फुटपाथ व्यवसाय : मरिरहेको शहरी जीवनको ‘अदृश्य इन्जिन’

शहरी क्षेत्रका मुख्य चोक, गल्ली र भिडभाड हुने ठाउँहरूमा सञ्चालन भइरहेका सडक तथा फुटपाथ व्यवसाय दैनिक रूपमा देखिने नियमित गतिविधि हुन् । यस्ता व्यवसाय साना स्वरूपका भए तापनि ठुलो समूहको जीवन निर्वाहको आधार बनेका छन् । 

राष्ट्रिय आर्थिक जनगणना २०१८ को अनौपचारिक क्षेत्र विश्लेषणात्मक प्रतिवेदन अनुसार, देशका कुल व्यवसायहरूमध्ये करिब ३.७ प्रतिशत फुटपाथ व्यवसाय रहेको देखिन्छ । यस्ता व्यवसायीहरूले देशको कुल गार्हस्थ्य उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको विभिन्न तथ्याङ्कहरूले देखाएका छन् । औपचारिक संरचनामा नसमेटिए तापनि आर्थिक प्रवाहको एक “अदृश्य इन्जिन” को रूपमा फुटपाथ व्यवसायले स्वरोजगारका प्रशस्त अवसर सिर्जना गरेको तथ्य बेवास्ता गर्न मिल्दैन । 

फुटपाथ व्यवसायीले परिवारको जीविकोपार्जन धानिरहेको मात्र छैनन्, समुदायका सबै वर्गलाई सस्तो र सहज रूपमा खाद्यान्न, फलफूल, लत्ताकपडा र अन्य दैनिक उपभोग्य सामग्री आपूर्तिको सुविधासमेत प्रदान गरिरहेका छन् । साथै सीधै उपभोक्ताको घर-दैलोमा सेवा पुर्‍याउने (होम डेलिभरी) सुविधा पनि उपलब्ध गराएका छन् । देशमा रोजगारीका सीमित अवसरहरू तथा सरकारी जागिरमा सबैको सहज पहुँच नभएकै कारण अधिकांश श्रम शक्ति विदेशिनुपर्ने बाध्यता रहेको परिस्थितिमा फुटपाथ व्यवसाय स्वरोजगारको गतिलो माध्यम बनेको छ ।

फुटपाथ व्यवसायीले अनौपचारिक अर्थतन्त्रमा पुर्‍याउने योगदानलाई नीति निर्माताहरूले स्वीकारे तापनि, राज्य निर्देशित नियन्त्रणकारी नियमनले श्रमिकका आर्थिक-सामाजिक चुनौतीहरू ओझेलमा परेका छन् । जसका कारण उनीहरूले व्यवसायका लागि उपयुक्त स्थान नपाउने, न्यून आयमा गुजारा गर्नुपर्ने, व्यवसायजन्य दुर्व्यवहार तथा विभेद भोग्नुपर्ने र न्याय नपाउने जस्ता समस्या आम बनेका छन् । 

फुटपाथ व्यवसाय र आजीविका 

विशेषगरी बसाइँसराइ गरेर शहर पसेका अति निम्न वर्ग जीविकोपार्जनका लागि फुटपाथ व्यवसायमा संलग्न छन् । हाम्रो पर्पसिभ स्याम्पलिङ (उद्देश्यपूर्ण नमूना संकलन) विधिमा आधारित सर्वेक्षणमा सहभागी ४२७ व्यवसायीमध्ये ८५ प्रतिशत अरूका घरमा भाडामा बस्छन् । अधिकांश व्यवसायीले अनिश्चित आम्दानी, अन्य व्यवसायमा लगानी गर्न पुँजीको अभाव जस्ता समस्यासँग जुधिरहेका छन् । प्रतिशतको आधारमा हेर्ने हो भने राम्रो आम्दानीको अवसरको अभाव (४४ प्रतिशत), अन्य व्यवसायमा लगानी गर्न पुँजीको अभाव (३४ प्रतिशत), कम शिक्षा (२८ प्रतिशत) र रोजगारीको अभाव (२७ प्रतिशत) जस्ता कारणले नै उनीहरू फुटपाथ व्यवसायमा लागेका छन् ।

फुटपाथ व्यवसायीहरूले सरकारले तोकेको न्यूनतम मासिक ज्यालाभन्दा पनि कम आम्दानीमा गुजारा चलाउँदै आएको देखिन्छ । त्यसमा पनि औपचारिक शिक्षा हासिल नगरेका फुटपाथ व्यवसायीको आम्दानी अझै कम रहेको अध्ययनले देखाउँछ । मासिक १० हजार रुपैयाँभन्दा कम आम्दानी गर्ने व्यवसायी ४२ प्रतिशत छन् भने १० देखि २० हजारबीचमा आम्दानी गर्नेको प्रतिशत पनि सोही हाराहारीमा रहेको छ । 

Sujit Maharjan

अहिलेको अवस्था

स्थानीय सरकारहरुले सडक सफा राख्ने नाममा फुटपाथ हटाउने नीति अवलम्बन गरेपछि व्यवसायीहरू नराम्रोसँग प्रताडित भइरहेका छन् फलस्वरूप उनीहरूको जीविकोपार्जन कष्टकर बनिरहेको छ । २० प्रतिशतले पहिलेको तुलनामा कुनै सुधार नभएको बताएका छन् भने ६० प्रतिशतले अवस्था झनै बिग्रिएको बताएका छन् । ५९ प्रतिशत उत्तरदाताले सम्बन्धित नगरपालिका प्रशासनले फुटपाथ व्यवसायका लागि उपयुक्त वातावरण सिर्जना गर्न असहयोगी बनेको बताएका छन् । काठमाडौँ महानगरपालिकाले फुटपाथमा व्यापार गर्न पूर्ण रूपमा निषेध गर्ने नीति लागू गरेपछि हजारौँ फुटपाथ व्यवसायी विस्थापित भएका छन् । नगर प्रहरी प्रशासनले अपनाउने कठोर शैली, जफत गरिएका सामानहरूको अभिलेख नराख्ने, कानुनी दस्तुर तिरेर पनि सामान फिर्ता नपाउने, लिलामी प्रक्रियामा अनियमितता हुने जस्ता कारणले व्यवसायीहरूले आफूलाई निषेध गर्न खोजिएको महसुस गरेको बताएका छन् । व्यवसाय सञ्चालनका लागि निश्चित समय (बिहान र बेलुका) तोक्नुपर्ने माग राख्दै व्यवसायीहरूले पटक पटक आन्दोलन र वार्ता गरे पनि हालसम्म कुनै समाधान निस्किएको छैन । काठमाडौँको तुलनामा ललितपुर महानगरपालिकाले व्यवस्थापनका केही प्रयास गरेको देखिए तापनि ठेलागाडा र साइकलबाट हुने व्यापार पूर्ण रूपमा बन्द गरिएका छन् ।

अहिलेको अवस्थामा फुटपाथ व्यवसायीले कानुनी झमेलासँगै भोग्नुपरेका मुख्य समस्या सरकार वा नगरपालिकाको प्रतिबन्धात्मक नीति, नगरपालिका अधिकारीहरूबाट दुर्व्यवहार आदि हुन् । यसबाहेक, ध्वनि र वायु प्रदूषण जस्ता व्यवसायजन्य जोखिम, मौसमका कारण हुने जोखिम (वर्षा, बाढी, तातो हावा), लामो समय उभिएर वा बसेर काम गर्दा हुने जोखिम, हिंसा तथा सुरक्षासम्बन्धी जोखिम, सुरक्षित तथा सफा स्थानको अभाव, खाना र स्वच्छ पिउने पानीको अभाव जस्ता थुप्रै समस्याले यस व्यवसायलाई धरासयी बनाउँदै लगेको छ । सडकमा व्यवसाय गर्दा प्रयोग गरिनुपर्ने न्यूनतम सुरक्षा उपकरणहरू जस्तै मास्क, पन्जा, एप्रोन आदि प्रयोग नगर्ने कारणले फुटपाथ व्यवसायीहरू उच्च स्वास्थ्य जोखिममा छन ।

फुटपाथ व्यवसायीले सामना गर्ने मुख्य समस्याहरु (बहुउत्तर प्रश्नमा आधारित तथ्याङ्कमा)

अनौपचारिक क्षेत्र, शिक्षा र सामाजिक सुरक्षा

अधिकांश फुटपाथ व्यवसायी व्यवसाय दर्ता र सामाजिक सुरक्षाको महत्त्वबारे पर्याप्त जानकार नहुनुले उनीहरू आर्थिक सुरक्षाका प्रावधानबाट कति टाढा छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ । अर्कोतर्फ सूचनाको अभाव, आर्थिक असमर्थता जस्ता कारणले राज्यको सामाजिक सुरक्षाका योजनामा उनीहरूलाई समावेश गर्ने योजना सहज हुने देखिँदैन । सरकारले अनौपचारिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ मार्फत स्वरोजगारमा रहेका व्यक्तिलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने प्रयास गरेको भए तापनि अहिलेसम्म यसले मूर्तरूप लिन सकेको छैन ।

अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा ल्याउनको लागि कुनै पनि व्यवसाय-उद्यमको दर्ता हुनु अनिवार्य मानिन्छ तर फुटपाथ व्यवसायहरू सामान्यतः दर्ता प्रक्रियामै सहभागी हुन नसकेको देखिन्छ । आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका फुटपाथ व्यवसायीमध्ये ९५ प्रतिशतले कतै पनि दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेको अध्ययनले देखाएको छ । यसको कारण मुख्यतः व्यवसाय दर्ता गर्न जाँदा सम्बन्धित निकायले फुटपाथ व्यवसायलाई मान्यता दिने गरी दर्ताको प्रावधान नै नभएको बताउने गरेका छन् । त्यसैले पनि व्यवसाय दर्ता नगरेको भन्ने (१३ प्रतिशत), व्यवसाय दर्ता गर्नु आवश्यक छ भन्ने नलागेको र यसबारे कहिल्यै नसोचेको (४८ प्रतिशत), दर्ता प्रक्रियाबारे थाहा नभएको (१० प्रतिशत), दर्ता गर्नुपर्ने गरी आम्दानी नै नभएको भन्ने (१० प्रतिशत) र प्रशासनका कारण व्यवसाय कति समय सञ्चालन गर्न सकिन्छ भनेर यकिन नभएकोले दर्ता नगरेको भन्ने (७ प्रतिशत) रहेको देखिएको छ । दर्ता प्रक्रियाको जटिलता, दर्ताको स्पष्ट दिशानिर्देशको अभाव, तथा व्यवसायीहरूमा दर्ता र नवीकरणको फाइदाबारे चेतनाको कमी जस्ता समस्या पनि उत्तिकै रहेको छ ।

Rajendra Sharma

फुटपाथ व्यवसायमा जोडिनुपर्ने प्रमुख कारणमध्ये शिक्षाको अवस्था महत्त्वपूर्ण देखिएको छ । अध्ययनअनुसार, करिब २८ प्रतिशतले शिक्षाको कमी नै फुटपाथ व्यवसायमा संलग्न हुनुको मुख्य कारण भएको बताएका छन् । ३६ प्रतिशत फुटपाथ व्यवसायी निरक्षर छन्, जसमध्ये ४९ प्रतिशतले कुनै औपचारिक शिक्षा नलिएको र त्यसमा पनि ७३ प्रतिशत पूर्ण रूपमा निरक्षर छन् । 

निष्कर्ष

सम्मानपूर्वक बाँच्न पाउने तथा निर्बाधरूपमा श्रम गरी खान पाउने अधिकार विश्वव्यापी मानव अधिकार घोषणापत्र तथा नेपालको संविधानले सुनिश्चित गरेको भए तापनि, काठमाडौँ उपत्यकाका फुटपाथ व्यवसायीको हकमा त्यो लागु हुन सकेको छैन । कानुनी रूपमा स्थानीय सरकारलाई आफ्नो क्षेत्रभित्र पर्ने बजार व्यवस्थापनको अधिकार भए तापनि फुटपाथ व्यवसायीहरूले उनीहरूबाट आवश्यक सहयोग र अनुकूल वातावरण पाउन सकेका छैनन् । 

व्यवस्थापन तथा नियमनका लागि स्पष्ट र व्यवहारिक नीति नहुँदा फुटपाथ व्यवसाय अझै व्यवस्थित र मर्यादित हुन सकेको छैन । तसर्थ फुटपाथ व्यवसायलाई कानुनी मान्यता दिनुका साथै यसको समुचित व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मापदण्डअनुसार फुटपाथ व्यवसायीको श्रम अधिकारको उचित संरक्षण, अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउने प्रयास र श्रमिकहरूको विशेष परिस्थितिलाई ध्यानमा राखेर राज्यको स्पष्ट नीति आवश्यकता छ । 

यसका साथै फुटपाथ व्यवसाय तथा व्यवसायीको यथोचित् व्यवस्थापन साथै महिला, अपाङ्गता भएका व्यवसायीलाई सामाजिक सुरक्षाको छाताभित्र ल्याउन संघीय, प्रदेश तथा स्थानीय (तीनै) तहका सरकारहरू र सरोकारवाला निकायबीच समन्वय अपरिहार्य देखिन्छ । जब यस्ता उपाय प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन्, तब मात्र फुटपाथ व्यवसाय मर्यादित, सुरक्षित हुनुका साथै व्यवसायीहरूले भोगिरहेको समस्याको दिगो समाधान सम्भव हुनेछ ।

लेखकद्वयको यो लेख सोशल साइन्स वहा:ले हालै गरेको काठमाडौँ उपत्यकामा फुटपाथ (सडक) व्यवसायसम्बन्धी गरिएको अध्ययनमा आधारित छ ।

साकार सापकोटा सेन्टर फर द स्टडी अफ लेवर एंड मोबिलिटी (सेस्लाम)सोशल साइन्स वहा:मा श्रम आप्रवासनको क्षेत्रमा अनुसन्धानकर्ताका रूपमा कार्यरत छन्। विभिन्न सामाजिक विषयमा अनुसन्धान गर्दै आएका उनको रुचीको विषय श्रम आप्रवासनशासन प्रणालीसामाजिक समावेशीकरणश्रमिक अधिकारजलवायु परिवर्तन, दिगो विकास आदि पर्दछन् ...

राजेन्द्र शर्मा चार वर्षदेखि सोशल साइन्स वहा:सँग आवद्ध छन् । द्वन्द्व र शान्तिजस्ता विषयमा रुचि राख्ने उनले अनौपचारिक क्षेत्र अन्तर्गत फुटपाथ व्यवसाय, संघीयता तथा सुशासनजस्ता अध्ययनमा संलग्न भएर विभिन्न प्रतिवेदन सहलेखन समेत गरेका छन् । द्वन्द्वपछिको राज्य रुपान्तरण, संक्रमणकालीन न्याय र अन्तरपुस्तात्मक आघातमा उनको विशेष रुचि छ । ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *