14 February 2026

थक्सामाहा? : मुक्कुमलुङ (पाथीभरा) आन्दोलनका महिला योद्धाहरू 

झट्ट हेर्दा दैनिकी सामान्य देखिन्थ्यो । तर त्यो सामान्यपनभित्र असामान्य उथलपुथलको छनक थियो । पाथीभरा क्षेत्र विकास (गठन) आदेश  २०७५ (२०५३ को संशोधन) खारेज गर्ने, मुक्कुमलुङ क्षेत्र विकास समिति स्थानीयकै पहल र मातहतमा रहनेगरी गठन गर्ने, मुक्कुमलुङ क्षेत्रमा मुन्धुमी मान्यताअनुरूपकै संरचना र विकासका कामकाज हुनुपर्छ भन्ने एजेण्डासहित २०७५ सालबाट शुरू भएको मुक्कुमलुङ संरक्षणको संघर्ष पाथीभरा केबलकारको विवादमा केन्द्रित भई भित्रभित्रै भूङ्ग्रोझैँ सल्कँदो थियो । 

एकातिर, ताप्लेजुङको विकासका निमित्त पाथीभरामा केबलकार सञ्चालन गर्ने कम्पनीको ढिपी प्रदर्शन हुँदै थियो । अर्कोतिर, मुक्कुमलुङ संरक्षणकारीहरू ज्यान, धन र ज्ञानको आहुति दिएरै पनि केबलकार बन्न नदिई मुक्कमुलुङ बचाउन दृढ थिए । यी दुई खेमाबीचको मझधारमा थिए साना-मझौला व्यवसायी र मजदुरहरू, जोसँग पिसिनुको विकल्प थिएन । 

मूर्त/अमूर्त सम्पदा संरक्षणमा आदिवासी जनजाति आन्दोलनको भूमिकासम्बन्धी अध्ययन गर्ने हेतुले २०८० फागुनदेखि ०८१ असोजको समयावधिमा भूगोल-मानवशास्त्री, आर्किटेक्ट, कलाकार, अभियन्ता र श्रव्य-दृश्यकर्मीलगायतका अन्तर-राष्ट्रिय एवं बहुविधागत अनुसन्धानकर्मीहरूको समूह दुईपल्ट मुक्कुमलुङ पुगी “मोबाइल मेथोड”मार्फत् अध्ययन गरिरहँदाको माहोल हो यो । मोबाइल मेथोडोलोजीले सहभागीहरूको ताजा-जीवन्त अनुभव सुन्न, उनीहरूसँग प्रत्यक्ष रूपमा जोडिन, स्थानमा आधारित वास्तविक समयकै तथ्यांक संकलन गर्न, र, आन्दोलनको गतिशीलता बुझ्न र सहभागीहरूको संलग्नतालाई डिजिटल उपकरण र माध्यमहरूमार्फत निरन्तर “फलोअप” गर्न सहज बनायो । 

०८१ कार्तिक यता केबलकारको विवाद हिंसात्मक द्वन्द्वमा परिणत भयो । जसलाई स्थानीय व्यवसायी र मजदुरहरूले निजी कम्पनी र व्यापारीको आडमा “राज्य लागेको” र मुक्कुमलुङ संरक्षणकारीहरूले चाहिँ “राज्य आतंक” मच्चाइएको भन्ने गरेका छन् । मुक्कुमलुङ संरक्षणकारीहरूका लागि यो समुदायको ऐतिहासिक थातथलो खोस्ने “आधुनिक विकास” विरूद्धको लडाई मात्रै होइन, एकल सांस्कृतिक एकाधिकार जमाउने अभ्यासविरूद्ध सह-अस्तित्वसहितको मुन्धुमी विश्वास प्रणाली र जीवनशैली पुनर्स्थापित गर्ने जब्बर आन्दोलन पनि हो । यो लेखमा मुक्कुमलुङ संरक्षणकारी “थक्सामाहा?” (लिम्बू भाषामा महिला योद्धाहरू)को प्रतिरोधी भूमिका र भोगाईबाट आन्दोलनलाई बुझ्ने प्रयत्न गरिएको छ ।

केबलकार बन्ला त ?

“दिदी, यहाँ केबलकार बन्ला त?”, २०६३ सालदेखि मुक्कुमलुङ-पाथीभरामा होटल चलाउदै आएकी नुमा लिम्बूलाई सोधेंथें । उनी मुक्कुमलुङ-पाथीभरामा सात सय हाराहारीमा रहेका श्रमिक/भरिया र ४५ घर होटल व्यवसायीकी प्रतिनिधि पात्र हुन् । 

“बन्दैन । यदि बनि नै हाल्यो भने पाथीभरा माता भनु कि युमा माङ् जे भने नि उहाँ सृष्टिकर्ता रिसाउनुहुन्छ । अनि प्रलय हुन्छ । ताप्लेजुङ त रहँदै रहँदैन, नेपालै पनि रहँला नरहँला भन्न सकिदैन नि !” मनभरिको विश्वास सिँचेर यस्तो प्रतिक्रिया दिने नुमाले २०४४ सालमा फुङ्लिङ्ममा मोटरबाटो पुगेपछि नाम्गेत (काफ्लेपाटी)मा पाथीभरामा केबलकार बन्दैछ भन्ने सुनेर उनका बुबा लिङखिमबाट हेर्न आएको  स्मरण गर्दै भनिन् “त्यो बेला घिर्लिङ (केबलकार) हाल्ने कुरा कथा भइगयो, अहिलेको पनि कथै होस् ।”

विभिन्न सामाजिक पृष्ठभूमिका व्यवसायी-मजदुर एवं आम मानिसले आ-आफ्ना धार्मिक-सांस्कृतिक आस्था र २०७५ सालदेखि अविचलित चलिरहेको मुक्कुमलुङ संरक्षणको संघर्षको आधारमा पाथीभरा केबलकार बन्ला/नबन्ला भनेर आँकलन गर्ने गरेका छन् । हिन्दू हुन् या गैरहिन्दू, धार्मिक आस्था र अभ्यासलाई अग्रस्थानमा राख्नेहरू पाथीभरा माता वा मुक्कुमलुङ् युमा माङको संरक्षकत्व शक्ति र दण्डको उदाहरण दिँदै भने “यो ठाउँमा देवीले केबलकार चाहनुहुन्न भन्ने संकेत हामीले थुप्रै पटक पाइसकेका छौँ । ऊ बेला पर्यटन मन्त्री रबिन्द्र अधिकारी, आङछिरिङ शेर्पाहरूको टोली केबलकार बनाउने भनेरै आउँनुभएको रहेछ र नै देवीको दण्डमा पर्नुभएछ ।” यद्यपि, २०७५ फागुन १५ मा सात जनाको टोली पाथीभरा मन्दिर पुगेर फर्कदा भएको हेलिकप्टर दुर्घटनामा “दुर्घटना छानविन समिति”को निष्कर्ष थियो- त्यहाँको खराब मौसम, हतारको उडान र अक्सिजनको कमीले विमानचालकको मानसिक अवस्थामा असर पर्नु । 

माथ्लो फेदीको एक होटलमा कामदारका रूपमा घोट्नु घोटिइसकेपछि गत भदौदेखि नामजाङ (बलु डाँडा)का होटल थापेकी सानु क्षेत्रीले भनेकी थिइन् “केबलकार बन्दैन भन्ने सोचेरै मैले १५ दिनअघि मात्रै यहाँ पसल थापेकी छु । तीन वर्षको लागि अग्रीम भाडा पनि बुझाईसकेकी छु- तीन लाख, ऋणै काढेर । बन्दैन होला । नबनोस् पनि हामी गरिब मार्ने केबलकार ।” 

नामजाङ्कै अर्की व्यवसायी फुङ्मा लिम्बूले आफ्नो समुदाय र आन्दोलनप्रति पूर्ण भरोसा राख्दै भनेकी थिइन् “कसरी बन्छ हउ ? हामी ज्यूँदै छुङ् । बनाउन दिदुङ्ना नै ।” उनी चौबिसै घण्टा नामजाङकेन्द्रित भइ मुक्कुमलुङ रक्षार्थ खटिएका “मुक्कुमलुङका योद्धा”हरूकी आश्रयदाता हुन् । केबलकार कम्पनीले काम अघि बढाउनका लागि कुनैपनि बेला रूख काट्न सक्ने र सुरक्षा निकायलाई समेत परिचालन गर्ने पक्कापक्की भएपछि युवाको एउटा समूह नामजाङमै २०८० कार्तिकदेखि तैनाथ रहन थालेका थिए । हाम्रो बातचितकै बीचमा युवाहरूतर्फ फर्केर ठूलो स्वरमा हकका साथ बोलिन् “यहाँनेरी बनाउन दियो भने म तिमेरूको खुट्टासुट्टा भाँचिदिन्छु पो” । 

मुक्कुमलुङ-पाथीभरा भूमि आफैमा सांस्कृतिक र ऐतिहासिक महत्वको थलो भएकोले पहिचानजनित धार्मिक-सांस्कृतिक आस्था, भू-स्वामित्वको अर्थ-राजनीतिक संघर्ष एकैसाथ जोडिएर आउँछ । यस्तो अन्तरसम्बन्धित पक्षकै कारण मुक्कुमलुङ संरक्षणकारीहरूको “मुन्धुमी मुक्कुमलुङ”को सांस्कृतिक भूमि र पूर्ख्यौली थातथलोको अवधारणागत दाबी विशेष महत्वको छ । र, “आन्दोलनलाई माङको आशिर्वाद छ” भन्दै संघर्षमा होमिएका कतिपय योद्धाहरूको विश्वास र आन्दोलनका समर्थक/शुभेच्छुकको भरोसाले समेत एकखाले आधार पाएको देखिन्छ । 

सशंकित वातावरण र अनिश्चितताको मनस्थितिमा प्रायजसो व्यवसायी/मजदुर महिलाहरू भेटिन्थे । नामजाङमाथिको क्षेत्रमा रहेका २१ घर होटल व्यवसायीलाई “अनाधिकृत बसोबास” गरेकोले स्थान खाली गर्ने रिट निवेदन सर्वोच्चमा परेपछि त्यहाँका व्यवसायी र मजदुर थप त्रसित बनेका थिए । बढीजसो व्यवसायी महिलाहरूले “खै, हामीलाई त केही पनि थाहा छैन” भन्ने प्रतिक्रिया दिएका थिए । पुरूषहरूले भने “व्यापारीसँग राज्य नै लागेको छ । बनाउँछन् क्यार ढिलोचाँडो” भनेका थिए । उचाई उक्लिदै जाँदा विद्युतीय उपकरणहरू बेकामे हुने सन्दर्भमा “केबलकार चल्न सक्ला त ?” भन्ने जिज्ञासामा माथ्लो फेदीकै एक होटलवालाले भने “त्यो चट्याङको कारणले हुने हो । त्यस्तो ऊर्जा नियन्त्रण गर्ने प्रविधि आइसकेको छ । यहाँ त्यो प्रविधि अपनाएर केबलकार चलाउलान् नि” । उनीहरूको अभिव्यक्तिमा पूँजी, सत्ता, शक्ति र शासकीय नायकत्वको करामतप्रतिको विश्वास झल्किन्थ्यो । जुन केबलकार बनाइनुको अन्तर्यमा चलिरहेको अर्थ-सामाजिक-सांस्कृतिक राजनीतिक अभ्याससँगको धेरथोर संलग्नता र सूचनाबाट प्रभावित थियो ।

Sara Tunich Koinch

केबलकार बन्न नदिने” भुइँकथा  

नुमा भालुगौडेमा बस्थिन्, माइतीको जग्गामा । १५ वर्ष ‍अविश्राम काफ्लेपाटी-मन्दिर-काफ्लेपाटीसम्म सरसामान र मान्छे पिठ्यूमा खेपिन् । तिर्थालुहरूलाई मन्दिर पुर्याइ तल झारेवापत शुरूमा दुई सयदेखि १० हजारसम्म ज्याला कमाइन् । तीर्थालुहरू हाक्पारे-कान्छी थानबाट माथि काँचो धागोको डोरी टाँग्दै उक्लिन्थे । उनी भने पिठ्यूमा भारीसँगै तीन डल्ला ऊन बोकेर मफलर बुन्दै उक्लिन्थिन्, ओर्लिन्थिन् । काफ्लेपाटीमा बाटो आयो, मोटर पनि चल्यो । काफ्लेपाटी मुन्तिरको एकमात्र पानी स्रोत माकवरक (कालीदह) भने सुक्यो । पानीको हाहाकार भयो । सडक मुन्तिरका बस्तीहरूमा सुख्खा पहिरो लाग्यो । बस्ती विस्थापित भयो । 

नुमा काफ्लेपाटी सरिन् । मजदुरी र व्यवसाय दुबै सम्हालिन् । बल, बुद्धि र सीपले आर्जन गरेको पैसाले आफ्नी एउटी छोरीलाई मुटु, कलेजो र मृगौलाको गम्भीर रोगबाट मुक्त पारिन् र नयाँ जीवन दिइन् । अर्की छोरी र छोरालाई गरिखाने बनाइन् । उनको सदिच्छा छ- भालुगौडेको घर पुननिर्माण गर्ने, र, कम्तिमा आफू बाचुन्जेलसम्म काफ्लेपाटीभन्दा माथिको पवित्र भूमिमा हस्तक्षेप हुन नदिने । 

बिडम्बना, नुमाले चाहैझैँ हस्तक्षेप नहुने स्थिति रहेन । पटकपटक केबलकारको काम थाल्ने प्रयत्न विफल बनेपछि फागुन २८ गते काफ्लेपाटीमा सशस्त्र प्रहरीको क्याम्प स्थापनानार्थ प्रहरी त्यहाँ पुगे । संयोगवस, त्यसकै भोलीपल्ट हाम्रो अध्ययन समूह मुक्कुमलुङ पुगेका थियौँ । त्यहाँ, मुक्कुमलुङ संरक्षणमा वैचारिक, भौतिक, आर्थिक र व्यवस्थापकीयलगायतका आवश्यकता परिपूर्तिका बहुजिम्मेवारी सम्हाल्दै आएकी रीता मादेनसँग बात मारे । सशस्त्र प्रहरीहरू फुङलिङबाट उकालो लागे भन्ने खबर पाउनासाथ छिमेकीलाई “घर हेरिदिनू है” भनेर उनी केही साथीसहित काफ्लेपाटीतर्फ हानिइन् । निकैबेर चर्काचर्की र नाराबाजी भए । रीताले त्यस दिनको कथा हाल्दै भनेकी थिइन्- “निकैबेर विरोध गर्यौँ अनि उनीहरू फर्किने भए । तर, भरे बा झुक्याएर फेरी त्यहाँ पुगी पो हाल्लान् कि भनेर हामी पनि सँगसँगै झरिउ । उनीहरूलाई ब्यारेकसम्मै पुर्याएरै फर्कियूङ । रातको २ बजे घर फर्केर हेर्दा २१ वटा मसिनो चल्ला त मरि पो गएछ” । 

मुक्कुमलुङ संरक्षणका निम्ति भुइँतहदेखि केन्द्रीय तहसम्मै महिलाहरूको प्रभावकारी संलग्नता रहीआएको छ ।सशस्त्र बललाई फर्काउने दिनको सन्दर्भमा सरू सिंगकले भनेकी थिइन् “केन्द्रमा हामीले कोशीस गर्दागर्दा बल्ल गृह मन्त्रालयबाट आश्वसन पायौँ- सशस्त्र फर्काउने आदेश गइसकेको छ, आधा घण्टाभित्र फर्किसक्नेछन्” । मुक्कुमलुङ संरक्षण आन्दोलनको शुरूआती चरणदेखि मुक्कुमलुङ भूमिबाटै संघर्षमा होमिएकी सरू पछिल्लो समयमुक्कुमलुङ बचाउ र केबलकार खारेजी आन्दोलनको वस्तुस्थिति र मागहरू संघीय सरकार र काठमाडौँका शक्ति केन्द्रहरूसमक्ष पुर्याउने सहजकर्ताको भूमिकामा रहेकी छिन् ।  

२०८१ वैशाख ३१ गते । आधारातमा सुरक्षा घेरामा रहेर निर्माण कम्पनीद्वारा केबलकार कुदाउने बाटो बनाउन जंगल फाडियो । मुक्कुमलुङमा भएका दुर्लभ र विशिष्ट प्रकारका अति उपयोगी रूखहरू मासिएपछि मुक्कुमलुङ संरक्षरणकर्ताहरूले असारभरी वृक्षारोपण र गोडमेल अभियान चलाए । ब्यापक बनेको उक्त अभियानद्वारा अभिप्रेरित भएर ११ जना कलाकार- कला लिम्बू, किरण सिगु, दीक्षा राई, पूजन लिम्बू, विनोद लिम्बू, मनरा प्रजापति, मेख लिम्बू, सपना नेपाली, सारा तुनिच कोइँच, सुवास तामाङ, सोनाम चाम्लिङलगायतले भदौ २२ गते मुक्कुमुलङ शीरमा “लाइभ पेन्टिङ र कला प्रतिरोध” प्रस्तुत गरे । कलाकारहरूको ताजा कलात्मक प्रस्तुती र सृजनासहित भदौ २६ गते मुक्कुमलुङ संयुक्त संघर्ष समितिको आयोजनामा फुङलिङमा भएको “सृजनात्मक कला प्रतिरोध प्रदर्शनी”लाई  स्थानीयवासी एवं सरोकावाला निकायका प्रतिनिधिहरूले समेत “नौलो” र “पावरफुल”को संज्ञा दिएका थिए । उक्त प्रदर्शनी “नो केबलकार” आन्दोलनको “मोनोटोनस” शैली र स्वरूपलाई सृजनशीलतातर्फ मोड्ने एक विन्दु बन्न पुग्यो ।

कम्पनी र राज्यको साँठगाँठविरूद्ध भिड्दै

कार्तिक २३ गते काफ्लेपाटीमा नुमाको होटल प्राङगणमै केबलकार शिलन्यासको क्रममा आन्दोलनकारी, सुरक्षाकर्मी र कम्पनीका कामदारहरूबीच मुठभेड भयो । तीनै पक्षका गम्भीर घाइते भए । निर्माण कम्पनीको हेल्मेट लगाई खुलेआम खुकुरी नचाइएको उक्त घटनामा मजदुरी गरिरहेका अर्जुन प्राङदेनको दाहिने कुम काटियो । अभियन्ता चन्द्र मादेनको टाउको फुट्यो । दाहिने हात भाँचियो । 

मुक्कुमलुङ संरक्षणकारीको खबरदारीको बाबजुद कडीकडाउ सुरक्षा व्यवस्था बनाई माघ ८ गतेबाट काफ्लेपाटी नजिकैको डढेलेमा कम्पनीले केबलकारको बेस स्टेशन बनाउन थाल्यो । शान्तिपूर्ण विरोधका निमित्त गाउँ-गाउँबाट मानिस मुक्कुमलुङ आइपुगे । माघ १२ मा नामजाङस्थित फुङ्मा र सानुलगायतका दोकानवालाको कोठा-कुनाहरूमा हातहतियार राखेको भन्दै खानतलासी, धरपकड र जथाभावी कुटपिट गरियो । अश्रु ग्याँसका साथै गोली प्रहार गरियो । मुक्कुमलुङ संरक्षणकर्ता कमला पालुङ्वाको टाउकोमाथिबाटै गोली उड्यो- सुइँऽऽय । उनी गोली छल्न थचक्कै भुइँमा बसिन् । जोगिनका लागि घर पुगिन । घरभित्र छिर्दा नछिर्दै फेरि गोली चलेको आवाज सुनिन् । पछाडीबाट हानिएको गोली सगुन लावतीको छातीमा लागेपछि धरमरिदै घरभित्र छिरे । सगुनसँगै रहेका मंगोल लावतीलाई भने घरभित्र पस्न खोज्दाखोज्दै सशस्त्रले तानेर बाहिर निकाल्यो । लछारपछार, कुटपिट गरे । बाहिरपट्टि याम लिम्बूको तिघ्रामा गोली लाग्यो अनि निर्मम कुटपिट पनि भयो । माहोल मत्थर नहुन्जेलसम्म कमलाले सगुनलाई खाटमुनि लुकाइन् । गोली लागेका र घाइते साथीहरूको “रेस्क्यू” गरिन् । जब मुक्कुमलुङ संरक्षणकारीको बसोबास थलोमै सुरक्षाकर्मीले धरपकड गर्न थाले, कमलाले “सेल्फ सेक्यूरिटि र डिफेन्स”का लागि महिलाहरूको “प्रतिकार समूह” समेत तैनाथ राखिन् । 

मुक्कुमलुङ संरक्षणका निमित्त विभिन्न क्षेत्र र समुदायबाट ऐक्यबद्धता जनाउदै फागुन ६-८ गते “मुक्कुमलुङ पदयात्रा” भयो । मलेसियाबाट छुट्टिमा आएकी आप्रवासी कामदार एवं पूर्व माओवादी लडाकु रूपा थाम्देन पदयात्रामा जोडिइन् । फागुन ८ गतेका दिन पदयात्राबाट फर्कदा एक टोली नामजाङबाट केबलकारको बटम स्टेशन निर्माण भइरहेको डढेलेतर्फ ओर्लिए, अर्को टोली सिधै काफ्लेपाटी । रूपा सम्मिलित टोली निर्माण स्थलमा पुग्यो, २ बजे । र, उक्त थलो नियन्त्रणमा लिने प्रयत्नमा लागिहाल्यो । पछाडि आउदै गरेकाहरू माथ्लो डिलतिरैबाट नारा लगाउन थाले । शान्तिपूर्ण तरिकाले आफ्नो कुरा राख्ने प्रयत्न गर्दागर्दै सुरक्षाकर्मीहरूसँग ठेलमठेल शुरू भयो । सशस्त्र प्रहरीले रूपाको समूहलाई पेल्यो । माथ्लो डिलबाट प्रतिकार शुरू भयो- ढुंगा बर्साएर । अनि, अन्धाधुन्ध लाठी चार्ज शुरू भयो । अश्रु ग्याँस हानियो । आन्दोलनकारीहरूले काँडेतारबारहरू फ्याँकिदिए । सशस्त्रलाई ठेल्दै-ठेल्दै पछाडि लग्यो । धक्कामुक्कीमा दुबैपक्षका घाइते भए । आन्दोलनकारीहरूले चर्को चर्को स्वरमा मागहरू राखे- काम तुरून्तै रोक्ने, जेसिबी तत्काल फिर्ता पठाउने, निर्माण कम्पनी र मजदुरहरूलाई फर्काउने । आन्दोलनकारीहरूले नाराबाजी गर्दै, माइकिङबाट दुईपक्षबीच वार्ता गर्दै निर्माण स्थल रूङेको रूङै गरे । साढे १० बजेको आसपासमा जेसिबी फिर्ता लाने निर्णय भयो । आन्दोलनकारीहरू फर्किए । डढेले चकमन्न भयो । तर पदयात्राबाट फिरेर काफ्लेपाटीमा बसेकाहरूको गास, बास खोस्ने प्रयास गरियो । नुमालगायतका होटलवालाहरूलाई आन्दोलनकारीलाई सघाउने आरोप लगाउँदै धम्क्याइयो । 

Sara Tunich Koinch

१० गते करिब साँझ ६:४५ बजे आन्दोलनरत पक्षले फुङलिङमा र्याली निकाली तोक्मे डाँडामा कोणसभा गरे । उक्त सभा राँके जुलुसमा परिणत भई बीरेन्द्र चोकतर्फ अघि बढ्यो । राँके जुलुस एक्कासी आक्रमक र भड्किलो बन्यो । कोणसभामा झुरूप्प बनेका आन्दोलनकारीहरूमाथि कुटपिट भयो । उनीहरू तितरबितर भए । त्यहीबेला रूपाले देखिन्, शसस्त्रका जवानहरू बाल्टिनमा ढुंगा, ईट्टाका टुक्राहरू र पानी एकैसाथ ओसारीरहेका थिए । कोही चाहिँ मान्छेको घरभित्र राँको फ्याँकीरहेका थिए । उनकै सामु टाउको फुटेर तररर रगत चुहाउदै एकजना अधबैंशे पुरूष आइपुगे- “मलाई बचाउनू, मेडिकल पुर्याइदिनु” भन्ने गुहार गर्दै । त्यहीबेला फेरि सुरक्षाकर्मीहरूको प्रहारले भागाभाग मच्चियो । बाँसघारीमा सिस्नु झ्याँङभित्र पुगेकी रूपा र गुहार मागिरहेका घाइते मानिस छुट्टिन पुगे । उक्त घटनामा महिला प्रहरी निरीक्षकसहित आधा दर्जन प्रहरीसमेत घाइते हुन पुगेका थिए । 

राती रूपाले केही साथी भेटिन्- फुङलिङको एउटा निजी घरमा । जुन घर समाजसेवी, राजनीतिकर्मी, अभियन्ता, मजदुरहरूको लागि सँधै आश्रयस्थल रहँदै आएको छ । बुहारी बनेदेखि रीता कङ्लिवा लिम्बूले घरपरिवारको प्रत्येक सदस्यको पारिवारिक तथा सार्वजनिक जीवन र सम्बन्धसँग गाँसिएर आउने भूमिकासँगै मुक्कुमलुङ संरक्षणकर्ताहरूलाई गाँस-बासको सुविधा दिन खटिरहेकी हुन्थिन् । त्यस रात उनी आतंकित बनिन् । चुच्चो फलामको लठ्ठी, रड र टायरहरूसहित हतियार बोकेका, सुटबुट र हेलमेट लगाएर नचिनिने भएकाहरूसँगै पुलिसकै पहिरनमा एक हूल मानिस आए । उनीहरूले बाटोमा भेटेजति र घरभित्रै बसेकामाथि कुटपिट गरे । रीताको घरको झ्याल-ढोकाहरूबाट ठूल्ठूला ढुंगा र अश्रु ग्याँस प्रहार गरियो । मसिना बच्चाहरूलाई जोगाउनका लागि सास समेत रोक्न लगाएर राखिन् । उनीहरू बाहिर गोली चलेको, गाली गलौज गरेको र कुटपिट गरेको, “ठोक् ठोक्” भन्दै गरेको, दुखाई सहँदै गरेका केटा/केटीमान्छेको “आइया आम्माउ, मरे मरे” जस्ता चिच्याहटहरू सुन्दै छटपटिए । रीताका परिवारका सदस्य कुटिए । घाइते बनाइए । दुई घण्टाभन्दा बढी उनीहरूलाई आफ्नै घरभित्र त्रासमा निस्सासिदै बस्न बाध्य पारिए । 

मुक्कुमलुङ पदयात्रा र त्यसलगत्तै ताप्लेजुङमा “राज्य आतंक”को भयावह रूप प्रदर्शित हुँदै थियो । साक्षी थिइन् किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो । पदयात्राको क्रममा जोडिन आएका केबलकार बनाउने पक्षले अघिल्ला घटनाहरू जसरी सहजै चिनिने हुलिया अपनाएनन् । पहिलेझैँ निर्माण कम्पनीले उपलब्ध गराउने हेल्मेट पहिरिएनन् । बरू “हुडीवाला जम्पर” र आम पोशाकमा पदयात्री एवं मुक्कुमलुङ संरक्षण समूहमा उनीहरू मिसिन आइपुगेका हुन्थे । उनीहरूका कारण समूहभित्रै कतिबेला के बिझ्याइँ हुने हो, शान्तिपूर्ण माहौलमा के उपद्रो मच्याउने हुन् भन्ने भय नेतृत्वमाझ पैदा भएको थियो । त्यसरी मिसिएका भिजिलान्तेहरूकै कारण १० गतेको शान्तिपूर्ण राँके जुलुस बिथोलिएको प्रत्यक्षदर्शीहरूको भनाई थियो । त्यही रात केही सहकर्मीसहित निरन्ती बसेकै होटलको प्रवेशद्वारमा राखिएको सीसी टिभी क्यामेरा रातको ९:२१ बजे सुरक्षाकर्मीहरूले नै फोडे । होटलका कोठा-कोठाहरूमा सुतेका ग्राहक, तीर्थयात्री, आ-आफ्ना घर-घरमा सुत्ने तरखरमा रहेका स्थानीयलाई समेत लछारपछार थुतेर बाहिर निकाल्दै कुटे । ताप्लेजुङबाहिरबाट पदयात्रामा पुगेका सुनिता केरूङ, मिरा थेबे, दीक्षा क्षेत्रीलगायत महिलाहरू घाइतेहरूको उद्दार र स्वास्थ्योपचारका लागि स्वःस्फुर्त खटे । अस्पतालमा उपचारका लागि पुर्याइएका घाइते र उनीहरूको सहयोगीलाई उपचार लिइरहेकै बखत धरपकड गरियो । 

तमोर अस्पतालमा घाइतेको उपचार गराइरहेकै बेला उपचार कक्षको ढोका फोड्न खोज्दै दीक्षामाथि बन्दुक ताकियो । हत्कडी लगाएर मुख छोपिकन कुटपिट र गाली गर्दै हिरासतमा लगियो । “नो कोशी” आन्दोलनमा दाहिने हातमा गोली खाएर तङ्ग्रिदै “नो केबलकार” आन्दोलनमा होमिन पुगेकी दीक्षालाई पुरूष र महिला प्रहरीले बुट, लात्ती र बन्दुकको कुञ्जोले  कुटे । यातना दिएर अचेत बनाए । त्यसबेला दीक्षा, सुनिता केरूङ, इक्सा लिम्बू, नेहा चेम्जोङ, इन्दिरा धौरालीलगायतका महिलाहरूसहित विभिन्न ठाउँबाट पक्राउ गरिएका १८ जना २७ दिनपश्चात ७ चैतमा धरौटी तिरेर रिहा भए । दीक्षा अहिले अपराधिक उपद्रव र ज्यान मार्ने उद्योग गरेको दुईवटा मुद्दा खेपीरहेकी छिन् । 

कहिलेसम्म लड्ने ? 

मुक्कुमलुङका थक्सामाहा?द्वारा राज्य संरचना र पूँजीवादी विकासको दबदबा, आर्थिक-सामाजिक-सांस्कृतिक उपेक्षा विरूद्ध प्रदर्शित प्रतिरोध आदिवासी समुदायको “ट्रडिश्नल  रेजिलियेन्स” मात्र नभएर समयसापेक्षित एवं भविष्य लक्षित सांस्कृतिक-राजनीतिक चेतनाको प्रष्फुटन हो । जसले आदिवासी समुदायको पहिचान, मौलिकतालाई पूर्णतः नष्ट र लोप हुन नदिनुको साथै आवश्यकता अनुरूप परिवर्तनशील र अनकूलित बन्दै जाने सामर्थ्य दिन सक्छ । “जबसम्म केबलकार खारेजी हुँदैन तबसम्म लड्ने” भन्ने आवाज तत्कालिन संघर्षको प्रतिवद्धता हो । तर, केबलकार खारेज भएपनि मुक्कुमलुङ संरक्षणको आन्दोलन भने शताब्दिऔँदेखिको औपनिवेशिक संस्कृति र अभ्यासविरूद्ध पारा-पाराले निरन्तर लडीरहनुपर्ने हुन्छ, त्यसैले “मुक्कुमलुङ-पाथीभरा रहुन्जेलसम्म । उधेरू र हामेरू रहुन्जेलसम्म” भन्ने उनीहरूको सटिक जवाफ प्रतिरोधको सांस्कृतिक/मुन्धुमी दर्शन हो, जसले राज्य हिंसाको पिढीगत स्मृति, भूमि-सम्पदासँगको अटुटसम्बन्धको प्रतिविम्वन गर्छ, र, ऐतिहासिक न्याय प्राप्तिको लक्ष्य राख्छ । 

(सुरक्षाका कारण स्थानीय व्यवसायीको नाम फेरिएको छ।)

कैलाश राई एक स्वतन्त्र अनुसन्धानकर्तासम्पादक, लेखक र मेन्टर हुन् जो लैङ्गिकतासामाजिक न्यायसीमान्तकृत समुदायका अधिकारराजनीति, यौनिकता र अन्तरसम्बद्धतामा गहिरो रुचि राख्छिन् ।  ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *