प्रभाव गुमाउँदै राणा सम्भ्रान्त

राणाहरूमाथिको मेरो अनुसन्धान धेरै हदसम्म प्रभावशाली सम्भ्रान्तको अध्ययन हो, जुन निकट सम्बन्धका आधारमा नभई ‘तलबाट’ उनीहरूसम्म पुग्ने उभोमुखी दृष्टिकोणबाट गरिएको हो। यसले मलाई सम्भ्रान्तहरूको संसारमा प्रवेश नियन्त्रण गर्ने ‘द्वारपाल’हरूको भूमिका तथा उनीहरूले गोपनीयता जोगाउन अपनाउने उपायको अध्ययन गर्ने पनि अवसर दियो।

यस लेखले सम्भ्रान्त वर्गको अध्ययन गर्दा सामना गर्नुपर्ने पद्धतिगत चुनौतीबारे चर्चा गर्छ। साथै, अध्ययनका लागि सम्भ्रान्त वर्गसम्म पहुँच प्राप्त गर्ने तरिका तथा अध्ययनको विषय र अनुसन्धानकर्ताबीचको सम्बन्धले अनुसन्धानको निष्कर्षमा निर्णायक प्रभाव पार्छ भन्ने तर्क प्रस्तुत गर्दछ। 

अघिल्ला अध्ययनहरूमा सम्भ्रान्त वर्गसँग निकटता एवं तादात्म्यता स्थापित गरेर उनीहरूको अध्ययन गर्ने प्रवृत्ति देखिए पनि यस लेखले ‘सबार्ल्टन अध्ययन’बाट अवधारणागत प्रेरणा लिँदै तलबाट माथि हेर्ने ‘उभोमुखी’ दृष्टिकोणलाई प्राथमिकता दिएको छ। जसले द्वारपालको रूपमा काम गर्ने र सम्भ्रान्त संस्कृतिको प्रतिनिधित्वभित्र अन्तरनिहित थोपरिएको पद सोपानको अध्ययन गर्छ। 

२००७ सालको परिवर्तनपछि शक्ति र प्रभाव गुमाएका राणाहरूको अध्ययन गर्दा, शक्तिको परिधिमा पुगेका सदस्यहरूबाट अध्ययन सुरु गरी क्रमशः शक्तिकेन्द्रसँग निकट रहेकासम्म पुग्ने पद्धतिले सम्भ्रान्त वर्गको संरचना र कार्यप्रणालीलाई अझ गहिरो गरी बुझ्न सकिने देखाएको छ। 

२००७ सालमा व्यवस्था परिवर्तनसँगै उनीहरूको प्रभाव घट्यो। शाही परिवारसँगको निकटता र नेपालका प्रमुख कम्पनीहरूको उच्च तहमा रहे पनि राजनैतिक तथा सैनिक नेतृत्वमा उनीहरूको प्रतिनिधित्व कम छ। कतिपयको जीवन पुर्ख्यौली सम्पत्तिकै भरमा चलिरहेकोले पुर्खाले बिताएझैँ जीवनस्तर धान्न मुश्किल परिरहेको छ। अहिले उनीहरू सम्पूर्ण रूपमा सम्भान्त नभए पनि, आजका धेरै सम्भ्रान्त व्यक्तिहरू भने यही वंशका हुन्। 

प्रभाव गुमाउँदै गएको एउटा राणा वंशलाई अध्ययनको विषय बनाउँदा मलाई यस नमुना अध्ययनले ‘प्रभावकारी सम्भ्रान्त’हरूलाई पारिवारिक जमघटजस्ता अवसरहरूमा अवलोकन गर्ने अनौपचारिक अवसर दियो। त्यस्ता अवसरहरूमा म उनीहरूका सहज पहुँचमा रहेका आफन्तसँग सहभागी हुन्थे। त्यस अवस्थाले मलाई प्रभावशाली र कम प्रभावशाली राणाहरूबीचको अन्तरक्रिया अध्ययन गर्ने अवसर दियो, जसलाई तान्या लुहरमानले ‘अपोइन्टमेन्ट एन्थ्रोपोलोजी’का लागि पूर्वनिर्धारित क्षेत्र भनेकी छन्। लुहरमानले निश्चित समय तोकेर गरिने अन्तर्वार्ताको सीमाबारे चर्चा गरेकी छन्। त्यस्ता अन्तर्वार्तामा अनुसन्धानकर्तासँग परिस्थितिलाई आफ्नो अध्ययन अनुकूल ढाल्ने अवसर कम हुन्छ र सहभागीहरूले पूर्वतयारीसहित निर्माण गरेको स्वछविसँग मात्र अनुसन्धानकर्ताले सामना गर्नुपर्ने अवस्था रहन्छ।

