार नगर्ने गरिएको पाइन्छ। खासगरी छोरीका रूपमा हुर्काइएका महिलाहरूको शारीरिक विकास महिलाको रूपमा हुन नसक्दा विवाह र सन्तान उत्पादनका लागि ‘अनुपयुक्त’ वा ‘अयोग्य’ मान्ने गरिन्छ। महिलाको शरीर वा जननेन्द्रिय लिएर जन्मिएर आफूलाई महिलाका रूपमा पहिचान गर्ने अन्तरलिङ्गी महिलाहरूको गर्भाशय नहुनु वा एकदमै सानो हुनु, महिनावारी नहुनु, स्तनको विकास नहुनु, कद सामान्यभन्दा होचो वा पुरुषको झैँ अग्लो हुनु, कमजोर वा पुरुषको झैँ कडा शरीर हुनु, अनुहार र शरीरका भागहरूमा रौँ पलाउनु जस्ता शारीरीक विशेषता हुन सक्छन्। अन्तरलिङ्गी पुरुषका हकमा ‘बलिष्ठ’ शरीर नहुनु, आवाजमा भारीपन नआउनु, हाउभाउमा पुरुषत्वको छनक नपाइनु जस्ता विशेषताका कारण उनीहरू पनि ‘अस्वीकृत’ शरीरमा पारिन्छन्।
यी अनुभवहरूले देखाउँछ, अन्तरलिङ्गी व्यक्तिहरूले भोग्ने समस्या कुनै एउटा व्यक्तिको पूर्वाग्रह वा अज्ञानतामा मात्र सीमित छैन। परिवार, शिक्षा, सामाजिक सम्बन्ध, सार्वजनिक संस्था र राज्यमा स्थापित महिला र पुरुषको द्वयसांख्यिक मान्यता र शरीरको परिभाषाले उनीहरूको जीवनका विभिन्न पक्षलाई प्रभावित गरिरहेको छ।
अन्तमा,
अन्तरलिङ्गी व्यक्तिहरूको समस्या उनीहरूको शरीरको ‘असामान्यता’ वा ‘शारीरिक विविधता’ होइन। समाजले सामान्य शरीरको परिभाषा निर्माण गरेर त्यसबाहेकका शरीरलाई कसरी व्यवहार गर्छ भन्ने हो। तसर्थ, अन्तरलिङ्गी व्यक्तिहरूले भोग्ने विभेद उनीहरूको शारीरिक विविधताका कारण उत्पन्न भएको समस्या होइन। बरु, समाजले शरीरलाई दुईवटा निश्चित जैविक लिङ्गमा मात्रै वर्गीकरण गरी त्यसअनुसार पहिचान र भूमिका निर्धारण गर्ने तथा त्यस वर्गीकरणमा नअटाउने शरीरलाई सच्याउनुपर्ने वा लुकाउनुपर्ने ठान्ने सामाजिक, सांस्कृतिक, चिकित्सकीय र कानुनी संरचनाको परिणाम हो।
लैङ्गिक पहिचानको कानुनी मान्यता र अन्तरलिङ्गी व्यक्तिको शारीरिक यौन विशेषतासम्बन्धी अधिकार एउटै विषय होइनन्। इन्टरसेक्स नेपालको सन् २०२४ को इन्टरसेक्स जस्टिस इन नेपाल: इन्सपायरिङ एक्सन थ्रु रिसर्च प्रतिवेदनले अन्तरलिङ्गी व्यक्तिहरूको विशिष्ट आवश्यकता कानुन तथा नीतिमा पर्याप्त रूपमा सम्बोधन नभएको, उनीहरूको छुट्टै तथ्याङ्कको अभाव रहेको र स्वास्थ्य, शिक्षा तथा कानुनी पहिचानमा चुनौती कायम रहेको औँल्याएको छ। नागरिकता वा अन्य कागजातमा 'अन्य' श्रेणी उपलब्ध गराउनु मात्रले अन्तरलिङ्गी व्यक्तिका सबै समस्या समाधान गर्दैन। जन्म दर्ता, नागरिकता, राष्ट्रिय परिचयपत्र, शैक्षिक प्रमाणपत्र र अन्य आधिकारिक अभिलेखमा लिङ्ग निर्धारण तथा संशोधनसम्बन्धी स्पष्ट र अधिकारमुखी व्यवस्था आवश्यक हुन्छ। नीति निर्माता तथा सरोकारवालाहरूले अन्तरलिङ्गी विविधताभित्रका बहुआयाम र ती आयामबीचका भिन्नता नबुझेकाले त्यसबाट उत्पन्न समस्याहरू सम्बोधन गर्ने सामर्थ्यको विकास हुन सकेको छैन।
कैलाश राई एक स्वतन्त्र अनुसन्धानकर्ता, सम्पादक, लेखक र मेन्टर हुन् जो लैङ्गिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायका अधिकार, राजनीति, यौनिकता र अन्तरसम्बद्धतामा गहिरो रुचि राख्छिन् । ...
कैलाश राई एक स्वतन्त्र अनुसन्धानकर्ता, सम्पादक, लेखक र मेन्टर हुन् जो लैङ्गिकता, सामाजिक न्याय, सीमान्तकृत समुदायका अधिकार, राजनीति, यौनिकता र अन्तरसम्बद्धतामा गहिरो रुचि राख्छिन् । दशकभन्दा लामो समय मार्टिन चौतारीमा अनुसन्धानकर्ताको रूपमा काम गरेकी राईले त्यसपश्चात विभिन्न सामाजिक संस्थाहरूमा स्वतन्त्र अनुसन्धानकर्ताको रूपमा काम गर्दै आएकी छिन् । उनको सम्पादन, सहसम्पादन र लेखनमा ९ वटा पुस्तकहरू प्रकाशित छन् । विभिन्न जर्नल र पुस्तकहरूमा उनको दर्जनौँ अनुसन्धानमूलक लेखहरू पढ्न पाइन्छ ।