
संवत् १८७१ सालमा नालापानीमा अङ्ग्रेजसँग लड्ने नेपाली वीरहरूमा रिपुमर्दन थापा पनि एक थिए। नालापानीमा सुरूदेखि अन्त्यसम्म भएका लडाइँको बयान यिनले जति विस्तारमा अरूले गरेका छैनन्। यस्तो वर्णन उनले गढवालको श्रीनगरबाट राजालाई पठाएको अर्जी अनि जर्नेल भीमसेन थापा र काजी रणध्वज थापालाई पठाएको चिठीमा पाइन्छ।
थापाले लडाइँका बेला लेखेका चिठीबाट नालापानी किल्लामा सुब्बा चन्द्रवीर थापा, नाथु माझी, सुवेदार दयाराम खड्का आदि पनि लडेका थिए भन्ने थाहा पाइन्छ। उनीहरूमध्ये चन्द्रवीर, नाथु र सुवेदार दलजित कुँवर नालापानीमा लड्दालड्दै मरेछन् भन्ने कुरा थापाकै चिठीमार्फत हामी थाहा पाउँछौँ।
बलभद्र कुँवर, रिपुमर्दन थापाहरू किल्ला छाडेर बाहिर जाँदा उनी नालापानीमै थिए। पछि अङ्ग्रेजले दयारामसमेत एक सय ८० जना घाइते नेपालीलाई भेला गरेर आफ्नो छाउनीमा पुर्यायो । नेपालीहरू अङ्ग्रेजको छाउनी पुगेर घाइतेहरू मागे । रिपुमर्दनको चिठी अनुसार अङ्ग्रेजले घाइतेको उपचार आफै गर्छु भनी बतायो। अर्थात् नालापानीका घाइतेलाई युद्धबन्दी बनायो।
रिपुमर्दनका चिठी अरू हिसाबले पनि महत्त्वपूर्ण छन्। महेशराज पन्तले ‘नालापानीको लडाइँ’ शीर्षकमा पूर्णिमाको वर्ष १, अङ्क १मा लेखे अनुसार रिपुमर्दनले पठाएको पत्रबाट नालापानीको युद्धलाई नेपाली दृष्टिबाट बुझ्न मद्दत पुग्छ।
रिपुमर्दन नालापानी किल्लामा लडेका बेलातिर उनी र उनका भाइ जसमर्दन थापालाई सरदार पगरीले सम्मानित गरियो र भिर्कोटको कम्पनी तैनाथ गराइयो। यो कुरा भाइ जसमर्दनको चिठीमार्फत थाहा पाएका रिपुमर्दन अत्यन्तै खुसी भए र जर्नेल भीमसेन थापा अनि काजी रणध्वज थापाप्रति कृतज्ञ भए।
जसमर्दनले रिपुमर्दनलाई पठाएको सोही चिठीमा उनले “म पनि आउँछु” भनी लेखेका थिए। जसमर्दन कुमाउँमा खटाइएका रहेछन्। वैशाखको मध्यमा अङ्ग्रेजले कुमाउँ हमला गर्दा जसमर्दन, बम शाह, अंगद, अमरसिंह रोकायासँगै नन्दादेवीमा थिए। सैनिकका परिवार पनि त्यहीँ थिए। उनीहरूलाई अङ्ग्रेज फौजले घेरा दिएर राखेको थियो। काजी चामु भण्डारी, सरदार रणसुर कार्की र सुवेदार खम्ब शाही त्यति बेला अल्मोडाको कालिमाटीमा थिए। तर जसमर्दनहरूलाई सहयोग गर्न जान पुग्ने फौज उनीहरूसँग थिएन। अङ्ग्रेजसँग ठूलो फौज थियो।
केही उपाय नलागेपछि नेपाली फौजले कुमाउँ छाडेर महाकाली पूर्व जाने शर्तमा अङ्ग्रेजसँग मेलमिलाप गर्यो। मेलमिलाप सन्धिमा एक्लै हस्ताक्षर गर्न त्यहाँका प्रशासक तथा सैनिक चौतरिया बम शाहले मानेनन् र अरू प्रभावशाली सैनिकलाई पनि सही गर्न लगाए। सही गर्ने मध्येमा जसमर्दन पनि थिए। बम शाहहरू महाकाली पूर्व आउँदा जसमर्दन र सुवेदार जयकृष्ण थापालाई भने अङ्ग्रेजबाट आउन सक्ने सन्देश लिएर आउन अल्मोडामै खटाइएको थियो।
रिपुमर्दन राजा गीर्वाणले १८६५ कात्तिक सुदी ५ मा काँगडाको किल्लामा पठाएको नयाँ सुवज कम्पनीका थप फौजका सुवेदारमध्ये एक थिए। उनीसँगै सुवेदार निर्मल थापाको नेतृत्वमा रहेको दुर्गाबक्स कम्पनी, सुवेदार हरि पाँडेको समरसुर कम्पनी र सुवेदार बीरु गुरुङको रणदल कम्पनी पनि त्यता गएका थिए। उनीहरूलाई राजाले यसो भनेका थिए, “काजी अमरसिंह थापाको आदेश अनुसार दिलो ज्यानले काम गर। यसो गरेसम्म र हामीप्रति बफादार रहेसम्म तिमीहरूलाई तीन वर्षसम्म खोसिने छैन। राम्रो काम गर्नेलाई पुरस्कार र सम्मान दिउँला। थापा काजीको आदेश नमान्नेलाई दोषी ठहराउँला।”
यसरी खटाइएको फौजलाई कान्तिपुरको वसन्तपुर बैठकमा यसो यसो गर्नु भनी निर्देशन दिइन्थ्यो। यस्तै निर्देशन लिएर पश्चिम गएका रिपुमर्दनले गणेश घाटी, मोरनी र बेसहरमा पनि लडाइँ लडेका थिए।
शिवप्रसाद डबराल चरणले मोरनीमा गोरखाली हमलाको वर्णन गर्ने क्रममा वीर गोरखाली सैनिकहरूको नाम लिएका छन्। तीमध्ये रिपुमर्दनको नाम पनि परेको छ। भीमसेन र रणध्वजलाई आशिष दिने हैसियत भएका सैनिक अधिकारी चन्द्रवीर कुँवरले पनि पश्चिम विस्तारका क्रममा भएका लडाइँमा सुवेदार रिपुमर्दन थापासँग मतो गरी सैन्य परिचालन गरेको बताएका छन्। यसबाट रिपुमर्दन नालापानीको युद्धभन्दा अघि नै पश्चिम मुहुडामा नाम चलेका सैनिक थिए जस्तो देखिन्छ।
नालापानीमा हारेपछि घाइते रिपुमर्दन श्रीनगरमा बसेका थिए । संवत् १८७२ जेठ ४ गते बडाकाजी अमरसिंह थापाले अक्टरलोनीसँग सम्झौता गरी काजी बखतावर सिंहलाई गढवाल किल्ला अङ्ग्रेजलाई सुम्पेर कुमाउँ हुँदै नेपाल जान आदेश दिएपछि रिपुमर्दन पनि महाकाली पूर्व आए जस्तो देखिन्छ।
संवत् १८७२ सालको साउन सुदी १२ मा रिपुमर्दन भाइ जसमर्दन, बम शाह, बखतावर सिंह, रणदीप सिं बस्न्यात, अजमर पंथ, चामुभण्डारी र अंगद सिंसँगै बैतडीमा खटिएका थिए। त्यहाँबाट उनीहरूले अङ्ग्रेजसँग सन्धि गर्दा मधेश छाड्न नहुने सल्लाह दिएका थिए।
चौतरिया बम शाहले १८७२ फागुनमा डडेलधुराबाट भीमसेन र रणध्वजलाई चिठी लेखे। त्यसमा उनले अङ्ग्रेजले बैतडीको झुलाघाटपारि र नेपालीले वारि सुरक्षा घेरा बलियो बनाएको, नेपालीको आवतजावत बन्द गरिदिएको साथै नेपाली जासुसले महाकालीपारि पुगेर ल्याएको विभिन्न ठाउँमा तैनाथ अङ्ग्रेज सैनिकको विवरण पनि दिएका छन्।
यति बेला लडाइँ भर्खरै मात्र सकिएको थियो तर त्यो खबर पश्चिममा नपुगेको हुन सक्थ्यो।
संवत् १८७२ सालमा रिपुमर्दनको कम्पनी अरिदमनले जागिरमा पाएको भीरकोटको जमिन बाढीले बगाइदियो। त्यसैले त्यस वर्षको बाली २५०० (रुपैयाँ ?) कम्पनीले खान नपाएको गुनासो गर्दै बाली उठाइदिन रिपुमर्दनले अनुरोध गरे र आउँदो वर्षका लागि जग्गाको कुतको दर बढाई पाउन पनि बिन्ती गरे। चिठीका अनुसार रिपुमर्दन र जसमर्दन दुई भाइका परिवार पाल्नका लागि नागर्या भन्ने ठाउँको ११ सय (रुपैयाँ आम्दानी हुने ?) जग्गा सरकारले दिएको थियो तर त्यो बाली उठाउने व्यवस्था भएन र रिपुमर्दनको परिवारले पाएन। संवत् १८७२ को फागुन वा सो भन्दा पहिले रिपुमर्दनका भाइ जसमर्दनको देहान्त भयो।
संवत् १८७३ भदौमा चाहिँ रिपुमर्दन डडेलधुरा खटिएका थिए। उनले त्यहाँबाट भीमसेन र रणध्वजलाई लेखेको पत्रमा चौतरियाका चिठीले मालुम होला भन्ने बेहोरा लेखेकाले बम शाह पनि डडेलधुरामै रहेछन् भन्ने देखिन्छ। चिठीमा उनले लाहुर पुगेर आउने मानिसले ल्याएको खबर सही हो कि होइन भनी जाँच्न मानिस पठाएको कुरा गरेका छन्। त्यस्तै गरी पश्चिम मुहुडामा छाडिएका नेपालीहरूको अवस्था अनि अङ्ग्रेज तथा रणजित सिंहका कदमबारे पनि जानकारी गराएका थिए।
चिठीबाट के देखिन्छ भने उनले नियमित रूपमा जागिर पाएका रहेनछन्। कुनै वर्ष ढाक्रे पनि हुनुपरेको रहेछ। उनले लेखेका छन्– ढाक्रे भएका वेलाको बाली कत्ति पनि पाइनँ। जागिरे भएका वेलाको पनि पूरा बाली पाइनँ।
धन्न १८७३ सालमा चाहिँ उनको कम्पनीको जागिर डडेलधुरा नजिक डोटीमा दिइएको रहेछ, जहाँको बाली उनी आफै उठाउन सक्थे जस्तो देखिन्छ। त्यति बेला गुनासो हुँदाहुँदै पनि सेवा गर्ने काममा आफू कत्ति पनि पछि हट्दिनँ भनी लेख्नुपर्दो रहेछ। उनले पनि त्यसै गरेका छन्।
पछिल्लो वर्ष १८७४ माघतिर दावली सेरामा खटाइएका उनले त्यहाँबाट भीमसेन र रणध्वजलाई पठाएको चिठीमा लेखेका छन्– बलभद्र कुँवर लाहुर पुगेको र त्यहाँ उनलाई पहाडी सिपाही तैनाथ गरिदिई मासिक रु. ११ तलब दिइएको हल्ला आएको थियो तर बुझ्न पठाएका मानिसले उनी त्यहाँ नपुगेको खबर ल्याए।

रिपुमर्दनले धार्मिक कामको बिँडो पनि थामेका थिए। रिपुमर्दनका “बाज्या बज्यू” अर्थात् बडाकाजी अमरसिंह थापा र उनका जहानले आफूले पाएको बिर्ता मध्येबाट ९० मुरी धान उब्जने खेत धादिङको केवलपुरमा पूजाआजाको व्यवस्था मिलाउन र दुईवटा पौवाको सम्भार गर्न छुट्याएका रहेछन्। राजा राजेन्द्रले १८७९ मा यो जग्गा रिपुमर्दनका नाममा थमौती गरिदिए।
यस्तै गरी रिपुमर्दनका बाबु रणध्वजले काठमाडौँ उपत्यकाको शङ्खमूल घाटमा बनाएको मन्दिरको गुठीका लागि छुट्याएको जग्गा पनि राजाले १८७९ भदौमा रिपुमर्दनका नाममा बिर्ता गरिदिएको ताम्रपत्र जारी गरेका थिए।
राजाले यी गुठीका लागि जग्गा छुट्याइएको भनी रिपुमर्दनका नाममा पत्र जारी गरेकाले केही प्रश्न उब्जाएको छ। जस्तै, केवलपुरमा गुठी राख्ने बडाकाजी त पहिल्यै बितिसकेका थिए तर उनका छोरा जीवितै थिए। त्यसैले उनका छोराका नाममा बिर्ता गर्नुका सट्टा “तेरा बाज्या अमरसिंह थापा” भनेर नाति रिपुमर्दनका नाममा पत्र किन जारी गर्नुपर्यो? शङ्खमूलको गुठी स्थापना गर्ने रणध्वज अर्थात् रिपुमर्दनका बाबुको मृत्यु कहिले भयो भन्ने कुरा यकिन छैन तर गुठीको जग्गाबारे रिपुमर्दनका नाममा पत्र जारी गरेको वर्ष १९७९ सालसम्म उनी जीवितै थिए। गुठी राख्ने बाबु जीवित हुँदा हुँदै “तेरा वावा रनध्वज थापाले वनायाको” भनेर रिपुमर्दनका नाममा बिर्ता कायम गरिदिएको पत्र राजाले किन जारी गर्नुपर्यो?
रिपुमर्दनलाई १८८१ माघ सुदी ७ मा भीमसेन थापाका नाति र अमरसिंह थापाका छोरा भक्तवीर थापासँगै काजी बनाइयो। उनीहरूलाई ११६ वटा खेत र रु. ३५०० खुवा आम्दानीको व्यवस्था पनि गरिदिइएको थियो। यसबापत उनीहरूले ४५ जना बन्दुकधारी सिपाही र एउटा तोपको व्यवस्था मिलाउनुपर्थ्यो।
यसको केही समयपछि रिपुमर्दनलाई अरुण नदी पूर्वको कामकाज हेर्ने जिम्मा दिइयो। त्यहाँ उनले कप्तान पदमा रहेर राजाले यस अघि बाँधिदिएको थिति कायम राखिदिने अधिकार पनि पाएका थिए। राजाले पहिले अरुण पूर्व र मेची पश्चिमका लिम्बू र राईलाई “पानी नचल्न्या अछुति जातका मानिससँग उनीहरू त्यस जातका हुन् भन्ने थाहा नपाईकन यौन सम्पर्क भएमा चोखिने पहिलेकै विधि थामिदिएको” जानकारी उनले संवत् १८९१ मा तमर खोला, आठराई, फेदाप, छथर, चौविसे, पाँचथर र फाकफोकका नीतियार राई र लिम्बूहरूलाई दिएका थिए।
त्यति बेला उनी काजी नरसिंह थापासँगै चैनपुरमा खटिएका थिए। एउटा पत्रमा उनले आफूलाई कप्तान भनेका छन् भने अर्को पत्रमा काजी भनेका छन्। यसको अर्थ उनी मानका दृष्टिले काजी थिए भने पदका हिसाबले कप्तान।
यहाँ यी दुई काजीहरूले यस अघि राजाले गरेका कामलाई नवीकरण गरिदिने अधिकार पनि पाएका थिए। संवत् १८९१ सालमा काजी नरसिंह थापासँग मिलेर लेखेको चिठीमा उनीहरूले तमर नदी किनारको छरुवा दोभानमा स्थापना गरेको त्रैलोकेश्वर महादेवको मन्दिरको पूजाआजा र पौवाको मर्मत सम्भारका लागि महावीर, नरवीर र रूपनारान्ले राखेको र पहिले राजाले अनुमोदन गरेको गुठी उनीहरूले थमौती गरिदिएका थिए।
संवत् १८९३ सालमा चाहिँ रिपुमर्दन काठमाडौँमा थिए। राजाले तिमी घोडाबाट लड्न अथवा बिरामी हुन सक्छौ, होस गर्नू भनी उनलाई सतर्क गराएका थिए। नभन्दै उनी कीर्तिपुरमा घोडाबाट लडेर तीन महिना बिरामी परे। राजाले सोही वर्ष उनलाई कम्पूको कप्तान बनाए। राजाको आदेश पाएर उनले काजी रणजोर थापासँग “निमक हरामी गरी दौलथ षायावापत्” ७३ हजार रुपैयाँ असुल गरी दरबारमा दाखिला गरिदिए। यसले उनको वैरी बढायो। उनलाई अप्ठ्यारोमा पार्न दरबार वरपरका मानिस लागे। त्यतिबेला उनलाई आफ्नो प्रारब्धले गर्दा राजालाई रिझाउन सक्ने रहेनछु भन्ने लाग्यो जुन उनले राजालाई बताएका थिए।
आफूलाई पछि पूर्वपश्चिम जहाँको पल्टन तैनाथ गरी कप्तान वा कुमेदान वा सुवेदार जुन पद दिए पनि खुसी हुने कुरा उनले लेखेका छन्। उनलाई आफूलाई लाए अह्राएको काम राम्रोसँग गर्न सक्छु भन्ने आत्मविश्वास थियो। त्यसैले त उनले राजालाई लेखेको अर्जीमा भनेका छन्, “..जो परि आयाका काजकाममा कौनै भाइभन्दा घटी काम गर्याँ भन्या तोपमा राखी गोलाले उडाइदिनू।”
अर्जीमा मिति लेखिएको छैन। राष्ट्रिय अभिलेखालयमा रहेको यसको मेटाकार्डमा १८९३ कार्तिक वदि १ रोज ३ भनी लेखिएको छ। तर यो अर्जी लेखिएको मिति होइन, अर्जीमा उल्लेख भएको एउटा घटना भएको मिति हो। यसमा त्यो अर्थात् १८९३ मंसिरमा भएको घटनापछि १८९४ साउनमा उनले गरेका बहादुरीको परिणाम नराम्रो निस्केको कुरा उल्लेख छ। त्यसको अर्थ अर्जी १८९४ उनभन्दा निकैपछि लेखिएको हुनुपर्छ। अर्जी लेखेपछि राजाकहाँ पुर्याइदिने मानिस उनले भेटेनछन्। त्यसैले त्यही अर्जीको तल उनले अलि मसिना अक्षरमा आफ्ना कुरा थपेका छन्। त्यहाँ उनले यो अर्जी मंसिरमा लेखिएको भनेका छन्। त्यसैले अर्जीको पहिलो खण्ड १८९४ मंसिरमा लेखिएको हुनुपर्छ। पछिल्लो खण्ड कहिले लेखिएको हो भनी उल्लेख छैन। तर त्यसको व्यहोरा हेर्दा यो १८९५ जेठपछि लेखिएको हुनुपर्छ। पछिल्लो खण्डमा लेखिएको विवरण अनुसार, १८९५ वैशाखमा रिपुमर्दन राजासँग बिदा मागेर मुक्तिक्षेत्र र दामोदर कुण्डको तीर्थ गर्न गए र जेठको पहिलो साता फर्किए।
फर्कँदा उनले पर्वतको पलिनटारमा (उनले जागिरमा पाएको?) जग्गा हेर्दा मेहनत गर्दा सहजै २/३ खेत बिराइने ठहर गरे। जग्गाको आम्दानीले परिवार पालेर आफू राजाको सेवामा लाग्न पाउँछु भन्ने उनलाई लाग्यो। अर्जी देख्दा थाहा हुन्छः त्यति बेला राजालाई निकै धेरै चाकडी गर्नुपर्दो रहेछ। रिपुमर्दनले लेखेका छन्, “कहाँ तक बिन्ती गरुँ! मेरा दैव भने पनि, विष्णु (भगवान्) भने पनि, पितामाता भने पनि हजुरै हुनुहुन्छ।”
त्यति बेला रिपुमर्दनका अर्का भाइ बादलसिंह थापा काशीमा बस्दा रहेछन्। त्यहाँ उनलाई रु. १८०० कर्जा लागेछ। त्यो नतिरी उनी त्यहाँबाट हिँड्न पाएका रहेनछन्। त्यसैले त्यो ऋण तिरिदिन उनले रिपुमर्दनलाई हारगुहार गरे। रिपुमर्दनलाई भाइले दुःख पाएकोमा नराम्रो लागेको थियो। उनले राजासँग यो ऋण तिर्ने पैसा र भाइ लिन जान बिदा मागे।
संवत् १८९६ सालमा चाहिँ कप्तान रिपुमर्दनले आफ्नो जागिर थामिए बापत धनकुटाबाट अर्जी लेखी त्यसमा १ रुपैयाँ दर्शनभेट पठाएका थिए (अरूले ४ रुपैयाँसम्म दर्शनभेट चढाउँदा रिपुमर्दनले चाहिँ १ रुपैयाँ मात्र चढाएका थिए)।
संवत् १८९७ माघमा उनले राजालाई लेखेको चिठीमा इलामदेखि मोरङसम्म दङ्गाफसाद भएको छैन भनी लेखेका छन्। यसको अर्थ हो उनी यी सबै ठाउँ हेर्ने गौँडा धनकुटामा खटिएका थिए।
राजा राजेन्द्रले रिपुमर्दन थापा र सिंह वस्यातमार्फत पूर्व चैनपुर अन्तर्गतको ओलाङचुङ गोलाको विवादबारे जारी लालमोहर अनुसार १८९८ सालतिर रिपुमर्दन पूर्व चैनपुरमा खटिएका थिए।
पश्चिम मुहुडामा लडाइँ गर्नेदेखि लिएर पूर्व इलामसम्मको प्रशासन चलाउने यी रिपुमर्दन थापा एउटै मान्छे हुन्? रिपुमर्दनलाई कतैकतै बुढाकाजी अमरसिंहका नाति तथा रणध्वजका छोरा भनिएको छ। यो कुरा सही होला?
नालापानीबाट भीमसेन र रणध्वजलाई लेखेको चिठीमा रिपुमर्दनले लेखेका छन्, “२ भाइलाई मिलाई सर्दारी मानको पगरीभीर्कोटको कम्पनी तैनाथ गराई बक्सनु भयाको छ । म पनि आउंछु भनी भाइ जसमर्दन थापाले लेखेको चिठि आयो।”
डडेलधुराबाट लेखेको चिठीमा चाहिँ उनले लेखेका छन्– खानगीमा मिलाइ भाइलाई पठाइदिनुभएथ्यो। अर्थात् जसमर्दन उनका खानगी मिल्ने भाइ रहेछन्। पर्ने भाइ मात्र होइन रहेछन्।
रिपुमर्दनका बाजे बडाकाजी अमरसिंहले रिपुमर्दनका बाबु रणध्वजमार्फत चढाएको पशुपतिको भित्री उत्तरद्वारको तोरणको रजताभिलेखमा तोरण चढाएको साल १८७१ सम्म जन्मिएका अमरसिंहका नातिहरूको नाम पनि उल्लेख छ। त्यसमा जसमर्दनको नाम छैन। यसको अर्थ हो, जसमर्दन बडाकाजीका नाति छोरा होइनन्। त्यसैले, जसमर्दनका दाजु रिपुमर्दन पनि बडाकाजीका नाति र रणध्वजका छोरा हुन सक्तैनन्।
(१८७२ साल) पौष वदी ४ रोज ४ मा भीमसेन र रणध्वजले रिपुमर्दन र उनका भाइ जसमर्दनका नाममा चिठी लेखेका थिए। त्यो चिठी बैतडी पुग्नुअघि नै जसमर्दनको मृत्यु भइसकेको थियो। तर रिपुमर्दनले भीमसेन र रणध्वजलाई त्यो कुरा बताएका रहेनछन्। त्यसको स्पष्टीकरण स्वरूप उनले लेखेका छन्: “दैवागत परि भाइको पर्लोग हुँदा घर षवर नपुगि तपाईँहेरुलाई चिठी कसोरिलेखौँ भनि चिठि नलेष्याको हो छेमा राषनुहोला।”
अर्थात् रिपुमर्दनले आफ्ना भाइ मरेको खबर पहिले आफ्नो घर पठाएर मात्रै भीमसेन र रणध्वजलाई दिने विचार गरेका थिए। रणध्वज यी रिपुमर्दनका बाबु हुन्थे भने भाइको मृत्युको खबर घर पठाउनु भनेको रणध्वजकहाँ पठाउनु भन्ने हुन्थ्यो। त्यसो नगर्नु भनेको रणध्वज उनीहरूका बाबु नहुनु हो।
श्रीनगरबाट पठाएको चिठीको सुरुमा रिपुमर्दनले भीमसेन र रणध्वजलाई “आसिषपूर्वकपत्रमिदम्” भनेका छन्। यी रणध्वजका छोरा हुन्थे भने बाबुलाई “आसिष” दिने थिएनन्। यही कुराका आधारमा महेशराज पन्तले लेखेका छन्– रिपुमर्दन नातामा भीमसेन थापा र रणध्वज थापाका मान्यजन रहेछन् भन्ने बुझिन्छ।
एउटा चिठीमा कतै गल्तीले पो “आसिषपूर्वकपत्रमिदम्” लेखिएको हो कि? उनै भीमसेन र रणध्वज थापालाई बलभद्र कुँवर, रिपुमर्दन थापा, चन्द्रवीर थापा, नाथु माझी, चामु बस्न्यात, गजसिं थापा, दलजित कुँवर र दयाराम खड्काले (१८७२ साल) कार्तिक सुदी ६ मा मुकाम नालापानी किल्लाबाट चिठी लेखेर नालापानीको सुरुका लडाइँको वर्णन गरेका छन्। त्यसमा उनीहरूले भीमसेन र रणध्वजलाई फरकफरक किसिमले अभिवादन गरेका छन्। उनीहरूले क्रमशः सेवा, आशीष, पाइलागु रसलाम भनेका छन्। यसको मतलब हो रिपुमर्दनले जर्नेल र काजीलाई आशीष नै दिने गरेका थिए।
महाकालीपारिको भूभाग गुमेपछि यी रिपुमर्दन बम शाहको कमान्डमा पश्चिम नेपालमा खटिएका थिए। फागुन सुदी १४ मा बैतडीबाट र १८७३ साल भाद्र सुदी ४ मा डडेलधुराबाट उनले भीमसेन र रणध्वजलाई पठाएका पत्रमा पनि रिपुमर्दनले उनीहरूलाई आशीष नै दिएका छन्।
त्यसैले यी रिपुमर्दन रणध्वजका छोरा र बुढाकाजी अमरसिंहका नाति नहुनुपर्छ।
संवत् १८९४ सालमा कम्पुको कप्तानी पाएका रिपुमर्दनले राजालाई चढाएको अर्जीमा रणजोर थापालाई निमक हराम भनेका छन्। यी रिपुमर्दन रणध्वजका छोरा हुन्थे भने रणजोर आफ्नै काका हुनुपर्छ। रिपुमर्दनले आफ्ना काकालाई त्यसो भने होलान् र काकाबाट त्यसरी पैसा असुले होलान् त?
राष्ट्रिय अभिलेखालयमा १८९६ सालमा जेठा महारानी समेतलाई कप्तान रिपुमर्दन थापा आदिले थमौतीको दर्शनभेट चढाएका ६थान कागज छन्। तिनमा रणजोर थापा र रामदास थापाबीच झगडा हुँदा रणजोर थापाले जितेर घर पाएको र त्यसबापत उनले जेठा महारानीलाई ४ रुपैयाँ दर्शनभेट चढाएको कुरा उल्लेख छ। यसको मतलब अमरसिंहका छोरा तथा र काका-भतिजबीच दरबार पुग्ने गरी झगडा भएको रहेछ। त्यसैले रिपुमर्दनले आफ्ना काका रणजोरलाई निमक हराम भन्नु र उनीबाट पैसा असुल्नु सामान्य कुरा नै हो।
केही लेखकले रिपुमर्दनलाई मगर थापा भनी उल्लेख गरेका छन्। यहाँ रिपुमर्दनले नालापानीको लडाइँबारे भीमसेन ररणध्वजलाई लेखेको पत्रमा “आसिषपूर्वकपत्रमिदम्” भनी अभिवादन गरेको कुरा सम्झनुपर्छ। पृथ्वीनारायण शाहका पालामा दरबारमा मगरहरूको राम्रो प्रतिष्ठा थियो। तैपनि त्यो जात प्रथामा आधारित समाज भएकाले के मगरहरूले क्षत्रीलाई आशीष दिन पाउँथे होलान्? त्यो चलन भीमसेनका पालासम्म कायम थियो होला?
सो समयमा लेखिएका अरू चिठीमा गरिएका सम्बोधनबाट पनि केही कुरा खुल्छ। यसका लागि नेपाल-अङ्ग्रेज युद्धभन्दा अलि पहिले मगर कमान्डर कीर्ति रानाले काजी रणध्वज थापालाई लेखेको चिठी हेरौँ। रिपुमर्दनभन्दा वरिष्ठ जस्ता लाग्ने कीर्तिले चिठीमा रणध्वजलाई सलाम गरेका छन्। अर्थात् मगर कमान्डरहरू उमेरमा जतिसुकै पाका भए पनि आफूभन्दा कान्छा काजी रणध्वज थापालाई उनीहरूले सलाम गर्नुपर्दो रहेछ । यसले के बताउँछ भने यी रिपुमर्दन मगर होइनन्।
अध्ययनका क्रममा फेला परेका सामग्रीका आधारमा नालापानीमा लडेका अनि अङ्ग्रेजसँगको लडाइँ थामिएपछि पश्चिम नेपालमा खटिएका रिपुमर्दन एकै हुन् र यी रणध्वजका छोरा होइनन्।
कीर्तिपुरमा घोडाबाट लडेका रिपुमर्दन नालापानीमा लडेका रिपुमर्दन होइनन्। उनी रणध्वज थापाका छोरा हुन्। त्यसपछि पूर्व धनकुटा र चैनपुर खटिएका रिपुमर्दन कुन रिपुमर्दन हुन् भनी यकिन गरेर भन्न सकिँदैन। यस्तै गरी यी रिपुमर्दनहरूको मृत्यु कहिले र कसरी भयो भन्ने जानकारी पनि उपलब्ध छैन।
मोहन मैनाली लेखक, पत्रकार तथा डकुमेन्ट्री निर्माता हुन्। उनको पछिल्लो पुस्तक 'मुकाम रणमैदानः नेपाल-युद्धको बखान' हो। ...
मोहन मैनाली लेखक, पत्रकार तथा डकुमेन्ट्री निर्माता हुन्। उनको पछिल्लो पुस्तक ‘मुकाम रणमैदानः नेपाल-युद्धको बखान’ हो।