राणा वंशका सहज पहुँचमा रहेका सदस्यहरूबाट अध्ययन सुरु गर्दै क्रमशः विशिष्ट र शक्तिकेन्द्र निकट रहेकाहरूतर्फ अघि बढ्ने प्रक्रियाले मलाई उनीहरूको स्वप्रस्तुतीकरणका केही झलकहरू अवलोकन गर्ने अवसर दियो, जुन औपचारिक अन्तर्वार्तामा नभई पारिवारिक कुराकानीमा आधारित थियो। सम्भ्रान्तहरूसँगको मेरो अनुसन्धान सम्बन्ध कति असामान्य थियो भने, एक जना राणा महासयले मलाई र अर्को एक स्थानीय पत्रकारलाई अन्तर्वार्ताका लागि एकैसाथ समय दिएका थिए। जसको कारण सोध्दा उनले भने, “मैले एउटै कुरा फेरि-फेरि दोहोर्‍याइरहन नपरोस्।” 

सम्भ्रान्त वर्गको अध्ययनका बेला देखिने दुविधाबाट बाहिर निस्कने दुईवटा उपाय छन्। पहिलो, मानवशास्त्रीहरूले औपचारिक अन्तर्वार्तामा मात्र निर्भर रहने अवस्थाबाट मुक्त हुने। यसको सबैभन्दा प्रभावकारी उपाय भनेको सम्भ्रान्तहरूसँग हुने अन्य प्रकारका सामाजिक अन्तरक्रियामा पहुँच स्थापित गर्नु हो। दोस्रो, पूर्वतयारीसहित गरिने स्वप्रस्तुतीकरणलाई केवल सीमितता मात्र नभई एउटा विशिष्ट विमर्शका रूपमा पनि बुझ्नुपर्छ। सम्भ्रान्तहरूको परिवेशमा अवलोकनका अवसर सीमित हुने भएकाले यस्तो स्वप्रस्तुतीकरण आफैमा अनुसन्धानका लागि महत्त्वपूर्ण वैकल्पिक स्रोत बन्न सक्छ। 

दोस्रो तरिकाले अध्ययन सुरु गर्दा मैले एउटा रोचक अनुभव गरेँ। सम्भ्रान्तहरू अन्तर्वार्ता दिनमा मात्र अभ्यस्त हुँदैनन्, बरु आफ्नो विशेषज्ञताको क्षेत्र र सार्वजनिक छविबारे जनतालाई जानकारी गराउनु आफ्नो दायित्व नै हो भन्ने पनि ठान्छन्। राणा परिवारमा सार्वजनिक रूपमा आफ्नो परिचय र छवि प्रस्तुत गर्ने प्रवृत्ति निकै व्यापक र विकसित छ। उनीहरूले सञ्चारमाध्यमलाई असंख्य अन्तर्वार्ता र प्रेस वक्तव्य दिने गरेको कुरा सर्वविदित छ। राणा परिवारकै केहीले राणा इतिहाससम्बन्धी किताबहरू लेखेका छन् भने केहीले राणाहरूलाई केन्द्रमा राखेर ऐतिहासिक उपन्यास वा काल्पनिक कृतिहरू पनि लेखेका छन्। केहीले राणा सम्भ्रान्त वर्गबारे आकर्षक चित्रसहितको ‘कफी टेबल बुक’ पुस्तक प्रकाशित गरेका छन्। त्यस्तै, राणा परिवारको धार्मिक संस्था ‘पाञ्चायन’को पहलमा राणा वंशावलीसम्बन्धी विस्तृत ग्रन्थ पनि तयार पारिएको छ।

सबाल्टर्न समूहहरूको विषयमा लेख्ने गायत्री चक्रवर्ती स्पिभाकले प्रतिनिधित्वका दुई भेद खुट्याएकी छन्। भर्ट्रेटुङ अर्थात् प्रतिनिधित्व र डार्स्टेलुङ अर्थात् समूहको चित्रण वा प्रस्तुत गर्नु। यी दुई भेदले हामीलाई राणाहरूले आफ्नै समुदायबारे गरेका साहित्यिक काम बुझ्न मद्दछ गर्दछ। भेर्ट्रेटुङलाई राजनीतिक प्रतिनिधित्वका सन्दर्भमा अर्को व्यक्ति वा समूहका तर्फबाट वा उनीहरूको हितमा बोल्ने कार्यको रूपमा बुझ्ने गरिन्छ। त्यसको विपरीत, डार्स्टेलुङको अर्थ कुनै व्यक्ति वा समूहलाई चित्रण वा प्रस्तुत गर्नु हो। 

सम्भ्रान्त वर्गको तुलनामा सबल्टर्न समूहहरूले आफ्नो समुदायको प्रतिनिधित्वमाथि पूर्ण नियन्त्रण राख्न सक्दैनन्। बरु उनीहरू आफ्नो आवाज सुनाउन राजनीतिक कार्यकर्ता वा कहिलेकाहीँ मानवशास्त्रीहरूले गर्ने ‘प्रोक्सी प्रतिनिधित्व’मा धेरै हदसम्म निर्भर हुन्छन्। तर यसको ठीक विपरीत सामाजिक प्राधान्य बोकेको समूहका लागि यस्ता खाले प्रतिनिधिहरूको जरुरत पर्दैन। यद्यपि सम्भ्रान्त वर्गले आफूलाई कसरी प्रस्तुत गर्छ भन्ने पक्षलाई अर्थात् उनीहरूले सचेत रूपमा निर्माण गर्ने आफ्नो स्वप्रस्तुतीकरण अध्ययन गर्नु भने मानवशास्त्रका लागि चुनौतीपूर्ण र महत्त्वपूर्ण अनुसन्धानको विषय हो। 

कतिपय साहित्यिक सामग्रीका अलावा राणाहरूले आफ्नै विषयवस्तुमा आधारित अन्य सामग्रीहरू पनि उत्पादन गरेका छन्। विजुशमशेर जबराले आफ्ना पुर्खाहरूको इतिहासमा आधारित आधा-आधा घण्टाको २७ भागको धारावाहिक टेलिशृंखला बनाएका छन्। मैले अन्तिम पटक कुरा गर्दा उनी पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणाको भूमिकाका लागि तयारी गर्दै थिए। त्यो तयारीले चरित्र चित्रण गर्ने उनको क्षमता (डास्टेलुङ)को परिचय दिन्थ्यो। त्यसका लागि एक प्रकारको कल्पना र जानकारी अझसम्म पनि सुरक्षित राखिएको थियो, जबकि उनीहरूले प्रभावकारी सम्भ्रान्तको उत्तराधिकारी वा वारिसको संयुक्त सदस्यता पहिले नै गुमाइसकेका थिए। 

आर्थिक अवस्था सबल नहुँदा नहुँदै पनि धेरै राणाहरूले सार्वजनिक रूपमा आफ्नो वंशको प्रतिनिधित्व र प्रस्तुति गर्न मन पराउँथे। त्यसले मलाई उनीहरूको स्वप्रतिनिधित्व र स्वचिन्तनको अध्ययन गर्न रोचक अनुसन्धान क्षेत्र उपलब्ध गरायो। 

सबार्ल्टन अध्ययनले सम्भ्रान्तहरूको अध्ययनका लागि दुई महत्त्वपूर्ण स्वप्रतिनिधित्वका सन्दर्भमा विशेष जोड र अन्य अवधारणाभन्दा तलबाट माथि नियाल्ने उभोमुखी दृष्टिकोण दियो। उभोमुखी दृष्टिकोण मुख्यतया सबार्ल्टनहरूको प्रतिरोधमा केन्द्रित हुन्छ। तर यसले कथित महान् व्यक्तिहरूको इतिहास लेख्न नहुने भन्ने अर्थ राख्दैन। शाहिद अमिनले यो कुरा स्पष्ट रूपमा देखाएका छन्। दक्षिण एसियामा सबाल्टर्न अध्ययनले लुइस डोमोन्टजस्ता अघिल्ला पुस्ताका अनुसन्धानकर्ताहरूको दृष्टिकोणसँग विमति राख्यो। ती अनुसन्धानकर्ताहरू सम्भ्रान्त वर्गसँग निकट रहेर अनुसन्धान गर्थे, जसले दक्षिण एसियाको इतिहासलाई ‘माथिबाट तलतिर’को दृष्टिकोणमा लेख्ने परम्परालाई बल पुर्‍यायो।

त्यसपछिका धेरै अध्ययनहरू पनि स्थानीय सम्भ्रान्त वर्गले उपलब्ध गराएको विशेष पहुँचको आधारमा पश्चिमी मध्यमवर्गीय अनुसन्धानकर्ताहरूले गरेका थिए। तर सम्भ्रान्त वर्गको अध्ययन अब माथिबाट अध्ययन गर्ने उँधोमुखी परम्परागत सीमाबाट मुक्त हुन सक्छ र यहाँ छलफल गरिएझैँ नयाँ अनुसन्धान पद्धति र दृष्टिकोणको प्रयोग गर्न सक्छ। दक्षिण एसिया र सम्भ्रान्त वर्ग दुवैको अध्ययनमा अनुसन्धानकर्तालाई यस दृष्टिकोणले पुरानो पुस्तासँगको औपनिवेशिक परियोजनासँगको सम्बद्धतामा स्वतन्त्रता प्रदान गर्दछ।

आजकालका धेरैजसो अध्ययनहरू स्थानीय रूपमा सहज पहुँच भएका सम्भ्रान्तहरूमाथि काम गर्ने मध्यम वर्गीय मानवशास्त्रीहरूको अनुसन्धानमा आधारित छन्। यस्ता अध्ययनहरूले प्रभावशाली सम्भ्रान्तको अध्ययन गर्दा अनुसन्धानकर्तालाई आइपर्ने आफ्नो शक्तिहीन अवस्थालाई स्वीकार गर्नुपर्ने बोझबाट मुक्त गराउँछ।

कुनै पनि सम्भ्रान्त समूहसम्म अनुसन्धानकर्ताको पहुँच केवल अध्ययन गरिने सम्भ्रान्त समूहको विशिष्टता वा बन्द प्रकृतिमा मात्र निर्भर हुँदैन, त्यो अनुसन्धानकर्ताको आफ्नै सामाजिक हैसियतमा पनि निर्भर हुन्छ। यो तथ्य नेपालका राणाहरूको उदाहरणबाट सजिलै देखाउन सकिन्छ। राणाहरूबारे विभिन्न सामग्री प्रकाशन गरेका वा अनुसन्धान गरेका विदेशीले उनीहरूसँग पहुँच स्थापना गर्न अनेकौँ तरिका अपनाउने गरेका छन्। जर्मन मानवशास्त्री सुसाने वोद दे हेदले काठमाडौंमा सानो राणा दरबार बहालमा लिएकी थिइन्। जुलिया थम्सनलाई ब्युटी सलुनको मानवशास्त्रबारे विद्यावारिधि शोध गर्दा युवा गोरी अमेरिकी अनुसन्धानकर्ता तथा अमेरिकी कूटनीतिज्ञकी पत्नीको पहिचानले काम गरेको थियो।

तर, सम्भ्रान्तहरूसँगको निकट सम्बन्धका आधारमा गरिने अध्ययनले सम्भ्रान्त वर्गले कायम राख्ने संस्थागत विशिष्टता कसरी लागू गरिन्छ र उनीहरूले सार्वजनिक रूपमा आफ्नो छविलाई कसरी सावधानीपूर्वक निर्माण र प्रस्तुत गर्छन् भन्ने प्रक्रियालाई ओझेलमा पार्ने जोखिम हुन्छ। 

माथि उल्लेख गरिए विपरीत, राणाहरूमाथिको मेरो अनुसन्धान धेरै हदसम्म प्रभावशाली सम्भ्रान्तको अध्ययन हो, जुन सम्भ्रान्तहरूसँगको निकट सम्बन्धका आधारमा नभई ‘तलबाट’ उनीहरूसम्म पुग्ने उभोमुखी दृष्टिकोणबाट गरिएको हो। यस दृष्टिकोणले मलाई सम्भ्रान्तहरूको निजी संसारमा प्रवेश नियन्त्रण गर्ने द्वारपालहरूको भूमिका तथा उनीहरूले आफ्नो गोपनीयता जोगाउन अपनाउने अन्य उपायहरूको अध्ययन गर्ने अवसर दियो। नदालका अनुसार उभोमुखी अध्ययनका लागि जोड दिने ‘स्टडिइङ-अप’ दृष्टिकोण सम्भ्रान्त अध्ययनका क्षेत्रमा तुलनात्मक रूपमा नयाँ हो। 

अहिलेसम्म प्रभावशाली सम्भ्रान्तबारेका अधिकांश अध्ययनहरू सञ्चारमाध्यम र ऐतिहासिक स्रोतहरूबाट सङ्कलित द्वितीय स्रोतहरूमा आधारित थिए। यस्ता अध्ययनहरूले मानवशास्त्रलाई अन्य समाज विज्ञान र खोज पत्रकारिताको नजिक ल्याइपुऱ्यायो। जस्तै, ड्यान रोज र गुस्टर्सनजस्ता मानवशास्त्रीले ‘अन्डरकभर’ रही अनुसन्धान गरेका थिए। अन्डरकभर अनुसन्धानलाई नैतिक रूपमा अस्वीकार्य मान्न सकिने गुस्टर्सनको तर्कलाई एकातिर राख्दा पनि राणाहरूबारे गरिने गोप्य अनुसन्धान कार्य व्यवहारिक रूपमा कठिन थियो। आफूलाई सम्भ्रान्त वर्गको सदस्यका रूपमा विश्वासयोग्य ढङ्गले प्रस्तुत गर्न आवश्यक पृष्ठभूमि मसँग थिएन, न त त्यस्तो कुनै उपयुक्त भूमिका नै मैले सोच्न सकें, जसलाई अपनाएर म उनीहरूको संसारमा प्रवेश गर्न सकूँ। 

अति सम्पन्न राणा परिवारमा पनि घरमै पढाउने शिक्षक र विदेशी धाई/आयाको प्रचलन हराइसकेको अवस्थामा मैले सम्भावित अनुसन्धान सहभागीहरूसँग सम्पर्क गर्दा वास्तविक परिचय पनि लुकाइनँ। न त आफ्नो अध्यय-मनसाय र उद्देश्य नै लुकाएँ। राणा वंशका सहज पहुँचमा रहेका सदस्यहरूबाट अध्ययन सुरु गर्दै क्रमशः विशिष्ट र शक्तिशालीतर्फ अघि बढ्ने क्रममा पहुँच पाउँने माध्यमको रूपमा मैले कसैको नाम भजाउने वा चिनजानका प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध देखाएर प्रवेश पाउने उपायलाई अस्वीकार गरें। 

सुरुमा मेरो चिनजान केही वृद्ध राणाहरूसँग भयो। साना र साधारण घरमा बसोबास गर्ने भए पनि उनीहरूको जीवनशैलीमा राणा सम्भ्रान्तपनको झल्को देखिन्थ्यो, जुन उनीहरूको साधारण परिवेशसँग मेल खाँदैनथ्यो। उनीहरूसँगको कुराकानीका क्रममा मैले आर्थिक हैसियत खस्कँदै गएको परिवारको इतिहास त सुनेँ नै, पुरानो वैभव गुमाइसकेका सम्भ्रान्तहरूको पारिवारिक जीवनबारे पनि धेरै कुरा थाहा पाएँ। उनीहरूले मलाई आफ्ना सम्पन्न र प्रभावशाली आफन्तहरूको सामाजिक जमघटमा पनि सँगै लिएर गए। 

एक पटक यस्तै एउटा विवाह समारोहमा म केही राणा आफन्तहरूसँग ट्याक्सीमा पुगेँ। आर्थिक अवस्था खस्किएको अर्थात् आफ्नै गाडी नरहेको कुरा अरूले थाहा नपाऊन् भनेर मुख्य प्रवेशद्वारभन्दा बाहिरै ट्याक्सी रोकेर त्यहाँबाट उनीहरू हिंडेरै समारोह स्थलतर्फ प्रवेश गरेका थिए। कम प्रभावशाली राणाहरूसँगको यही सम्बन्धलाई आधार बनाएर प्रवेश पाए पनि, राणा वंशका ‘प्रभावशाली सम्भ्रान्त’हरूको सामाजिक संसारमा भने मेरो स्वतन्त्र र निर्बाध पहुँच थिएन। 

‘सहज पहुँच भएका’ राणाहरूसँगको सम्पर्कबाट मैले के बुझ्न पाएँ भने, पारिवारिक जमघटहरूमा समेत द्वारपालको भूमिका सक्रिय हुँदो रहेछ। उनीहरूको काम प्रभावशाली सम्भ्रान्तहरूको निजी क्षेत्र सुरक्षित राख्नु थियो। आयोजक वा व्यवस्थापनको भूमिकामा रहेका राणा परिवारकै केही सदस्यले पाहुनाहरूलाई छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाउँथे। कम प्रभावशाली राणाहरूलाई पनि उनीहरूका लागि छुट्याइएको सामाजिक घेराभित्रै सीमित राखिन्थ्यो। कोही तोकिएको सामाजिक घेराबाट बाहिर जान खोजेमा यी द्वारपालहरूले अत्यन्त शिष्ट ढङ्गले आवतजावत सीमित गरिदिन्थे। विभिन्न समूहका मानिसहरू उपस्थित हुने कार्यक्रममा कहिलेकाहीँ राजपरिवारका सदस्यहरू पनि आउँथे। तर उनीहरू घरको अर्को भागमा बस्ने भएकाले मैले देख्ने भनेको बगैँचातिर हतियार ओसारपसार गरिरहेका सुरक्षाकर्मीहरू मात्र हुन्थे। उता राणा वंशका प्रभावशाली सदस्यहरू घरभित्र पसिसकेका हुन्थे भने, मलगायत अन्य पाहुनाहरूलाई बगैँचामा राखिएको भोजनस्थलतर्फ जान आग्रह गरिन्थ्यो। 

प्रभावशाली सम्भ्रान्तहरूको सहमति वा सहयोगबिना उनीहरूको सुरक्षित र निजी सामाजिक संसारमा प्रवेश पाउनु असम्भवजस्तै हुन्छ। तर सम्भ्रान्त वर्गको अध्ययनका लागि यो यथार्थ स्वीकार गर्नु, आफ्नो पहुँचको सीमा बुझ्नु र आफूले सम्बन्ध स्थापित गरेका व्यक्तिहरूको पहुँचको सीमा पनि परीक्षण गर्नु अत्यन्त आवश्यक हुन्छ। यी सीमाभन्दा बाहिर अनुसन्धानकर्ताले थप पहुँच सुनिश्चित गर्न सक्ने सम्भावना अत्यन्त न्यून हुन्छ। धेरै भए, प्रभावशाली सम्भ्रान्तहरूमध्ये आफ्नै समूहको स्थापित नियमलाई चुनौती दिन चाहने कुनै व्यक्तिको अप्रत्यक्ष सहयोगबाट थप पहुँच मिल्न सक्ला। तर, त्यस्ता व्यक्तिहरू भने प्रायः पर्दापछाडि नै रहन रुचाउँछन्। कुनै प्रकारले सहयोग नलिएको जस्तो देखिँदै त्यस्तो स्थानमा प्रवेश गर्न सफल भइयो भने सामाजिक शिष्टाचारकै कारण त्यहाँबाट बाहिर जान आग्रह गरिने सम्भावना कम हुन्छ।

यस्ता ठूला सामाजिक समारोहमा पद सोपानका आधारमा गरिने व्यवहारको अनुभवको साथमा मैले प्रभावशाली सम्भ्रान्तहरूसम्म पुग्नुपर्ने कठिनाइ उनीहरूको पद वा प्रतिष्ठा बढ्दै जाँदा सधैं त्यही अनुपातमा बढ्दैन भन्ने बोध पनि गरेँ। आश्चर्यको कुरा, कतिपय प्रभावशाली सम्भ्रान्त राणाहरूसँग एक अनुसन्धानकर्ता विद्यार्थीका हिसाबले भेट्न सजिलो हुन्थ्यो न कि उनीहरूका गरिब नातेदारमार्फत। केहीले भने अविश्वसनीय रूपमा अन्तर्वार्ताका लागि समय दिन्थे। करिब दुई घण्टासम्म चल्ने अन्तर्वार्ताका क्रममा यी उच्च हैसियतका सहभागीहरूले मसँग समान हैसियत भएको वा कम्तीमा पनि आत्मीय सम्बन्ध रहेको अनुभूति सहजै सिर्जना गरिदिन्थे। 

अन्य सन्दर्भमा काम गर्ने केही मानवशास्त्रीहरूले अनुभव गरेझैँ ‘स्टडिइङ-अप’को पद्धतिमा सम्भ्रान्त अनुसन्धान सहभागीहरूले पनि आफ्नो शक्ति र हैसियतलाई प्रत्यक्ष रूपमा प्रदर्शन नगर्ने छनोट गर्न सक्छन्। समान हैसियतका व्यक्तिहरूबीच संवाद भइरहेको जस्तो वातावरण बनाउँदा अनुसन्धानकर्ताको सद्भाव र विश्वास जित्न सकिन्छ भन्ने उनीहरूलाई राम्रोसँग थाहा हुन्छ। सम्भ्रान्त वर्गको अध्ययन गर्नु भनेको सञ्चारमाध्यमसँग व्यवहार गर्न अभ्यस्त, आफूलाई घमण्डी वा अनुपलब्ध देखाउनुको खतराबारे सुसूचित र कम्तीमा कहाँ देखा पर्ने अथवा सहयोगी बन्ने र मैत्रीपूर्ण देखिन प्रयास गर्ने पेशेवर व्यक्तिहरूसँग काम गर्नु पनि हो। पहिलेदेखि नै सचेत र पोख्त देखा पर्ने यस वर्गका बारेमा सृजना राणा भन्छिन्, “वास्तविकता यो हो कि तपाईंको आमाबुबाले तपाईंमा बडप्पन देखा नपरोस् भन्ने चाहन्छन्।” 

सम्भ्रान्त वर्गको वास्तविक सम्मान र संरक्षक वा हेपाहा व्यवहारबीचको सीमा छुट्याउन सम्भ्रान्त वर्गकै अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि पनि कठिन हुन्छ। उदाहरणका लागि, जर्मनीका औद्योगिक सम्भ्रान्त वर्गका पत्नीमाथिको आफ्नो अध्ययनमा बोनिशले आफ्ना सहभागीहरूबाट एक प्रकारको परोपकारी वा अभिभावकत्वपूर्ण व्यवहार अनुभव गरिन्, जसलाई उनी ‘आमाजस्तो’ व्यवहार भन्छिन्। अन्तर्वार्तामा सहभागी एक महिलाले बोनिशलाई विद्यावारिधि पूरा गरेपछि जागिर खोज्न सहयोग गर्ने कुरासमेत गरिन्। बोनिशले उक्त कुरालाई आफ्नी सहभागीले ज्ञानको शक्तिलाई सम्मान गरेको र विद्यावारिधि गरिरहेकी अनुसन्धानकर्तालाई भविष्यमा सम्भ्रान्त वर्गमा प्रतिष्ठित स्थान हासिल गर्न सक्ने व्यक्तिका रूपमा स्वीकार गरेको सङ्केतका रूपमा व्याख्या गर्छिन्। तर मेरो बुझाइमा एकतर्फी रूपमा गरिएको यस्तो ‘सहयोगको प्रस्ताव’ उनीहरूबीच रहेको शक्ति असन्तुलनकै अभिव्यक्ति हो। 

अध्ययनको विषय रहेको सम्भ्रान्त वर्गको तुलनामा अनुसन्धानकर्ताको कमजोर सामाजिक अवस्था रहेको तथ्य पहिचान गर्न नसक्दा बोनिशले दुवै पक्षबीचमा समानता भएको भ्रम सिर्जना गरेकी छन्। सामाजिक भिन्नता निर्माण हुने सामाजिक क्षेत्रको विश्लेषण गर्नु अति महत्त्वपूर्ण छ भन्ने पियरे बर्दयूको विचारसँग म सहमत छु। 

बोनिशले आफ्ना सहभागीहरूसँग दुई-तीन घण्टासम्म एक-एक गरी उत्तरदातामुखी खुला अन्तर्वार्ता लिएकी थिइन्। उनले आफ्ना सहभागीहरूलाई ठूलो सामाजिक जमघट वा समूहमा अवलोकन गर्ने अवसर पाइनन्, जहाँ उनीहरूमाझ भिन्नता कायम गर्ने वा अरूबाट दूरी कायम गर्ने व्यवहार आफूतर्फ कसरी निर्देशित हुन्छ र लागू हुन्छ भन्ने देख्न सकिन्थ्यो। त्यसकारण उनी कृत्रिम रूपमा सिर्जना गरिएको अन्तर्वार्ताको वातावरणमा सहभागीहरूले भनेका कुरामै निर्भर रहिन् र आफ्नै अनुसन्धानगत अवस्थाको समालोचनात्मक विश्लेषण गर्न असमर्थ भइन्। 

अनुसन्धानकर्तासँग साँघुरो वातावरणमा पुन: भेट हुन सक्ने सम्भावना कम भएकोमा ध्यान दिँदै सम्भ्रान्त वर्गका सदस्यहरूले अन्तर्वार्ताका क्रममा अनुसन्धानकर्तासँग समान हैसियतको सम्बन्धमा रहेको भान पार्ने गरी व्यवहार गर्न सक्छन्। जस्तै, राणा सम्भ्रान्त वर्गका उच्च तहका सदस्यहरूसँग करिब दुई घण्टासम्म चलेका अन्तर्वार्ताका क्रममा मैले उनीहरूलाई पहिलो नामले सम्बोधन गर्नसमेत अनुमति पाउँथे। यो उनीहरूले मसँग आत्मीय सम्बन्धको अनुभूति गराउने प्रयास गरेको सड्केत थियो। तर उही व्यक्तिले आफ्नो पारिवारिक जमघटहरूमा भने मलाई सकेसम्म टाढै राख्ने स्पष्ट प्रयास गर्ने गर्थे। ठूलो नरम सोफामा बसेर, हातमा वाइनको गिलास र छेउमा चाँदीको किस्तीमा सजाइएका स्यान्डविचसहित अन्तर्वार्ता गर्ने वातावरण मानवशास्त्रीका लागि असामान्य अनुभव हुन सक्छ। तर यस्तो वातावरणले दिने आत्मीयता र स्वीकार्यताको अनुभूतिबाट अनुसन्धानकर्ता भ्रमित हुनु हुँदैन। सम्भ्रान्तहरूका ‘द्वारपाल’ त्यहाँ पनि तैनाथ रहिरहन्छन्। दुई घण्टा लामो अन्तर्वार्ता लिइसकेपछि पुनः आउन नपरोस् भन्ने मानसिकता लिई शिष्टतापूर्वक अनुसन्धानकर्ताले बिदा लिनुपर्ने हुन्छ। 

मैले प्रभाव गुमाउँदै गएको राणा वंशको अध्ययन गरिरहेकी थिएँ र कम प्रभावशाली नातेदारहरूसँग काम गर्ने र घुलमिल हुने अवसर पाएकी थिएँ। त्यसैले, कहिलेकाहीं प्रभावशाली सम्भ्रान्तहरूलाई उनीहरूको वास्तविक सामाजिक परिवेशमा पनि अवलोकन गर्न सक्थें। त्यस्ता घटना अवलोकनपश्चात् कम प्रभावशाली नातेदारहरूसँग बसेर त्यसबारेमा छलफल गर्नु र प्रभावशाली सम्भ्रान्तहरूले कसरी तिरस्कार वा बेवास्ता गर्ने प्रयास गर्थे भन्ने अनुभव गर्नु यान्त्रिक अन्तर्वार्ताको वातावरणभन्दा पृथक् ‘स्टडिइङ-अप’को एक अङ्ग थियो।

कतिपय अवस्थामा मलाई आफू निकै हास्यास्पद देखिएको हुनुपर्छ भन्ने लाग्छ। कहिलेकाहीं उनीहरूले मलाई पूर्णतः बेवास्ता गर्थे, कुरा गरिरहेकै बेला ढाड फर्काएर हिँडिदिन्थे वा म बोलिरहेको अवस्थामा मलाई एक्लै छाडिदिन्थे। तर म त सम्भ्रान्त वर्ग र उनीहरूको पतनको अध्ययन गरिरहेको थिएँ। त्यसैले हास्यास्पद वा असहज अवस्थाको अनुभव आफ्नो उत्कर्षकाल पार गरिसकेका धेरै सम्भ्रान्तहरूको पनि साझा भोगाइ थियो। सामाजिक हैसियत ओरालो लाग्ने क्रममा ‘हिष्टेरिसिस’का कारण उत्पन्न हुने यस्तो असामञ्जस्यपूर्ण अवस्थालाई बर्दयूले ‘डन किहोते इफेक्ट’ भनेका छन्। मेरा अनुसन्धानका केही सहभागी र म स्वयंमा पनि डन किहोते इफेक्टको फरक-फरक रूप देखिन्थ्यो। उनीहरू आफूलाई अझै पनि ‘शूरवीर’ ठानिरहेका थिए भने मचाहिँ कुनै ‘भीमकाय’सँग जुधिरहेको अवस्थामा थिएँ।

समग्रमा भन्नुपर्दा, प्रभावशाली सम्भ्रान्तको अध्ययन गर्नु चुनौतीपूर्ण काम हो। उनीहरूसम्म पुग्न कठिन हुनु, अनुसन्धान छोटो अवधिका अन्तर्वार्तामा सीमित हुनु र सम्भ्रान्तहरूले योजनाबद्ध रूपमा निर्माण गर्ने आफ्नो सार्वजनिक छविको सामना गर्नुपर्ने अवस्थाले यो चुनौती अझ जटिल बनाउँछ। राणाहरूको अध्ययनबाट प्राप्त मेरो अनुभवका आधारमा सम्भ्रान्तहरूको स्वप्रस्तुतीकरणलाई एउटा विशिष्ट पाठ वा अभिव्यक्तिको रूपका विश्लेषण गर्नुपर्छ भन्ने मेरो सुझाव छ।

अपोइन्टमेन्ट एन्थ्रोपोलोजीले सिर्जना गर्ने समयसीमा र यान्त्रिक अन्तर्वार्ताको अवस्थाबाट बाहिर निस्कन, विभिन्न सामाजिक समूह हुने कार्यक्रमहरूमा पनि सहभागी हुनुपर्छ भन्ने मेरो सुझाव छ। त्यसरी मात्र द्वारपालहरूले पहुँच नियन्त्रण गर्ने तरिका प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिन्छ। सम्भ्रान्त वर्गको कार्यप्रणालीभित्र गहिरोसँग गाँसिएका बहिष्करणका संयन्त्रहरूलाई बुझ्नु भनेको उनीहरू कसरी काम गर्छन् भन्ने कुरा बुझ्नेतर्फको महत्त्वपूर्ण कदम हो।


स्टेफनी लोटर लन्डन विश्वविद्यालयको स्कूल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजअन्तर्गत मानवशास्त्र तथा समाजशास्त्र विभागमा आबद्ध अनुसन्धानकर्ता हुन्। ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *